सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय १३

“निकै मतभेद . . . भएपछि”

“निकै मतभेद . . . भएपछि”

खतनाको विवाद परिचालक निकायकहाँ पुऱ्‍याइन्छ

प्रेषित १५:१-१२ मा आधारित

१-३. (क) भर्खरै स्थापना भएको मण्डलीमा फूट गराउन सक्ने कस्तो मतभेद उत्पन्‍न भयो? (ख) प्रेषितको पुस्तकमा भएको यो विवरण पढेर हामी कस्तो लाभ उठाउन सक्छौँ?

 आफ्नो पहिलो मिसनरी यात्रा सकेर पावल र बर्णाबास दङ्‌ग पर्दै भर्खरै सिरियाको एन्टिओक फर्केका छन्‌। ‘अन्यजातिहरूले पनि प्रभुमा विश्‍वास गरून्‌ भनेर उहाँले ढोका खोलिदिनुभएकोले’ तिनीहरू खुसी छन्‌। (प्रेषि. १४:२६, २७) हो, एन्टिओकभरि सुसमाचार सुनाइँदै छ। त्यहाँको मण्डलीमा अन्यजातिका “थुप्रै मानिस” थपिँदै छन्‌।—प्रेषि. ११:२०-२६.

यस्तो उत्साहजनक वृद्धिको समाचार यहुदियामा छिट्टै पुग्छ। तर उक्‍त खबरले सबै खुसी हुँदैनन्‌। वर्षौँदेखि चल्दै आएको खतनाको विवाद झनै चर्किन्छ। यहुदी ख्रिष्टियनहरू र अन्यजातिका ख्रिष्टियनहरूबीच कस्तो सम्बन्ध हुनुपर्ने हो? अन्यजातिका ख्रिष्टियनहरूले मोसाको व्यवस्था पालन गर्नुपर्छ कि पर्दैन? त्यस विवादले गर्दा यत्ति ठूलो मतभेद उत्पन्‍न भयो कि मण्डली विभिन्‍न गुटमा विभाजित हुने खतरा देखियो। त्यो विवाद कसरी सुल्झाइने थियो?

प्रेषितको किताबको यस विवरणबाट हामी थुप्रै महत्त्वपूर्ण पाठ सिक्नेछौँ। हाम्रो समयमा पनि त्यस्तै फूट गराउने विवाद आएमा बुद्धिमानी कदम चाल्न यस विवरणले मदत गर्छ।

“खतना नगरेसम्म” (प्रेषित १५:१)

४. केही ख्रिष्टियनहरूले कस्तो गलत धारणालाई जोड दिइरहेका थिए? यसले गर्दा कस्तो प्रश्‍न उठ्यो?

लुकाले यस्तो लेखे: “यहुदियाबाट केही मानिसहरू [एन्टिओक] आएर भाइहरूलाई यसो भनेर सिकाउन थाले: ‘मोसाको व्यवस्थाअनुसार खतना नगरेसम्म तपाईँहरूको उद्धार हुन सक्दैन।’” (प्रेषि. १५:१) यहाँ उल्लेख गरिएको यहुदियाका “केही मानिसहरू” फरिसी पृष्ठभूमिबाट ख्रिष्टियन बनेकाहरू थिए वा अरू नै थिए, त्यो कुरा बताइएको छैन। जेहोस्‌, तिनीहरू व्यवस्थाको ससाना कुरालाई बढ्‌तै महत्त्व दिने यहुदी गुटबाट प्रभावित थिए। साथै तिनीहरूले यरुसलेमका प्रेषितहरू र एल्डरहरूको तर्फबाट बोलिरहेका हौँ भनेर झूटो दाबी गरेका पनि हुन सक्छन्‌। (प्रेषि. १५:२३, २४) परमेश्‍वरको निर्देशनबमोजिम प्रेषित पत्रुसले खतना नगरेका अन्यजातिलाई ख्रिष्टियन मण्डलीमा स्वागत गरेको १३ वर्ष भइसकेको थियो। तैपनि अन्यजातिहरूले खतना गर्नुपर्छ भनेर यहुदी ख्रिष्टियनहरूले किन कचकच गरिरहेका थिए? aप्रेषि. १०:२४-२९, ४४-४८.

५, ६. (क) यहुदी ख्रिष्टियनहरूमध्ये कसै-कसैले खतना गर्नै पर्छ भन्‍ने सोचाइ राख्नुको कारण के हो? (ख) के खतनाको करार अब्राहामसित गरिएको करारको भाग थियो? प्रस्ट पार्नुहोस्‌। (फुटनोट हेर्नुहोस्‌।)

यसका कारण थुप्रै हुन सक्छन्‌। एउटा कारण त खतना गर्नू भनेर यहोवा स्वयम्‌ले आज्ञा गर्नुभएको थियो अनि यो यहोवासितको विशेष सम्बन्धको चिन्ह थियो। यो प्रचलन अब्राहाम र तिनका घरानाबाट सुरु भएको थियो र पछि गएर व्यवस्थाको एउटा भाग बन्यो। b (लेवी १२:२, ३) मोसाको व्यवस्थाअन्तर्गत विदेशीले पनि कुनै खास गतिविधिमा भाग लिन खतना गर्नुपर्थ्यो। जस्तै: निस्तार चाडको भोज खान। (प्रस्थ. १२:४३, ४४, ४८, ४९) खतना नगरिएको मानिस यहुदीहरूको नजरमा अशुद्ध अनि घृणित थिए।—यसै. ५२:१.

त्यसैले यहुदी ख्रिष्टियनहरूलाई नयाँ शिक्षा स्विकार्न विश्‍वास र नम्रता चाहिन्थ्यो। व्यवस्थाको करारको सट्टा नयाँ करार स्थापना गरिएको थियो। अब यहुदीहरू जन्मजातै परमेश्‍वरका जन हुँदैनथे। यहुदियाका ख्रिष्टियनहरूलाई जस्तै यहुदी समुदायमा बस्ने यहुदी ख्रिष्टियनहरूलाई पनि ख्रिष्टको चेला बन्‍न र खतना नगरेका अन्यजातिहरूलाई आफ्नै भाइबहिनीको रूपमा स्विकार्न साहस चाहिन्थ्यो।—यर्मि. ३१:३१-३३; लुका २२:२०.

७. यहुदियाका “केही मानिसहरू”-ले कुन सत्य बुझेका थिएनन्‌?

पक्कै पनि परमेश्‍वरको स्तर परिवर्तन भएको थिएन। मोसाको व्यवस्थाको मूल भाव नयाँ करारमा पनि भएको कुरा विचार गर्दा यो तथ्य प्रस्ट हुन्छ। (मत्ति २२:३६-४०) उदाहरणको लागि, खतनाबारे पावलले पछि यस्तो लेखे: “तर जो भित्रबाट यहुदी हो, ऊ नै यहुदी हो अनि लिखित नियमबमोजिम होइन तर पवित्र शक्‍तिद्वारा उसको हृदयको खतना भएको छ।” (रोमी २:२९; व्यव. १०:१६) यहुदियाका “केही मानिसहरू”-ले यो सत्य बुझेका थिएनन्‌। त्यसैले परमेश्‍वरले खतनाको नियम खारेज गर्नुभएको छैन भनेर तिनीहरूले जिद्दी गरे। के तिनीहरूले आफ्नो सोचाइ बदल्ने थिए?

“मतभेद र बहस” (प्रेषित १५:२)

८. खतनाको विवाद किन यरुसलेममा भएको परिचालक निकायकहाँ पुऱ्‍याइयो?

लुकाले अझै यस्तो लेखे: “पावल र बर्णाबासको उनीहरूसित [यहुदियाका “केही मानिसहरू”-सित] निकै मतभेद र बहस भएपछि यस विषयमा कुरा गर्न पावल र बर्णाबासका साथै अरू केही भाइहरूलाई यरुसलेममा भएका प्रेषितहरू र एल्डरहरूकहाँ पठाउने प्रबन्ध मिलाइयो।” c (प्रेषि. १५:२) “मतभेद र बहस” भएको कुराबाट यस विषयमा दुवै पक्षको आ-आफ्नै अडान थियो भन्‍ने देखिन्छ। त्यो समस्या एन्टिओकको मण्डलीले समाधान गर्न सकेन। शान्ति र एकता कायम राख्न मण्डलीले त्यो विवाद “यरुसलेममा भएका प्रेषितहरू र एल्डरहरूकहाँ” अर्थात्‌ त्यतिबेलाको परिचालक निकायकहाँ पठाउने बुद्धिमानी निर्णय गऱ्‍यो। एन्टिओकका एल्डरहरूले चालेको कदमबाट हामी के सिक्न सक्छौँ?

अन्यजातिलाई पनि “मोसाको व्यवस्था पालन गर्ने आदेश दिनुपर्छ” भनेर कसै-कसैले जिद्दी गरे

९, १०. एन्टिओकका भाइहरूका साथै पावल र बर्णाबासले हाम्रो लागि कसरी असल उदाहरण बसाले?

हामीले सिक्न सक्ने एउटा महत्त्वपूर्ण पाठ हो: हामीले परमेश्‍वरको सङ्‌गठनलाई भरोसा गर्नुपर्छ। विचार गर्नुहोस्‌, त्यतिबेलाको परिचालक निकायका प्रायः सबै सदस्य यहुदी पृष्ठभूमिका ख्रिष्टियन हुन्‌ भनेर एन्टिओकका भाइहरूलाई थाह थियो। तैपनि परिचालक निकायले खतनाको विवाद धर्मशास्त्रअनुरूप सुल्झाउनेछ भनेर तिनीहरूलाई विश्‍वास थियो। किन? किनभने यहोवाले आफ्नो पवित्र शक्‍ति र मण्डलीको शिर येसु ख्रिष्टमार्फत त्यो विवाद सुल्झाउनुहुनेछ भनेर तिनीहरू विश्‍वस्त थिए। (मत्ति २८:१८, २०; एफि. १:२२, २३) आज पनि कुनै गम्भीर विवाद खडा हुँदा परमेश्‍वरको सङ्‌गठनलाई र अभिषिक्‍त जनहरू मिलेर बनेको परिचालक निकायलाई भरोसा गरेर एन्टिओकका भाइहरूको असल उदाहरणको अनुकरण गरौँ।

१० नम्र हुनु र धीरज धर्नुको महत्त्वबारे पनि हामी पाठ सिक्न सक्छौँ। हुनत पावल र बर्णाबास अन्यजातिकहाँ जान पवित्र शक्‍तिद्वारा नै नियुक्‍त भएका थिए। तर तिनीहरूले आफ्नो अख्तियार प्रयोग गर्दै त्यतिबेलै एन्टिओकमा खतनाको विवाद सुल्झाउने प्रयास गरेनन्‌। (प्रेषि. १३:२, ३) पावलले पछि यस्तो लेखे: “मलाई यरुसलेम जानू भनी प्रकट गरिएकोले म त्यहाँ गएँ।” (गला. २:२) पावलको भनाइबाट उक्‍त विषयमा परमेश्‍वरको डोऱ्‍याइ थियो भन्‍ने देखिन्छ। फूट गराउन सक्ने कुनै विवाद उठेमा आजका एल्डरहरूले पनि त्यस्तै नम्र मनोवृत्ति देखाउँछन्‌ र धीरज धर्छन्‌। आफ्नै विचारधारामा जिद्दी गर्नुको सट्टा तिनीहरू धर्मशास्त्रबाट यहोवाको डोऱ्‍याइ खोज्छन्‌ अनि विश्‍वासी दासले उपलब्ध गराएको निर्देशन र डोऱ्‍याइमा भर पर्छन्‌।—फिलि. २:२, ३.

११, १२. यहोवाको समय पर्खनु किन महत्त्वपूर्ण छ?

११ कुनै-कुनै विषयमा यहोवाले थप समझ प्रकट नगर्नुभएसम्म हामीले पर्खनुपर्ने हुन सक्छ। याद गर्नुहोस्‌, अन्यजातिकाहरूले खतना गर्नुपर्छ कि गर्नुपर्दैन भन्‍ने विवाद सुल्झाउन पावलका समयका भाइबहिनीहरूले इस्वी संवत्‌ ४९ सम्म पर्खनुपऱ्‍यो। इस्वी संवत्‌ ३६ मा अन्यजातिका कर्निलियस पवित्र शक्‍तिबाट अभिषिक्‍त भएको १३ वर्षपछि मात्र उक्‍त विवाद समाधान भयो। यहोवाले किन यत्ति धेरै समय बित्न दिनुभयो? त्यस्तो ठूलो परिवर्तनको लागि यहुदीहरूले नम्र हुँदै आफ्नो दृष्टिकोण छाँटकाँट गर्न सकून्‌ भनेर यहोवाले प्रशस्तै समय दिनुभएको हुन सक्छ। आखिर सबैको आदरणीय पुर्खा अब्राहामसँग १,९०० वर्षअघि गरिएको खतनाको करार रद्द गर्नु मामुली कुरा थिएन।—युह. १६:१२.

१२ हाम्रो धीरजी र दयालु बुबा यहोवाबाट सिक्न पाउनु र उहाँको इच्छाअनुसार आफूलाई ढाल्न पाउनु कत्ति ठूलो सुअवसर! नतिजा सधैँ असल हुन्छ र हाम्रै फाइदा हुन्छ। (यसै. ४८:१७, १८; ६४:८) सङ्‌गठनमा वा धर्मशास्त्रको कुनै बुझाइमा छाँटकाँट हुँदा आफ्नै धारणामा कहिल्यै जिद्दी नगरौँ र नकारात्मक प्रतिक्रिया नदेखाऔँ। (उप. ७:८) यदि तपाईँले आफूमा यस्तै खालको झुकाव भएको छनक मात्र पाउनुभयो भने पनि डोऱ्‍याइको लागि प्रार्थना गर्नुहोस्‌ र प्रेषित १५ अध्यायमा पाइने उपयुक्‍त सिद्धान्तहरूमा मनन गर्नुहोस्‌। d

१३. साक्षीकार्यमा हामी पनि कसरी यहोवा जस्तै धीरजी हुन सक्छौँ?

१३ हामी आफ्ना बाइबल विद्यार्थीहरूसित पनि धीरजी हुनुपर्छ। कसै-कसैलाई आफूले पहिल्यैदेखि विश्‍वास गर्दै आएको झूटा शिक्षा वा मान्दै आएको रीतिथिति त्याग्न गाह्रो परिरहेको हुन सक्छ। हामीले परमेश्‍वरको पवित्र शक्‍तिलाई तिनको जीवनमा काम गर्न पर्याप्त समय दिनुपर्ने हुन सक्छ। (१ कोरि. ३:६, ७) त्यस विषयमा हामीले प्रार्थना पनि गर्नुपर्छ। कस्तो कदम चाल्नु उचित हुन्छ भनेर बुझ्न परमेश्‍वरले हामीलाई कुनै न कुनै तरिकामा अनि ठीक समयमा मदत गर्नुहुनेछ।—१ युह. ५:१४.

तिनीहरूले प्रोत्साहनजनक अनुभवहरू “सविस्तार सुनाए” (प्रेषित १५:३-५)

१४, १५. पावल, बर्णाबास र अरू यात्रुहरूलाई एन्टिओकको मण्डलीले कसरी प्रेम र आदर देखायो? तिनीहरू भाइबहिनीहरूको लागि कसरी आशिष्‌ साबित भए?

१४ लुकाको विवरण यसरी अघि बढ्‌छ: “मण्डलीले तिनीहरूलाई केही परसम्म पुऱ्‍याइसकेपछि फोनिसिया र सामरिया हुँदै ती मानिसहरूले आफ्नो यात्रा जारी राखे। अनि अन्यजातिका मानिसहरूले गरेको धर्म परिवर्तनबारे सविस्तार सुनाए र यो सुनेर सबै भाइहरू असाध्यै रमाए।” (प्रेषि. १५:३) एन्टिओकको मण्डलीले पावल, बर्णाबास र अरू यात्रुहरूलाई केही परसम्म पुऱ्‍याएर तिनीहरूप्रति ख्रिष्टियन प्रेम र आदर देखायो। यसबाट तिनीहरूले परमेश्‍वरको आशिष्‌ पाऊन्‌ भन्‍ने मण्डलीको मनसाय देखिन्छ। एन्टिओकका भाइबहिनीहरूले फेरि पनि हाम्रो लागि कत्ति राम्रो उदाहरण बसाले! के तपाईँ पनि भाइबहिनीहरूलाई र विशेषगरि “बोल्ने र सिकाउने काममा कडा परिश्रम” गर्ने एल्डरहरूलाई यस्तै आदर देखाउनुहुन्छ?—१ तिमो. ५:१७.

१५ फोनिसिया र सामरिया हुँदै यात्रा गर्दा तिनीहरूले त्यहाँका भाइबहिनीहरूलाई अन्यजातिहरूको इलाकामा बटुलेका अनुभवहरू “सविस्तार सुनाए।” यस्ता अनुभवहरू ती भाइबहिनीहरूको लागि आशिष्‌ साबित भए। यी अनुभवहरू स्तिफनसको हत्यापछि भागेर त्यहाँ आएका यहुदी ख्रिष्टियनहरूले पनि सुनेका हुन सक्छन्‌। त्यसैगरि आज पनि चेला बनाउने काममा यहोवाले दिइरहनुभएको आशिष्‌बारे रिपोर्टहरू सुन्‍न पाउनु हाम्रा भाइबहिनीहरू र अझ विशेषगरि परीक्षाको सामना गरिरहेकाहरूको लागि प्रोत्साहनको स्रोत हो। ख्रिष्टियन सभा, सम्मेलन तथा अधिवेशनमा रिपोर्टहरू सुनेर, हाम्रा प्रकाशनहरूमा छापिएका वा jw.org वेबसाइटमा राखिएका अनुभव र जीवनीहरू पढेर के तपाईँले पनि पूरापूर लाभ उठाइरहनुभएको छ?

१६. खतनाको विवादले चर्को रूप लिएको थियो भनेर किन भन्‍न सकिन्छ?

१६ एन्टिओकबाट आएको प्रतिनिधि मण्डल करिब ५५० किलोमिटर दक्षिणतिर हिँडेपछि आफ्नो गन्तव्यमा आइपुगे। लुकाले यसो भने: “तिनीहरू यरुसलेम पुग्दा मण्डलीले, प्रेषितहरूले अनि एल्डरहरूले न्यानो स्वागत गरे। अनि पावल र बर्णाबासले उनीहरूलाई आफूहरूमार्फत परमेश्‍वरले गर्नुभएका थुप्रै कामका विषयमा बताए।” (प्रेषि. १५:४) “तर फरिसी गुटका केही मानिसहरू, जसले प्रभुमा विश्‍वास गर्न थालेका थिए, उनीहरू आफू बसेको ठाउँबाट उठे र भने: ‘तिनीहरूको खतना गराउनुपर्छ अनि तिनीहरूलाई मोसाको व्यवस्था पालन गर्ने आदेश दिनुपर्छ।’” (प्रेषि. १५:५) स्पष्टतः अन्यजातिका ख्रिष्टियनहरूले खतना गर्नुपर्छ कि पर्दैन भन्‍ने विवादले चर्को रूप लिएको थियो र यो हरहालतमा सुल्झाउनुपर्ने थियो।

“प्रेषितहरू र एल्डरहरू एकै ठाउँमा भेला भए” (प्रेषित १५:६-१२)

१७. (क) यरुसलेममा भएको परिचालक निकाय को-को मिलेर बनेको थियो? (ख) परिचालक निकायमा “एल्डरहरू”-लाई पनि समावेश गरिनुको कारण के थियो?

१७ “बुद्धिमान्‌ मानिसले सरसल्लाह गर्छ” भनेर हितोपदेश १३:१० मा बताइएको छ। यस सिद्धान्तअनुरूप “[खतनाको] विषयमा छलफल गर्न प्रेषितहरू र एल्डरहरू एकै ठाउँमा भेला भए।” (प्रेषि. १५:६) त्यतिबेला “प्रेषितहरू र एल्डरहरू”-ले सम्पूर्ण ख्रिष्टियन मण्डलीको प्रतिनिधित्व गरेझैँ आज पनि परिचालक निकायले सम्पूर्ण ख्रिष्टियन मण्डलीको प्रतिनिधित्व गर्छ। “एल्डरहरू” किन प्रेषितहरूसँगै सेवा गर्दै थिए? नबिर्सनुहोस्‌, प्रेषित याकुबको हत्या गरिएको थियो र प्रेषित पत्रुस पनि केही समय थुनामा परेका थिए। बाँकी प्रेषितहरूले पनि त्यस्तै अवस्था पो भोग्नुपर्ने थियो कि? अरू योग्य अभिषिक्‍त पुरुषहरू भएमा व्यवस्थित तरिकामा मण्डलीका भाइबहिनीहरूको हेरचाह गर्न सकिने थियो।

१८, १९. पत्रुसले कस्तो सशक्‍त कुरा बताए? तिनको कुरा सुनेर श्रोताहरू कस्तो निष्कर्षमा पुग्नुपर्ने थियो?

१८ लुकाले अझ यसो लेखे: “चर्को बहस भइसकेपछि पत्रुस उभिए र . . . भने: ‘भाइहरू हो, तपाईँहरूलाई थाहै छ, अन्यजातिका मानिसहरूले मेरो मुखबाट सुसमाचार सुनून्‌ र विश्‍वास गरून्‌ भनेर परमेश्‍वरले सुरुदेखि तपाईँहरूको माझबाट मलाई रोज्नुभयो। अनि हृदयको कुरा जान्‍नुहुने परमेश्‍वरले हामीलाई जस्तै उनीहरूलाई पनि पवित्र शक्‍ति दिएर उनीहरूलाई रोजेको प्रमाण दिनुभयो। हामी र उनीहरूबीच उहाँले कुनै भेदभाव गर्नुभएन तर विश्‍वासद्वारा उनीहरूको हृदय शुद्ध पार्नुभयो।’” (प्रेषि. १५:७-९) एउटा शब्दकोशअनुसार पद ७ मा “बहस” भनी अनुवाद गरिएको ग्रीक शब्दले “खोजतलास गर्नु” र “प्रश्‍न गर्नु” भन्‍ने पनि बुझाउँछ। त्यसैले भाइहरूबीच चर्को विवाद भएको थियो र तिनीहरू सबैले आ-आफ्नो विचार खुलस्त राखे भन्‍न सकिन्छ।

१९ पत्रुसका यी सशक्‍त शब्दहरूले इस्वी संवत्‌ ३६ मा खतना नगरेको अन्यजाति कर्निलियस र तिनको परिवारलाई पवित्र शक्‍तिले अभिषेक गर्दा पत्रुस त्यहीँ थिए भनेर सबै जनालाई झल्याँस्स सम्झायो। यहोवा स्वयम्‌ले यहुदी र अन्यजातिबीच कुनै भेदभाव गर्नुभएन भने मानिसहरूसित त्यसो गर्ने के अधिकार? अर्को कुरा, मोसाको व्यवस्था पालन गर्दा होइन तर ख्रिष्टमाथि विश्‍वास गर्दा मानिसको मन शुद्ध हुन्छ।—गला. २:१६.

२०. खतनाका समर्थकहरूले कसरी “परमेश्‍वरको परीक्षा” लिइरहेका थिए?

२० परमेश्‍वरको वचन र पवित्र शक्‍तिबाट पाएको अकाट्य साक्षीको आधारमा पत्रुसले यसरी कुरा टुङ्‌ग्याए: “त्यसैले अब तपाईँहरू ती चेलाहरूको गर्दनमा किन यस्तो जुवा लादेर परमेश्‍वरको परीक्षा लिनुहुन्छ, जुन न हाम्रा पुर्खाहरूले बोक्न सके न त हामीले नै बोक्न सक्यौँ? बरु प्रभु येसुको असीम अनुग्रहद्वारा उद्धार पाउछौँ भनी हामी विश्‍वास गर्छौँ अनि ती मानिसहरू पनि त्यसै गर्छन्‌।” (प्रेषि. १५:१०, ११) वास्तवमा खतनाका पक्षधरहरूले “परमेश्‍वरको परीक्षा” लिइरहेका थिए। तिनीहरूले उहाँलाई क्रोधित बनाउन खोजिरहेका थिए। यहुदीहरू आफैले पूर्णतया पालन गर्न नसक्ने व्यवस्था अन्यजातिहरूलाई पालन गराउन खोजिरहेका थिए। साथै व्यवस्था पालन नगरेमा तिनीहरूले मृत्युको सजाय पाउनेछन्‌ भनिरहेका थिए। (गला. ३:१०) पत्रुसको कुरा सुनिरहेका ती यहुदीहरू परमेश्‍वरले येसुमार्फत देखाउनुभएको असीम अनुग्रहको लागि पो कृतज्ञ हुनुपर्ने थियो।

२१. खतनाको विवादको टुङ्‌गो लगाउन बर्णाबास र पावलले कस्तो योगदान दिए?

२१ पत्रुसको कुराबाट एकदमै प्रभावित भएर “सबै जना चुप लागे।” त्यसपछि बर्णाबास र पावलले “परमेश्‍वरले आफूहरूमार्फत अन्यजातिहरूबीच गर्नुभएका थुप्रै चमत्कार अनि आश्‍चर्यजनक कार्यबारे” बताए। (प्रेषि. १५:१२) अब भने प्रेषितहरू र एल्डरहरू तिनीहरूसामु प्रस्तुत गरिएका सबै प्रमाण विश्‍लेषण गर्न र त्यसको आधारमा खतनाबारे परमेश्‍वरको इच्छा स्पष्ट तरिकामा प्रकट हुनेगरि निर्णय गर्न सक्ने अवस्थामा पुगे।

२२-२४. (क) अहिलेको परिचालक निकायले कसरी प्रथम शताब्दीको परिचालक निकायको नमुना पछ्याउँछ? (ख) ईश्‍वरतान्त्रिक अख्तियारको आदर गरेको कुरा सबै एल्डरहरूले कसरी देखाउन सक्छन्‌?

२२ आज पनि परिचालक निकायका सदस्यहरू सभा बस्दा परमेश्‍वरको वचनमा डोऱ्‍याइ खोज्छन्‌ र पवित्र शक्‍तिको लागि व्यग्र प्रार्थना गर्छन्‌। (भज. ११९:१०५; मत्ति ७:७-११) परमेश्‍वरको इच्छाअनुसार निर्णय गर्न परिचालक निकायका प्रत्येक सदस्यले सभामा छलफल गरिने बुँदाहरू पहिले नै पाउँछन्‌ र त्यसबारे प्रार्थनापूर्वक विचार गर्छन्‌। (हितो. १५:२८) परिचालक निकायको सभामा यी अभिषिक्‍त भाइहरू आपसमा आदर देखाउँदै खुलस्त रूपमा आफ्नो कुरा व्यक्‍त गर्छन्‌ र छलफलको दौडान बारम्बार बाइबल प्रयोग गर्छन्‌।

२३ मण्डलीका एल्डरहरूले यही नमुना पछ्याउनुपर्छ। कुनै गम्भीर विषयलाई एल्डरहरूको सभामा टुङ्‌गो लगाउन सकिएन भने एल्डरहरूको निकायले शाखा कार्यालयसँग वा क्षेत्रीय निरीक्षकजस्ता शाखाले नियुक्‍त गरेका प्रतिनिधिसँग मदत माग्छ। आवश्‍यक परेमा शाखा कार्यालयले परिचालक निकायलाई पत्र लेख्छ।

२४ हो, ईश्‍वरतान्त्रिक प्रबन्धको आदर गर्ने, नम्र मनोभाव देखाउने, वफादार रहने र धीरज धर्नेहरूलाई यहोवा आशिष्‌ दिनुहुन्छ। त्यसो गर्नेहरूलाई यहोवा इनामस्वरूप साँचो शान्ति दिनुहुन्छ, आध्यात्मिक रूपमा फलिफाप गराउनुहुन्छ र ख्रिष्टियन एकतामा बाँध्नुहुन्छ भनेर हामी अर्को अध्यायमा चर्चा गर्नेछौँ।

a पृष्ठ १०३ मा भएको “ ‘झूटा भाइहरू’-को शिक्षा” शीर्षकको पेटी हेर्नुहोस्‌।

b खतनाको करार हाम्रो दिनसम्मै लागू हुने अब्राहामसित गरिएको करारको भाग होइन। उक्‍त करार ईसापूर्व १९४३ मा अब्राहाम (त्यतिबेला अब्राम) युफ्रेटिस नदी पार गरेर कनान जाँदा गरिएको थियो। त्यतिबेला तिनी ७५ वर्षका थिए। खतनाको करार भने त्यसको केही वर्षपछि अर्थात्‌ ईसापूर्व १९१९ मा अब्राहाम ९९ वर्षको हुँदा गरिएको थियो।—उत्प. १२:१-८; १७:१, ९-१४; गला. ३:१७.

c ग्रीक ख्रिष्टियन तितस, जो पछि पावलको भरपर्दो साथी र प्रवक्‍ता बने, तिनी पनि यरुसलेम पठाइएकाहरूमध्ये थिए जस्तो देखिन्छ। (गला. २:१; ति. १:४) खतना नगरेको अन्यजाति पनि पवित्र शक्‍तिबाट अभिषेक हुन सक्छ भन्‍ने कुराको तितस एक राम्रो उदाहरण हुन्‌।—गला. २:३.

d पृष्ठ १०५ मा भएको “ यहोवाका साक्षीहरूको विश्‍वास बाइबलआधारित छ” शीर्षकको पेटी हेर्नुहोस्‌।