सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बुद्धि र शक्‍तिले भरिपूर्ण परमेश्‍वर

बुद्धि र शक्‍तिले भरिपूर्ण परमेश्‍वर

परमेश्‍वरले बनाएका कुराहरूले पनि परमेश्‍वरका अरू गुण प्रकट गर्छ भनेर सौरभ बताउँछन्‌। सिद्धार्थ र सुजातालाई तिनी बाइबलको यो रोचक पद पढेर सुनाउँछन्‌:

  • “हे परमप्रभु, तपाईंका कार्यहरू कस्ता किसिम-किसिमका छन्‌। ती सबै तपाईंले आफ्नो बुद्धिले बनाउनुभएको हो। पृथ्वी तपाईंको सम्पत्तिले परिपूर्ण छ।”—भजन १०४:२४.

“सानोभन्दा सानो कीराले समेत यहोवाको बुद्धिबारे हामीलाई केही बताउँछ,” सौरभ भन्छन्‌। “उदाहरणको लागि बाइबलले कमिलाको स्वाभाविक बुद्धिबारे बताएको छ।”

कमिलाले फुर्सदै नलिई पात काटेर आफ्नो गुँडमा लगिरहेको तपाईंले देख्नुभएको होला भनेर सौरभ सिद्धार्थलाई याद गराउँछन्‌। यो काम गर्न तिनीहरूले कसरी जानेका? बाइबलका एक जना लेखकले कमिलालाई स्वभावैले “साह्रै बुद्धिमानी” प्राणी भनेर बताए। तर कमिलालाई यस्तो तरिकामा बनायो कसले? कमिलामा यो स्वाभाविक बुद्धि कसले राखिदियो? स्वर्ग र पृथ्वी बनाउने यहोवाले राखिदिनुभयो भनेर बाइबलले बताएको छ।—हितोपदेश ३०:२४, २५.

स्वाभाविक बुद्धि अचानक आएको होइन

“यस्ता स्वाभाविक बुद्धि भएका प्राणीहरूको डिजाइन गर्ने र सृष्टि गर्ने व्यक्‍ति हुनै पर्छ भनेर नमानी मलाई धरै छैन,” सिद्धार्थ जवाफ दिन्छन्‌।

तब सिद्धार्थ र सुजातालाई गहिरो प्रभाव पार्ने कुरा सौरभ बताउँछन्‌: “हाम्रो अस्तित्व यहोवाको बुद्धिमा निर्भर छ भनेर के तपाईं महसुस गर्नुहुन्छ?” यो कसरी हुन सक्छ भनेर तिनीहरू छक्क पर्छन्‌।

पृथ्वी आफ्नो अक्षमा घुमेकोले यहाँ जीवन सम्भव भएको हो

जीवन धान्‍न चाहिने एकदमै उपयुक्‍त किसिमको वातावरण पृथ्वीमा भएको देखेर आफू एकदमै छक्क परेको कुरा सौरभ बताउँछन्‌। पृथ्वी आफ्नो अक्षमा घुम्ने गति र सूर्यको वरिपरि आफ्नो कक्षमा घुम्ने गतिको कारणले पृथ्वीको सतहमा सौर्यशक्‍ति सबैभन्दा उपयुक्‍त तरिकामा वितरण हुन सकेको छ। ठिक्क मात्रामा विभिन्‍न ग्याँसहरू मिसिएको अत्यावश्‍यक वायुमण्डल गुरुत्वाकर्षण शक्‍तिले गर्दा पृथ्वीबाट उडेर अन्तै जान पाउँदैन। तैपनि गुरुत्वाकर्षण शक्‍ति हामी हलचल गर्न गाह्रो हुनेगरि अति नै खिच्ने खालको पनि छैन। पृथ्वीमा प्रशस्त पानी पनि छ, जुन जीवन धान्‍न नभई हुँदैन। जमिनको माटो पनि पोषणले भरिएको छ। माटोमा भएका पोषक तत्त्वहरू पानीमा सजिलै घुल्छन्‌ र बोटबिरुवाले त्यसलाई सोसेर प्रयोग गर्छन्‌ ।

“यी सबै कुरा जे-जस्तो अवस्थामा छन्‌ ती अचानक उत्पन्‍न भएका हुँदै होइनन्‌ भनेर म एकदमै पक्का छु,” सौरभ भन्छन्‌। “म विश्‍वस्त छु कि असीमित बुद्धिका स्रोत यहोवा परमेश्‍वरले नै जीवनको लागि आवश्‍यक सबै प्रबन्ध मिलाउनुभएको हो।”

सहमति जनाउँदै सिद्धार्थ र सुजाता टाउको हल्लाउँछन्‌।

तिनीहरूमा छाप पारेको परमेश्‍वरको अर्को गुण शक्‍तिबारे सौरभ बताउँछन्‌। यहोवाको शक्‍तिबारे बाइबलले के बताएको छ, सिद्धार्थ बुझ्न चाहन्छन्‌। सौरभ बाइबल खोल्छन्‌ र यो पद पढ्‌छन्‌:

  • “हे परमप्रभु परमेश्‍वर, तपाईंले नै आफ्नो महाशक्‍ति र बाहुबलले आकाश र पृथ्वी सृष्टि गर्नुभएको हो।”—यर्मिया ३२:१७.

सौरभ भन्छन्‌: “सूर्यको शक्‍तिलाई विचार गर्दा पनि हामी यहोवाको अपार शक्‍तिबारे केही थाह पाउन सक्छौं। घमाइलो दिनमा घाम ताप्दा तपाईंलाई न्यानो महसुस हुन्छ, होइन र? सूर्यको शक्‍ति कति छ, के तपाईंलाई थाह छ?”

“बर्खा लाग्नुअघि यहाँ हाम्रोतिर त एकदमै गर्मी हुन्छ,” सिद्धार्थ भन्छन्‌ र त्यसमा सुजाता पनि सहमति जनाउँछिन्‌।

सूर्य बनाउनेसँग कत्ति शक्‍ति छ होला!

सौरभ बताउँछन्‌ कि उनले पढेअनुसार सूर्यको केन्द्रमा १ करोड ५० लाख डिग्री सेल्सियस तापक्रम हुन्छ। यदि तपाईंले सूर्यको केन्द्रबाट तोरीको गेडा जत्रो टुक्रा निकालेर पृथ्वीमा राख्नुभयो भने त्यस सानो टुक्राको तापबाट बच्न १५० किलोमिटरभन्दा टाढा बस्नुपर्छ! करोडौं परमाणु बम विस्फोट हुँदा निस्कने बराबरको शक्‍ति सूर्यले हरेक सेकेन्ड निकाल्छ।

“सूर्यसँग त यस्तो भयानक शक्‍ति छ भने सूर्य बनाउनेसँग झन्‌ कत्ति शक्‍ति होला त?” सौरभ सोध्छन्‌। “हामी उहाँको शक्‍तिको कल्पनासमेत गर्न सक्दैनौं। जब हामी सूर्यलाई नियाल्छौं, तब यसको सृष्टिकर्ताको असीमित शक्‍तिको एउटा सानो भने पनि प्रमाण पाउँछौं।”

यस्ता अचम्मका कुरा अचानक भएका होइनन्‌ भन्‍ने सौरभको कुरामा सहमत हुन सिद्धार्थ र सुजातालाई करै लाग्छ। सृष्टिकर्ता त हुनै पर्छ। सृष्टिकर्ता यहोवा अदृश्‍य भए तापनि उहाँ वास्तविक व्यक्‍ति हुनुहुन्छ, जसले आफूले बनाएका सबै कुरामा अपार प्रेम, न्याय, बुद्धि र शक्‍ति देखाउनुहुन्छ भनेर तिनीहरू बुझ्न थाल्छन्‌।