सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय १७

“गोग, म तँविरुद्ध खडा भएको छु”

“गोग, म तँविरुद्ध खडा भएको छु”

इजकिएल ३८:३

मुख्य कुरा: “गोग” र त्यसले आक्रमण गर्ने “देश”-को चिनारी

१, २. कुन युद्ध नजिकै छ र यस युद्धबारे कस्ता प्रश्‍नहरू खडा हुन्छन्‌? (शीर्षकमाथिको चित्र हेर्नुहोस्‌)

 हजारौँ वर्षदेखि पृथ्वी मानव युद्धको कारण भएको रक्‍तपातले भरिएको छ। बीसौँ शताब्दीमा भएका दुइटा विश्‍वयुद्धमा त रगतको खोलो नै बगेको थियो। तर मानव इतिहासमा पहिला कहिल्यै नभएको युद्ध नजिकै छ। यो युद्ध केवल मानिसहरूबीचको कलह अर्थात्‌ आफ्नो स्वार्थ पूरा गर्नको लागि पृथ्वीका राष्ट्रहरूबीच हुने लडाइँ हुनेछैन। तर चाँडै हुन लागेको यो युद्ध “सर्वशक्‍तिमान्‌ परमेश्‍वरको महान्‌ दिनको लडाइँ” हुनेछ। (प्रका. १६:१४) परमेश्‍वरले अनमोल ठान्‍नुभएको देशमा एक अहङ्‌कारी शत्रुले आक्रमण गरेपछि यो युद्ध सुरु हुनेछ; त्यस आक्रमणपछि ब्रह्‍माण्डका मालिक यहोवाले आफूसित भएको विनाश गर्ने शक्‍ति प्रयोग गर्नुहुनेछ, जुन शक्‍ति उहाँले त्यो हदसम्म पहिला कहिल्यै प्रयोग गर्नुभएको थिएन।

त्यसैले यस्ता महत्त्वपूर्ण प्रश्‍नहरू खडा हुन्छन्‌: त्यो शत्रु को हो? त्यसले कुन देशमाथि आक्रमण गर्नेछ? त्यसले त्यो देशलाई किन, कहिले र कसरी आक्रमण गर्नेछ? भविष्यमा हुने यी घटनाहरूमा यहोवाका शुद्ध उपासकहरू पनि मुछिने भएकोले हामीले यी प्रश्‍नहरूको जवाफ थाह पाउनुपर्छ। इजकिएल अध्याय ३८ र ३९ मा लिपिबद्ध रोचक भविष्यवाणीमा यी प्रश्‍नहरूको जवाफ पाइन्छ।

त्यो शत्रु—मागोगको गोग

३. मागोगको गोगबारे इजकिएलले गरेको भविष्यवाणीको सार बताउनुहोस्‌।

इजकिएल ३८:१, २, ८, १८; ३९:४, ११ पढ्‌नुहोस्‌। यो भविष्यवाणीको सार हो: “अन्तमा” ‘मागोगको गोग’ भनिने शत्रुले परमेश्‍वरका मानिसहरूको “देशमा” आक्रमण गर्नेछ। तर त्यस भीषण आक्रमणले गर्दा यहोवा परमेश्‍वरको “क्रोध दन्कनेछ” अनि उहाँले अघि बढेर गोगलाई पराजित गर्नुहुनेछ। * विजयी यहोवा परमेश्‍वरले पराजित शत्रु र त्यसलाई साथ दिने सबैलाई “सिनु खाने चराहरू र जङ्‌गली जनावरहरूको आहारा” बनाउनुहुनेछ। अन्तमा यहोवा परमेश्‍वरले गोगलाई “गाड्‌न एउटा चिहान” दिनुहुनेछ। निकट भविष्यमा यो भविष्यवाणी कसरी पूरा हुनेछ भनेर बुझ्न सबैभन्दा पहिला हामीले गोग को हो भनेर थाह पाउनुपर्छ।

४. मागोगको गोगबारे हामी कस्तो निष्कर्षमा पुग्न सक्छौँ?

त्यसोभए मागोगको गोग को हो? इजकिएलको व्याख्याबाट गोग शुद्ध उपासकहरूको शत्रु हो भन्‍ने निष्कर्षमा पुग्न सक्छौँ। के गोग साँचो उपासनाको सबैभन्दा ठूलो शत्रु—सैतानको भविष्यसूचक नाम हो? वर्षौँसम्म हाम्रा प्रकाशनहरूमा त्यसै भनिएको थियो। तर इजकिएलको भविष्यवाणीलाई अझ केलाएर हेर्दा हाम्रो बुझाइमा छाँटकाँट गर्नुपर्ने आवश्‍यकता देखियो। प्रहरीधरहरा-ले मागोगको गोग भन्‍ने पदवीले अदृश्‍य जीवलाई होइन, दृश्‍य मानव शत्रु अर्थात्‌ शुद्ध उपासनाविरुद्ध उठ्‌ने राष्ट्रहरूको गठबन्धनलाई सङ्‌केत गर्छ भनेर बतायो। * हामी यो निष्कर्षमा पुग्न सक्नुको कारण बुझ्नुअघि इजकिएलको भविष्यवाणीले गोग अदृश्‍य जीव होइन भन्‍ने कुराको सङ्‌केत कसरी गर्छ, दुइटा कुरा विचार गरौँ।

५, ६. इजकिएलको भविष्यवाणीबाट मागोगको गोग अदृश्‍य जीव होइन भनेर कसरी स्पष्ट हुन्छ?

‘म तँलाई सिनु खाने चराहरूको आहारा बनाउनेछु।’ (इज. ३९:४) बाइबलमा परमेश्‍वरले ल्याउनुहुने न्यायदण्डको चेतावनीलाई बुझाउन अक्सर सिनु खाने चराहरूबारे उल्लेख गरिएको पाइन्छ। परमेश्‍वरले इस्राएल राष्ट्र र गैर-इस्राएली राष्ट्रहरूलाई त्यस्तो चेतावनी दिनुभयो। (व्यव. २८:२६; यर्मि. ७:३३; इज. २९:३, ५) याद गर्नुहोस्‌, परमेश्‍वरले ती चेतावनीहरू अदृश्‍य जीवहरूलाई होइन, रगत र मासुको शरीर भएका मानिसहरूलाई दिनुभएको थियो। हुन पनि सिनु खाने चराहरू र जङ्‌गली जनावरहरूले अदृश्‍य जीव होइन, मासु खान्छन्‌। त्यसैले इजकिएलको भविष्यवाणीमा परमेश्‍वरले दिनुभएको यो चेतावनीबाट गोग अदृश्‍य जीव होइन भनेर स्पष्ट हुन्छ।

“म इस्राएलमा . . . गोगलाई गाड्‌न एउटा चिहान दिनेछु।” (इज. ३९:११) बाइबलमा अदृश्‍य जीवहरूलाई पृथ्वीमा गाड्‌नेबारे बताइएको छैन। बरु सैतान र त्यसका प्रेतहरूलाई १ हजार वर्षको लागि अगाध खाडलमा बाँधेर राखिनेछ। पछि तिनीहरूलाई प्रतीकात्मक आगोको कुण्डमा हुर्ऱ्याइनेछ, जसले तिनीहरूको अनन्त विनाशलाई सङ्‌केत गर्छ। (लुका ८:३१; प्रका. २०:१-३, १०) बाइबलमा गोगलाई “गाड्‌न” पृथ्वीमा एउटा चिहान दिइने कुरा बताइएकोले गोग अदृश्‍य जीव होइन भन्‍ने निष्कर्षमा हामी पुग्न सक्छौँ।

७, ८. “उत्तरका राजा”-माथि कहिले विनाश आइपर्नेछ र यो कुरा मागोगको गोगलाई हुने कुरासित कसरी मिल्दोजुल्दो छ?

शुद्ध उपासकहरूलाई अन्तिम आक्रमण गर्ने गोग अदृश्‍य जीव होइन भने को हो त? मागोगको गोग को हो भनेर बुझ्न मदत गर्ने दुइटा बाइबल भविष्यवाणी विचार गरौँ।

“उत्तरका राजा।” (दानिएल ११:४०-४५ पढ्‌नुहोस्‌) दानिएलले तिनको समयदेखि अहिले हाम्रो समयसम्मै देखा पर्ने विश्‍वशक्‍तिहरूबारे भविष्यवाणी गरे। त्यस भविष्यवाणीमा प्रतिद्वन्द्वी राजनैतिक तत्त्वहरू अर्थात्‌ “दक्षिणका राजा” र “उत्तरका राजा”-बारे पनि बताइएको छ। शताब्दीयौँको दौडान विभिन्‍न राष्ट्रहरू सबैभन्दा शक्‍तिशाली हुने होडबाजीमा सङ्‌घर्षरत भएकोले यी दुई राजाको चिनारी परिवर्तन भइरहेको छ। “अन्तको समयमा” उत्तरका राजाले चाल्ने अन्तिम प्रयासबारे दानिएलले यसो भने: “तिनी रिसले चूर भएर धेरैलाई नाश गर्न र तिनीहरूको नामोनिसान मेट्‌न निस्किनेछन्‌।” उत्तरका राजाको मुख्य निसाना यहोवाका उपासकहरू हुन्‌। * तर परमेश्‍वरका सेवकहरूमाथि उत्तरका राजाले गर्ने आक्रमण विफल भएपछि ती राजामाथि पनि मागोगको गोगमाथि जस्तै “विनाश आइपर्नेछ।”

९. मागोगको गोगले र “पृथ्वीभरिका राजाहरू”-ले भोग्ने नतिजाबीच कस्तो समानता छ?

“पृथ्वीभरिका राजाहरू।” (प्रकाश १६:१४, १६; १७:१४; १९:१९, २० पढ्‌नुहोस्‌) प्रकाशको किताबमा “पृथ्वीका राजाहरू”-ले “राजाहरूका महाराजा” अर्थात्‌ स्वर्गमा हुनुभएको येसुलाई आक्रमण गर्ने कुरा भविष्यवाणी गरिएको छ। तर स्वर्गमै गएर आक्रमण गर्न नसक्ने भएकोले तिनीहरू परमेश्‍वरको राज्यका पृथ्वीमा भएका समर्थकहरूमाथि जाइलाग्ने छन्‌। तर आरमागेडोनको युद्धमा पृथ्वीका राजाहरू पराजित हुनेछन्‌। नबिर्सनुहोस्‌, यहोवाका सेवकहरूलाई आक्रमण गरेपछि तिनीहरूमाथि विनाश आइपर्नेछ। मागोगको गोगबारे पनि त्यस्तै कुरा बताइएको थियो। *

१०. मागोगको गोगको चिनारीबारे हामी कस्तो निष्कर्षमा पुग्न सक्छौँ?

१० यी कुराहरू विचार गर्दा गोगको चिनारीबारे हामी कस्तो निष्कर्षमा पुग्न सक्छौँ? पहिलो, गोग अदृश्‍य जीव होइन। दोस्रो, गोगले निकट भविष्यमा परमेश्‍वरका सेवकहरूमाथि आक्रमण गर्ने पृथ्वीका राष्ट्रहरूलाई बुझाउँछ। यी राष्ट्रहरूले कुनै न कुनै तरिकामा एकजुट भएर एउटा गठबन्धन बनाउनेछन्‌। किन? परमेश्‍वरका सेवकहरू पृथ्वीभरि भएकोले तिनीहरूलाई आक्रमण गर्न यी राष्ट्रहरू आफ्नो उद्देश्‍य र काममा एक हुनुपर्नेछ। (मत्ति २४:९) तर यो कुरा मनमा राख्नुहोस्‌, यस आक्रमणको मुख्य योजनाकार सैतान नै हुनेछ। साँचो उपासनाको विरोध गर्न त्यसले धेरै अघिदेखि संसारका राष्ट्रहरूलाई चलाउँदै आएको छ। (१ युह. ५:१९; प्रका. १२:१७) तर मागोगको गोगबारे इजकिएलको भविष्यसूचक शब्दहरूले यहोवा परमेश्‍वरका सेवकहरूमाथि आक्रमण गर्ने पृथ्वीका राष्ट्रहरूको भूमिकालाई जोड दिन्छ। *

“देश”—यो के हो?

११. इजकिएलको भविष्यवाणीमा गोगले आक्रमण गर्ने “देश”-बारे कस्तो वर्णन गरिएको छ?

११ हामीले अनुच्छेद ३ मा सिकेझैँ यहोवा परमेश्‍वरले अनमोल ठान्‍नुहुने देशमाथि मागोगको गोगले आक्रमण गर्दा उहाँको क्रोध दन्कनेछ। त्यो देश के हो? फेरि इजकिएलको भविष्यवाणीलाई विचार गरौँ। (इजकिएल ३८:८-१२ पढ्‌नुहोस्‌) यस भविष्यवाणीमा गोगले “जातिजातिबाट जम्मा गरिएका मानिसहरू” बसोबास गर्ने “देशमा आक्रमण” गर्ने कुरा बताइएको छ। साथै, यस देशमा बसोबास गर्ने पुनर्स्थापित उपासकहरूबारे के भनिएको छ, ध्यान दिनुहोस्‌: तिनीहरू “ढुक्कसित बसोबास” गर्छन्‌; तिनीहरू “पर्खाल, बार र मूलढोका नभएको देशमा” बस्छन्‌ अनि तिनीहरूले “प्रशस्त धनसम्पत्ति जम्मा गरेका छन्‌।” यो विश्‍वभरिका यहोवाका शुद्ध उपासकहरू बसोबास गर्ने देश हो। हामी यस देशलाई कसरी चिन्‍न सक्छौँ?

१२. पुरातन इस्राएलमा कस्तो पुनर्स्थापना भयो?

१२ पुरातन इस्राएलमा भएको पुनर्स्थापनाबारे विचार गर्नु मदतकारी हुन्छ। त्यस देशमा शताब्दीयौँसम्म परमेश्‍वरले रोज्नुभएका मानिसहरू बसोबास गरे, काम गरे र उहाँलाई उपासना चढाए। ती इस्राएलीहरू विश्‍वासघाती भएपछि यहोवा परमेश्‍वरले इजकिएलमार्फत तिनीहरूको देश तहसनहस र निर्जन हुने भविष्यवाणी गर्नुभयो। (इज. ३३:२७-२९) तर बाँकी भएका पश्‍चात्तापी मानिसहरू बेबिलोनको निर्वासनबाट आफ्नै देशमा फर्कनेछन्‌ र तिनीहरूले शुद्ध उपासना पुनर्स्थापना गर्नेछन्‌ भनेर पनि यहोवाले भविष्यवाणी गर्नुभयो। यहोवा परमेश्‍वरको आशिष्‌ पाएर इस्राएल फेरि “अदनको बगैँचाजस्तै” हराभरा हुनेथियो। (इज. ३६:३४-३६) त्यो पुनर्स्थापना ईसापूर्व ५३७ देखि सुरु भयो, जब निर्वासित यहुदीहरू आफ्नो प्यारो मातृभूमि यरुसलेममा साँचो उपासना पुनर्स्थापना गर्न फर्के।

१३, १४. (क) आध्यात्मिक देश के हो? (ख) यस देशलाई यहोवा परमेश्‍वर किन अनमोल ठान्‍नुहुन्छ?

१३ आधुनिक समयमा पनि परमेश्‍वरका शुद्ध उपासकहरूले यस्तै किसिमको पुनर्स्थापना अनुभव गरे। यस प्रकाशनको अध्याय ९ मा सिकेझैँ परमेश्‍वरका सेवकहरू लामो समय महान्‌ बेबिलोनको कैदमा परेका थिए र इस्वी संवत्‌ १९१९ सम्ममा तिनीहरू त्यो कैदबाट मुक्‍त भइसकेका थिए। त्यो वर्ष यहोवा परमेश्‍वरले आफ्ना पुनर्स्थापित उपासकहरूलाई एउटा आध्यात्मिक देशमा ल्याउनुभयो। यो देश आध्यात्मिक प्रमोदवन अर्थात्‌ सुरक्षित र आध्यात्मिक रूपमा समृद्ध अवस्था हो, जहाँ साँचो परमेश्‍वरको उपासना गर्ने मानिसहरू बसोबास गर्छन्‌। यस देशमा हामी सुरक्षित वातावरणमा बसोबास गर्छौँ र मनोशान्ति पाउँछौँ। (हितो. १:३३) हामी यहाँ प्रशस्त मात्रामा आध्यात्मिक भोजन पाउँछौँ र परमेश्‍वरको राज्यको प्रचार गर्ने कामलाई टेवा पुऱ्‍याउन हामीले गर्न सक्ने कुराहरू थुप्रै छन्‌। हामी यो भनाइ सत्य साबित भएको अनुभव गर्दै छौँ: “यहोवाको आशिष्‌ले मानिसलाई धनी बनाउँछ; उहाँले त्योसँगै कुनै दुःख पठाउनुहुन्‍न।” (हितो. १०:२२) पृथ्वीको जुनसुकै ठाउँमा बसोबास गरिरहेको भए तापनि हामी यो देश अर्थात्‌ आध्यात्मिक प्रमोदवनमा छौँ। जबसम्म हामी आफ्नो बोली र कामद्वारा शुद्ध उपासनालाई सक्रियतासाथ समर्थन गर्छौँ, तबसम्म हामी यस देशमा हुन्छौँ।

१४ यो आध्यात्मिक देशलाई यहोवा परमेश्‍वर अनमोल ठान्‍नुहुन्छ। किन? किनकि यहाँका बासिन्दाहरू अर्थात्‌ उहाँले शुद्ध उपासनातर्फ खिच्नुभएका व्यक्‍तिहरू उहाँको नजरमा “सबै जातिका अनमोल थोकहरू” हुन्‌। (हाग्गै २:७; युह. ६:४४) तिनीहरू परमेश्‍वरका विशिष्ट गुणहरू झल्किने नयाँ व्यक्‍तित्व धारण गर्न अथक प्रयास गर्दै छन्‌। (एफि. ४:२३, २४; ५:१, २) शुद्ध उपासकहरू यहोवा परमेश्‍वरको सेवामा आफूलाई पूर्णतया अर्पण गर्छन्‌, जसले गर्दा यहोवा परमेश्‍वरको महिमा हुन्छ र उहाँप्रतिको तिनीहरूको प्रेम पनि प्रकट हुन्छ। (रोमी १२:१, २; १ युह. ५:३) आफ्ना उपासकहरूले यो आध्यात्मिक देशलाई अझ सुन्दर पार्न कडा मेहनत गरिरहेको देख्दा यहोवा परमेश्‍वरलाई पक्कै पनि धेरै खुसी लाग्छ। यो कुरा सोच्नुहोस्‌: शुद्ध उपासनालाई आफ्नो जीवनमा पहिलो स्थान दिँदा तपाईँले आध्यात्मिक प्रमोदवनको सुन्दरतालाई बढाइरहनुभएको मात्र नभई यहोवा परमेश्‍वरको हृदयलाई पनि खुसी बनाइरहनुभएको हुन्छ!—हितो. २७:११.

हामी जहाँसुकै भए तापनि शुद्ध उपासनालाई सक्रियतासाथ समर्थन गरेसम्म हामी यो आध्यात्मिक देशमा हुन्छौँ (अनुच्छेद १३, १४ हेर्नुहोस्‌)

गोगले त्यस देशमा कहिले, किन र कसरी आक्रमण गर्नेछ?

१५, १६. मागोगको गोगले पुनर्स्थापित आध्यात्मिक देशमा कहिले आक्रमण गर्नेछ?

१५ अब छिट्टै पृथ्वीका राष्ट्रहरूको गठबन्धनले हाम्रो अनमोल आध्यात्मिक देशमा आक्रमण गर्नेछ! भविष्यवाणी गरिएको यो आक्रमणले हामी यहोवा परमेश्‍वरका शुद्ध उपासकहरूलाई असर गर्ने भएकोले हामी यस आक्रमणबारे अझ धेरै थाह पाउन चाहन्छौँ। हाम्रो मनमा स्वतः उठ्‌ने तीन वटा प्रश्‍न विचार गरौँ।

१६ मागोगको गोगले पुनर्स्थापित आध्यात्मिक देशमा कहिले आक्रमण गर्नेछ? भविष्यवाणी यसो भन्छ: “अन्तमा . . . तैँले त्यस देशमा आक्रमण गर्नेछस्‌।” (इज. ३८:८) यसले यस युगको अन्ततिरको समयलाई बुझाउँछ। यो कुरा नबिर्सनुहोस्‌, झूटो धर्मको विश्‍व साम्राज्य महान्‌ बेबिलोनको विनाशसँगसँगै महासङ्‌कष्ट सुरु हुनेछ। झूटा धार्मिक संस्थाहरू विनाश भएपछि र आरमागेडोन सुरु हुनुभन्दा अघि गोगले साँचो उपासकहरूमाथि अन्तिम आक्रमण गर्नेछ।

१७, १८. महासङ्‌कष्टको दौडान यहोवा परमेश्‍वरले मामिलालाई कसरी डोऱ्‍याउनुहुनेछ?

१७ गोगले यहोवा परमेश्‍वरका शुद्ध उपासकहरूको पुनर्स्थापित देशमा किन आक्रमण गर्नेछ? इजकिएलको भविष्यवाणीमा दुइटा कारण बताइएको छ—पहिलो, यहोवा परमेश्‍वरको डोऱ्‍याइ र दोस्रो, गोगको दुष्ट मनसाय।

१८ यहोवा परमेश्‍वरको डोऱ्‍याइ। (इजकिएल ३८:४, १६ पढ्‌नुहोस्‌) यहोवा परमेश्‍वर गोगलाई के भन्‍नुहुन्छ, याद गर्नुहोस्‌: “म . . . तेरो बङ्‌गारामा बल्छी लगाउनेछु” र “म तँलाई मेरो देशविरुद्ध खडा गर्नेछु।” के यसको अर्थ यहोवा परमेश्‍वरले यी राष्ट्रहरूलाई उहाँका उपासकहरूमाथि आक्रमण गर्न बाध्य तुल्याउनुहुनेछ भनिएको हो? त्यसो त पक्कै होइन! उहाँ आफ्ना सेवकहरूले दुःख भोगेको कहिल्यै चाहनुहुन्‍न। (अय्यु. ३४:१२) शत्रुहरूले शुद्ध उपासकहरूलाई घृणा गरे तापनि उनीहरूको नामोनिसान मेटाउन भने सक्दैनन्‌ भनेर यहोवा परमेश्‍वरलाई थाह छ। (१ युह. ३:१३) गोगको बङ्‌गारामा बल्छी लगाएर तानेझैँ यहोवा परमेश्‍वरले यस्तो अवस्था सृजन दिनुहुनेछ, जसले गर्दा सबै कुरा उहाँकै इच्छाबमोजिम र उहाँकै समय-तालिकाबमोजिम अघि बढ्‌नेछ। महान्‌ बेबिलोन विनाश भएको कुनै समयपछि यहोवा परमेश्‍वरले कुनै तरिका चलाएर ती राष्ट्रहरूलाई तिनीहरूको हृदयमा भएको कुरा गर्न उक्साउनुहुनेछ। यसरी उहाँले पृथ्वीको सबैभन्दा ठूलो युद्ध आरमागेडोनको लागि बाटो तयार पार्नुहुनेछ। त्यसपछि उहाँले आफ्ना मानिसहरूलाई छुटकारा दिनुहुनेछ, शासन गर्ने आफ्नो अधिकार प्रकट गर्नुहुनेछ र आफ्नो नामलाई पवित्र पार्नुहुनेछ।—इज. ३८:२३.

राष्ट्रहरूले शुद्ध उपासना लुट्‌न खोज्नुको कारण शुद्ध उपासना र त्यसका समर्थकहरूलाई घृणा गरेकोले हो

१९. गोग शुद्ध उपासना लुट्‌ने युक्‍ति रच्न किन तम्सिनेछ?

१९ गोगको दुष्ट मनसाय। राष्ट्रहरूले ‘दुष्ट युक्‍ति रच्नेछन्‌।’ तिनीहरूले यहोवा परमेश्‍वरका उपासकहरूविरुद्ध लामो समयदेखि पालिराखेको रिस र घृणा पोखाउन खोज्नेछन्‌। त्यतिबेला उहाँका उपासकहरू “पर्खाल, बार र मूलढोका” नभएको ठाउँमा बसिरहेका निस्सहाय मानिसहरूजस्ता देखिनेछन्‌। साथै, राष्ट्रहरूले “प्रशस्त धनसम्पत्ति जम्मा गरेका” ती मानिसहरूलाई ‘लुट्‌ने युक्‍ति रच्नेछन्‌।’ (इज. ३८:१०-१२) कस्तो “धनसम्पत्ति”? यहोवा परमेश्‍वरका सेवकहरूसित प्रशस्त आध्यात्मिक सम्पत्ति छ; हाम्रो सबैभन्दा अनमोल सम्पत्ति हामीले यहोवा परमेश्‍वरलाई मात्र चढाउने शुद्ध उपासना हो। राष्ट्रहरूले शुद्ध उपासना लुट्‌न खोज्नुको कारण तिनीहरूले शुद्ध उपासनालाई अनमोल ठानेकोले त होइन, बरु शुद्ध उपासना र त्यसका समर्थकहरूलाई घृणा गरेकोले हो।

गोगले शुद्ध उपासना नामेट पार्ने प्रयासस्वरूप ‘दुष्ट युक्‍ति रच्नेछ’ (अनुच्छेद १९ हेर्नुहोस्‌)

२०. गोगले आध्यात्मिक देश अर्थात्‌ आध्यात्मिक प्रमोदवनलाई कसरी आक्रमण गर्नेछ?

२० गोगले आध्यात्मिक देश अर्थात्‌ आध्यात्मिक प्रमोदवनलाई कसरी आक्रमण गर्नेछ? राष्ट्रहरूले हाम्रो काममा भाँजो हालेर हामीले चढाउने उपासनालाई रोक्ने प्रयास गर्न सक्छन्‌। तिनीहरूले हामीले पाइरहेको प्रशस्त आध्यात्मिक भोजनमा रोक लगाउन खोज्नेछन्‌, हामीले आनन्द उठाइरहेको एकतामा खलल पुऱ्‍याउन खोज्नेछन्‌ अनि हामीलाई सँगै भेला हुनदेखि र परमेश्‍वरको सन्देश जोसिलो भई प्रचार गर्नदेखि रोक्न खोज्नेछन्‌। यी कुराहरू आध्यात्मिक प्रमोदवनका विभिन्‍न पक्ष हुन्‌। सैतानको बहकाउमा परेर राष्ट्रहरूले साँचो उपासकहरू र शुद्ध उपासनालाई पृथ्वीबाट निमिट्‌यान्‍न पार्न खोज्नेछन्‌।

२१. निकट भविष्यमा हुने घटनाबारे यहोवा परमेश्‍वरले पहिल्यै चेतावनी दिनुभएकोमा तपाईँ किन आभारी हुनुहुन्छ?

२१ चाँडै मागोगको गोगले गर्ने आक्रमणले परमेश्‍वरले दिनुभएको आध्यात्मिक देशमा बसोबास गरिरहेका सबै साँचो उपासकलाई असर गर्नेछ। निकट भविष्यमा हुने घटनाबारे यहोवा परमेश्‍वरले हामीलाई पहिल्यै चेतावनी दिनुभएकोमा हामी असाध्यै आभारी छौँ। महासङ्‌कष्ट पर्खँदै बस्दा शुद्ध उपासनालाई प्राथमिकता दिएर त्यसलाई समर्थन गर्ने अठोट गरौँ। यसो गरेमा हामीले अहिले पनि पुनर्स्थापित देशको सौन्दर्य बढाउने काममा योगदान पुऱ्‍याइरहेका हुनेछौँ। अनि निकट भविष्यमा एउटा एकदमै अचम्मलाग्दो कुरा प्रत्यक्ष रूपमा देख्न पाउने मानिसहरूमध्ये हुनेछौँ। हो, आरमागेडोनमा यहोवा परमेश्‍वर आफ्ना मानिसहरू र उहाँको पवित्र नामको खातिर खडा हुनुभएको देख्न पाउनेछौँ। यस विषयमा हामी अर्को अध्यायमा छलफल गर्नेछौँ।

^ यस प्रकाशनको अर्को अध्यायमा हामी मागोगको गोगमाथि यहोवा परमेश्‍वरको क्रोध कहिले र कसरी दन्कनेछ अनि त्यस घटनाले शुद्ध उपासकहरूको लागि कस्तो अर्थ राख्नेछ भनेर बुझ्नेछौँ।

^ मे १५, २०१५ को प्रहरीधरहरा, पृष्ठ २९-३० को “पाठकहरूको प्रश्‍न” हेर्नुहोस्‌।

^ दानिएल ११:४५ मा उत्तरका राजाले “विशाल समुद्र [भूमध्यसागर] र सुन्दर भूमिको पवित्र डाँडाको बीचमा [कुनै समय परमेश्‍वरको मन्दिर रहेको र उहाँका सेवकहरूले उपासना गर्ने गरेको ठाउँमा] आफ्नो शाही पाल टाँग्नेछन्‌” भनिएको छ। यसले उत्तरका राजाले परमेश्‍वरका सेवकहरूलाई निसाना बनाउने कुराको सङ्‌केत गर्छ।

^ बाइबलमा आधुनिक समयको “अस्सेरियालीहरूले” गर्ने आक्रमणबारे पनि बताइएको छ, जसले परमेश्‍वरका सेवकहरूको नामोनिसान मेटाउन खोज्नेछन्‌। (मिका ५:५) बाइबलमा परमेश्‍वरका सेवकहरूले सामना गर्ने चार वटा आक्रमणबारे भविष्यवाणी गरिएको छ। ती हुन्‌: मागोगको गोगको आक्रमण, उत्तरका राजाको आक्रमण, पृथ्वीका राजाहरूको आक्रमण र अस्सेरियालीहरूको आक्रमण। यी चार वटा आक्रमणले एउटै आक्रमणलाई बुझाएको हुन सक्छ।

^ प्रकाश २०:७-९ मा उल्लेख गरिएको “गोग र मागोग”-को चिनारीबारे बुझ्न यस प्रकाशनको अध्याय २२ हेर्नुहोस्‌।