अध्याय २३
“मेरो प्रतिवाद सुन्नुहोस्”
आक्रोशित भीड र यहुदी न्यायपरिषद्सामु पावल सत्यको पक्षमा खडा हुन्छन्
प्रेषित २१:१८–२३:१० मा आधारित
१, २. पावल किन यरुसलेम जान्छन्? त्यहाँ तिनलाई कस्ता चुनौतीहरू आउने थिए?
पावल फेरि यरुसलेममा छन्। पावल यस सहरको साँघुरो अनि भीडभाड हुने बाटोमा हिँडिरहेका छन्। यहोवाका जनहरूको इतिहासमा यरुसलेमले जत्तिको महत्त्व पृथ्वीमा अरू कुन सहरले पायो होला र! त्यसैले त त्यहाँका बासिन्दाहरू आफ्नो सहरको गौरवमय इतिहासमा गर्व गर्छन्। यहोवाले आफ्ना जनहरूसित व्यवहार गर्ने तरिकामा परिवर्तन गरिसक्नुभएको छ भन्ने कुरा बुझे तापनि त्यहाँका थुप्रै ख्रिष्टियनले आवश्यक छाँटकाँट भने गरेका छैनन्। बरु तिनीहरूले पहिलेका कुराहरूलाई नै जोड दिइरहेका छन् भनेर पावललाई थाह छ। त्यसकारण त्यहाँका भाइबहिनीलाई भौतिक सहयोगका साथै आध्यात्मिक मदतको पनि खाँचो परेको देखेकोले तिनले एफिससमा छँदा नै फेरि यरुसलेम जाने निधो गरे। (प्रेषि. १९:२१) आफूमाथि खतरा आइपर्छ भन्ने थाह भए तापनि यरुसलेम जाने निर्णयमा तिनी अडिग छन्।
२ यरुसलेममा अब पावललाई कस्ता चुनौतीहरू आउने थिए? एउटा चुनौती त ख्रिष्टियनहरूबाट नै आउने थियो। तिनीहरूमध्ये कोही-कोहीले पावलबारे फैलिएको झूटो हल्ला पत्याएका थिए। अझै कठिन चुनौतीहरूचाहिँ ख्रिष्टका शत्रुहरूबाट आउने थियो। तिनीहरूले पावललाई झूटा आरोपहरू लगाउने थिए, पिट्ने थिए र मार्ने धम्की दिने थिए। यस्ता कठिन परिस्थितिले गर्दा पावलले आफ्नो सफाइ दिने अवसर पनि पाउने थिए। यस्ता चुनौतीको सामना गर्नुपर्दा तिनले देखाएको नम्रता, साहस र विश्वास आज हाम्रो लागि उत्कृष्ट उदाहरण साबित भएको छ। कसरी? आउनुहोस्, हामी जाँचौँ।
“तिनीहरूले परमेश्वरको महिमा गर्न थाले” (प्रेषित २१:१८-२०क)
३-५. (क) पावल यरुसलेममा भएको कुन सभामा गए? त्यहाँ के छलफल भयो? (ख) त्यस सभाबाट हामी के सिक्न सक्छौँ?
३ यरुसलेम पुगेको भोलिपल्ट पावल र तिनका साथीहरू मण्डलीका जिम्मेवार एल्डरहरूलाई भेट्न गए। उक्त विवरणमा कुनै पनि प्रेषितबारे उल्लेख गरिएको छैन। तिनीहरू अरू नै ठाउँमा सेवा गर्न गइसकेका हुन सक्छन्। तर येसुका भाइ याकुब भने त्यहीँ थिए। (गला. २:९) “सबै एल्डर पनि भेला” भएको सभामा याकुबले नेतृत्व लिएका हुन सक्छन्।—प्रेषि. २१:१८.
४ पावलले एल्डरहरूलाई अभिवादन गरे “अनि आफूले गरेको सेवाद्वारा परमेश्वरले अन्यजातिका मानिसहरूबीच के-कस्ता कामहरू गर्नुभयो भनी सविस्तार सुनाउन थाले।” (प्रेषि. २१:१९) पावलको कुरा सुनेर भाइहरू पक्कै प्रोत्साहित भए। त्यसैगरि हामी पनि अरू देशहरूमा भइरहेको उन्नति सुनेर औधी खुसी हुन्छौँ।—हितो. २५:२५.
५ त्यतिबेलाको कुराकानीमा पावलले युरोपबाट ल्याएको दानबारे पनि बताएको हुनुपर्छ। टाढा-टाढाका भाइबहिनीहरूले देखाएको चासोको लागि त्यहाँ भएका एल्डरहरू पक्कै कृतज्ञ भए। त्यसैकारण त तिनको कुरा सुनेपछि तिनीहरूले “परमेश्वरको महिमा गर्न थाले” भनेर विवरणले बताएको छ। (प्रेषि. २१:२०क) आज पनि प्रकोपमा परेकाहरूलाई अरू भाइबहिनीले समयमै मदत गरिदिँदा वा गम्भीर रोगले थला परेकाहरूलाई प्रोत्साहनका शब्दहरू बोलिदिँदा तिनीहरूको मन छुन्छ।
अझै पनि “जोसिलो भएर मोसाको व्यवस्था पालन” गरिँदै (प्रेषित २१:२०ख, २१)
६. पावलले कस्तो समस्याबारे थाह पाए?
६ त्यसपछि एल्डरहरूले पावललाई यहुदियामा भएको एउटा समस्याबारे बताए। त्यो समस्या पावलसितै सम्बन्धित थियो। तिनीहरूले यसो भने: “हे भाइ, हजारौँको सङ्ख्यामा यहुदीहरू येसुका अनुयायी बनेका त तपाईँले देख्नुभएकै छ। अनि तिनीहरू सबै जोसिलो भएर मोसाको व्यवस्था पालन गर्छन्। तिनीहरूले के हल्ला सुनेका छन् भने आफ्नो सन्तानको खतना गर्नुपर्दैन अनि पहिलेदेखि चलिआएको रीतिरिवाज मान्नुपर्दैन भनेर तपाईँ भन्नुहुन्छ अरे अनि यस्तो कुरा गरेर तपाईँले अन्यजातिमाझ छरिएर बसेका यहुदीहरूलाई मोसाको व्यवस्थाविपरीत कुराहरू सिकाएर धर्मत्याग फैलाउँदै हुनुहुन्छ अरे।” a—प्रेषि. २१:२०ख, २१.
७, ८. (क) यहुदियाका थुप्रै ख्रिष्टियनले कस्तो गलत सोचाइ राखेका थिए? (ख) केही यहुदी ख्रिष्टियनको त्यस्तो सोचाइलाई किन धर्मत्याग भन्न मिल्दैन?
७ मोसाको व्यवस्था रद्द भएको २० वर्षभन्दा धेरै भइसकेको भए तापनि थुप्रै ख्रिष्टियनले किन व्यवस्था पालन गर्नै पर्छ भनेर जोड दिइरहेका थिए? (कल. २:१४) इस्वी संवत् ४९ मा यरुसलेममा भएका प्रेषितहरू र एल्डरहरूको सभापछि मण्डलीहरूमा पत्र पठाइएको थियो। त्यस पत्रमा अन्यजातिका ख्रिष्टियनहरूले खतना गर्नुपर्दैन र मोसाको व्यवस्था पनि पालन गर्नुपर्दैन भनेर लेखिएको थियो। (प्रेषि. १५:२३-२९) तर त्यस पत्रमा यहुदी ख्रिष्टियनहरूबारे उल्लेख गरिएको थिएन। त्यसैले थुप्रै यहुदी ख्रिष्टियनले मोसाको व्यवस्था अब लागू हुँदैन भन्ने कुरा बुझेका थिएनन्।
८ यहुदी ख्रिष्टियनहरूको यस्तो गलत सोचाइको कारण के तिनीहरू ख्रिष्टियन हुन अयोग्य ठहरिए त? अहँ, ठहरिएनन्। यहुदी ख्रिष्टियनहरू कुनै समय झूटा देवताको उपासना गरेका र अहिले पनि त्यही धर्मको रीतिथिति पछ्याइरहेका मानिसहरूजस्ता त थिएनन्। तिनीहरूले असाध्यै महत्त्व दिइरहेको व्यवस्था यहोवाले नै दिनुभएको थियो। यसमा कुनै सैतानी प्रभाव थिएन र त्यो आफैमा गलत थिएन। मोसाको व्यवस्था पुरानो करारसित सम्बन्धित थियो। तर अब भने ख्रिष्टियनहरू नयाँ करारअन्तर्गत थिए। शुद्ध उपासना गर्न अब व्यवस्थाका नियमहरू पालन गर्नुपर्दैनथ्यो। व्यवस्था पालन गर्नुपर्छ भनेर जिद्दी गरिरहेका यहुदी ख्रिष्टियनहरूले यो कुरा बुझेका थिएनन् र यहोवाको उपासना गर्ने नयाँ प्रबन्धलाई स्विकार्न सकिरहेका थिएनन्। व्यवस्थाबारे परमेश्वरले प्रकट गर्नुभएको नयाँ समझअनुसार तिनीहरूले आफ्नो सोचाइ परिवर्तन गर्नुपर्ने थियो। b—यर्मि. ३१:३१-३४; लुका २२:२०.
“त्यो फोस्रो हल्ला मात्र रहेछ” (प्रेषित २१:२२-२६)
९. मोसाको व्यवस्थाबारे पावलले के सिकाए?
९ पावलले अन्यजातिको इलाकामा रहेका यहुदीहरूलाई “आफ्नो सन्तानको खतना गर्नुपर्दैन अनि पहिलेदेखि चलिआएको रीतिरिवाज मान्नुपर्दैन” भनेर सिकाइरहेका छन् भन्ने हल्ला के सही थियो? पावल अन्यजातिहरूका प्रेषित थिए र तिनले अन्यजातिहरूले मोसाको व्यवस्था पालन गर्नुपर्दैन भन्ने निर्णयको समर्थन गरेका थिए। साथै तिनले मोसाको व्यवस्थाको अधीनमा रहेको प्रमाण दिन अन्यजातिहरूले खतना गर्नै पर्छ भनेर दबाब दिनेहरूलाई गलत ठहराइरहेका थिए। (गला. ५:१-७) पावल जुन-जुन सहर गए, तिनले त्यहाँका यहुदीहरूलाई पनि सुसमाचार सुनाए। तिनले ती यहुदीहरूलाई येसुको मृत्युले व्यवस्था रद्द गरिसक्यो र मोसाको व्यवस्था पालन गरेर होइन तर येसु ख्रिष्टमा विश्वास गरेर यहोवाको नजरमा असल ठहरिन सकिन्छ भनेर बुझाएको हुनुपर्छ।—रोमी २:२८, २९; ३:२१-२६.
१०. व्यवस्था र खतनाको सन्दर्भमा पावलले अरूको भावनाको कदर गरेको कसरी देखाए?
१० तैपनि विश्रामदिनमा काम नगर्ने वा कुनै-कुनै खानेकुरा नखाने जस्ता व्यवस्थाका नियम पालन गर्न चाहनेहरूको भावनाको पावलले कदर गरे। (रोमी १४:१-६) तिनले खतनाको विषयमा कुनै पनि नियम बनाएनन्। वास्तवमा पावलले नै तिमोथिको खतना गराएका थिए। तिमोथिको बुबा ग्रीक भएकोले यहुदीहरूले तिमोथिलाई स्विकारून् भन्ने पावल चाहन्थे। (प्रेषि. १६:३) खतना गर्ने कि नगर्ने, त्यो व्यक्तिगत निर्णय थियो। पावलले गलातीका ख्रिष्टियनहरूलाई यसो भने: “खतना गरे पनि, नगरे पनि त्यसको केही मोल हुँदैन तर प्रेमद्वारा उत्प्रेरित विश्वासको मोल हुन्छ।” (गला. ५:६) तर मोसाको व्यवस्था पालन गर्न अनि यहोवाको अनुमोदन पाउन खतना गर्नुपर्छ भनेर सोच्नु गलत थियो। वास्तवमा यस्तो सोचाइ राख्नु विश्वासको कमी थियो।
११. एल्डरहरूले पावललाई कस्तो निर्देशन दिए? भाकल पूरा गर्नुमा के-के समावेश थियो? (फुटनोट पनि हेर्नुहोस्।)
११ पावलबारे फैलिएको हल्ला सरासर झूट भए तापनि यहुदी ख्रिष्टियनहरूलाई यस कुराले अझै पिरोलिरहेको थियो। त्यसैकारण एल्डरहरूले पावललाई यस्तो निर्देशन दिए: “भाकल गरेर बसेका चार जना पुरुष हामीसित छन्। तिनीहरूलाई आफूसित लैजानुहोस् र मोसाको व्यवस्थाअनुसार तिनीहरूसँगसँगै आफूलाई शुद्ध पार्नुहोस् अनि तिनीहरूको खर्च बेहोरिदिनुहोस् ताकि तिनीहरूले आफ्नो कपाल खौरून्। तपाईँले यसो गर्नुभयो भने तपाईँको विषयमा जे-जस्तो सुनियो, त्यो फोस्रो हल्ला मात्र रहेछ भनेर सबैले थाह पाउनेछन् र तपाईँ पनि मोसाको व्यवस्था पालन गर्दै ठीक बाटोमा हिँडिरहनुभएको छ भनेर तिनीहरूले देख्नेछन्।” c—प्रेषि. २१:२३, २४.
१२. यरुसलेमका एल्डरहरूले दिएको निर्देशन पछ्याउँदै पावलले कसरी परिस्थितिअनुसार छाँटकाँट गरे र सहयोगी मनोवृत्ति देखाए?
१२ पावलले वास्तविक समस्या आफूबारे फैलाइएको हल्ला होइन तर मोसाको व्यवस्था पालन गर्नै पर्छ भनेर यहुदी ख्रिष्टियनहरूले देखाइरहेको जोस हो भनी खण्डन गर्न सक्थे। तर परमेश्वरले दिनुभएको सिद्धान्तसित नबाझिएसम्म तिनी छाँटकाँट गर्न तयार थिए। तिनले यस्तो लेखेका थिए: “व्यवस्थाको अधीनमा भएकाहरूलाई हासिल गर्न म व्यवस्थाको अधीनमा नभए तापनि व्यवस्थाको अधीनमा भएजस्तै भएँ।” (१ कोरि. ९:२०) यस अवसरमा पावलले यरुसलेमका एल्डरहरूको कुरा माने र “व्यवस्थाको अधीनमा भएजस्तै” भए। पावलको यस उदाहरणबाट आफ्नै तरिकाअनुसार कामकुरा गर्नुपर्छ भनेर ढिपी कस्नुको साटो एल्डरहरूलाई सहयोग गर्नुपर्छ भनेर हामी राम्रो पाठ सिक्न सक्छौँ।—हिब्रू १३:१७.
“यो बाँच्न योग्यको छैन!” (प्रेषित २१:२७–२२:३०)
१३. (क) मन्दिरमा किन केही यहुदीहरूले खैलाबैला मच्चाए? (ख) पावललाई कसरी बचाइयो?
१३ मन्दिरमा एउटा समस्या खडा भयो। भाकल पूरा गर्ने दिन सिद्धिनै लाग्दा एसियाबाट आएका यहुदीहरूले पावललाई देखे र मन्दिरमा अन्यजातिका मानिसहरू ल्याएको आरोप लगाएर भीडलाई उचाल्न थाले। रोमी सेनापतिले हस्तक्षेप नगरेका भए पावललाई मानिसहरूले कुटेरै मार्ने थिए। रोमी सेनापतिले तिनलाई हिरासतमा लिए। त्यसको चार वर्षपछि मात्र तिनी स्वतन्त्र हुने थिए। तर खतरा अझै टरेको थिएन। सेनापतिले तिनलाई आक्रमण गरिनुको कारणबारे सोध्दा यहुदीहरू अनेक आरोप लगाउँदै चिच्याउन थाले। तर भीडको होहल्लाले गर्दा सेनापतिले केही पनि बुझ्न सकेनन्। अवस्था झनै बिग्रिएकोले पावललाई त्यहाँबाट बोकेरै लैजानुपऱ्यो। पावल र रोमी सैनिकहरू छाउनीमा पस्नै लाग्दा पावलले सेनापतिलाई यसो भने: “म बिन्ती गर्छु, मानिसहरूसामु मलाई बोल्न दिनुहोस्।” (प्रेषि. २१:३९) सेनापति राजी भए र पावलले साहसका साथ आफ्नो विश्वासको पक्षमा बोले।
१४, १५. (क) पावलले यहुदीहरूलाई के बताए? (ख) यहुदीहरू रिसाउनुको कारण पत्ता लगाउन रोमी सेनापतिले के गरे?
१४ “मेरो प्रतिवाद सुन्नुहोस्” भन्दै पावलले आफ्नो कुरा सुरु गरे। (प्रेषि. २२:१) तिनले हिब्रू भाषा बोलेको सुनेर मानिसहरू चुप लागे। आफू ख्रिष्टको चेला बन्नुको कारणबारे तिनले स्पष्टसित बताए। तिनले आफ्नो सफाइ दिँदा यहुदीहरूले चाहेमा आफैले पक्का गर्न सक्ने कुराहरू पनि सिपालु ढङ्गमा बताए। पावलले प्रख्यात शिक्षक गमलिएलको चरणमा शिक्षा पाएका थिए र पहिला ख्रिष्टका चेलाहरूको खेदो गरेका थिए भनेर त्यहाँ भएकाहरूमध्ये कसै-कसैलाई थाह थियो होला। तर दमिसक जाँदै गर्दा तिनले फेरि जीवित हुनुभएको येसु ख्रिष्टलाई दर्शनमा देखे र उहाँले तिनीसित कुरा गर्नुभयो। पावलसँग यात्रा गरिरहेका मानिसहरूले पनि ज्योति देखे र कसैले बोलेको आवाज सुने। तैपनि तिनीहरूले केही बुझेनन्। (प्रेषि. ९:७; २२:९) दर्शन देखेर अन्धो भएका पावललाई तिनका साथीहरूले दमिसक पुऱ्याइदिए। त्यहाँका सबै यहुदीहरूमाझ राम्रो नाम कमाएका हननियाले चमत्कारपूर्ण ढङ्गमा पावलको दृष्टि फर्काइदिए।
१५ यरुसलेम फर्केपछि येसु तिनीसामु देखा पर्नुभएको कुरा पावलले बताए। त्यति नै बेला यहुदीहरू साह्रै चिढिए र यसो भन्दै कराउन थाले: “यस्तो मानिसलाई जिउँदो छोड्नुहुन्न किनकि यो बाँच्न योग्यको छैन!” (प्रेषि. २२:२२) पावललाई बचाउन सेनापतिले तिनलाई सेनाको छाउनीमा लैजाने आदेश दिए। यहुदीहरू पावलसित रिसाउनुको कारण पत्ता लगाएरै छोड्न सेनापतिले तिनलाई कोर्रा लगाएर केरकार गर्ने आदेश दिए। तर पावलले कानुनले दिने सुरक्षाको फाइदा उठाउँदै आफू रोमी नागरिक हुँ भनेर बताए। त्यसैगरि आज पनि यहोवाका उपासकहरू आफ्नो विश्वासको पक्षमा खडा हुन आफूलाई कानुनले दिने सुरक्षाको फाइदा उठाउँछन्। (पृष्ठ १८४ मा भएको “ रोमी कानुन र रोमी ” र पृष्ठ १८६ मा भएको “ नागरिक आधुनिक समयमा कानुनी लडाइँ” शीर्षकका पेटीहरू हेर्नुहोस्।) पावल रोमी नागरिक रहेछन् भनेर थाह भएपछि सेनापतिले वास्तविकता पत्ता लगाउन अर्कै बाटो अपनाउनुपर्ने महसुस गरे। त्यसैले भोलिपल्ट तिनले पावललाई यहुदी न्यायपरिषद्सामु उभ्याए, जुन यहुदीहरूको सर्वोच्च अदालत हो।
“म फरिसी हुँ” (प्रेषित २३:१-१०)
१६, १७. (क) पावलले यहुदी न्यायपरिषद्सामु बोल्दा के भयो? (ख) पावललाई हिर्काइँदा तिनले कसरी नम्रता देखाए?
१६ यहुदी न्यायपरिषद्सामु आफ्नो सफाइ दिँदै पावलले सुरुमा यसो भने: “भाइहरू हो, मैले आजको दिनसम्मै परमेश्वरसामु सफा अन्तस्करण राखेर जीवन बिताएको छु।” (प्रेषि. २३:१) त्यसपछि तिनले अरू बोल्न पाएनन्। विवरण यसो भन्छ: “यो सुनेर प्रधानपुजारी हननियाले पावलको छेवैमा उभिरहेका मानिसहरूलाई तिनको मुखमा हिर्काउने आदेश दिए।” (प्रेषि. २३:२) पावलको कत्रो बेइज्जत! यसबाट तिनीहरू पक्षपाती छन् र कुनै प्रमाणबिना पावललाई दोषी ठहराउन खोज्दै छन् भन्ने कुरा देखियो। त्यसैले त पावलले यसो भने: “ए कमेरो पोतेको पर्खाल, परमेश्वरले तिमीलाई हिर्काउनुहुनेछ। तिमी मोसाको व्यवस्थाबमोजिम मेरो न्याय गर्न बसेका छौ तर मलाई हिर्काउने आदेश दिएर के तिमी त्यही व्यवस्था उल्लङ्घन गर्छौ?”—प्रेषि. २३:३.
१७ पावललाई हिर्काइएकोले त होइन तर पावलको कुरा सुनेर त्यहाँ उपस्थित कोही-कोही स्तब्ध भए। तिनीहरूले यसो भने: “के तिमी परमेश्वरको प्रधानपुजारीको अपमान गर्दै छौ?” पावलले नम्रता र व्यवस्थाप्रति आदर देखाउँदै यस्तो जवाफ दिए: “भाइहरू हो, उहाँ प्रधानपुजारी हुनुहुन्छ भनेर मलाई थाह थिएन। ‘तिम्रा मानिसहरूको शासकको निन्दा नगर्नू’ भनेर धर्मशास्त्रमा लेखिएकै छ नि।” d (प्रेषि. २३:४, ५; प्रस्थ. २२:२८) त्यसपछि पावलले तिनीहरूसित फरक तरिकामा तर्क गरे। त्यस न्यायपरिषद्का सदस्यहरू सदुकी र फरिसी हुन् भन्ने कुरा याद गरेर तिनले भने: “भाइहरू हो, म फरिसी हुँ र फरिसीकै छोरा पनि हुँ। मरिसकेका मानिसहरू फेरि जीवित हुनेछन् भनेर मैले विश्वास गरेको हुनाले मेरो न्याय हुँदै छ।”—प्रेषि. २३:६.
१८. पावलले आफूलाई किन फरिसी भनेर चिनाए? कुनै-कुनै परिस्थितिमा हामी कसरी यस्तै तर्क चलाउन सक्छौँ?
१८ पावलले आफूलाई फरिसी भनेर चिनाए किनभने तिनी “फरिसीकै छोरा” अर्थात् फरिसी गुटको परिवारका सदस्य थिए। त्यसैले थुप्रैले तिनलाई फरिसी नै ठान्थे। e तर आफूलाई फरिसी भनेर चिनाएर के पावलले फेरि जीवित हुनेबारे फरिसीहरूको गलत धारणालाई समर्थन गरिरहेका थिए? फरिसीहरू मानिस मरे पनि उसको कुनै भाग जीवितै रहन्छ अनि धर्मीहरूको प्राणले फेरि मानव शरीर धारण गर्छ भनेर विश्वास गर्थे। पावल त्यस्तो शिक्षामा विश्वास गर्दैनथे। बरु तिनी येसुले सिकाउनुभएको फेरि जीवित हुने शिक्षामा विश्वास गर्थे। (युह. ५:२५-२९) तर मृत्युपश्चात् पनि जीवन पाउने आशा छ भन्ने कुरामा पावल फरिसीहरूसित सहमत थिए। अर्कोतर्फ सदुकीहरू भने फेरि जीवित हुने कुरामा विश्वास गर्दैनथे। हामी पनि फरक आस्था भएका मानिसहरूसित कुरा गर्दा यस्तै तर्क चलाउन सक्छौँ। हुनत तिनीहरू आफ्नै ईश्वरमा विश्वास गर्लान् तर परमेश्वर हुनुहुन्छ भन्ने कुरामा हामी तिनीहरूसित सहमत हुन सक्छौँ।
१९. यहुदी न्यायपरिषद्को सभामा किन गोलमाल मच्चियो?
१९ पावलको कुराले यहुदी न्यायपरिषद्मा फाटो ल्यायो। विवरण यसो भन्छ: “तिनीहरूबीच चर्को भनाभन भयो र फरिसी समूहका केही शास्त्रीहरू उठेर ठूलठूलो स्वरमा यसो भन्दै झगडा गर्न थाले: ‘हामी यस मानिसमा कुनै गल्ती भेट्टाउँदैनौँ; स्वर्गदूतले वा स्वर्गबाट कसैले तिनीसित कुरा गरेको पनि त हुन सक्छ . . .।’” (प्रेषि. २३:९) स्वर्गदूतले पावलसित कुरा गरेको हुन सक्छ भन्ने कुरा सदुकीहरूलाई कसरी पच्थ्यो होला र! किनकि तिनीहरू स्वर्गदूतमा विश्वास गर्दैनथे। (“ सदुकी र फरिसी” शीर्षकको पेटी हेर्नुहोस्।) विवाद झन्झन् चर्कँदै गएपछि रोमी सेनापतिले फेरि प्रेषित पावललाई जोगाउनुपऱ्यो। (प्रेषि. २३:१०) तैपनि पावल अझै खतराबाट मुक्त थिएनन्। अब प्रेषित पावललाई के हुने थियो? यो कुरा हामी यसपछिको अध्यायबाट थाह पाउनेछौँ।
a त्यहाँ यहुदी ख्रिष्टियनहरू धेरै भएकोले तिनीहरूको आध्यात्मिक आवश्यकताको ख्याल राख्न कसै-कसैको घरमा समेत सभाहरू सञ्चालन गरिँदै आएको हुन सक्छ।
b केही वर्षपछि प्रेषित पावलले हिब्रूहरूलाई पत्र लेखे। त्यस पत्रमा तिनले नयाँ करार कत्ति उत्तम छ भन्ने कुरा स्पष्ट पारे। नयाँ करारले पुरानो करारलाई रद्द गरिसक्यो भनेर तिनले प्रस्टै बताए। यहुदी ख्रिष्टियनहरूले मोसाको व्यवस्था अझै लागू हुन्छ भनिरहेकाहरूलाई पावलको चित्तबुझ्दो तर्क चलाउँदै जवाफ दिन सक्थे। त्यसका साथै पावलको सशक्त तर्कले मोसाको व्यवस्था पालन गर्नै पर्छ भनिरहेका केही ख्रिष्टियनको विश्वासलाई पक्कै बलियो बनायो।—हिब्रू ८:७-१३.
c शास्त्रविद्हरूको भनाइअनुसार ती मानिसहरूले नाजिरीको भाकल गरेका थिए। (गन्ती ६:१-२१) त्यस्तो भाकल मोसाको व्यवस्थाअन्तर्गत गरिन्थ्यो। तर अब व्यवस्था रद्द भइसकेको थियो। तैपनि ती मानिसहरूले यहोवालाई गरेको भाकल पूरा गर्नु गलत हुँदैन भनेर पावलले तर्क गरेका हुन सक्छन्। त्यसकारण पावल तिनीहरूसँगै जानु र तिनीहरूको खर्च बेहोरिदिनु गलत हुने थिएन। ती मानिसहरूले कस्तो किसिमको भाकल गरेका थिए भनेर हामीलाई थाह छैन। नाजिरीहरूले अक्सर आफ्नो पाप पखाल्न पशुबलि चढाउने गर्थे तर पावलले पक्कै पनि तिनीहरूको त्यस्तो प्रचलनलाई समर्थन गरेको हुन सक्दैन। किनकि ख्रिष्टले आफ्नो त्रुटिरहित जीवन बलिदान दिइसक्नुभएकोले पापको प्रायश्चित गर्न अब पशुबलि चढाउनु पर्दैनथ्यो। पावलले के गरे, त्यसबारे हामीलाई एक-एक कुरा त थाह छैन तर तिनले आफ्नो अन्तस्करणले नदिने कुनै पनि कुरामा सहमति जनाएनन् भनेर चाहिँ हामी पक्का हुन सक्छौँ।
d कसै-कसैको भनाइअनुसार पावलको आँखा कमजोर भएकोले तिनले प्रधानपुजारीलाई चिन्न सकेनन्। अथवा यरुसलेममा लामो समय नभएकोले तिनले अहिलेका प्रधानपुजारीलाई नचिनेका पनि हुन सक्छन्। भीडभाडले गर्दा आफूलाई हिर्काउने आदेश कसले दिएको हो भनेर पावलले नदेखेका पनि हुन सक्छन्।
e इस्वी संवत् ४९ मा प्रेषितहरू र एल्डरहरूले अन्यजातिहरूले मोसाको व्यवस्था पालन गर्नुपर्छ कि पर्दैन भनेर छलफल गर्दा त्यहाँ “फरिसी गुटका केही मानिसहरू” पनि उपस्थित थिए, “जसले प्रभुमा विश्वास गर्न थालेका थिए।” (प्रेषि. १५:५) स्पष्टतः ती ख्रिष्टियनहरू अझै पनि आफ्नो पृष्ठभूमिले गर्दा फरिसी भनेर चिनिन्थे।