सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय ५

“हामीले मानिसहरूको भन्दा परमेश्‍वरको आज्ञा मान्‍नै पर्छ”

“हामीले मानिसहरूको भन्दा परमेश्‍वरको आज्ञा मान्‍नै पर्छ”

प्रेषितहरूले लिएको अडान सबै साँचो ख्रिष्टियनहरूका लागि नमुना

प्रेषित ५:१२–६:७ मा आधारित

१-३. (क) प्रेषितहरूलाई न्यायपरिषद्‌सामु किन उभ्याइयो? मूल कुरा के थियो? (ख) प्रेषितहरूले लिएको अडान हाम्रो लागि किन चासोको विषय हो?

 यहुदी न्यायपरिषद्‌का न्यायाधीशहरू रिसले फनफनिरहेका छन्‌। यस न्यायपरिषद्‌अघि येसुका प्रेषितहरूलाई पुर्पक्षको लागि उभ्याइएको छ। किन? प्रधानपुजारी र यहुदी न्यायपरिषद्‌का अध्यक्ष कैयाफा तिनीहरूलाई कडाइका साथ यसो भन्छन्‌: “यो नाममा सिकाउँदै नसिकाउनू भनेर हामीले तिमीहरूलाई कडा आज्ञा दिएका थियौँ।” रिसले चूर भएका कैयाफाले येसुको नाम उच्चारण गर्न समेत चाहेनन्‌। तिनी अझै यसो भन्छन्‌: “तर हेर, तिमीहरूले आफ्नो शिक्षाले सारा यरुसलेम भरिसक्यौ अनि त्यस मानिसको रगतको दोष हामीमाथि थोपर्न तिमीहरू लागिपरेका छौ।” (प्रेषि. ५:२८) तिनले भन्‍न खोजेको कुरा स्पष्ट छ: साक्षी दिन बन्द गर! नत्र राम्रो हुनेछैन!

प्रेषितहरूले के गर्ने थिए? सुसमाचार सुनाउनू भन्‍ने आज्ञा तिनीहरूले ख्रिष्टबाट पाएका थिए र उहाँलाई त्यो अख्तियार परमेश्‍वरले दिनुभएको थियो। (मत्ति २८:१८-२०) के प्रेषितहरू मानिसको डरमा परेर साक्षी नदिई बस्ने थिए वा साहसी भई सुसमाचार सुनाइरहने थिए? मूल कुरा यो थियो: तिनीहरूले परमेश्‍वरको आज्ञा पालन गर्ने थिए कि मानिसको? निर्धक्क हुँदै प्रेषित पत्रुसले सबै प्रेषितको तर्फबाट बोले। तिनका शब्दहरूमा साहस झल्किन्थ्यो, डरको कुनै छनक थिएन।

न्यायपरिषद्‌को धम्कीपछि प्रेषितहरूले के गरे, त्यसमा हामी साँचो ख्रिष्टियनहरू चासो राख्छौँ। सुसमाचार सुनाउनू भन्‍ने जिम्मेवारी हामीले पनि पूरा गर्नुपर्छ। परमेश्‍वरले दिनुभएको यो जिम्मेवारी पूरा गर्दा हामीले पनि विरोधको सामना गर्नुपर्ने हुन सक्छ। (मत्ति १०:२२) विरोधीहरूले हाम्रो काममा कडिकडाउ गर्दा वा प्रतिबन्ध लगाउँदा हामीले के गर्नुपर्छ? प्रेषितहरूले लिएको अडान र न्यायपरिषद्‌सामु पुर्पक्षको लागि तिनीहरूलाई उभ्याइएको कारण विचार गर्दा हामी लाभ उठाउन सक्छौँ। a

“यहोवा परमेश्‍वरको स्वर्गदूतले . . . ढोका खोलिदिए” (प्रेषित ५:१२-२१क)

४, ५. कैयाफा र सदुकीहरू किन “डाहले भरिए”?

सुसमाचार सुनाउन बन्द गर्नू भनेर पहिलो चोटि आज्ञा दिँइदा पत्रुस र युहन्‍नाले कस्तो जवाफ दिएका थिए, सम्झनुहोस्‌: “हामी आफूले देखेको अनि सुनेको कुरा नबोली बस्न सक्दै सक्दैनौँ।” (प्रेषि. ४:२०) यहुदी न्यायपरिषद्‌सँग भएको त्यस घटनापछि पत्रुस र युहन्‍नाले बाँकी प्रेषितहरूसँगै मन्दिरमा सुसमाचार सुनाइरहे। बिरामीलाई निको पार्ने र दुष्ट स्वर्गदूतद्वारा सताइएकाहरूलाई ठीक पार्ने जस्ता थुप्रै चमत्कारहरू प्रेषितहरूले गरे। यहुदीहरू भेला हुने मन्दिरको पूर्वतिर पर्ने “सुलेमान दलानमा” तिनीहरूले ती चमत्कार गरेका थिए। पत्रुसको छाया मात्र पर्दा पनि मानिसहरू निको हुन्थे! शारीरिक रूपमा निको भएका थुप्रैले परमेश्‍वरको वचनको सत्य पनि स्विकारे। फलस्वरूप “थुप्रै पुरुष र स्त्रीले प्रभुमा विश्‍वास गरे अनि उहाँको चेला बने।”—प्रेषि. ५:१२-१५.

कैयाफा र अरू सदुकीहरू “डाहले भरिए” र प्रेषितहरूलाई पक्रेर झ्यालखानामा हालिदिए। कैयाफा पनि सदुकी गुटका थिए। (प्रेषि. ५:१७, १८) सदुकीहरू किन एकदमै रिसाए? प्रेषितहरूले येसु फेरि जीवित हुनुभयो भनेर सिकाइरहेका थिए जबकि सदुकीहरू फेरि जीवित हुने कुरामा विश्‍वासै गर्दैनथे। प्रेषितहरूले येसुमा विश्‍वास गरेको खण्डमा मात्र उद्धार पाइन्छ भनेर बताइरहेका थिए। तर सदुकीहरू मानिसहरूले येसुलाई नेता मान्‍न थाले भने रोमीहरूले सजाय देलान्‌ भनेर डराएका थिए। (युह. ११:४८) त्यसैले तिनीहरू हर हालतमा प्रेषितहरूको मुख बन्द गर्न चाहन्थे।

६. आज पनि यहोवाका सेवकहरूलाई सताउने काममा मुख्य हात कसको छ? हामी किन छक्क पर्नु पर्दैन?

आज पनि यहोवाका सेवकहरूलाई सताउने काममा धार्मिक समूहहरूकै मुख्य हात छ। हाम्रो साक्षीकार्य बन्द गर्न तिनीहरू आफ्नो प्रभाव चलाएर अक्सर सरकारी अधिकारीहरू र सञ्चार माध्यमलाई प्रयोग गर्छन्‌। के त्यो देख्दा हामी छक्क पर्नुपर्छ र? अहँ, पर्दैन! हाम्रो सन्देशले झूटा धर्मका कर्तुतहरूलाई उदाङ्‌ग पार्छ। बाइबल सत्यलाई स्विकार्दा इमानदार मानिसहरू बाइबल विपरीत विश्‍वास र चलनहरूबाट मुक्‍त हुन्छन्‌। (युह. ८:३२) त्यसैले हामीले सुनाउने सन्देशले गर्दा धर्मगुरुहरू डाहले भरिनु कुनै अचम्मको कुरा होइन!

७, ८. स्वर्गदूतको निर्देशनले प्रेषितहरूमा कस्तो प्रभाव पाऱ्‍यो? हामीले आफैलाई कस्तो प्रश्‍न सोध्नुपर्छ?

मुद्दा छिनोफानो हुने पर्खाइमा झ्यालखानामा बसिरहेका प्रेषितहरूको मनमा आफू सहिद हुनुपर्ने हो कि भन्‍ने कुरा खेलिरहेको हुन सक्छ। (मत्ति २४:९) तर त्यस रात कल्पनै नगरेको घटना घट्यो—“यहोवा परमेश्‍वरको स्वर्गदूतले झ्यालखानाको ढोका खोलिदिए।” b (प्रेषि. ५:१९) त्यसपछि स्वर्गदूतले तिनीहरूलाई तोकेरै यस्तो निर्देशन दिए: “मन्दिरमा खडा भएर . . . सबै कुरा बताइरहो।” (प्रेषि. ५:२०) त्यस्तो आज्ञा पाएपछि आफूले गरिरहेको काम सही हो भनेर प्रेषितहरू पक्कै ढुक्क भए। ती स्वर्गदूतको कुरा सुनेपछि तिनीहरूले जस्तोसुकै परिस्थिति आए तापनि दृढ अडान लिन थप बल पाएको हुनुपर्छ। बलियो विश्‍वास र साहसका साथ प्रेषितहरू “बिहान हुनेबित्तिकै मन्दिरभित्र पसेर सिकाउन थाले।”—प्रेषि. ५:२१.

हामीले आफूलाई यस्तो प्रश्‍न सोध्नुपर्छ, ‘के मसित त्यस्तो परिस्थितिमा साक्षी दिन चाहिने विश्‍वास र साहस छ?’ “परमेश्‍वरको राज्यको विषयमा राम्ररी साक्षी” दिने अत्यन्तै महत्त्वपूर्ण काममा स्वर्गदूतहरूको समर्थन र डोऱ्‍याइ छ भनेर थाह पाउँदा हामी बल पाउँछौँ।—प्रेषि. २८:२३; प्रका. १४:६, ७.

“हामीले मानिसहरूको भन्दा परमेश्‍वरको आज्ञा मान्‍नै पर्छ” (प्रेषित ५:२१ख-३३)

“तिनीहरूले ती प्रेषितहरूलाई यहुदी न्यायपरिषद्‌सामु खडा गराए।”​—प्रेषित ५:२७

९-११. सुसमाचार नसुनाउनू भनेर यहुदी न्यायपरिषद्‌ले आदेश दिँदा प्रेषितहरूले के गरे? प्रेषितहरूले साँचो ख्रिष्टियनहरूको लागि कस्तो नमुना बसाले?

कैयाफा र न्यायपरिषद्‌का अन्य न्यायाधीशहरू अब प्रेषितहरूको मुद्दाको छिनोफानो गर्न तयार भए। तर झ्यालखानामा भएको घटना तिनीहरूलाई पत्तै छैन। त्यसैले प्रेषितहरूलाई ल्याउन तिनीहरूले पालेहरू पठाए। “झ्यालखाना सुरक्षितसाथ बन्द गरेर राखिएको” थियो अनि “पहरेदारहरू ढोकामा उभिरहेका” थिए तर भित्र कैदीहरूचाहिँ थिएनन्‌। पालेहरू कत्ति जिल्ल परे होलान्‌! (प्रेषि. ५:२३) प्रेषितहरू फेरि मन्दिरमा गएर येसु ख्रिष्टबारे साक्षी दिइरहेका छन्‌ भनेर मन्दिरका पालेहरूका नाइकेले खबर पाइहाले। जुन कामको कारण तिनीहरूलाई झ्यालखानामा हुलिएको थियो, तिनीहरू फेरि त्यही काम गर्दै थिए! मन्दिरका पालेहरूका नाइके र तिनका मानिसहरू कैदीहरूलाई लिन तुरुन्तै मन्दिरतिर दौडन्छन्‌ र तिनीहरूलाई समातेर न्यायपरिषद्‌सामु ल्याउँछन्‌।

१० यस अध्यायको सुरुमा बताइएझैँ रिसले फनफनिएका धर्मगुरुहरूले प्रेषितहरूलाई सुसमाचार नसुनाउनू भनेर कडा आदेश दिए। जवाफमा प्रेषितहरूले के भने? निडर भई पत्रुसले सबैको तर्फबाट यसो भने: “हामीले मानिसहरूको भन्दा परमेश्‍वरको आज्ञा मान्‍नै पर्छ।” (प्रेषि. ५:२९) यसरी प्रेषितहरूले त्यसपछिका सबै साँचो ख्रिष्टियनहरूको लागि नमुना बसाले। परमेश्‍वरले हामीलाई मानव शासकहरूको अधीनमा रहने आज्ञा दिनुभएको छ। तर परमेश्‍वरको आज्ञा पालन गर्नदेखि ती शासकहरूले हामीलाई रोक्न खोज्दा वा परमेश्‍वरले निषेध गर्नुभएका कुराहरू गर्न जबरजस्ती गर्दा हामी तिनीहरूको कुरा मान्दैनौँ। त्यसैले हाम्रो समयमा “उच्च अख्तियारवालाहरू”-ले साक्षीकार्यलाई प्रतिबन्ध लगाउन खोजे भने पनि परमेश्‍वरले सुम्पनुभएको यो जिम्मेवारी पूरा नगरी हामी बस्नै सक्दैनौँ। (रोमी १३:१) हामी होसियार हुँदै परमेश्‍वरको राज्यबारे राम्ररी साक्षी दिने अन्य उचित तरिकाहरू खोजिरहनेछौँ।

११ प्रेषितहरूको निर्भयी जवाफ सुन्दा पहिल्यैदेखि रिसाइरहेका न्यायाधीशहरू झनै आक्रोशित भए। तिनीहरूले प्रेषितहरूलाई “मार्न खोजे।” (प्रेषि. ५:३३) ती साहसी र जोसिला साक्षीहरूले मृत्युदण्ड भोग्नुपर्ने निश्‍चित नै देखिन्थ्यो। तर तिनीहरूले आसै नगरेको तरिकामा मदत पाउन लागेका थिए!

“तपाईँहरूले तिनीहरूलाई नामेट पार्न सक्नुहुनेछैन” (प्रेषित ५:३४-४२)

१२, १३. (क) गमलिएलले अरू न्यायाधीशहरूलाई के सल्लाह दिए र तिनीहरूले के निर्णय गरे? (ख) यहोवा परमेश्‍वर आज आफ्ना जनहरूको खातिर कसरी हस्तक्षेप गर्न सक्नुहुन्छ? (ग) ‘असल काम गरेकोले दुःख भोग्छौँ’ भने पनि हामी कुन कुरामा पक्का हुन सक्छौँ?

१२ ‘मोसाको व्यवस्थाका शिक्षक र सबै मानिसले सम्मान गर्ने’ गमलिएलले प्रेषितहरूको पक्षमा बोले। c तिनलाई अरू न्यायाधीशहरूले असाध्यै आदर गर्थे। त्यसैले अगुवाइ लिँदै तिनले “[प्रेषितहरूलाई] केही बेर बाहिर राख्ने आदेश” समेत दिए। (प्रेषि. ५:३४) आफ्ना नेताहरू मरेपछि फासफुस भएका विगतका केही आन्दोलनबारे बताउँदै गमलिएलले न्यायपरिषद्‌लाई अहिले पनि प्रेषितहरूसित धीरजी र सहनशील हुन आग्रह गरे। किनभने तिनीहरूका नेता येसुको पनि भर्खरै मात्र मृत्यु भएको थियो। गमलिएलले यस्तो चित्तबुझ्दो तर्क गरे: “यी मानिसहरूको काममा हस्तक्षेप नगर्नुहोस्‌ बरु तिनीहरू जे गर्दै छन्‌, गर्न दिनुहोस्‌। किनकि यदि यो योजना वा यो काम मानिसहरूको तर्फबाट हो भने त्यो आफै हराएर जानेछ। तर यदि परमेश्‍वरको तर्फबाट हो भने तपाईँहरूले तिनीहरूलाई नामेट पार्न सक्नुहुनेछैन। नत्र त तपाईँहरू परमेश्‍वरविरुद्ध लडिरहनुभएको हुनेछ।” (प्रेषि. ५:३८, ३९) न्यायाधीशहरूले तिनको कुरा माने। तैपनि तिनीहरूले प्रेषितहरूलाई बोलाएर पिटे र “येसुको नाममा बोल्दै नबोल्नू” भन्‍ने आदेश दिए।—प्रेषि. ५:४०.

१३ आज पनि परमेश्‍वरले आफ्ना जनहरूको पक्षमा हस्तक्षेप गर्न गमलिएलजस्ता प्रतिष्ठित व्यक्‍तिलाई चलाउन सक्नुहुन्छ। (हितो. २१:१) यहोवा परमेश्‍वर शक्‍तिशाली शासक, न्यायाधीश वा राजनीतिज्ञहरूलाई आफ्नो इच्छाबमोजिम चलाउन पवित्र शक्‍ति प्रयोग गर्नुहुन्छ। (नहे. २:४-८) तर ‘असल काम गरेकोले दुःख भोग्छौँ’ भने पनि हामी दुइटा कुरामा पक्का हुन सक्छौँ। (१ पत्रु. ३:१४) पहिलो, परमेश्‍वरले हामीलाई सहने बल दिनुहुन्छ। (१ कोरि. १०:१३) दोस्रो, विरोधीहरूले परमेश्‍वरको काम ‘नामेट पार्न सक्नेछैनन्‌।’—यसै. ५४:१७.

१४, १५. (क) पिटाइ खाएपछि प्रेषितहरूले कस्तो प्रतिक्रिया देखाए र किन? (ख) दुःख भोग्नुपर्दा पनि यहोवाका जनहरू आनन्दित हुन्छन्‌ भनेर देखाउने एउटा अनुभव बताउनुहोस्‌।

१४ पिटाइ खानुपरेकोले के प्रेषितहरू निरुत्साहित भए? अथवा तिनीहरूको अठोट ढलपल भयो कि? अहँ, भएन! तिनीहरू “रमाउँदै . . . यहुदी न्यायपरिषद्‌को सामुन्‍नेबाट निस्केर आफ्नो बाटो लागे।” (प्रेषि. ५:४१) तिनीहरू किन ‘रमाए?’ पिटाइ खाएर दुखेकोले त पक्कै होइन। बरु यहोवाप्रति आफ्नो निष्ठा कायम गरेकोले र आफ्नो नमुना येसुको पाइला पछ्याएकोले सतावट आइपरेको हो भनेर तिनीहरूले बुझेका थिए। त्यसैले तिनीहरू रमाए।—मत्ति ५:११, १२.

१५ प्रथम शताब्दीका हाम्रा भाइहरूजस्तै सुसमाचारको खातिर दुःख भोग्नुपर्दा हामी पनि आनन्दित हुँदै सहन्छौँ। (१ पत्रु. ४:१२-१४) हुनत धम्की आउँदा, सताइँदा वा थुनामा पर्दा हामी रमाउँदैनौँ। तर आफ्नो निष्ठा कायम राख्न सक्दा हामी अपार सन्तुष्टि महसुस गर्छौँ। तानाशाही शासनको कारण वर्षौँ कठोर सतावट भोगेका हेनरिक डोरनिकलाई विचार गर्नुहोस्‌। सन्‌ १९४४ अगस्त महिनामा तिनी र तिनका दाइलाई सरकारी अधिकारीहरूले यातना शिविरमा पठाएको घटना तिनी सम्झन्छन्‌। विरोधीहरूले यसो भने: “तिनीहरूलाई जति सताए पनि केही लाग्दैन। बरु सहिद हुन पाउँदा तिनीहरू रमाउँछन्‌।” भाइ डोरनिक यसो भन्छन्‌: “म सहिद हुन चाहन्‍नथेँ तर यहोवाप्रति वफादार रहँदै साहसका साथ दुःख भोग्दा मैले अपार आनन्द र सन्तुष्टि महसुस गरेँ।”—याकु. १:२-४.

प्रेषितहरूजस्तै हामी पनि “घरघरमा गएर” सुसमाचार सुनाउँछौँ

१६. प्रेषितहरू राम्ररी साक्षी दिन कटिबद्ध थिए भनेर किन भन्‍न सक्छौँ? प्रेषितहरूको तरिका हामी कसरी पछ्याउँछौँ?

१६ फेरि साक्षीकार्यमा लागिहाल्न प्रेषितहरूले अलिकति पनि आलेटाले गरेनन्‌। “हरेक दिन मन्दिरमा र घरघरमा गएर . . . येसु ख्रिष्टको विषयमा” तिनीहरूले नडराई “सुसमाचार घोषणा” गरिरहे। d (प्रेषि. ५:४२) ती जोसिला चेलाहरू राम्ररी साक्षी दिन कटिबद्ध थिए। याद गर्नुहोस्‌, तिनीहरूले येसु ख्रिष्टको निर्देशनबमोजिमै घरघरमा गएर सुसमाचार सुनाए। (मत्ति १०:७, ११-१४) त्यसो गरेकोले नै तिनीहरूले आफ्नो शिक्षाले सारा यरुसलेम भरिसिद्ध्याएका थिए। ती प्रेषितहरूझैँ आज यहोवाका साक्षीहरू पनि घरघरमा गएर सुसमाचार सुनाउने मानिसहरू भनेर चिनिन्छन्‌। हामी इलाकामा एउटै घर नछोडी सबैलाई सुसमाचार सुनाउँछौँ। त्यसमा राम्ररी साक्षी दिने हाम्रो सङ्‌कल्प झल्किन्छ। के यहोवाले आज घरघरको साक्षीकार्यमा आशिष्‌ दिँदै हुनुहुन्छ? अवश्‍य! अन्तको यस समयमा लाखौँले राज्य सन्देश स्विकारेका छन्‌ र कतिपयले त पहिलो चोटि साक्षीहरू तिनीहरूको घरमा आउँदा सुसमाचार सुनेका थिए।

“महत्त्वपूर्ण काम” सँभाल्न योग्य पुरुषहरू (प्रेषित ६:१-६)

१७-१९. फुट उत्पन्‍न गराउन सक्ने कस्तो समस्या देखा पऱ्‍यो? यसको समाधान गर्न प्रेषितहरूले कस्तो निर्देशन दिए?

१७ भर्खरै स्थापना भएको मण्डलीमा नजानिँदो किसिमले एउटा समस्या देखा पर्न थालेको थियो। कस्तो समस्या? बप्तिस्मा गरेका थुप्रै चेलाहरू यरुसलेमका थिएनन्‌। तिनीहरू आ-आफ्नो घर फर्कनुअघि अझ धेरै सिक्न चाहन्थे। खानेकुरा र अरू आवश्‍यकता पूरा गर्न यरुसलेमका चेलाहरूले स्वेच्छाले अनुदान दिए। (प्रेषि. २:४४-४६; ४:३४-३७) यतिबेला एउटा संवेदनशील परिस्थिति सृजना भयो। “हरेक दिन खाना बाँड्‌दा” ग्रीकभाषी विधवाहरूको “बेवास्ता भइरहेको” थियो। (प्रेषि. ६:१) तर हिब्रूभाषी विधवाहरूको भने बेवास्ता भइरहेको थिएन। मतलब समस्या थियो—भेदभाव। सजिलै फुट उत्पन्‍न गराउन सक्ने योभन्दा ठूलो कुरा अर्को कुन होला र!

१८ बढ्‌दै गइरहेको मण्डलीको परिचालक निकायको रूपमा सेवा गरिरहेका प्रेषितहरूले “परमेश्‍वरको वचन सिकाउन छोडेर टेबुलमा खाना बाँड्‌नु” बुद्धिमानी हुँदैन भनेर बुझे। (प्रेषि. ६:२) बरु त्यसको लागि प्रेषितहरूले चेलाहरूलाई “पवित्र शक्‍ति र बुद्धिले भरिपूर्ण भएका” सात जना पुरुष छान्‍न निर्देशन दिए। तिनीहरूलाई नै प्रेषितहरूले उक्‍त “महत्त्वपूर्ण काम” सँभाल्न नियुक्‍त गर्ने थिए। (प्रेषि. ६:३) यस काममा खाना बाँड्‌ने मात्र नभई पैसाको हरहिसाब राख्नुपर्ने, आवश्‍यक कुराहरू किन्‍नुपर्ने र सबै कुराको रेकर्ड दुरुस्त राख्नुपर्ने भएकोले योग्य पुरुषहरू चाहिनथ्यो। छानिएका सबै पुरुष ग्रीकभाषी भएकोले भेदभाव महसुस गरेका विधवाहरूलाई त्यो प्रबन्ध स्विकार्न सजिलो भयो। केही योग्य पुरुषबारे सिफारिस आएपछि प्रेषितहरूले प्रार्थनापूर्वक विचार गरेर उक्‍त “महत्त्वपूर्ण काम”-को लागि सात जनालाई नियुक्‍त गरे। e

१९ खाना बाँड्‌ने जिम्मेवारी पाएका ती सात पुरुषले सुसमाचार सुनाउनुपर्ने जिम्मेवारीबाट छुट पाए त? पक्कै पनि पाएनन्‌! नियुक्‍त भएकाहरूमध्ये एक जना स्तिफनस थिए। तिनी साहसका साथ सशक्‍त ढङ्‌गमा साक्षी दिने व्यक्‍तिको रूपमा चिनिए। (प्रेषि. ६:८-१०) फिलिप पनि ती सात जनामध्येकै थिए र तिनलाई “प्रचारक” भनिएको छ। (प्रेषि. २१:८) यसबाट ती सात पुरुषहरूले जोसका साथ साक्षी दिन छोडेनन्‌ भनेर स्पष्ट हुन्छ।

२०. आज पनि यहोवाका जनहरू कसरी प्रेषितहरूकै तरिका पछ्याउँछन्‌?

२० आज यहोवाका जनहरू प्रेषितहरूकै तरिका पछ्याउँछन्‌। मण्डलीमा एल्डर र सहायक सेवकको रूपमा नियुक्‍त हुन सिफारिस पठाइएका पुरुषहरूले परमेश्‍वरको बुद्धि प्रकट गरेको हुनुपर्छ र पवित्र शक्‍तिले तिनीहरूमा काम गरिरहेको प्रमाण देखिनुपर्छ। धर्मशास्त्रले तोकेको आवश्‍यकता पूरा गरेका पुरुषहरूलाई मण्डलीमा एल्डर वा सहायक सेवकको रूपमा सेवा गर्न नियुक्‍त गरिन्छ। f (१ तिमो. ३:१-९, १२, १३) यी योग्यता पूरा गरेकाहरू पवित्र शक्‍तिद्वारा नियुक्‍त भएका हुन्‌ भन्‍न सकिन्छ। यी मेहनती पुरुषहरू थुप्रै “महत्त्वपूर्ण काम”-को हेरविचार गर्छन्‌। उदाहरणका लागि, साँच्चै खाँचोमा परेका विश्‍वासी वृद्ध जनहरूलाई व्यावहारिक मदत दिन एल्डरहरूले बन्दोबस्त मिलाउँछन्‌। (याकु. १:२७) कोही एल्डरहरू सभाभवन निर्माण गर्न, अधिवेशन आयोजना गर्न वा स्थानीय अस्पताल सम्पर्क समितिसित काम गर्न एकदमै व्यस्त हुन्छन्‌। सहायक सेवकहरू गोठालो भेट वा सिकाउने कामसित सीधै सम्बन्धित नभएका अन्य जिम्मेवारी सँभाल्छन्‌। यी सबै योग्य पुरुषले मण्डलीमा र सङ्‌गठनमा पाएका अन्य जिम्मेवारी अनि परमेश्‍वरले दिनुभएको सुसमाचार सुनाउने जिम्मेवारीबीच सन्तुलन कायम गर्नुपर्छ।—१ कोरि. ९:१६.

“परमेश्‍वरको वचन फैलँदै गयो” (प्रेषित ६:७)

२१, २२. बढ्‌दै गइरहेको मण्डलीमा यहोवाले आशिष्‌ बर्साउनुभयो भनेर हामी कसरी भन्‍न सक्छौँ?

२१ भर्खरै स्थापना भएको मण्डलीले बाहिरबाट आएको सतावट र मण्डलीभित्रै उत्पन्‍न भएको फूट गराउने समस्या यहोवाको डोऱ्‍याइ पाएर समाधान गर्न सक्यो। यहोवाले आशिष्‌ बर्साउनुभएको कुरा स्पष्ट थियो किनभने बाइबल विवरण यसो भन्छ: “परमेश्‍वरको वचन फैलँदै गयो र यरुसलेममा चेलाहरूको सङ्‌ख्या झन्‌-झन्‌ बढ्‌दै गयो अनि पुजारीहरूको ठूलो जमातले पनि विश्‍वास गर्न थाल्यो।” (प्रेषि. ६:७) प्रेषितको पुस्तकमा पाइने त्यतिबेलाको वृद्धिका थुप्रै विवरणहरूमध्ये यो त एउटा मात्र हो। (प्रेषि. ९:३१; १२:२४; १६:५; १९:२०; २८:३१) संसारका अन्य भागहरूमा भइरहेको वृद्धिका रिपोर्टहरू सुनेर हामी पनि प्रोत्साहन पाउँछौँ नि, होइन र?

२२ तर इस्वी संवत्‌ प्रथम शताब्दीका ती रिसले मुरमुरिएका धर्मगुरुहरू सजिलै हार मान्‍नेवाला थिएनन्‌। भीषण सतावटको बादल मडारिरहेको थियो। केही समयपछि नै स्तिफनस त्यस्तो सतावटको सिकार बने। यसबारे हामी अर्को अध्यायमा चर्चा गर्नेछौँ।

a पृष्ठ ३९ मा भएको “ यहुदी न्यायपरिषद्‌” शीर्षकको पेटी हेर्नुहोस्‌।

b मूल भाषामा हेर्दा प्रेषितको पुस्तकमा लगभग २० चोटि स्वर्गदूतहरूबारे तोकेरै उल्लेख गरिएको छ। त्यसमध्ये यो पहिलो चोटि हो। त्यसअघि प्रेषित १:१० मा भने स्वर्गदूतहरूलाई “सेता लुगा लगाएका . . . मानिस” भनेर मात्र उल्लेख गरिएको छ।

c पृष्ठ ४१ मा भएको “ गमलिएल—रब्बीहरूमा सबैभन्दा सम्माननीय” शीर्षकको पेटी हेर्नुहोस्‌।

d पृष्ठ ४२ मा भएको “ ‘घरघरमा गएर’ सुसमाचार सुनाउनु” शीर्षकको पेटी हेर्नुहोस्‌।

e ती पुरुषहरूमा एल्डर हुनका लागि चाहिने योग्यता थियो भन्‍न सकिन्छ किनभने यो “महत्त्वपूर्ण काम” सँभाल्नु एउटा गम्भीर जिम्मेवारी थियो। तर ख्रिष्टियन मण्डलीमा कहिलेदेखि एल्डर वा निरीक्षकहरू नियुक्‍त गर्न थालियो भनेर धर्मशास्त्रमा ठ्याक्कै बताइएको छैन।

f प्रथम शताब्दीमा योग्य पुरुषहरूलाई एल्डरहरू नियुक्‍त गर्ने अख्तियार दिइएको थियो। (प्रेषि. १४:२३; १ तिमो. ५:२२; ति. १:५) आज परिचालक निकायले क्षेत्रीय निरीक्षकहरू नियुक्‍त गर्छन्‌ अनि तिनै निरीक्षकहरूले एल्डरहरू र सहायक सेवकहरू नियुक्‍त गर्ने जिम्मेवारी पाएका छन्‌।