सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय २

“तिमीहरूले मेरो साक्षी दिनेछौ”

“तिमीहरूले मेरो साक्षी दिनेछौ”

साक्षीकार्यमा अगुवाइ लिन येसुले प्रेषितहरूलाई तयार पार्नुभयो

प्रेषित १:१-२६ मा आधारित

१-३. येसु आफ्ना प्रेषितहरूबाट कसरी छुट्टिनुहुन्छ? कस्ता प्रश्‍नहरू खडा हुन्छन्‌?

 यी रमाइला क्षणहरू नसिद्धियोस्‌ भन्‍ने प्रेषितहरूको चाहना छ। तिनीहरूका लागि बितेका केही हप्ता अत्यन्तै रोमाञ्चक थिए! असाध्यै निराश भएका प्रेषितहरूले येसु फेरि जीवित हुनुभएपछि अपार आनन्द महसुस गरिरहेका छन्‌। तिनीहरूलाई अझै सिकाउन र प्रोत्साहन दिन येसु तिनीहरूकहाँ पटक-पटक देखा पर्नुभएको ४० दिन भइसक्यो। तर आज येसु तिनीहरूकहाँ अन्तिम पटक देखा पर्दै हुनुहुन्छ।

जैतुन डाँडामा प्रेषितहरू येसुका एक-एक कुरा ध्यान दिएर सुनिरहेका छन्‌। आफ्नो कुरा टुङ्‌ग्याएपछि उहाँले हात उठाएर तिनीहरूलाई आशिष्‌ दिनुहुन्छ। तर प्रेषितहरूलाई भने उहाँको कुरा सुन्‍न नपुग्दै सिद्धिएको महसुस हुन्छ। त्यसपछि उहाँ माथितिर उठाइनुहुन्छ! त्यतिबेला प्रेषितहरू आकाशतिर हेरिरहन्छन्‌। अन्ततः उहाँलाई बादलले छोप्छ र तिनीहरूले उहाँलाई देख्न सक्दैनन्‌। तैपनि तिनीहरू आकाशतिर हेर्न छोड्‌दैनन्‌।—लुका २४:५०; प्रेषि. १:९, १०.

यस घटनाले प्रेषितहरूको जीवनमा एउटा महत्त्वपूर्ण मोड लिन्छ। आफ्ना गुरु येसु ख्रिष्ट स्वर्ग गइसक्नुभएकोले तिनीहरूले अब के गर्ने थिए? आफूले सुरु गरेको कामलाई निरन्तरता दिन गुरु येसु ख्रिष्टले तिनीहरूलाई तयार पार्नुभएको छ। त्यसोभए यस महत्त्वपूर्ण कामको लागि उहाँले तिनीहरूलाई कसरी सुसज्जित पार्नुहुन्छ? अनि तिनीहरू कस्तो प्रतिक्रिया देखाउँछन्‌? यसले आजका ख्रिष्टियनहरूलाई कसरी असर गर्छ? बाइबलको प्रेषितको पुस्तकको पहिलो अध्यायमा पाइने यी प्रश्‍नहरूका जवाफ प्रोत्साहनजनक छन्‌।

“थुप्रै अकाट्य प्रमाण” (प्रेषित १:१-५)

४. लुकाले प्रेषितको पुस्तक कसरी सुरु गरेका छन्‌?

लुकाले प्रेषितको पुस्तकको विवरण थियोफिलसलाई सम्बोधन गर्दै सुरु गरेका छन्‌। थियोफिलस तिनै व्यक्‍ति हुन्‌, जसको लागि लुकाले यसअघि पनि लुकाको सुसमाचारको पुस्तक लेखेका थिए। a यो बाँकी भाग हो भनेर स्पष्ट पार्दै तिनले पहिले लेखेको सुसमाचारको पुस्तकको अन्तका घटनाहरू छोटकरीमा बताएका छन्‌। तर तिनले घटनाहरू फरक तरिकामा व्यक्‍त गरेका छन्‌ र केही नयाँ जानकारी पनि थपेका छन्‌।

५, ६. (क) कुन कुराले येसुका अनुयायीहरूको विश्‍वासलाई बलियो बनाइराख्न मदत गर्ने थियो? (ख) आज ख्रिष्टियनहरूको विश्‍वास “थुप्रै अकाट्य प्रमाण”-मा आधारित छ भनेर हामी किन भन्‍न सक्छौँ?

कुन कुराले येसुका अनुयायीहरूको विश्‍वासलाई बलियो बनाइराख्न मदत गर्ने थियो? प्रेषित १:३ मा येसुबारे यस्तो लेखिएको छ: “उहाँले आफू फेरि जीवित भइसकेको छु भनी देखाउन तिनीहरूलाई थुप्रै अकाट्य प्रमाण दिनुभयो।” बाइबलमा “अकाट्य प्रमाण” भनेर अनुवाद गरिएको अभिव्यक्‍ति “प्रिय वैद्य लुका”-ले मात्र प्रयोग गरेका छन्‌। (कल. ४:१४) उक्‍त अभिव्यक्‍ति चिकित्सा क्षेत्रमा चलाइने शब्द थियो र त्यसले अचूक, भरपर्दो र पक्का भन्‍ने अर्थ दिन्थ्यो। येसुले चेलाहरूलाई आफूबारे त्यस्तै प्रमाणहरू दिनुभएको थियो। कुनै बेला उहाँ एक-दुई जनाकहाँ देखा पर्नुभयो भने कुनै बेला सबै प्रेषितहरूकहाँ। एकचोटि त उहाँ ५०० भन्दा धेरै चेलाहरूकहाँ देखा पर्नुभयो। (१ कोरि. १५:३-६) येसुका अनुयायीहरूको विश्‍वास दह्रो बनाउने कस्तो अकाट्य प्रमाण!

आज पनि साँचो ख्रिष्टियनहरूको विश्‍वास “थुप्रै अकाट्य प्रमाण”-मा आधारित छ। के येसु यस पृथ्वीमा हुनुहुन्थ्यो, उहाँ हाम्रा पापहरूको लागि मर्नुभयो र फेरि जीवित हुनुभयो भनेर पुष्टि दिने प्रमाणहरू छन्‌? अवश्‍य छन्‌! ती कुराहरू आफ्नै आँखाले देखेका मानिसहरूको विवरण परमेश्‍वरको वचन बाइबलमा पाइन्छ। ती भरपर्दा विवरण नै हाम्रो लागि अकाट्य प्रमाणहरू हुन्‌। ती विवरण अध्ययन गर्दा र सिकेका कुरा लागू गर्न सकूँ भनी प्रार्थना गर्दा हामी आफ्नो विश्‍वासलाई निकै बलियो बनाउन सक्छौँ। याद गर्नुहोस्‌, अन्धाधुन्ध गरिने विश्‍वास र अकाट्य प्रमाणहरूको आधारमा गरिने साँचो विश्‍वासबीच आकाश-जमिनको फरक हुन्छ। अनन्त जीवन पाउन साँचो विश्‍वास नभई हुँदैन।—युह. ३:१६.

७. सिकाउने र साक्षी दिने सन्दर्भमा येसुले आफ्ना अनुयायीहरूका लागि कस्तो उदाहरण बसाल्नुभयो?

येसुले “परमेश्‍वरको राज्यबारे” पनि बताउनुभयो। उदाहरणको लागि, मसीहले कष्ट भोग्नुपर्नेछ र मर्नुपर्नेछ भनी गरिएका भविष्यवाणीहरूको अर्थ उहाँले खोलिदिनुभयो। (लुका २४:१३-३२, ४६, ४७) मसीहको रूपमा आफ्नो भूमिका प्रस्ट पार्दा येसुले बारम्बार परमेश्‍वरको राज्यलाई जोड दिनुभयो किनकि उहाँ त्यस राज्यको भावी राजा हुनुहुन्थ्यो। मानिसहरूलाई साक्षी दिँदा येसुले सधैँ सोही राज्यलाई आफ्नो मुख्य विषय बनाउनुभयो। आज पनि उहाँका अनुयायीहरू त्यही राज्यबारे सुसमाचार सुनाउँछन्‌।—मत्ति २४:१४; लुका ४:४३.

“पृथ्वीको सबैभन्दा टाढा पर्ने इलाकामा” (प्रेषित १:६-१२)

८, ९. (क) येसुका प्रेषितहरूले कुन दुइटा कुरा गलत तरिकाले बुझिरहेका थिए? (ख) येसुले आफ्ना प्रेषितहरूको बुझाइ कसरी सच्याउनुभयो? यसबाट आज ख्रिष्टियनहरूले पनि कस्तो पाठ सिक्न सक्छन्‌?

जैतुन डाँडामा भेला हुँदा प्रेषितहरूले येसुलाई पृथ्वीमा अन्तिम चोटि भेट्‌दै थिए। उत्सुक हुँदै तिनीहरूले यस्तो प्रश्‍न गरे: “प्रभु, के तपाईँले इस्राएलमा परमेश्‍वरको राज्य अहिल्यै पुनर्स्थापित गर्न लाग्नुभएको हो?” (प्रेषि. १:६) यो एउटै प्रश्‍नबाट तिनीहरूले दुइटा कुरा गलत तरिकाले बुझेका थिए भनेर प्रस्ट भयो। पहिलो, तिनीहरूले परमेश्‍वरको राज्य इस्राएलमै पुनर्स्थापित हुन्छ भन्ठानेका थिए। दोस्रो, तिनीहरूले प्रतिज्ञा गरिएको राज्यले “अहिल्यै” अर्थात्‌ त्यतिबेला नै शासन गर्न थाल्नेछ भनेर आशा गरिरहेका थिए। तिनीहरूको गलत बुझाइलाई येसुले कसरी सच्याउनुभयो?

तिनीहरूको पहिलो गलत बुझाइ चाँडै सच्याइनेछ भनेर येसुलाई थाह थियो। वास्तवमा त्यसको १० दिनपछि नै तिनीहरूले नयाँ राष्ट्र अर्थात्‌ आध्यात्मिक इस्राएलको जन्म भएको देख्ने थिए। इस्राएल राष्ट्रसितको परमेश्‍वरको विशेष सम्बन्ध टुङ्‌गिनै लागेको थियो। दोस्रो गलत बुझाइबारे भने दयालु हुँदै येसुले तिनीहरूलाई यसरी सम्झाउनुभयो: “त्यो कहिले हुन्छ, त्यो तोक्ने अधिकार बुबासित मात्र छ। त्यसैले बुबाले तोक्नुभएको समयबारे तिमीहरूले जानिराख्नु आवश्‍यक छैन।” (प्रेषि. १:७) यहोवाले तोकिएकै समयमा आफ्नो उद्देश्‍य पूरा गर्नुहुन्छ। पृथ्वीमा हुनुहुँदा येसु स्वयम्‌ले अन्त आउने “त्यस दिन र समयको विषयमा” छोरालाई समेत थाह छैन तर “बुबाले मात्र” जान्‍नुहुन्छ भनेर बताउनुभएको थियो। (मत्ति २४:३६) त्यसैले यदि आज पनि कोही ख्रिष्टियन यस युगको अन्त आउने दिन र समयबारे अनावश्‍यक रूपमा चिन्तित हुन्छन्‌ भने तिनले आफूले जानिराख्नु आवश्‍यक नभएको कुराबारे चिन्ता गरिरहेका हुन्छन्‌।

१०. हामीले पनि प्रेषितहरूको कस्तो मनोवृत्ति विकास गर्नुपर्छ र किन?

१० प्रेषितहरूको बुझाइ सही थिएन भन्दैमा हामीले तिनीहरूलाई हेयको दृष्टिले हेरिहाल्नु हुँदैन किनकि वास्तवमा तिनीहरू बलियो विश्‍वास भएका व्यक्‍ति थिए। साथै आफूलाई सच्याइँदा तिनीहरूले नम्र भई स्विकारे। तिनीहरूले सोधेको प्रश्‍न गलत बुझाइमा आधारित भए तापनि त्यसबाट तिनीहरूको मनोवृत्ति भने राम्रो थियो भनेर प्रस्ट भयो। येसुले आफ्ना अनुयायीहरूलाई “जागा रहो” भनेर बारम्बार दिनुभएको सल्लाह तिनीहरूले पालन गरेका थिए। (मत्ति २४:४२; २५:१३; २६:४१) तिनीहरू आध्यात्मिक रूपमा सचेत थिए। यहोवाले कदम चाल्न लाग्नुभएको छ भन्‍ने कुराको प्रमाण तिनीहरूले उत्सुक भई हेरिरहेका थिए। आज हामीले पनि त्यस्तै मनोवृत्ति विकास गर्नुपर्छ। वास्तवमा “अन्तको दिन”-को पनि यस अन्तिम समयमा हामी जागा रहनु पहिलेभन्दा झनै जरुरी भएको छ।—२ तिमो. ३:१-५.

११, १२. (क) येसुले आफ्ना अनुयायीहरूलाई कस्तो जिम्मेवारी सुम्पनुभयो? (ख) साक्षी दिने जिम्मेवारी सुम्पनुहुँदा येसुले पवित्र शक्‍तिबारे पनि उल्लेख गर्नु किन उपयुक्‍त थियो?

११ प्रेषितहरूको मुख्य चासोको विषय के हुनुपर्छ भनेर येसुले तिनीहरूलाई सम्झाउनुभयो। उहाँले भन्‍नुभयो: “पवित्र शक्‍ति तिमीहरूमाथि आएपछि तिमीहरूले बल पाउनेछौ अनि यरुसलेमका साथै सारा यहुदिया, सामरिया अनि पृथ्वीको सबैभन्दा टाढा पर्ने इलाकामा तिमीहरूले मेरो साक्षी दिनेछौ।” (प्रेषि. १:८) यरुसलेम, जहाँका मानिसहरूले येसुलाई मारेका थिए, त्यहीँ नै उहाँ फेरि जीवित हुनुभएको समाचार सबैभन्दा पहिले घोषणा गरिने थियो। त्यसपछि त्यहाँबाटै सारा यहुदिया, त्यसपछि सामरिया अनि टाढा पर्ने इलाकामा फैलिने थियो।

१२ वास्तवमा साक्षी दिने जिम्मेवारी सुम्पनुअघि येसुले पवित्र शक्‍तिमार्फत मदत दिने आफ्नो प्रतिज्ञा दोहोऱ्‍याउनु उपयुक्‍त थियो। वास्तवमा प्रेषितको पुस्तकमा “पवित्र शक्‍ति” भन्‍ने अभिव्यक्‍ति ४० भन्दा धेरै पटक चलाइएको छ, जसमा प्रेषित १:८ पनि पर्छ। पवित्र शक्‍तिको मदतविना यहोवाको इच्छा पूरा गर्न सकिँदैन भन्‍ने कुरा जीवन्त घटनाहरूले भरिएको बाइबलको यस पुस्तकमा बारम्बार स्पष्ट पारिएको छ। त्यसकारण पवित्र शक्‍तिको लागि नियमित प्रार्थना गर्नु कत्ति महत्त्वपूर्ण छ! (लुका ११:१३) हामीलाई पवित्र शक्‍ति अहिले झन्‌ धेरै चाहिन्छ।

१३. परमेश्‍वरका जनहरूलाई कहाँसम्म साक्षी दिने जिम्मेवारी सुम्पिएको छ? यस काममा हामी किन जोडतोडले लाग्नुपर्छ?

१३ “पृथ्वीको सबैभन्दा टाढा पर्ने इलाका”-ले प्रथम शताब्दीमा जति इलाकालाई बुझाउँथ्यो, आज त्योभन्दा पनि टाढा-टाढाका इलाकाहरूमा मानिसहरू बसोबास गर्छन्‌। तर जेहोस्‌, परमेश्‍वर सबै किसिमका मानिसहरूले राज्यको सुसमाचार सुनेको चाहनुहुन्छ भन्‍ने कुरा यहोवाका साक्षीहरूले स्पष्टसित बुझेका छन्‌। त्यसैले साक्षी दिने जिम्मेवारी तिनीहरूले तनमनले पूरा गरिरहेका छन्‌। (१ तिमो. २:३, ४) के तपाईँ जीवन बचाउने यस काममा जोडतोडले लागिरहनुभएको छ? तपाईँले योभन्दा सन्तोषजनक काम अरू कुनै पाउन सक्नुहुन्‍न! यो काम पूरा गर्न तपाईँलाई चाहिने शक्‍ति यहोवाले दिनुहुनेछ। साक्षीकार्यमा प्रभावकारी हुन तपाईँले चाल्नुपर्ने सही कदम र विकास गर्नुपर्ने मनोवृत्तिबारे प्रेषितको पुस्तकको अध्ययनबाट अझ बुझ्नुहुनेछ।

१४, १५. (क) ख्रिष्ट फेरि आउनुहुनेबारे स्वर्गदूतहरूले के भने? तिनीहरूको आशय के थियो? (ख) ख्रिष्ट कुन तरिकामा स्वर्ग जानुभयो र फेरि “त्यसरी नै” आउनुभयो?

१४ यस अध्यायको सुरुमा बताइएझैँ येसु स्वर्गतिर उठाइनुभयो र उहाँलाई कसैले देख्न सकेन। तैपनि ११ जना प्रेषितहरूले त्यहाँ उभिएर आकाशतिर हेरी नै रहे। अन्ततः दुई स्वर्गदूत देखा परे र दयालु हुँदै यसरी सम्झाए: “ए गालिलका मानिसहरू, तिमीहरू किन आकाशतिर हेर्दै उभिरहेका छौ? यही येसु, जसलाई तिमीहरूको बीचबाट उचालेर आकाशतिर लगियो, अहिले जसरी आकाशतिर जानुभएको तिमीहरूले देख्यौ, उहाँ त्यसरी नै आउनुहुनेछ।” (प्रेषि. १:११) केही धर्महरूले सिकाएझैँ के ती स्वर्गदूतहरूले पनि येसु मानव शरीरमै फेरि आउनुहुनेछ भन्‍न खोज्दै थिए? अहँ! होइन! हामी कसरी यसो भन्‍न सक्छौँ?

१५ याद गर्नुहोस्‌, स्वर्गदूतहरूले येसु “त्यसरी नै” फेरि आउनुहुनेछ भने। यस पदमा ग्रीक शब्द ट्रोपोस चलाइएको छ, जसले येसु कस्तो स्वरूपमा आउनुहुनेछ भन्‍ने कुरा नभई कुन तरिकामा आउनुहुनेछ भन्‍ने कुरालाई बुझाउँछ। यदि यहाँ येसुको बाहिरी स्वरूपबारे कुरा गरिएको भए ग्रीक शब्द मोर्फ प्रयोग गरिने थियो। उहाँ कुन तरिकामा स्वर्ग जानुभएको थियो? स्वर्गदूतहरूले बोल्दा उहाँ गइसक्नुभएको थियो। येसु पृथ्वी छोडेर स्वर्गमा आफ्नो बुबाकहाँ जानुभएको कुरा केही मानिसहरू अर्थात्‌ प्रेषितहरूले मात्र बुझे। ख्रिष्ट फेरि त्यही तरिकामा आउनुहुने थियो र उहाँ साँच्चै त्यसरी नै आउनुभएको छ। आज आध्यात्मिक समझ भएकाहरूले मात्र येसु आइसक्नुभएको छ र राज्य शक्‍तिमा हुनुहुन्छ भन्‍ने कुरा बुझेका छन्‌। (लुका १७:२०) उहाँको उपस्थितिको प्रमाण हामीले चिन्‍नुपर्छ र अरूलाई पनि बताउनुपर्छ। यसो गर्दा तिनीहरूले पनि अहिलेको समय कत्तिको महत्त्वपूर्ण छ भनेर बुझ्न सक्छन्‌।

“तपाईँले कसलाई रोज्नुभएको छ, हामीलाई देखाइदिनुहोस्‌” (प्रेषित १:१३-२६)

१६-१८. (क) प्रेषित १:१३, १४ बाट उपासनाको लागि गरिने ख्रिष्टियन जमघटबारे हामी के सिक्छौँ? (ख) येसुकी आमा मरियमको उदाहरणबाट हामी के सिक्न सक्छौँ? (ग) आज ख्रिष्टियन सभाहरू किन अत्यन्तै महत्त्वपूर्ण छन्‌?

१६ त्यसैले प्रेषितहरू ‘अत्यन्तै रमाउँदै यरुसलेम फर्केको’ कारण हामी बुझ्न सक्छौँ। (लुका २४:५२) तर तिनीहरूले ख्रिष्टको डोऱ्‍याइ र निर्देशनलाई कसरी लिने थिए? प्रेषित अध्याय १ को पद १३ र १४ मा तिनीहरू “माथिल्लो तलाको कोठामा” जम्मा भए भनी बताइएको छ। ती पदहरूबाट यस्ता किसिमका भेलाबारे केही रोचक जानकारी पनि पाइन्छ। त्यतिबेलाका प्यालेस्टाइनका घरहरूको माथिल्लो तलामा पनि कोठा हुन्थ्यो र त्यस्तो कोठामा जान बाहिरबाटै भऱ्‍याङ राखिएको हुन्थ्यो। यो “माथिल्लो तलाको कोठा” प्रेषित १२:१२ मा बताइएको मर्कुसकी आमाको घरको कोठा थियो कि? कुरा जेहोस्‌, त्यो कोठा साधारण थियो र ख्रिष्टका अनुयायीहरू भेला हुन उपयुक्‍त थियो। तर को-को भेला भए र तिनीहरूले के गरे?

१७ याद गर्नुहोस्‌, उक्‍त भेलामा प्रेषितहरू र पुरुषहरू मात्र थिएनन्‌। त्यहाँ येसुकी आमा मरियम र अरू “केही स्त्रीहरू” पनि थिए। बाइबलमा मरियमको नाम नै तोकेर बताइएको विवरण यो अन्तिम हो। उनी त्यहाँ कुनै ठूलो सम्मान पाउन होइन तर उपासनाको लागि नम्र भई आफ्ना आध्यात्मिक भाइबहिनीहरूसँग भेला भएकी थिइन्‌ भन्‍ने निष्कर्षमा पुग्नु उपयुक्‍त छ। येसुको जीवनकालमा उहाँमाथि विश्‍वास नगरेका आफ्ना अन्य चार छोराहरू अहिले आफूसितै हुँदा मरियमलाई पक्कै पनि सान्त्वना मिलेको हुनुपर्छ। (मत्ति १३:५५; युह. ७:५) आफ्नो दाइ येसुको मृत्यु र उहाँ फेरि जीवित हुनुभएको घटनाबाट तिनीहरूको मनोवृत्ति परिवर्तन भयो।—१ कोरि. १५:७.

१८ चेलाहरू भेला हुनुको कारण याद गर्नुहोस्‌: “तिनीहरू एक चित्तको भएर प्रार्थना गरिरहेका थिए।” (प्रेषि. १:१४) सँगै भेला हुनु सुरुदेखि नै ख्रिष्टियनहरूको उपासनाको एउटा महत्त्वपूर्ण भाग हो। एक-अर्कालाई प्रोत्साहन दिन, निर्देशन अनि सल्लाह पाउन र सबैभन्दा महत्त्वपूर्ण कुरा, स्वर्गमा हुनुहुने हाम्रो बुबा यहोवाको उपासना गर्न हामी भेला हुने गर्छौँ। यस अवसरमा हामीले चढाउने प्रार्थना र स्तुतिगानले उहाँलाई प्रसन्‍न तुल्याउँछ र यी कुराहरू हाम्रो लागि पनि अत्यन्तै महत्त्वपूर्ण छन्‌। यस्ता पवित्र र उत्थानदायी भेलाहरूलाई कहिल्यै हल्कासित नलेऔँ!—हिब्रू १०:२४, २५.

१९-२१. (क) पत्रुसले मण्डलीमा खेलेको सक्रिय भूमिकाबाट हामी के सिक्न सक्छौँ? (ख) यहुदाको ठाउँमा किन अर्को व्यक्‍ति रोज्नुपऱ्‍यो? यो मामिला सँभालिएको तरिकाबाट हामी के सिक्न सक्छौँ?

१९ ख्रिष्टका चेलाहरूले अब एउटा महत्त्वपूर्ण निर्णय गर्नुपर्छ र प्रेषित पत्रुस यस काममा नेतृत्व लिन्छन्‌। (पद १५-२६) केही हप्ताअघि मात्रै प्रभुलाई तीन-तीन चोटि इन्कार गरेका पत्रुसमा यत्ति ठूलो परिवर्तन आएको देख्नु सान्त्वनादायी छैन र! (मर्कु. १४:७२) हामी सबैमा पाप गर्ने झुकाव छ। त्यसैले साँचो पश्‍चात्ताप गर्नेहरूका लागि यहोवा “असल हुनुहुन्छ र क्षमा गर्न सधैँ तयार हुनुहुन्छ” भन्‍ने सम्झौटाहरू हामीलाई चाहिन्छ।—भज. ८६:५.

२० येसुलाई धोका दिने प्रेषित यहुदाको ठाउँमा अरू कसैलाई रोज्नुपर्छ भन्‍ने कुरा पत्रुसले याद गरे। तर कसलाई रोज्ने? प्रेषितको रूपमा छानिने नयाँ व्यक्‍ति येसुको सेवा अवधिभरि नै उहाँको पछि लागेको हुनुपर्थ्यो र तिनले उहाँ फेरि जीवित हुनुभएको पनि देखेको हुनुपर्थ्यो। (प्रेषि. १:२१, २२) यो कुरा येसु आफैले गर्नुभएको प्रतिज्ञाअनुरूप पनि थियो: “तिमीहरू जो मेरो पछि लागेका छौ, तिमीहरू १२ सिंहासनमा बसेर इस्राएलका १२ कुलको इन्साफ गर्नेछौ।” (मत्ति १९:२८) येसु पृथ्वीमा हुनुहुँदा उहाँको पछि लागेका १२ जना प्रेषितलाई नै नयाँ यरुसलेमको “१२ वटा ढुङ्‌गा” बनाउने उद्देश्‍य यहोवाले राख्नुभएको देखिन्छ। (प्रका. २१:२, १४) यसरी “निरीक्षण गर्ने त्यसको कार्यभार अरू कसैले सम्हालोस्‌” भन्‍ने भविष्यवाणी यहुदालाई लागू हुन्छ भनेर बुझ्न परमेश्‍वरले पत्रुसलाई मदत गर्नुभयो।—भज. १०९:८.

२१ रोज्ने काम कसरी भयो? बाइबलकालीन समयको चलनअनुसारै गोला हालेर। (हितो. १६:३३) तर यसरी गोला हालेर छानिएको यो नै अन्तिम पटक थियो भनेर बाइबलले देखाउँछ। पवित्र शक्‍ति खन्याएपछि भने यो तरिकाको कुनै औचित्य रहेन। जेहोस्‌, त्यतिबेला चाहिँ किन गोला हालियो, विचार गर्नुहोस्‌। प्रेषितहरूले यसरी प्रार्थना गरे: “हे सबैको हृदयको कुरा जान्‍नुहुने यहोवा, यी दुई पुरुषमध्ये तपाईँले कसलाई रोज्नुभएको छ, हामीलाई देखाइदिनुहोस्‌।” (प्रेषि. १:२३, २४) हो, तिनीहरू यहोवाको इच्छाबमोजिम नै नयाँ प्रेषित रोजियोस्‌ भन्‍ने चाहन्थे र गोला मत्तियासको नाममा पऱ्‍यो, जो सायद येसुले सुसमाचार सुनाउन पठाउनुभएका ७० जना चेलामध्येका थिए। यसरी मत्तियास “१२ प्रेषित”-मध्ये एक भए। bप्रेषि. ६:२.

२२, २३. आज मण्डलीमा अगुवाइ लिनेहरूप्रति हामी किन आज्ञाकारी हुनुपर्छ?

२२ यस घटनाले परमेश्‍वरका जनहरूले व्यवस्थित ढङ्‌गमा काम गर्नु कत्तिको महत्त्वपूर्ण छ भनेर हामीलाई सम्झाउँछ। अहिले पनि मण्डलीमा निरीक्षकको रूपमा सेवा गर्न जिम्मेवार पुरुषहरू छानिन्छन्‌। त्यस्ता निरीक्षकमा हुनुपर्ने धर्मशास्त्रीय योग्यताहरूलाई एल्डरहरू गम्भीरतासाथ विचार गर्छन्‌ र पवित्र शक्‍तिको डोऱ्‍याइको लागि प्रार्थना गर्छन्‌। त्यसैले मण्डलीले त्यस्ता पुरुषहरूलाई पवित्र शक्‍तिद्वारा नियुक्‍त भएकाहरूको रूपमा हेर्छ। त्यसैले हामी ती पुरुषहरूको अधीनमा बस्छौँ र आज्ञाकारी हुन्छौँ। यसो गर्दा हामीले मण्डलीमा सहयोगी मनोभाव कायम गरिरहेका हुन्छौँ।—हिब्रू १३:१७.

एल्डरहरूले अगुवाइ लिँदा हामी उनीहरूप्रति आज्ञाकारी हुन्छौँ

२३ फेरि जीवित हुनुभएका येसुलाई आफ्नै आँखाले देखेर बल पाएका र सङ्‌गठनात्मक रूपमा सुधार गरिएपछि सुदृढ भएका चेलाहरू अब हुने घटनाहरूको लागि पूर्णतया तयार छन्‌। अर्को अध्यायमा त्यो महत्त्वपूर्ण घटनाबारे छलफल गरिनेछ।

a लुकाको पुस्तकमा तिनले थियोफिलसलाई “महामहिम थियोफिलस” भनी सम्बोधन गरेका छन्‌। (लुका १:३) कसै-कसैको विचारमा थियोफिलसलाई यसरी सम्बोधन गरिनुको कारण सायद तिनी माननीय व्यक्‍ति थिए र ख्रिष्टियन भइसकेका थिएनन्‌। तर प्रेषितको पुस्तकमा भने लुकाले थियोफिलसलाई “हे थियोफिलस” मात्र भनेका छन्‌। केही शास्त्रविद्‌हरूका अनुसार थियोफिलस लुकाको विवरण पढेपछि ख्रिष्टियन भएका थिए। त्यसैले लुकाले तिनलाई आदरपूर्ण सम्बोधन गर्न छोडे बरु एक जना आध्यात्मिक भाइको रूपमा सम्बोधन गर्न थाले।

b पछि पावल “अन्यजातिहरूको प्रेषित”-को रूपमा नियुक्‍त भए। तर तिनी कहिल्यै १२ प्रेषितमध्ये गनिएनन्‌। (रोमी ११:१३; १ कोरि. १५:४-८) त्यो विशेष सुअवसरको लागि तिनी योग्य भएनन्‌ किनभने पृथ्वीमा येसुको सेवाको दौडान पावल उहाँको पछि लागेका थिएनन्‌।