सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय १५

“म तेरो वेश्‍यावृत्तिको अन्त गरिदिनेछु”

“म तेरो वेश्‍यावृत्तिको अन्त गरिदिनेछु”

इजकिएल १६:४१

मुख्य कुरा: इजकिएल र प्रकाशको किताबमा वेश्‍याहरूबारे गरिएको वर्णनबाट हामीले सिक्ने पाठ

१, २. कस्तो किसिमको वेश्‍या देख्दा हाम्रो मनमा घृणा जाग्छ?

 कुनै स्त्री वेश्‍यावृत्तिमा लागेको देख्दा हामीलाई दुःख लाग्छ। उसले किन त्यस्तो घिनलाग्दो जीवनशैली रोजी होला भनेर सोच्न सक्छौँ। कलिलै उमेरमा परिवारबाट दुर्व्यवहार भोग्नुपरेकोले हो कि? वा चरम गरिबीले गर्दा आफ्नो शरीर बेच्न बाध्य भएकी हो कि? अथवा श्रीमान्‌को निर्मम व्यवहार सहन नसकेर पो हो कि? यो दुष्ट संसारमा यस्ता कहालीलाग्दा कथाहरू थुप्रै सुनिन्छन्‌। त्यसकारण येसु ख्रिष्टले केही वेश्‍याहरूसित दयालु व्यवहार गर्नुभएकोमा हामीले छक्क मान्‍नु पर्दैन। पश्‍चात्ताप गर्दै खराब जीवनशैली त्याग्नेहरूले उत्तम जीवनको आशा गर्न सक्छन्‌ भनेर उहाँले जोड दिनुभयो।—मत्ति २१:२८-३२; लुका ७:३६-५०.

तर अब हामी फरक कारणले गर्दा वेश्‍यावृत्तिमा लागेकी स्त्रीको कल्पना गरौँ। त्यो वेश्‍याले स्वेच्छाले त्यस्तो जीवनशैली रोजेकी छे। ऊ त्यस्तो जीवनशैलीलाई घिनलाग्दो ठान्दिन बरु आफू शक्‍तिशाली हुने मौकाको रूपमा हेर्छे। ऊ यस व्यवसायले दिने पैसा र शक्‍तिको भोको छे। यदि ऊ आफ्नो असल र वफादार श्रीमान्‌लाई जानाजानी धोका दिएर वेश्‍यावृत्तिमा लागेकी हो भने त्यो त झनै नराम्रो कुरा हो! त्यस्ती स्त्री र उसको जीवनशैली देख्दा हाम्रो मनमा घृणा जाग्छ। त्यसैकारण झूटो धर्म देख्दा यहोवा परमेश्‍वरलाई कस्तो लाग्छ भन्‍ने कुरा बुझाउन उहाँले बारम्बार वेश्‍याको उदाहरण चलाउनुको कारण हामी बुझ्न सक्छौँ।

३. यस अध्यायमा हामी कुन दुई वटा विवरण छलफल गर्नेछौँ?

इजकिएलको किताबमा दुई वटा उल्लेखनीय विवरण पाउँछौँ। यी विवरणहरूमा इस्राएल र यहुदाका मानिसहरूको घोर विश्‍वासघातलाई बुझाउन वेश्‍यावृत्तिलाई उदाहरणको रूपमा चलाइएको छ। (इज., अध्या. १६२३) तर ती विवरणहरू केलाउनुअघि अर्को एउटा प्रतीकात्मक वेश्‍याबारे छलफल गरौँ। त्यसले इजकिएलको समयभन्दा धेरै अघिदेखि नै, अझ भन्‍नुपर्दा इस्राएल राष्ट्र अस्तित्वमा आउनुअघि नै वेश्‍यावृत्ति थालिसकेकी थिई र त्यो अहिलेसम्मै फस्टाइरहेकी छे। बाइबलको अन्तिम किताब प्रकाशमा त्यस वेश्‍याको परिचय खुलाइएको छ।

‘वेश्‍याहरूकी आमा’

४, ५. “महान्‌ बेबिलोन” के हो र हामी किन त्यसो भन्‍न सक्छौँ? (शीर्षकमाथिको चित्र हेर्नुहोस्‌)

इस्वी संवत्‌ प्रथम शताब्दीको अन्ततिर येसुले प्रेषित युहन्‍नालाई देखाउनुभएको दर्शनमा एउटा अचम्मलाग्दो दृश्‍य देखा पर्छ। त्यस दृश्‍यमा देखा परेकी स्त्रीलाई “महावेश्‍या” र “महान्‌ बेबिलोन, वेश्‍याहरूकी . . . आमा” भनिएको छ। (प्रका. १७:१, ५) धर्मगुरुहरू र बाइबलविद्‌हरू त्यसको वास्तविक चिनारीबारे सयौँ वर्षदेखि अन्योलमै छन्‌। यससम्बन्धी मानिसहरूको धारणा फरक-फरक छ। कसैले त्यस स्त्रीले बेबिलोनलाई, कसैले रोमलाई त कसैले रोमन क्याथोलिक चर्चलाई सङ्‌केत गर्छ भन्छन्‌। तर यहोवाका साक्षीहरूले भने त्यो “महावेश्‍या”-को वास्तविक चिनारी थाह पाएको दशकौँ भइसक्यो। त्यो झूटो धर्मको विश्‍व साम्राज्य हो। हामी किन त्यसो भन्‍न सक्छौँ?

त्यस वेश्‍याले राजनैतिक शक्‍तिहरूलाई बुझाउने “पृथ्वीका राजाहरू”-सित नाजायज सम्बन्ध राखेकीले त्यसको निन्दा गरिएको छ। त्यसकारण त्यो राजनैतिक शक्‍ति होइन। साथै प्रकाशको किताबमा महान्‌ बेबिलोन नाश हुँदा “पृथ्वीका व्यापारीहरू” अर्थात्‌ यस संसारको व्यापारजगत्‌ले शोक गर्ने कुरा बताइएको छ। त्यसकारण महान्‌ बेबिलोनले व्यापारजगत्‌लाई पनि चित्रण गर्दैन। त्यसोभए त्यसले केलाई चित्रण गर्छ त? त्यो “तन्त्रमन्त्र,” मूर्तिपूजा र छलको लागि दोषी छे। यस संसारको भ्रष्ट धार्मिक सङ्‌गठनहरूमा यस्ता कुराहरू देखिँदैन र? यो कुरा पनि नबिर्सनुहोस्‌, त्यो वेश्‍या संसारका राजनैतिक तत्त्वहरूलाई सङ्‌केत गर्ने जनावरमाथि सवार छे। यसरी सवार हुनुले त्यस वेश्‍याले राजनैतिक तत्त्वहरूमाथि पनि केही हदसम्म प्रभाव जमाएकी छे भनेर बुझाउँछ। त्यसले यहोवा परमेश्‍वरका वफादार सेवकहरूलाई खेदो पनि गर्छे। (प्रका. १७:२, ३; १८:११, २३, २४) झूटो धर्मले अहिलेसम्म त्यस्तै गर्दै आएको छैन र?

पछि बेबिलोन नामले चिनिएको पुरातन बाबेलबाट हर प्रकारका झूटा धार्मिक प्रचलन, शिक्षा तथा सङ्‌गठनहरू फैलियो (अनुच्छेद ६ हेर्नुहोस्‌)

६. महान्‌ बेबिलोनलाई किन ‘वेश्‍याहरूकी आमा’ भनिएको छ?

तर महान्‌ बेबिलोनलाई “महावेश्‍या” मात्र नभनी ‘वेश्‍याहरूकी आमा’ पनि भनिएको छ। किन? झूटो धर्मका अनगिन्ती सम्प्रदाय तथा पन्थहरू छन्‌। ती सम्प्रदाय तथा पन्थहरू गनेर साध्यै छैन! पुरातन बाबेल अर्थात्‌ बेबिलोन सहरमा परमेश्‍वरले भाषा खलबल पारिदिनुभएपछि झूटो धर्मका शिक्षाहरू पृथ्वीको कुना-कुनासम्म फैलियो अनि नतिजास्वरूप थरीथरीका धर्महरू निस्के। “महान्‌ बेबिलोन” भन्‍ने नाम झूटा धर्महरूको सुरुवात भएको सहर बेबिलोनबाट आउनु कत्ति उपयुक्‍त छ! (उत्प. ११:१-९) त्यसैले अहिले संसारमा भएका सम्पूर्ण धर्मलाई त्यही महावेश्‍याका “छोरीहरू” भन्‍न सकिन्छ। मानिसहरूलाई तन्त्रमन्त्र, मूर्तिपूजा अनि परमेश्‍वरलाई अप्रसन्‍न तुल्याउने शिक्षा तथा प्रचलनमा फसाउन सैतानले अक्सर त्यस्ता धर्महरूलाई चलाउँछ। त्यसैले परमेश्‍वरका मानिसहरूलाई त्यो भ्रष्ट र विश्‍वव्यापी सङ्‌गठनबारे यसरी सजग गराइएको छ: “हे मेरा मानिस हो, यदि तिमीहरू त्यसका पापहरूमा भाग लिन चाहँदैनौ . . . भने त्यसबाट निस्केर आओ।”प्रकाश १८:४, ५ पढ्‌नुहोस्‌।

७. महान्‌ बेबिलोनबाट “निस्केर आओ” भन्‍ने चेतावनी हामी किन पालन गर्छौँ?

के तपाईँ “महान्‌ बेबिलोन”-बाट निस्केर आइसक्नुभयो? नबिर्सनुहोस्‌, मानिसहरूलाई “आध्यात्मिक आवश्‍यकता”-सहित सृष्टि गर्नुहुने यहोवा स्वयम्‌ हुनुहुन्छ। (मत्ति ५:३) अनि त्यो आवश्‍यकता यहोवा परमेश्‍वरलाई शुद्ध उपासना चढाएर मात्र सही तरिकामा पूरा गर्न सकिन्छ। उहाँका सेवकहरू आफूलाई आध्यात्मिक वेश्‍यावृत्तिबाट अलग राख्न सक्दो गर्छन्‌। तर सैतान अर्थात्‌ दियाबलको दाउ भने अर्कै छ। त्यो परमेश्‍वरका मानिसहरूलाई आध्यात्मिक वेश्‍यावृत्तिमा फसाउन लागिपरेको छ र त्यो केही हदसम्म सफल पनि भएको छ। इजकिएलको समयसम्मको परमेश्‍वरका मानिसहरूको इतिहास हेर्ने हो भने तिनीहरू बारम्बार आध्यात्मिक वेश्‍यावृत्तिमा फसे। हामीले त्यो इतिहास केलाउनु जरुरी छ किनकि त्यसबाट हामी यहोवा परमेश्‍वरका स्तरहरू अनि उहाँको न्याय र कृपाबारे धेरै कुरा सिक्न सक्छौँ।

‘तैँले वेश्‍यावृत्ति गरिस्‌’

८-१०. (क) शुद्ध उपासनाको एउटा महत्त्वपूर्ण आवश्‍यकता के हो? (ख) आफ्ना उपासकहरू झूटो धर्ममा लाग्दा यहोवा परमेश्‍वरलाई कस्तो लाग्छ? उदाहरण दिनुहोस्‌।

इजकिएलको किताबमा यहोवा परमेश्‍वरले आफ्ना मानिसहरूले गरेको कामलाई वेश्‍यावृत्तिसित तुलना गर्नुभएको छ। तिनीहरूले विश्‍वासघात गर्दा र अनैतिक काम गर्दा यहोवा परमेश्‍वरलाई कत्ति धेरै चोट पुग्यो भनेर बुझाउन इजकिएलले उहाँको प्रेरणा पाएर दुइटा जीवन्त विवरण रेकर्ड गरे। इजकिएलले ती मानिसहरूलाई किन वेश्‍यासित तुलना गरे?

यस प्रश्‍नको जवाफ पाउन सबैभन्दा पहिला शुद्ध उपासनाको एउटा महत्त्वपूर्ण आवश्‍यकता फेरि एकचोटि सम्झौँ। त्यसबारे हामीले यस प्रकाशनको अध्याय ५ मा छलफल गरेका थियौँ। इस्राएलीहरूलाई दिनुभएको व्यवस्थामा यहोवा परमेश्‍वरले यसो भन्‍नुभएको थियो: “तिमीहरूले मबाहेक अरू कुनै देवीदेवतालाई नमान्‍नू। . . . म यहोवा तिमीहरूका परमेश्‍वर मबाहेक अरू कसैको भक्‍ति गरिएको सहँदिनँ।” (प्रस्थ. २०:३, ५) उहाँले पछि पनि यो कुरालाई यसरी जोड दिनुभयो: “तिमीहरूले अरू कुनै देवीदेवतालाई नढोग्नू किनकि यहोवा अरू कसैको भक्‍ति गरिएको नसहने परमेश्‍वर हुनुहुन्छ। हो, उहाँ यस्तो परमेश्‍वर हुनुहुन्छ, जो आफ्नो बाहेक अरू कसैको भक्‍ति गरिएको सहनुहुन्‍न।” (प्रस्थ. ३४:१४) यसरी यहोवा परमेश्‍वरले आफूले चाहेको कुरा सुस्पष्ट ढङ्‌गमा बताउनुभयो। उहाँले हाम्रो उपासना स्विकारेको चाहन्छौँ भने हामीले उहाँको बाहेक अरू कसैको भक्‍ति गर्नु हुँदैन।

१० यो कुरा बुझ्न हामी वैवाहिक सम्बन्धलाई उदाहरणको रूपमा लिन सक्छौँ। पति र पत्नी दुवैले आफ्नो वैवाहिक सम्बन्धमा कुनै-कुनै कुरा दुई जनामा मात्र सीमित भएको आशा गर्नु जायज हो। यदि पति वा पत्नीमध्ये एक जनाले आफ्नो जीवनसाथीबाहेक अरू कसैसित रोमान्टिक सम्बन्ध राख्छ वा गलत मनसायले बढ्‌तै घनिष्ठ हुन खोज्छ भने अर्कोलाई डाह लाग्नु वा धोका पाएको महसुस गर्नु स्वाभाविक हो। (हिब्रू १३:४ पढ्‌नुहोस्‌) त्यसैगरि उपासनाको सन्दर्भमा कुरा गर्ने हो भने यहोवा परमेश्‍वरको मात्र उपासना गर्ने वाचा गरेका मानिसहरूले नै झूटा देवताहरूको उपासना गर्दा उहाँले धोका पाएको महसुस गर्नु जायज हो। उहाँले महसुस गर्नुभएको त्यो गहिरो चोटबारे इजकिएल अध्याय १६ मा जोडदार ढङ्‌गमा बताइएको छ।

११. यहोवा परमेश्‍वरले यरुसलेम र त्यसको सुरुवातबारे के बताउनुभयो?

११ इजकिएलको किताबमा स्वयम्‌ यहोवा परमेश्‍वर बोल्नुभएको सबैभन्दा लामो विवरण इजकिएल अध्याय १६ हो र यो हिब्रू धर्मशास्त्रकै सबैभन्दा लामो भविष्यवाणी हो। त्यस अध्यायमा यहोवाले विश्‍वासघाती यहुदालाई सङ्‌केत गर्ने यरुसलेम सहरतर्फ ध्यान खिच्नुभयो। उहाँले त्यस सहरको सुरुवात र त्यसको विश्‍वासघातको दुःखलाग्दो कथा बताउनुभयो। नवजात शिशु छँदा ऊ बेसहारा थिई; ऊ अशुद्ध थिई र उसलाई पखालिदिने कोही थिएन। उसका आमाबुबा कनानी थिए र तिनीहरू मूर्तिपूजा गर्थे। दाउदले यरुसलेमलाई कब्जा गर्नुअघि त्यो लामो समयसम्म कनानीहरूको एउटा कुल—यबुसीहरूको अधीनमा थियो। यहोवा परमेश्‍वर त्यो नवजात शिशु देखेर टिठाउनुभयो र उसलाई पखालेर उसको सबै खाँचो पूरा गरिदिनुभयो। समयको अन्तरालमा ऊ यहोवाकी पत्नीसरह भई। वास्तवमा यरुसलेममा बसोबास गर्न थालेका इस्राएलीहरूले मोसाको समयमै यहोवा परमेश्‍वरसित राजीखुसीले करारमा बाँधिएर उहाँसित सम्बन्ध गाँसिसकेका थिए। (प्रस्थ. २४:७, ८) एक जना धनी र शक्‍तिशाली मानिसले आफ्नी पत्नीलाई दामी-दामी गरगहनाले सिङ्‌गारेजस्तै यहोवा परमेश्‍वरले पनि इस्राएलको राजधानी यरुसलेमलाई आशिष्‌ दिनुका साथै सम्पन्‍न तुल्याएर सिङ्‌गार्नुभयो।—इज. १६:१-१४.

विदेशी पत्नीहरूको दबाबमा परेर सुलेमानले यरुसलेमलाई मूर्तिपूजाद्वारा दूषित हुन दिए (अनुच्छेद १२ हेर्नुहोस्‌)

१२. यरुसलेममा झूटो उपासनाले कसरी बिस्तारै जरा गाड्‌न थाल्यो?

१२ त्यसपछि के भयो, याद गर्नुहोस्‌। यहोवा परमेश्‍वरले यसो भन्‍नुभयो: “तैँले आफ्नो सौन्दर्यमा घमन्ड गर्न थालिस्‌ र तैँले आफ्नै ख्यातिको आड लिएर वेश्‍यावृत्ति गरिस्‌। तैँले सहरमा आउने जोसित पनि लाजै नमानी वेश्‍यागमन गर्न थालिस्‌ र आफ्नो सौन्दर्य लुटाइस्‌।” (इज. १६:१५) राजा सुलेमानको समयमा यहोवा परमेश्‍वरले आफ्ना मानिसहरूलाई प्रशस्त आशिष्‌ र धनसम्पत्ति दिनुभएकोले यरुसलेम पुरातन समयकै सबैभन्दा सानदार सहर भयो। (१ राजा १०:२३, २७) तर त्यहाँ झूटो उपासनाले बिस्तारै जरा गाड्‌न थाल्यो। आफ्ना विदेशी पत्नीहरूलाई खुसी पार्ने धुनमा सुलेमानले झूटा देवीदेवतालाई पुजेर यरुसलेमलाई दूषित तुल्याउन थाले। (१ राजा ११:१-८) अनि तिनीपछिका केही राजाहरू तिनीभन्दा खराब भए; उनीहरूले पूरै देशलाई झूटो उपासनाले दूषित बनाए। आफ्ना मानिसहरू त्यसरी वेश्‍यावृत्तिमा लागेर धोका दिँदा यहोवालाई कस्तो लाग्यो होला? उहाँले ती मानिसहरूलाई यसो भन्‍नुभयो: “तैँले यस्तो काम गरिस्‌, जुन गर्नु हुँदैनथ्यो र पछि पनि कहिल्यै गर्नु हुँदैन।” (इज. १६:१६) तर परमेश्‍वरबाट तर्केर गएका यी मानिसहरू झन्‌झनै भ्रष्ट हुँदै गए!

केही इस्राएलीहरूले मोलेकजस्ता झूटा देवताहरूलाई आफ्ना छोराछोरीहरू बलि चढाए

१३. यरुसलेमका मानिसहरूले कस्तो दुष्ट काम गरे?

१३ आफूले रोजेका मानिसहरूको दुष्टता उदाङ्‌ग पार्नुपर्दा यहोवा परमेश्‍वरलाई कत्ति पीडा भयो होला अनि उहाँलाई कत्ति घिन लाग्यो होला, सोच्नुहोस्‌ त! उहाँले तिनीहरूलाई यसो भन्‍नुभयो: “तैँले मेरो निम्ति जन्माएका छोराछोरीलाई ती मूर्तिहरूको सामुन्‍ने बलि चढाइस्‌। के तेरो वेश्‍यावृत्ति हदै भएन र? तैँले मेरा छोराहरूको हत्या गरिस्‌ र तिनीहरूलाई आगोमा बलि चढाइस्‌।” (इज. १६:२०, २१) यरुसलेमका मानिसहरूले गरेको त्यस्तो क्रूर कामले सैतान कत्ति दुष्ट छ भनेर उदाङ्‌ग पार्छ। यहोवा परमेश्‍वरका मानिसहरूलाई विद्रोहको पासोमा फसाउन पाउँदा सैतान असाध्यै रमाउँछ! तर यहोवा सबै कुरा देख्नुहुन्छ। सैतानले जस्तोसुकै दुष्ट चाल चले पनि उहाँ त्यसलाई सफल हुन दिनुहुन्‍न; उहाँले उचित दण्ड दिनुहुनेछ।अय्युब ३४:२४ पढ्‌नुहोस्‌।

१४. यहोवाले चलाउनुभएको उदाहरणमा यरुसलेमको दिदी र बहिनी को थिए? अनि ती तीन जनामध्ये कोचाहिँ सबैभन्दा दुष्ट साबित भयो?

१४ तर आफूले त्यस्तो दुष्ट काम गरेकोमा यरुसलेमलाई रतीभर अफसोस लागेन। त्यसले वेश्‍यावृत्ति गरिरही। यहोवा परमेश्‍वरले त्यो अरू वेश्‍याहरूभन्दा पनि निर्लज्ज छे भनेर बताउनुभयो किनकि त्यो अरूलाई पैसा दिएर आफूसित यौनसम्बन्ध राख्न लगाउँथी। (इज. १६:३४) यहोवा परमेश्‍वरले यरुसलेम त्यसकी “आमा”—कुनै समय यरुसलेममाथि कब्जा जमाएका मूर्तिपूजक जातिहरूजस्तै छे भन्‍नुभयो। (इज. १६:४४, ४५) परिवारकै उदाहरण चलाउँदै यहोवा परमेश्‍वरले सामरियालाई यरुसलेमकी दिदी भन्‍नुभयो, जसले यरुसलेमले भन्दा पहिले आध्यात्मिक वेश्‍यावृत्ति गरेकी थिई। परमेश्‍वरले सदोमलाई दृष्टान्तको रूपमा चलाउँदै यरुसलेमकी बहिनी भन्‍नुभयो। त्यो सहर पनि आफ्नो अहङ्‌कार र घोर दुष्टताको कारण धेरै अघि नै विनाश भइसकेको थियो। यहोवा परमेश्‍वरले यरुसलेम आफ्नी दिदी सामरिया र आफ्नी बहिनी सदोमभन्दा कता हो कता दुष्ट भएकी छे भन्‍न खोज्दै हुनुहुन्थ्यो। (इज. १६:४६-५०) यहोवाले आफ्ना मानिसहरूलाई धेरै चोटि चेतावनी दिनुभयो तर तिनीहरूले सुनेनन्‌; तिनीहरूले परमेश्‍वरको विद्रोह गरिरहे।

१५. यहोवा परमेश्‍वरले यरुसलेमलाई किन सजाय दिनुहुने थियो र उहाँले तिनीहरूलाई कस्तो आशा पनि दिनुभयो?

१५ यहोवा परमेश्‍वरले के गर्नुहुने थियो? उहाँले यरुसलेमलाई यसो भन्‍नुभयो: “तैँले सन्तुष्ट पारिदिएका तेरा प्रेमीहरू सबैलाई . . . म जम्मा गर्नेछु” र “म तँलाई तिनीहरूको हातमा सुम्पिदिनेछु।” परमेश्‍वरका मानिसहरूले पहिला मित्रता गाँसेका मूर्तिपूजक राष्ट्रहरूले नै त्यसको सौन्दर्य र धनसम्पत्ति लुटेर त्यसलाई नाश गर्ने थिए। यहोवाले “तिनीहरूले . . . तँलाई ढुङ्‌गाले हिर्काउनेछन्‌ र तरबारले काट्‌नेछन्‌” भन्‍नुभयो। यहोवा परमेश्‍वरले यरुसलेमलाई किन सजाय दिनुहुने थियो? आफ्ना मानिसहरूलाई नामेट पार्न त होइन। बरु त्यसको कारण यो थियो: “म तेरो वेश्‍यावृत्तिको अन्त गरिदिनेछु।” उहाँले यसो पनि भन्‍नुभयो: “तब तँविरुद्ध मेरो क्रोध शान्त हुनेछ र मेरो रिस थामिनेछ। त्यसपछि म शान्त हुनेछु र रिसाउनेछैनँ।” यस प्रकाशनको अध्याय ९ मा छलफल गरेझैँ यहोवा परमेश्‍वरले निर्वासनपछि आफ्ना मानिसहरूलाई पुनर्स्थापना गर्ने उद्देश्‍य राख्नुभएको थियो। किन? उहाँले भन्‍नुभयो: “तँ तरुनी हुँदा मैले तँसित गरेको करार म बिर्सनेछैनँ।” (इज. १६:३७-४२, ६०) आफ्ना मानिसहरूले विश्‍वासघात गरे तापनि यहोवा परमेश्‍वर भने वफादार रहिरहनुहुने थियो।प्रकाश १५:४ पढ्‌नुहोस्‌।

१६, १७. (क) ओहोलाह र ओहोलिबाहले चर्चजगत्‌लाई सङ्‌केत गर्छ भनेर अहिले हामी किन भन्दैनौँ? (“वेश्‍या दिदीबहिनी” भन्‍ने पेटी हेर्नुहोस्‌) (ख) इजकिएल अध्याय १६२३ बाट हामी कस्ता पाठहरू सिक्न सक्छौँ?

१६ इजकिएल अध्याय १६ मा पाइने यहोवा परमेश्‍वरको लामो र सशक्‍त वृत्तान्तबाट उहाँका धार्मिक स्तरहरू, न्याय गर्ने तरिका र अपार कृपाबारे हामी धेरै कुरा सिक्न सक्छौँ। इजकिएल अध्याय २३ बारे पनि त्यसै भन्‍न सकिन्छ। आज साँचो ख्रिष्टियनहरू यहोवा परमेश्‍वरले यहुदा र यरुसलेमका मानिसहरूको वेश्‍यावृत्तिबारे दिनुभएको चेतावनीमूलक सन्देशलाई हल्कासित लिँदैनन्‌। हामी कहिल्यै तिनीहरूले जस्तो यहोवा परमेश्‍वरको चित्त दुखाउन चाहँदैनौँ। त्यसैले हामी कुनै पनि किसिमको मूर्तिपूजामा भाग लिँदैनौँ। लोभ र भौतिकवाद पनि एक प्रकारको मूर्तिपूजा नै हो। (मत्ति ६:२४; कल. ३:५) यस अन्तको दिनमा यहोवा परमेश्‍वरले शुद्ध उपासना पुनर्स्थापना गरेर हामीमाथि कृपा देखाउनुभएकोमा सधैँ कृतज्ञ हुन चाहन्छौँ। उहाँले शुद्ध उपासनालाई फेरि कहिल्यै भ्रष्ट हुन दिनुहुनेछैन। यहोवाले आध्यात्मिक इस्राएलसित “सदाको लागि करार” गर्नुभएको छ, जसलाई विश्‍वासघात र वेश्‍यावृत्तिले कहिल्यै बिटुलो पार्नेछैन। (इज. १६:६०) त्यसैले यहोवा परमेश्‍वरका स्वच्छ मानिसहरूसँगै उहाँको उपासना गर्न पाएकोमा त्यसको कदर गरौँ।

१७ तर इजकिएलको किताबमा यहोवा परमेश्‍वरले वेश्‍याहरूको विषयमा भन्‍नुभएको कुराबाट आज “महावेश्‍या” अर्थात्‌ महान्‌ बेबिलोनबारे के सिक्न सक्छौँ? अब त्यसबारे छलफल गरौँ।

त्यो “फेरि कहिल्यै पाइनेछैन”

१८, १९. इजकिएलको किताबमा उल्लेख गरिएका वेश्‍याहरू र प्रकाशको किताबमा उल्लेख गरिएको वेश्‍याबीच कस्ता समानताहरू छन्‌?

१८ यहोवा परमेश्‍वर कहिल्यै परिवर्तन हुनुहुन्‍न। (याकु. १:१७) झूटो धर्मप्रति यहोवाको दृष्टिकोण परिवर्तन भएको छैन भनेर त्यस महावेश्‍याको लामो इतिहासले प्रस्ट पार्छ। त्यसैले इजकिएलको किताबमा उल्लेख गरिएका वेश्‍याहरूलाई यहोवाले दिनुभएको न्यायदण्ड र प्रकाशको किताबमा उल्लेख गरिएको “महावेश्‍या”-ले भोग्ने न्यायदण्डबीच थुप्रै कुरा समान हुनु अचम्मलाग्दो कुरा होइन।

१९ उदाहरणको लागि, इजकिएलका भविष्यवाणीहरूमा उल्लेख गरिएका वेश्‍याहरूले यहोवा परमेश्‍वरको हातबाट होइन बरु ती राष्ट्रहरूको हातबाट सजाय पाए, जससित परमेश्‍वरका विश्‍वासघाती मानिसहरूले आध्यात्मिक यौनसम्बन्ध राखेका थिए। त्यसैगरि झूटो धर्मको विश्‍व साम्राज्यले पनि “पृथ्वीका राजाहरू”-सित वेश्‍यावृत्ति गरेको छ। त्यसले कसको हातबाट सजाय पाउनेछ? बाइबलको विवरणअनुसार संसारका राजनैतिक तत्त्वहरूले “त्यस वेश्‍यालाई घृणा गर्नेछन्‌ र त्यसलाई उजाड र नाङ्‌गो पार्नेछन्‌ अनि त्यसको मासु खानेछन्‌ र त्यसलाई आगोमा भस्म पार्नेछन्‌।” संसारका सरकारहरूले किन त्यस्तो पत्याउनै नसक्ने कदम चाल्नेछन्‌? किनकि “परमेश्‍वरले आफ्नो सोच पूरा गर्न तिनीहरूको हृदयमा यो कुरा हालिदिनुहुनेछ।”—प्रका. १७:१-३, १५-१७.

२०. महान्‌ बेबिलोनले पाउने न्यायदण्ड अन्तिम हुनेछ भनेर केले देखाउँछ?

२० यहोवा परमेश्‍वरले यस संसारका राष्ट्रहरूलाई चलाएर चर्चजगत्‌लगायत सम्पूर्ण झूटा धर्महरूलाई न्यायदण्ड दिनुहुनेछ। महान्‌ बेबिलोनले पाउने यो न्यायदण्ड नै अन्तिम न्यायदण्ड हुनेछ; त्यसलाई माफी दिइनेछैन; त्यसलाई आफ्नो मार्ग परिवर्तन गर्न अर्को मौका दिइनेछैन। प्रकाशको किताबले बेबिलोन “फेरि कहिल्यै पाइनेछैन” भनेर बताएको छ। (प्रका. १८:२१) त्यसको विनाश हुँदा परमेश्‍वरका स्वर्गदूतहरूले यसो भन्दै खुसीयाली मनाउनेछन्‌: “याहको प्रशंसा गर! त्यो सहर जलेर निस्केको धुवाँ सदासर्वदा मास्तिर उठिरहन्छ।” (प्रका. १९:३) महान्‌ बेबिलोन सदाको लागि नाश हुनेछ। त्यसपछि कुनै पनि झूटो धर्म खडा हुनेछैन र त्यसले शुद्ध उपासनालाई भ्रष्ट बनाउन पाउनेछैन। महान्‌ बेबिलोन विनाश हुँदा त्यसबाट निस्केको धुवाँ प्रतीकात्मक अर्थमा सदासर्वदा मास्तिर उठिरहनेछ।

महान्‌ बेबिलोनले लामो समयदेखि बहकाउँदै र प्रभुत्व जमाउँदै आएका राष्ट्रहरू नै त्यसमाथि जाइलाग्नेछन्‌ र त्यसलाई नाश गर्नेछन्‌ (अनुच्छेद १९, २० हेर्नुहोस्‌)

२१. झूटो धर्मको विनाश कुन समयावधि सुरु भएको सङ्‌केत हुनेछ र त्यो समयावधिको अन्त कसरी हुनेछ?

२१ यस संसारका सरकारहरू महान्‌ बेबिलोनमाथि जाइलाग्दा तिनीहरूले त्यसलाई यहोवा परमेश्‍वरको तर्फबाट न्यायदण्ड दिइरहेका हुन्छन्‌। त्यो यहोवाको उद्देश्‍यको पूर्तिमा एउटा महत्त्वपूर्ण घटना हुनेछ। त्यो नै महासङ्‌कष्ट सुरु भएको सङ्‌केत हुनेछ। त्यतिबेला पूरै पृथ्वीमा पहिला कहिल्यै नभएको उथलपुथल मच्चिनेछ। (मत्ति २४:२१) महासङ्‌कष्टको अन्तिम चरणमा आरमागेडोनको युद्ध हुनेछ, जुन यस दुष्ट संसारविरुद्ध परमेश्‍वरले लड्‌नुहुने लडाइँ हो। (प्रका. १६:१४, १६) हामी यसपछिका अध्यायहरूमा महासङ्‌कष्टको दौडान हुने घटनाहरूबारे छलफल गर्नेछौँ। तर इजकिएल अध्याय १६२३ बाट हामी कस्ता पाठहरू सिक्न र लागू गर्न सक्छौँ?

यस संसारका सरकारहरू महान्‌ बेबिलोनमाथि जाइलाग्दा तिनीहरूले त्यसलाई यहोवा परमेश्‍वरको तर्फबाट न्यायदण्ड दिइरहेका हुन्छन्‌ (अनुच्छेद २१ हेर्नुहोस्‌)

२२, २३. इजकिएल र प्रकाशको किताबमा वेश्‍याहरूबारे गरिएको वर्णनलाई विचार गर्दा त्यसले हाम्रो पवित्र सेवामा कस्तो असर पार्नुपर्ने हो?

२२ सैतान यहोवाका उपासकहरूलाई भ्रष्ट पार्न चाहन्छ। त्यसले हामीलाई शुद्ध उपासनादेखि टाढा लैजाने कोसिस गर्छ। हामी इजकिएलको किताबमा उल्लेख गरिएको वेश्‍याहरू हिँडेको मार्गमा हिँड्‌दा त्यो असाध्यै खुसी हुन्छ। त्यसकारण यहोवा उहाँबाहेक अरूको उपासना गरेको वा उहाँलाई विश्‍वासघात गरेको पटक्कै सहनुहुन्‍न भन्‍ने कुरा हामीले कहिल्यै बिर्सनु हुँदैन। (गन्ती २५:११) हामी झूटो धर्मबाट कोसौँ टाढा बस्नुपर्छ, परमेश्‍वरको नजरमा “अशुद्ध कुरा” छुनदेखि सधैँ होसियार हुनुपर्छ। (यसै. ५२:११) हामी राजनैतिक विवादहरूमा र यो विभाजित संसारका कलहहरूमा तटस्थ हुनुपर्ने कारण पनि यही हो। (युह. १५:१९) हामी राष्ट्रवादलाई सैतानले फैलाएको झूटो धर्मकै रूपमा हेर्छौँ र राष्ट्रवादसित कुनै सरोकार राख्दैनौँ।

२३ सफा र शुद्ध पारिएको आध्यात्मिक मन्दिरमा यहोवा परमेश्‍वरको उपासना गर्न पाउनु ठूलो सुअवसर हो भन्‍ने कुरा हामी कहिल्यै नबिर्सौँ। यहोवाको उपासना गर्ने यस्तो विशेष प्रबन्धको कदर गर्दै झूटो धर्म र त्यसको वेश्‍यावृत्तिसित कुनै किसिमको सम्बन्ध नराख्ने दृढ सङ्‌कल्प गरौँ।