सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय २४

“साहसी होऊ!”

“साहसी होऊ!”

यहुदीहरू पावलको हत्या गर्ने षड्यन्त्र रच्छन्‌; तिनी फेलिक्ससामु आफ्नो सफाइ दिन्छन्‌

प्रेषित २३:११–२४:२७ मा आधारित

१, २. यरुसलेममा आफूमाथि सतावट आइपरेको देखेर पावल किन छक्क परेका छैनन्‌?

 आक्रोशित भीडबाट जोगाइएका पावल फेरि थुनामा पर्छन्‌। यरुसलेममा आफूमाथि सतावट आइपरेको देखेर यी जोसिला प्रेषित छक्क परेका छैनन्‌। यस सहरमा “कैद र सङ्‌कष्टले” बाटो ढुकिरहेको छ भनेर तिनलाई भनिएको थियो। (प्रेषि. २०:२२, २३) के-कस्तो सङ्‌कष्ट भोग्नुपर्छ भनेर ठ्याक्कै थाह नभए तापनि येसुको नामको खातिर आफूले दुःख भोगिरहनै पर्छ भनेर पावललाई थाह छ।—प्रेषि. ९:१६.

पावललाई बाँधेर “अन्यजातिका मानिसहरूको हातमा” सुम्पिइनेछ भनेर ख्रिष्टियन भविष्यवक्‍ताहरूले पनि सजग गराएका थिए। (प्रेषि. २१:४, १०, ११) हालै यहुदी भीडले तिनलाई मार्न खोजेको थियो। त्यसको केही समयपछि तिनको कुरालाई लिएर यहुदी न्यायपरिषद्‌का सदस्यहरूबीच ठूलो मतभेद हुँदा तिनीहरूले तिनलाई “लछारपछार” पार्ने हुन्‌ कि जस्तो देखिएको थियो। अहिले प्रेषित पावल रोमी सिपाहीहरूको हिरासतमा छन्‌। तिनले अझै पनि मुद्दा खेपिरहेका छन्‌ र आरोपहरूको सामना गरिरहेका छन्‌। (प्रेषि. २१:३१; २३:१०) यस्तो अवस्थामा प्रेषित पावललाई पक्कै प्रोत्साहन चाहिन्छ।

३. साक्षीकार्यमा लागिरहन हामी कहाँबाट प्रोत्साहन पाउँछौँ?

यस अन्तको समयमा “ख्रिष्ट येसुको चेलाको नाताले परमेश्‍वरको भक्‍ति गर्दै जीवन बिताउन चाहनेहरूजति सबैमाथि खेदो आइपर्नेछ” भनेर हामीलाई थाह छ। (२ तिमो. ३:१२) साक्षीकार्यमा निरन्तर लागिरहन हामीलाई पनि समय-समयमा प्रोत्साहन चाहिन्छ। “विश्‍वासी र बुद्धिमान्‌ दास”-मार्फत प्रबन्ध गरिएका प्रकाशनहरू र सभाहरूबाट हामी समय सुहाउँदो प्रोत्साहन पाउँछौँ। त्यसको लागि हामी कत्ति आभारी छौँ! (मत्ति २४:४५) सुसमाचारको कुनै पनि शत्रु सफल हुनेछैन भनेर यहोवाले हामीलाई आश्‍वासन दिनुभएको छ। तिनीहरूले न त सबैलाई निमिट्यान्‍न पार्न सक्नेछन्‌ न साक्षीकार्यलाई बन्द नै गर्न सक्नेछन्‌। (यसै. ५४:१७; यर्मि. १:१९) तर प्रेषित पावलबारे चाहिँ के भन्‍न सकिन्छ? विरोधको बाबजुद राम्ररी साक्षी दिइरहन के तिनले प्रोत्साहन पाए? पाए भने कस्तो प्रोत्साहन पाए? त्यसपछि तिनले के गरे?

“कसम खाएर षड्यन्त्र रच्नेहरू” विफल हुन्छन्‌ (प्रेषित २३:११-३४)

४, ५. पावलले कस्तो प्रोत्साहन पाए? तिनले किन समयमै प्रोत्साहन पाए भन्‍न सकिन्छ?

यहुदी न्यायपरिषद्‌बाट जोगाइएपछि राती प्रेषित पावलले चाहिएकै बेला प्रोत्साहन पाए। बाइबल विवरण यसो भन्छ: “प्रभु तिनको छेउमा उभिनुभयो र भन्‍नुभयो: ‘साहसी होऊ! किनकि तिमीले मेरो विषयमा यरुसलेममा राम्ररी साक्षी दिइरहेका छौ, अब रोममा पनि तिमीले त्यस्तै साक्षी दिनै पर्छ।’” (प्रेषि. २३:११) येसुबाट यस्तो प्रोत्साहनजनक कुरा सुनेपछि छुटकारा पाउने कुरामा पावल ढुक्क भए। आफू रोम पुग्ने र त्यहाँ येसुबारे साक्षी दिन पाउने कुरामा तिनी विश्‍वस्त थिए।

“४० जनाभन्दा धेरै मानिस . . . पावललाई मार्न ढुकिरहेका छन्‌।”​—प्रेषित २३:२१

पावलले ठीक समयमा प्रोत्साहन पाए। किनभने त्यसको भोलिपल्ट नै ४० जनाभन्दा धेरै यहुदी पुरुषले “पावलविरुद्ध षड्यन्त्र रचे र तिनलाई नमारेसम्म केही खानपिन नगर्ने कसम” खाए। यसबाट तिनीहरूले प्रेषित पावललाई जसरी भए पनि मार्ने अठोट गरेका थिए भनेर स्पष्ट हुन्छ। यस षड्यन्त्रमा सफल भइएन भने आफूमाथि सराप आइपर्नेछ भन्‍ने तिनीहरूलाई लागेको थियो। (प्रेषि. २३:१२-१५) त्यसैले तिनीहरूले केही कुरा अझै पक्का गर्नुपर्ने बहाना बनाएर पावललाई फेरि न्यायपरिषद्‌मा ल्याउने अनि षड्यन्त्रकारीहरूचाहिँ बाटो ढुकेर बस्ने र पावललाई बाटोमै सिद्ध्याउने षड्यन्त्र रचे। तिनीहरूले यो षड्यन्त्र मुख्य पुजारीहरू र धर्मगुरुहरूको अनुमतिमा रचेका थिए।

६. पावललाई मार्ने षड्यन्त्रको कसरी पर्दाफास भयो? आजका जवानहरूले कसरी ती ठिटाको अनुकरण गर्न सक्छन्‌?

तर पावलका भान्जाले यस षड्यन्त्रबारे थाह पाए र तिनलाई खबर गरिदिए। पावलले ती ठिटालाई यो कुरा रोमी सेनापति क्लौडियस लायसिअसलाई रिपोर्ट गरिदिन अह्राए। (प्रेषि. २३:१६-२२) आजका जवानहरूले नाम नखुलाइएका ती ठिटाको अनुकरण गर्न सक्छन्‌। तिनीहरूले साहसी भई आफ्नो भन्दा परमेश्‍वरका जनहरूको हितलाई प्राथमिकता दिन सक्छन्‌ अनि राज्य गतिविधि अघि बढाउन वफादार भई जुनसुकै काम गर्न तयार हुन सक्छन्‌। यस्तो मनोवृत्ति देखाउने जवानहरूलाई यहोवा माया गर्नुहुन्छ।

७, ८. पावलको सुरक्षाको लागि क्लौडियस लायसिअसले के-कस्तो प्रबन्ध मिलाए?

पावललाई मार्ने षड्यन्त्र थाह पाउनेबित्तिकै १,००० जना सिपाहीका कप्तान क्लौडियस लायसिअसले त्यसै रात सिपाही, भालाधारी र घोडचढी गरी ४७० जना पुरुषलाई तयार पारे र पावललाई यरुसलेमबाट सिजरियामा सुरक्षितसाथ पुऱ्‍याउने आदेश दिए। त्यहाँ पुगेपछि पावललाई राज्यपाल फेलिक्सकहाँ सुम्पिइयो। a रोमको अधीनमा रहेको यहुदियाको राजधानी सिजरियामा मुख्यगरि अन्यजातिका मानिसहरू बसोबास गर्ने भए तापनि त्यहाँ यहुदीहरू पनि बस्थे। यरुसलेमका मानिसहरू अन्य धर्मका मानिसहरूलाई देखिसहँदैनथे र हुलदङ्‌गा मच्चाइरहन्थे। तर सिजरिया सहरको अवस्थाचाहिँ यरुसलेमको भन्दा ठीक विपरीत थियो। यहुदिया प्रान्तको रोमी सेनाको मुख्यालय पनि सिजरियामा नै थियो।

रोमी कानुनअनुसारै लायसिअसले पावलको मुद्दाबारे फेलिक्सलाई पत्र लेखे। यहुदीहरूले पावललाई ‘मार्न लागेको’ तर तिनी रोमी नागरिक रहेछन्‌ भन्‍ने कुरा थाह पाउनेबित्तिकै तिनलाई बचाएको कुरा लायसिअसले आफ्नो पत्रमा उल्लेख गरे। पावलले “मृत्युदण्ड वा जेल सजाय पाउन लायकको काम” नगरेको तर तिनीविरुद्ध षड्यन्त्र भएकोले मात्र फेलिक्सकहाँ पठाएको कुरा तिनले लेखे। साथै तिनीविरुद्ध लगाइएको आरोप सुनेर फेलिक्सले त्यसैअनुसार न्याय गर्न सकून्‌ भनेर पनि तिनले पत्रमा बताए।—प्रेषि. २३:२५-३०.

९. (क) रोमी नागरिकको रूपमा पावलको कानुनी अधिकार कसरी हनन भयो? (ख) देशले आफ्ना नागरिकहरूलाई दिने अधिकारको हामी कसरी सदुपयोग गर्न सक्छौँ?

के लायसिअसले आफ्नो पत्रमा सबै सत्यतथ्य लेखेका थिए? अहँ, थिएनन्‌। तिनले राज्यपालसामु आफूलाई राम्रो देखाउन खोजिरहेको देखिन्छ। पावल रोमी नागरिक रहेछन्‌ भनेर थाह पाएकोले लायसिअस तिनलाई बचाउन अघि सरेका थिएनन्‌। यसबाहेक पावललाई ‘दुई वटा साङ्‌लाले बाँध्न लगाएको’ र “कोर्रा लगाएर केरकार गर्न आदेश” दिएको कुरा तिनले उल्लेख गरेनन्‌। (प्रेषि. २१:३०-३४; २२:२४-२९) तिनले रोमी नागरिक पावलको अधिकार हनन गरिसकेका थिए। आज सैतानले धार्मिक कट्टरपन्थीहरूको सहारा लिएर सतावटको आगोमा घिउ थप्छ, जसले गर्दा हामी कानुनी अधिकारहरूबाट वञ्चित हुन सक्छौँ। तर पावलले जस्तै हामी पनि देशले आफ्ना नागरिकहरूलाई दिने अधिकारको सदुपयोग गर्दै कानुनी रूपमा सुरक्षा पाउने कोसिस गर्छौँ।

“म खुसीसाथ तपाईँसामु आफ्नो सफाइ पेस गर्छु” (प्रेषित २३:३५–२४:२१)

१०. पावललाई कस्ता गम्भीर आरोपहरू लगाइयो?

१० पावललाई आरोप लगाउनेहरू यरुसलेमबाट सिजरिया नआइपुगुन्जेल तिनलाई “हेरोदको महलमा लगी पहरा दिएर” राखियो। (प्रेषि. २३:३५) पाँच दिनपछि प्रधानपुजारी हननिया, तर्तुल्लस नाम गरेका अधिवक्‍ता र एल्डरहरूको एक समूह आइपुगे। सुरुमा तर्तुल्लसले यहुदीहरूको खातिर फेलिक्सले गरेका कामको प्रशंसा गरे। यस्तो प्रशंसा गरेर उनले चिप्लो घसिरहेका थिए र फेलिक्सको अनुग्रह पाउन खोजिरहेका थिए। b त्यसपछि मुख्य विषयतिर लाग्दै तर्तुल्लसले भने: “[पावल] समस्याको जड हो; यसले पृथ्वीभरि रहेका यहुदीहरूलाई राजद्रोह गर्न उक्साउँदै हिँडेको हामीले पायौँ। अनि यो नासरी गुटको नाइके हो। यसले मन्दिरलाई पनि बिटुलो पार्ने दुष्प्रयास गऱ्‍यो। त्यसकारण हामीले यसलाई पक्र्‌यौँ।” तर्तुल्लसले “भनेको कुरामा सहमति जनाउँदै यहुदीहरू पनि पावलविरुद्ध बोल्न थाले।” (प्रेषि. २४:५, ६, ९) यसरी उनले पावललाई देशद्रोह गर्न उक्साएको, खतरनाक गुटको नाइके भएको र मन्दिरलाई बिटुलो पारेको गम्भीर आरोपहरू लगाए। यसको सजाय मृत्युदण्ड हुन सक्थ्यो।

११, १२. पावलले आफूमाथि लगाइएका आरोपहरूको कसरी खण्डन गरे?

११ अब पावललाई बोल्ने मौका दिइयो। तिनले आफ्नो कुरा यसरी सुरु गरे: “म खुसीसाथ तपाईँसामु आफ्नो सफाइ पेस गर्छु।” तिनले आफूमाथि लगाइएका आरोपहरू स्विकारेनन्‌। तिनले मन्दिरलाई बिटुलो पारेका थिएनन्‌ न त तिनले कसैलाई देशद्रोह गर्न नै उक्साएका थिए। वास्तवमा तिनी “धेरै वर्षपछि” यरुसलेम आएका थिए अनि अनिकाल र सतावटको कारण गरिबीको चपेटामा परेका ख्रिष्टियनहरूको लागि “दान” ल्याएका थिए। पावलले “शुद्धीकरणको विधिअनुसार शुद्ध भइसकेपछि” मात्र मन्दिरमा प्रवेश गरेको दाबी गरे। तिनले “परमेश्‍वर र मानिसहरूसामु आफ्नो अन्तस्करण सफा राखिरहन हरबखत प्रयास गर्दै छु” भनेर पनि स्पष्ट बताए।—प्रेषि. २४:१०-१३, १६-१८.

१२ तर पावलले “जुन मार्गलाई यिनीहरू गुट भन्छन्‌, त्यहीबमोजिम मेरा पुर्खाहरूका परमेश्‍वरलाई म पवित्र सेवा चढाउँदै छु” भनेर चाहिँ स्विकारे। “मोसाको व्यवस्थामा दिइएका र भविष्यवक्‍ताहरूको पुस्तकमा लेखिएका सबै कुरामा म विश्‍वास गर्छु” भनेर तिनले जोड दिए। तिनका आरोपकहरूले जस्तै तिनले “धर्मी र अधर्मी दुवै फेरि जीवित हुनेछन्‌” भनेर आशा राखेको कुरा पनि बताए। त्यसपछि तिनले आरोपकहरूलाई यस्तो चुनौती दिए: “म न्यायपरिषद्‌सामु खडा हुँदा ममा के दोष भेट्टाइयो, यहाँ भएकाहरूले नै भनून्‌। ‘मरिसकेका मानिसहरू फेरि जीवित हुनेछन्‌ भनेर मैले विश्‍वास गरेको हुनाले आज मेरो न्याय हुँदै छ!’ भनी यिनीहरूसामु खडा भएर मैले ठूलो स्वरमा भनेको थिएँ।”—प्रेषि. २४:१४, १५, २०, २१.

१३-१५. अख्तियारवालाहरूसामु साहसी भई साक्षी दिने सन्दर्भमा हामी पावलबाट के सिक्न सक्छौँ?

१३ हामीलाई आफ्नो विश्‍वासको खातिर सरकारी अख्तियारवालाहरूसामु उभ्याइयो र हिंसा मच्चाएको, देशद्रोह गरेको वा “खतरनाक गुटको” सदस्य भएको आरोप लगाइयो भने हामीले के गर्नुपर्छ भनेर पावलबाट सिक्न सक्छौँ। तिनले तर्तुल्लसले जस्तै राज्यपाललाई रिझाउन चिप्लो घसेनन्‌। बरु तिनी शान्त रहे र सबैलाई आदर देखाए। तिनले कौशलतासाथ र स्पष्टसित सबै सत्यतथ्य बताए। मन्दिरलाई बिटुलो पारेको आरोप लगाएका “एसिया प्रान्तका केही यहुदी” त्यहाँ उपस्थित नभएको तर कानुनअनुसार तिनीहरूको आरोप तिनीहरूकै मुखबाट सुन्‍नुपर्ने कुरा पावलले बताए।—प्रेषि. २४:१८, १९.

१४ सबैभन्दा महत्त्वपूर्ण कुरा त, पावल आफ्नो विश्‍वासबारे साक्षी दिनदेखि पछि हटेनन्‌। तिनले मृतकहरूलाई जीवित पारिने कुरामाथिको आफ्नो विश्‍वासबारे फेरि साहसका साथ बताए। तिनलाई यहुदी न्यायपरिषद्‌सामु उभ्याइएको बेला यही विषयमा त्यहाँ खैलाबैला मच्चिएको थियो। (प्रेषि. २३:६-१०) पावलले आफ्नो सफाइ दिँदै फेरि जीवित हुने आशामा जोड दिए। किन? किनभने पावलले येसुबारे र उहाँलाई मृत्युबाट ब्युँताइएको कुराबारे साक्षी दिइरहेका थिए। विरोधीहरू यस कुरालाई स्विकार्न पटक्कै तयार थिएनन्‌। (प्रेषि. २६:६-८, २२, २३) हो, फेरि जीवित हुने कुरामाथि, विशेषगरि येसुमाथि र उहाँ फेरि जीवित हुनुभएको कुरामाथि पावलले गरेको विश्‍वास नै विवादको मूल विषय थियो।

१५ पावलले जस्तै हामी पनि साहसी भई साक्षी दिन सक्छौँ र येसुले आफ्ना चेलाहरूलाई भन्‍नुभएको यस कुराबाट बल पाउन सक्छौँ: “तिमीहरू मेरा चेला भएकाले सबै मानिसले तिमीहरूलाई घृणा गर्नेछन्‌; तर जसले अन्तसम्म सहन्छ, उसले उद्धार पाउनेछ।” हामीले के बोल्ने भनेर चिन्ता गर्नुपर्दैन। येसुले यस्तो आश्‍वासन दिनुभएको छ: “उनीहरूले तिमीहरूलाई पक्रेर अदालत लैजाँदै गर्दा के बोल्ने भनी पहिल्यै चिन्ता नगर। तिमीहरू त्यही बोल, जे तिमीहरूलाई त्यतिखेरै थाह दिइनेछ। किनकि तिमीहरू आफ्नै भरमा होइन तर पवित्र शक्‍तिको मदत पाएर बोल्नेछौ।”—मर्कु. १३:९-१३.

“फेलिक्स डराए” (प्रेषित २४:२२-२७)

१६, १७. (क) पावलको पुर्पक्षको बेला फेलिक्सले के भने? (ख) फेलिक्स किन डराएका हुन सक्छन्‌ र उनी पावललाई किन घरीघरी बोलाउँथे?

१६ ख्रिष्टियन विश्‍वासबारे राज्यपाल फेलिक्सले पहिलो पटक सुनिरहेका त थिएनन्‌। विवरण यसो भन्छ: “यस ‘मार्ग’-बारे [त्यतिबेला ख्रिष्टियनहरूलाई बुझाउन यही शब्द चलाइन्थ्यो] वास्तविक कुरा के हो, त्यो राम्ररी थाह भएकोले फेलिक्सले यसो भन्दै तिनीहरूलाई पन्छ्याउन थाले: ‘सेनापति लायसिअस तल आएपछि म तिमीहरूको मुद्दा छिनोफानो गरिदिउँला।’ अनि पावललाई पहरा दिएर राखे तापनि ज्यादै कडिकडाउ नगर्नू अनि तिनका मानिसहरूमध्ये कसैले तिनको सेवा-सुसार गर्न चाहे भने अनुमति दिनू भनेर उनले सैनिक अफिसरलाई आदेश दिए।”—प्रेषि. २४:२२, २३.

१७ केही दिनपछि फेलिक्स आफ्नी पत्नी द्रूसिल्लासित आए, जो यहुदी थिइन्‌। फेलिक्सले पावललाई बोलाउन लगाए अनि पावलले “ख्रिष्ट येसुमाथि विश्‍वास गर्ने विषयमा बताउँदा उनले सुने।” (प्रेषि. २४:२४) तर जब पावलले “धार्मिकता, आत्मसंयम र आउँदै गरेको न्यायको विषयमा बताए, तब फेलिक्स डराए।” आफूले बिताएको खराब जीवनशैलीको कारण फेलिक्सको अन्तस्करणले तिनलाई घोचेको हुन सक्छ। त्यसैले तिनले पावललाई यसो भनेर फर्काइदिए: “अहिलेलाई तिमी जाऊ, पछि मौका मिल्यो भने फेरि तिमीलाई बोलाउन पठाउँला।” फेलिक्स पावललाई घरीघरी बोलाउँथे तर बाइबल सत्य सिक्न त होइन, केही पैसा पाइहाल्छु कि भन्‍ने आशामा।—प्रेषि. २४:२५, २६.

१८. पावलले फेलिक्स र तिनकी पत्नीलाई किन “धार्मिकता, आत्मसंयम र आउँदै गरेको न्यायको विषयमा बताए”?

१८ पावलले किन फेलिक्स र तिनकी पत्नीलाई “धार्मिकता, आत्मसंयम र आउँदै गरेको न्यायको विषयमा बताए”? याद गर्नुहोस्‌, तिनीहरू “ख्रिष्ट येसुमाथि विश्‍वास” गर्न के गर्नुपर्छ भनेर बुझ्न चाहन्थे। पावललाई तिनीहरूको अनैतिक जीवनशैलीबारे अनि तिनीहरूले अरूसित गर्ने क्रूर र अन्यायी व्यवहारबारे राम्ररी थाह थियो। त्यसकारण येसुको चेला हुन के गर्नुपर्छ भनेर पावलले स्पष्टसित बताइदिए। पावलले फेलिक्स र तिनकी पत्नीले बिताइरहेको जीवनशैली र परमेश्‍वरको स्तरबमोजिमको असल कामबीच स्पष्ट भिन्‍नता देखाइदिए। पावलको यस कुराबाट तिनीहरूले सबै मानिस आफ्नो सोचाइ, बोलीवचन र कामको लागि यहोवाप्रति जवाफदेही छन्‌ भनेर स्पष्ट बुझ्नुपर्थ्यो। साथै तिनीहरूले कसरी पावलको न्याय गर्नेछन्‌ भन्‍ने कुरा होइन तर परमेश्‍वरले कसरी तिनीहरूको न्याय गर्नुहुनेछ भन्‍ने कुराचाहिँ महत्त्वपूर्ण हो भनेर पनि स्विकार्नुपर्थ्यो। त्यसैले फेलिक्स “डराए।”

१९, २०. (क) बाइबल सत्यप्रति चासो देखाउने तर आफ्नो खराब जीवनशैली परिवर्तन गर्न नचाहने मानिसहरूलाई भेट्‌दा हामीले के गर्नुपर्छ? (ख) फेलिक्स पावलका मित्र थिएनन्‌ भनेर हामी कसरी भन्‍न सक्छौँ?

१९ साक्षीकार्यमा हामी पनि फेलिक्सजस्तै मानिसहरू भेट्‌न सक्छौँ। सुरुमा त तिनीहरूले बाइबल सत्य सिक्ने इच्छा देखाउलान्‌ तर वास्तवमा तिनीहरू बाइबल सत्यअनुसार आफ्नो जीवनशैली परिवर्तन गर्न चाहँदैनन्‌। हामी त्यस्ता व्यक्‍तिहरूदेखि होसियार हुनुपर्छ। पावलले जस्तै हामीले पनि तिनीहरूलाई परमेश्‍वरको स्तरबमोजिमको असल काम गर्न के गर्नुपर्छ भनेर कौशलतासाथ बताउन सक्छौँ। बाइबल सत्यले तिनीहरूको हृदय छुन पनि सक्छ। तिनीहरू आफ्नो खराब जीवनशैली परिवर्तन गर्न चाहँदैनन्‌ भने हामी तिनीहरूकहाँ जान छोडिदिन्छौँ र बाइबल सत्यप्रति साँचो चासो भएका अरू मानिस खोज्छौँ।

२० यी शब्दहरूबाट फेलिक्सको हृदयको अवस्था बुझिन्छ: “दुई वर्ष बितेपछि फेलिक्सको ठाउँमा पोर्सिअस फेस्तस आए। फेलिक्स यहुदीहरूलाई खुसी पार्न चाहन्थे। त्यसैले उनले पावललाई कैदमै छोडे।” (प्रेषि. २४:२७) फेलिक्स पावलको मित्र त पक्कै थिएनन्‌। फेलिक्सलाई “त्यस मार्ग”-का मानिसहरू देशद्रोही र क्रान्तिकारी होइनन्‌ भनेर थाह थियो। (प्रेषि. १९:२३) पावलले कुनै रोमी कानुन उल्लङ्‌घन गरेका छैनन्‌ भनेर पनि तिनलाई थाह नभएको होइन। तैपनि “यहुदीहरूलाई खुसी पार्न” फेलिक्सले पावललाई हिरासतमै राखे।

२१. पोर्सिअस फेस्तस राज्यपाल भएपछि पावललाई के भयो? पावलले कुन कुराबाट बल पाइरहे?

२१ फेलिक्सको सट्टा पोर्सिअस फेस्तस राज्यपाल हुँदा पनि पावल कैदमा थिए भनेर प्रेषित २४ अध्यायका अन्तिम पदहरूबाट हामी बुझ्न सक्छौँ। मुद्दाको सुनुवाइको क्रममा पावललाई एकपछि अर्को न्यायाधीशसामु उभ्याइयो। येसुले भन्‍नुभएझैँ यी साहसी प्रेषितलाई “राजाहरू र राज्यपालहरूसामु” उभ्याइयो। (लुका २१:१२) तिनले आफ्नो समयको सबैभन्दा शक्‍तिशाली शासकलाई पनि साक्षी दिए भनेर हामी पछि बुझ्नेछौँ। यी सबै परिस्थितिमा पावलको विश्‍वास कहिल्यै ढलपल भएन। येसुका यी शब्दहरूबाट पावलले निश्‍चय नै बल पाइरहे: “साहसी होऊ!”

a पृष्ठ १९३ मा भएको “ फेलिक्स—यहुदियाको राज्यपाल” शीर्षकको पेटी हेर्नुहोस्‌।

b यहुदियामा “ठूलो शान्ति” कायम गरेकोमा तर्तुल्लसले फेलिक्सको प्रशंसा गरे। तर वास्तवमा भन्‍ने हो भने फेलिक्सअघि र पछिका राज्यपालहरूको शासनकालको तुलनामा तिनको शासनकालमा यहुदियामा खासै शान्ति थिएन। साथै तिनले गरेका सुधारहरूको लागि यहुदीहरू “अत्यन्तै आभारी” छन्‌ भन्‍ने कुरा पनि सरासर झूट थियो। वास्तवमा धेरैजसो यहुदी तिनलाई घृणा गर्थे किनकि तिनी दमनकारी शासक थिए र तिनले यहुदीहरूले रोमविरुद्ध गरेको विद्रोहलाई दबाउन हिंसाको बाटो रोजेका थिए।—प्रेषि. २४:२, ३.