अध्याय २२
“यहोवा परमेश्वरको इच्छाअनुसारै होस्”
परमेश्वरको इच्छाअनुसारै गर्ने सङ्कल्प गर्दै पावल यरुसलेम जान्छन्
प्रेषित २१:१-१७ मा आधारित
१-४. पावल किन यरुसलेम जाँदै छन्? त्यहाँ तिनले के-कस्तो परिस्थिति सामना गर्नुपर्ने हुन सक्छ?
पावल र लुका मिलेटसबाट बिदा हुँदा सबै भावुक हुन्छन्। आफूले औधी माया गर्ने एफिससका एल्डरहरूबाट बिदा हुनु तिनीहरूको लागि कत्ति गाह्रो छ! ती दुई मिसनरी जहाजको खुला ठाउँमा उभिन्छन्। यात्राको लागि चाहिने सबै सामान पोका पारिएको छ। तिनीहरूले खाँचोमा परेका यहुदियाका ख्रिष्टियनहरूको लागि सङ्कलन गरेको चन्दा पनि बोकेका छन्। यो चन्दा त्यहाँका भाइहरूलाई जिम्मा दिन तिनीहरू आतुर छन्।
२ मन्द-मन्द हावा चलिरहेको छ र कल्याङकुलुङ हल्लाले भरिएको बन्दरगाहबाट जहाज चल्न थाल्छ। यी दुई पुरुष र तिनीहरूका साथमा हिँडेका सात जना सहयात्री समुद्र किनारमा मलिन अनुहार लगाएर उभिरहेका भाइहरूलाई एकटकले हेर्छन्। (प्रेषि. २०:४, १४, १५) आफ्ना साथीहरूलाई देखुन्जेल ती यात्रुहरू बिदाइको हात हल्लाइरहन्छन्।
३ पावलले एफिससका एल्डरहरूसित मिलेर काम गरेको झन्डै तीन वर्ष भइसक्यो। तर अहिले पवित्र शक्तिको निर्देशन पाएर तिनी यरुसलेम जान लागेका छन्। आफूले के-कस्तो परिस्थिति सामना गर्नुपर्छ भनेर तिनलाई केही हदसम्म थाह छ। यसभन्दा अघि तिनले ती एल्डरहरूलाई यसो भनेका थिए: “पवित्र शक्तिको निर्देशनबमोजिम म यरुसलेम जाँदै छु तर त्यहाँ मलाई के हुने हो, त्यो मलाई थाह छैन। मलाई यति मात्र थाह छ, कैद र सङ्कष्टले मेरो बाटो ढुकिरहेको छ भनेर पवित्र शक्तिले सहरैपिच्छे मलाई बारम्बार चेतावनी दिने गर्छ।” (प्रेषि. २०:२२, २३) खतराको बाबजुद पावल “पवित्र शक्तिको निर्देशनबमोजिम” यरुसलेम जान इच्छुक छन्। त्यसो गर्नुलाई तिनी आफ्नो कर्तव्य पनि ठान्छन्। तिनले आफ्नो जीवनलाई बहुमूल्य ठानेका छन् तर परमेश्वरको इच्छाअनुसार गर्नु तिनको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा हो।
४ के तपाईँ पनि त्यस्तै महसुस गर्नुहुन्छ? यहोवालाई आफ्नो जीवन समर्पण गर्दा हामीले उहाँको इच्छाअनुसार गर्नु नै आफ्नो जीवनको सबैभन्दा महत्त्वपूर्ण कुरा हो भनेर वाचा गरेका छौँ। हामी पनि प्रेषित पावलको विश्वासी उदाहरणबाट पाठ सिकौँ।
प्रेषित २१:१-३)
“साइप्रस टापु” पार गरेर (५. पावल र तिनका साथीहरू कुन बाटो भएर टायर गए?
५ पावल र तिनका साथीहरू चढेको जहाज “सीधै” गयो। सीधै गयो भन्नुको अर्थ तिनीहरू चढेको जहाज यताउता नहुर्री मन्द हावाको बहाबमा त्यही दिन कोस पुग्यो। (प्रेषि. २१:१) रोडस र पटारा लाग्नुअघि तिनीहरूले रात त्यहीँ काटेजस्तो देखिन्छ। एसिया माइनरको दक्षिणी तट पटारामा भाइहरू मालमत्ता लैजाने ठूलो जहाज चढे र त्यहाँबाट तिनीहरू सीधै फोनिसियाको टायरमा पुगे। यात्राको दौडान तिनीहरूले “साइप्रस टापु” देखे र “त्यसलाई देब्रेतिर पार्दै” लागे। (प्रेषि. २१:३) प्रेषितको पुस्तकका लेखक लुकाले किन यो विवरण समावेश गरे?
६. (क) साइप्रस टापु देखेर पावलले किन प्रोत्साहन पाएको हुनुपर्छ? (ख) यहोवाले तपाईँलाई दिनुभएको आशिष् र मदतबारे सम्झँदा तपाईँ कस्तो निष्कर्षमा पुग्नुहुन्छ?
६ सायद पावलले साइप्रस टापुलाई देखाउँदै आफ्नो अनुभव सुनाएका हुन सक्छन्। झन्डै नौ वर्षअघि आफ्नो पहिलो मिसनरी यात्रामा बर्णाबास र मर्कुस नाम गरेका युहन्नासँगै गएका पावलले त्यहाँ इलुमासलाई भेटेका थिए। उसले साक्षीकार्यको विरोध गरेको थियो। (प्रेषि. १३:४-१२) त्यो टापु देखेर अनि त्यहाँ भएको घटनालाई सम्झेर पावलले अब तिनको बाटो ढुकिरहेको सङ्कष्टको सामना गर्न प्रोत्साहन र बल पाएको हुनुपर्छ। परमेश्वरले हामीलाई कसरी आशिष् दिनुभएको छ र परीक्षाहरू सहन कसरी मदत दिनुभएको छ भनेर सम्झँदा हामी पनि लाभ उठाउन सक्छौँ। हामी प्रत्येकले दाउदले जस्तै यसो भन्न सक्छौँ: “धर्मी मानिसले धेरै दुःखकष्ट झेल्नुपर्छ तर यहोवाले उसलाई ती सबैबाट बचाउनुहुन्छ।”—भज. ३४:१९.
‘हामीले चेलाहरूलाई खोज्यौँ अनि तिनीहरूलाई भेट्टायौँ’ (प्रेषित २१:४-९)
७. टायर पुगेपछि पावल र तिनका साथीहरूले के गरे?
७ ख्रिष्टियनहरूसित सङ्गत गर्नु एकदमै महत्त्वपूर्ण छ भनेर पावलले बुझेका थिए। तिनी भाइबहिनीसित सङ्गत गर्न उत्सुक थिए। लुकाले टायर पुगेपछि ‘हामीले चेलाहरूलाई खोज्यौँ अनि तिनीहरूलाई भेट्टायौँ’ भनी लेखे। (प्रेषि. २१:४) टायरमा भाइबहिनीहरू छन् भन्ने थाह भएकोले तिनीहरूले चेलाहरूलाई खोजे र सायद तिनीहरूसँगै बसे। संसारको जुनसुकै कुनामा गए पनि हामी मायालु भाइबहिनीहरू भेट्टाउन सक्छौँ। साँचो ख्रिष्टियन हुँदा पाइने कत्ति ठूलो आशिष्! यहोवालाई प्रेम गर्ने र उहाँको उपासना गर्ने मानिसका साथीहरू संसारभरि छन्।
८. प्रेषित २१:४ को अर्थ के हो?
८ तिनीहरू टायरमा सात दिन बसे। त्यस दौडान घटेको एउटा अचम्मलाग्दो घटनाबारे लुकाले यस्तो लेखे: “पवित्र शक्तिको मदत पाएर [टायरका भाइहरूले] पावललाई यरुसलेममा पाइला नटेक्नू भनी बारम्बार भने।” (प्रेषि. २१:४) कतै यहोवाले पावललाई अन्तै पठाउन लाग्नुभएको त होइन? के उहाँले पावललाई यरुसलेम नजान भनिरहनुभएको थियो? त्यसो त होइन। पवित्र शक्तिले पावललाई यरुसलेम जानदेखि रोक्न खोजेको नभई तिनलाई यरुसलेममा सताइनेछ भन्ने कुराको सङ्केत दिन खोज्दै थियो। टायरका भाइहरू पावललाई यरुसलेममा सताइनेछ भन्ने निष्कर्षमा पुग्नु सही थियो। पवित्र शक्तिको मदत पाएर तिनीहरू यो निष्कर्षमा पुगेका थिए। त्यसकारण चिन्ता गर्दै तिनीहरूले पावललाई यरुसलेम नजानुहोस् भनेर बिन्ती गरे। पावलमाथि आइपर्न लागेको खतराबाट जोगाउन चाहनु त स्वाभाविकै हो। तैपनि यहोवाको इच्छाअनुसारै गर्न कटिबद्ध पावल यरुसलेमतर्फ लागे।—प्रेषि. २१:१२.
९, १०. (क) टायरका भाइहरूको चिन्ता सुनेपछि पावलले के सम्झेका हुन सक्छन्? (ख) आज धेरै मानिसको सोचाइ कस्तो छ? (ग) त्यस्तो सोचाइ येसुको भनाइसित किन मेल खाँदैन?
९ टायरका भाइहरूको त्यस्तो चिन्ता सुनेपछि पावलले येसुबारे एउटा कुरा सम्झेका हुन सक्छन्। येसुले आफू यरुसलेम जानुपर्छ, धेरै दुःख भोग्नुपर्छ र मारिनुपर्छ भनेर चेलाहरूलाई बताउँदा चेलाहरूले उहाँलाई पनि रोक्न खोजेका थिए। भावनामा बहेर पत्रुसले येसुलाई यसो भनेका थिए: “प्रभु, आफ्नो विषयमा यस्तो अनिष्ट कुरा नगर्नुहोस्। तपाईँलाई कुनै हालतमा यस्तो हुनेछैन।” येसुले यस्तो जवाफ दिनुभएको थियो: “ए सैतान, यहाँबाट गइहाल! तिमी मेरो लागि ठेस लाग्ने कारण रहेछौ किनकि तिम्रो सोचाइ परमेश्वरको होइन तर मानिसहरूको हो।” (मत्ति १६:२१-२३) परमेश्वरले सुम्पनुभएको आत्मत्यागी काम पूरा गरेरै छोड्न येसु दृढ हुनुहुन्थ्यो। पावलले पनि त्यस्तै महसुस गरे। टायरका भाइहरूको मनसाय पनि पत्रुसको जस्तै असल थियो। तर तिनीहरूले यस विषयमा यहोवाको इच्छा बुझ्न सकेनन्।
१० आफैलाई बिचरा ठान्नु र सही नभए पनि सजिलो बाटो रोज्नु आज थुप्रै मानिसहरूलाई राम्रै लाग्छ। आजकाल मानिसहरू सजिलो धर्म रोज्छन् र यसको सदस्य बन्दा कुनै कडा नियम पालन गर्नु नपरोस् भन्ने चाहन्छन्। येसुले भने बिलकुलै फरक सल्लाह दिनुभयो। उहाँले चेलाहरूलाई भन्नुभयो: “यदि कोही मेरो पछि आउन चाहन्छ भने उसले आफूलाई इन्कार गरोस्, आफ्नो यातनाको खम्बा उठाओस् र निरन्तर मेरो पछि लागोस्।” (मत्ति १६:२४) येसुको पछि लाग्नु बुद्धिमानी र सही हो तर यसो गर्न सजिलो भने हुँदैन।
११. टायरका भाइबहिनीहरूले पावललाई कसरी माया देखाए र प्रोत्साहन दिए?
११ पावल, लुका र तिनका साथीहरूले आफ्नो यात्रा अघि बढाए। बाइबलमा मन छुने तरिकामा तिनीहरूको बिदाइको बयान गरिएको छ। त्यसबाट टायरका भाइबहिनीहरूले पावललाई कत्ति माया गर्थे र साक्षीकार्यमा तिनलाई कत्ति साथ दिए भन्ने कुरा बुझिन्छ। पुरुषहरू, महिलाहरू र केटाकेटीहरूसमेत पावल र तिनका साथीहरूलाई बिदा गर्न समुद्र किनारसम्म आए। तिनीहरू सबैले घुँडा टेकेर सँगै प्रार्थना गरे र एकअर्कालाई बिदाइ गरे। त्यसपछि पावल, लुका र तिनका साथीहरू टायरबाट समुद्री यात्रा गर्दै टोलेमाइस पुगे। तिनीहरूले त्यहाँ भाइहरूलाई भेटेपछि एक दिन तिनीहरूसितै बसे।—प्रेषि. २१:५-७.
१२, १३. (क) फिलिपले वर्षौँदेखि यहोवाको सेवामा कस्तो रेकर्ड कायम राखेका छन्? (ख) आजका ख्रिष्टियन बुबाहरूको लागि फिलिप किन राम्रो उदाहरण हुन्?
१२ त्यसपछि पावल र तिनका साथीहरू सिजरिया पुगे भनेर लुकाले लेखे। त्यहाँ तिनीहरू “फिलिप नाम गरेका प्रचारकको घरमा” गए। a (प्रेषि. २१:८) फिलिपलाई भेट्दा तिनीहरू पक्कै पनि खुसी भएको हुनुपर्छ। लगभग २० वर्षअघि यरुसलेममा भर्खरै स्थापना भएको ख्रिष्टियन मण्डलीमा खाना बाँड्ने कामको हेरचाह गर्न प्रेषितहरूले फिलिपलाई नियुक्त गरेका थिए। फिलिप जोसिला प्रचारकको रूपमा लामो समयदेखि सेवा गर्दै थिए। सम्झनुहोस् त, सतावट आएपछि चेलाहरू तितरबितर हुँदा फिलिपले सामरिया गएर सुसमाचार सुनाउन थालेका थिए। पछि तिनले इथियोपियाली नपुंसकलाई सुसमाचार सुनाएर बप्तिस्मा गराए। (प्रेषि. ६:२-६; ८:४-१३, २६-३८) वफादार सेवाको कस्तो राम्रो रेकर्ड!
१३ साक्षीकार्यमा फिलिपको जोस सेलाएको थिएन। लुकाले तिनलाई “प्रचारक” भनेर बताएका छन्। यसबाट अहिले तिनी सिजरियामा बसेर सुसमाचार सुनाउन व्यस्त थिए भनेर बुझिन्छ। त्यतिबेलासम्म तिनका चार जना छोरी भइसकेका थिए र तिनीहरूले भविष्यवाणी गर्थे भनेर लुकाको विवरणले बताएको छ। ती छोरीहरूले पनि बुबाकै पाइला पछ्याए। b (प्रेषि. २१:९) यहोवासित आफ्नो परिवारको सम्बन्ध बलियो बनाउन फिलिपले पक्कै पनि धेरै मेहनत गरेको हुनुपर्छ। साक्षीकार्यमा अगुवाइ लिएर र त्यस कामप्रति प्रेम बढाउन आफ्ना छोराछोरीलाई मदत गरेर आजका ख्रिष्टियन बुबाहरूले पनि फिलिपको उदाहरण पछ्याउनुपर्छ।
१४. (क) पावलले भाइबहिनीहरूलाई भेट्दा कस्तो नतिजा निस्क्यो? (ख) आज पनि हामी के-कस्ता अवसर पाउन सक्छौँ?
१४ पावल जहाँ जान्थे, त्यहाँ तिनी भाइबहिनीहरूलाई खोज्थे र तिनीहरूसँगै समय बिताउँथे। निश्चय पनि ती ठाउँका दयालु भाइबहिनीहरू यी मिसनरी र तिनका साथीहरूलाई आफ्नो घरमा स्वागत गर्न इच्छुक थिए। त्यस्तो भेटघाटले पक्कै पनि “एकअर्कालाई प्रोत्साहन दिन” सक्यो। (रोमी १:११, १२) आज पनि हामी त्यस्तै अवसरहरू पाउँछौँ। हाम्रो घर जति नै साधारण खालको किन नहोस्, क्षेत्रीय निरीक्षकहरूलाई बास दिएर हामी थुप्रै आशिष् पाउन सक्छौँ।—रोमी १२:१३.
“म . . . मर्न समेत तयार छु” (प्रेषित २१:१०-१४)
१५, १६. अगाबसले कस्तो सन्देश सुनाए? त्यो सन्देशले त्यहाँ भएका मानिसहरूमा कस्तो प्रभाव पाऱ्यो?
१५ पावल फिलिपको घरमा बसेको बेला सबैले आदर गर्ने एक जना व्यक्ति आइपुगे। तिनी अगाबस थिए। अगाबस भविष्यवक्ता हुन् भनेर फिलिपको घरमा जम्मा भएका सबैलाई थाह थियो। तिनले क्लौडियसको शासनकालमा ठूलो अनिकाल पर्ने कुराको भविष्यवाणी गरेका थिए। (प्रेषि. ११:२७, २८) छक्क पर्दै तिनीहरूले यस्तो सोचे होलान्: ‘अगाबस किन आएका होलान्? तिनले के सन्देश ल्याएका छन्?’ सबैलाई यस्तो खुलदुली लागिरहेको बेला तिनी पावलको पटुका लिन्छन् र आफ्नै हातखुट्टा बाँध्छन्। त्यसपछि तिनी भविष्यवाणी गर्छन्। तिनको सन्देश गम्भीर छ: “पवित्र शक्ति यसो भन्छ, ‘यो पटुका जसको हो, उसलाई यरुसलेममा यहुदीहरूले यसरी नै बाँध्नेछन् र अन्यजातिका मानिसहरूको हातमा सुम्पिदिनेछन्।’”—प्रेषि. २१:११.
१६ त्यस भविष्यवाणीले पावल यरुसलेम जानेछन् भन्ने कुरा पक्का गऱ्यो। तिनले यरुसलेममा यहुदीहरूलाई सुसमाचार सुनाएको कारण तिनलाई “अन्यजातिका मानिसहरूको हातमा” सुम्पिइनेछ भनेर पनि त्यो भविष्यवाणीले देखायो। उक्त भविष्यवाणीले त्यहाँ उपस्थित सबै बेचैन भए। लुकाले यस्तो लेखे: “यो सुनेर हामीले र त्यहाँ भएकाहरूले पावललाई यरुसलेम नजान बिन्ती गर्न थाल्यौँ। तर पावलले यस्तो जवाफ दिए: ‘यसरी रुवाबासी गरेर तपाईँहरू किन मेरो अठोटलाई कमजोर बनाउन खोज्नुहुन्छ? यो कुरा थाह पाउनुहोस्, प्रभु येसुको नामको खातिर म यरुसलेममा कैदी हुन मात्र होइन तर मर्न समेत तयार छु।’”—प्रेषि. २१:१२, १३.
१७, १८. परमेश्वरको इच्छाअनुसार गर्न दृढ छु भनेर पावलले कसरी देखाए? त्यतिबेला भाइहरूले कस्तो प्रतिक्रिया देखाए?
१७ यो दृश्य कल्पना गर्नुहोस्। लुकालगायत त्यहाँ भएका भाइबहिनीहरूले पावललाई यरुसलेम नजान बिन्ती गरिरहेका छन्। अरू कोही-कोहीचाहिँ रोइरहेका छन्। तिनीहरूले गरेको त्यस्तो मायालु चिन्ताले आफ्नो “अठोटलाई कमजोर” बनाएको छ भनेर पावलले दयालु हुँदै बताउँछन्। कुनै-कुनै बाइबलमा यहाँ प्रयोग गरिएको ग्रीक वाक्यांशलाई “मेरो मनलाई किन छियाछिया पार्छौ?” भनेर पनि अनुवाद गरिएको छ। पावल अझै दृढ छन्। टायरमा जस्तै अहिले पनि पावलले आफूलाई भाइबहिनीको बिन्ती र आँसुले कमजोर बनाउन दिनेछैनन्। बरु आफू किन जानै पर्छ भनेर तिनी बताउँछन्। कस्तो साहस र कटिबद्धता! येसुजस्तै पावल पनि यरुसलेम जान दृढ थिए। (हिब्रू १२:२) पावल सहिद हुन चाहेका त थिएनन्। तर सहिद नै हुनुपरे तापनि येसुको चेला भएर मर्नुलाई तिनले सम्मानको कुरा ठानेका थिए।
१८ तब भाइहरूले कस्तो प्रतिक्रिया देखाए? तिनीहरूले पावलको निर्णयलाई आदर गरे। हामी यस्तो लेखिएको पाउँछौँ: “पावललाई मनाउन नसकेपछि ‘यहोवा परमेश्वरको इच्छाअनुसारै होस्’ भन्दै हामी चुप लाग्यौँ।” (प्रेषि. २१:१४) पावललाई यरुसलेम नजानुहोस् भनेर बिन्ती गर्ने भाइहरूले आफ्नै कुरामा जिद्दी गरिरहेनन्। तिनीहरूले पावलको कुरा सुने र त्यो कुरा मानिलिए। गाह्रो हुने भए तापनि यो परमेश्वरकै इच्छाअनुसार हो भनेर तिनीहरूले बुझे र स्विकारे। पावलले यहाँबाट यस्तो बाटो रोजे, जसले तिनलाई अन्ततः मृत्युमा पुऱ्याउने थियो। पावललाई माया गर्नेहरूले तिनलाई रोक्न नखोजेका भए तिनलाई त्यत्ति गाह्रो हुने थिएन।
१९. पावलको घटनाबाट हामी कस्तो महत्त्वपूर्ण पाठ सिक्न सक्छौँ?
१९ पावलको घटनाबाट हामी महत्त्वपूर्ण पाठ सिक्न सक्छौँ: परमेश्वरको सेवामा आत्मत्यागी मनोभाव देखाउने भाइबहिनीहरूलाई हामी रोक्दैनौँ। हामी यो पाठ जीवन र मरणको कुरामा मात्र होइन, अरू थुप्रै अवस्थामा पनि लागू गर्न सक्छौँ। जस्तै: यहोवाको सेवा गर्न छोराछोरीले घर छोडेर टाढा जाने निर्णय गर्दा थुप्रै ख्रिष्टियन बुबाआमालाई सजिलो हुँदैन। तैपनि टाढा गएर यहोवाको सेवा गर्नदेखि तिनीहरू छोराछोरीलाई रोक्दैनन्। बेलायतकी फिलिसलाई आफ्नी एक्ली छोरीले अफ्रिकामा मिसनरी सेवा गर्ने निर्णय गर्दा कस्तो लाग्यो? फिलिस यसो भन्छिन्: “त्यतिबेला मलाई भावनात्मक रूपमा निकै गाह्रो भयो। छोरी त्यत्ति टाढा जाँदै छिन् भनेर थाह पाउँदा सहनै गाह्रो भयो। मलाई दुःख लाग्यो तर मैले गर्व पनि गर्न सकेँ। यस विषयमा मैले धेरै प्रार्थना गरेँ। तर यो मेरी छोरीको निर्णय थियो, उसको निर्णयमा मैले रोकटोक गरिनँ। परमेश्वरको राज्यसम्बन्धी कामकुरालाई सधैँ पहिलो स्थान दिन उसलाई मैले नै सिकाएकी हो नि! मेरी छोरी विगत ३० वर्षदेखि विदेशी भूमिमा सेवा गर्दै छे। उसको विश्वासी सेवाको लागि म यहोवालाई हरेक दिन धन्यवाद चढाउँछु।” आत्मत्यागी मनोभाव देखाउने भाइबहिनीलाई प्रोत्साहन दिनु कत्ति असल कुरा!
प्रेषित २१:१५-१७)
“भाइहरूले खुसीसाथ हामीलाई स्वागत गरे” (२०, २१. पावल ख्रिष्टियन भाइबहिनीहरूसितै रहन चाहन्थे भनेर हामी कसरी भन्न सक्छौँ? पावलले किन त्यस्तो चाहना राखे?
२० यात्राको तयारी भयो र पावलसँगै तिनका सहयात्रीहरूले यात्रा थाले। यसरी ती सहयात्रीहरूले पावललाई तनमनले साथ दिएको कुरा देखाए। यरुसलेमसम्म यात्रा गर्दा हरेक पटक पावल र तिनका सहयात्रीहरूले भाइबहिनीहरूलाई खोजे र सङ्गति गरे। टायरमा तिनीहरूले चेलाहरूलाई भेट्टाए र सात दिनसम्म सँगै बसे। टोलेमाइसमा तिनीहरूले भाइबहिनीहरूलाई अभिवादन गरे र एक दिन तिनीहरूसँगै बिताए। सिजरिया पुग्दा तिनीहरू फिलिपको घरमा थुप्रै दिन बसे। त्यसपछि सिजरियाबाट केही चेलाहरू पावल र तिनका सहयात्रीसँगै यरुसलेम गए। तिनीहरूलाई यरुसलेममा पुराना चेला मनासोनले अतिथि-सत्कार गरे। यरुसलेम पुगेपछिको कुराबारे लुकाले यस्तो लेखे: “भाइहरूले खुसीसाथ हामीलाई स्वागत गरे।”—प्रेषि. २१:१७.
२१ कुरा प्रस्ट छ, पावल भाइबहिनीहरूसँगै रहन चाहन्थे। अहिले हामीले भाइबहिनीबाट प्रोत्साहन पाएझैँ पावलले पनि प्रोत्साहन पाए। आफूलाई मार्न खोज्ने विरोधीहरूको क्रोधको सामना गर्नुपर्दा पक्कै पनि भाइबहिनीबाट पाएको त्यही प्रोत्साहनबाट पावलले बल पाए।
a पृष्ठ १७४ मा भएको “ सिजरिया—रोमी प्रान्त यहुदियाको राजधानी” शीर्षकको पेटी हेर्नुहोस्।
b “ के स्त्रीहरू पनि मण्डलीको सेवक हुन सक्छन्?” शीर्षकको पेटी हेर्नुहोस्।