सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय २७

“राम्ररी साक्षी दिए”

“राम्ररी साक्षी दिए”

रोममा कैदमा परेका पावल निरन्तर साक्षी दिइरहन्छन्‌

प्रेषित २८:११-३१ मा आधारित

१. पावल र तिनका साथीहरू कुन कुरामा विश्‍वस्त थिए र किन?

 इस्वी संवत्‌ ५९ तिरको कुरा हो। “ज्युसका छोराहरू”-को प्रतिमा कुँदिएको जहाज भूमध्यसागरमा पर्ने माल्टा टापुबाट इटालीतर्फ जाँदै छ। जहाज अन्‍नले भरिभराउ छ। त्यहाँ सिपाहीहरूले पहरा दिइरहेका प्रेषित पावल छन्‌। तिनको साथमा लुका र अरिस्तार्खस पनि छन्‌। (प्रेषि. २७:२) जहाजका कामदारहरू सुरक्षाको लागि ग्रीक देव ज्युसका जुम्ल्याहा छोराहरू क्यास्टर र पोलुक्समा भर पर्छन्‌। (प्रेषि. २८:११) तर यी प्रचारकहरू भने यहोवामा भर पर्छन्‌ किनकि तिनीहरू यहोवाका उपासक हुन्‌। पावलले रोममा साक्षी दिनुपर्छ र सिजरसामु खडा हुनुपर्छ भनेर यहोवाले तिनलाई बताउनुभएको थियो।—प्रेषि. २३:११; २७:२४.

२, ३. पावल चढेको जहाज कुन बाटो हुँदै गयो? पावलले सुरुदेखि नै कसको साथ पाएका छन्‌?

सिसिलीको सुन्दर सहर सिराक्युसमा तीन दिन बसेपछि जहाज रेगियमतर्फ लाग्यो। सिराक्युस एथेन्स र रोमजत्तिकै महत्त्वपूर्ण सहर थियो। दक्षिणी बतास चलेकोले यात्रा सुरु गरेको दोस्रो दिनमै ३२० किलोमिटर पार गरेर जहाज इटालीको बन्दरगाह पटिओली (अहिलेको नेपल्सनजिकै) पुग्यो।—प्रेषि. २८:१२, १३.

पावल रोम पुग्नै लागेका थिए। त्यहाँ तिनी सिजर नेरोसामु खडा हुनुपर्छ। यात्राको सुरुदेखि नै पावलले “सबै सान्त्वनाका परमेश्‍वर”-को समर्थन पाएका थिए। (२ कोरि. १:३) तिनले त्यस्तो समर्थन पाइरहनेछन्‌ र मिसनरीको रूपमा तिनको जोस सेलाउनेछैन भनेर हामी अझै बुझ्नेछौँ।

“पावलले परमेश्‍वरलाई धन्यवाद दिए र हौसला पाए” (प्रेषित २८:१४, १५)

४, ५. (क) पटिओलीमा पावल र तिनका साथीहरूले कस्तो सत्कार पाए? पावलले किन धेरै स्वतन्त्रता पाए? (ख) झ्यालखानामा हुँदा पनि ख्रिष्टियनहरूले असल चालचलन देखाउँदा नतिजा कस्तो हुन्छ?

पटिओलीमा पावल र तिनका साथीहरूले ‘भाइहरू भेटे र तिनीहरूले उनीहरूसँग सात दिन बस्न आग्रह गरे।’ (प्रेषि. २८:१४) ख्रिष्टियनहरूले देखाउनुपर्ने अतिथि-सत्कारको कस्तो राम्रो उदाहरण! ती भाइबहिनीहरूले अवश्‍य पनि पावल र तिनका साथीहरूबाट धेरै आध्यात्मिक प्रोत्साहन पाए। तर सिपाहीहरूको निगरानीमा यात्रा गरिरहेका यी कैदीले कसरी यत्ति धेरै स्वतन्त्रता पाए? पावलले रोमी सिपाहीहरूको विश्‍वास पूरै जितेको हुनुपर्छ।

त्यसैगरि आज पनि झ्यालखाना र यातना शिविरमा भएका यहोवाका सेवकहरूको असल चालचलनको कारण तिनीहरूले विशेष छुटहरू पाएका छन्‌। उदाहरणको लागि, रोमानियामा डकैतीको कारण ७५ वर्ष जेल सजाय पाएका एक जना मानिसले बाइबल अध्ययन गर्न थाले र जीवनमा ठूलठूला परिवर्तन गरे। त्यसैले झ्यालखानाका अधिकारीहरूले तिनलाई प्रहरीको निरीक्षणविना नै झ्यालखानाको लागि किनमेल गर्न सहर पठाउँथे। सबैभन्दा महत्त्वपूर्ण कुरा त हाम्रो असल चालचलनले यहोवाको महिमा गर्छ।—१ पत्रु. २:१२.

६, ७. रोमका भाइहरूले कसरी असाधारण प्रेम देखाए?

पटिओलीबाट पावल र तिनका साथीहरू लगभग ५० किलोमिटर पर अप्पियन मार्गमा पर्ने क्यापुवातर्फ हिँड्‌दै गए। त्यहाँबाट रोम पुगिन्थ्यो। ठूलठूला लाभाका ब्लकहरू छापिएको यस प्रख्यात सडकबाट इटालीको गाउँघरको सुन्दर दृश्‍य देखिन्थ्यो अनि सडकको कुनै-कुनै ठाउँबाट भूमध्यसागर पनि देखिन्थ्यो। यो बाटो हुँदै मानिसहरू रोमबाट झन्डै ६० किलोमिटर पर पर्ने पन्टिन मार्सेस नामको सिमसारे इलाका र अप्पियसको बजार पनि जान सक्थे। लुकाले यस्तो लेखे: “हामी आउँदै गरेको खबर पाएपछि हामीलाई भेट्‌न त्यहाँका [रोमका] भाइहरू [५० किलोमिटर पर] तीन पाटी भन्‍ने ठाउँसम्म आए अनि कोही-कोहीचाहिँ अप्पियसको बजारसम्मै आइपुगे।” कस्तो असाधारण प्रेम!—प्रेषि. २८:१५.

थकाइलाग्दो यात्रापछि आराम गर्न अप्पियसको बजार उपयुक्‍त ठाउँ थिएन। रोमी कवि र व्यङ्‌ग्यकार होरेसले अप्पियस बजारलाई “नाविकहरू र पाटीपौवाका छुच्चा साहुहरूले भरिएको ठाउँ” भनेर वर्णन गरे। तिनले त्यहाँको “पानी अत्यन्तै दुर्गन्धित” थियो भनेर पनि लेखे। त्यसैले तिनले त्यहाँ खाना खान पनि इन्कार गरेका थिए। यस्ता असुविधाहरू भए पनि रोमबाट आएका भाइहरूले पावल र तिनका साथीहरूलाई त्यहाँ खुसीसाथ पर्खिरहे। तिनीहरू पावल र तिनका साथीहरूलाई यस यात्राको अन्तसम्मै साथ दिन चाहन्थे।

८. आफ्ना भाइहरूलाई “देखेपछि” पावलले किन परमेश्‍वरलाई धन्यवाद दिए?

आफ्ना भाइहरूलाई “देखेपछि पावलले परमेश्‍वरलाई धन्यवाद दिए र हौसला पाए” भनेर लुकाले बताए। (प्रेषि. २८:१५) हो, पावलले भाइहरूलाई देख्दा मात्र पनि बल र सान्त्वना पाए। तिनीहरूमध्ये कतिपयलाई पावलले राम्ररी चिनेका हुन सक्छन्‌। पावलले परमेश्‍वरलाई धन्यवाद दिनुको कारण के थियो? निःस्वार्थ प्रेम पवित्र शक्‍तिको फलको एउटा पक्ष हो भनेर तिनलाई थाह थियो। (गला. ५:२२) आज पनि पवित्र शक्‍तिले ख्रिष्टियनहरूलाई अरूका लागि त्यागहरू गर्न र खाँचोमा परेकाहरूलाई सान्त्वना दिन उत्प्रेरित गर्छ।—१ थिस्स. ५:११, १४.

९. हामी कसरी रोमका भाइहरूको जस्तै मनोभाव देखाउन सक्छौँ?

उदाहरणको लागि, पवित्र शक्‍तिले असल हृदय भएकाहरूलाई क्षेत्रीय निरीक्षकहरू, मिसनरीहरू र अन्य पूर्ण-समय सेवकहरूप्रति अतिथि-सत्कार देखाउन उत्प्रेरित गर्छ। तिनीहरूमध्ये थुप्रैले परमेश्‍वरको सेवामा अझ धेरै गर्न ठूलठूला त्यागहरू गरेका हुन्छन्‌। आफैलाई सोध्नुहोस्‌: ‘क्षेत्रीय निरीक्षकको भ्रमणको बेला म उहाँ र उहाँकी पत्नीलाई कसरी अतिथि-सत्कार देखाउन सक्छु? उहाँहरूलाई बास दिन, खानाको निम्तो दिन वा अरू केही गर्न सक्छु कि? सँगै साक्षीकार्यमा जान सक्छु कि?’ यसो गर्दा तपाईँले पनि थुप्रै आशिष्‌ पाउनुहुनेछ। पावल र तिनका सहयात्रीहरूबाट केही प्रोत्साहनजनक अनुभवहरू सुन्‍न पाउँदा रोमका भाइहरू कत्ति रमाए होलान्‌!—प्रेषि. १५:३, ४.

“जताततै मानिसहरू यस गुटविरुद्ध बोल्छन्‌” (प्रेषित २८:१६-२२)

१०. रोममा पावलको अवस्था कस्तो थियो? रोम पुगेपछि पावलले के गरे?

१० अन्ततः ती यात्रीहरू रोम पुगे। त्यहाँ “पावलले छुट्टै बस्ने अनुमति पाए अनि तिनलाई पहरा दिन एक जना सैनिक खटाइयो।” (प्रेषि. २८:१६) नजरबन्दमा परेका कैदीहरूलाई साधारणतया पहरेदारसँगै साङ्‌लाले बाँधेर राखिन्थ्यो। तर पावललाई राज्यको सुसमाचार सुनाउन कुनै पनि साङ्‌लाले रोक्न सक्दैनथ्यो। त्यसैले यात्राको थकाइ मेटाउन तीन दिन आराम गरेपछि पावलले रोममा भएका यहुदीहरूका गण्यमान्य मानिसहरूलाई बोलाए अनि आफ्नो परिचय र साक्षी दिए।

११, १२. यहुदीहरूसित कुरा गर्दा तिनीहरूको मनमा केही पूर्वाग्रह भए त्यसलाई हटाउन पावलले कस्तो प्रयास गरे?

११ पावलले यसो भने: “भाइहरू हो, मैले मानिसहरूविरुद्ध वा हाम्रा पुर्खाहरूको रीतिथितिविपरीत केही नगरे तापनि मलाई यरुसलेममा कैदी बनाएर रोमीहरूको हातमा सुम्पिइयो। केरकार गरेपछि उनीहरूले मलाई छोड्‌न चाहेका थिए किनकि मैले मृत्युदण्ड पाउन लायकको केही काम गरेको थिइनँ। तैपनि यहुदीहरूले आपत्ति जनाएको हुनाले सिजरलाई अपिल गर्न म बाध्य भएँ तर यसरी आफ्नै जातिलाई दोष लगाउन खोजेको त होइनँ।”—प्रेषि. २८:१७-१९.

१२ श्रोताहरूलाई “भाइहरू” भनेर सम्बोधन गरेर पावलले तिनीहरूलाई आफ्नै जस्तो महसुस गराउने र तिनीहरूको मनमा केही पूर्वाग्रह भए त्यसलाई हटाउने प्रयास गरे। (१ कोरि. ९:२०) साथै यहुदीहरूलाई दोष लगाउन नभई सिजरलाई अपिल गर्न आएको हुँ भनेर तिनले स्पष्ट पारे। तर पावलले गरेको अपिलबारे त्यहाँका यहुदीहरूलाई केही थाह थिएन। (प्रेषि. २८:२१) एउटा सन्दर्भ पुस्तकले रोमका यहुदीहरूले त्यसबारे थाह नपाउनुको कारणबारे यसो भन्छ: “पावल चढेको जहाज नै हिउँदपछि इटाली आइपुगेको पहिलो जहाज हुनुपर्छ। त्यसैले यरुसलेमका यहुदीहरूका प्रतिनिधि त्यहाँ आइपुगेका थिएनन्‌ र यस मुद्दाबारे पठाएको पत्र पनि आइपुगेको थिएन।”

१३, १४. पावलले परमेश्‍वरको राज्यतर्फ कसरी कुरा मोडे? हामी कसरी तिनको देखासिकी गर्न सक्छौँ?

१३ त्यसपछि पावलले आफ्ना यहुदी पाहुनाहरूको चासो जाग्ने गरी परमेश्‍वरको राज्यतर्फ कुरा मोडे। तिनले यसो भने: “त्यसैले तपाईँहरूसित भेट्‌न र कुरा गर्न पाऊँ भनेर मैले बिन्ती गरेको थिएँ किनकि इस्राएलको आशाको खातिर म साङ्‌लाले बाँधिएको छु।” (प्रेषि. २८:२०) त्यो आशा ख्रिष्टियन मण्डलीले घोषणा गरिरहेको मसीह र उहाँको राज्यसित सम्बन्धित थियो। यहुदी धर्मगुरुले यस्तो जवाफ दिए: “हामीलाई लाग्छ, तपाईँको विचार के छ, सो तपाईँबाटै सुन्‍नु उचित हुन्छ किनकि हामीलाई थाह भएसम्म जताततै मानिसहरू यस गुटविरुद्ध बोल्छन्‌।”—प्रेषि. २८:२२.

१४ हामी सुसमाचार सुनाउने मौका पाउँदा पावलको देखासिकी गर्दै मानिसहरूको चासो जगाउने प्रयास गर्न सक्छौँ। त्यसको लागि तिनीहरूलाई सोच्न लगाउने केही कुरा भन्‍न सक्छौँ वा प्रश्‍न सोध्न सक्छौँ। यस सम्बन्धमा ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌, हाम्रो ख्रिष्टियन जीवन र सेवा अभ्यास पुस्तिका अनि पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌-जस्ता प्रकाशनहरूमा हामी अत्यन्तै राम्रा सुझावहरू पाउँछौँ। के तपाईँ यी प्रकाशनहरूको सदुपयोग गर्दै हुनुहुन्छ?

पावलले ‘राम्ररी साक्षी दिएर’ हाम्रो लागि उदाहरण बसाले (प्रेषित २८:२३-२९)

१५. पावलले साक्षी दिएको तरिकाबाट हामी कुन चार वटा कुरा सिक्न सक्छौँ?

१५ पावलले त्यहाँका यहुदीहरूलाई फेरि भेट्‌ने प्रबन्ध मिलाए। त्यस दिन के भयो? “तिनको डेरामा पहिलेभन्दा धेरै जना भेला भए। तिनले उनीहरूलाई परमेश्‍वरको राज्यको विषयमा राम्ररी साक्षी दिए अनि मोसाको व्यवस्था र भविष्यवक्‍ताहरूको पुस्तकबाट येसुको विषयमा चित्तबुझ्दो तर्क दिएर उनीहरूलाई मनाए। तिनले बिहानदेखि बेलुकीसम्मै उनीहरूसित कुरा गरे।” (प्रेषि. २८:२३) पावलले साक्षी दिएको तरिकाबाट हामी चार वटा कुरा सिक्न सक्छौँ। पहिलो, तिनी परमेश्‍वरको राज्यमा केन्द्रित भए। दोस्रो, तिनले चित्तबुझ्दो तर्क गरेर श्रोतालाई ‘मनाउने’ प्रयास गरे। तेस्रो, तिनले धर्मशास्त्रबाटै तर्क गरे। चौथो, “बिहानदेखि बेलुकीसम्मै” साक्षी दिएर तिनले निःस्वार्थ मनोभाव देखाए। हाम्रो लागि कस्तो राम्रो उदाहरण! नतिजा कस्तो भयो? “तिनले भनेका कुराहरूमा कतिपयले विश्‍वास गर्न थाले” भने कतिले विश्‍वास गरेनन्‌। आपसमा कुरा बाझिएकोले मानिसहरू “त्यहाँबाट जान थाले” भनी लुकाले बताए।—प्रेषि. २८:२४, २५क.

१६-१८. रोमका यहुदीहरूले सुसमाचार नस्विकार्दा पावल किन छक्क परेनन्‌? मानिसहरूले हाम्रो सन्देश सुन्‍न इन्कार गर्दा हामीले के गर्नुपर्छ?

१६ त्यहाँका यहुदीहरूको प्रतिक्रिया देखेर पावल छक्क परेनन्‌। किनभने बाइबलमा यस्तो हुनेछ भनेर भविष्यवाणी गरिएको थियो र पहिले पनि तिनी आफैले त्यस्तो अनुभव गरिसकेका थिए। (प्रेषि. १३:४२-४७; १८:५, ६; १९:८, ९) त्यसैले पावलले तिनको कुरा सुन्‍न नचाहेका र त्यहाँबाट हिँड्‌न सुर कसेका मानिसहरूलाई यसो भने: “पवित्र शक्‍तिले भविष्यवक्‍ता यसैयामार्फत तपाईँहरूका पुर्खाहरूलाई यसरी ठीकै भनेको थियो, ‘यी मानिसहरूकहाँ गएर भन: “सुनेर पनि तिमीहरूले कुनै हालतमा बुझ्नेछैनौ अनि हेरेर पनि तिमीहरूले कुनै हालतमा देख्नेछैनौ। किनकि यी मानिसहरूको हृदय बोधो भएको छ।”’” (प्रेषि. २८:२५ख-२७) मानिसहरूको हृदय बोधो भएकोले राज्य सन्देश तिनीहरूको हृदयसम्म पुग्न सकेन। कस्तो दुःखलाग्दो अवस्था!

१७ अन्तमा पावलले ती यहुदीहरूले राज्य सन्देश नसुने पनि “अन्यजातिहरू[ले] . . . पक्कै सुन्‍नेछन्‌” भने। (प्रेषि. २८:२८; भज. ६७:२; यसै. ११:१०) तिनी आफैले अन्यजातिका थुप्रै मानिसले राज्य सन्देश स्विकारेको देखेको हुनाले निर्धक्क भई त्यसो भन्‍न सके।—प्रेषि. १३:४८; १४:२७.

१८ मानिसहरूले सुसमाचार नस्विकार्दा पावल दुःखी भएनन्‌; हामी पनि दुःखी नहोऔँ। किनकि जीवनतर्फ लैजाने बाटो थोरैले मात्र भेट्टाउनेछन्‌ भनेर हामीलाई थाह छ। (मत्ति ७:१३, १४) इमानदार मानिसहरूले साँचो उपासनाको लागि अडान लिँदा हामी रमाऔँ र तिनीहरूलाई सहर्ष स्विकारौँ।—लुका १५:७.

“परमेश्‍वरको राज्यको विषयमा प्रचार गर्थे” (प्रेषित २८:३०, ३१)

१९. नजरबन्दमा छँदा पावलले के गरे?

१९ लुकाले प्रेषितको विवरण एकदमै सकारात्मक र मायालु तरिकामा टुङ्‌ग्याएका छन्‌। उनले यस्तो लेखे: “[पावलले] पूरा दुई वर्ष आफ्नै डेरामा बिताए। तिनी आफूकहाँ आउनेजति सबैलाई न्यानो स्वागत गर्थे अनि उनीहरूलाई परमेश्‍वरको राज्यको विषयमा प्रचार गर्थे र निर्धक्क भई साहसका साथ प्रभु येसु ख्रिष्टको विषयमा विनारोकटोक सिकाउँथे।” (प्रेषि. २८:३०, ३१) अतिथि-सत्कार, विश्‍वास र जोसको कस्तो उत्कृष्ट उदाहरण!

२०, २१. पावलले रोममा गरेको साक्षीकार्यबाट क-कसले लाभ उठाए?

२० पावलले न्यानो स्वागत गरेको एक जना व्यक्‍ति ओनेसिमस थिए। उनी कलस्सीबाट भागेका दास थिए। पावलले उनलाई ख्रिष्टियन बन्‍न मदत गरे। पछि उनी पावलको एक जना “विश्‍वासयोग्य र प्रिय भाइ” बने। वास्तवमा पावलले आफू ओनेसिमसको “बुबाजस्तै बनेको थिएँ” भनेर बताए। (कल. ४:९; फिले. १०-१२) पावलले ओनेसिमसबाट कत्ति प्रोत्साहन पाए होलान्‌! a

२१ अरूले पनि पावलको राम्रो उदाहरणबाट लाभ उठाए। फिलिप्पीका ख्रिष्टियनहरूलाई तिनले यस्तो लेखे: “म अहिले जस्तो अवस्थामा छु, त्यसले सुसमाचार फैलाउन सहयोग नै पुऱ्‍याएको छ। ख्रिष्टको खातिर म कैदमा परेको हुँ भन्‍ने कुरा सिजरको अङ्‌गरक्षक दलका सबैलाई र बाँकी अरूलाई पनि थाह भइसकेको छ। अनि अहिले धेरैजसो भाइहरू म कैदमा परेको कारण अझ आँटिला भएका छन्‌ र परमेश्‍वरको वचनबारे निर्धक्क भई बोल्न पहिलेभन्दा झन्‌ धेरै साहस देखाउँदै छन्‌।”—फिलि. १:१२-१४.

२२. रोममा कैदी हुँदा पावलले कसरी आफ्नो समयको सदुपयोग गरे?

२२ रोममा कैदी हुँदा पावलले समयको सदुपयोग गर्दै महत्त्वपूर्ण पत्रहरू लेखे र ती पत्रहरू अहिले ख्रिष्टियन ग्रीक धर्मशास्त्रको भाग बनेका छन्‌। b ती पत्रहरूले प्रथम शताब्दीका ख्रिष्टियनहरूलाई फाइदा पुऱ्‍याएको थियो। पावलका पत्रहरूबाट आज हामीले पनि लाभ उठाउन सक्छौँ किनभने त्यसमा भएका सल्लाहहरू आज पनि उत्तिकै व्यावहारिक छन्‌।—२ तिमो. ३:१६, १७.

२३, २४. आधुनिक समयमा झ्यालखानामा परेका ख्रिष्टियनहरूले कसरी पावलले जस्तै सकारात्मक मनोवृत्ति कायम राखेका छन्‌?

२३ प्रेषितको विवरणमा पावल कैदबाट छुटेको समय उल्लेख गरिएको छैन तर तिनले लगभग चार वर्ष कैदमा बिताइसकेका थिए। तिनी सिजरियामा दुई वर्ष र रोममा दुई वर्ष कैदमा परेका थिए। c (प्रेषि. २३:३५; २४:२७) यस अवधिभरि नै पावलले सकारात्मक मनोवृत्ति कायम राखे र परमेश्‍वरको सेवामा सक्दो गरे। आज पनि यहोवाका थुप्रै सेवकलाई तिनीहरूको विश्‍वासको कारण झूटो आरोप लगाएर जेलमा हालिन्छ। तर तिनीहरूले आफ्नो आनन्द कायम राखेका छन्‌ र निरन्तर साक्षीकार्यमा लागिरहेका छन्‌। ख्रिष्टियन तटस्थताको कारण जेलमा परेका स्पेनका अडोल्फोलाई विचार गर्नुहोस्‌। एक जना अफिसरले यसो भने, “तिमीलाई देखेर हामीलाई अचम्म लागिरहेको छ। हामीले तिम्रो जीवन एकदम कष्टकर बनाइदिएका छौँ। तर हामी तिमीलाई जत्ति धेरै दुःख दिन्छौँ, तिमी त्यत्ति नै खुसी देखिन्छौ र दयालु वचन बोल्छौ।”

२४ समय बित्दै जाँदा जेलका अफिसरहरूले अडोल्फोलाई यत्ति विश्‍वास गर्न थाले कि तिनको कोठरीको ढोका खुल्लै छोडिन्थ्यो। सिपाहीहरू बाइबलबारे प्रश्‍नहरू सोध्न तिनीकहाँ आउँथे। एक जना गार्ड त बाइबल पढ्‌न अडोल्फोको कोठरीमै आउँथे र अडोल्फोचाहिँ तिनले पढुन्जेल तिनलाई पहरा दिन्थे। सोच्नुहोस्‌ त, कैदीले पो गार्डलाई “पहरा” दिइरहेको छ! त्यस्ता विश्‍वासी साक्षीहरूको राम्रो उदाहरणले हामीलाई पनि गाह्रो परिस्थितिमा समेत “परमेश्‍वरको वचनबारे निर्धक्क भई बोल्न पहिलेभन्दा झन्‌ धेरै साहस” देओस्‌।

२५, २६. तीस वर्ष पनि नबित्दै पावलले कुन भविष्यवाणी पूरा भएको देखे? अहिले पनि यो भविष्यवाणी कसरी पूरा भइरहेको छ?

२५ नजरबन्दमा परेका ख्रिष्टका यी प्रेषितले आफूकहाँ आएका सबैलाई “परमेश्‍वरको राज्यको विषयमा प्रचार गर्थे।” जीवन्त घटनाहरूले भरिएको प्रेषितको पुस्तकको कस्तो मन छुने समापन! पहिलो अध्यायमा हामीले येसुले आफ्ना अनुयायीहरूलाई सुम्पनुभएको यस जिम्मेवारीबारे पढेका थियौँ: “पवित्र शक्‍ति तिमीहरूमाथि आएपछि तिमीहरूले बल पाउनेछौ अनि यरुसलेमका साथै सारा यहुदिया, सामरिया अनि पृथ्वीको सबैभन्दा टाढा पर्ने इलाकामा तिमीहरूले मेरो साक्षी दिनेछौ।” (प्रेषि. १:८) तीस वर्ष पनि नबित्दै राज्य सन्देश “आकाशमुनि भएका सबै मानिसमाझ प्रचार” भइसकेको थियो। d (कल. १:२३) परमेश्‍वरको पवित्र शक्‍तिले काम गरेको कस्तो सशक्‍त प्रमाण!—जक. ४:६.

२६ आज पनि परमेश्‍वरको पवित्र शक्‍तिले नै पृथ्वीमा बाँकी रहेका ख्रिष्टका भाइहरू र “अरू भेडा”-लाई २४० भन्दा धेरै मुलुकमा “परमेश्‍वरको राज्यको विषयमा राम्ररी साक्षी” दिन बल दिन्छ। (युह. १०:१६; प्रेषि. २८:२३) के तपाईँ यस काममा पूरापूर भाग लिँदै हुनुहुन्छ?

a पावल ओनेसिमसलाई आफ्नो साथमा राख्न चाहन्थे। तर यो रोमी कानुनको विपरीत हुने थियो अनि ओनेसिमसको मालिक अर्थात्‌ फिलेमोनको अधिकारको पनि हनन हुने थियो। त्यसैले ओनेसिमस आफ्नो मालिक फिलेमोनकहाँ नै फर्के र पावलले उनको हातमा फिलेमोनलाई पत्र पठाए। उक्‍त पत्रमा पावलले फिलेमोनलाई आफ्नो दासलाई आध्यात्मिक भाइलाई जस्तै माया देखाउन प्रोत्साहन दिए।—फिले. १३-१९.

b पृष्ठ २१२ मा भएको “ पावलले पहिलो चोटि रोममा कैदी हुँदा लेखेका पाँच पत्र” शीर्षकको पेटी हेर्नुहोस्‌।

c पृष्ठ २१४ मा भएको “ इस्वी संवत्‌ ६१ पछि पावलको जीवन” शीर्षकको पेटी हेर्नुहोस्‌।