सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

व्यावहारिक डोऱ्‍याइको खोजी

व्यावहारिक डोऱ्‍याइको खोजी

आफ्ना छिमेकी सौरभ र तिनकी पत्नी अनुष्का सधैं एकदमै सन्तुष्टि र शान्तिमा रहेको कुरा सुजाता याद गर्छिन्‌। त्यसको कारण के हो भनेर अनुष्कालाई सोध्न लागेको कुरा तिनी सिद्धार्थलाई बताउँछिन्‌। अनुष्कालाई भेटेपछि सुजाता उक्‍त कुरा सोध्छिन्‌।

अनुष्का भन्छिन्‌: “हो सुजाता, तपाईंहरूकै जस्तो समस्या र चिन्ता हामीलाई पनि छ। तर केही वर्ष अगाडि मलाई र मेरो परिवारलाई एकदमै व्यावहारिक डोऱ्‍याइ दिने एउटा किताब मैले भेट्टाएँ। त्यो किताबले शान्ति र आनन्दको बाटो देखाउँछ। हामीले दिनहुँ दबाब र चिन्ताको सामना गर्नु परे तापनि त्यसले हामीलाई आनन्दित हुन मदत गर्छ।”

सुजाता छक्क पर्छिन्‌। त्यस किताबबारे अनुष्का अझै बताउँछिन्‌: “इजरायल र त्यस वरपरका देशहरूमा लेखिएको यो प्राचीन समयको किताब हो। तैपनि यो किताब सबै मानिसहरूका लागि हो किनभने यसले कुनै पनि धार्मिक सम्प्रदाय वा गुटको प्रतिनिधित्व गर्दैन। वास्तवमा सबैले पढ्‌न सकून्‌ भनेर यसलाई सयौं भाषामा अनुवाद गरिएको छ।” यस किताबबाट शिक्षाविद्‌हरूले बारम्बार उद्धरण गरेका छन्‌ र थुप्रै देशका कानुन यसै किताबको आधारमा बनाइएका छन्‌ भनेर पनि अनुष्का बताउँछिन्‌।

सुजाता यो किताब हेर्न एकदमै उत्सुक हुन्छिन्‌। त्यस दिन दिउँसो तिनी अनुष्काको घरमा जान्छिन्‌। यस किताबले निम्न विषयहरूमा व्यावहारिक डोऱ्‍याइ दिएको छ भनेर अनुष्का तिनलाई देखाउँछिन्‌:

छोराछोरी हुर्काउने

  • “बालकलाई ठीक बाटोमा लगाऊ, र वृद्धावस्थामा पनि त्यसले त्यो त्याग्दैन।”

  • “हे बुबाहरू हो, आफ्ना छोराछोरीहरूलाई नचिढ्याओ।”

काम र पैसाको सदुपयोग

  • “चोर्नेले फेरि नचोरोस्‌, बरु उसले कडा परिश्रम गरोस्‌ र आफ्नै हातले असल काम गरोस्‌, ताकि खाँचोमा परेको मानिसलाई दिन ऊसित केही होस्‌।”

  • “काम गर्न नचाहनेले खाँदा पनि नखाओस्‌।”

लागूपदार्थ र मदिरा

  • “तन र मनलाई अशुद्ध पार्ने हरकिसिमका कुराहरूबाट आफूलाई शुद्ध पारौं।”

  • “मद्य घृणित वस्तु हो, औ कडा मद्यले होहल्ला मचाउँछ, त्यसमा लत बस्ने कोही पनि बुद्धिमानी हुँदैन।”

नैतिक मूल्यमान्यता

  • “तिमीहरूको विवाह सबै मानिसहरूसामु आदरणीय होस्‌, तिमीहरूको वैवाहिक सम्बन्ध नबिटुलिओस्‌।”

  • “अवैध यौनसम्बन्धबाट अलग रहो।”

  • “जसले कुनै स्त्रीलाई हेरिरहन्छ र आफूमा कामवासना जगाउँछ, त्यसले मनमनै ऊसित यौनसम्बन्ध राखिसकेको हुन्छ।”

परिवारमा आदर

  • “तिमीले आफ्नो बुबा र आमाको आदर गर्नू।”

  • “तँलाई जीवन दिने तेरो बाबुका वचन सुन्‌, औ आफ्नी आमा वृद्ध हुँदा तिनलाई तुच्छ नठान्‌।”

  • “तिमीहरू हरेकले आ-आफ्नो पत्नीलाई आफैलाई जस्तै प्रेम गर अनि पत्नीले पनि आफ्नो पतिको गहिरो आदर गरोस्‌।”