सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय १८

“मेरो क्रोध दन्कनेछ”

“मेरो क्रोध दन्कनेछ”

इजकिएल ३८:१८

मुख्य कुरा: गोगको आक्रमणले यहोवा परमेश्‍वरलाई क्रोधित तुल्याउनेछ; आरमागेडोनको युद्धमा उहाँले आफ्ना मानिसहरूलाई जोगाउनुहुनेछ

१-३. (क) यहोवा परमेश्‍वरको ‘क्रोध दन्कँदा’ नतिजा कस्तो हुनेछ? (शीर्षकमाथिको चित्र हेर्नुहोस्‌) (ख) अब हामी कुन कुरा छलफल गर्नेछौँ?

 पुरुष, स्त्री र केटाकेटी एकसाथ खडा भएर राज्यगीत गाइरहेका छन्‌। त्यसपछि एक एल्डर सुरक्षाको लागि यहोवा परमेश्‍वरलाई मनैदेखि प्रार्थना गर्छन्‌। मण्डलीमा हुनेहरू सबै जना यहोवाले ख्याल राख्नुहुन्छ भन्‍ने कुरामा विश्‍वस्त छन्‌ तर तिनीहरूलाई अझ धेरै सान्त्वना र ढाडस चाहिएको छ। बाहिर लडाइँको चर्को आवाज सुनिन्छ। हो, आरमागेडोनको युद्ध सुरु भएको छ!—प्रका. १६:१४, १६.

आरमागेडोनको युद्धमा मानिसहरूमाथि यहोवा परमेश्‍वरको “क्रोध दन्कनेछ” तर यो अन्धाधुन्ध भने हुनेछैन। (इजकिएल ३८:१८ पढ्‌नुहोस्‌) उहाँले आफ्नो बल्दो रिस कुनै एउटा सेना वा कुनै एउटा राष्ट्रमाथि होइन, पृथ्वीभरि छरिएर रहेका अनगिन्ती मानिसहरूमाथि खन्याउनुहुनेछ। त्यस दिन यहोवाको हातबाट नाश भएकाहरू “पृथ्वीको वल्लो छेउदेखि पल्लो छेउसम्म हुनेछन्‌।”—यर्मि. २५:२९, ३३.

बाइबलमा यहोवालाई प्रेमको परमेश्‍वर भनिएको छ। साथै उहाँ “कृपालु र दयालु” अनि ‘हतपती नरिसाउने’ परमेश्‍वर हुनुहुन्छ। त्यसोभए उहाँले मानिसहरूमाथि किन आफ्नो ‘क्रोध दन्काउनुहुनेछ’? (प्रस्थ. ३४:६; १ युह. ४:१६) यस प्रश्‍नको जवाफले हामीलाई कस्तो सान्त्वना दिन्छ, हाम्रो साहस कसरी बढाउँछ र आज भइरहेको प्रचारकार्यमा लागिरहन हामीलाई कसरी उत्प्रेरित गर्छ, त्यसबारे छलफल गरौँ।

यहोवा परमेश्‍वरको “क्रोध” किन दन्कनेछ?

४, ५. परमेश्‍वरको रिस त्रुटिपूर्ण मानिसहरूको भन्दा कसरी फरक छ?

पहिला त हामीले यहोवा परमेश्‍वरको रिस हामी त्रुटिपूर्ण मानिसहरूको जस्तो होइन भन्‍ने कुरा बुझ्नुपर्छ। जब मानिसको रिस क्रोधमा परिणत हुन्छ र उसले त्यो आफ्नो काममा पनि देखाउँछ, तब त्यसको नतिजा अक्सर भयावह हुन्छ। उदाहरणको लागि, आदमको जेठो छोरा कयिन “रिसले चूर भए” किनकि यहोवा परमेश्‍वरले हाबिलको भेटी ग्रहण गर्नुभयो तर उसको भेटी भने ग्रहण गर्नुभएन। नतिजा कस्तो भयो? कयिनले आफ्नो धर्मी भाइको हत्या गऱ्‍यो। (उत्प. ४:३-८; हिब्रू ११:४) दाउदलाई पनि विचार गर्नुहोस्‌, जसलाई यहोवा परमेश्‍वरले “मलाई मन पर्ने मानिस” भन्‍नुभयो। (प्रेषि. १३:२२) धनी जमिनदार नाबालले दाउद र तिनका मानिसहरूको बेइज्जत गरेको थाह पाएपछि दाउदजस्तो असल पुरुषले समेत एउटा भयानक अपराध गर्नै आँटेका थिए। दाउद र तिनका सिपाहीहरू रिसले आगो भए अनि त्यो वैगुणी नाबाल र त्यसको घरानामा भएका सबै पुरुषलाई नाश गर्न “तिनीहरू सबैले तरबार भिरे।” तर नाबालकी पत्नी अबिगेल दाउद र तिनका मानिसहरूकहाँ गइन्‌ र उनले तिनीहरूलाई बदला नलिन मनाउन सकिन्‌। (१ समु. २५:९-१४, ३२, ३३) यहोवा परमेश्‍वरले याकुबलाई यस्तो लेख्न प्रेरणा दिनुको कारण हामी बुझ्न सक्छौँ: “रिस गर्ने मानिस परमेश्‍वरको धार्मिक स्तरबमोजिम चलिरहेको हुँदैन।”—याकु. १:२०.

यहोवा परमेश्‍वरको रिस उहाँको नियन्त्रणमा हुन्छ अनि उहाँ रिसाउनुको कारण पनि स्पष्टै थाह हुन्छ

मानिसहरूको जस्तो नभई यहोवा परमेश्‍वरको रिस उहाँको नियन्त्रणमा हुन्छ अनि उहाँ रिसाउनुको कारण पनि स्पष्टै थाह हुन्छ। असाध्यै क्रोधित हुँदासमेत उहाँ गलत काम गर्नुहुन्‍न। कुनै शत्रुलाई सजाय दिँदा उहाँ ‘धर्मी मानिसलाई पनि दुष्टसँगसँगै नाश गर्नुहुन्‍न।’ (उत्प. १८:२२-२५) साथै उहाँ उचित कारणले मात्र रिसाउनुहुन्छ। उहाँ रिसाउनुको दुइटा कारण र त्यसबाट हामीले सिक्न सक्ने पाठहरू विचार गरौँ।

६. आफ्नो नाममा कलङ्‌क लाग्दा यहोवा परमेश्‍वर के गर्नुहुन्छ?

कारण: यहोवा परमेश्‍वरको नाममा कलङ्‌क लागेको छ। यहोवाको नाम बहन गरेको दाबी गर्ने तर त्यसअनुसार काम नगर्ने मानिसहरूले उहाँको प्रतिष्ठामा दाग लगाएर उहाँलाई रिस उठाएका छन्‌। (इज. ३६:२३) यस प्रकाशनको अगाडिका अध्यायहरूमा छलफल गरिएझैँ इस्राएल राष्ट्रले यहोवाको नाममा खोट लगायो। त्यस राष्ट्रको मनोवृत्ति र काम देख्दा यहोवा परमेश्‍वरलाई रिस उठ्यो। तर उहाँले कहिल्यै आफ्नो क्रोधलाई नियन्त्रणबाहिर जान दिनुभएन; उहाँले आफ्ना मानिसहरूलाई “ठीक मात्रामा” सजाय दिनुभयो। (यर्मि. ३०:११) अनि आफू रिसाउनुको उद्देश्‍य पूरा भएपछि उहाँले मनमा रिस पालेर राख्नुभएन।—भज. १०३:९.

७, ८. यहोवा परमेश्‍वरले इस्राएलीहरूसित गर्नुभएको व्यवहारबाट हामी कस्ता पाठहरू सिक्न सक्छौँ?

पाठहरू: यहोवा परमेश्‍वरले इस्राएलीहरूसित गर्नुभएको व्यवहारले हामीलाई एउटा गम्भीर चेतावनी दिन्छ। पुरातन समयका इस्राएलीहरूले जस्तै हामीले पनि यहोवाको नाम बहन गर्ने सुअवसर पाएका छौँ। हामी यहोवाका साक्षी हौँ। (यसै. ४३:१०) हाम्रो बोली र व्यवहारले यहोवा परमेश्‍वरप्रति मानिसहरूको दृष्टिकोणलाई असर गर्छ। त्यसैले हामी निर्लज्ज काम गरेर यहोवाको नाममा खोट लगाउन चाहँदैनौँ। हाम्रो त्यस्तो कपटी व्यवहारले यहोवालाई रिस उठाउनेछ अनि ढिलो होस्‌ या चाँडो, उहाँले आफ्नो प्रतिष्ठा जोगाउन कदम चाल्नुहुनेछ।हिब्रू ३:१३, १५; २ पत्रु. २:१, २.

यहोवा परमेश्‍वरसित मानिसहरूमाथि आफ्नो “क्रोध” दन्काउन सक्ने शक्‍ति छ भन्‍ने कुरा थाह पाउँदा के हामी उहाँको नजिक जान डराउनुपर्छ? अहँ, पर्दैन। यहोवा धीरजी र क्षमाशील हुनुहुन्छ भन्‍ने कुरा हामीलाई थाह छ। (यसै. ५५:७; रोमी २:४) तर आवश्‍यक परेको बेला उहाँ हामीलाई अनुशासन पनि दिनुहुन्छ। वास्तवमा घरीघरी पाप गरिरहने मानिसहरूमाथि यहोवा आफ्नो रिस खन्याउनुहुन्छ र उनीहरूलाई आफ्ना मानिसहरूमाझ रहिरहन दिनुहुन्‍न भन्‍ने कुरा थाह पाउँदा हामी उहाँलाई अझ धेरै आदर गर्न उत्प्रेरित हुन्छौँ। (१ कोरि. ५:११-१३) केले उहाँलाई रिस उठाउँछ भनेर उहाँले स्पष्टै बताउनुभएको छ। त्यसैले उहाँलाई रिस उठाउने मनोवृत्ति र कामबाट अलग बस्नु हाम्रो जिम्मेवारी हो।—युह. ३:३६; रोमी १:२६-३२; याकु. ४:८.

९, १०. आफ्ना वफादार मानिसहरूलाई डरधम्की दिइँदा यहोवा परमेश्‍वर के गर्नुहुन्छ? उदाहरणहरू दिनुहोस्‌।

कारण: यहोवा परमेश्‍वरका वफादार मानिसहरूलाई डरधम्की दिइएको छ। वफादार भई यहोवा परमेश्‍वरको छत्रछायामा शरण लिने मानिसहरूलाई शत्रुहरूले आक्रमण गर्दा त्यसले यहोवालाई रिस उठाउँछ। उदाहरणको लागि, इस्राएलीहरू मिश्रबाट निस्केर लाल समुद्रको किनारामा पुगेका थिए। त्यति नै बेला फारो र तिनको विशाल सेना असहायजस्ता देखिने ती इस्राएलीहरूलाई खेद्‌दै आए। तर त्यो शक्‍तिशाली सैन्य दलले इस्राएलीहरूलाई सुक्खा पारिएको लाल समुद्रमा खेदिरहेको बेला यहोवाले रथहरूको पाङ्‌ग्रा फुस्काइदिनुभयो र मिश्रीहरूलाई समुद्रमै फालिदिनुभयो। “उनीहरूमध्ये एक जना पनि उम्कन पाएनन्‌।” (प्रस्थ. १४:२५-२८) आफ्ना मानिसहरूप्रतिको “अटल प्रेम”-ले गर्दा मिश्रीहरूमाथि यहोवा परमेश्‍वरको रिस दन्कियो।—प्रस्थान १५:९-१३ पढ्‌नुहोस्‌।

हिजकियाहको समयमा एक जना स्वर्गदूतले परमेश्‍वरका मानिसहरूलाई अस्सेरियालीहरूबाट सुरक्षा दिएजस्तै भविष्यमा पनि स्वर्गदूतहरूले हामीलाई सुरक्षा दिनेछन्‌ (अनुच्छेद १०, २३ हेर्नुहोस्‌)

१० त्यसैगरि राजा हिजकियाहको समयमा पनि यहोवा परमेश्‍वरले आफ्ना मानिसहरूप्रतिको प्रेमले गर्दा कदम चाल्नुभयो। त्यतिबेलाको सबैभन्दा शक्‍तिशाली र क्रूर सैन्य दल भएको अस्सेरियालीहरू यरुसेलम आएर त्यसलाई आक्रमण गर्न तम्तयार भए। तिनीहरूले यहोवा परमेश्‍वरका वफादार सेवकहरूको सहरलाई घेराबन्दी गरेर डरधम्की दिए र त्यो घेराबन्दीले गर्दा उहाँका सेवकहरूले बिस्तारै भयावह मृत्यु भोग्नुपर्ने थियो। (२ राजा १८:२७) तर यसको जवाफस्वरूप यहोवा परमेश्‍वरले एक जना स्वर्गदूत पठाउनुभयो र ती स्वर्गदूतले एकै रातमा शत्रु पक्षको १ लाख ८५ हजार सिपाहीलाई मारे! (२ राजा १९:३४, ३५) भोलिपल्ट बिहान अस्सेरियालीहरूको छाउनीको अवस्था कस्तो थियो होला, कल्पना गर्नुहोस्‌। भाला, ढाल र तरबार जस्ताको तस्तै छ। सिपाहीहरूलाई जगाउन बिगुल फुक्ने कोही छैन; सेनालाई तैनाथ हुन आदेश दिने पनि कोही छैन। छाउनीमा चारैतिर सन्‍नाटा छाएको छ र जताततै लासैलास छ।

११. आफ्ना सेवकहरूलाई डरधम्की दिइँदा यहोवा परमेश्‍वरले देखाउनुहुने प्रतिक्रिया बुझ्न मदत दिने बाइबलका उदाहरणहरूबाट कस्तो सान्त्वना र साहस पाउन सक्छौँ?

११ पाठहरू: आफ्ना सेवकहरूलाई डरधम्की दिइँदा यहोवा परमेश्‍वर कस्तो प्रतिक्रिया देखाउनुहुन्छ भन्‍ने कुरा बुझ्न मदत गर्ने यी उदाहरणहरूबाट हाम्रा शत्रुहरूले यस्तो चेतावनी पाउँछन्‌: यहोवा परमेश्‍वरको क्रोध दन्केको बेला उहाँको “हातमा पर्नु डरलाग्दो कुरा हो।” (हिब्रू १०:३१) तर यी उदाहरणहरूबाट हामीले भने सान्त्वना र साहस पाउँछौँ। हाम्रो प्रमुख शत्रु सैतान सफल हुनेछैन भन्‍ने कुरा थाह पाउँदा हामी सान्त्वना पाउँछौँ। त्यसले शासन गर्ने समय “थोरै मात्र बाँकी” छ! (प्रका. १२:१२) त्यतिन्जेल हामी साहसी भई यहोवाको सेवा गर्न सक्छौँ किनकि कुनै पनि मानिस, सङ्‌गठन वा सरकारले हामीलाई परमेश्‍वरको इच्छा पूरा गर्नदेखि रोक्न सक्दैन। (भजन ११८:६-९ पढ्‌नुहोस्‌) प्रेषित पावलजस्तै हामी पनि यो कुरामा विश्‍वस्त छौँ: “यदि परमेश्‍वर हाम्रो पक्षमा हुनुहुन्छ भने हाम्रो विरुद्धमा को खडा हुन सक्छ र?”—रोमी ८:३१.

१२. महासङ्‌कष्टको दौडान यहोवा परमेश्‍वरको क्रोध किन दन्कनेछ?

१२ लाल समुद्रमा इस्राएलीहरू मिश्रीहरूको पासोमा पर्दा अनि अस्सेरियालीहरूले यरुसलेमलाई घेराबन्दी गर्दा यहोवा परमेश्‍वरले आफ्ना मानिसहरूलाई जोगाउनुभएझैँ आउनै लागेको महासङ्‌कष्टको दौडान उहाँले हामीलाई पनि जोगाउनुहुनेछ। यहोवा परमेश्‍वर हामीलाई असाध्यै माया गर्नुहुन्छ। त्यसैले हाम्रा शत्रुहरूले हामीलाई नाश गर्ने प्रयास गर्दा तिनीहरूमाथि उहाँको क्रोध दन्कनेछ। हामीलाई आक्रमण गर्नु तिनीहरूको ठूलो भुल हुनेछ किनकि त्यसो गरेर तिनीहरूले एक अर्थमा यहोवाको आँखाको नानीलाई छोइरहेका हुनेछन्‌। त्यतिबेला उहाँले तुरुन्तै कदम चाल्नुहुनेछ। (जक. २:८, ९) त्यतिबेला कति ठूलो रक्‍तपात मच्चिनेछ, हामी अनुमान पनि गर्न सक्दैनौँ। तर यहोवा परमेश्‍वरले आफ्नो क्रोध पोखाउनुहुँदा उहाँका शत्रुहरूले छक्क मान्‍नुपर्ने कारण नै हुनेछैन। किन?

यहोवा परमेश्‍वरले कस्तो चेतावनी दिनुभएको छ?

१३. यहोवा परमेश्‍वरले कस्तो चेतावनी दिनुभएको छ?

१३ यहोवा परमेश्‍वर ‘हतपती रिसाउनुहुन्‍न’ अनि उहाँको विरोध गर्ने र उहाँका मानिसहरूलाई डरधम्की दिनेहरूलाई नाश गर्नेबारे उहाँले पर्याप्त चेतावनी दिनुभएको छ। (प्रस्थ. ३४:६, ७) अब हुनै लागेको निर्णायक लडाइँबारे चेतावनी दिन यहोवा परमेश्‍वरले यर्मिया, इजकिएल, दानिएल र येसु ख्रिष्टजस्ता भविष्यवक्‍ताहरू अनि पत्रुस, पावल र युहन्‍नाजस्ता प्रेषितहरूलाई चलाउनुभयो।—“यहोवा ठूलो लडाइँको चेतावनी दिनुहुन्छ” भन्‍ने पेटी हेर्नुहोस्‌।

१४, १५. यहोवा परमेश्‍वरले के-कस्ता काम गर्नुभएको छ र किन?

१४ यहोवा परमेश्‍वरले यी चेतावनीहरू आफ्नो वचनमा रेकर्ड गर्न लगाउनुभयो। अनि उहाँले बाइबल सबैभन्दा धेरै भाषामा अनुवाद र वितरण हुन सकोस्‌ भनेर पनि पक्का गर्नुभयो। उहाँले संसारभर नै मानिसहरूलाई परमेश्‍वरसित मिलाप गर्न मदत दिने र “यहोवाको महान्‌ दिन”-बारे चेतावनी दिने स्वयम्‌सेवकहरूको एउटा विशाल दल खडा गर्नुभएको छ। (सप. १:१४; भज. २:१०-१२; ११०:३) साथै उहाँले सयौँ भाषामा बाइबलआधारित प्रकाशनहरू अनुवाद गर्न आफ्ना मानिसहरूलाई उत्प्रेरित गर्नुभएको छ। अनि परमेश्‍वरको वचनमा पाइने प्रतिज्ञाहरू र चेतावनीहरू सुनाउने काममा प्रत्येक वर्ष करोडौँ घण्टा बिताउन पनि उत्प्रेरित गर्नुभएको छ।

१५ यहोवा परमेश्‍वरले यी सबै काम गर्नुभएको छ “किनकि उहाँ कोही पनि नाश नहोस्‌ बरु सबैले पश्‍चात्ताप गरून्‌ भन्‍ने चाहनुहुन्छ।” (२ पत्रु. ३:९) हाम्रा मायालु र धीरजी परमेश्‍वरको नाम बहन गर्न पाउनु र उहाँको सन्देश फैलाउने काममा आफ्नो तर्फबाट सानो भए पनि योगदान दिन पाउनु हाम्रो लागि ठूलो सुअवसर हो। तर चेतावनी सुन्‍न नचाहने मानिसहरूलाई समयले पर्खनेछैन।

यहोवाको रिस कहिले ‘दन्कनेछ’?

१६, १७. के यहोवा परमेश्‍वरले निर्णायक लडाइँको लागि दिन तोकिसक्नुभएको छ? व्याख्या गर्नुहोस्‌।

१६ यहोवा परमेश्‍वरले त्यो निर्णायक लडाइँको लागि दिन तोकिसक्नुभएको छ। शत्रुहरूले आफ्ना मानिसहरूलाई कहिले आक्रमण गर्नेछन्‌ भन्‍ने कुरा उहाँलाई पहिल्यै थाह हुन्छ। (मत्ति २४:३६) तर कसरी?

१७ यस प्रकाशनको अघिल्लो अध्यायमा छलफल गरेझैँ यहोवा परमेश्‍वरले गोगलाई “म . . . तेरो बङ्‌गारामा बल्छी लगाउनेछु” भन्‍नुभएको छ। यहोवा परमेश्‍वरले राष्ट्रहरूलाई एउटा निर्णायक लडाइँसम्म डोऱ्‍याउनुहुनेछ। (इज. ३८:४) तर यसको अर्थ यहोवाले नै त्यो लडाइँ सुरु गर्नुहुनेछ भन्‍ने होइन। अनि उहाँले विरोधीहरूको स्वतन्त्र इच्छा हनन गर्नुहुनेछ भन्‍ने पनि होइन। बरु यसको अर्थ हो, यहोवा मानिसहरूको हृदय पढ्‌न सक्नुहुन्छ र कुनै खास परिस्थितिमा आफ्ना शत्रुहरूले कस्तो प्रतिक्रिया देखाउँछन्‌ भनेर उहाँलाई थाह हुन्छ।—भज. ९४:११; यसै. ४६:९, १०; यर्मि. १७:१०.

१८. मानिसहरू किन सर्वशक्‍तिमान्‌ परमेश्‍वरको विरुद्धमा उठ्‌नेछन्‌?

१८ यदि यहोवा स्वयम्‌ले त्यो लडाइँ सुरु गर्नुहुन्‍न र आफ्ना विरोधीहरूलाई लडाइँको लागि बाध्य पनि पार्नुहुन्‍न भने मानिसहरू सर्वशक्‍तिमान्‌ परमेश्‍वरको विरुद्धमा किन उठ्‌नेछन्‌ त? एउटा कारण हो, इतिहासको त्यस घडीसम्ममा सायद तिनीहरू परमेश्‍वर हुनुहुन्‍न अथवा हुनुभए पनि मानव मामिलाहरूमा हस्तक्षेप गर्नुहुन्‍न भन्‍ने कुरामा विश्‍वस्त भइसकेका हुनेछन्‌। तिनीहरूले भर्खरै मात्र पृथ्वीका सम्पूर्ण झूटा धर्महरूलाई नाश गरेकोले पनि सम्भवतः तिनीहरू त्यस्तो निष्कर्षमा पुग्नेछन्‌। तिनीहरूले सायद यस्तो तर्क गर्नेछन्‌: ‘यदि परमेश्‍वर हुनुभएको भए उहाँको सेवा गरेको दाबी गर्ने ती सङ्‌गठनहरूलाई जोगाइहाल्नुहुन्थ्यो नि!’ तर ती धर्महरूलाई नाश गर्ने सोच तिनीहरूको हृदयमा हालिदिने वास्तवमा परमेश्‍वर नै हुनुहुन्थ्यो भन्‍ने कुरा तिनीहरूलाई पत्तै हुनेछैन।—प्रका. १७:१६, १७.

१९. झूटो धर्म विनाश भएपछि सम्भवतः के हुनेछ?

१९ झूटो धर्म विनाश भएको केही समयपछि यहोवा परमेश्‍वरले सम्भवतः आफ्ना मानिसहरूलाई चलाएर कडा सन्देश सुनाउनुहुनेछ; प्रकाशको किताबमा यस सन्देशलाई असिनाहरूसित तुलना गरिएको छ र ती प्रत्येक असिनाको तौल लगभग २० किलो छ। (प्रका. १६:२१, फुटनोट) यो सन्देश अब चाँडै संसारको राजनैतिक र व्यापारिक जगत्‌ अन्त हुनेछ भन्‍ने घोषणा हुन सक्छ। यो सन्देश सुन्‍नेहरूलाई यसले यो हदसम्म सताउनेछ कि तिनीहरूले परमेश्‍वरकै निन्दा गर्नेछन्‌। सायद यही सन्देशले राष्ट्रहरूलाई परमेश्‍वरका मानिसहरूमाथि भएभरको बल लगाएर आक्रमण गर्न उक्साउनेछ, तिनीहरूले हामीलाई सदाको लागि चुप पार्न खोज्नेछन्‌। तिनीहरूले हामीलाई निस्सहाय देख्नेछन्‌ र हामीलाई सजिलै खत्तम पार्न सकिन्छ भनेर सोच्नेछन्‌। तर त्यस्तो सोच्नु तिनीहरूको ठूलो भुल हुनेछ!

यहोवाले आफ्नो क्रोध कसरी पोखाउनुहुनेछ?

२०, २१. गोग को हो र त्यसलाई के हुनेछ?

२० हामीले यस किताबको अध्याय १७ मा छलफल गरेझैँ हामीमाथि आक्रमण गर्ने राष्ट्रहरूको गठबन्धनलाई चिनाउन इजकिएलले त्यसलाई “मागोग देशको गोग” भन्‍ने भविष्यसूचक नाम दिएका छन्‌। (इज. ३८:२) तर यस गठबन्धनका सदस्यहरूबीचको एकता एकसरो धागोजस्तै कमजोर हुनेछ। बाहिर मिलेको जस्तो देखिए तापनि भित्रभित्रै भने उनीहरूबीच प्रतिस्पर्धा, घमन्ड र राष्ट्रवादको भावना रहिरहनेछ। त्यसैले उनीहरूलाई “आफ्नै दाजुभाइ”-को विरुद्धमा उठाउन यहोवा परमेश्‍वरलाई सजिलो हुनेछ। (इज. ३८:२१) तर राष्ट्रहरूको विनाश मानवीय कारणले गर्दा हुनेछैन।

२१ हाम्रा शत्रुहरूले तिनीहरू नाश हुनुअघि मानिसको छोराको चिन्ह देख्नेछन्‌; सम्भवतः त्यो चिन्ह यहोवा परमेश्‍वर र येसुको अपार शक्‍तिको प्रदर्शन हुनेछ। त्यतिबेला हाम्रा विरोधीहरूले अत्यन्तै विचलित बनाउने कुराहरू देख्नेछन्‌। येसुले भविष्यवाणी गर्नुभएझैँ “पृथ्वीमाथि आइपर्ने कुराहरूको डर र आशङ्‌काले गर्दा मानिसहरू मूर्च्छा पर्नेछन्‌।” (लुका २१:२५-२७) तब मात्र तिनीहरूले यहोवा परमेश्‍वरका मानिसहरूलाई आक्रमण गर्नु ठूलो भुल रहेछ भनेर चाल पाउनेछन्‌। त्यतिबेला तिनीहरू हाम्रा सृष्टिकर्ताले सेनापतिको भूमिका निर्वाह गर्नुभएको कुरा स्विकार्न बाध्य हुनेछन्‌। (भज. ४६:६-११; इज. ३८:२३) यहोवा परमेश्‍वरले स्वर्गका सेनाहरू र प्राकृतिक शक्‍तिहरू प्रयोग गर्नुहुँदा आफ्ना वफादार सेवकहरूलाई जोगाउनुहुनेछ तर शत्रुहरूलाई चाहिँ नाश गर्नुहुनेछ।२ पत्रुस २:९ पढ्‌नुहोस्‌।

आफ्ना मानिसहरू खतरामा पर्दा यहोवाले आफ्नो क्रोध पोखाउन स्वर्गका सेनाहरूलाई चलाउनुहुनेछ (अनुच्छेद २१ हेर्नुहोस्‌)

२२, २३. परमेश्‍वरका मानिसहरूलाई कसले जोगाउनेछन्‌ र आफ्नो कामप्रति उनीहरूले कस्तो महसुस गर्नेछन्‌?

यहोवाको दिनबारे हामीलाई जे-जति थाह छ, त्यसले हामीलाई के गर्न उत्प्रेरित गर्नुपर्छ?

२२ परमेश्‍वरका शत्रुहरूलाई नाश गर्न पाउँदा अनि उहाँलाई प्रेम गर्ने र उहाँको सेवा गर्ने मानिसहरूलाई जोगाउने कामको नेतृत्व लिन पाउँदा येसुलाई कत्ति खुसी लाग्ला, सोच्नुहोस्‌ त! त्यतिबेला अभिषिक्‍त जनहरूले कस्तो महसुस गर्छन्‌ होला, त्यो पनि सोच्नुहोस्‌! पृथ्वीमा बाँकी रहेका अभिषिक्‍त जनहरूलाई आरमागेडोन सुरु हुनुभन्दा केही समयअघि स्वर्ग लगिनेछ, जसले गर्दा १ लाख ४४ हजार सबैले येसुलाई त्यस लडाइँमा साथ दिन सक्नेछन्‌। (प्रका. १७:१२-१४) यस अन्तको दिनमा ती अभिषिक्‍त जनहरूले अरू भेडाका सदस्यहरूसँगै सेवा गरेकोले तिनीहरूले पक्कै पनि आपसमा गहिरो मित्रता गाँसेका हुनेछन्‌। अब ती अभिषिक्‍त जनहरूसित तिनीहरूको दुःखमा वफादार भई साथ दिनेहरूको लागि लड्‌ने अख्तियार र शक्‍ति दुवै हुनेछ।—मत्ति २५:३१-४०.

२३ स्वर्गदूतहरू पनि येसुको स्वर्गको सेनाको भाग हुनेछन्‌। (२ थिस्स. १:७; प्रका. १९:१४) उनीहरूले पहिला पनि सैतान र त्यसका प्रेतहरूलाई स्वर्गबाट तल फ्याँक्न येसुलाई सघाएका थिए। (प्रका. १२:७-९) अनि उनीहरूले पृथ्वीमा यहोवाको उपासना गर्न चाहनेहरूलाई जम्मा गर्ने काममा पनि भाग लिएका छन्‌। (प्रका. १४:६, ७) त्यसकारण यहोवा परमेश्‍वरले आफ्ना वफादार सेवकहरूलाई जोगाउन यी स्वर्गदूतहरूलाई चलाउनु साँच्चै उपयुक्‍त छ! सबैभन्दा महत्त्वपूर्ण कुरा, यहोवाका शत्रुहरूलाई नाश गरेर उहाँको नाम अथवा प्रतिष्ठा उच्च र पवित्र पार्ने काममा भाग लिन पाउँदा यहोवाको सेनामा भएका सबैले गर्व गर्नेछन्‌।—मत्ति ६:९, १०.

२४. ठूलो भीडले कस्तो प्रतिक्रिया देखाउनेछ?

२४ ठूलो भीडलाई सुरक्षा दिने सेना साँच्चै शक्‍तिशाली र तम्तयार छ। त्यसैले ठूलो भीड डरले काँप्नुपर्ने कुनै कारण छैन। वास्तवमा त्यतिबेला तिनीहरूले “खडा भएर आफ्नो शिर [उठाउनेछन्‌] किनकि [तिनीहरूको] छुटकारा नजिक आउँदै छ।” (लुका २१:२८) त्यसैले यहोवाको दिन आउनुअघि नै हामीले धेरैभन्दा धेरै मानिसलाई हाम्रा कृपालु र सुरक्षा दिनुहुने बुबालाई चिन्‍न र उहाँलाई प्रेम गर्न सिकाउनु महत्त्वपूर्ण छ!सपन्याह २:२, ३ पढ्‌नुहोस्‌।

आरमागेडोनको दौडान हामीले लडाइँ गर्नुपर्ने छैन। आक्रमणकारीहरू एकअर्काको विरुद्धमा उठ्‌दा स्वर्गदूतहरूले हामीलाई सुरक्षा दिनेछन्‌।—इज. ३८:२१ (अनुच्छेद २२-२४ हेर्नुहोस्‌)

२५. अर्को अध्यायमा कुन कुरा छलफल गर्नेछौँ?

२५ मानव युद्धले गन्जागोल र दुःख निम्त्याउँछ। तर आरमागेडोनको युद्धपछि भने सबैतिर सुख-शान्ति छाउनेछ। यहोवा परमेश्‍वरको क्रोध शान्त हुँदा, उहाँका योद्धाहरूले आ-आफ्नो तरबार थन्काउँदा र त्यो महान्‌ दिनको लडाइँको आवाज मधुरो हुँदै जाँदा अवस्था कस्तो होला, कल्पना गर्नुहोस्‌ त! अर्को अध्यायमा हामी त्यो सुन्दर भविष्यबारे छलफल गर्नेछौँ।