सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय ४

“अशिक्षित अनि साधारण मानिस”

“अशिक्षित अनि साधारण मानिस”

प्रेषितहरू साहसी कदम चाल्छन्‌ र यहोवा उनीहरूलाई आशिष्‌ दिनुहुन्छ

प्रेषित ३:१–५:११ मा आधारित

१, २. पत्रुस र युहन्‍नाले मन्दिरको ढोका नजिकै कस्तो चमत्कार गरे?

 दिउँसोको टन्टलापुर घाममा एउटा भीड जम्मा भएको छ। भक्‍त यहुदीहरू र ख्रिष्टका चेलाहरू मन्दिरको चोकमा जम्मा हुन थालेका छन्‌। “प्रार्थनाको समय” सुरु हुनै लागेको छ। a (प्रेषि. २:४६; ३:१) त्यहाँ भएकाहरूमध्ये पत्रुस र युहन्‍नाचाहिँ मन्दिरको सुन्दर भनिने ढोकातर्फ छन्‌। मानिसहरूको गाइँगुइँ अनि हिँडाइको आवाजसँगै जन्मैदेखि लङ्‌गडो एक जना मानिसले भीख मागेको आवाज पनि सुनिन्छ।—प्रेषि. ३:२; ४:२२.

पत्रुस र युहन्‍ना नजिक आइपुगेपछि उक्‍त मानिस सदाझैँ भीख माग्छ। प्रेषितहरू रोकिन्छन्‌ र त्यो मानिस पनि आस गर्दै टुलुटुलु हेर्छ। पत्रुस भन्छन्‌, “मसित सुनचाँदी त छैन तर जे छ, त्यही म तिमीलाई दिन्छु। नासरी येसु ख्रिष्टको नाममा म तिमीलाई भन्छु, उठेर हिँड!” त्यसपछि पत्रुसले उक्‍त लङ्‌गडो मानिसलाई हात समातेर उठाइदिँदा अनि त्यो मान्छे जीवनमा पहिलो चोटि सीधा उभिएको देख्दा भीड कत्ति छक्क पऱ्‍यो होला! (प्रेषि. ३:६, ७) त्यस मान्छेले आफ्नो निको भएको खुट्टा हेर्दै पहिलो पाइला चालेको दृश्‍य के तपाईँ कल्पना गर्न सक्नुहुन्छ? त्यसरी निको भएपछि उनी ठूलो स्वरमा परमेश्‍वरको प्रशंसा गर्दै उफ्रन थाले।

३. त्यस लङ्‌गडो मानिसले अनि भीडले कस्तो अनमोल उपहार पाउन सक्थे?

उत्साहित भीड पत्रुस र युहन्‍नालाई हेर्न सुलेमानको दलानतर्फ ओइरिन्छ। कुनै समय येसु स्वयम्‌ले सिकाउनुभएको त्यस ठाउँबाट पत्रुस भीडलाई भर्खरै भएको घटनाको वास्तविक अर्थ बुझाइदिन्छन्‌। (युह. १०:२३) तिनी भीड र त्यस लङ्‌गडो मानिसलाई सुनचाँदीभन्दा बहुमूल्य उपहार दिन्छन्‌। त्यस उपहारमा फेरि स्वस्थ हुने मात्रै होइन बरु पश्‍चात्ताप गर्ने, आफ्ना पापहरू पखाल्ने र यहोवाले नियुक्‍त गर्नुभएको “जीवनको मुख्य माध्यम” येसु ख्रिष्टको अनुयायी हुने सुअवसर पनि समावेश छ।—प्रेषि. ३:१५.

४. (क) एक जना मानिसलाई चमत्कारपूर्ण ढङ्‌गमा निको पारिएको घटनापछि कस्तो सङ्‌घर्ष सुरु भयो? (ख) हामी कुन दुई प्रश्‍नको जवाफ पाउनेछौँ?

कस्तो विशेष दिन! एक जना मानिस शारीरिक रूपमा निको भयो अनि फेरि हिँड्‌न सक्यो। अरू हजारौँले भने सही ज्ञान लिने र परमेश्‍वरको वचन बुझ्ने मौका पाए। यस मौकाको फाइदा उठाएको खण्डमा तिनीहरूले परमेश्‍वरको सेवक कहलाइन योग्य जीवन बिताउन सक्थे। (कल. १:९, १०) अर्कोतर्फ त्यस दिनको घटना अख्तियारवालाहरूसँग ख्रिष्टका वफादार अनुयायीहरूको सङ्‌घर्षको सुरुवात थियो किनकि ती अख्तियारवालाहरूले चेलाहरूलाई परमेश्‍वरको राज्यबारे साक्षी दिनू भन्‍ने येसुको आज्ञा मान्‍नदेखि रोक्न खोज्ने थिए। (प्रेषि. १:८) “अशिक्षित अनि साधारण मानिस” पत्रुस र युहन्‍नाले भीडलाई साक्षी दिन प्रयोग गरेको तरिका अनि उनीहरूले देखाएको मनोवृत्तिबाट हामी कस्तो पाठ सिक्न सक्छौँ? b (प्रेषि. ४:१३) साथै प्रेषितहरू र अरू चेलाहरूले जुन तरिकामा विरोधको सामना गरे, हामी कसरी त्यसको अनुकरण गर्न सक्छौँ?

“आफ्नै शक्‍तिले” होइन (प्रेषित ३:११-२६)

५. पत्रुसले भीडसित कुरा गरेको तरिकाबाट हामी के सिक्न सक्छौँ?

पत्रुस र युहन्‍ना भीडसामु उभिए। त्यस भीडमा येसुलाई खम्बामा टाँग्नै पर्छ भन्दै चिच्याउने कोही-कोही मानिस पनि हुन सक्छन्‌ भनेर उनीहरूलाई थाह थियो। (मर्कु. १५:८-१५; प्रेषि. ३:१३-१५) त्यो लङ्‌गडो मानिस येसुको नाममा निको भएको हो भनी बताउँदा पत्रुसले देखाएको साहसलाई विचार गर्नुहोस्‌। येसुको नाममा निको भएको सत्य कुरालाई पत्रुसले हल्का बनाउने कोसिस गरेनन्‌ बरु येसुलाई मार्नुमा त्यो भीड पनि केही हदसम्म दोषी थियो भनेर खुलस्त बताए। तर पत्रुसले ती मानिसहरूप्रति कुनै वैरभाव राखेनन्‌ किनकि तिनीहरूले त्यो “अनजानमै” गरेका थिए। (प्रेषि. ३:१७) तिनले ती मानिसहरूलाई आफ्नै दाजुभाइलाई झैँ अनुरोध गरे र राज्य सन्देशको सकारात्मक पक्षमा ध्यान केन्द्रित गरे। पश्‍चात्ताप गरेमा अनि ख्रिष्टमा विश्‍वास राखेमा तिनीहरूले यहोवाबाट “स्फूर्ति” पाउन सक्थे। (प्रेषि. ३:१९) त्यसैगरि आउँदै गरेको परमेश्‍वरको न्यायबारे हामीले पनि अरूलाई साहसका साथ र खुलस्त भएर बताउनुपर्छ। तर हामी कहिल्यै रूखो, कठोर वा आलोचनात्मक भने हुनु हुँदैन। बरु हामी जसलाई साक्षी दिन्छौँ, तिनीहरूलाई पछि हाम्रै भाइबहिनी हुन सक्ने व्यक्‍ति ठान्छौँ र विशेषगरि हामी पनि पत्रुसजस्तै राज्य सन्देशको सकारात्मक पक्षमा ध्यान दिन्छौँ।

६. पत्रुस र युहन्‍नाले कसरी नम्रता देखाए?

ती प्रेषितहरू नम्र थिए। त्यस चमत्कारको लागि उनीहरू आफैले श्रेय लिएनन्‌। पत्रुसले भीडलाई यसो भने: “तपाईँहरू किन . . . हामीले आफ्नै शक्‍तिले वा परमेश्‍वरप्रतिको भक्‍तिले गर्दा उसलाई हिँड्‌न सक्ने बनाएका हौँ जस्तो गरी हामीलाई टुलुटुलु हेरिरहनुहुन्छ?” (प्रेषि. ३:१२) सेवाको काममा आफूले गरेका असल कामहरू आफ्नो शक्‍तिले होइन तर परमेश्‍वरको शक्‍तिले गर्दा नै सम्भव भएको हो भनेर पत्रुस अनि अरू प्रेषितहरूलाई थाह थियो। त्यसकारण नम्र भई तिनीहरूले आफूले गरेको सबै कामको श्रेय यहोवा अनि येसुलाई दिँदै उहाँहरूको प्रशंसा गरे।

७, ८. (क) हामी मानिसहरूलाई कस्तो उपहार दिन सक्छौँ? (ख) “सबै कुरा पुनर्स्थापित हुने” प्रतिज्ञा आज कसरी पूरा भइरहेको छ?

साक्षीकार्यमा भाग लिँदा हामीले पनि त्यस्तै नम्रता देखाउनुपर्छ। हो, अहिले ख्रिष्टियनहरूले परमेश्‍वरको पवित्र शक्‍तिमार्फत चमत्कारपूर्ण ढङ्‌गमा निको पार्ने वरदान पाउँदैनन्‌। तैपनि हामी मानिसहरूलाई परमेश्‍वर र ख्रिष्टमा विश्‍वास गर्न, पत्रुसले दिएको जस्तै उपहार पाउन अर्थात्‌ पापको क्षमा पाउन र परमेश्‍वरबाट स्फूर्ति पाउन मदत गर्न सक्छौँ। वर्षेनी लाखौँ मानिसहरूले यो प्रस्ताव स्विकारिरहेका छन्‌ र बप्तिस्मा गरेर ख्रिष्टको चेला बनिरहेका छन्‌।

पत्रुसले भनेको “सबै कुरा पुनर्स्थापित हुने समय”-मा हामी बाँचिरहेका छौँ। “परमेश्‍वरले विगतमा आफ्ना पवित्र भविष्यवक्‍ताहरूद्वारा भन्‍नुभएका” कुराअनुरूपै इस्वी संवत्‌ १९१४ मा स्वर्गमा उहाँको राज्य स्थापित भयो। (प्रेषि. ३:२१; भज. ११०:१-३; दानि. ४:१६, १७) त्यसको केही समयपछि येसुले पृथ्वीमा साँचो उपासना पुनर्स्थापना गर्ने कामको निरीक्षण गर्न थाल्नुभयो। फलस्वरूप लाखौँ मानिस आध्यात्मिक प्रमोदवनको भाग बनेका छन्‌ र परमेश्‍वरको राज्यको प्रजा भएका छन्‌। तिनीहरूले पुरानो र भ्रष्ट व्यक्‍तित्व त्यागेर ‘परमेश्‍वरको इच्छाअनुसार सृष्टि भएको नयाँ व्यक्‍तित्व धारण गरेका’ छन्‌। (एफि. ४:२२-२४) लङ्‌गडो मानिसलाई निको पारिएझैँ अहिले भइरहेको अचम्मको काम पनि मानव प्रयासले होइन बरु परमेश्‍वरको पवित्र शक्‍तिले गर्दा सम्भव भएको हो। पत्रुसले झैँ हामीले पनि अरूलाई सिकाउन परमेश्‍वरको वचन साहसका साथ प्रभावकारी तरिकामा चलाउनुपर्छ। ख्रिष्टको चेला बन्‍न मानिसहरूलाई मदत गर्दा हामी जे-जति सफलता हासिल गछौँ, त्यो पवित्र शक्‍तिले गर्दा सम्भव भएको हो, हाम्रो आफ्नै शक्‍तिले होइन।

“हामी . . . नबोली बस्न सक्दै सक्दैनौँ” (प्रेषित ४:१-२२)

९-११. (क) पत्रुस र युहन्‍नाको सन्देशप्रति यहुदी नेताहरूले कस्तो प्रतिक्रिया देखाए? (ख) उनीहरूले कस्तो अठोट गरे?

पत्रुसको भाषणले गर्दा अनि त्यो लङ्‌गडो मानिस निको भएर खुसीले उफ्रेको र कराएकोले गर्दा त्यहाँ निकै खैलाबैला मच्चियो। मन्दिरको सुरक्षाको जिम्मा पाएका पालेहरूका नाइके र मुख्य पुजारीहरू के भएको हो भनी बुझ्न दौडिएर आए। यी मानिसहरू धनी र राजनैतिक शक्‍ति भएका सदुकीहरू हुनुपर्छ। तिनीहरू रोमीहरूसित शान्तिमय सम्बन्ध कायम राख्न खोज्थे, फरिसीहरूले औधी मोल गर्ने मौखिक व्यवस्था इन्कार गर्थे र फेरि जीवित हुने शिक्षाको खिल्ली उडाउँथे। c येसु फेरि जीवित हुनुभयो भनेर पत्रुस र युहन्‍नाले मन्दिरमा खुलेआम सिकाइरहेको देख्दा तिनीहरू कत्ति मुरमुरिए होलान्‌!

१० ती क्रोधित विरोधीहरूले पत्रुस र युहन्‍नालाई थुने र भोलिपल्ट यहुदीहरूको न्यायपरिषद्‌सामु उभ्याए। आफूलाई निकै उच्च ठान्‍ने ती शासकहरूको नजरमा पत्रुस र युहन्‍ना “अशिक्षित अनि साधारण मानिस” थिए र उनीहरूसित मन्दिरमा सिकाउने कुनै अधिकार थिएन। उनीहरूले कुनै प्रख्यात धार्मिक स्कुलबाट शिक्षा हासिल गरेका थिएनन्‌। तैपनि उनीहरूको बोल्ने क्षमता र विश्‍वस्तता देखेर न्यायपरिषद्‌का मानिसहरू छक्क परे। पत्रुस र युहन्‍ना प्रभावकारी हुन सक्नुको कारण के थियो? एउटा कारण, “उनीहरू येसुसित हिँडडुल गर्ने गर्थे।” (प्रेषि. ४:१३) उनीहरूका गुरु येसु शास्त्रीहरूले जस्तो नभई परमेश्‍वरबाट अख्तियार पाएको व्यक्‍तिले झैँ सिकाउनुहुन्थ्यो।—मत्ति ७:२८, २९.

११ न्यायपरिषद्‌ले उनीहरूलाई साक्षी नदिनू भन्‍ने आदेश दियो। त्यतिबेला न्यायपरिषद्‌ एकदमै शक्‍तिशाली थियो। केही हप्ताअघि यसै अदालतले येसु “मारिन लायकको छ” भनेर घोषणा गरेको थियो। (मत्ति २६:५९-६६) तर पत्रुस र युहन्‍ना डराएनन्‌। धनी, पढे-लेखेका र प्रभावशाली मानिसहरूसामु उभिएर नडराई अनि आदरसाथ उनीहरूले भने: “परमेश्‍वरको नजरमा कुन ठीक हो, तपाईँहरूको कुरा सुन्‍नु कि परमेश्‍वरको, तपाईँहरू आफै निर्णय गर्नुहोस्‌। तर जहाँसम्म हाम्रो कुरा छ, हामी आफूले देखेको अनि सुनेको कुरा नबोली बस्न सक्दै सक्दैनौँ।”—प्रेषि. ४:१९, २०.

१२. अझै साहसी र विश्‍वस्त हुन हामीलाई कुन कुराले मदत गर्नेछ?

१२ के तपाईँ पनि यस्तै साहस देखाउनुहुन्छ? इलाकाका धनी, पढे-लेखेका वा प्रभावशाली मानिसहरूलाई साक्षी दिनुपर्दा तपाईँ कस्तो महसुस गर्नुहुन्छ? तपाईँको विश्‍वासको कारण परिवार, स्कूलका साथी वा सहकर्मीहरूले गिल्ला गर्छन्‌ भने नि? के तपाईँ डराउनुहुन्छ? त्यसो हो भने तपाईँ डरलाई जित्न सक्नुहुन्छ। येसुले प्रेषितहरूलाई कसरी विश्‍वस्त भई र आदर देखाउँदै आफ्नो विश्‍वासबारे बताउने भनेर सिकाउनुभएको थियो। (मत्ति १०:११-१८) फेरि जीवित हुनुभएपछि येसुले चेलाहरूलाई आफू “यस युगको आखिरी समयसम्म” तिनीहरूको साथमा हुनेछु भनेर प्रतिज्ञा गर्नुभयो। (मत्ति २८:२०) अहिले येसुको निर्देशनमा “विश्‍वासी र बुद्धिमान्‌ दास”-ले हामीलाई आफ्नो विश्‍वासबारे बताउन सिकाइरहेको छ। (मत्ति २४:४५-४७; १ पत्रु. ३:१५) हाम्रो ख्रिष्टियन जीवन र सेवा-जस्ता मण्डलीका सभाहरूमा दिइने निर्देशनहरू र jw.org वेबसाइटमा पाइने “बाइबलका प्रश्‍नहरूको जवाफ”-जस्ता लेखहरूमार्फत हामी सिक्छौँ। के तपाईँ यी प्रबन्धहरूबाट पुरापुर लाभ उठाउँदै हुनुहुन्छ? यदि छ भने तपाईँ झनै साहसी र विश्‍वस्त हुन सक्नुहुन्छ। तब तपाईँ पनि प्रेषितहरूजस्तै आफूले देखेका र सुनेका मनमोहक बाइबल सत्यबारे नबोली बस्न सक्नुहुनेछैन।

आफूले सिकेका सत्य कुराहरू अरूलाई बताउन तपाईँलाई कुनै कुराले नरोकोस्‌

“तिनीहरू सबैले एकसाथ परमेश्‍वरलाई . . . प्रार्थना गरे” (प्रेषित ४:२३-३१)

१३, १४. विरोधको सामना गर्नुपर्दा हामीले के गर्नुपर्छ र किन?

१३ हिरासतबाट मुक्‍त हुनेबित्तिकै पत्रुस र युहन्‍ना मण्डलीका अरू सदस्यहरूकहाँ जान्छन्‌। साक्षीकार्यमा लागिरहन साहस दिनुहोस्‌ भनेर ‘तिनीहरू परमेश्‍वरलाई प्रार्थना’ गर्छन्‌। (प्रेषि. ४:२४) परमेश्‍वरको इच्छा पूरा गर्न आफ्नै शक्‍तिमा भर पर्नु सरासर मूर्खता हो भनेर पत्रुसलाई राम्ररी थाह थियो। केही हप्ताअघि मात्रै तिनले विश्‍वस्त हुँदै येसुलाई यसो भनेका थिए: “तपाईँमाथि आइपर्ने कुराहरूले गर्दा अरू सबैले ठेस खाए पनि म भने कहिल्यै ठेस खानेछैनँ!” तर येसुले भविष्यवाणी गर्नुभएझैँ पत्रुस चाँडै मानिसको डरको पासोमा परे र आफ्नो मित्र अनि गुरुलाई इन्कार गरे। पत्रुसले आफ्नो गल्तीबाट पाठ सिकिसकेका छन्‌।—मत्ति २६:३३, ३४, ६९-७५.

१४ हामीले ख्रिष्टको साक्षी दिने सन्दर्भमा दृढ सङ्‌कल्प गरेर मात्र पुग्दैन। विरोधीहरूले तपाईँको विश्‍वास तोड्‌ने प्रयास गर्दा वा साक्षी दिनदेखि रोक्न खोज्दा पत्रुस र युहन्‍नाको उदाहरण पछ्याउनुहोस्‌। बलको लागि यहोवालाई प्रार्थना गर्नुहोस्‌। मण्डलीको मदत खोज्नुहोस्‌। आफूले सामना गरिरहेको समस्याबारे एल्डरहरू अनि अरू परिपक्व ख्रिष्टियनहरूलाई बताउनुहोस्‌। यस्तो बेला आफूलाई सँभाल्न अरूको प्रार्थनाले ठूलो मदत दिन सक्छ।—एफि. ६:१८; याकु. ५:१६.

१५. कुनै समय साक्षीकार्यमा भाग लिन छोडेकाहरू किन निरुत्साहित हुनुपर्दैन?

१५ दबाबको प्रतिरोध गर्न नसकेर तपाईँले पनि कुनै समय साक्षीकार्यमा भाग लिन छोड्‌नुभएको थियो भने निराश नहुनुहोस्‌। नबिर्सनुहोस्‌, प्रेषितहरूले पनि येसुको मृत्युपछि केही समय राज्य सन्देश सुनाउन बन्द गरे तर तिनीहरू फेरि चाँडै सक्रिय भए। (मत्ति २६:५६; २८:१०, १६-२०) विगतको गल्तीको कारण निरुत्साहित नहुनुहोस्‌ बरु आफ्नो अनुभवबाट पाठ सिकेर अरूलाई बलियो हुन मदत गर्नुहोस्‌।

१६, १७. यरुसलेममा ख्रिष्टका अनुयायीहरूले गरेको प्रार्थनाबाट हामी कस्तो पाठ सिक्न सक्छौँ?

१६ अख्तियारमा भएकाहरूले हामीलाई दबाउन खोज्दा हामीले केको लागि प्रार्थना गर्नुपर्छ? याद गर्नुहोस्‌, चेलाहरूले परीक्षा नआओस्‌ भनेर बिन्ती गरेनन्‌। येसुले भन्‍नुभएको यो कुरा तिनीहरूले बिर्सेका थिएनन्‌: “यदि तिनीहरूले मेरो खेदो गरेका छन्‌ भने तिमीहरूको पनि खेदो गर्नेछन्‌।” (युह. १५:२०) बरु ती वफादार चेलाहरूले यहोवालाई विरोधीहरूको धम्कीमा “ध्यान दिनुहोस्‌” भनेर प्रार्थना गरे। (प्रेषि. ४:२९) आफूले भोग्नुपरेको सतावट वास्तवमा भविष्यवाणीको पूर्ति हो भनेर स्पष्टै बुझेकोले चेलाहरूले सतावटमा मात्र ध्यान दिएनन्‌। येसुले प्रार्थना गर्न सिकाउनुभएझैँ मानव शासकहरूले जेसुकै भने तापनि परमेश्‍वरको इच्छा ‘पृथ्वीमा पूरा’ हुनदेखि कसैले रोक्न सक्दैन भनेर तिनीहरूलाई थाह थियो।—मत्ति ६:९, १०.

१७ परमेश्‍वरको इच्छा पूरा गर्नको लागि चेलाहरूले यहोवालाई यसरी प्रार्थना गरे: “आफ्ना सेवकहरूलाई अझ निर्भयी भएर तपाईँको वचन बोलिरहन मदत गर्नुहोस्‌।” यहोवाले तुरुन्तै कस्तो जवाफ दिनुभयो? “तिनीहरू भेला भएको ठाउँ हल्लियो र तिनीहरू सबै पवित्र शक्‍तिले भरिए अनि निडर भएर परमेश्‍वरको वचन बोल्न थाले।” (प्रेषि. ४:२९-३१) परमेश्‍वरको इच्छा पूरा हुन कुनै कुराले रोक्न सक्दैन। (यसै. ५५:११) परिस्थिति जत्ति नै गाह्रो जस्तो देखिए तापनि र हाम्रा विरोधीहरू जत्ति नै शक्‍तिशाली भए तापनि परमेश्‍वरलाई प्रार्थना गरिरहौँ। यसो गर्यौँ भने साहसका साथ परमेश्‍वरको वचन बोलिरहन उहाँले हामीलाई बल दिनुहुन्छ भन्‍ने कुरामा निर्धक्क हुन सक्छौँ।

‘मानिसहरूप्रति होइन तर परमेश्‍वरप्रति’ जवाफदेही (प्रेषित ४:३२–५:११)

१८. यरुसलेममा भएको मण्डलीका सदस्यहरूले एक-अर्कालाई कसरी मदत गरे?

१८ यरुसलेममा भर्खरै स्थापना भएको मण्डलीका सदस्यहरूको सङ्‌ख्या बढेर ५,००० भन्दा धेरै पुगेको थियो। d चेलाहरू विभिन्‍न पृष्ठभूमिका भए तापनि “एक चित्तका अनि एकै मनका” थिए। तिनीहरूको सोचाइ र विचार एउटै थियो। (प्रेषि. ४:३२; १ कोरि. १:१०) चेलाहरूले आफ्नो प्रयासमा आशिष्‌ दिनुहोस्‌ भनेर मात्र परमेश्‍वरलाई बिन्ती चढाएनन्‌ बरु एक-अर्कालाई आध्यात्मिक रूपमा र आवश्‍यक परेको बेला भौतिक रूपमा सहयोग पनि गरे। (१ युह. ३:१६-१८) उदाहरणका लागि, प्रेषितहरूले बर्णाबास भन्‍ने नाम दिएका चेला युसुफले आफ्नो जमिन बेचेर पाएको पूरै रकम अनुदान दिए। टाढाबाट आएका व्यक्‍तिहरू यरुसलेममा अझै बसेर आफ्नो नयाँ विश्‍वासबारे थप कुरा सिक्न सकून्‌ भनेर तिनले यसरी अनुदान दिएका थिए।

१९. यहोवाले किन हननिया र सफिराको ज्यान लिनुभयो?

१९ हननिया र सफिरा नाम गरेका दम्पतीले पनि आफ्नो जमिन बेचेर अनुदान दिए। तिनीहरूले पूरै रकम दिएको ढोंग गरे तर “त्यसबाट आएको रकमको केही हिस्सा लुकाएर” राखे। (प्रेषि. ५:२) तिनीहरूले दिएको अनुदान नपुगेकोले होइन तर तिनीहरूको मनसाय दुष्ट र छली भएकोले यहोवाले तिनीहरूको ज्यान लिनुभयो। तिनीहरूले ‘मानिसहरूलाई होइन तर परमेश्‍वरलाई ढाँटे।’ (प्रेषि. ५:४) येसुले निन्दा गर्नुभएका कपटीहरूजस्तै हननिया र सफिराले पनि परमेश्‍वरको अनुग्रहभन्दा आफ्नै महिमा खोजिरहेका थिए।—मत्ति ६:१-३.

२०. यहोवालाई दिनेबारे हामी कस्तो पाठ सिक्न सक्छौँ?

२० प्रथम शताब्दीमा यरुसलेमका विश्‍वासी चेलाहरूले जस्तै अहिले हाम्रो समयमा पनि लाखौँ यहोवाका साक्षीहरूले स्वेच्छाले अनुदान दिएर विश्‍वव्यापी साक्षीकार्यलाई सघाइरहेका छन्‌। यस कामलाई सघाउन आफ्नो समय वा पैसा दिन कसैलाई पनि जबरजस्ती गरिँदैन। वास्तवमा कसैले मन नलागी नलागी वा करकापमा परेर उहाँको सेवा गरेको यहोवा चाहनुहुन्‍न। (२ कोरि. ९:७) हामी कति दिन्छौँ भन्‍ने कुरामा होइन तर कस्तो मनसायले दिन्छौँ, यहोवा त्यसमा चासो राख्नुहुन्छ। (मर्कु. १२:४१-४४) आफ्नै स्वार्थ वा महिमाको लागि यहोवाको सेवा गर्ने हननिया र सफिराजस्तो हामी कहिल्यै हुन चाहँदैनौँ। बरु पत्रुस, युहन्‍ना र बर्णाबासझैँ हामी पनि परमेश्‍वर र मानिसहरूप्रतिको साँचो प्रेमले उत्प्रेरित भएर यहोवाको उपासना गरिरहौँ।—मत्ति २२:३७-४०.

a बिहानको र दिउँसोको बलिदान चढाउँदा मन्दिरमा प्रार्थना पनि गरिन्थ्यो। दिउँसोको बलिदान “दिउँसो तीन बजेतिर” चढाइन्थ्यो।

b पृष्ठ ३० मा भएको “ पत्रुस—जलारीबाट प्रभावशाली प्रेषित” र पृष्ठ ३३ मा भएको “ युहन्‍ना—जसलाई येसु प्रेम गर्नुहुन्थ्यो” शीर्षकका पेटीहरू हेर्नुहोस्‌।

c पृष्ठ ३४ मा भएको “ प्रधानपुजारी र मुख्य पुजारीहरू” शीर्षकको पेटी हेर्नुहोस्‌।

d इस्वी संवत्‌ ३३ तिर यरुसलेममा फरिसीहरू ६ हजारजति मात्र थिए। सदुकीहरू अझ थोरै थिए। सायद यसैले गर्दा पनि यी दुई समूह त्रसित भएका थिए किनकी येसुको शिक्षा फैलँदै जाँदा मानिसहरूमाथि तिनीहरूको प्रभाव कम हुने थियो।