हामी सबैलाई डोऱ्याइ र निर्देशन चाहिन्छ
सिद्धार्थ एकदमै चिन्तित थिए। विभिन्न कुराले उनलाई सताइरहेको थियो। आफ्नो परिवारको लालनपालन गर्न उनी लामो समयदेखि कुनै स्थायी जागिरको खोजीमा थिए। उनी आफ्ना छोराछोरीलाई राम्रो शिक्षा दिन र तिनीहरूको भविष्य राम्रो बनाउन चाहन्थे। तर यी सबै आकाशको फल जत्तिकै देखिन्थ्यो। उनले आशा गर्न सक्ने सबैभन्दा ठूलो कुरा भनेकै आफू बिरामी नपरी काम गर्न सकूँ र परिवारको हातमुख जोर्न र घरभाडा तिर्न पुग्ने पैसा कमाउन सकूँ भन्ने थियो। तर उनलाई एउटा कुराको चिन्ताले असाध्यै सताउँथ्यो—‘मलाई तलमाथि भयो भने मेरो परिवारलाई कसले हेर्ला?’
सिद्धार्थकी पत्नी सुजाता पनि चिन्तित थिइन्। हालैका दिनहरूमा उनीहरूको सम्बन्ध निकै तनावग्रस्त भएको थियो। कामबाट घर फर्कंदा सिद्धार्थ सधैं लखतरान भएका हुन्थे। छोराछोरीलाई राम्रो आनीबानी र अरूप्रतिको आदर सिकाउन पतिले मदत गरून् भन्ने सुजाता चाहन्थिन्। तर सिद्धार्थलाई त्यसो गर्ने फुर्सदै थिएन। उनीहरूबीच घरीघरी चर्काचर्की परिरहने भएकोले सुजाता एकदमै दुःखित थिइन्। परिवारको यस्तो कलह छोराछोरीको लागि राम्रो कुरा थिएन। छोराछोरी बिरामी भएमा के गर्ने? औषधीमुलो र अस्पतालको खर्च कसरी बेहोर्ने? यस्ता समस्या आएको सुजाता सोच्न पनि चाहन्नथिन्।
आफ्नो टोलछिमेकमा पहिलाको जस्तो अवस्था नरहेको पनि सिद्धार्थ र सुजाताले याद गरे। एक-अर्कासित बिताउने समय मानिसहरूसँग छँदै थिएन र आपसमा मदत गर्ने पहिलाको जस्तो मनोवृत्ति समाजबाट हराइसकेको हो कि जस्तो देखिन्थ्यो। तिनीहरूका सबै साथी र नातेदारहरूका पनि उस्तै समस्या थिए अनि तिनीहरू
पनि भविष्यबारे चिन्तित थिए। कसैलाई मनोशान्ति छैन जस्तो देखिन्थ्यो। यी समस्याहरूको समाधान भइदिए अनि अलिकता भए पनि शान्ति र सन्तुष्टि पाए कत्ति बेस हुन्थ्यो भनेर सुजाता बराबर सोच्ने गर्थिन्। हुन त सिद्धार्थ र सुजाताले सक्दो प्रयास नगरेका होइनन् तर तिनीहरूको हर प्रयास बेकाम भएजस्तो देखिन्थ्यो।एकदिनको कुरा हो, सिद्धार्थ र सुजाताले आफ्ना समस्याहरूबारे कुरा गरे।
सिद्धार्थ सोध्छन्: “शान्ति र आनन्दको बाटो भेट्टाउन सकेको भए कत्ति राम्रो हुन्थ्यो, हगि?”
सुजाता भन्छिन्: “त्यै त! मैले पनि त्यही सोचिरहेकी। त्यस्तो बाटो भेट्टाउन सके त हाम्रा सबै समस्या हल हुने थिए।”
सिद्धार्थ भन्छन्: “तर अनेकौं धार्मिक विचारधारा र जीवनसम्बन्धी दर्शन छन्। आनन्द दिने बाटो यही हो भनेर हामीले कसरी पत्ता लगाउने? ती सबैलाई केलाउन त सक्दैनौं। जीवनका समस्याहरूको जवाफ हामीसँग छ भनेर ती सबैले भन्ने गर्छन्। तर पनि मानिसको जीवनमा तिनीहरूले सुधार ल्याउन सकेको देखिंदैन। मलाई त यी जाँचेर हेर्नु पनि व्यर्थजस्तो लाग्छ।”
सिद्धार्थको कुरामा सहमत भए तापनि आफ्नो परिवारको लागि जसरी भए पनि मदत खोज्नै पर्छ भन्ने सुजाताको चाहना थियो। कुनै न कुनै बाटो त हुनुपर्छ भन्ने तिनलाई लागेको थियो।
सिद्धार्थ र सुजातालाई जे-जस्ता कुराहरूले सताइरहेका थिए, तीमध्ये कुनै-कुनैले सायद तपाईंलाई पनि सताइरहेको होला। तिनीहरूले भोगिरहेका जस्ता समस्या जताततै छन्। सुस्वास्थ्य, मनोशान्ति र आनन्दित पारिवारिक जीवनको चाहना कसलाई पो हुँदैन र? तर यी सबै पाउनु एकदमै गाह्रो देखिन्छ। शान्ति र आनन्दको बाटो भेट्टाउने के कुनै आशा छ?