सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय ७

“येसुको सुसमाचार” सुनाउँदै

“येसुको सुसमाचार” सुनाउँदै

प्रचारक फिलिप उदाहरण बसाल्छन्‌

प्रेषित ८:४-४० मा आधारित

१, २. प्रथम शताब्दीमा परमेश्‍वरका जनहरूलाई सुसमाचार घोषणा गर्नदेखि रोक्न खोज्दा नतिजा कस्तो भयो?

 भीषण सतावटको बाढी नै सुरु भएको छ। सावलले मण्डलीसित “निर्मम व्यवहार” गर्न थालेका छन्‌। (प्रेषि. ८:३) येसुका चेलाहरू भाग्न थाल्छन्‌। ख्रिष्टियन धर्मलाई नामेट पार्ने सावलको उद्देश्‍य पूरा भएझैँ देखिन्छ। तर ख्रिष्टियनहरू तितरबितर भएपछि आशै नगरेको नतिजा निस्कन्छ। कस्तो नतिजा?

“ती तितरबितर भएकाहरू जहाँ-जहाँ गए, त्यहाँ-त्यहाँ तिनीहरूले परमेश्‍वरको वचनको सुसमाचार घोषणा गरे।” (प्रेषि. ८:४) सोच्नुहोस्‌ त, परमेश्‍वरका जनहरूलाई सुसमाचार घोषणा गर्नदेखि सतावटले रोक्न सकेन! बरु यसले सुसमाचार फैलाउन पो मदत गऱ्‍यो! चेलाहरूलाई तितरबितर पारेर विरोधीहरूले अनजानमै राज्यको सुसमाचार टाढा-टाढासम्म फैलाउन मदत गरे। हाम्रो समयमा पनि यस्तै भएको छ भनेर यस अध्यायमा बुझ्नेछौँ।

“ती तितरबितर भएकाहरू” (प्रेषित ८:४-८)

३. (क) फिलिप को थिए? (ख) सामरियामा सुसमाचार नपुग्नुको कारण के थियो? तर येसुले त्यस इलाकाबारे कस्तो भविष्यवाणी गर्नुभएको थियो?

“ती तितरबितर भएकाहरू”-मध्ये एक जना फिलिप थिए। a (प्रेषि. ८:४; पृष्ठ ५३ मा भएको “ ‘प्रचारक’ फिलिप” शीर्षकको पेटी हेर्नुहोस्‌।) तिनी कहिल्यै साक्षी नदिइएको इलाका सामरिया गए। हुनत पहिले एक चोटि येसुले आफ्ना प्रेषितहरूलाई सामरियाबारे यस्तो निर्देशन दिनुभएको थियो: “सामरियालीहरूको कुनै पनि सहरमा नपस बरु इस्राएलका ती मानिसहरूकहाँ मात्र जाओ, जो हराएका भेडाहरूजस्ता छन्‌।” (मत्ति १०:५, ६) तर सामरियाका मानिसहरूले पछि सुसमाचार सुन्‍नेछन्‌ भनेर येसुलाई थाह थियो किनभने उहाँले स्वर्ग जानुअघि यसो भन्‍नुभएको थियो: “यरुसलेमका साथै सारा यहुदिया, सामरिया अनि पृथ्वीको सबैभन्दा टाढा पर्ने इलाकामा तिमीहरूले मेरो साक्षी दिनेछौ।”—प्रेषि. १:८.

४. फिलिपले सुसमाचार सुनाउँदा सामरियालीहरूले कस्तो प्रतिक्रिया देखाए? तिनीहरूले त्यस्तो प्रतिक्रिया देखाउनुको कारण के हुन सक्छ?

सामरियामा “बाली पाकेर पहेँला भइसकेका छन्‌” भनेर फिलिपले देखे। (युह. ४:३५) तिनले सुनाएको सन्देशले त्यहाँका मानिसहरूलाई शीतल हावाले जस्तै स्फूर्ति दियो। तिनीहरूले यस्तो महसुस गर्नुको कारण बुझ्न सजिलो छ। यहुदीहरू सामरियालीहरूसित कुनै सम्बन्ध राख्दैनथे। कतिपय यहुदीहरू त तिनीहरूलाई फुटेको आँखाले समेत हेर्न चाहँदैनथे। तर सुसमाचार सबै मानिसको लागि हो अनि यो अरूलाई तुच्छ ठान्‍ने फरिसीहरूको विचारधाराभन्दा एकदमै फरक छ भनेर सामरियालीहरूले बुझे। फिलिपले पक्षपात नगरी जोसका साथ सामरियालीहरूलाई प्रचार गरे। यसरी तिनले आफू सामरियालीहरूलाई तुच्छ दृष्टिले हेर्ने यहुदीहरूजस्तो नभएको देखाए। त्यसकारण सामरियामा ठूलो भीडले “एकै मनको भएर” फिलिपको कुरा सुन्‍नु छक्कलाग्दो कुरा थिएन।—प्रेषि. ८:६.

५-७. ख्रिष्टियनहरूलाई तितरबितर पारिँदा सुसमाचार फैलिएको केही उदाहरण बताउनुहोस्‌।

प्रथम शताब्दीमा जस्तै आज पनि परमेश्‍वरका जनहरूमाथि आएको सतावटले सुसमाचार फैलाउनदेखि रोक्न सकेको छैन। थुनामा परेका ख्रिष्टियनहरूलाई एउटा झ्यालखानाबाट अर्कोमा सारिएको छ वा कतिपयलाई जबरजस्ती अर्को देशमा बसाइँ सर्न बाध्य पारिएको छ। तर यसले गर्दा राज्य सन्देश झन्‌ नयाँ-नयाँ ठाउँमा पुगेको छ। यस्ता घटनाहरू एक पटक मात्र घटेका त होइनन्‌। उदाहरणको लागि, दोस्रो विश्‍वयुद्धको बेला यहोवाका साक्षीहरूले नाजी यातना शिविरहरूमा समेत साक्षी दिए। त्यस्ता शिविरहरूमा भेटेका साक्षीहरूबारे एक जना यहुदीले यसो भने: “कैदीहरूमा यहोवाका साक्षीहरू पनि थिए। तिनीहरू फिटिक्कै ढलपल नभएको देखेर तिनीहरूको विश्‍वास धर्मशास्त्रमै आधारित हुनुपर्छ भन्‍ने कुरामा म विश्‍वस्त भएँ अनि म आफै पनि साक्षी भएँ।”

खेदो गर्नेहरूलाई पनि साक्षी दिइएको छ। तिनीहरूले सुसमाचार स्विकारेका उदाहरणहरू पनि छन्‌। जस्तै: फ्रान्ज डेस नाम गरेका एक जना साक्षीलाई अस्ट्रियाको गुजेन यातना शिविरमा सारिँदा तिनले त्यहाँका एक जना नाजी अफिसरलाई बाइबल अध्ययन गराए। वर्षौँपछि यहोवाका साक्षीहरूको एउटा अधिवेशनमा ती दुई जनाको फेरि भेट भयो। त्यतिबेला दुवै जना सुसमाचारका प्रचारक भइसकेका थिए। यसरी पुनर्मिलन हुँदा तिनीहरू कत्ति गद्‌गद भए होलान्‌!

सतावटको कारण ख्रिष्टियनहरू अर्कै देशमा भाग्नुपर्दा पनि त्यस्तै नतिजा प्राप्त भयो। सन्‌ १९७० को दशकमा मलावीका भाइबहिनीहरू मोजाम्बिक भाग्न बाध्य हुँदा तिनीहरूले त्यहाँका मानिसहरूलाई विस्तृत रूपमा साक्षी दिए। पछि मोजाम्बिकमा पनि सतावट सुरु हुँदा साक्षीकार्य भने रोकिएन। फ्रान्सेस्को कोना नाम गरेका भाइ यसो भन्छन्‌: “हो, सुसमाचार सुनाएको कारण हामीमध्ये धेरै जनालाई पटक-पटक थुनियो। तैपनि थुप्रैले राज्य सन्देश स्विकार्दा प्रथम शताब्दीका ख्रिष्टियनहरूलाई जस्तै परमेश्‍वरले हामीलाई पनि मदत गरिरहनुभएको छ भन्‍ने कुरामा हामी विश्‍वस्त भयौँ।”

८. राजनैतिक र आर्थिक परिवर्तनले साक्षीकार्यमा कस्तो प्रभाव पारेको छ?

सतावटको कारणले मात्रै नयाँ-नयाँ ठाउँमा सुसमाचार फैलिएको त पक्कै होइन। हालैका वर्षहरूमा भएको राजनैतिक र आर्थिक परिवर्तनले गर्दा थुप्रै भाषाका र विभिन्‍न जातिका मानिसहरूले राज्य सन्देश सुन्‍ने मौका पाएका छन्‌। कोही-कोही युद्धग्रस्त इलाकाबाट भागेर अलि शान्त ठाउँमा बसाइँ सरेका छन्‌ भने कोहीचाहिँ गरिबीको चपेटामा परेको इलाका छोडेर आर्थिक तवरमा अलि सम्पन्‍न ठाउँमा गएका छन्‌। आफू सरेको नयाँ ठाउँमा तिनीहरूले बाइबल अध्ययन गर्न थालेका छन्‌। शरणार्थीहरूको ओइरो लागेको कारण साक्षीकार्यको लागि विदेशी भाषाका इलाकाहरू खुलेका छन्‌। के तपाईँ पनि आफ्नो इलाकामा भएका “हरेक राष्ट्र, कुल, जाति अनि भाषाका” मानिसहरूलाई साक्षी दिँदै हुनुहुन्छ?—प्रका. ७:९.

“मलाई यो अख्तियार पनि दिनुहोस्‌” (प्रेषित ८:९-२५)

“प्रेषितहरूले हात राख्दा पवित्र शक्‍ति पाउन सकिने रहेछ भन्‍ने देखेपछि सिमोनले तिनीहरूलाई पैसा दिन खोजे।”​—प्रेषित ८:१८

९. सिमोन को थिए? तिनी फिलिपबाट प्रभावित हुनुको कारण के थियो?

सामरियामा फिलिपले थुप्रै चमत्कार गरे। जस्तै: तिनले अशक्‍तहरूलाई निको पारे र दुष्ट स्वर्गदूतहरूलाई समेत धपाए। (प्रेषि. ८:६-८) फिलिपले चमत्कारहरू गरेको देखेर सिमोन नाम गरेका एक जना मानिस चकित भए। तिनी जादुगरी गर्थे। मानिसहरूले तिनलाई एकदमै आदर गर्दै यसो भन्थे: “यस मानिससित परमेश्‍वरको शक्‍ति छ।” तर फिलिपले गरेका चमत्कारहरू देखेपछि सिमोनले परमेश्‍वरको वास्तविक शक्‍ति देखे र प्रभुमा विश्‍वास गरे। (प्रेषि. ८:९-१३) तर पछि सिमोनको मनसायको परीक्षा भयो। कसरी?

१०. (क) पत्रुस र युहन्‍नाले सामरियामा के गरे? (ख) पत्रुस र युहन्‍नाले नयाँ चेलाहरूमाथि हात राखेपछि तिनीहरूले पवित्र शक्‍ति पाएको देखेर सिमोनले के गरे?

१० सामरियामा भइरहेको प्रगतिबारे प्रेषितहरूले थाह पाएपछि तिनीहरूले पत्रुस र युहन्‍नालाई त्यहाँ पठाए। (“ पत्रुस ‘स्वर्गको राज्यका साँचाहरू’ चलाउँछन्‌” शीर्षकको पेटी हेर्नुहोस्‌।) त्यहाँ पुगेपछि यी दुई प्रेषितले नयाँ चेलाहरूमाथि आफ्नो हात राखे अनि तिनीहरू प्रत्येकले पवित्र शक्‍ति पाए। b यो देखेर सिमोन दङ्‌ग परे। तिनले प्रेषितहरूलाई यसो भने: “मलाई यो अख्तियार पनि दिनुहोस्‌ ताकि जसमाथि म आफ्नो हात राख्छु, उसले पवित्र शक्‍ति पाओस्‌।” अझ तिनले परमेश्‍वरबाट पाइने यो विशेष सुअवसर किन्‍न समेत खोजे!—प्रेषि. ८:१४-१९.

११. पत्रुसले सिमोनलाई कस्तो सल्लाह दिए? सिमोनले त्यस सल्लाहलाई कसरी लिए?

११ प्रेषित पत्रुसले सिमोनलाई सुस्पष्ट जवाफ दिए। तिनले भने: “तिम्रो चाँदी तिमीसँगै नाश होस्‌ किनकि तिमीले परमेश्‍वरले सित्तैँमा दिनुहुने वरदान पैसा तिरेर किन्‍न सकिन्छ भन्ठान्यौ। यसमा तिम्रो न कुनै भाग छ न हिस्सा किनकि परमेश्‍वरको नजरमा तिम्रो हृदय सोझो छैन।” त्यसपछि पत्रुसले सिमोनलाई पश्‍चात्ताप गर्न र प्रार्थना गरेर क्षमा माग्न सल्लाह दिए। पत्रुसले यसो भने: “आफ्नो यस्तो कुविचारको लागि सम्भव भए क्षमा पाऊँ भनी यहोवा परमेश्‍वरलाई व्यग्र प्रार्थना गर।” सिमोन दुष्ट मान्छे त थिएनन्‌। तिनी सही कुरा गर्न चाहन्थे तर कुरा नबुझेर बहकिएका थिए। त्यसैले तिनले प्रेषित पत्रुसलाई यस्तो बिन्ती गरे: “तपाईँहरूले भन्‍नुभएको कुनै कुरा ममाथि आइनपरोस्‌ भनेर मेरो लागि यहोवा परमेश्‍वरसित उत्कट बिन्ती गरिदिनुहोस्‌।”—प्रेषि. ८:२०-२४.

१२. “सिमोनी” भनेको के हो? चर्चजगत्‌मा यो कसरी एउटा पासो साबित भएको छ?

१२ पत्रुसले सिमोनलाई दिएको सल्लाह आजका ख्रिष्टियनहरूको लागि पनि एउटा चेतावनी हो। वास्तवमा यो घटनाले गर्दा नै अङ्‌ग्रेजी भाषामा “सिमोनी” शब्द प्रचलनमा आएको हो। यो शब्द विशेषगरि धार्मिक पदवी किनबेच गर्ने प्रचलनलाई बुझाउन प्रयोग गर्न थालियो। धर्मत्यागी चर्चजगत्‌को इतिहास केलाउने हो भने यस्तो प्रचलन जताततै पाइन्छ। दी इन्साइक्लोपीडिया ब्रिटानिका-को (१८७८) नवौँ संस्करणअनुसार “नयाँ पोप छान्‍ने पादरीहरूको गोप्य सभाको इतिहास अध्ययन गर्नेहरू यस्तो निष्कर्षमा पुगे: चर्चमा हुने कुनै पनि चुनाव सिमोनी प्रभावबाट मुक्‍त थिएन। धार्मिक पदवीको यस्तो किनबेच अक्सर खुलेआम अनि हिचकिचाहटविना निर्लज्ज तरिकामा हुने गर्थ्यो।”

१३. कुन तरिकामा ख्रिष्टियनहरू सिमोनी गर्नदेखि होसियार हुनै पर्छ?

१३ साँचो ख्रिष्टियनहरू सिमोनी अर्थात्‌ सुअवसरहरू किनबेच गर्ने पाप गर्नदेखि होसियार हुनै पर्छ। उदाहरणको लागि, मण्डलीमा आफूलाई थप जिम्मेवारी दिन सक्ने व्यक्‍तिलाई उपहारहरू दिएर वा तिनको चापलुसी गरेर थप सुअवसरहरू पाउन खोज्नु हुँदैन। अर्कोतर्फ निरीक्षकहरू पनि धनीहरूसित मात्र नजिक हुनदेखि होसियार हुनै पर्छ। यी दुवै काम सिमोनी हुन्‌। साँच्चै परमेश्‍वरका सबै सेवकले ‘आफूलाई सबैभन्दा सानो सम्झनुपर्छ’ र सेवाका सुअवसरहरूका लागि परमेश्‍वरको पवित्र शक्‍तिद्वारा नियुक्‍त हुन यहोवाको समय पर्खनुपर्छ। (लुका ९:४८) “आफ्नै मान” खोज्ने मानिसहरूका लागि परमेश्‍वरको सङ्‌गठनमा कुनै ठाउँ छैन।—हितो. २५:२७.

“के तपाईँले आफूले पढिरहेको कुरा साँच्चै बुझिरहनुभएको छ?” (प्रेषित ८:२६-४०)

१४, १५. (क) इथियोपियाली नपुंसक को थिए? फिलिपले तिनलाई कसरी भेट्टाए? (ख) फिलिपको सन्देशप्रति ती इथियोपियालीले कस्तो प्रतिक्रिया देखाए? (ग) तिनको बप्तिस्मा किन हतारमा गरिएको थिएन? (फुटनोट हेर्नुहोस्‌।)

१४ अब स्वर्गदूतले फिलिपलाई यरुसलेमबाट गाजातिरको बाटो तर्फ लाग्ने निर्देशन दिए। सुरुमा कारण थाह नभए तापनि इथियोपियाली नपुंसक भेटेपछि तिनले जवाफ पाइहाले। ती नपुंसक “भविष्यवक्‍ता यसैयाको पुस्तक पढिरहेका” थिए। (पृष्ठ ५७ मा भएको “ ‘नपुंसक’—कुन अर्थमा?” शीर्षकको पेटी हेर्नुहोस्‌।) रथमा गइरहेका ती मानिससँग कुरा गर्न यहोवाको पवित्र शक्‍तिले फिलिपलाई डोऱ्‍यायो। फिलिप रथसँगसँगै दौडे र ती इथियोपियालीलाई सोधे: “के तपाईँले आफूले पढिरहेको कुरा साँच्चै बुझिरहनुभएको छ?” उनले जवाफ दिए: “कसैले नबुझाईकन म कसरी बुझ्न सक्छु र?”—प्रेषि. ८:२६-३१.

१५ उनले फिलिपलाई रथमा आफूसँगै बस्न आग्रह गरे। त्यसपछि कत्ति रोचक कुराकानी भयो होला! यसैयाको भविष्यवाणीमा बताइएको “भेडा” वा “सेवक”-को परिचय लामो समयसम्म रहस्य नै रहेको थियो। (यसै. ५३:१-१२) रथमा यात्रा गर्दै फिलिपले इथियोपियाली नपुंसकलाई यो भविष्यवाणी येसु ख्रिष्टमा पूरा भयो भनेर बुझाइदिए। इस्वी संवत्‌ ३३ पेन्तिकोसमा बप्तिस्मा गरेकाहरूले जस्तै धर्म परिवर्तन गरेर यहुदी बनिसकेका ती इथियोपियालीले अब के गर्नुपर्छ भनेर बुझिहाले। तिनले फिलिपलाई भने: “हेर्नुहोस्‌, यहाँ पानी रहेछ; बप्तिस्मा गर्नदेखि मलाई केले रोक्छ र?” फिलिपले तुरुन्तै ती इथियोपियालीलाई बप्तिस्मा गराए! c (“ ‘पानीमा’ बप्तिस्मा” शीर्षकको पेटी हेर्नुहोस्‌।) त्यसपछि फिलिपले अस्दोद जाने नयाँ जिम्मेवारी पाए र त्यहाँ पनि तिनले सुसमाचार सुनाउने काम जारी राखे।—प्रेषि. ८:३२-४०.

१६, १७. स्वर्गदूतहरूले साक्षीकार्यमा कसरी भाग लिइरहेका छन्‌?

१६ आज ख्रिष्टियनहरूले पनि फिलिपले गरेको जस्तै काममा भाग लिने विशेष सुअवसर पाएका छन्‌। जस्तै: तिनीहरू यात्रा गर्दा भेटिने मानिसहरूलाई अनौपचारिक साक्षी दिन्छन्‌। थुप्रै अवस्थामा तिनीहरूले नम्र मानिसहरूलाई भेट्‌नु संयोग मात्र त भन्‍न सकिँदैन। “हरेक राष्ट्र, कुल, भाषा र जातिका” मानिसहरूले सुसमाचार सुनून्‌ भनेर साक्षीकार्यमा स्वर्गदूतहरूले डोऱ्‍याइ दिनेबारे बाइबलमा स्पष्ट बताइएको छ। (प्रका. १४:६) त्यसबारे येसुले तोकेरै भविष्यवाणी गर्नुभएको थियो। गहुँ र सामाको उदाहरणमा येसुले कटनीको समयमा अर्थात्‌ यस युगको आखिरी समयमा “खेतालाहरूचाहिँ स्वर्गदूतहरू हुन्‌” भन्‍नुभयो। ती स्वर्गदूतहरूले “ठेस लाग्ने सबै कुरा र कुकर्मीहरूलाई उहाँको राज्यबाट बटुल्नेछन्‌” भनेर पनि उहाँले बताउनुभयो। (मत्ति १३:३७-४१) यसका साथै यहोवाले आफ्नो सङ्‌गठनतर्फ खिच्न चाहनुभएका व्यक्‍तिहरूबाट नै उहाँको राज्यको सम्भाव्य उत्तराधिकारी छान्‍न र पछि “अरू भेडा”-को “ठूलो भीड” जम्मा गर्न पनि स्वर्गदूतहरूले मदत गर्नेछन्‌।—युह. ६:४४, ६५; १०:१६; प्रका. ७:९.

१७ हामीले साक्षीकार्यमा भेट्‌ने कोही-कोही मानिसहरू परमेश्‍वरलाई चिन्‍न सकूँ भनेर प्रार्थना गरिरहेको कुरा बताउने गर्छन्‌। यस्ता अनुभवहरू परमेश्‍वरले मानिसहरूलाई आफूतर्फ खिचिरहनुभएको छ भन्‍ने कुराको प्रमाण हुन्‌। एउटा सानो केटोसँगै साक्षीकार्यमा गएका दुई साक्षीको अनुभव विचार गर्नुहोस्‌। बिहानभरि साक्षीकार्यमा भाग लिइसकेपछि तिनीहरू फर्कने तरखरमा थिए। तर त्यो सानो केटो अर्को घरमा जान एकदमै उत्सुक भयो। ऊ एक्लै त्यस घरमा गयो र ढोका ढकढक्यायो। एउटी युवतीले ढोका खोलिन्‌ र ती साक्षीहरूले उनीसित कुरा गरे। उनले बाइबलबारे बुझाउन कसैलाई पठाइदिनुहोस्‌ भन्दै प्रार्थना गरिरहेको कुरा बताउँदा ती साक्षीहरू छक्क परे। उनीसित बाइबल अध्ययन गर्ने प्रबन्ध मिलाइयो!

“हे परमेश्‍वर, तपाईँ जो भए पनि बिन्ती छ, मलाई मदत गर्नुहोस्‌”

१८. हामीले साक्षीकार्यलाई किन हल्कासित लिनु हुँदैन?

१८ अहिले व्यापक रूपमा भइरहेको साक्षीकार्यमा स्वर्गदूतहरू र ख्रिष्टियन मण्डलीसँगै मिलेर भाग लिन पाउनु तपाईँको लागि ठूलो सुअवसर हो। यस सुअवसरलाई हल्कासित नलिनुहोस्‌। “येसुको सुसमाचार” सुनाउन लगनशील भई लागिरहँदा तपाईँले अपार आनन्द पाउनुहुनेछ।—प्रेषि. ८:३५.

a तिनी प्रेषित फिलिप थिएनन्‌ बरु तिनी यस किताबको अध्याय ५ मा उल्लेख गरिएका फिलिप थिए। तिनी “राम्रो नाम कमाएका सात जना मानिस”-मध्ये एक थिए, जसलाई ग्रीकभाषी र हिब्रूभाषी विधवा ख्रिष्टियनहरूलाई खाना बाँड्‌ने काम व्यवस्थित पार्न नियुक्‍त गरिएको थियो।—प्रेषि. ६:१-६.

b त्यतिबेला नयाँ चेलाहरू साधारणतया बप्तिस्माको बेला पवित्र शक्‍तिद्वारा अभिषेक हुन्थे वा तिनीहरूले पवित्र शक्‍ति पाउँथे। यसरी तिनीहरूले येसुसँगै स्वर्गमा राजा र पुजारीको रूपमा शासन गर्ने आशा पाउँथे। (२ कोरि. १:२१, २२; प्रका. ५:९, १०; २०:६) तर यस अवसरमा नयाँ चेलाहरू बप्तिस्माको बेला पवित्र शक्‍तिद्वारा अभिषेक भएनन्‌। पत्रुस र युहन्‍नाले भर्खरै बप्तिस्मा गरेकाहरूमाथि हात राखेपछि मात्र तिनीहरूले पवित्र शक्‍तिका साथै चमत्कार गर्ने वरदान पाए।

c तिनको बप्तिस्मा हतारमा गरिएको थिएन। तिनी धर्म परिवर्तन गरेर यहुदी बनिसकेका थिए। तिनलाई मसीहसम्बन्धी भविष्यवाणीलगायत धर्मशास्त्रको ज्ञान पहिलेदेखि नै थियो। फिलिपसित कुराकानी गरेपछि तिनले परमेश्‍वरको उद्देश्‍यमा येसुको भूमिका पनि बुझेकोले ढिलासुस्ती नगरी बप्तिस्मा गर्न सक्थे।