सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय २०

सतावटको बाबजुद “बढ्‌दै अनि प्रबल हुँदै गयो”

सतावटको बाबजुद “बढ्‌दै अनि प्रबल हुँदै गयो”

सुसमाचार फैलाउने काममा अपोल्लस र पावलको योगदान

प्रेषित १८:२३–१९:४१ मा आधारित

१, २. (क) पावल र तिनका साथीहरूमाथि एफिससमा कस्तो खतरा आइपऱ्‍यो? (ख) हामी यस अध्यायमा के-के छलफल गर्नेछौँ?

 एफिससका सडकहरूमा होहल्ला सुनिन्छ। मानिसहरू कराइरहेका छन्‌, भागदौड भइरहेको छ। एउटा भीड जम्मा भएको छ अनि यसले सहरभरि हुलदङ्‌गा मच्चाइरहेको छ। मानिसहरूले प्रेषित पावलका दुई जना सहयात्रीलाई समातेर घिस्याउँदै लगिरहेका छन्‌। उग्र हुँदै गएको भीड २५,००० मानिस अटाउने विशाल रङ्‌गशालातिर उर्लन थालेपछि पसलहरू भएको चौडा सडक पनि सुनसान हुन्छन्‌। किन यस्तो हुलदङ्‌गा मच्चिएको हो भनेर धेरैलाई थाहै छैन। तर आफ्नो मन्दिर र प्रिय देवी अर्तिमिसमाथि केही खतरा आइपरेको हो कि भनेर तिनीहरू अनुमान लगाउँछन्‌। त्यसैले तिनीहरू यसो भन्दै नारा लगाउन थाल्छन्‌: “एफिसीहरूकी महान्‌ देवी अर्तिमिसको जय!”—प्रेषि. १९:३४.

परमेश्‍वरको राज्यको सुसमाचार सुनाउन नदिन सैतानले फेरि एक चोटि भीडलाई उक्साइरहेको छ भनेर यसबाट हामी बुझ्न सक्छौँ। तर सैतानले चलाउने युक्‍ति हिंसा मात्र त पक्कै होइन। साक्षीकार्यलाई रोक्न र प्रथम शताब्दीका ख्रिष्टियनहरूको एकतालाई तोड्‌न सैतानले चलाएका थुप्रै युक्‍तिबारे हामी यस अध्यायमा छलफल गर्नेछौँ। अझै महत्त्वपूर्ण कुरा त “यहोवा परमेश्‍वरको वचन शक्‍तिशाली ढङ्‌गमा बढ्‌दै अनि प्रबल हुँदै” गएकोले सैतानका सबै युक्‍ति कसरी फेल खायो भनेर हामी सिक्नेछौँ। (प्रेषि. १९:२०) ती ख्रिष्टियनहरू सैतानका युक्‍तिहरूमाथि कसरी विजयी हुन सके? अहिले हामी जसरी विजयी हुन सकेका हौँ, त्यसरी नै। वास्तवमा यो विजय हाम्रो होइन, यहोवा परमेश्‍वरको हो। हामीले पनि प्रथम शताब्दीका ख्रिष्टियनहरूले जस्तै यहोवाबाट पाएका निर्देशनहरू पालन गर्नै पर्छ। यहोवाको शक्‍ति पाएर हामी सेवाको काम पूरा गर्न चाहिने गुणहरू विकास गर्न सक्नेछौँ। आउनुहोस्‌, सुरुमा अपोल्लसको उदाहरण विचार गरौँ।

“तिनी . . . धर्मशास्त्रमा पोख्त थिए” (प्रेषित १८:२४-२८)

३, ४. अक्विला र प्रिस्किलाले अपोल्लसलाई कुन कुरा थाह रहेनछ भनेर बुझे? त्यसपछि तिनीहरूले कसरी मदत गरे?

तेस्रो मिसनरी यात्राको दौडान पावल एफिसस जाँदै गर्दा अपोल्लस नाम गरेका यहुदी त्यहाँ आइपुगे। अपोल्लस मिश्रको प्रख्यात सहर अलेक्जेन्ड्रियाका थिए। अपोल्लससित केही विशेष क्षमता थियो। तिनी बोल्नमा एकदमै सिपालु र “धर्मशास्त्रमा पोख्त थिए।” साथै ‘तिनी पवित्र शक्‍तिले भरिएका’ थिए। जोसले भरिएका अपोल्लस सभाघरमा यहुदीहरूसामु साहसी भई बोल्थे।—प्रेषि. १८:२४, २५.

अपोल्लसले बताइरहेका कुरा अक्विला र प्रिस्किलाले सुने। तिनले “येसुको विषयमा सही कुरा” सिकाइरहेको सुन्दा तिनीहरू पक्कै पनि दङ्‌ग परे होलान्‌। अपोल्लसले येसुको विषयमा बताएको कुरा सही भए तापनि तिनलाई एउटा महत्त्वपूर्ण कुरा थाह रहेनछ भनेर अक्विला र प्रिस्किलाले बुझिहाले। तिनलाई “युहन्‍नाले सिकाउने गरेको बप्तिस्माको विषयमा मात्र थाह थियो।” अपोल्लसको बोल्ने खुबी र तिनको शैक्षिक स्तर देखेर पाल बनाउने यी साधारण दम्पती तिनलाई मदत गर्नदेखि हिचकिचाएनन्‌। बरु तिनीहरूले अपोल्लसलाई “आफूकहाँ लगे र परमेश्‍वरको मार्गबारे अझ सही तरिकामा तिनलाई व्याख्या गरिदिए।” (प्रेषि. १८:२५, २६) बोल्नमा सिपालु अनि शिक्षित यी मानिसले कस्तो प्रतिक्रिया देखाए? यसपछि अपोल्लसले गरेका कामहरूबाट तिनले ख्रिष्टियनमा हुनुपर्ने एउटा महत्त्वपूर्ण गुण देखाए भनेर बुझिन्छ। त्यो हो, नम्रता।

५, ६. अपोल्लस यहोवाको लागि किन उपयोगी हुन सके? तिनको उदाहरणबाट हामी के सिक्न सक्छौँ?

अपोल्लसले अक्विला र प्रिस्किलाको मदत स्विकारेको कारण तिनी यहोवाको सेवामा अझै प्रभावकारी हुन सके। तिनी अखैया गए र त्यहाँ येसुका चेलाहरूलाई “धेरै मदत गरे।” येसु भविष्यवाणी गरिएको मसीह होइन भनेर ढिपी कसिरहेका त्यहाँका यहुदीहरूलाई पनि तिनले राम्ररी साक्षी दिए। लुकाले यस्तो लेखे: “यहुदीहरू गलत हुन्‌ भनी तिनले जोसिलो भई खुलेआम प्रमाण दिए अनि येसु नै ख्रिष्ट हुनुहुन्छ भनेर धर्मशास्त्रबाट देखाए।” (प्रेषि. १८:२७, २८) मण्डलीको लागि अपोल्लस आशिष्‌ साबित भए! वास्तवमा भन्‍ने हो भने “यहोवा परमेश्‍वरको वचन” प्रबल हुँदै जानुमा तिनको पनि महत्त्वपूर्ण योगदान थियो। अपोल्लसको उदाहरणबाट हामी के सिक्न सक्छौँ?

सबै ख्रिष्टियनले नम्रता विकास गर्नै पर्छ। हामी प्रत्येकसित विभिन्‍न किसिमका वरदान छन्‌। कुनै-कुनै वरदान हामीले जन्मजातै पाएका छौँ भने कुनैचाहिँ अनुभव र आफूले हासिल गरेको ज्ञानबाट पाएका छौँ। तैपनि हाम्रो क्षमता र योग्यताभन्दा नम्रता अझै प्रस्ट देखिनुपर्छ, नत्र त हाम्रो वरदान नै हाम्रो लागि अभिशाप बन्‍न सक्छ र हाम्रो मनमा अहङ्‌कारजस्तो विषालु झार पलाउन सक्छ। (१ कोरि. ४:७; याकु. ४:६) यदि हामी साँच्चै नम्र छौँ भने हामी अरूलाई आफूभन्दा श्रेष्ठ ठान्छौँ। (फिलि. २:३) अरूले सच्याउँदा हामी रिसाउनेछैनौँ र अरूबाट सिक्न तयार हुनेछौँ। परमेश्‍वरको पवित्र शक्‍तिमार्फत नयाँ-नयाँ समझ प्रकट हुँदा ती कुरा हाम्रो सोचाइसित मिलेन भने पनि ‘मेरो गोरुको बाह्रै टक्का’ भन्दै हामी घमन्ड गर्नेछैनौँ। हामी नम्र छउन्जेल यहोवा र उहाँको छोराको लागि उपयोगी हुनेछौँ।—लुका १:५१, ५२.

७. नम्रताको सन्दर्भमा पावल र अपोल्लसले कस्तो उदाहरण बसाले?

कोभन्दा को कम भन्‍ने भाव नराख्न पनि हामीलाई नम्रताले मदत गर्छ। सुरु-सुरुका ख्रिष्टियनहरूमाझ फुट उत्पन्‍न गराउन सैतान लागिपरेको थियो। पावल र अपोल्लसजस्ता प्रभावशाली व्यक्‍तिहरूले कोभन्दा को कम भन्‍ने भाव राखेर एकअर्काको डाह गर्दै मण्डलीमा प्रभाव जमाउन खोजेका भए सैतान कत्ति खुसी हुन्थ्यो होला! तिनीहरूलाई यसो गर्न गाह्रो पनि थिएन किनभने कोरिन्थका केही ख्रिष्टियनहरू “म पावलको” र अरू कोहीचाहिँ “म अपोल्लसको” भन्दै थिए। के पावल र अपोल्लसले त्यस्तो फुट उत्पन्‍न गराउने भावलाई मलजल गर्ने काम गरे? अहँ, गरेनन्‌। पावलले साक्षीकार्यमा अपोल्लसको योगदानलाई नम्र भई स्विकारे र तिनलाई सेवाको थप सुअवसर दिए। अपोल्लसले पनि पावलको निर्देशन स्विकारे। (१ कोरि. १:१०-१२; ३:६, ९; ति. ३:१२, १३) नम्र भएर एकअर्कालाई समर्थन गर्ने विषयमा हाम्रो लागि कत्ति राम्रो उदाहरण!

“परमेश्‍वरको राज्यको विषयमा . . . तर्क गरेर मानिसहरूलाई मनाउँदै” (प्रेषित १८:२३; १९:१-१०)

८. पावल कुन बाटो भएर एफिसस फर्के र किन?

पावलले एफिसस फर्कने प्रतिज्ञा गरेका थिए र तिनले त्यो पूरा गरे। a (प्रेषि. १८:२०, २१) तिनी कसरी फर्किए, याद गर्नुहोस्‌। हामीले अन्तिम पटक पावलबारे कुरा गर्दा तिनी सिरियाको एन्टिओकमा थिए। तिनी नजिकैको सिल्युसियाबाट जहाज चढेर सीधै एफिसस जान पनि सक्थे। तर त्यसो नगरी तिनी “तटवर्ती भूभागबाट भित्र पर्ने ठाउँहरू हुँदै” एफिसस गए। प्रेषित १८:२३१९:१ मा बताइएको पावलको यात्रालाई विचार गर्दा तिनले लगभग १,६०० किलोमिटर यात्रा गरेका थिए भनेर एउटा पुस्तकले बताएको छ। पावलले किन त्यस्तो गाह्रो बाटो छाने? किनभने तिनी “सबै चेलालाई सुदृढ पार्दै” जान चाहन्थे। (प्रेषि. १८:२३) अघिल्ला दुई वटा मिसनरी यात्रामा जस्तै यस तेस्रो यात्रामा पनि तिनले गर्नुपर्ने काम धेरै थियो। तर आफ्नो परिश्रम बेकार जाँदैन भनेर तिनलाई थाह थियो। आजका क्षेत्रीय निरीक्षकहरू र तिनीहरूका पत्नीले पनि यस्तै मनोवृत्ति देखाउँछन्‌। तिनीहरूको यस्तो आत्मत्यागी प्रेमप्रति हामी आभारी छैनौँ र?

९. केही चेलाहरूले किन फेरि बप्तिस्मा गर्नुपऱ्‍यो? तिनीहरूबाट हामी कस्तो पाठ सिक्न सक्छौँ?

एफिसस आइपुगेपछि पावलले बप्तिस्मा गराउने युहन्‍नाका १२ जनाजति चेलाहरू भेटे। तर अब युहन्‍नाले गराएको बप्तिस्माको औचित्य समाप्त भइसकेको थियो। साथै तिनीहरूलाई पवित्र शक्‍तिबारे त्यति थाह नभएको वा केही पनि थाह नभएको हुन सक्छ। पावलले तिनीहरूलाई येसुको नाममा बप्तिस्मा गर्नुको महत्त्वबारे बुझाए। तिनीहरू पनि अपोल्लसजस्तै नम्र र सिक्न उत्सुक थिए। येसुको नाममा बप्तिस्मा गरेपछि तिनीहरूले पवित्र शक्‍ति अनि चमत्कार गर्ने वरदान पाए। अघि बढिरहेको यहोवाको सङ्‌गठनसँगसँगै हिँड्‌दा आशिष्‌ पाइन्छ भन्‍ने कुरा यसबाट स्पष्ट हुन्छ।—प्रेषि. १९:१-७.

१०. सभाघरबाट पावल किन पाठशालाको सभाकक्षमा सरे? हामी साक्षीकार्यमा तिनको उदाहरणको कसरी अनुकरण गर्न सक्छौँ?

१० चाँडै अर्को एउटा प्रगति पनि भयो। पावलले तीन महिनासम्म सभाघरमा साहसका साथ सुसमाचार सुनाए। तिनले ‘परमेश्‍वरको राज्यको विषयमा मानिसहरूलाई मनाए’ तर कोही-कोही भने हठी भए। पावलले “‘त्यस मार्ग’-को बदनाम” गर्ने मानिसहरूसित कुरा गरेर समय खेर फाल्नुको सट्टा पाठशालाको सभाकक्षमा दिनहुँ भाषण दिन थाले। (प्रेषि. १९:८, ९) आध्यात्मिक प्रगति गर्न चाहनेहरू सभाघरबाट अब पाठशालाको सभाकक्षमा सर्नुपर्ने भयो। हाम्रो कुरा सुन्‍न नचाहने वा वादविवाद मात्र गर्न खोज्ने मानिसहरूलाई भेट्‌दा हामी पनि पावलले जस्तै कुराकानी टुङ्‌ग्याउँछौँ। हाम्रो प्रोत्साहनदायी सन्देश सुन्‍न चाहने नम्र अनि आज्ञाकारी मानिसहरू अझै कत्ति छन्‌ कत्ति!

११, १२. (क) परिश्रमी हुने र परिस्थितिअनुसार छाँटकाँट गर्ने सन्दर्भमा पावलले कस्तो उदाहरण बसाले? (ख) साक्षीकार्यमा यहोवाका साक्षीहरू कसरी कडा परिश्रम गर्छन्‌ र आवश्‍यकताअनुसार छाँटकाँट गर्ने प्रयास गर्छन्‌?

११ पावलले त्यस पाठशालाको सभाकक्षमा हरेक दिन बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म भाषण दिएका हुन सक्छन्‌। (प्रेषि. १९:९) थुप्रै मानिसले यस समयमा खाना खान र आराम गर्न आफ्नो काम बन्द गर्ने भएकोले सहर शान्त हुन्थ्यो तर गर्मी भने असाध्यै हुन्थ्यो। पावलले दुई वर्षसम्म हरेक दिन यही समयमा भाषण दिएका हुन्‌ भने तिनले ३,००० घण्टाभन्दा धेरै अर्थात्‌ प्रत्येक महिना १२५ घण्टाभन्दा धेरै समय सिकाउनमा बिताएको हुनुपर्छ। b यसबाट हामी यहोवाको वचन बढ्‌दै अनि प्रबल हुँदै जानुको अर्को कारण बुझ्न सक्छौँ। त्यो हो, पावल परिश्रमी थिए अनि परिस्थितिअनुसार छाँटकाँट गर्थे। तिनले त्यस इलाकाका मानिसहरूको परिस्थितिअनुसार आफ्नो तालिकामा छाँटकाँट गरे। परिणाम कस्तो भयो? “के यहुदी के ग्रीक, एसिया प्रान्तका सबै बासिन्दाले प्रभुको वचन सुने।” (प्रेषि. १९:१०) तिनले कत्ति राम्ररी साक्षी दिए!

मानिसहरूलाई जहाँ-जहाँ भेट्‌न सकिन्छ, हामी त्यहाँ-त्यहाँ जान्छौँ

१२ अहिले पनि यहोवाका साक्षीहरू परिश्रमी छन्‌ र परिस्थितिअनुसार छाँटकाँट गर्छन्‌। मानिसहरूलाई जहाँ-जहाँ र जुन-जुन समयमा भेट्‌न सकिन्छ, हामी त्यहीअनुसार आफ्नो समय मिलाउँछौँ। हामी सडक, बजार र सवारीसाधन बिसाउने ठाउँहरूमा साक्षी दिन्छौँ। हामी मानिसहरूसँग टेलिफोन र चिठीमार्फत पनि सम्पर्क गर्ने प्रयास गर्छौँ। घरघरको साक्षीकार्यमा पनि हामी धेरैभन्दा धेरै मानिसहरूलाई घरमै भेट्‌न सकिने समयमा जान सक्दो कोसिस गर्छौँ।

प्रेतहरूको कामको बाबजुद “बढ्‌दै अनि प्रबल हुँदै गयो” (प्रेषित १९:११-२२)

१३, १४. (क) यहोवाले पावललाई के गर्ने शक्‍ति दिनुभयो? (ख) स्केवाका छोराहरूले कुन गलत काम गरे? आज पनि चर्चका थुप्रै मानिसहरू कुन गलत काम गर्छन्‌?

१३ पावलले साक्षीकार्यमा उल्लेखनीय परिणामहरू प्राप्त गर्न सके किनभने यहोवाले तिनलाई “असामान्य शक्‍तिशाली कामहरू” गर्न सक्ने शक्‍ति दिनुभयो भनेर लुकाले लेखे। तिनले लगाएको लुगा र रुमालले बिरामीहरूलाई छुवाउँदा मात्र पनि तिनीहरू निको हुन्थे र प्रेतहरू निस्कन्थे। c (प्रेषि. १९:११, १२) सैतानको शक्‍तिमाथि भएको त्यस्तो जितले थुप्रैको ध्यान खिच्यो। तर सबैको प्रतिक्रिया सकारात्मक थिएन।

१४ पावलले गरेका चमत्कारहरूको नक्कल गर्दै “केही यहुदी ठाउँठाउँमा डुल्दै अनि प्रेतहरूलाई निकाल्दै हिँडिरहेका थिए।” कोही-कोही यहुदीले येसु र पावलको नाम लिएर प्रेतहरूलाई धपाउने प्रयास गरे। स्केवा नाम गरेको यहुदी मुख्य पुजारीका सात जना छोराले त्यसै गरिरहेका थिए भनेर लुकाले बताए। प्रेतले तिनीहरूलाई यसो भने: “म येसुलाई चिन्छु अनि पावललाई पनि चिन्छु तर तिमीहरू को हौ?” प्रेत बास गरेको त्यस मानिसले ती नक्कल गर्नेहरूलाई जनावरले झैँ झम्ट्यो र घाइते अवस्थामै तिनीहरू त्यहाँबाट नाङ्‌गै भागे। (प्रेषि. १९:१३-१६) “यहोवा परमेश्‍वरको वचनको” कत्ति ठूलो जित! यस घटनाबाट झूटा धर्म मान्‍ने ती मानिसहरूसित पावललाई दिइएको जस्तो शक्‍ति थिएन भनेर छर्लङ्‌गै भयो। आज पनि लाखौँ मानिस येसुको नाम मात्र लिए पुग्छ वा “ख्रिष्टियन” नाम धारण गरे पुग्छ भनेर गलत सोचाइ राख्छन्‌। तर बुबाको इच्छाअनुसार चल्नेहरूले मात्र भविष्यको साँचो आशा पाउँछन्‌ भनेर येसुले बताउनुभयो।—मत्ति ७:२१-२३.

१५. तन्त्रमन्त्र र त्यससित सम्बन्धित कुराहरूबाट अलग रहने सन्दर्भमा हामी कसरी एफिसीहरूको उदाहरणको अनुकरण गर्न सक्छौँ?

१५ स्केवाका छोराहरूको बेइज्जत भएकोले थुप्रै मानिसमा परमेश्‍वरको डर छायो। परिणामस्वरूप थुप्रै येसुको चेला बने र तिनीहरूले तन्त्रमन्त्र छोडे। एफिसीहरूको संस्कृतिमा जादुगरी र तन्त्रमन्त्रले बलियो जरा गाडेको थियो। मन्त्र जप्नु र बुटी लगाउनु त सामान्य थियो। मन्त्रहरू प्रायजसो लेखेर राखिएका हुन्थे। तन्त्रमन्त्रका पुस्तकहरू एकदमै महँगा हुन्थे र अहिलेको बजारभाउअनुसार लाखौँ पर्थ्यो। तैपनि एफिससका थुप्रै मानिसले जादुगरीसित सम्बन्धित आफ्ना पुस्तकहरू ल्याए अनि सबैसामु जलाए। d लुकाले यस्तो लेखे: “यसरी यहोवा परमेश्‍वरको वचन शक्‍तिशाली ढङ्‌गमा बढ्‌दै अनि प्रबल हुँदै गयो।” (प्रेषि. १९:१७-२०) झूट र प्रेतहरूको शक्‍तिमाथि सत्यको कत्ति ठूलो जित! ती वफादार मानिसहरूले हाम्रो लागि राम्रो उदाहरण बसाले। आज हामी पनि तन्त्रमन्त्रले चुर्लुम्म डुबेको संसारमा बाँचिरहेका छौँ। हामीसित तन्त्रमन्त्रसित सम्बन्धित सरसामान छन्‌ भने एफिससका ख्रिष्टियनहरूले जस्तै त्यसलाई तुरुन्तै नाश गर्नुपर्छ। जस्तोसुकै मोल चुकाउनुपरे तापनि त्यस्ता घृणित चलनहरू त्यागौँ।

“मानिसहरूबीच निकै खैलाबैला मच्चियो” (प्रेषित १९:२३-४१)

“साथीहरू हो, यो व्यापारले गर्दा हाम्रो कत्ति फलिफाप भइरहेको छ, त्यो त तपाईँहरूलाई थाहै छ।”​—प्रेषित १९:२५

१६, १७. (क) डेमेत्रियसले कसरी एफिससमा हुलदङ्‌गा सुरु गऱ्‍यो, बताउनुहोस्‌। (ख) एफिससका मानिसहरू धार्मिक कट्टर थिए भनेर कसरी देखियो?

१६ “‘त्यस मार्ग’-लाई लिएर मानिसहरूबीच निकै खैलाबैला मच्चियो” भनेर लुकाले लेखेको कुराबाट सैतानले चलाउने एउटा युक्‍तिबारे हामी थाह पाउन सक्छौँ। तिनले वास्तविकतालाई बढाइचढाइ गरिरहेका थिएनन्‌। e (प्रेषि. १९:२३) डेमेत्रियस नाम गरेका एक जना सुनारले समस्या खडा गऱ्‍यो। मूर्तिहरू बेचेर सबैको फलिफाप भइरहेको छ भनेर डेमेत्रियसले अरू कारिगरको ध्यान खिच्यो। त्यसपछि ख्रिष्टियनहरूले मूर्तिहरूको उपासना नगर्ने भएकोले पावलले सुनाइरहेको सुसमाचारको सन्देश आफ्नो व्यापारको लागि घाटाको कुरा हो भनेर उसले बतायो। उसले आफ्ना श्रोताहरूलाई एफिससको नागरिक हुनु गौरवको कुरा हो भनेर बताउनुका साथै तिनीहरूको देशभक्‍तिको भावलाई पनि जगायो। तिनीहरूको देवी अर्तिमिस र त्यस देवीको मन्दिरको “सान घट्‌ने . . . खतरा देखिएको छ” भनेर उसले चेतावनी दियो।—प्रेषि. १९:२४-२७.

१७ डेमेत्रियसको भाषणले तिनले चाहेजस्तै परिणाम ल्यायो। सुनारहरू “एफिसीहरूकी महान्‌ देवी अर्तिमिसको जय!” भन्दै नारा लगाउन थाले। पूरै सहर गोलमालमा परेको थियो। यस अध्यायको सुरुमा बताइएझैँ भीड उग्र हुन थाल्यो। f पावल आत्मत्यागी भएकोले तिनी रङ्‌गशालामा गएर भीडसामु आफ्नो कुरा राख्न चाहन्थे तर चेलाहरूले पावलको सुरक्षाको लागि तिनलाई रोके। अलेक्जेन्डर नाम गरेका मानिस भीडसामु उभिएर बोल्न खोजे। आफू यहुदी भएकोले तिनी यहुदीहरू र ख्रिष्टियनहरूबीच कस्तो भिन्‍नता छ भनेर बताउन उत्सुक थिए होलान्‌। तर त्यस भीडसामु तिनको त्यस्तो प्रयास बेकार हुने थियो। जब मानिसहरूले तिनी यहुदी रहेछन्‌ भनेर थाह पाए, तब तिनलाई बोल्ने मौका नै नदिई ठूलो सोरमा सबैले “एफिसीहरूकी महान्‌ देवी अर्तिमिसको जय!” भन्दै दुई घण्टासम्म नारा लगाए। धार्मिक कट्टरपन आज पनि त्यस्तै छ, परिवर्तन भएको छैन। यसले मानिसहरूलाई अझै पनि एकोहोरो बनाउँछ।—प्रेषि. १९:२८-३४.

१८, १९. (क) नगर-प्रमुखले एफिससको भीडलाई कसरी शान्त पारे? (ख) समय-समयमा अख्तियारवालाहरूले कसरी यहोवाका जनहरूको सुरक्षा गरेका छन्‌? त्यस्तो सुरक्षा पाउन हामी के गर्न सक्छौँ?

१८ अन्तमा नगर-प्रमुखले बल्लतल्ल भीडलाई शान्त पारे। पावल र तिनका साथीहरूले अर्तिमिसको मन्दिरविरुद्धमा कुनै अपराध गरेका छैनन्‌ र ख्रिष्टियनहरूको कारण तिनीहरूको मन्दिर र देवीलाई कुनै खतरा छैन भनेर भीडलाई यी बुद्धिमान्‌ अख्तियारवालाले आश्‍वस्त पारे। यस्ता विवादहरू उठाउने उचित तरिका छन्‌ भनेर पनि तिनले बताए। यसरी नियमविपरीत र अनियन्त्रित ढङ्‌गमा हुलदङ्‌गा गर्दा तिनीहरूले रोमी कानुनअनुसार दण्ड भोग्न सक्छन्‌ भनेर बताएपछि तिनले भीडलाई पठाइदिए। तिनको तार्किक र व्यावहारिक कुरा सुनेपछि आवेशमा आएको भीड तुरुन्तै शान्त भयो।—प्रेषि. १९:३५-४१.

१९ सुझबुझ भएको यस्तो अख्तियारवालाले येसुका चेलाहरूको सुरक्षाको लागि कदम चालेको यो पहिलो पटक थिएन न त यो अन्तिम पटक नै हुने थियो। पछि प्रेषित युहन्‍नाले एउटा दर्शनमा अन्तको दिनमा स्थिर देखिने सरकार वा न्यायालयले (यसलाई दर्शनमा “पृथ्वी” भनिएको छ) येसुका चेलाहरूमाथि सैतानले ल्याउने भीषण सतावटको बाढीलाई निलेको देखे। (प्रका. १२:१५, १६) यो कुरा साँचो साबित भएको छ। थुप्रै चोटि निष्पक्ष न्यायाधीशहरूले उपासनाको लागि एक ठाउँमा भेला हुन पाउने र अरूलाई सुसमाचार सुनाउन पाउने यहोवाका साक्षीहरूको अधिकारलाई रक्षा गरेका छन्‌। वास्तवमा यस्ता जितहरूमा हाम्रो आचरणको पनि भूमिका छ। पावलको आचरणले गर्दा एफिससका केही सरकारी अख्तियारवालाहरू तिनीप्रति मित्रभाव राख्थे। त्यसैले तिनीहरू पावल सुरक्षित भएको चाहन्थे। (प्रेषि. १९:३१) हाम्रो इमानदार अनि आदरपूर्ण आचरणले हामीले भेट्‌ने मानिसहरूको मनमा पनि राम्रो छाप पारोस्‌। हाम्रो यस्तो आचरणले थुप्रै राम्रो नतिजा ल्याउन सक्छ।

२०. (क) प्रथम शताब्दीमा र अहिले पनि यहोवाको वचन प्रबल हुँदै गएको देख्न पाउँदा तपाईँलाई कस्तो महसुस हुन्छ? (ख) हाम्रो समयमा यहोवाको जितको लागि तपाईँले के गर्ने अठोट गर्नुभएको छ?

२० प्रथम शताब्दीमा “यहोवा परमेश्‍वरको वचन शक्‍तिशाली ढङ्‌गमा बढ्‌दै अनि प्रबल हुँदै” गएको थाह पाउनु रोमाञ्चकारी छैन र? आज हाम्रो समयमा पनि यस्ता जितहरूमा यहोवाको हात देख्न पाउनु साँच्चै रोमाञ्चकारी छ। यस्ता जितहरू हासिल गर्न के तपाईँ पनि आफ्नो तर्फबाट केही न केही योगदान दिन चाहनुहुन्छ? त्यसो हो भने हामीले छलफल गरेको उदाहरणहरूबाट सिक्नुहोस्‌। नम्र हुनुहोस्‌, यहोवाको सङ्‌गठनसँगसँगै हिँड्‌नुहोस्‌, परिश्रमी भइरहनुहोस्‌, तन्त्रमन्त्रबाट अलग बस्नुहोस्‌ अनि आफ्नो इमानदार र आदरपूर्ण व्यवहारबाट राम्रो साक्षी दिन सक्दो प्रयास गर्नुहोस्‌।

a पृष्ठ १६१ मा भएको “ एफिसस—एसियाको राजधानी” शीर्षकको पेटी हेर्नुहोस्‌।

b एफिससमै हुँदा पावलले १ कोरिन्थी-को किताब पनि लेखे।

c पसिना बगेर आँखामा नपरोस्‌ भनेर पावलले निधारमा रुमाल बाँधेका हुन सक्छन्‌। तिनले लगाइरहेको लुगा वास्तवमा काम गर्दा लुगा फोहोर हुन नदिन लगाइने एप्रोन थियो। त्यतिबेला पावलले एप्रोन लगाइरहेका थिए भन्‍ने कुराले तिनी आफ्नो फुर्सदको समयमा सायद बिहान सबेरै पाल बनाउने काम गर्थे भनेर बुझिन्छ।—प्रेषि. २०:३४, ३५.

d ती पुस्तकहरूको मूल्य ५० हजार चाँदीको टुक्रा थियो भनेर लुकाले बताए। यदि तिनले दिनारसँग तुलना गरेर भनेका हुन्‌ भने एक जना कामदारलाई हप्ताको सातै दिन काम गरेर त्यति चाँदीको टुक्रा कमाउन ५० हजार दिन लाग्थ्यो अर्थात्‌ लगभग १३७ वर्ष।

e “हाम्रो ज्यानको समेत ठेगान थिएन” भनेर पावलले कोरिन्थीहरूलाई बताउँदा तिनले यही घटनालाई सङ्‌केत गरिरहेका थिए भनेर कोही-कोही बताउँछन्‌। (२ कोरि. १:८) तर तिनले अझै डरलाग्दो घटना सम्झेका हुन सक्छन्‌। “एफिससमा जङ्‌गली जनावरहरूसित लडेको” कुरा लेख्दा पावलले रङ्‌गशालामा डरलाग्दो जनावरसित लडेको वा मानिसहरूबाट घोर विरोधको सामना गर्नुपरेको कुराबारे बताइरहेका पनि हुन सक्छन्‌। (१ कोरि. १५:३२) यसलाई शाब्दिक र लाक्षणिक दुवै अर्थमा लिन सकिन्छ।

f कारिगरहरूको यस्ता सङ्‌घ वा युनियन एकदमै शक्‍तिशाली हुन्थ्यो। उदाहरणको लागि, यो घटनाको लगभग १०० वर्षपछि रोटी पकाएर बेच्नेहरूले एफिससमा यस्तै हुलदङ्‌गा मच्चाएका थिए।