अध्याय १
“जाओ र . . . चेला बनाओ”
प्रेषितको पुस्तकको एक झलक र हाम्रो लागि पाठ
१-६. साक्षीहरूले फरक-फरक परिस्थितिमा सुसमाचार सुनारहेका छन् भनी देखाउने कुनै अनुभव बताउनुहोस्।
घानाकी जवान साक्षी रिबेका आफू पढिरहेको स्कुललाई साक्षी दिने इलाका ठान्थिन्। स्कुल जाँदा तिनी सधैँ बाइबलआधारित साहित्यहरू पनि लैजान्थिन्। खाजा खाने बेलामा तिनी आफ्ना साथीहरूलाई सुसमाचार सुनाउने मौका खोज्थिन्। तिनले आफ्नो कक्षाका केही साथीहरूसित बाइबल अध्ययन सञ्चालन गर्न थालिन्।
२ उखुम गर्मी हुने अफ्रिकाको पूर्वीय तटनजिकै पर्ने मडागास्करको टापुमा दुई अग्रगामीहरू एउटा टाढाको गाउँमा पुग्न झन्डै २५ किलोमिटर हिँडे। त्यहाँ तिनीहरूले थुप्रै जिज्ञासु व्यक्तिलाई बाइबल अध्ययन गराए।
३ पाराग्वे र पाराना नदीको छेउछाउमा बस्ने मानिसहरूसम्म पुग्न पाराग्वेका साक्षीहरूले अन्य १५ देशका साक्षीहरूसित मिलेर ४५ टनको एउटा जहाज बनाए। बाह्र जनासम्म बस्न मिल्ने यो जहाजलाई नै तिनीहरूले आफ्नो घर बनाएका छन्। अन्य माध्यमद्वारा पुग्नै नसकिने ठाउँहरूमा समेत यी जोसिला प्रचारकहरू उक्त जहाज चढेर राज्यको सुसमाचार सुनाउन जाने गर्छन्।
४ अमेरिकाको अलास्काका साक्षीहरूले पर्यटकहरू आउने गर्मी याममा साक्षी दिने विशेष मौका गुमाएनन्। मौसम न्यानो हुन थालेपछि पानी जहाजबाट विभिन्न देशका पर्यटकहरू त्यहाँ आउँथे। त्यतिबेला स्थानीय साक्षीहरू बन्दरगाहमा विभिन्न भाषाका बाइबल साहित्यहरू आकर्षक तरिकामा राख्थे। अलास्काका दुर्गम गाउँहरूमा पुग्न हवाईजहाज पनि एकदम मदतकारी साबित भयो। यस्तो सुविधाले गर्दा आलुट, अथाबास्कन, चिमसियन र क्लिनकेट इलाकाहरूमा सुसमाचार सुनाउन सम्भव भयो।
५ अमेरिकाको टेक्ससका भाइ ल्यारीको एउटा विशेष इलाका थियो। तिनी वृद्धाश्रममा बस्थे। दुर्घटनाको कारण ह्वीलचेयरमै कोचिनुपरे तापनि तिनी व्यस्त भए। तिनी अरूलाई परमेश्वरको राज्यमा आफू फेरि हिँड्न सक्छु भनेर बाइबलबाट पाएको आशा बाँड्थे र राज्य सन्देश सुनाउँथे।—यसै. ३५:५, ६.
६ उत्तरी म्यानमारमा सम्मेलन जानको लागि साक्षीहरूको एउटा समूहले मन्डलायेबाट पानी जहाजमा तीन दिनको यात्रा गऱ्यो। सुसमाचार सुनाउन जोसिला ती साक्षीहरूले आफूसँगै बाइबल साहित्यहरू पनि लगे र अरू यात्रीहरूलाई दिए। हरेक पटक जहाज कुनै सहर वा गाउँमा रोकिनेबित्तिकै ती जोसिला साक्षीहरू बस्तीतिर दौडिहाल्थे र साहित्यहरू दिन्थे। त्यतिन्जेल जहाजमा चढेका नयाँ यात्रुहरू ती साक्षीहरूको लागि “नयाँ इलाका” बन्थ्यो।
७. यहोवाका साक्षीहरू कुन-कुन तरिकामा परमेश्वरको राज्यबारे साक्षी दिन्छन्? तिनीहरूको लक्ष्य के हो?
७ यी भाइबहिनीले झैँ संसारभरि यहोवाका जोसिला उपासकहरूले “परमेश्वरको राज्यको विषयमा राम्ररी साक्षी” दिइरहेका छन्। (प्रेषि. २८:२३) तिनीहरू घर-घरमा जान्छन्, सडक-सडकमा साक्षी दिन्छन् अनि चिठी र फोनबाट पनि सुसमाचार सुनाउँछन्। बसमा चढ्दा होस् वा पार्कमा घुम्न जाँदा अथवा काम गर्ने ठाउँमा खाजा खाँदा, तिनीहरू परमेश्वरको राज्यबारे साक्षी दिने मौका गुमाउँदैनन्। साक्षी दिने तरिका फरक होला तर लक्ष्य भने एउटै हो—मानिसहरू भेटिने सबै ठाउँमा सुसमाचार सुनाउने।—मत्ति १०:११.
८, ९. (क) संसारभर साक्षीकार्यमा हामीले जे-जति सफलता हासिल गरेका छौँ, त्यो किन एउटा चमत्कार नै हो? (ख) कस्तो रोचक प्रश्न उठ्छ र त्यसको जवाफ पाउन हामीले के गर्नुपर्छ?
८ प्रिय पाठक, के तपाईँ पनि २३५ भन्दा धेरै मुलुकमा सक्रिय भई सुसमाचार सुनाइरहेका थुप्रै राज्य उद्घोषकमध्ये एक हुनुहुन्छ? त्यसो हो भने साक्षीकार्यको रोमाञ्चकारी विस्तारमा तपाईँको पनि योगदान छ! संसारभर साक्षीकार्यमा हामीले जे-जति सफलता हासिल गरेका छौँ, त्यो पक्कै एउटा चमत्कार हो। हुनत सरकारी प्रतिबन्ध र भीषण सतावटजस्ता पन्छाउनै नसकिने अवरोध र चुनौतीहरू आइरहेका छन्। तैपनि यहोवाका साक्षीहरूले सबै देशका मानिसहरूलाई परमेश्वरको राज्यबारे राम्ररी साक्षी दिइरहेका छन्।
९ हामीले विचार गर्नुपर्ने एउटा रोचक प्रश्न छ: सैतानको विरोधलगायत जस्तोसुकै अवरोधले पनि साक्षीकार्यलाई अघि बढ्नदेखि किन रोक्न सकेको छैन? यसको जवाफ पाउन हामीले इस्वी संवत् प्रथम शताब्दीमा फर्केर हेर्नुपर्छ। आखिर त्यतिबेला सुरु गरिएको कामलाई नै हामी यहोवाका साक्षीहरूले अहिले निरन्तरता दिइरहेका छौँ।
अन्तसम्म र सबैतिर साक्षी दिने काम
१०. येसुले आफूलाई कुन काममा समर्पित गर्नुभयो? उहाँलाई त्यस कामबारे के थाह थियो?
१० ख्रिष्टियन मण्डलीका संस्थापक येसु ख्रिष्टले परमेश्वरको राज्यको सुसमाचार सुनाउने काममा नै आफूलाई पूर्णतया समर्पित गर्नुभयो। उहाँले एकचोटि यसो भन्नुभयो: “मैले अरू सहरमा पनि परमेश्वरको राज्यको सुसमाचार सुनाउनुपर्छ किनकि म यसैको निम्ति पठाइएको हुँ।” (लुका ४:४३) आफू एक्लैले मात्र पूरा गर्न नसक्ने काम सुरु गर्दै छु भनेर येसुलाई थाह थियो। आफ्नो मृत्यु हुनुभन्दा केही समयअघि उहाँले “सारा जातिहरूलाई” सुसमाचार प्रचार गरिनेछ भनेर भविष्यवाणी गर्नुभयो। (मर्कु. १३:१०) तर यो कसरी गरिने थियो र कसले गर्ने थियो?
११. येसुले चेलाहरूलाई कुन महत्त्वपूर्ण जिम्मेवारी सुम्पनुभयो? यो जिम्मेवारी पूरा गर्न तिनीहरूले कस्तो मदत पाउने थिए?
११ मृत्युबाट फेरि जीवित हुनुभएपछि येसु चेलाहरूसामु देखा पर्नुभयो र तिनीहरूलाई यस्तो महत्त्वपूर्ण जिम्मेवारी सुम्पनुभयो: “जाओ र सबै जातिका मानिसहरूलाई चेला बनाओ; तिनीहरूलाई बुबा, छोरा र पवित्र शक्तिको नाममा बप्तिस्मा गराओ अनि मैले तिमीहरूलाई आज्ञा गरेको सबै कुरा तिनीहरूलाई पालन गर्न सिकाओ। हेर! यस युगको आखिरी समयसम्म म सधैँभरि तिमीहरूसितै छु।” (मत्ति २८:१९, २०) ‘म तिमीहरूसितै छु’ भन्ने वाक्यांशबाट साक्षी दिने र चेला बनाउने काममा येसुका चेलाहरूले उहाँको साथ पाउने कुरा प्रस्ट हुन्छ। तिनीहरूलाई उहाँको समर्थन अवश्य चाहिन्थ्यो किनभने ‘सबै जातिले तिनीहरूलाई घृणा गर्नेछन्’ भनेर येसुले भविष्यवाणी गर्नुभएको थियो। (मत्ति २४:९) तर चेलाहरूले अर्को एउटा मदत पनि पाउने थिए। “पृथ्वीको सबैभन्दा टाढा पर्ने इलाकामा” साक्षी दिन तिनीहरूले पवित्र शक्तिबाट बल पाउनेछन् भनेर स्वर्ग जानुअघि उहाँले तिनीहरूलाई बताउनुभयो।—प्रेषि. १:८.
१२. कस्ता महत्त्वपूर्ण प्रश्नहरू उठ्छन्? ती प्रश्नहरूको जवाफ हामीले किन थाह पाउनै पर्छ?
१२ तर अब केही महत्त्वपूर्ण प्रश्नहरू उठ्छन्: के येसुका प्रेषितहरू र प्रथम शताब्दीका अरू चेलाहरूले आफूलाई सुम्पिएको जिम्मेवारीलाई गम्भीरतासाथ लिए? ख्रिष्टियन पुरुष र स्त्रीहरूको त्यो सानो समूहले भीषण सतावट भोग्नुपर्दा समेत के परमेश्वरको राज्यबारे राम्ररी साक्षी दिए? चेला बनाउने काममा के तिनीहरूले साँच्चै यहोवाबाट, येसुबाट, स्वर्गदूतहरूबाट र यहोवाको पवित्र शक्तिबाट मदत पाए? यी र यस्तै अन्य प्रश्नको जवाफ प्रेषितको पुस्तकमा पाइन्छ। ती जवाफ हामीले थाह पाउनै पर्छ। किन? किनभने यो काम “यस युगको आखिरी समयसम्म” पनि चलिरहनेछ भनेर येसुले बताउनुभयो। त्यसैले येसुले सुम्पनुभएको जिम्मेवारी सबै साँचो ख्रिष्टियनहरूले पूरा गर्नुपर्छ, जसमा यस युगको आखिरी समयमा बाँचिरहेका हामी पनि पर्छौँ। त्यसैले प्रेषितको पुस्तकमा भएका ऐतिहासिक विवरणमा हामी गहिरो चासो लिन्छौँ।
प्रेषितको पुस्तकको एक झलक
१३, १४. (क) प्रेषितको पुस्तकका लेखक को हुन्? तिनले जानकारीहरू कसरी सङ्कलन गरे? (ख) प्रेषितको पुस्तकमा के-कस्ता कुरा पाइन्छन्?
१३ प्रेषितको पुस्तकका लेखक को हुन्? यसका लेखक को हुन् भनेर पुस्तकमै त बताइएको छैन तर यसको सुरुका शब्दहरूबाट प्रेषितको पुस्तक र लुकाको पुस्तक एकै व्यक्तिले लेखेका थिए भनेर प्रस्ट हुन्छ। (लुका १:१-४; प्रेषि. १:१, २) त्यसैले “प्रिय वैद्य” र इतिहासको गहिरो अध्ययन गर्ने लुका नै प्रेषितको पुस्तकका लेखक हुन् भनेर पहिलेदेखि मानिँदै आएको छ। (कल. ४:१४) यस पुस्तकले झन्डै २८ वर्षको समयावधिलाई ढाकेको छ—इस्वी संवत् ३३ मा येसु स्वर्ग जानुभएको समयदेखि इस्वी संवत् ६१ मा प्रेषित पावल रोममा कैदमा परेको समयसम्म। कतिपय विवरणमा लुकाले “तिनीहरू”-जस्ता शब्द मात्र नभई “हामी” शब्द पनि चलाएका छन्। यसबाट ती घटना हुँदा लुका पनि त्यहीँ थिए भनेर स्पष्ट हुन्छ। (प्रेषि. १६:८-१०; २०:५; २७:१) निकै ध्यान दिएर एक-एक कुरा अनुसन्धान गर्ने लुकाले पक्कै पनि पावल, बर्णाबास, फिलिपलगायत प्रेषितको पुस्तकमा उल्लेख गरिएका अन्य व्यक्तिहरूबाट जानकारी सङ्कलन गरेको हुनुपर्छ।
१४ प्रेषितको पुस्तकमा कस्ता विवरण पाइन्छन्? लुकाले आफ्नो सुसमाचारको पुस्तकमा येसुले भन्नुभएका र गर्नुभएका कुराहरू लेखे। तर प्रेषितको पुस्तकमा भने तिनले येसुका अनुयायीहरूले भनेका र गरेका कुराहरू लेखेका छन्। त्यसैले प्रेषितको पुस्तक असाधारण काम गरेका व्यक्तिहरूको विवरणको सङ्गालो हो जबकि तीमध्ये कतिपयलाई “अशिक्षित अनि साधारण मानिस” ठानिन्थ्यो। (प्रेषि. ४:१३) छोटकरीमा भन्ने हो भने यहोवाको प्रेरणा पाएर लेखिएको यस विवरणमा ख्रिष्टियन मण्डली कसरी स्थापना भयो र फैलियो भनेर बताइएको छ। प्रथम शताब्दीका ख्रिष्टियनहरूले साक्षी दिन कुन-कुन तरिका चलाए र साक्षीकार्यमा तिनीहरूको मनोवृत्ति कस्तो थियो भनेर प्रेषितको पुस्तकले बताएको छ। (प्रेषि. ४:३१; ५:४२) सुसमाचार फैलाउने काममा पवित्र शक्तिको भूमिका पनि यसले प्रकाश पारेको छ। (प्रेषि. ८:२९, ३९, ४०; १३:१-३; १६:६; १८:२४, २५) प्रेषितको पुस्तकले बाइबलको मूल विषयलाई प्रस्ट पारेको छ। त्यो हो—ख्रिष्टको शासनअन्तर्गत परमेश्वरको राज्यद्वारा यहोवाको नाम पवित्र पार्ने। साथै भीषण सतावटको बाबजुद राज्य सन्देश कसरी जोडदार ढङ्गमा फैलियो भनेर पनि यसमा बताइएको छ।—प्रेषि. ८:१२; १९:८; २८:३०, ३१.
१५. प्रेषितको पुस्तक केलाएर हेर्दा हामीलाई कस्तो फाइदा हुन्छ?
१५ प्रेषितको पुस्तक केलाएर हेर्नु साँच्चै रोमाञ्चकारी छ। यसले हाम्रो विश्वासलाई बलियो बनाउँछ। ख्रिष्टका सुरु-सुरुका अनुयायीहरूको निडर र जोसिलो उदाहरणलाई विचार गर्दा हाम्रो मन छुन्छ। प्रथम शताब्दीका हाम्रा भाइबहिनीको विश्वासको अनुकरण गर्न हामी जुरमुरिनेछौँ अनि “जाओ र . . . चेला बनाओ” भन्ने आज्ञा पूरा गर्न अझै सुसज्जित हुनेछौँ। तपाईँले पढिरहनुभएको यो किताब बाइबलको प्रेषितको पुस्तक अझ राम्ररी अध्ययन गर्न मदत दिने उद्देश्यले तयार पारिएको हो।
हामीलाई मदत गर्ने एउटा सामग्री
१६. यस किताबका तीन वटा उद्देश्य के-के हुन्?
१६ यस किताबको मुख्य उद्देश्य के हो? यसका तीन वटा उद्देश्य छन्: (१) साक्षी दिने र चेला बनाउने काममा यहोवाले पवित्र शक्तिमार्फत मदत गरिरहनुभएको छ भन्ने कुरामा हाम्रो विश्वास बलियो बनाउने, (२) ख्रिष्टका प्रथम शताब्दीका अनुयायीहरूको उदाहरण केलाएर साक्षीकार्यमा हाम्रो जोस बढाउने र (३) यहोवाको सङ्गठनप्रति र साक्षीकार्यमा अनि मण्डलीको हेरचाह गर्न अगुवाइ लिइरहेकाहरूप्रति हाम्रो आदर अझै बढाउने।
१७, १८. यस किताबको संरचना कस्तो छ? व्यक्तिगत बाइबल अध्ययन गर्दा कस्ता थप कुराहरूबाट तपाईँ मदत पाउन सक्नुहुन्छ?
१७ यस किताबको संरचना कस्तो छ? यसलाई आठ भागमा छुट्ट्याइएको तपाईँले याद गर्नुभयो होला। प्रत्येक भागले बाइबलको प्रेषितको पुस्तकको केही अंश ढाक्छ। यसमा दिइएका अध्यायको उद्देश्य पद-पद गरी प्रेषितका विवरणहरू छलफल गर्नु होइन बरु उक्त विवरणबाट पाठ सिकेर हामी त्यसलाई कसरी लागू गर्न सक्छौँ भनेर बुझ्न मदत गर्नु हो। प्रत्येक अध्यायको शीर्षकमुनि दिइएको वाक्यले उक्त अध्यायको मूल विषयबारे बताउँछ। त्यसपछि दिइएको शास्त्रपदले प्रेषितको पुस्तकको कुन अंश छलफल गरिएको हो भनेर बताउँछ।
१८ व्यक्तिगत बाइबल अध्ययनमा मदतकारी हुने अन्य कुरा पनि यस किताबमा छ। रोमाञ्चकारी घटनाका जीवन्त चित्रहरूले तपाईँलाई बाइबल विवरण पढ्दा उक्त घटना कल्पना गर्न मदत गर्नेछ। थुप्रै अध्यायमा थप विषयवस्तु भएका मदतकारी पेटीहरू छन्। कुनै-कुनै पेटीमा बाइबल पात्रहरूको जीवनी दिइएको छ, जसको विश्वासको हामी अनुकरण गर्न सक्छौँ। अरूमा भने कुनै स्थान, घटना, चलन वा प्रेषितको पुस्तकमा उल्लेख गरिएको कुनै व्यक्तिबारे थप विवरण दिइएको छ।
१९. बेला-बेलामा हामीले कसरी आफैलाई जाँच्नुपर्छ?
१९ यस किताबले तपाईँलाई इमानदार भई आफैलाई जाँच्न पनि मदत गर्नेछ। यहोवाको सेवक भएको जति नै समय भए तापनि बेला-बेलामा ‘मैले जीवनमा कुन कुरालाई प्राथमिकता दिइरहेको छु र ख्रिष्टियन सेवाप्रति मेरो दृष्टिकोण कस्तो छ’ भनेर आफूलाई केलाउनु बेस हो। (२ कोरि. १३:५) आफैलाई सोध्नुहोस्: ‘के मैले साक्षीकार्यमा अविलम्बी भाव कायम राखिराखेको छु? (१ कोरि. ७:२९-३१) के म निर्धक्क भएर अनि जोसका साथ सुसमाचार सुनाउँदै छु? (१ थिस्स. १:५, ६) के म साक्षी दिने र चेला बनाउने काममा सक्दो भाग लिँदै छु?’—कल. ३:२३.
२०, २१. हामीलाई सुम्पिएको जिम्मेवारी किन एकदमै महत्त्वपूर्ण छ? हामीले कस्तो सङ्कल्प गर्नुपर्छ?
२० हामीलाई साक्षी दिने र चेला बनाउने महत्त्वपूर्ण जिम्मेवारी सुम्पिएको छ भनेर कहिल्यै नर्बिसौँ। दिन जति-जति बित्दै छ, यो काम त्यति नै जरुरी हुँदै गइरहेको छ। यस युगको अन्त संघारमै आइपुगेको छ। यति धेरै मानिसको जीवन पहिले कहिल्यै खतरामा परेको थिएन। उचित मनसाय भएका अझ कति जनाले हाम्रो सन्देश स्विकार्छन्, हामीलाई थाह छैन। (प्रेषि. १३:४८) तर धेरै ढिलो हुनुअघि नै त्यस्ता मानिसहरूलाई मदत गर्नु हाम्रो जिम्मेवारी हो।—१ तिमो. ४:१६.
२१ त्यसैले त प्रथम शताब्दीका जोसिला साक्षीहरूको उदाहरण हामीले अनुकरण गर्नै पर्छ। यस किताबलाई गहिरिएर अध्ययन गर्नुहोस्। यस्तो अध्ययनले तपाईँलाई साक्षीकार्यमा अझ जोसिलो र निडर हुन मदत गरोस्। साथै “परमेश्वरको राज्यको विषयमा राम्ररी साक्षी” दिने तपाईँको सङ्कल्प अझै बलियो होस्।—प्रेषि. २८:२३.