सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

हामीले भरोसा गर्न सक्ने प्रतिज्ञाहरू

हामीले भरोसा गर्न सक्ने प्रतिज्ञाहरू

सौरभले भनेको कुरामा सिद्धार्थ निकै घोरिन्छन्‌। हुन त सिद्धार्थले बाइबलबारे पहिला पनि नसुनेका होइनन्‌। यो पवित्र ग्रन्थ हो भनेर उनलाई पहिल्यैदेखि थाह थियो। तर बाइबलमा साँचो भविष्यवाणी छ भने यो कुनै पुरानो पवित्र ग्रन्थ मात्र होइन भनेर सिद्धार्थ अहिलेचाहिं सोच्न थाल्छन्‌। बाइबल लेख्नेहरूले वैज्ञानिक तथ्य र ऐतिहासिक घटनाहरू त्यत्तिका अघि नै कसरी थाह पाउन सकेका होलान्‌ भनेर सिद्धार्थ छक्क पर्छन्‌। तिनीहरूले यस्तो ज्ञान कहाँबाट पाए?

सिद्धार्थ र सुजाता अर्को दिन सौरभ र अनुष्कालाई भेट्‌न जान्छन्‌। सिद्धार्थ सौरभलाई त्यही प्रश्‍न सोध्छन्‌: “बाइबल लेखकहरूले यी सबै कुरा त्यत्तिका अघि नै कसरी थाह पाउन सके?”

हाम्रो फाइदाको लागि परमेश्‍वरले आफ्ना प्रतिज्ञाहरू मानिसहरूमार्फत लेखाउनुभयो

सौरभ बताउँछन्‌: “ती कुरा लेख्ने मानिसहरू आफूले लेखेको कुराको ग्रन्थकार होइनन्‌। तिनीहरू अरू कसैले बताएको कुरा लेख्ने सेक्रेटरीजस्तै हुन्‌। वास्तविक ग्रन्थकार त हामी सबैका बुबा हुनुहुन्छ।”

“हामी सबैका बुबा?” सिद्धार्थ सोध्छन्‌। “उहाँ को हुनुहुन्छ?”

“जसले हामीलाई जीवन दिनुभयो उहाँ नै हामी सबैका बुबा हुनुहुन्छ,” सौरभ बताउँछन्‌। “अनि मानव बुबाहरूको नाम भएजस्तै उहाँको पनि नाम छ।” सौरभ बाइबलबाट प्रकाश ४:११ पढेर सुनाउँछन्‌:

  • “हे यहोवा हाम्रा परमेश्‍वर, तपाईं महिमा, आदर अनि शक्‍ति ग्रहण गर्न योग्य हुनुहुन्छ, किनकि तपाईंले नै सबै थोक सृष्टि गर्नुभयो र तपाईंकै इच्छाबमोजिम ती अस्तित्वमा आए अनि सृजिए।”

सौरभ सिद्धार्थलाई बाइबलबाट अर्को पद पनि देखाउँछन्‌। यसमा यहोवालाई ‘आदिदेखि अन्तसम्मको र प्राचीन समयदेखि अहिलेसम्म नभएका कुराहरू घोषणा गर्ने’ व्यक्‍तिको रूपमा वर्णन गरिएको छ। (यशैया ४६:१०) यस पदको व्याख्या गर्दै सौरभ भन्छन्‌: “हामीलाई जन्म दिने हाम्रा बुबाले हामीले भन्दा धेरै अनुभव बटुल्नुभएको हुन्छ र हामीलाई भन्दा धेरै कुरा उहाँलाई थाह हुन्छ। त्यसैगरि हामीलाई जीवन दिने बुबासँग पनि हामीसँगभन्दा धेरै ज्ञान र बुद्धि छ। अनि उहाँसँग भविष्यबारे बताउन सक्ने क्षमतासमेत छ। त्यसैले त भविष्यबारे के लेख्ने भनेर बाइबल लेखकहरूलाई उहाँले जानकारी दिन सक्नुभयो।”

“सुजाता र मेरो भविष्य कस्तो छ भनेर के यहोवालाई थाह छ?” सिद्धार्थ बुझ्न चाहन्छन्‌।

“राम्रो प्रश्‍न,” सौरभ भन्छन्‌, “हरेक मान्छेको भविष्य यहोवा पहिल्यै निर्धारण गर्नुहुन्‍न। तर बुबालाई जस्तै उहाँलाई हाम्रा समस्या थाह छ अनि उहाँ हामीलाई मदत गर्न चाहनुहुन्छ।”

आनन्दित र शान्तिमय जीवन पाउनको लागि यहोवा तिनीहरूलाई कस्तो मदत गर्नुहुन्छ त्यो बाइबलमा पाउन सकिन्छ भनेर सौरभ सिद्धार्थलाई बताउँछन्‌। आफूले गरेको निर्णयले तिनीहरूलाई अहिले र भविष्यमा कस्तो असर गर्छ भनेर पनि तिनीहरूले बाइबलबाट सिक्न सक्छन्‌।

सिद्धार्थ आफै पनि बुबा भएकोले उनलाई यो कुरा निकै तार्किक लाग्छ किनकि आफ्ना छोराछोरीको उज्ज्वल भविष्यको लागि उनी तिनीहरूलाई सक्दो मदत गर्छन्‌। सौरभ सिद्धार्थ र सुजातालाई बाइबलमा लेखिएका केही प्रतिज्ञाहरू देखाउँछन्‌। तिनले देखाएका केही पद यी हुन्‌:

  • “पृथ्वीको अन्तसम्मै उहाँले युद्धहरू रोक्नुहुन्छ।”—भजन ४६:९

  • “तिनीहरूले घर बनाएर तिनमा बास गर्नेछन्‌, र तिनीहरूले दाखबारी लगाएर तिनका फल खानेछन्‌। तिनीहरूले बनाएर अरूहरू बस्ने, र तिनीहरूले रोपेर अरूहरूले खानेचाहिं हुनेछैन, किनकि जस्तो रूखको आयु हुन्छ, त्यस्तै मेरो प्रजाको आयु हुनेछ।”—यशैया ६५:२१, २२.

  • “पृथ्वीमा पहाडका टाकुराहरूमा प्रशस्त गरी अन्‍न हुनेछ।”—भजन ७२:१६.

  • “उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ अनि मृत्यु हुनेछैन, न त फेरि कहिल्यै शोक, रुवाइ वा पीडा नै हुनेछ। पहिलेका कुराहरू बितिसकेका छन्‌।”—प्रकाश २१:४.

बाइबलले हाम्रो उज्ज्वल भविष्यबारे बताउँछ

बाइबलमा पाइने यी अचम्मका प्रतिज्ञाहरूले सिद्धार्थको मन छुन्छ। सबैलाई समान व्यवहार गरिने, बिरामी र मृत्यु नहुने अनि सबैका लागि प्रशस्त खानेकुरा हुने संसारको विषयमा गरिएको कुरा सिद्धार्थलाई एकदमै मन पर्छ। सुजाताको पनि मन छुन्छ तर तिनलाई यस्तो पनि होला र जस्तो लाग्छ।

“सुजाता, तपाईंलाई त्यस्तो लाग्नु पनि ठिकै हो,” सौरभ भन्छन्‌। “तर सोच्नुहोस्‌ त, हामीले भर्खर बुझेजस्तै बाइबलमा भएका अरू थुप्रै भविष्यवाणी जस्ताको तस्तै पूरा भएका छन्‌। यी भविष्यवाणीहरू पनि पूरा हुन्छन्‌ भनेर त्यसले हामीलाई विश्‍वस्त पार्दैन र? ती भविष्यवाणीहरू पूरा हुनेछन्‌ भनेर बाइबलका ग्रन्थकार यसरी ग्यारेन्टी दिनुहुन्छ: ‘लेख, किनकि यी वचनहरू विश्‍वासयोग्य र सत्य छन्‌।’ ”—प्रकाश २१:५.