सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

सबै कुराका सुरुवातकर्तालाई चिन्‍नुहोस्‌

सबै कुराका सुरुवातकर्तालाई चिन्‍नुहोस्‌

यहोवाले प्रतिज्ञा गरेका सबै कुरा थाह पाएर सिद्धार्थ खुसी हुन्छन्‌। तर उनी सोच्छन्‌, यी प्रतिज्ञाहरू पूरा गर्ने सामर्थ्य कोसित होला र! आफूले प्रतिज्ञा गरेको सबै कुरा यहोवाले कसरी पूरा गर्न सक्नुहुन्छ भनी बुझ्न सबैलाई थाह भएको एउटा सामान्य धारणाबारे सोच्न सकिन्छ भनेर सौरभ बताउँछन्‌। त्यो धारणा हो: ‘कारणविना कुनै पनि कुरा अस्तित्वमा आउन सक्दैन।’

बाइबलमा पनि यस धारणाबारे व्याख्या गरिएको छ भन्दै सौरभ बाइबलको यो पद सिद्धार्थलाई देखाउँछन्‌:

  • “हरेक घर कसै न कसैद्वारा निर्माण गरिएको हुन्छ।”—हिब्रू ३:४.

“यो त निकै तार्किक लाग्यो,” सिद्धार्थ जवाफ दिन्छन्‌। “हो त, कसैले नबनाईकन कुनै पनि घर कहाँ बन्छ र!”

“तपाईंले अझ राम्ररी बुझ्न यो कुरा पनि विचार गर्नुहोस्‌, भान्छेविना खानेकुरा कहाँ पाक्छ र!” सौरभ बताउँछन्‌।

त्यसपछि तिनीहरूको वरिपरि भएका सबै कुराहरू कुनै घरभन्दा महान्‌ र जटिल छन्‌ भनेर सौरभ सिद्धार्थलाई सम्झाउँछन्‌। “कोमल फूलहरू, विशाल पहाड, उर्लंदो समुद्र र असीमित ब्रह्‍माण्डलाई हेर्नुहोस्‌,” तिनी भन्छन्‌। “यदि कुनै घर बनाउन डिजाइनर र बनाउने मान्छे चाहिन्छ अनि खाना पकाउन भान्छे चाहिन्छ भने ब्रह्‍माण्डमा भएका अचम्मका सबै कुरा नि? के तिनीहरूको पनि डिजाइन गर्ने र तिनीहरूलाई बनाउने कोही हुनु पर्दैन र?”

सौरभले भनेको कुरा एकदमै ठीक हो भनेर मानिलिन सिद्धार्थलाई करै लाग्छ।

सौरभ भन्दै जान्छन्‌: “बाइबलले भनेअनुसार वास्तवमा सबै कुराको एक जना डिजाइनर र बनाउनेवाला हुनुहुन्छ। सबै कुरा बनाउनेवाला अवश्‍य शक्‍तिशाली र पराक्रमी हुनुपर्छ। त्यसकारण बाइबलले उहाँलाई परमेश्‍वर भनेको हो। सुरुमा बाइबल लेखिएको भाषामा यस शब्दको अर्थ ‘पराक्रमी’ वा ‘सामर्थी’ हो। आज मानिसहरूद्वारा ‘देवी-देवता’ कहलाइएकाहरू त धेरै छन्‌ तर यहोवाले सबै कुरा बनाउनुभएकोले उहाँलाई मात्र सर्वशक्‍तिमान्‌ परमेश्‍वर भन्‍न सुहाउँछ।”

हरेक कुरा बनाउन डिजाइनर र बनाउनेवाला चाहिन्छ

यहोवा परमेश्‍वरले गरेका थुप्रै अचम्मका कामहरूबारे बाइबलले बताएको छ भन्‍ने कुरा थाह पाउँदा सिद्धार्थ अचम्मित हुन्छन्‌। सौरभले सिद्धार्थलाई बाइबलबाट देखाएका कुरामध्ये केही हुन्‌:

  • “आदिमा परमेश्‍वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो।”—उत्पत्ति १:१.

  • “परमप्रभुनै [“यहोवा,” NW] परमेश्‍वर हुनुहुन्छ भनी जान। उहाँलेनै हामीलाई बनाउनुभएको हो, र हामी उहाँकै हौं।”—भजन १००:३.

  • “आकाशले परमेश्‍वरको महिमाको वर्णन गर्छ। र आकाशमण्डलले उहाँको हातको सीप प्रकट गर्छ।”—भजन १९:१.

  • “जसले आकाशमाथि आफ्नो बासस्थान बनाउनुहुन्छ, र पृथ्वीमा आकाश-मण्डलको जग बसाल्नुहुन्छ, जसले समुद्रको पानीलाई बोलाएर पृथ्वीमाथि खन्याउनुहुन्छ—उहाँको नाउँ परमप्रभु [“यहोवा,” NW] हो।”—आमोस ९:६.

हो, यहोवा परमेश्‍वरले सबै कुरा बनाउनुभयो। उहाँले बनाउनु मात्र भएन तर सबै जीवजन्तुलाई जीवन पनि दिनुभयो। यहोवाबारे बाइबल भन्छ: “जीवनको मूल तपाईंसँग छ।” (भजन ३६:९) त्यसकारण उहाँ जीवनदाता हुनुहुन्छ, सृष्टिकर्ता हुनुहुन्छ। यहोवा हाम्रो जीवनको सुरुवातकर्ता हुनुभएकोले उहाँ साँच्चै हाम्रा बुबा हुनुहुन्छ। त्यसैकारण त बाइबल भन्छ: “के हामी सबैका एउटै पिता छैनन्‌ र? के एउटै परमेश्‍वरले हामीलाई सृष्टि गर्नुभएको होइन र?”—मलाकी २:१०.

यहोवा जीवनको मूल हुनुहुन्छ

सिद्धार्थ भन्छन्‌: “त्यै त! जब हामी वरपर भएका कुराहरू हेर्छौं र तीबारे सोच्छौं तब त्यहाँ सुरुवातकर्ता, डिजाइनर र जीवनदाता—भनौं एक जना सृष्टिकर्ता हुनुपर्छ भनी बुझ्न गाह्रो पर्दैन भनेर म सहमत हुनै पर्छ।”

सुजाता जोसिंदै भन्छिन्‌: “यदि उहाँसँग सबै कुरा सृष्टि गर्ने शक्‍ति छ भने उहाँले बाइबलमा गरेका सबै प्रतिज्ञा पूरा गर्ने शक्‍ति पनि उहाँसँग किन नहुनु र!”

त्यस दिन सिद्धार्थ र सुजाताले सुनेका सबै कुरा तिनीहरूलाई एकदमै घत लाग्छ। तर तिनीहरूको मनमा एउटा प्रश्‍न उठ्‌छ, ‘यस्तो शक्‍तिशाली डिजाइनर कस्तो खालको हुनुहुन्छ होला?’