सीधै सामग्रीमा जाने

शान्तिमय नयाँ संसारमा जीवन

शान्तिमय नयाँ संसारमा जीवन

शान्तिमय नयाँ संसारमा जीवन

यो सानो पुस्तिकामा दिइएको दृश्‍य हेर्दा तपाईंलाई कस्तो लाग्छ? त्यहाँ चित्रित शान्ति, आनन्द र सुखको निम्ति के तपाईंको हृदय उत्सुक छैन? अवश्‍य हुनुपर्छ। तर पृथ्वीमा यस प्रकारको वातावरण एक दिन हुनेछ भनी विश्‍वास गर्नु के एउटा सपना अथवा कल्पना मात्र होइन र?

हो, धेरैको विचारमा यो एउटा सपना मात्र हो। किनभने आजका वास्तविकताहरू त युद्ध, अपराध, भोक, रोग, बुढेसकाल हुन्‌। भए तापनि, हाम्रो निम्ति आशा छ। भविष्यको विषयमा हामीलाई बाइबलले यसो भन्दछ: “उहाँको प्रतिज्ञा बमोजिम हामी नयाँ स्वर्ग र नयाँ पृथ्वीको बाटो हेर्छौं, जसमा धार्मिकताले बास गर्छ।”—२ पत्रुस ३:१३; यशैया ६५:१७.

यी “नयाँ स्वर्ग” र “नयाँ पृथ्वीको” अर्थ बाइबलको शिक्षाअनुसार प्राकृतिक स्वर्ग अथवा पृथ्वी होइन। हाम्रो प्राकृतिक पृथ्वी र स्वर्ग ता सिद्ध, खोटरहित सृष्टि भएका थिए। यिनीहरू सदा रहनेछन्‌। (भजन ८९:३६, ३७; १०४:५) “नयाँ पृथ्वीको” अर्थ पृथ्वीमा बास गर्ने मानिसहरूको एउटा धार्मिक समाज हो। “नयाँ स्वर्गको” अर्थ एउटा सिद्ध स्वर्गीय राज्य अथवा सरकार हो जसले मानिसहरूको त्यो पार्थिव समाजमाथि राज्य गर्नेछ। तर के यस्तो एउटा “नयाँ पृथ्वी” अथवा वैभवशाली नयाँ संसार सम्भव छ भनी विश्‍वास गर्नु उचित होला र? किन नहुनु?

पृथ्वीको निम्ति यो उत्तम वातावरण नै परमेश्‍वरको प्रथम उद्देश्‍य थियो। उहाँले प्रथम मानव जोडीलाई अदनको पार्थिव प्रमोदवनमा राख्नुभयो। तिनीहरूलाई यो सुन्दर काम पनि सुम्पनुभयो: “फल्दै-फुल्दै, वृद्धि हुँदै, पृथ्वीमा भरिंदै र त्यसलाई आफ्नो वशमा पार्दै जाओ।” (उत्पत्ति १:२८) हो, तिनीहरूले सन्तान उत्पन्‍न गराउनु र सारा पृथ्वीलाई प्रमोदवन बनाउनु नै परमेश्‍वरको उद्देश्‍य थियो। पछि गएर तिनीहरूले परमेश्‍वरको आज्ञाको अवहेलना गरे। अनन्त जीवन पाउनको निम्ति अयोग्य भए। तापनि, परमेश्‍वरले आफ्नो प्रथम उद्देश्‍य बदलनु भएन। त्यो उद्देश्‍य आउँदो नयाँ संसारमा पूरा हुनेछ।—यशैया ५५:११.

सायद तपाईं “प्रभुको प्रार्थना” गर्नुहुन्छ होला। यो प्रार्थनामा परमेश्‍वरको राज्य आओस्‌ भनेर माग गरिएको छ। यो प्रार्थना गर्नुको अर्थ परमेश्‍वरको स्वर्गीय राज्यले पृथ्वीबाट दुष्टता हटाऊन्‌ र यो नयाँ संसारमाथि शासन गरून्‌ भनेर बिन्ती गर्नु हो। (मत्ती ६:९) औ परमेश्‍वरले निश्‍चय नै यो प्रार्थनाको उत्तर दिनुहुनेछ। किनभने उहाँको वचनमा यो प्रतिज्ञा गरिएको छ: “धर्मात्माहरूले पृथ्वी अधिकार गर्नेछन्‌ र त्यसैमा सदा रहनेछन्‌।”—भजन ३७:२९.

परमेश्‍वरको नयाँ संसारमा जीवन

परमेश्‍वरको राज्यद्वारा पृथ्वीले अनुपम लाभ उठाउनेछ। परमेश्‍वरको उद्देश्‍यमा भएका हर असल कुराबाट मानिसले आनन्द उपभोग गर्न पाउनेछन्‌। घृणा र पक्षपात हराउनेछ। पृथ्वीका हरेक व्यक्‍ति सबै जनाको एउटा सत्य मित्र हुनेछ। “पृथ्वीको अन्तसम्मै उहाँले युद्धहरू रोक्नुहुनेछ” भनेर बाइबलमा प्रतिज्ञा दिइएको छ। “एउटा जातिले अर्को जातिको विरुद्धमा तरवार उठाउनेछैन, औ तिनीहरूले अब उप्रान्त युद्ध गर्न सिक्ने छैनन्‌।”—भजन ४६:९; यशैया २:४.

पृथ्वीका सम्पूर्ण भागहरू सुन्दर उद्यान अथवा प्रमोदवन हुनेछन्‌। यसको विषयमा बाइबलले यसो भन्छ: “उजाड़ र निजर्ल भूमि हर्षित हुनेछ। मरूभूमि रमाउनेछ। वसन्तको फूल झैं त्यो फक्रनेछ। किनकि उजाड़ स्थानमा पानी फूटेर निस्कनेछ र मरूभूमिमा खोलाहरू बग्नेछन्‌। मृग तृष्णा दह हुनेछ र ओबानो भूमिमा पानीका मूल फूटनेछन्‌।”—यशैया ३५:१, ६, ७.

त्यो पार्थिव प्रमोदवनमा आनन्द मनाउने हर कारण हुनेछ। फेरि कहिल्यै पनि खाने कुराको अभावले गर्दा मानिस भोकाउने छैन। ‘पृथ्वीले आफ्नो उब्जनी बढाउने छ।’ बाइबलमा यो प्रतिज्ञा भजन ६७:६; ७२:१६ मा पाइन्छ। सबैले आ-आफ्नो मेहनतको फल उपभोग गर्न पाउने छन्‌ किनभने हाम्रो सृष्टिकर्ताले यो प्रतिज्ञा गर्नुभएको छ: “तिनीहरूले दाखबारी लगाएर तिनका फल खानेछन्‌ . . . तिनीहरूले रोपेर अरूहरूले खाने चाहिं हुनेछैन।”—यशैया ६५:२१, २२.

परमेश्‍वरको नयाँ संसारमा मानिसहरू फेरि कहिल्यै पनि फोहोर गल्लीहरूको साँघुरो कोठाहरूमा या शहरका साना साना डेराहरूमा बस्ने छैनन्‌। किनकि परमेश्‍वरको यो उद्देश्‍य छ: “तिनीहरूले घर बनाएर तिनमा बास गर्नेछन्‌। तिनीहरूले बनाएर अरूहरू बस्ने हुनेछैन।” बाइबलमा यो प्रतिज्ञा पनि पाउँछौं, “तिनीहरूले व्यर्थमा परिश्रम गर्ने छैन।” (यशैया ६५:२१-२३) सबै जनाले सन्तोषजनक र फलदायक काम गर्न पाउनेछन्‌।

समयमा, परमेश्‍वरको राज्यले अदनको बगैंचामा झैं, जनावरहरूको बीच र जनावर र मानिसहरूबीच शान्ति कायम गर्नेछ। “ब्वाँसो चाहिं थुमासित बस्नेछ। बाछा, जवान सिंह र पालेको पशु एकैसाथ रहनेछन्‌, र एउटा सानो बालकले तिनीहरूलाई डोऱ्‍याउनेछ।”—यशैया ११:६-९; होशे २:१८.

यसो कल्पना गर्नुहोस्‌! पार्थिव प्रमोदवनमा हर प्रकारको रोग र शारीरिक कमजोरी निको हुनेछ! परमेश्‍वरको वचनले हामीलाई यी प्रतिज्ञाहरूमा विश्‍वास दिलाउनको निम्ति यसो भन्दछ: “त्यहाँका बासिन्दाहरूले यसो भन्‍नेछैनन्‌ ‘म बिरामी परें।’” “परमेश्‍वरले सबैको आँखाबाट आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रूवाइ, पीड़ा फेरि केही हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्‌।”—प्रकाश २१:४.

यो तपाईंको निम्ति कसरी सम्भव हुनसक्छ

परमेश्‍वरले हामीलाई एउटा धार्मिक नयाँ संसारमा जीवन दिने प्रतिज्ञाबारे पढनुभएर तपाईंको हृदय प्रसन्‍न भयो होला। र कसैकसैको विचारमा यतिका राम्रा आशिष्‌हरू पाउन सम्भव नभए तापनि, परमेश्‍वरको हातबाट हुन नसक्ने वा असम्भव कुनै पनि कुरा छैन।—भजन १४५:१६; मीका ४:४.

तर त्यो पार्थिव प्रमोदवनमा सधैंभरि बाँच्ने हो भने हामीले सर्वप्रथम केही आवश्‍कयताहरू पूरा गर्नुपर्छ। एउटा मुख्य आवश्‍यकता येशूले परमेश्‍वरसँग प्रार्थना गर्नुहुँदा देखाउनुभयो। “अनन्त जीवन यही हो, कि तिनीहरूले तपाईं, एक मात्र सत्य परमेश्‍वरको र जसलाई तपाईंले पठाउनु भयो, अर्थात्‌ येशू ख्रीष्टको ज्ञान लिऊन्‌।”—यूहन्‍ना १७:३, NW.

यसकारण, परमेश्‍वरको नयाँ संसारमा हामी साँच्चै नै बाँच्न चाहन्छौं भने, सबैभन्दा पहिला हामीले परमेश्‍वरको इच्छा सिक्नुपर्छ र त्यही इच्छाअनुसार काम पनि गर्नुपर्छ। किनभने, वास्तवमा: “संसार बितिजान्छ, र त्यसको अभिलाषा पनि बितेर जान्छ, तर परमेश्‍वरको इच्छा बमोजिम गर्ने चाहिं सधैंभरि रहिरहन्छ” र हाम्रा मायालु सृष्टिकर्ताले बर्साउनुहुने आशिष्‌हरू सधैंभरि उपभोग गर्नेछौं।—१ यूहन्‍ना २:१७.

अन्यथा उल्लिखित नभए यस पर्चामा चलाइएका बाइबल उद्धरणहरू पवित्र बाइबल-बाट लिइएका हुन्‌। उद्धरणपछि जहाँ NW देख्नुहुन्छ, त्यहाँ अंग्रेजी भाषाको न्यु वर्ल्ड ट्रान्सलेसन अफ द होलि स्क्रिप्चर्स विथ रेफरेन्स-बाट उद्धृत गरिएका हुन्‌।