अध्याय १९
“चुपचाप नबस बरु बोलिरह”
पेटपालाको लागि काम गरे तापनि पावल साक्षीकार्यलाई पहिलो स्थान दिन्छन्
प्रेषित १८:१-२२ मा आधारित
१-३. प्रेषित पावल किन कोरिन्थमा आए? तिनीसामु कस्ता चुनौती थिए?
इस्वी संवत् ५० को अन्ततिरको कुरा हो। प्रेषित पावल सम्पन्न व्यापारिक सहर कोरिन्थमा छन्। त्यहाँ थुप्रै ग्रीक, रोमी र यहुदीहरू छन्। a पावल त्यहाँ किनमेल गर्न वा व्यापार गर्न आएका होइनन्, तिनी काम खोज्न पनि आएका होइनन्। पावल एउटा अत्यन्तै महत्त्वपूर्ण कामले त्यहाँ आएका हुन्—परमेश्वरको राज्यको साक्षी दिन। तर पावललाई कोरिन्थमा बस्ने ठाउँ चाहिन्छ। तिनले अरूलाई आफ्नो भार नबोकाउने निधो गरेका छन्। तिनी आफू साक्षीकार्यमा व्यस्त भएकोले अरूले तिनलाई पालिदिओस् भन्ने भान पार्न चाहँदैनन्। अब तिनी के गर्छन्?
२ पावलसँग एउटा सीप छ—पाल सिलाउने। पाल सिलाउने काम सजिलो छैन तर पेटपालाको लागि तिनी १० नङ्ग्रा खियाउन तयार छन्। यस्तो व्यस्त सहरमा तिनले काम पाउलान् त? तिनले टाउको ढल्काउने ठाउँ पाउँछन् त? यस्ता चुनौतीहरू आए तापनि पावलले आफ्नो मुख्य काम बिर्सेनन्। त्यो काम हो, सुसमाचार सुनाउने।
३ पावलले कोरिन्थमा केही समय बिताए भन्ने कुरा बाइबल विवरणबाट बुझिन्छ। तिनले साक्षी दिएको कारण त्यहाँ राम्रो नतिजा निस्कन्छ। पावलले कोरिन्थमा गरेको कामकुराबाट अहिले हाम्रो इलाकामा परमेश्वरको राज्यबारे राम्ररी साक्षी दिनको लागि हामी कस्तो पाठ सिक्न सक्छौँ?
“तिनीहरूको पेसा पाल सिलाउने थियो” (प्रेषित १८:१-४)
४, ५. (क) कोरिन्थमा छँदा पावल कहाँ बसे? तिनले पेटपालाको लागि के काम गरे? (ख) त्यो काम पावलले कसरी सिकेका हुन सक्छन्?
४ कोरिन्थमा आएको केही समयपछि पावलले अक्विला र प्रिस्किला (प्रिस्का) नामका दयालु दम्पतीलाई भेटे। तिनीहरू जन्मजात यहुदी थिए। सिजर क्लौडियसले “सबै यहुदीलाई रोम छाड्ने हुकुम दिएकोले” तिनीहरू कोरिन्थमा बसाइँ सरेका थिए। (प्रेषि. १८:१, २) अक्विला र प्रिस्किलाले पावललाई खुसीसाथ बास मात्र दिएनन् बरु सँगै काम गरौँ पनि भने। बाइबलमा यस्तो लेखिएको छ: “एउटै पेसा भएकोले [पावलले] उनीहरूको घरमा बसेर सँगै काम गरे किनकि तिनीहरूको पेसा पाल सिलाउने थियो।” (प्रेषि. १८:३) कोरिन्थमा रहुन्जेल पावल यी मायालु दम्पतीकै घरमा बसे। पावलले केही पत्र अक्विला र प्रिस्किलासँगै बसेको बेला लेखेका पनि हुन सक्छन्, जुन पछि बाइबलको भाग बन्यो। b
५ “गमलिएलको चरणमा शिक्षा” पाएका पावलले कसरी पाल सिलाउने काम सिके त? (प्रेषि. २२:३) आफ्ना छोराछोरीले थप शिक्षा हासिल गरेको भए तापनि तिनीहरूलाई कुनै न कुनै किसिमको सीप सिकाउनुलाई प्रथम शताब्दीका यहुदीहरू तुच्छ ठान्दैनथे। पावल सिलिसियाको टार्ससका थिए। त्यो ठाउँ पाल बनाउन प्रयोग गरिने सिलिसियम नामको कपडाको लागि प्रख्यात थियो। जवानै छँदा पावलले पाल बनाउन सिकेका हुन सक्छन्। पाल बनाउन के-के गर्नुपर्थ्यो? पालको कपडा बुन्नुपर्ने वा हुन सक्छ, त्यो खस्रो कपडा काट्दै सिलाउनुपर्थ्यो। जेहोस्, त्यो सजिलो काम थिएन।
६, ७. (क) पाल बनाउने पेसालाई पावल कस्तो ठान्थे? अक्विला र प्रिस्किलाको दृष्टिकोण पनि पावलको जस्तै थियो भनेर हामी किन्न भन्न सक्छौँ? (ख) आजका ख्रिष्टियनहरू कसरी पावल, अक्विला र प्रिस्किलाको उदाहरण पछ्याउँछन्?
६ पाल बनाउने कामलाई पावलले आफ्नो मुख्य पेसा सम्झेनन्। साक्षीकार्यमा टेवा पुगोस् भनेर मात्र तिनले यो काम गरेका थिए। तिनले “सित्तैँमा” सुसमाचार घोषणा गरे। (२ कोरि. ११:७) अक्विला र प्रिस्किलाको लागि पाल बनाउने काम कत्तिको महत्त्वपूर्ण थियो? ख्रिष्टियन भएकोले निश्चय नै तिनीहरू पनि पावलको जस्तै दृष्टिकोण राख्थे। वास्तवमा इस्वी संवत् ५२ मा पावल कोरिन्थबाट एफिसस जाँदा अक्विला र प्रिस्किला पनि आफ्नो काम छोडेर पावल सँगसँगै गए। एफिससमा तिनीहरूको घरमा नै त्यहाँको मण्डली भेला हुने गर्थ्यो। (१ कोरि. १६:१९) पछि तिनीहरू रोम फर्के र फेरि एफिससमा नै गए। यी जोसिला दम्पतीले राज्य गतिविधिलाई प्रथम स्थान दिए र अरूको सेवा गर्न तिनीहरू खुसीसाथ तयार भए। यसैकारण तिनीहरूप्रति “अन्यजातिका सबै मण्डली” कृतज्ञ थिए।—रोमी १६:३-५; २ तिमो. ४:१९.
७ आजका ख्रिष्टियनहरू पनि पावल, अक्विला र प्रिस्किलाको उदाहरण पछ्याउँछन्। जोसिला राज्य उद्घोषकहरू “कसैको निम्ति खर्चिलो बोझ नबनौँ भनेर” कडा परिश्रम गर्छन्। (१ थिस्स. २:९) सबैभन्दा महत्त्वपूर्ण काम अर्थात् साक्षीकार्यमा लागिरहनको लागि पूर्ण-समय सेवामा लागेका थुप्रै साक्षी पार्ट-टाइम काम गर्ने गर्छन् वा सिजनअनुसारको काम गर्ने गर्छन्। यो साँच्चै प्रशंसनीय कुरा हो। साथै अक्विला र प्रिस्किलाजस्तै यहोवाका थुप्रै दयालु सेवकहरूले परिभ्रमण निरीक्षकहरूलाई आफ्नो घरमा खुसीसाथ बास दिन्छन्। “अतिथि-सत्कार गर्ने बानी” बसालेकाहरूलाई यसो गर्नु कत्ति प्रोत्साहनदायी हुन्छ भन्ने कुरा थाह छ।—रोमी १२:१३.
प्रेषित १८:५-८)
“कोरिन्थीहरूमध्ये धेरै जनाले प्रभुमा विश्वास गर्न थाले” (८, ९. यहुदीहरूले साक्षीकार्यको एकदमै विरोध गर्न थालेपछि पावलले के गरे? त्यसपछि तिनी साक्षी दिन कहाँ गए?
८ पावल पेटपालाको कामलाई साक्षीकार्यमा टेवा पुऱ्याउने माध्यमको रूपमा मात्र हेर्थे। यो कुरा सिलास र तिमोथि म्यासिडोनियाबाट प्रशस्तै उपहारहरू लिएर आइपुग्दा प्रस्ट भयो। (२ कोरि. ११:९) तुरुन्तै पावल “वचन प्रचार गर्नमा व्यस्त भए” अथवा अर्को शब्दमा भन्ने हो भने साक्षीकार्यमा दत्तचित्तले लागे। (प्रेषि. १८:५) तर यहुदीहरूलाई जोडतोडले साक्षी दिँदा पावलले धेरै विरोधको सामना गर्नुपऱ्यो। ख्रिष्टमार्फत जीवन बचाउन सकिन्छ भन्ने सन्देश तिनीहरूले स्विकारेनन्। त्यसको लागि आफू जिम्मेवार नभएको जनाउँदै पावलले आफ्नो लुगा टकटक्याए र विरोधीहरूलाई यसो भने, “तपाईँहरूको रगत तपाईँहरूकै थाप्लोमा परोस्। म निर्दोष छु। अबउसो म अन्यजातिका मानिसहरूकहाँ जानेछु।”—प्रेषि. १८:६; इज. ३:१८, १९.
९ पावल अब कहाँ साक्षी दिन जान्छन्? टाइटस जस्तस नाम गरेका व्यक्तिको घर सभाघरसँगै जोडिएको थियो। तिनी सम्भवतः धर्म परिवर्तन गरेर यहुदी बनेका थिए। तिनले पावललाई आफ्नो घरमा स्वागत गरे। त्यसैले पावल सभाघरबाट जस्तसको घरमा गए। (प्रेषि. १८:७) कोरिन्थमा हुँदा पावल अक्विला र प्रिस्किलाको घरमै बसे तर जस्तसको घरलाई चाहिँ साक्षी गतिविधिको मुख्य केन्द्र बनाए।
१०. पावलले अन्यजातिकाहरूलाई मात्र साक्षी दिने निधो गरेका थिएनन् भनेर हामी कसरी थाह पाउन सक्छौँ?
१० पावलले अबउसो म अन्यजातिहरूकहाँ जानेछु भन्नुको मतलब सुसमाचार सुन्न चाहने यहुदी र धर्म परिवर्तन गरेर यहुदी बनेकाहरूलाई तिनले अब वास्तै गर्दैनन् भन्ने हो? त्यसो त पक्कै होइन। उदाहरणको लागि, “सभाघरका पदाधिकारी क्रिस्पसले अनि उनको घरमा भएकाहरू सबैले प्रभुमा विश्वास गरे।” सभाघरका अन्य थुप्रैले पनि क्रिस्पस सँगसँगै प्रभुमा विश्वास गर्न थाले। बाइबल यसो भन्छ: “सुसमाचार सुन्ने कोरिन्थीहरूमध्ये धेरै जनाले प्रभुमा विश्वास गर्न थाले अनि बप्तिस्मा गरे।” (प्रेषि. १८:८) यसरी टाइटस जस्तसको घर भर्खरै स्थापना भएको कोरिन्थ मण्डली भेला हुने ठाउँ बन्यो। प्रेषितको विवरण लुकाको लेखनशैलीअनुसार अर्थात् घटनाक्रमअनुसारै लेखिएको हो भने ती यहुदी र धर्म परिवर्तन गरेर यहुदी बनेकाहरूले पावलले आफ्नो लुगा टकटकाएपछि मात्र प्रभुमा विश्वास गरेका थिए। यसबाट पावल परिस्थितिअनुसार छाँटकाँट गर्न कतिसम्म तयार थिए भनेर स्पष्ट हुन्छ।
११. चर्चका मानिसहरूलाई सुसमाचार सुनाउने कोसिस गर्दा यहोवाका साक्षीहरू कसरी पावलको अनुकरण गर्छन्?
११ आज पनि थुप्रै मुलुकहरूमा चर्चहरू पहिलेदेखि नै छन्। आफ्ना सदस्यहरूमाथि तिनीहरूको एकदमै बलियो पकड छ। संसारभरि थुप्रै ठाउँहरूमा चर्चका मिसनरीहरूले धेरै मानिसहरूलाई धर्म परिवर्तन गराएका छन्। ख्रिष्टियन हुँ भनी दाबी गर्ने मानिसहरू प्रथम शताब्दीमा कोरिन्थका यहुदीहरूजस्तै परम्परामा बाँधिएका हुन्छन्। तैपनि पावलजस्तै यहोवाका साक्षीहरू जोसका साथ साक्षीकार्यमा भाग लिन्छन् अनि त्यस्ता मानिसहरूसित भेट्दा बाइबलबारे तिनीहरूसित जे-जति ज्ञान छ, त्यसकै आधारमा कुराकानी अघि बढाउने कोसिस गर्छन्। तिनीहरूले हाम्रो विरोध गरे भने वा तिनीहरूका धर्मगुरुहरूले हाम्रो खोइरो नै खने भने पनि हामी हार मान्दैनौँ। ‘परमेश्वरको लागि जोस त भएका तर सही ज्ञानअनुरूप नभएका’ मानिसहरूमध्ये थुप्रै नम्र जनहरू पनि हुन सक्छन्। त्यस्ता मानिसलाई हामीले खोज्नुपर्छ र भेट्टाउनुपर्छ।—रोमी १०:२.
“यस सहरमा यस्ता मानिस धेरै छन्” (प्रेषित १८:९-१७)
१२. एउटा दर्शनमा पावलले कस्तो आश्वासन पाए?
१२ यदि पावललाई कोरिन्थमा साक्षीकार्यलाई निरन्तरता दिने कि नदिने भनेर दोमन भइरहेको थियो भने राती दर्शनमा प्रभु येसुले भन्नुभएको यस कुराबाट तिनी पक्कै ढुक्क सके: “नडराऊ। चुपचाप नबस बरु बोलिरह; म तिमीसित छु र कसैले तिमीलाई आक्रमण गरेर हानि पुऱ्याउन सक्नेछैन किनकि यस सहरमा यस्ता मानिस धेरै छन्, जसले ममाथि विश्वास गर्न बाँकी नै छ।” (प्रेषि. १८:९, १०) कस्तो प्रोत्साहनजनक दर्शन! तिनलाई हानि हुनबाट जोगाइनेछ र त्यस सहरमा थुप्रै योग्य जनहरू छन् भनेर प्रभु आफैले तिनलाई आश्वासन दिनुभयो। यो दर्शन पाएपछि पावलले के गरे? हामी यस्तो लेखिएको पाउँछौँ: “उनीहरूलाई परमेश्वरको वचन सिकाउँदै तिनी एक वर्ष छ महिना त्यहीँ बसे।”—प्रेषि. १८:११.
१३. (क) न्यायासननजिकै आइपुग्दा पावलले कुन घटना सम्झेको हुनुपर्छ? (ख) यस पटक भने नतिजा फरक निस्कनेछ भनेर तिनी किन आशा गर्न सक्थे?
१३ कोरिन्थमा लगभग वर्ष दिन बिताएपछि तिनले प्रभु आफ्नो साथैमा हुनुहुन्छ भन्ने कुराको थप प्रमाण पाए। विवरण भन्छ: “यहुदीहरू एक मत भई पावलविरुद्ध खडा भए अनि तिनलाई न्यायासनसामु लगे।” (प्रेषि. १८:१२) कसै-कसैका अनुसार यो न्यायासन कोरिन्थको बजारको मुख्य ठाउँमा राखिएको थियो। यो कुँदिएका निला र सेता पत्थरहरूले बनाइएको मञ्चमा राखिएको थियो। त्यस न्यायासनअगाडि धेरै मानिस अटाउन सक्ने खुला ठाउँ थियो। पुरातात्त्विक प्रमाणअनुसार यो न्यायासन सभाघरको छेवैमा राखिएको हुन सक्छ। त्यसैले त्यो जस्तसको घरसँगै थियो। न्यायासननजिकै आइपुग्दा स्तिफनसलाई ढुङ्गाले हानेको घटना पावलले सम्झेको हुनुपर्छ। स्तिफनसलाई पहिलो ख्रिष्टियन सहिद पनि भनिन्छ। त्यतिबेला सावल भनेर चिनिने पावलले उक्त “हत्यामा . . . समर्थन” जनाएका थिए। (प्रेषि. ८:१) पावलले पनि त्यस्तै नतिजा भोग्नुपर्ने हो कि? अहँ, होइन! किनभने प्रभुले तिनलाई “कसैले . . . हानि पुऱ्याउन सक्नेछैन” भनेर प्रतिज्ञा गर्नुभएको छ।—प्रेषि. १८:१०.
१४, १५. (क) यहुदीहरूले पावललाई के आरोप लगाए? गल्लियोले पावलको मुद्दा किन खारेज गरिदिए? (ख) सोस्थेनेसलाई के भयो र नतिजा कस्तो भएको हुन सक्छ?
१४ पावल न्यायासनसामु पुग्दा के भयो? न्यायाधीशको रूपमा अखैयाका प्रान्तीय राज्यपाल गल्लियो न्यायासनमा बसेका थिए। तिनी रोमी दार्शनिक सेनेकाका दाइ थिए। यहुदीहरूले पावललाई यस्तो आरोप लगाए: “यसले मानिसहरूलाई उक्साएर कानुनको उल्लङ्घन हुनेगरि परमेश्वरको उपासना गर्न लगाउँदै छ।” (प्रेषि. १८:१३) पावलले कानुनविपरीत मानिसहरूको धर्म परिवर्तन गराइरहेका छन् भनेर तिनीहरूले आरोप लगाए। तर गल्लियोको नजरमा पावलले “केही गलत काम वा कुनै गम्भीर अपराध” गरेका थिएनन्। (प्रेषि. १८:१४) तिनी यहुदीहरूको विवादमा मुछिन चाहेनन्। त्यसैकारण पावलले आफ्नो बचाउमा केही भन्नुअघि नै गल्लियोले त्यो मुद्दा खारेज गरिदिए। आरोपीहरू रिसले चूर भए। तिनीहरूले आफ्नो रिस सोस्थेनेसमाथि खन्याए। सायद त्यतिबेला सोस्थेनेस क्रिस्पसको सट्टामा सभाघरको पदाधिकारी भएका थिए। तिनीहरूले सोस्थेनेसलाई समातेर “न्यायासनसामु पिट्न थाले।”—प्रेषि. १८:१७.
१५ सोस्थेनेसलाई कुटपिट गरिँदा गल्लियोले किन रोकेनन्? पावलविरुद्ध लाग्न भीडलाई उक्साउने सोस्थेनेस नै हो र उसले आफ्नो कामको फल भोगोस् भनेर गल्लियोले सोचेका हुन सक्छन्। कुरा जे भए पनि त्यस घटनाको नतिजा भने राम्रो भयो। केही वर्षपछि पावलले कोरिन्थको मण्डलीलाई लेखेको पत्रमा सोस्थेनेस नामका व्यक्तिलाई भाइ भनेर सम्बोधन गरेका छन्। (१ कोरि. १:१, २) के यी सोस्थेनेस कोरिन्थमा पिटाइ खाएका सोस्थेनेस नै पो थिए कि? यदि त्यसो हो भने ख्रिष्टियन बन्न सोस्थेनेसलाई यही दुःखद अनुभवले मदत गरेको हुन सक्छ।
१६. “चुपचाप नबस बरु बोलिरह; म तिमीसित छु” भन्ने येसुका शब्दहरूले हाम्रो साक्षीकार्यमा कस्तो प्रभाव पार्छ?
१६ यहुदीहरूलाई साक्षी दिँदा तिनीहरूले अस्वीकार गरेपछि पावललाई येसुले दिनुभएको यो आश्वासन नबिर्सनुहोस्: “नडराऊ। चुपचाप नबस बरु बोलिरह; म तिमीसित छु।” (प्रेषि. १८:९, १०) विशेषगरि मानिसहरूले हाम्रो सन्देश सुन्न अस्वीकार गर्दा हामीले यही कुरा मनमा राख्नुपर्छ। यहोवा मनको कुरा पढ्न सक्नुहुन्छ र नम्र मानिसलाई आफूतिर खिच्नुहुन्छ भनेर नबिर्सनुहोस्। (१ समु. १६:७; युह. ६:४४) यस कुराले गर्दा साक्षीकार्यमा जोडतोडले लागिरहन हामी कत्ति प्रोत्साहन पाउँछौँ नि, होइन र? हरेक वर्ष लाखौँले बप्तिस्मा गरिरहेका छन्, औसतमा हरेक दिन सयौँले। “जाओ र सबै जातिका मानिसहरूलाई चेला बनाओ” भनेर येसुले दिनुभएको यो आज्ञा पालन गर्नेहरूलाई उहाँ यस्तो आश्वासन दिनुहुन्छ: “यस युगको आखिरी समयसम्म म सधैँभरि तिमीहरूसितै छु।”—मत्ति २८:१९, २०.
प्रेषित १८:१८-२२)
‘यहोवाको इच्छा भएमा’ (१७, १८. सिनक्रियाबाट एफिसस जाँदा पावलले कस्तो कुरा सम्झेका हुन सक्छन्?
१७ पावलका आरोपीहरूप्रति गल्लियोले देखाएको मनोवृत्तिले गर्दा कोरिन्थमा भर्खरै स्थापना भएको मण्डलीका भाइबहिनीलाई केही समयको लागि अलि सजिलो भयो होला भनेर ठोकुवा गर्न त सकिँदैन। तर कोरिन्थका भाइहरूसँग बिदा हुनुअघि पावल “अझै केही दिन त्यहाँ बसे।” तिनले इस्वी संवत् ५२ को वसन्त ऋतुमा कोरिन्थबाट झन्डै ११ किलोमिटर टाढा पर्ने सिनक्रियाको बन्दरगाहबाट सिरिया जाने योजना बनाए। सिनक्रियाबाट निस्कनुअघि “तिनले आफ्नो कपाल ठुटो पारे किनकि तिनले भाकल गरेका थिए।” c (प्रेषि. १८:१८) त्यसपछि तिनले अक्विला र प्रिस्किलालाई सँगै लगे र तिनीहरू एजिएन समुद्र पार गर्दै एसिया माइनरको एफिसस गए।
१८ सिनक्रियाबाट यात्रामा निस्कँदै गर्दा पावलले कोरिन्थमा बिताएका पलहरू सम्झेका हुन सक्छन्। तिनले थुप्रै मीठा सम्झना सँगालेका थिए अनि तिनले गहिरो सन्तुष्टि महसुस गर्न सक्ने कारण पनि थियो। कोरिन्थमा १८ महिना साक्षी दिँदा असल नतिजा निस्केको थियो। त्यहाँ पहिलो ख्रिष्टियन मण्डली स्थापना भएको थियो। त्यो मण्डली जस्तसको घरमा भेला हुने गर्थ्यो। जस्तस, क्रिस्पस र तिनको घराना अनि अरू थुप्रै मानिस येसुको चेला भएका थिए। पावलले तिनीहरूलाई ख्रिष्टियन बन्न मदत गरेको हुनाले ती नयाँ चेलाहरूलाई पावल एकदम माया गर्थे। पछि ती ख्रिष्टियनहरूलाई पत्र लेख्दा पावलले तिनीहरू आफ्नो मनमा कुँदिएको सिफारिस-पत्र हुन् भनेर वर्णन गरे। साँचो उपासना अँगाल्न हामीले मदत गरेका मानिसहरूप्रति हामी पनि त्यस्तै घनिष्ठ महसुस गर्छौँ। त्यस्ता जीवित “सिफारिस-पत्र” देख्न पाउँदा कत्ति सन्तुष्टि मिल्छ!—२ कोरि. ३:१-३.
१९, २०. एफिससमा आइपुगेपछि पावलले के गरे? आध्यात्मिक लक्ष्य हासिल गर्ने विषयमा पावलबाट हामी के सिक्न सक्छौँ?
१९ एफिससमा आइपुगेपछि आफ्नो मुख्य काम साक्षीकार्यमा पावल लागिहाले। “तिनी सभाघरभित्र पसे र यहुदीहरूसित तर्क गर्न थाले।” (प्रेषि. १८:१९) यतिबेला भने पावल एफिससमा लामो समय बसेनन्। अझै बस्न अनुरोध गरिए तापनि “तिनले मानेनन्।” त्यहाँबाट बिदा हुने बेला तिनले एफिससका भाइबहिनीलाई यसो भने: “यहोवा परमेश्वरको इच्छा भए म फेरि तपाईँहरूकहाँ आउनेछु।” (प्रेषि. १८:२०, २१) एफिससमा अझै साक्षी दिनुपर्छ भनेर पावलले बुझेका थिए भन्ने कुरामा कुनै शङ्का छैन। ती प्रेषितले फेरि आउने योजना बनाए तर निर्णयचाहिँ यहोवाको हातमा छोडिदिए। हामीले मनमा राख्नुपर्ने कस्तो राम्रो उदाहरण! हो, आध्यात्मिक लक्ष्य हासिल गर्न हामी आफै अघि सर्नुपर्छ। तर हामी सधैँ यहोवाको निर्देशनमा भर पर्नुपर्छ र उहाँको इच्छाअनुसारै गर्ने प्रयास गर्नुपर्छ।—याकु. ४:१५.
२० अक्विला र प्रिस्किलालाई एफिससमा छोडेर पावल जहाजबाट सिजरियातिर लागे। त्यसबीच “यरुसलेम उक्लेर” तिनले मण्डलीलाई अभिवादन गरे। (प्रेषि. १८:२२) त्यसपछि तिनी आफ्नो मिसनरी सेवाको केन्द्र सिरियाको एन्टिओक झरे। तिनको दोस्रो मिसनरी यात्रा सफल भयो। अब तिनको अन्तिम मिसनरी यात्रा पो कस्तो हुने हो!
a पृष्ठ १४९ मा भएको “ कोरिन्थ—दुई समुद्रबीचको सहर” शीर्षकको पेटी हेर्नुहोस्।
b पृष्ठ १५० मा भएको “ प्रोत्साहन दिने पत्रहरू” शीर्षकको पेटी हेर्नुहोस्।
c पृष्ठ १५२ मा भएको “ पावलको भाकल” शीर्षकको पेटी हेर्नुहोस्।