सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय ११

“चेलाहरू रमाहट र पवित्र शक्‍तिले भरिपूर्ण भइरहे”

“चेलाहरू रमाहट र पवित्र शक्‍तिले भरिपूर्ण भइरहे”

राज्य सन्देश नसुन्‍ने विरोधीहरूसित पावलको व्यवहार

प्रेषित १३:१-५२ मा आधारित

१, २. बर्णाबास र सावलले सुरु गर्न लागेको यात्रा किन विशेष थियो? प्रेषित १:८ का शब्दहरू तिनीहरूले कसरी पूरा गर्ने थिए?

 एन्टिओक मण्डलीको लागि यो दिन एकदमै रोमाञ्चकारी छ। त्यस मण्डलीमा भएका भविष्यवक्‍ता अनि शिक्षकहरूमध्ये बर्णाबास र सावल पवित्र शक्‍तिद्वारा टाढा-टाढासम्म सुसमाचार फैलाउन छानिएका छन्‌। a (प्रेषि. १३:१, २) हो, विगतमा पनि योग्य पुरुषहरू साक्षी दिन पठाइएका थिए। तर त्यतिबेला मिसनरीहरू ख्रिष्टियन धर्म स्थापना भइसकेका इलाकाहरूमा मात्र गएका थिए। (प्रेषि. ८:१४; ११:२२) यसपालि भने बर्णाबास, सावल र सहयोगीको रूपमा मर्कुस नाम गरेका युहन्‍नालाई पहिला कहिल्यै सुसमाचार नसुनाइएको इलाकामा पठाइयो।

लगभग १४ वर्षअघि येसुले आफ्ना अनुयायीहरूलाई यसो भन्‍नुभएको थियो: “यरुसलेमका साथै सारा यहुदिया, सामरिया अनि पृथ्वीको सबैभन्दा टाढा पर्ने इलाकामा तिमीहरूले मेरो साक्षी दिनेछौ।” (प्रेषि. १:८) मिसनरीको रूपमा सेवा गर्न बर्णाबास र सावल छानिएपछि येसुका भविष्यसूचक शब्दहरू अझै जोडतोडले पूरा हुने थियो! b

“काम गर्न” अलग पारिएको (प्रेषित १३:१-१२)

३. प्रथम शताब्दीमा लामो यात्रा गर्न गाह्रो हुनुको कारण के थियो?

मोटरगाडी र हवाईजहाजजस्ता आविष्कारहरूले गर्दा आजभोलि एक-दुई घण्टामै सयौँ किलोमिटर यात्रा गर्न सकिन्छ। तर यस्ता सुविधाहरू प्रथम शताब्दीमा थिएनन्‌। त्यतिबेला यात्रा गर्ने मुख्य तरिका हिँड्‌नु नै थियो अनि प्रायजसो बाटो अप्ठ्यारो थियो। एक दिनमा ३० किलोमिटर मात्र हिँड्‌न सकिन्थ्यो र त्यो पनि थकाइलाग्दो हुन्थ्यो। c त्यसैले बर्णाबास र सावल यात्रा सुरु गर्न एकदमै उत्सुक भए तापनि यात्रा कत्ति गाह्रो हुन्छ र कस्तो त्याग गर्नुपर्छ भनेर तिनीहरूले पक्कै बुझेको हुनुपर्छ।—मत्ति १६:२४.

४. (क) बर्णाबास र सावल कसरी छानिए? यस नियुक्‍तिप्रति भाइहरूले कस्तो प्रतिक्रिया देखाए? (ख) मण्डलीमा कसैले कुनै जिम्मेवारी पाउँदा हामी कसरी समर्थन गर्न सक्छौँ?

तर पवित्र शक्‍तिले तोकेरै बर्णाबास र सावललाई नै “काम गर्न” अलग पार भनेर निर्देशन दिनुको कारण के थियो? (प्रेषि. १३:२) बाइबल यसबारे केही बताउँदैन। तर यी पुरुषहरू छानिनुमा पवित्र शक्‍तिको डोऱ्‍याइ थियो भनेर चाहिँ हामीलाई थाह छ। एन्टिओकका भविष्यवक्‍ता अनि शिक्षकहरूले यस निर्णयको विरोध गरेको कुनै सङ्‌केत हामी पाउँदैनौँ। बरु तिनीहरूले यसको पूरापूर समर्थन गरे। भाइहरूले ईर्ष्या नगरी तिनीहरूको लागि उपवास बसेको, प्रार्थना गरेको अनि ‘तिनीहरूमाथि आफ्नो हात राखेर पठाएको’ देख्दा बर्णाबास र सावलले कस्तो महसुस गरे होलान्‌, कल्पना गर्नुहोस्‌ त! (प्रेषि. १३:३) हामीले पनि मण्डलीका कसैले कुनै जिम्मेवारी पाउँदा समर्थन गर्नुपर्छ। यसमा कसैले निरीक्षकको रूपमा नियुक्‍ति पाउँदा समर्थन गर्नु पनि समावेश छ। त्यस्ता सुअवसर पाउने भाइहरूको ईर्ष्या गर्नुको सट्टा हामीले “तिनीहरूले गरिरहेको कामको खातिर प्रेमले ओतप्रोत भई तिनीहरूको झन्‌ धेरै आदर” गर्नुपर्छ।—१ थिस्स. ५:१३.

५. साइप्रस टापुमा कसरी प्रचार गर्नुपर्थ्यो, बताउनुहोस्‌।

एन्टिओक नजिकैको बन्दरगाह सिल्युसियासम्म हिँडिसकेपछि बर्णाबास र सावल जहाजबाट लगभग २०० किलोमिटर टाढा पर्ने साइप्रस टापुमा जान्छन्‌। d बर्णाबास साइप्रसको रैथाने भएकोले तिनी पक्कै पनि त्यहाँका मानिसहरूलाई सुसमाचार सुनाउन उत्सुक थिए। यस टापुको पूर्वीय किनारामा पर्ने सलामिस सहरमा उत्रेपछि तुरुन्तै “तिनीहरूले यहुदीहरूका सभाघरहरूमा परमेश्‍वरको वचन प्रचार गर्न थाले।” e (प्रेषि. १३:५) बर्णाबास र सावलले बाटोमा पर्ने ठूलठूला सहरहरूमा साक्षी दिँदै साइप्रसको एउटा कुनादेखि अर्को कुनासम्म यात्रा गरे। त्यहाँ यी मिसनरीहरू लगभग १६० किलोमिटर हिँडे!

६, ७. (क) सर्गियस पौलस को थिए? बार-येसुले किन तिनलाई सुसमाचारमा विश्‍वास गर्नदेखि रोक्न खोजे? (ख) बार-येसुले विरोध गर्दा सावलले के गरे?

प्रथम शताब्दीमा साइप्रस झूटो धर्ममा चुर्लुम्म डुबेको थियो। यो कुरा बर्णाबास र सावल साइप्रसको पश्‍चिमी किनार पाफोसमा आइपुग्दा झनै प्रस्ट भयो। त्यहाँ तिनीहरूले “बार-येसु[लाई] . . . भेटे, जो तान्त्रिक अनि झूटा भविष्यवक्‍ता थिए। उनी प्रान्तीय राज्यपाल सर्गियस पौलसकहाँ काम गर्थे। सर्गियस पौलस बुद्धिमान्‌ मानिस थिए।” प्रथम शताब्दीमा सर्गियस पौलसजस्तो “बुद्धिमान्‌ मानिस”-लगायत थुप्रै गण्यमान्य रोमीहरू महत्त्वपूर्ण निर्णय गर्न तान्त्रिक वा ज्योतिषहरूकहाँ जान्थे। जेहोस्‌, सर्गियस पौलसको राज्य सन्देशप्रति चासो जाग्यो र “तिनी परमेश्‍वरको वचन सुन्‍न उत्सुक थिए।” तर यो कुरा बार-येसुलाई मन परेन। बार-येसु इलुमास भन्‍ने पदवीबाट पनि चिनिन्थे, जसको अर्थ हो, “तान्त्रिक।”—प्रेषि. १३:६-८.

बार-येसु राज्य सन्देशको विरोध गर्थे। “प्रान्तीय राज्यपाललाई प्रभुमाथि विश्‍वास गर्नदेखि रोक्न” सक्यो भने मात्र तिनले सर्गियस पौलसको सल्लाहकारको रूपमा आफ्नो उच्च ओहदा टिकाइरहन सक्थे। (प्रेषि. १३:८) तर सर्गियस पौलसको चासोलाई अन्तै मोडिदिने त्यस तान्त्रिकको प्रयास हेरेर सावल चुपचाप बस्नेवाला थिएनन्‌। त्यसोभए सावलले के गरे? विवरण यसो भन्छ: “सावल, जसलाई पावल पनि भनिन्छ, तिनले पवित्र शक्‍तिले भरिएर उनलाई [बार-येसुलाई] एकटक लगाएर हेरे र भने: ‘ए हरकिसिमको झूट अनि खराबीले भरिएको मानिस, तँ दियाबलको छोरो अनि हरेक न्यायोचित कामको शत्रु होस्‌। के तँ यहोवा परमेश्‍वरको सही मार्गलाई बङ्‌ग्याउन छोड्‌दैनस्‌? अब हेर्‌, तँमाथि यहोवा परमेश्‍वरको हात परेको छ। तँ अन्धो हुनेछस्‌ र केही समय तैँले घामको उज्यालो देख्नेछैनस्‌।’ नभन्दै उनको आँखामा बाक्लो कुहिरो लागेर उनलाई अन्धकारले छोप्यो र उनी आफ्नो हात समातेर डोऱ्‍याइदिने मानिस खोज्दै छामछाम-छुमछुम गर्न थाले।” f यो चमत्कारी घटनापछि के भयो? “यो देखेर प्रान्तीय राज्यपालले प्रभुमा विश्‍वास गरे किनकि यहोवा परमेश्‍वरको विषयमा सुनेर तिनी दङ्‌ग परेका थिए।”—प्रेषि. १३:९-१२.

खेदो आउँदा हामी पावलजस्तै निडर भई सत्यको पक्षमा बोल्छौँ

८. आज हामी कसरी पावलजस्तै निडर हुन सक्छौँ?

पावल बार-येसुदेखि डराएनन्‌। त्यसैगरि विरोधीहरूले राज्य सन्देशप्रति चासो देखाउनेहरूको विश्‍वास कमजोर बनाउने कोसिस गर्दा हामी डराएर पछि हट्‌नु हुँदैन। निश्‍चय पनि हाम्रो बोली “नुनले स्वादिलो पारेको जस्तो दयालु” हुनुपर्छ। (कल. ४:६) तर हामी विरोधबाट जोगिनको लागि चासो देखाउने व्यक्‍तिको आध्यात्मिक हितलाई खतरामा पार्न चाहँदैनौँ। साथै हामी बार-येसुले जस्तै “यहोवा परमेश्‍वरको सही मार्गलाई बङ्‌ग्याउन” खोजिरहेको झूटो धर्मका कर्तुतहरू पर्दाफास गर्नदेखि पनि पछि हट्‌नु हुँदैन। (प्रेषि. १३:१०) पावलले जस्तै हामी पनि निडर भई सुसमाचार घोषणा गरौँ र सोझा मानिसहरूको मन छुने प्रयास गरौँ। पावलको अवस्थामा जस्तै परमेश्‍वरको समर्थन प्रस्ट नदेखिए तापनि उहाँले योग्य व्यक्‍तिहरूलाई आफूतिर खिच्न पवित्र शक्‍ति चलाउनुहुन्छ भनेर हामी निर्धक्क हुन सक्छौँ।—युह. ६:४४.

“प्रोत्साहनका दुई-चार शब्द” (प्रेषित १३:१३-४३)

९. आज मण्डलीमा नेतृत्व लिनेहरूका लागि पावल र बर्णाबासले कसरी राम्रो उदाहरण बसाले?

तिनीहरूले पाफोस छोडेर लगभग २५० किलोमिटर टाढा एसिया माइनरको तटमा पर्ने पर्गा जान समुद्री यात्रा थाले। त्यतिबेला एउटा परिवर्तन भएजस्तो देखिन्छ। प्रेषित १३:१३ मा यस समूहलाई “पावल र तिनका साथीहरू” भनेर बताइएको छ। यी शब्दहरूबाट पावलले अब त्यस समूहको गतिविधिमा नेतृत्व लिन थाले भनेर बुझिन्छ। तर बर्णाबासले पावलको ईर्ष्या गर्न थाले भन्‍ने कुनै सङ्‌केत पाइँदैन। बरु ती दुई पुरुषले परमेश्‍वरको इच्छा पूरा गर्न मिलेर काम गरिरहे। पावल र बर्णाबासले आज मण्डलीमा नेतृत्व लिनेहरूका लागि राम्रो उदाहरण बसाले। सुअवसरहरूका लागि अरूलाई उछिन्‍ने प्रयास गर्नुको सट्टा ख्रिष्टियनहरू येसुका यी शब्दहरू सम्झन्छन्‌: “तिमीहरूचाहिँ सबै दाजुभाइ हौ।” उहाँले अझै यसो भन्‍नुभयो: “जसले आफूलाई उच्च पार्छ, उसलाई होच्याइनेछ अनि जसले आफूलाई होच्याउँछ, उसलाई उच्च पारिनेछ।”—मत्ति २३:८, १२.

१०. पर्गाबाट पिसिदियाको एन्टिओकसम्मको यात्राबारे बताउनुहोस्‌।

१० पर्गा पुगेपछि पावल र बर्णाबाससित छुट्टिएर मर्कुस भनिने युहन्‍ना यरुसलेम फर्के। तिनी यसरी अचानक फर्किनुको कारण खुलाइएको छैन। तर पावल र बर्णाबासले भने यात्रा जारी राखे। तिनीहरू पर्गाबाट पिसिदियाको एन्टिओक गए। यो गलातिया प्रान्तको एउटा सहर हो। पिसिदिया समुद्री सतहभन्दा झन्डै १,१०० मिटर माथि भएकोले यो यात्रा सजिलो त पक्कै थिएन। साथै त्यो खतरनाक डाँडाकाँडाको बाटोमा डाँका लाग्ने गर्थ्यो। त्यसमाथि पावल बिरामी परेजस्तो देखिन्छ। g

११, १२. पिसिदियाको एन्टिओकको सभाघरमा बोल्दा पावलले श्रोताहरूको मन छुन कस्तो प्रयास गरे?

११ पिसिदियाको एन्टिओकमा पावल र बर्णाबास विश्रामदिनमा सभाघरमा गए। विवरण यसो भन्छ: “तब मोसाको व्यवस्था र भविष्यवक्‍ताहरूको पुस्तक जनसमक्ष पढ्‌ने काम सिद्धिएपछि सभाघरका पदाधिकारीहरूले पावल र बर्णाबासलाई यस्तो आग्रह गरे: ‘भाइहरू हो, यदि तपाईँहरूसित मानिसहरूका निम्ति प्रोत्साहनका दुई-चार शब्द छन्‌ भने कृपया सुनाउनुहोस्‌।’” (प्रेषि. १३:१५) तब पावल बोल्न खडा भए।

१२ पावलले यसरी कुरा सुरु गरे: “हे इस्राएलीहरू अनि परमेश्‍वरको भय मान्‍ने अरू मानिसहरू हो।” (प्रेषि. १३:१६) पावलका श्रोताहरू यहुदी र धर्म परिवर्तन गरेर यहुदी बनेकाहरू थिए। पावलले परमेश्‍वरको उद्देश्‍यमा येसुको भूमिका नस्विकार्ने आफ्ना श्रोताहरूको मन छुन कस्तो प्रयास गरे? सुरुमा तिनले मोटामोटी रूपमा यहुदी राष्ट्रको इतिहास बताए। त्यसपछि इस्राएलीहरू “मिश्र देशमा प्रवासी भएर बसेको बेला उहाँले तिनीहरूलाई” कसरी “उच्च पार्नुभयो” र त्यहाँबाट निकालेर ल्याएपछि कसरी “लगभग ४० वर्षसम्म उहाँले निर्जनभूमिमा तिनीहरूलाई सहनुभयो” भन्‍ने कुरा बताए। इस्राएलीहरूले प्रतिज्ञा गरिएको देशलाई कसरी आफ्नो बनाउन सके र यहोवाले कसरी “त्यहाँको जमिन पैतृक सम्पत्तिको रूपमा दिनुभयो” भनेर पनि बताए। (प्रेषि. १३:१७-१९) त्यो विश्रामदिन भएकोले भर्खरै मात्र पढेर सुनाइएको बाइबल विवरण पावलले उल्लेख गरिरहेका हुन सक्छन्‌ भनेर कसै-कसैले बताएका छन्‌। त्यसो हो भने पावल “सबै किसिमका मानिसका लागि सबै कुरा” हुन जान्दथे भन्‍ने सन्दर्भमा यो अर्को एउटा राम्रो उदाहरण हो।—१ कोरि. ९:२२.

१३. हामी कसरी आफ्ना श्रोताहरूको मन छुन सक्छौँ?

१३ हामीले पनि आफूले साक्षी दिने मानिसहरूको मन छुन प्रयास गर्नुपर्छ। उदाहरणको लागि, तिनले कुन धर्म मान्छन्‌ भनी थाह पाउँदा तिनको चासो जाग्ने विषय छान्‍न मदत पुग्छ। साथै चासो दिने व्यक्‍तिलाई थाह भएको बाइबलको कुनै विवरण सुनाउन सक्छौँ। अथवा तिनीसित बाइबल छ भने तिनकै बाइबलबाट पढेर सुनाउनु पनि प्रभावकारी हुन सक्छ। आफ्ना श्रोताहरूलाई यहोवाबारे सिक्न कसरी उत्प्रेरित गर्न सकिन्छ, विचार गर्नुहोस्‌।

१४. (क) पावलले येसुको सुसमाचार कसरी सुरु गरे? तिनले आफ्ना श्रोताहरूलाई कस्तो चेतावनी पनि दिए? (ख) पावलको भाषण सुनेर भीडले कस्तो प्रतिक्रिया देखायो?

१४ त्यसपछि पावलले इस्राएली राजाहरू येसुको पुर्खा हुन्‌ अनि बप्तिस्मा गराउने युहन्‍नाले “उद्धारक अर्थात्‌ येसु”-को लागि बाटो तयार पारे भन्‍नेबारे बताए। तिनले येसुलाई कसरी मृत्युदण्ड दिइयो र ब्युँताइयो भनेर पनि बताए। (प्रेषि. १३:२०-३७) पावलले यसो भने: “हे भाइहरू हो, तपाईँहरूलाई यो कुरा थाह होस्‌, यही येसुद्वारा पापको क्षमा पाउन सकिन्छ भनेर हामी तपाईँहरूलाई प्रचार गर्दै छौँ। अनि ज-जसले येसुमाथि विश्‍वास गर्छन्‌, तिनीहरू सबै . . . निर्दोष साबित हुनेछन्‌।” यो कुरा भनिसकेपछि प्रेषित पावलले आफ्ना श्रोताहरूलाई यस्तो चेतावनी दिए: “होसियार हुनुहोस्‌ नत्र त भविष्यवक्‍ताहरूको पुस्तकमा लेखिएको यो वचन तपाईँहरूमाथि आइपर्नेछ: ‘हे खिसी गर्नेहरू हो, मेरो काम हेर अनि अचम्म मान र नाश भइजाओ किनकि तिमीहरूको पालामा म यस्तो काम गर्दै छु, जुन कामको विषयमा कसैले सविस्तार बतायो भने पनि तिमीहरूले कदापि पत्याउनेछैनौ।’” पावलको भाषण सुनेर श्रोताहरूले एकदमै सकारात्मक प्रतिक्रिया देखाए। बाइबल यसो भन्छ: “मानिसहरूले अर्को विश्रामदिनमा ती कुराहरू फेरि सुनाइदिन बिन्ती गरे।” सभा सिद्धिएपछि “धेरै यहुदीका साथै धर्म परिवर्तन गरेर यहुदी भएकाहरू, जसले परमेश्‍वरको उपासना गर्थे, उनीहरू पनि पावल र बर्णाबासको पछि लागे।”—प्रेषि. १३:३८-४३.

“हामी अन्यजातिका मानिसहरूकहाँ जाँदै छौँ” (प्रेषित १३:४४-५२)

१५. विश्रामदिनमा पावलले भाषण दिएपछि के भयो?

१५ अर्को विश्रामदिनमा “लगभग पूरै सहर” पावलको भाषण सुन्‍न आयो। यो देखेर केही यहुदीहरू खुसी भएनन्‌ अनि “पावलले भनेका कुराहरूको खण्डन गरेर तिनीहरूले तिनको कुराको निन्दा गर्न थाले।” पावल र बर्णाबासले साहसी भई तिनीहरूलाई यसो भने: “परमेश्‍वरको वचन सर्वप्रथम तपाईँहरूलाई सुनाउनु आवश्‍यक थियो। तर तपाईँहरू त्यसलाई इन्कार गर्दै हुनुहुन्छ र आफैलाई अनन्त जीवन पाउन अयोग्य साबित गर्दै हुनुहुन्छ। त्यसैले हेर्नुहोस्‌, अब हामी अन्यजातिका मानिसहरूकहाँ जाँदै छौँ। किनकि यहोवा परमेश्‍वरले हामीलाई यस्तो आज्ञा दिनुभएको छ, ‘मानिसहरूको उद्धार गर्ने मेरो माध्यमबारे पृथ्वीको कुनाकुनासम्म गएर घोषणा गर्न मैले तिमीलाई जातिजातिका मानिसहरूका लागि ज्योति नियुक्‍त गरेको छु।’”—प्रेषि. १३:४४-४७; यसै. ४९:६.

“उनीहरूले पावल र बर्णाबासको खेदो गरे . . . अनि चेलाहरू रमाहट र पवित्र शक्‍तिले भरिपूर्ण भइरहे।”​—प्रेषित १३:५०-५२

१६. मिसनरीहरूका कडा शब्द सुनेपछि यहुदीहरूले कस्तो प्रतिक्रिया देखाए? पावल र बर्णाबासले खेदो आउँदा के गरे?

१६ यो कुरा सुनेर अन्यजातिका मानिसहरू रमाए र “ज-जससित अनन्त जीवन पाउन लायकको उचित मनसाय थियो, तिनीहरू सबैले प्रभुमा विश्‍वास गरे।” (प्रेषि. १३:४८) यहोवाको वचन देशभरि तुरुन्तै फैलियो। तर यहुदीहरूको प्रतिक्रिया भने निकै फरक थियो। यसकारण परमेश्‍वरको वचन सर्वप्रथम तिनीहरूलाई सुनाइएको भए तापनि तिनीहरूले मसीहलाई तिरस्कार गरे र परमेश्‍वरबाट इन्साफ पाउन आफैलाई योग्य ठहराए भनेर ती मिसनरीहरूले यहुदीहरूलाई बताए। यहुदीहरूले त्यस सहरका गण्यमान्य स्त्रीहरू अनि मुख्य-मुख्य पुरुषहरूलाई भड्‌काए। “उनीहरूले पावल र बर्णाबासको खेदो गरे अनि तिनीहरूलाई सहरबाहिर धपाए।” त्यसपछि पावल र बर्णाबासले के गरे? “तिनीहरूले आफ्नो पैतालाको धुलो टकटक्याए अनि आइकोनियम गए।” के यो घटनापछि पिसिदियाको एन्टिओकमा ख्रिष्टियन धर्मको अन्त भयो? कदापि भएन! त्यहाँ भएका बाँकी “चेलाहरू रमाहट र पवित्र शक्‍तिले भरिपूर्ण भइरहे।”—प्रेषि. १३:५०-५२.

१७-१९. पावल र बर्णाबासले बसालेको असल उदाहरण हामी कसरी अनुकरण गर्न सक्छौँ? यसो गर्दा कसरी हाम्रो आनन्द बढ्‌छ?

१७ यी विश्‍वासी जनहरूले खेदो आउँदा देखाएको प्रतिक्रियाबाट हामी एउटा महत्त्वपूर्ण पाठ सिक्न सक्छौँ। यस संसारका प्रतिष्ठित व्यक्‍तिहरूले हामीलाई राज्य सन्देश सुनाउन रोक्न खोजे तापनि साक्षी दिन हामी बन्द गर्नेछैनौँ। साथै एन्टिओकका मानिसहरूले आफूले सुनाएको सन्देश इन्कार गर्दा पावल र बर्णाबासले के गरे, याद गर्नुहोस्‌। तिनीहरूले “आफ्नो पैतालाको धुलो टकटक्याए।” एन्टिओकका मानिसहरूसित रिसाएकोले होइन बरु त्यहाँका मानिसहरूले भोग्ने नतिजाको लागि आफूहरू जिम्मेवार नभएको कुरा देखाउन तिनीहरूले त्यसो गरेका थिए। मानिसहरूले देखाउने प्रतिक्रिया आफ्नो वशमा छैन भनेर यी मिसनरीहरूले बुझे। तर साक्षीकार्यलाई निरन्तरता दिने कि नदिने भन्‍ने कुराचाहिँ तिनीहरूको वशमा थियो। त्यसपछि तिनीहरूले आइकोनियममा गएर साक्षी दिन थाले!

१८ एन्टिओकमा भएका चेलाहरूलाई चाहिँ के भयो? त्यस इलाकाका मानिसहरू सुसमाचारका विरोधी थिए। तर मानिसहरूले सुसमाचार स्विकार्छन्‌ कि स्विकार्दैनन्‌ भन्‍ने कुरामा तिनीहरूको आनन्द निर्भर थिएन। येसुले भन्‍नुभयो: “आनन्दित त तिनीहरू हुन्‌, जसले परमेश्‍वरको वचन सुन्छन्‌ र पालन गर्छन्‌!” (लुका ११:२८) पिसिदियाको एन्टिओकमा भएका चेलाहरूले येसुको यो वचन पालन गर्ने सङ्‌कल्प गरे।

१९ पावल र बर्णाबासले जस्तै सुसमाचार सुनाउनु हाम्रो पनि जिम्मेवारी हो भनेर कहिल्यै नबिर्सौँ। हाम्रो सन्देश स्विकार्ने कि नस्विकार्ने, त्यो निर्णय पूर्णतया मानिसहरूकै हो। तिनीहरूले हाम्रो सन्देश नसुन्दा हामी प्रथम शताब्दीका चेलाहरूको अनुकरण गर्न सक्छौँ। चाहे जस्तोसुकै विरोधको सामना गर्न नै किन नपरोस्‌, परमेश्‍वरको वचनको मोल गर्दै पवित्र शक्‍तिको डोऱ्‍याइमा हिँड्यौँ भने हामी पनि आनन्दित हुन सक्छौँ।—गला. ५:१८, २२.

a पृष्ठ ८६ मा भएको “ बर्णाबास—‘सान्त्वनाको छोरा’” शीर्षकको पेटी हेर्नुहोस्‌।

b यतिबेलासम्म सिरियाको एन्टिओकजस्तो टाढाको इलाकामा पनि मण्डलीहरू स्थापना भइसकेका थिए। सिरियाको एन्टिओक यरुसलेमबाट लगभग ५५० किलोमिटर उत्तरमा पर्छ।

c पृष्ठ ८७ मा भएको “ पैदल यात्रा” शीर्षकको पेटी हेर्नुहोस्‌।

d हावाको वेग सामान्य हुँदा प्रथम शताब्दीमा जहाजबाट एक दिनमा लगभग १५० किलोमिटर पार गर्न सकिन्थ्यो। तर मौसम बिग्रेको बेला धेरै समय लाग्थ्यो।

e पृष्ठ ८९ मा भएको “ यहुदीहरूको सभाघर” शीर्षकको पेटी हेर्नुहोस्‌।

f यसपछि सावल पावलको नामले चिनिन थाले। कसै-कसैको भनाइअनुसार तिनले सर्गियस पौलसको सम्मानमा यो रोमी नाम चलाउन थालेका हुन्‌। तर साइप्रस छोडेर गइसकेपछि पनि तिनले पावल नाम नै प्रयोग गरिरहे। तिनले त्यो नाम सर्गियस पौलसको सम्मानको लागि नभई तिनी “अन्यजातिहरूको प्रेषित” भएकोले प्रयोग गर्ने निर्णय गरेका हुन सक्छन्‌। साथै तिनको हिब्रू नाम सावल ग्रीकमा उच्चारण गर्दा नराम्रो अर्थ लाग्ने ग्रीक शब्दजस्तै सुनिने भएकोले पनि तिनले पावल नाम चलाउन थालेका हुन सक्छन्‌।—रोमी ११:१३.

g त्यसको केही वर्षपछि पावलले गलातीहरूलाई पत्र लेखे। त्यस पत्रमा पावलले यसो भने: “म बिरामी परेकोले तिमीहरूलाई पहिलो पटक सुसमाचार सुनाउने मौका पाएको थिएँ।”—गला. ४:१३.