सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय ८

“मण्डलीमा शान्ति छायो”

“मण्डलीमा शान्ति छायो”

अचाक्ली खेदो गर्ने सावल जोसिला सेवक बन्छन्‌

प्रेषित ९:१-४३ मा आधारित

१, २. सावल दमिसक जानुको उद्देश्‍य के थियो?

 गम्भीर मुद्रामा हिँडिरहेका यात्रुहरू दमिसक पुग्नै लागेका छन्‌। त्यहाँ पुगेर तिनीहरू आफ्नो दुष्ट योजनाअनुसारै काम गर्ने विचारमा छन्‌। तिनीहरूले येसुका चेलाहरूलाई घिस्याउँदै घरबाट बाहिर निकाल्नेछन्‌ र बाँध्नेछन्‌; अपमान गर्नेछन्‌ र यहुदी न्यायपरिषद्‌को हातबाट सजाय दिन जबरजस्ती यरुसलेम लैजानेछन्‌।

त्यस हिंस्रक समूहका नाइके सावल हुन्‌। तिनी एक जना ख्रिष्टियनको हत्यामा संलग्न भइसकेका छन्‌। a तिनले हालै आफ्ना कट्टरपन्थी साथीहरूले येसुका एक भक्‍त चेला स्तिफनसलाई ढुङ्‌गाले हानेर मार्दा त्यो घटना हेरिरहेका थिए र त्यसमा पूर्ण समर्थन जनाएका थिए। (प्रेषि. ७:५७–८:१) यरुसलेममा बस्ने येसुका अनुयायीहरूको मात्र खेदो गरेर तिनको चित्त बुझ्दैन। त्यसैले सावल अरू ठाउँमा पनि सतावटको आगो सल्काउने नाइके बन्छन्‌। जताततै फैलिरहेको “त्यस मार्ग” भनेर चिनिने ख्रिष्टियनहरूको समूहलाई तिनी नामेट पार्न चाहन्छन्‌।—प्रेषि. ९:१, २; पृष्ठ ६१ मा भएको “ दमिसकमा सावलको अख्तियार” शीर्षकको पेटी हेर्नुहोस्‌।

३, ४. (क) सावललाई के भयो? (ख) हामी कस्ता प्रश्‍नहरू विचार गर्नेछौँ?

हिँड्‌दा-हिँड्‌दै अकस्मात्‌ सावलको चारैतिर चहकिलो ज्योति चम्किन्छ। तिनीसँगै यात्रा गरिरहेका मानिसहरूले ज्योति त देख्छन्‌ तर तिनीहरू अक्क न बक्क भएर उभिरहन्छन्‌। सावल केही देख्न सक्दैनन्‌ र भुईँमा पछारिन्छन्‌। सावल स्वर्गबाट आएको एउटा यस्तो आवाज सुन्छन्‌: “सावल, ए सावल, तिमी किन मेरो खेदो गर्दै छौ?” जिल्ल परेका सावल यस्तो प्रश्‍न गर्छन्‌: “प्रभु, तपाईँ को हुनुहुन्छ?” यसको जवाफले पक्कै पनि सावलको मन छोएको हुनुपर्छ: “म येसु हुँ, जसको तिमीले खेदो गरिरहेका छौ।”—प्रेषि. ९:३-५; २२:९.

येसुले सावललाई भन्‍नुभएका शब्दहरूबाट हामी के सिक्न सक्छौँ? सावल ख्रिष्टियन हुँदा घटेका घटनाहरूलाई विचार गर्दा हामीलाई कस्तो फाइदा हुन्छ? सावल ख्रिष्टियन भएपछि मण्डलीमा शान्ति छाएको समयको मण्डलीले कसरी सदुपयोग गऱ्‍यो अनि त्यसबाट हामी के सिक्न सक्छौँ?

“तिमी किन मेरो खेदो गर्दै छौ?” (प्रेषित ९:१-५)

५, ६. येसुले सावललाई भन्‍नुभएको कुराबाट हामी के सिक्न सक्छौँ?

येसुले सावललाई दमिसक जाने बाटोमा रोक्नुहुँदा यसो भन्‍नुभएन: “तिमी किन मेरा चेलाहरूको खेदो गर्दै छौ?” तर माथि बताइएझैँ उहाँले यस्तो प्रश्‍न सोध्नुभयो: “तिमी किन मेरो खेदो गर्दै छौ?” (प्रेषि. ९:४) हो, आफ्ना अनुयायीहरूमाथि परीक्षा आउँदा येसु आफैमाथि परीक्षा आएसरह ठान्‍नुहुन्छ।—मत्ति २५:३४-४०, ४५.

येसुमा विश्‍वास गरेकोले तपाईँलाई पनि विरोध आइरहेको छ भने यस कुरामा ढुक्क हुनुहोस्‌—यहोवा र येसुलाई तपाईँको अवस्था राम्ररी थाह छ। (मत्ति १०:२२, २८-३१) अहिले तपाईँमाथि आइपरेका परीक्षाहरू यहोवाले तुरुन्तै हटाइदिनुहुन्‍न होला। तर नबिर्सनुहोस्‌, स्तिफनसको हत्यामा सावल संलग्न हुँदा येसुले देख्नुभएको थियो र सावलले विश्‍वासी चेलाहरूलाई तिनीहरूको घरबाट घिस्याउँदै निकालेर यरुसलेममा लगेको पनि देख्नुभएको थियो। (प्रेषि. ८:३) तर येसुले त्यतिबेलै हस्तक्षेप गर्नुभएन। बरु यहोवाले ख्रिष्टमार्फत स्तिफनस र अरू चेलाहरूलाई विश्‍वासी रहिरहन चाहिने बल दिनुभयो।

७. सतावटको सामना गर्न तपाईँले नगरी नहुने कुरा के-के हुन्‌?

तपाईँलाई पनि सतावट आइपऱ्‍यो भने त्यसको सामना गर्न यी कुराहरू गर्नुहोस्‌: (१) जस्तोसुकै परिस्थिति आइपरे तापनि वफादार रहिरहने सङ्‌कल्प गर्नुहोस्‌। (२) यहोवासित मदत माग्नुहोस्‌। (फिलि. ४:६, ७) (३) बदला लिने काम यहोवाको हातमा छोडिदिनुहोस्‌। (रोमी १२:१७-२१) (४) तपाईँले भोग्नुपरेको परीक्षा यहोवाले नहटाउनुभएसम्म उहाँले तपाईँलाई सहने बल दिनुहुन्छ भन्‍ने कुरामा भरोसा गर्नुहोस्‌।—फिलि. ४:१२, १३.

“भाइ सावल, . . . प्रभु येसुले मलाई पठाउनुभएको हो” (प्रेषित ९:६-१७)

८, ९. आफूले पाएको जिम्मेवारीबारे हननियाले कस्तो महसुस गरेको हुनुपर्छ?

“प्रभु, तपाईँ को हुनुहुन्छ?” भनेर सावलले सोधेको प्रश्‍नको जवाफ दिनुभएपछि येसुले यसो भन्‍नुभयो: “उठ र सहरभित्र पस। तिमीले के गर्नुपर्छ, त्यो तिमीलाई बताइनेछ।” (प्रेषि. ९:६) केही देख्न नसक्ने भएका सावललाई हात समातेर डोऱ्‍याउँदै दमिसक पुऱ्‍याइयो। तिनी त्यहाँ तीन दिनसम्म उपवास बसे र प्रार्थना गरिरहे। यसैबीच येसुले दमिसकमा बसोबास गर्ने “सबै यहुदीमाझ राम्रो नाम कमाएका” चेला हननियासित सावलको विषयमा कुरा गर्नुभयो।—प्रेषि. २२:१२.

हननियाको मनमा अनेक कुरा खेले होलान्‌! मण्डलीका शिर र फेरि जीवित हुनुभएको येसु स्वयम्‌ तिनीसित कुरा गर्दै हुनुहुन्थ्यो र तिनलाई एउटा विशेष जिम्मेवारीको लागि छान्‍नुभयो। कत्ति सम्मानको कुरा! तर यो जिम्मेवारी सजिलो भने पक्कै थिएन। गएर सावललाई भेट्‌नू भनेर येसुले अह्राउनुहुँदा तिनले यस्तो जवाफ दिए: “प्रभु, तिनले यरुसलेममा भएका तपाईँका पवित्र जनहरूको कत्ति हानि गरेका छन्‌ भनेर त्यस मानिसको विषयमा मैले धेरै जनाबाट सुनेको छु। अनि तिनले यहाँ पनि तपाईँको नाम पुकार्नेजति सबैलाई पक्रने अख्तियार मुख्य पुजारीहरूबाट पाएका छन्‌।”—प्रेषि. ९:१३, १४.

१०. हननियासित येसुले गर्नुभएको व्यवहारबाट हामी के सिक्न सक्छौँ?

१० आफ्नो चिन्ता व्यक्‍त गरेकोमा येसुले हननियालाई हप्काउनुभएन। तर तिनलाई सुस्पष्ट निर्देशन भने दिनुभयो। यो विशेष काम गर्न तिनलाई छान्‍नुको कारण बताएर येसुले तिनको कदर गर्नुभयो। सावलबारे येसुले यसो भन्‍नुभयो: “यी मानिस जातिजातिका मानिसहरूलाई, राजाहरूलाई अनि इस्राएलका सन्तानलाई मेरो नामको साक्षी दिन मैले रोजेको पात्र हुन्‌। मेरो नामको खातिर तिनले कत्ति धेरै दुःख भोग्नुपर्नेछ, त्यो म तिनलाई राम्ररी देखाउनेछु।” (प्रेषि. ९:१५, १६) हननियाले येसुले भन्‍नुभएबमोजिम गरिहाले। तिनले खेदो गर्ने सावललाई भेटेर यसो भने: “भाइ सावल, तपाईँको दृष्टि फर्कोस्‌ र तपाईँ पवित्र शक्‍तिले भरिनुहोस्‌ भनेर प्रभु येसुले मलाई पठाउनुभएको हो, जो तपाईँ आउँदै गर्दा बाटोमा देखा पर्नुभएको थियो।”—प्रेषि. ९:१७.

११, १२. सावलको जीवनमा घटेको घटनाबाट हामी के सिक्न सक्छौँ?

११ सावलको जीवनमा घटेको यस घटनाबाट केही कुराहरू प्रस्ट हुन्छन्‌। उदाहरणको लागि, येसुले आफ्नो प्रतिज्ञाअनुसारै सक्रियतासाथ साक्षीकार्यलाई डोऱ्‍याइरहनुभएको छ। (मत्ति २८:२०) आज उहाँ हामीसित सीधै कुरा गर्नुहुन्‍न। बरु उहाँ घरका अरू दासहरूमाथि नियुक्‍त गरिएको विश्‍वासी र बुद्धिमान्‌ दासमार्फत साक्षीकार्यलाई डोऱ्‍याउँदै हुनुहुन्छ। (मत्ति २४:४५-४७) परिचालक निकायको निर्देशनअनुसारै प्रकाशकहरू र अग्रगामीहरू ख्रिष्टबारे जान्‍न इच्छुक व्यक्‍तिहरूलाई खोज्छन्‌। अघिल्लो अध्यायमा उल्लेख गरिएझैँ थुप्रै व्यक्‍तिले परमेश्‍वरको डोऱ्‍याइको लागि प्रार्थना गरेका छन्‌ र यहोवाका साक्षीहरूसित तिनीहरूको भेट भएको छ।—प्रेषि. ९:११.

१२ हननियाले आफूले पाएको जिम्मेवारी आज्ञाकारी भई पूरा गरे र आशिष्‌ पाए। राम्ररी साक्षी दिने जिम्मेवारी पूरा गर्न तपाईँलाई गाह्रो लागे तापनि के तपाईँ यो आज्ञा पालन गर्नुहुन्छ? कसै-कसैलाई घरघरमा गएर नचिनेका मानिसहरूसित कुरा गर्न डर लाग्छ। अरूलाई भने मानिसहरूलाई तिनीहरूको काम गर्ने ठाउँमा, सडकमा अनि टेलिफोन वा चिठीमार्फत साक्षी दिन चुनौतीपूर्ण लाग्छ। हननियाले आफ्नो डरलाई जित्न सके र सावललाई पवित्र शक्‍ति पाउन मदत गर्ने सुअवसर पाए। b येसुमाथि भरोसा गरेकोले अनि सावललाई सम्भाव्य ख्रिष्टियन भाइ ठानेकोले हननिया सफल भए। हामीले पनि हननियाले जस्तै साक्षीकार्यलाई येसुले डोऱ्‍याउँदै हुनुहुन्छ भनेर भरोसा गऱ्‍यौँ, मानिसहरूप्रति समानुभूति देखायौँ र डरलाग्दो मानिसहरूलाई पनि आफ्नो सम्भाव्य भाइ वा बहिनी ठान्यौँ भने आफ्नो डर जित्न सक्छौँ।—मत्ति ९:३६.

‘तिनले येसुबारे प्रचार गर्न थाले’ (प्रेषित ९:१८-३०)

१३, १४. तपाईँ बाइबल अध्ययन गर्दै हुनुहुन्छ तर बप्तिस्मा भने गर्नुभएको छैन भने सावलको उदाहरणबाट के सिक्न सक्नुहुन्छ?

१३ आफूले सिकेअनुसार सावलले तुरुन्तै कदम चालिहाले। हननियाले निको पारिदिएपछि तिनले बप्तिस्मा गरे र दमिसकका चेलाहरूसित सङ्‌गत गर्न थाले। साथै तिनले “येसु नै परमेश्‍वरको छोरा हुनुहुन्छ भनेर तुरुन्तै त्यहाँका सभाघरहरूमा प्रचार गर्न थाले।”—प्रेषि. ९:२०.

१४ तपाईँ बाइबल अध्ययन गर्दै हुनुहुन्छ तर बप्तिस्मा गर्नुभएको छैन भने के तपाईँ पनि सावलजस्तै आफूले सिकेका कुराहरूको आधारमा निर्णायक कदम चाल्न तयार हुनुहुनेछ? हो, ख्रिष्टले गर्नुभएको चमत्कार सावल आफैले देखे। त्यस कुराले पक्कै पनि तिनलाई कदम चाल्न उत्प्रेरित गऱ्‍यो। तर ठोस कदम चाल्न चमत्कार नै देख्नुपर्छ भन्‍ने छैन। सम्झनुहोस्‌ त, येसुले गर्नुभएका चमत्कारहरू थुप्रै मानिसले देखेका थिए। उदाहरणको लागि, येसुले हात सुकेको मानिसलाई निको पार्नुहुँदा फरिसीहरूको एउटा समूहले हेरिरहेको थियो। उहाँले लाजरसलाई मृत्युबाट ब्युँताउनुभएको कुरा पनि सबैजसो यहुदीलाई थाह थियो। तर धेरैले ती चमत्कारहरूको वास्तै गरेनन्‌। कतिले त येसुको विरोध समेत गरे। (मर्कु. ३:१-६; युह. १२:९, १०) सावलको भने मन परिवर्तन भयो। अरू मानिसमा केही असर नपरे तापनि सावलमा भने किन यत्ति ठूलो परिवर्तन आयो? किनभने तिनी मानिसको भन्दा परमेश्‍वरको डर मान्थे र ख्रिष्टले आफूलाई देखाउनुभएको दयाको एकदमै कदर गरे। (फिलि. ३:८) तपाईँले पनि त्यस्तै गर्नुभयो भने साक्षी दिन र बप्तिस्मा गर्नदेखि तपाईँलाई कुनै कुराले रोक्न सक्नेछैन!

१५, १६. सावलले सभाघरहरूमा के गरे? दमिसकका यहुदीहरूले कस्तो प्रतिक्रिया देखाए?

१५ सावलले सभाघरहरूमा येसुबारे साक्षी दिन थाल्दा मानिसहरूमाझ कत्ति हलचल मच्चियो र तिनीहरू कत्ति क्रोधित भए होलान्‌! तिनीहरूले यस्तो प्रश्‍न गरे, “के यो त्यही मानिस होइन, जसले यरुसलेममा यो नाम पुकार्नेहरूको संहार गर्थ्यो?” (प्रेषि. ९:२१) येसुप्रतिको आफ्नो सोचाइ परिवर्तन हुनुको कारण बताउँदा सावलले “येसु नै ख्रिष्ट हुनुहुन्छ भनेर तर्कसङ्‌गत ढङ्‌गमा प्रमाणित” गरे। (प्रेषि. ९:२२) तर तर्ककै आधारमा सबैको मन जित्न सकिँदैन। यसले परम्परामा गाँजिएका सबै मानिसलाई परिवर्तन गर्न सक्दैन वा घमन्डी मानिसको विचारलाई पनि बदल्न सक्दैन।

१६ तीन वर्षपछि पनि दमिसकका यहुदीहरू अझै सावलको विरोध गर्दै थिए। अन्ततः तिनीहरूले सावललाई मार्ने मतो गरे। (प्रेषि. ९:२३; २ कोरि. ११:३२, ३३; गला. १:१३-१८) यस्तो षड्यन्त्रबारे चाल पाएपछि सावलले चुपचाप त्यो सहर छोड्‌ने निर्णय गरे। तिनलाई एउटा टोकरीमा हालेर राती नै सहरको पर्खालको झ्यालबाट बाहिर ओह्रालियो। त्यस रात सावललाई भाग्न मदत गर्नेहरूलाई लुकाले “तिनका [सावलका] चेलाहरू” भनी बताएका छन्‌। (प्रेषि. ९:२५) यसबाट दमिसकमा भएका कोही-कोहीले सावलको कुरा सुने र तिनीहरू ख्रिष्टको अनुयायी बने भनेर थाह हुन्छ।

१७. (क) बाइबल सत्यप्रति मानिसहरूले के-कस्तो प्रतिक्रिया देखाउन सक्छन्‌? (ख) हामीले के गरिरहनुपर्छ र किन?

१७ बाइबलको सत्य एकदमै तर्कसङ्‌गत भएकोले तपाईँलाई आफूले सिकिरहेको कुरा आफ्नो परिवार, साथीभाइ र अरूलाई बताउँदा तिनीहरूले स्विकार्नेछन्‌ भन्‍ने लागेको हुन सक्छ। कसै-कसैले स्विकारे होलान्‌ तर थुप्रैले भने स्विकारेनन्‌ होला। वास्तवमा भन्‍नुपर्दा तपाईँका आफ्नै परिवारका सदस्यले समेत तपाईँलाई शत्रुजस्तो व्यवहार गरे होलान्‌। (मत्ति १०:३२-३८) तर तपाईँले धर्मशास्त्रबाट तर्क गर्ने आफ्नो क्षमता अझै तिखार्नुभयो र परमेश्‍वरको स्तरबमोजिम चलिरहनुभयो भने तपाईँलाई विरोध गर्नेहरूको मन परिवर्तन हुन सक्छ।—प्रेषि. १७:२; १ पत्रु. २:१२; ३:१, २, ७.

१८, १९. (क) बर्णाबासले सावल येसुको चेला भइसकेको प्रमाण दिएपछि नतिजा कस्तो भयो? (ख) हामी कसरी बर्णाबास र सावलको अनुकरण गर्न सक्छौँ?

१८ यरुसलेममा पुगेर सावलले आफू पनि येसुको एक जना चेला बनिसकेको कुरा बताउँदा त्यहाँका चेलाहरूले नपत्याउनु अचम्मलाग्दो कुरा थिएन। तर सावल साँच्चै चेला भइसके भनेर बर्णाबासले प्रमाण दिएपछि प्रेषितहरूले सावललाई स्विकारे र सावलले तिनीहरूसितै केही समय बिताए। (प्रेषि. ९:२६-२८) सावल विवेकी थिए र सुसमाचार सुनाउन सर्माउँदैनथे। (रोमी १:१६) आफूले ख्रिष्टका चेलाहरूविरुद्ध भीषण सतावट सुरु गरेको ठाउँ यरुसलेममै तिनले साहसी भई सुसमाचार सुनाए। ख्रिष्टियनहरूलाई नामेट पार्ने काममा नेतृत्व लिएको मान्छे नै ख्रिष्टियन बनेको देख्दा यरुसलेमका यहुदीहरू चकित भए र तिनीहरूले सावललाई मार्न खोजे। विवरण यसो भन्छ: “जब भाइहरूले यो कुरा चाल पाए, तब उनीहरूले [सावललाई] तल सिजरिया ल्याए र टार्ससतिर पठाए।” (प्रेषि. ९:३०) सावल मण्डलीमार्फत येसुले दिनुभएको निर्देशनअनुसार चले। यसबाट सावल र मण्डली दुवैलाई फाइदा भयो।

१९ याद गर्नुहोस्‌, सावललाई सघाउन बर्णाबास आफै अग्रसर भए। उक्‍त दयालु कामले यहोवाका यी जोसिला सेवकहरूबीच घनिष्ठ मित्रता कायम गर्न पक्कै मदत पुऱ्‍यायो। मण्डलीका नयाँ सदस्यहरूसितै सुसमाचार सुनाउने काममा भाग लिएर र आध्यात्मिक तवरमा उन्‍नति गर्न मदत दिएर के तपाईँ पनि बर्णाबासजस्तै तिनीहरूलाई राजीखुसीले सघाउनुहुन्छ? यसो गरिरहनुभएको छ भने तपाईँले थुप्रै आशिष्‌ पाउनुहुनेछ। तपाईँ नयाँ प्रकाशक हुनुहुन्छ भने सावलले जस्तै के तपाईँ पनि अरूले मदत दिँदा स्विकार्नुहुन्छ? अनुभवी प्रकाशकहरूसित साक्षीकार्यमा जाँदा तपाईँको साक्षी दिने कला अझ तिखारिनेछ, तपाईँ अझै आनन्दित हुनुहुनेछ र तिनीहरूसित आजीवन मित्रता गाँस्न सक्नुहुनेछ।

“धेरै जनाले प्रभुमा विश्‍वास गरे” (प्रेषित ९:३१-४३)

२०, २१. परमेश्‍वरका जनहरूले विगतमा र वर्तमानमा ‘शान्ति छाएको’ समयको कसरी सदुपयोग गरेका छन्‌?

२० सावल ख्रिष्टियन बनेपछि “सारा यहुदिया, गालिल र सामरियाको मण्डलीमा शान्ति छायो।” (प्रेषि. ९:३१) चेलाहरूले यस अनुकूल अवस्थाको कसरी सदुपयोग गरे? (२ तिमो. ४:२) तिनीहरू ‘सुदृढ हुँदै गए’ भनेर बाइबलले बताएको छ। प्रेषित तथा अरू जिम्मेवार भाइहरूले चेलाहरूको विश्‍वासलाई अझै बलियो बनाए र मण्डलीलाई “यहोवा परमेश्‍वरको डर अनि पवित्र शक्‍तिबाट पाएको प्रोत्साहनअनुसार” हिँड्‌न मदत गरे। उदाहरणको लागि, पत्रुसले यही समयमा सारोन बेँसीको लिड्डा सहरमा बस्ने चेलाहरूलाई विश्‍वासमा बलियो हुन मदत गरे। तिनको प्रयासको कारण त्यस सहरको वरपर बस्ने थुप्रै मानिसले “प्रभुमा विश्‍वास गर्न थाले।” (प्रेषि. ९:३२-३५) चेलाहरू अरू कुराहरूमा अलमलिएनन्‌ बरु एकअर्काको हेरविचार गर्ने र सुसमाचार सुनाउने काममा व्यस्त भए। परिणामस्वरूप “मण्डलीको वृद्धि हुँदै गयो।”

२१ बीसौँ शताब्दीको अन्ततिर थुप्रै देशमा यहोवाका साक्षीहरूले पनि त्यस्तै ‘शान्ति छाएको’ अनुभव गरे। धेरै वर्षदेखि परमेश्‍वरका जनहरूको खेदो गरेका सरकारहरूको अचानक पतन भयो, साक्षीकार्यमा प्रतिबन्ध लगाइएका ठाउँहरूमा सुसमाचार सुनाउन सजिलो भयो र कुनै-कुनै ठाउँमा प्रतिबन्ध हटाइयो। हजारौँ साक्षीहरू यस्तो अवस्थाको पूरापूर फाइदा उठाउँदै साक्षीकार्यमा लागे र कल्पना समेत नगरिएका नतिजाहरू निस्किए।

२२. अहिले पाइरहेको स्वतन्त्रताको तपाईँ कसरी सदुपयोग गर्न सक्नुहुन्छ?

२२ के तपाईँ अहिले पाइरहेको स्वतन्त्रताको सदुपयोग गर्दै हुनुहुन्छ? तपाईँ धार्मिक स्वतन्त्रता भएको देशमा बस्नुहुन्छ भने सैतान तपाईँलाई राज्य गतिविधिको नभई धनसम्पत्तिको पछि लाग्न उक्साउन खोज्छ। (मत्ति १३:२२) यस्ता कुराहरूमा नअलमलिनुहोस्‌। अहिले केही हदसम्म शान्ति छाएको अवस्थालाई फलदायी ढङ्‌गमा प्रयोग गर्नुहोस्‌। यस्तो अवस्थालाई राम्ररी साक्षी दिने र मण्डलीलाई सुदृढ बनाउने अवसरको रूपमा लिनुहोस्‌। नबिर्सनुहोस्‌, तपाईँको परिस्थिति अचानक परिवर्तन हुन सक्छ।

२३, २४. (क) तबिताको विवरणबाट हामी कस्ता पाठ सिक्न सक्छौँ? (ख) हामीले कस्तो सङ्‌कल्प गर्नुपर्छ?

२३ प्रथम शताब्दीकी ख्रिष्टियन बहिनी तबितालाई के भयो, विचार गर्नुहोस्‌। तिनी लिड्डानजिकैको सहर जोप्पामा बस्थिन्‌। यी वफादार बहिनी आफ्नो समय र स्रोत बुद्धिमानी ढङ्‌गमा प्रयोग गरेर “थुप्रै असल काम र दानपुण्य गर्थिन्‌।” तर अचानक तिनी बिरामी परिन्‌ र तिनको मृत्यु भयो। c जोप्पामा भएका चेलाहरू र अझ विशेषगरि तिनले मदत गरेका विधवाहरू एकदमै शोकित भए। लास गाड्‌न तयार पारिराखेको बेला पत्रुस त्यहाँ पुगे र तिनले येसु ख्रिष्टका प्रेषितहरूले पहिला कहिल्यै नगरेको चमत्कार गरे। पत्रुसले प्रार्थना गरे र तबितालाई जीवित पारे! पत्रुसले विधवाहरू र अरू चेलाहरूलाई कोठाभित्र बोलाएर जीवित तबितालाई जिम्मा लगाउँदा तिनीहरू कत्ति खुसी भए होलान्‌! यो घटनाले छिट्टै आइपर्ने परीक्षाहरूको सामना गर्न तिनीहरूलाई कत्ति बलियो बनायो होला! पक्कै पनि “यो कुरा जोप्पाभरि फैलियो र धेरै जनाले प्रभुमा विश्‍वास गरे।”—प्रेषि. ९:३६-४२.

तपाईँ कसरी तबिताको अनुकरण गर्न सक्नुहुन्छ?

२४ मनै छुने यस घटनाबाट हामी दुई वटा महत्त्वपूर्ण पाठ सिक्छौँ। (१) जीवन क्षणिक छ। आफूले सक्ने बेलामा नै परमेश्‍वरको नजरमा असल नाम कमाउनु कत्ति महत्त्वपूर्ण छ! (उप. ७:१) (२) फेरि जीवित हुने आशा पक्का छ। तबिताले गरेका थुप्रै दयालु काम यहोवाको नजरबाट लुकेको थिएन। त्यसैले उहाँले तिनलाई इनाम दिनुभयो। आरमागेडोन आउनुअघि नै हाम्रो मृत्यु भएमा हामीले गरेको कडा परिश्रम यहोवाले बिर्सनुहुनेछैन र हामीलाई फेरि जीवित पार्नुहुनेछ। (हिब्रू ६:१०) हामी अहिले “प्रतिकूल” अवस्थामा होऔँ वा ‘शान्ति छाएको’ अवस्थामा, ख्रिष्टबारे राम्ररी साक्षी दिने काममा लगनशील भई लागिरहौँ।—२ तिमो. ४:२.

a पृष्ठ ६२ मा भएको “ सावल—एक जना फरिसी” शीर्षकको पेटी हेर्नुहोस्‌।

b साधारणतया पवित्र शक्‍तिको वरदान प्रेषितहरूमार्फत दिइन्थ्यो। तर यस विशेष अवसरमा सावललाई पवित्र शक्‍ति दिन उहाँले हननियालाई नै अख्तियार दिनुभयो। ख्रिष्टियन भएको लामो समयसम्म सावलले १२ प्रेषितलाई भेट्‌न पाएनन्‌। तर त्यस अवधिभरि तिनी सक्रिय रहे। त्यसैले यहोवाले तिनलाई साक्षी दिने जिम्मेवारी पूरा गर्न आवश्‍यक शक्‍ति दिइरहनुभयो।

c पृष्ठ ६७ मा भएको “ तबिता ‘थुप्रै असल काम’ गर्थिन्‌” शीर्षकको पेटी हेर्नुहोस्‌।