सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय ६

स्तिफनसले “परमेश्‍वरबाट अनुग्रह र बल पाए”

स्तिफनसले “परमेश्‍वरबाट अनुग्रह र बल पाए”

स्तिफनसले यहुदी न्यायपरिषद्‌सामु निडर भई दिएको साक्षीबाट पाठ

प्रेषित ६:८–८:३ मा आधारित

१-३. (क) स्तिफनस कस्तो गम्भीर अवस्थामा छन्‌? तर उनी कस्तो प्रतिक्रिया देखाउँछन्‌? (ख) हामी कुन-कुन प्रश्‍न विचार गर्नेछौँ?

 स्तिफनसलाई यहुदी न्यायपरिषद्‌सामु उभ्याइएको छ। सम्भवतः यरुसलेमको मन्दिरनजिकै रहेको त्यस भव्य भवनमा ७१ जना पुरुष ठूलो अर्धघेरा बनाएर बसिरहेका छन्‌। आज यो न्यायपरिषद्‌ स्तिफनसको न्याय गर्न जम्मा भएको छ। न्यायाधीशहरू प्रभावशाली छन्‌। तिनीहरूमध्ये धेरैले येसुका यी चेलालाई मान्छे नै गन्दैनन्‌। वास्तवमा प्रधानपुजारी कैयाफाले नै आज पनि यहुदी न्यायपरिषद्‌को बैठक बोलाएका हुन्‌, जो केही महिनाअघि येसुलाई मृत्युदण्डको सजाय सुनाउँदा न्यायपरिषद्‌का अध्यक्ष थिए। के स्तिफनस डराएका छन्‌?

यतिबेला स्तिफनसको अनुहारमा अचम्मलाग्दो भाव छ। न्यायाधीशहरूले स्तिफनसको अनुहार “स्वर्गदूतको जस्तै” देखेकोले उनलाई एकटकले हेरिरहेका छन्‌। (प्रेषि. ६:१५) स्वर्गदूतहरू यहोवाको सन्देश सुनाउँछन्‌। त्यसैले तिनीहरू निडर अनि शान्त रहन सक्छन्‌। यतिबेला स्तिफनस पनि यस्तै महसुस गर्दै छन्‌। उनलाई एकदमै घृणा गर्ने ती न्यायाधीशहरूले समेत यो कुरा याद गर्छन्‌। स्तिफनस किन यत्ति शान्त रहन सकेका हुन्‌?

यस प्रश्‍नको जवाफबाट आज पनि ख्रिष्टियनहरूले धेरै कुरा सिक्न सक्छन्‌। स्तिफनस कसरी यस्तो गम्भीर अवस्थामा पुगे, त्यो पनि हामीले थाह पाउनुपर्छ। पहिले पनि उनले आफ्नो विश्‍वासको पक्षमा कसरी बोलेका थिए? हामी कसरी उनको अनुकरण गर्न सक्छौँ?

‘तिनीहरूले मानिसहरूलाई भड्‌काए’ (प्रेषित ६:८-१५)

४, ५. (क) स्तिफनस मण्डलीको लागि किन बहुमूल्य सम्पत्ति थिए? (ख) स्तिफनसले “परमेश्‍वरबाट अनुग्रह र बल पाएका” थिए भनेर किन भन्‍न सकिन्छ?

भर्खरै स्थापना भएको ख्रिष्टियन मण्डलीको लागि स्तिफनस बहुमूल्य सम्पत्ति थिए भन्‍ने कुरा हामीले थाह पाइसकेका छौँ। साथै खाँचोमा परेकाहरूलाई खाना बाँड्‌नको लागि प्रेषितहरूले मदत माग्दा राजीखुसीले तयार भएका सात जना नम्र पुरुषमध्ये एक स्तिफनस पनि थिए भनेर हामीले अघिल्लो अध्यायमा पढ्यौँ। परमेश्‍वरले उनलाई थुप्रै वरदान दिनुभएको थियो तर उनको नम्रता अझ उल्लेखनीय छ। प्रेषित ६:८ मा हेऱ्‍यौँ भने अन्य केही प्रेषितले जस्तै उनले पनि “ठूलठूला आश्‍चर्यजनक कार्य अनि चमत्कारहरू” गर्ने शक्‍ति पाएका थिए। उनले “परमेश्‍वरबाट अनुग्रह र बल पाएका” थिए भनेर पनि बताइएको छ। यसको अर्थ के हो?

“अनुग्रह” भनेर अनुवाद गरिएको ग्रीक शब्दले “कृपा” भन्‍ने अर्थ पनि दिन्छ। स्तिफनस सबैलाई दयालु र कोमल व्यवहार गर्थे। त्यसैले मानिसहरू उनीप्रति आकर्षित हुन्थे। उनी आफू इमानदार छु र आफूले सिकाइरहेका कुराहरू मानिसहरूकै फाइदाको लागि हुन्‌ भनेर विश्‍वस्त पार्ने गरी बोल्थे। नम्र भई यहोवाको डोऱ्‍याइमा भर परेको कारण उनी परमेश्‍वरको शक्‍तिले भरिपूर्ण भए। आफूले पाएको वरदान र क्षमताहरूको कारण घमन्डले फुल्नुको साटो उनले सबै कुराको श्रेय यहोवालाई दिए र आफ्ना श्रोताहरूप्रति मायालु चासो देखाए। त्यसैले विरोधीहरूले उनलाई आफ्नो लागि खतरा सम्झनु छक्कलाग्दो कुरा थिएन!

६-८. (क) स्तिफनसका विरोधीहरूले कुन दुई वटा आरोप लगाए र किन? (ख) स्तिफनसको उदाहरण आजका ख्रिष्टियनहरूको लागि किन मदतकारी छ?

स्तिफनससित विवाद गर्न धेरै जना खडा भए। तर “तिनी जुन बुद्धि र पवित्र शक्‍तिको साथमा बोलिरहेका थिए, त्यससामु तिनीहरू टिक्न सकेनन्‌।” a तिनीहरूले रिसाउँदै ख्रिष्टका यी निर्दोष चेलामाथि दोष थोपर्न मानिसहरूलाई “गुप्तमा उक्साए।” साथै स्तिफनसलाई जबरजस्ती पक्रेर यहुदी न्यायपरिषद्‌सामु लैजानको लागि तिनीहरूले “मानिसहरू, धर्मगुरुहरू र शास्त्रीहरूलाई भड्‌काए।” (प्रेषि. ६:९-१२) विरोधीहरूले उनलाई यी दुई वटा आरोप लगाए: एउटा परमेश्‍वरको निन्दा गरेको अनि अर्को मोसाको निन्दा गरेको। तर कसरी?

स्तिफनसले “यो पवित्र ठाउँ” अर्थात्‌ यरुसलेमको मन्दिरविरुद्ध बोलेर परमेश्‍वरको निन्दा गर्दै छन्‌ भनेर झूटा आरोपकहरूले बताए। (प्रेषि. ६:१३) तिनीहरूले उनलाई मोसाबाट पाएको रीतिथिति परिवर्तन गर्दै व्यवस्थाविरुद्ध बोलेर मोसाको निन्दा गरेको आरोप पनि लगाए। यो एकदमै गम्भीर आरोप थियो। किनभने त्यतिबेलाका यहुदीहरूले मन्दिर, मोसाको व्यवस्थाका ससाना नियमहरू र तिनीहरूले व्यवस्थामा थपथाप गरेका अन्य थुप्रै मौखिक व्यवस्थालाई एकदम महत्त्व दिन्थे। यस्ता आरोपहरू लगाउनुको अर्थ स्तिफनस तिनीहरूको लागि मृत्युदण्ड पाउन लायकका खतरनाक व्यक्‍ति थिए!

तर धर्मगुरुहरूले परमेश्‍वरका जनहरूको काममा बाधा पुऱ्‍याउन यस्ता आरोप लगाउनु नौलो कुरा होइन। आज पनि तिनीहरू यहोवाका साक्षीहरूलाई सताउन बेलाबेला नेताहरूलाई उक्साउँछन्‌। मानिसहरूले हामीमाथि झूटा आरोपहरू लगाउँदा हामीले कस्तो प्रतिक्रिया देखाउनुपर्छ? स्तिफनसबाट हामी धेरै कुरा सिक्न सक्छौँ।

“महिमाका परमेश्‍वर”-बारे निडर भई साक्षी दिए (प्रेषित ७:१-५३)

९, १०. यहुदी न्यायपरिषद्‌सामु स्तिफनसले दिएको जवाफको कोही-कोही किन आलोचना गर्छन्‌? हामीले कुन कुरा बिर्सनु हुँदैन?

यस अध्यायको सुरुमा बताइएझैँ आफूविरुद्ध लगाइएको आरोप सुन्दै गर्दा स्तिफनसको अनुहार स्वर्गदूतको जस्तै शान्त देखिन्थ्यो। कैयाफाले उनीतर्फ हेर्दै सोधे: “के यो कुरा साँचो हो?” (प्रेषि. ७:१) अब बोल्ने पालो स्तिफनसको थियो। उनले जोडदार ढङ्‌गमा बोले!

१० कोही-कोही स्तिफनसको जवाफको आलोचना गर्छन्‌ किनभने तिनीहरूको तर्कअनुसार स्तिफनसले लामो भाषण दिए तापनि आफूमाथि लगाइएका आरोपहरूको भने एक चोटि पनि खण्डन गर्न सकेनन्‌। तर वास्तवमा भन्‍नुपर्दा आफ्नो आस्थाबारे कसरी “जवाफ” दिने भनेर स्तिफनसले आज हाम्रो लागि उत्कृष्ट उदाहरण बसालेका छन्‌। (१ पत्रु. ३:१५) नबिर्सनुहोस्‌, स्तिफनसमाथि मन्दिरको विरुद्धमा बोलेर परमेश्‍वरको निन्दा गरेको र व्यवस्थाको विरुद्धमा बोलेर मोसाको निन्दा गरेको आरोप लगाइएको थियो। स्तिफनसले आफ्नो जवाफमा इस्राएलको इतिहासको तीन कालखण्ड छोटकरीमा उल्लेख गरे र कुनै-कुनै बुँदालाई होसियार भई जोड दिए। अब आउनुहोस्‌, ती तीन कालखण्ड हामी एक-एक गरी विचार गरौँ।

११, १२. (क) स्तिफनसले अब्राहामको उदाहरण कसरी प्रभावकारी तरिकामा चलाए? (ख) स्तिफनसले किन युसुफबारे चर्चा गरे?

११ कुलपिताहरूको समय। (प्रेषि. ७:१-१६) स्तिफनसले अब्राहामबाट आफ्नो कुरा सुरु गरे। अब्राहामको विश्‍वासको कारण यहुदीहरू तिनलाई आदर गर्थे। यसरी स्तिफनसले उनका श्रोता पनि सहमत हुने महत्त्वपूर्ण विषयबाट कुरा सुरु गरे र “महिमाका परमेश्‍वर” यहोवा अब्राहामसामु पहिलो चोटि मेसोपोटामियामा देखा पर्नुभएको कुरामा जोड दिए। (प्रेषि. ७:२) वास्तवमा भन्‍ने हो भने अब्राहाम प्रतिज्ञा गरिएको देशमा प्रवासी थिए। अब्राहामको पालामा न मन्दिर थियो न त मोसाको व्यवस्था नै। त्यसैले परमेश्‍वरलाई विश्‍वास गर्न मन्दिर वा व्यवस्था हुनै पर्छ भनेर के कसैले जिद्दी गर्न मिल्छ र?

१२ स्तिफनसका श्रोताहरूले अब्राहामका सन्तान युसुफको पनि धेरै आदर गर्ने भएकाले तिनको विषयमा पनि केही कुरा बताए। युसुफका आफ्नै दाइहरू, जो पछि गएर इस्राएल राष्ट्रका कुलपिताहरू बन्‍ने थिए, तिनीहरूले नै धर्मी युसुफको खेदो गरे र तिनलाई दासको रूपमा बेचिदिए। तर अनिकालबाट इस्राएललाई जोगाउन परमेश्‍वरले युसुफलाई चलाउनुभयो। स्तिफनसले पक्कै पनि युसुफ र येसुबीच स्पष्ट समानताहरू देखेका थिए। तर उनले त्यसबारे केही बताएनन्‌ किनकि उनी श्रोताहरूले सकेसम्म लामो समय उनको कुरा सुनेको चाहन्थे।

१३. मोसाबारे बताएर स्तिफनसले आफूमाथि लगाइएको आरोपको जवाफ कसरी दिए? यस कुराले कुन मूल विषयलाई विस्तार गर्न मदत गऱ्‍यो?

१३ मोसाको समय। (प्रेषि. ७:१७-४३) स्तिफनसले मोसाबारे थुप्रै कुरा बताए। यसो गर्नु बुद्धिमानी थियो किनभने यहुदी न्यायपरिषद्‌का थुप्रै सदस्य सदुकीहरू थिए। तिनीहरू बाइबलमा मोसाले लेखेका किताबहरूलाई मात्र मान्यता दिन्थे। यो कुरा पनि नबिर्सनुहोस्‌, स्तिफनसलाई मोसाको निन्दा गरेको आरोप लगाइएको थियो। स्तिफनसले भनेका कुराहरूले उक्‍त आरोपको सीधै खण्डन गऱ्‍यो। किनभने उनको कुराले उनी मोसा र व्यवस्थाको गहिरो आदर गर्थे भनी प्रस्ट भयो। (प्रेषि. ७:३८) आफूले बचाउन खोजेका मानिसहरूबाट नै मोसा तिरस्कृत हुनुपरेको कुरा पनि स्तिफनसले बताए। मोसा ४० वर्षका हुँदा इस्राएलीहरूले तिनलाई तिरस्कार गरे। त्यसको ४० वर्षपछि पनि तिनीहरूले मोसाको नेतृत्वमाथि पटक-पटक प्रश्‍न उठाए। b यसरी स्तिफनसले एउटा मूल विषयलाई विस्तार गर्दै लगे। त्यो हो, यहोवाका जनहरूले तिनीहरूलाई डोऱ्‍याउन उहाँले नियुक्‍त गर्नुभएका व्यक्‍तिहरूलाई पटक-पटक तिरस्कार गरे।

१४. स्तिफनसले कुन बुँदा प्रस्ट पार्न मोसाको उदाहरण चलाए?

१४ मोसाले आफूजस्तै एक जना भविष्यवक्‍ता इस्राएलमा खडा हुनेछन्‌ भनेर गरेको भविष्यवाणी स्तिफनसले आफ्ना श्रोतालाई सम्झाए। तिनी को हुने थिए र तिनलाई स्विकारिने थियो कि थिएन? स्तिफनसले अन्तमा मात्र यस प्रश्‍नको जवाफ दिए। साथै उनले अर्को महत्त्वपूर्ण बुँदा प्रस्ट पारे: यहोवा जुनसुकै ठाउँलाई पवित्र पार्न सक्नुहुन्छ भनेर मोसाले सिकेका थिए। जस्तै: यहोवाले मोसासित बलिरहेको झाडी भएको ठाउँमा कुरा गर्नुहुँदा त्यो ठाउँ पवित्र भयो। त्यसैले के यहोवाको उपासनालाई एउटा भवनमा मात्र अर्थात्‌ यरुसलेममा रहेको मन्दिरमा मात्र सीमित पार्न सकिन्छ र? आउनुहोस्‌, हामी अझै बुझौँ।

१५, १६. (क) स्तिफनसले विस्तार गर्दै लगेको बुँदाको लागि वासस्थानबारे बताउनु किन महत्त्वपूर्ण थियो? (ख) आफ्नो जवाफमा स्तिफनसले सुलेमानको मन्दिरबारे के बताए?

१५ वासस्थान र मन्दिर। (प्रेषि. ७:४४-५०) यरुसलेममा मन्दिर बनाउनुअघि यताउता लैजान मिल्ने पालजस्तो एउटा वासस्थान बनाउन परमेश्‍वरले मोसालाई अह्राउनुभएको थियो अनि त्यही वासस्थानमा यहोवाको उपासना गरिन्थ्यो भनेर स्तिफनसले न्यायपरिषद्‌लाई याद गराए। मोसा आफैले वासस्थानमा उपासना गरेका हुनाले मन्दिरभन्दा वासस्थान तुच्छ थियो भन्‍ने कसको आँट?

१६ पछि सुलेमानले यरुसलेममा मन्दिर बनाएपछि तिनी प्रार्थनामा एउटा अत्यन्तै महत्त्वपूर्ण कुरा उल्लेख गर्न उत्प्रेरित भए। स्तिफनसले बताएझैँ “सर्वोच्च परमेश्‍वर हातले बनाएका भवनहरूमा बास गर्नुहुन्‍न।” (प्रेषि. ७:४८; २ इति. ६:१८) आफ्नो उद्देश्‍य पूरा गर्न यहोवाले मन्दिरलाई चलाउन सक्नुहुन्छ तर मन्दिरविना पनि उहाँ आफ्नो उद्देश्‍य पूरा गर्न सक्नुहुन्छ। त्यसोभए शुद्ध उपासना मानिसहरूले बनाएको भवनमा निर्भर हुन्छ भनेर उहाँका उपासकहरूले महसुस गर्नु सही होला त? यसैयाको पुस्तकबाट उद्धरण गर्दै स्तिफनसले यस कुरालाई जोडदार ढङ्‌गमा टुङ्‌ग्याए: “स्वर्ग मेरो सिंहासन हो अनि पृथ्वी मेरो पाउदान। तिमीहरू मेरो निम्ति कस्तो भवन बनाउँछौ? मेरो वासस्थान कहाँ बनाउँछौ? के यी सबै कुरा मैले आफ्नै हातले बनाएको होइनँ र?”—प्रेषि. ७:४९, ५०; यसै. ६६:१, २.

१७. (क) स्तिफनसको भाषणले उनका श्रोताहरूको मनोवृत्ति कसरी उदाङ्‌ग पाऱ्‍यो? (ख) उनले आफूमाथि लगाइएका आरोपहरूको जवाफ कसरी दिए?

१७ स्तिफनसले यहुदी न्यायपरिषद्‌लाई अहिलेसम्म दिएको जवाफ विचार गर्नुहोस्‌। आरोपकहरूको गलत मनोवृत्तिलाई के उनले कौशलतासाथ उदाङ्‌ग पारेनन्‌ र? यहोवा कठोर वा रीतिथितिमा बाँधिएको परमेश्‍वर हुनुहुन्‍न बरु उहाँ आफ्नो उद्देश्‍य पूरा गर्न समयअनुसार छाँटकाँट गर्नुहुन्छ भनेर उनले देखाए। यरुसलेममा रहेको त्यस भव्य भवनलाई र मोसाको व्यवस्थाबाट सुरु भएका रीतिथितिलाई बढ्‌तै महत्त्व दिने ती मानिसहरूले व्यवस्था र मन्दिरको मुख्य उद्देश्‍यलाई बुझ्न सकेनन्‌। अप्रत्यक्ष ढङ्‌गमा स्तिफनसले एउटा गहन कुरा बताए। उनले व्यवस्था र मन्दिरप्रति आदर देखाउने उत्तम तरिका भनेको यहोवाको आज्ञा पालन गरेर नै हो भनेर बताए। यसरी स्तिफनसले आफूमाथि लगाइएका आरोपहरूको सही तरिकामा जवाफ दिन सके किनभने उनले यहोवाको आज्ञा पालन गर्न सक्दो गरिरहेका थिए।

१८. हामीले स्तिफनसको अनुकरण गर्न कस्तो प्रयास गर्नुपर्छ?

१८ स्तिफनसले दिएको सफाइबाट हामी के सिक्न सक्छौँ? स्तिफनसलाई धर्मशास्त्रको नालीबेली थाह थियो। “सत्यको वचन ठीकसित प्रयोग” गर्न सक्ने हुन हामीले पनि परमेश्‍वरको वचन लगनशील भई अध्ययन गर्नुपर्छ। (२ तिमो. २:१५) स्तिफनसबाट हामी अनुग्रह र कौशलता कसरी देखाउने भनेर पनि सिक्न सक्छौँ। स्तिफनसका श्रोताहरू उनको शत्रु थिए। तैपनि उनले तिनीहरूले एकदमै महत्त्वपूर्ण ठान्‍ने विषय समाते र सम्भव भएसम्म दुवै पक्ष सहमत हुने बुँदा चर्चा गरे। उनले “बुबासमान बुज्रुगहरू” भनेर पाका व्यक्‍तिहरूप्रति आदर व्यक्‍त गरे। (प्रेषि. ७:२) हामीले पनि परमेश्‍वरको वचनको सत्य “कोमल भाव र गहिरो आदर”-साथ प्रस्तुत गर्नुपर्छ।—१ पत्रु. ३:१५.

१९. स्तिफनसले कसरी निडर भई यहुदी न्यायपरिषद्‌लाई यहोवाको न्यायको सन्देश सुनाए?

१९ तर मानिसहरूले अर्घेलो झिक्लान्‌ भन्‍ने डरले परमेश्‍वरको वचनको सत्य कुरा अरूलाई बताउनदेखि हामी पछि हट्‌दैनौँ। यहोवाको न्यायको सन्देशलाई हामी हल्का पनि बनाउँदैनौँ। स्तिफनसले त्यसै गरे। यहुदी न्यायपरिषद्‌सामु आफूले पेस गरेका प्रमाणहरूले ढुङ्‌गाजस्तो कठोर हृदय भएका ती न्यायाधीशहरूलाई कुनै असर गरेको छैन भनेर स्तिफनसले बुझिसकेका थिए। त्यसैले पवित्र शक्‍तिद्वारा उत्प्रेरित भएर स्तिफनसले तिनीहरू पनि युसुफ, मोसा र अरू सबै भविष्यवक्‍तालाई तिरस्कार गर्ने तिनीहरूका पुर्खाहरूजस्तै हुन्‌ भनी निडर भई बताएर आफ्नो कुरा टुङ्‌ग्याए। (प्रेषि. ७:५१-५३) मोसा र अरू सबै भविष्यवक्‍ताले मसीह आउनुहुन्छ भनेर भविष्यवाणी गरेका थिए। वास्तवमा यहुदी न्यायपरिषद्‌का ती न्यायाधीशहरूले तिनै मसीहलाई मारेका थिए। तिनीहरूले मोसाको व्यवस्थाविपरीत गरेको योजत्तिको दुष्ट काम अरू कुन होला र!

“हे प्रभु येसु, म आफ्नो सास तपाईँलाई अर्पण गर्दै छु” (प्रेषित ७:५४–८:३)

“यो सुनेर तिनीसित रिसले चूर भई तिनीहरूले दाह्रा किट्‌न थाले।”​—प्रेषित ७:५४

२०, २१. स्तिफनसका कुरा सुनेर यहुदी न्यायपरिषद्‌ले के गऱ्‍यो? यहोवाले स्तिफनसलाई कसरी बल दिनुभयो?

२० स्तिफनसले बताएका कुराहरू अकाट्य सत्य थिए। त्यसले गर्दा ती न्यायाधीशहरू रिसले मुरमुरिए र दाह्रा किट्‌न थाले। कस्तो अशोभनीय! ती विश्‍वासी चेलाले आफ्ना मालिक येसुले जस्तै आफूले पनि कृपा पाउने कुनै छनक देखेनन्‌।

२१ अब आफूले भोग्नुपर्ने परिस्थितिको सामना गर्न स्तिफनसलाई साहस चाहिएको थियो। त्यसैले यहोवाले दयालु भई देखाउनुभएको एउटा दर्शनबाट उनले पक्कै चाहिएकै प्रोत्साहन पाए। उनले दर्शनमा परमेश्‍वरको महिमा र येसु यहोवाको दाहिने हाततिर उभिरहनुभएको देखे! स्तिफनसले त्यस दर्शनबारे बताउँदा न्यायाधीशहरूले उनको कुरा सुन्‍न नचाहेर कान थुने। किन? केही समयअघि मात्र येसुले सोही न्यायपरिषद्‌सामु आफू मसीह हुँ र चाँडै आफ्नो बुबाको दाहिने हाततिर बसिरहेको हुनेछु भनेर बताउनुभएको थियो। (मर्कु. १४:६२) येसुले सत्य कुरा बोलिरहनुभएको थियो भनेर स्तिफनसको दर्शनले प्रमाणित गऱ्‍यो। यहुदी न्यायपरिषद्‌ले मसीहलाई धोका दिएको थियो र उहाँको हत्या गरेको थियो! अब तिनीहरू स्तिफनसलाई ढुङ्‌गाले हानेर मार्न एकसाथ जाइलागे। c

२२, २३. स्तिफनसले कुन तरिकामा आफ्नो मालिकले जस्तै मृत्यु भोगे? आज ख्रिष्टियनहरू कसरी स्तिफनसजस्तै यहोवामा भर पर्न सक्छन्‌?

२२ आफ्नो मालिक येसुले जस्तै स्तिफनसले पनि आफू मर्नुअघि यहोवामा पूर्ण भरोसा राखे, आफ्नो मन शान्त पारे र आफूलाई मार्न लागेकाहरूलाई क्षमा पनि दिए। उनले यसो भने: “हे प्रभु येसु, म आफ्नो सास तपाईँलाई अर्पण गर्दै छु।” अझै पनि स्तिफनसले येसुलाई आफ्नो बुबासँगै देखिरहेको हुनुपर्छ। स्तिफनसलाई येसुका यी प्रोत्साहनजनक शब्दहरू पक्कै थाह थियो: “मरेकाहरूलाई फेरि जीवित पार्ने र उनीहरूलाई जीवन दिने मै हुँ।” (युह. ११:२५) अन्तमा स्तिफनसले ठूलो स्वरमा परमेश्‍वरलाई यसरी प्रार्थना गरे: “हे यहोवा, यिनीहरूलाई यो पापको दोष नलागोस्‌।” त्यसपछि उनी मृत्युको चिरनिद्रामा परे।—प्रेषि. ७:५९, ६०.

२३ स्तिफनस ख्रिष्टका अनुयायीहरूमध्ये पहिलो सहिद भए। (पृष्ठ ४८ मा भएको “  ‘सहिद’—तर कुन अर्थमा?” शीर्षकको पेटी हेर्नुहोस्‌।) तर दुःखको कुरा उनी अन्तिम सहिद भने होइनन्‌। आज हाम्रो दिनसम्मै धार्मिक कट्टरपन्थीहरूले, राजनैतिक अतिवादीहरूले र अरू क्रूर विरोधीहरूले यहोवाका विश्‍वासी सेवकहरूको हत्या गरेका छन्‌। तैपनि हामी स्तिफनसजस्तै यहोवामा भर पर्न सक्छौँ। येसु अहिले आफ्नो बुबाबाट शक्‍ति पाएर शासन गर्दै हुनुहुन्छ। आफ्ना विश्‍वासी अनुयायीहरूलाई फेरि जीवित गर्नदेखि येसुलाई कसैले रोक्न सक्छ होला र?—युह. ५:२८, २९.

२४. स्तिफनसको हत्यामा सावलको भूमिका कस्तो थियो? ती विश्‍वासी पुरुषको मृत्युले गर्दा पछिसम्म कस्तो सकारात्मक प्रभाव पऱ्‍यो?

२४ एक जना जवान व्यक्‍तिले यी सबै घटना हेरिरहेका थिए। तिनी सावल थिए। स्तिफनसको हत्यामा तिनले पनि समर्थन गरेका थिए। तिनी स्तिफनसलाई ढुङ्‌गाले हान्‍नेहरूको लुगा कुरेर बसिरहेका थिए। केही समयपछि तिनले ख्रिष्टियनहरूलाई खेदो गर्ने काममा अगुवाइ लिए। तर स्तिफनसको मृत्युले गर्दा पछिसम्म सकारात्मक प्रभाव पऱ्‍यो। उनको उदाहरणले अन्य ख्रिष्टियनहरूलाई वफादार रहिरहन र सतावटमाथि त्यसरी नै विजयी हुन बल दियो। पछि पावल भनी चिनिएका तिनै सावल स्तिफनसलाई मार्न आफ्नो पनि हात भएकोमा निकै पछुताए। (प्रेषि. २२:२०) तिनले त्यो कुरा यसरी स्विकारे: “म परमेश्‍वरको निन्दा गर्ने, खेदो गर्ने र सोमत नभएको मानिस थिएँ।” (१ तिमो. १:१३) स्पष्ट छ, स्तिफनस र उनले दिएको त्यो जोडदार भाषण पावलले कहिल्यै बिर्सेनन्‌। वास्तवमा भन्‍ने हो भने पावलले आफ्ना कतिपय भाषण र लेखोटहरूमा ती नै बुँदाहरू समेटे, जुन स्तिफनसले आफ्नो भाषणमा बताएका थिए। (प्रेषि. ७:४८; १७:२४; हिब्रू ९:२४) समय बित्दै जाँदा पावलले “परमेश्‍वरबाट अनुग्रह र बल पाएका” स्तिफनसको विश्‍वास र साहसको उदाहरण पूरापूर अनुकरण गर्न सिके। के हामी पनि त्यसो गर्न सक्छौँ?

a विरोधीहरूमध्ये कोही-कोही “स्वतन्त्र दलको सभाघर” भनिने समूहका थिए। तिनीहरूलाई कुनै समय रोमीहरूले कैदी बनाएको र पछि मुक्‍त गरिदिएको हुन सक्छ। अथवा तिनीहरू स्वतन्त्र पारिएका दास हुन सक्थे, जो पछि धर्म परिवर्तन गरेर यहुदी बनेका थिए। तिनीहरूमध्ये कोही-कोही टार्ससका सावलजस्तै सिलिसियाका थिए। स्तिफनससितको विवादमा आफूलाई सही साबित गर्न नसकेका सिलिसियाका मानिसहरूमध्ये सावल पनि थिए कि थिएनन्‌ भनेर विवरणले बताएको छैन।

b बाइबलमा अन्त कतै नपाइने जानकारी स्तिफनसको भाषणमा मात्र पाइन्छ। जस्तै: मोसाले मिश्रमा पाएको शिक्षा, मिश्रबाट भाग्दा मोसाको उमेर र मोसा मिद्यानमा बसोबास गरेको समयावधि।

c यहुदी न्यायपरिषद्‌ले रोमी सरकारबाट कसैलाई मृत्युदण्ड दिने अधिकार पाएको थियो कि थिएन, त्यो पक्का छैन। (युह. १८:३१) जेहोस्‌, स्तिफनसलाई कानुनबमोजिम मृत्युदण्ड दिइएको नभई क्रोधित भीडले उनको हत्या गरेजस्तो देखिन्छ।