सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय २

‘परमेश्‍वरले तिनीहरूको भेटी स्वीकार गर्नुभयो’

‘परमेश्‍वरले तिनीहरूको भेटी स्वीकार गर्नुभयो’

हिब्रू ११:४

मुख्य कुरा: शुद्ध उपासनाको लागि विगतमा यहोवा परमेश्‍वरले गर्नुभएका प्रबन्धहरू

१-३. (क) हामी कस्ता प्रश्‍नहरू छलफल गर्नेछौँ? (ख) शुद्ध उपासनाको कुन चार वटा तत्त्व हामी विचार गर्नेछौँ? (शीर्षकमाथिको चित्र हेर्नुहोस्‌)

 हाबिल आफ्ना भेडाहरूलाई नियालेर हेर्छन्‌। तिनले ती भेडाहरूलाई आफ्नो काखैमा हुर्काएका हुन्‌। तर अब भने तिनी केहीलाई छान्छन्‌ र परमेश्‍वरलाई बलि चढाउँछन्‌। के त्रुटिपूर्ण मानिसले चढाउन लागेको यो उपासना यहोवा परमेश्‍वरले स्विकार्नुहुनेछ?

परमेश्‍वरको प्रेरणा पाएर प्रेषित पावलले हाबिलबारे यस्तो लेखे: “परमेश्‍वरले तिनको भेटी स्वीकार गर्नुभयो।” तर उहाँले कयिनको भेटी भने स्वीकार गर्नुभएन। (हिब्रू ११:४ पढ्‌नुहोस्‌) यसले यी प्रश्‍नहरू खडा गर्छ: परमेश्‍वरले किन हाबिलको उपासना स्वीकार गर्नुभयो तर कयिनको भने स्वीकार गर्नुभएन? हिब्रू अध्याय ११ मा उल्लेख गरिएका कयिन, हाबिल र अन्य व्यक्‍तिहरूको उदाहरणबाट हामी के सिक्न सक्छौँ? यी प्रश्‍नहरूको जवाफले हामीलाई शुद्ध उपासनामा के-के मुछिएको छ भनेर अझ राम्ररी बुझ्न मदत गर्नेछ।

हाबिलको समयदेखि इजकिएलको समयसम्म भएका घटनाहरूलाई सरसरती हेर्दा परमेश्‍वरको लागि हाम्रो उपासना स्वीकार्य हुन यी चारै वटा तत्त्व चाहिन्छ भनी बुझ्नेछौँ: उपासना पाउने व्यक्‍ति यहोवा परमेश्‍वर हुनुपर्छ, उपासनाको गुणस्तर सर्वोत्तम हुनुपर्छ, उपासना गर्ने तरिका परमेश्‍वरले स्विकार्नुहुने किसिमको हुनुपर्छ र उपासकको मनसाय शुद्ध हुनुपर्छ।

कयिनको उपासना परमेश्‍वरले किन स्विकार्नुभएन?

४, ५. के-कस्ता कारणले गर्दा कयिन आफूले चढाएको भेटी पाउने व्यक्‍ति यहोवा परमेश्‍वर नै हुनुहुनेछ भन्‍ने निष्कर्षमा पुगेका हुन सक्छन्‌?

उत्पत्ति ४:२-५ पढ्‌नुहोस्‌। कयिनलाई तिनले चढाएको भेटी पाउने व्यक्‍ति यहोवा परमेश्‍वर नै हुनुहुनेछ भनेर थाह थियो। कयिनले यहोवा परमेश्‍वरबारे सिक्न प्रशस्त समय र मौका पाएका थिए। तिनी र तिनका भाइ हाबिलले भेटी चढाउँदा तिनीहरू १०० वर्ष पुग्नै लागिसकेका थिए होलान्‌। * दाजुभाइ दुवैलाई सानैदेखि अदनको बगैँचाबारे थाह थियो, सायद तिनीहरूले त्यस उर्वर बगैँचालाई टाढैबाट देखेका पनि थिए। अनि तिनीहरूले बगैँचा प्रवेश गर्ने ठाउँमा पहरा दिइरहेका करूबहरूलाई पनि अवश्‍य देखेको हुनुपर्छ। (उत्प. ३:२४) कयिन र हाबिलका आमाबुबाले तिनीहरूलाई सबै कुरा यहोवा परमेश्‍वरले सृष्टि गर्नुभएको हो र उहाँले सुरुमा दिनुभएको जीवन अहिले मृत्युको मुखतिर धकेलिँदै गरेको तिनीहरूको जीवनभन्दा फरक थियो भनेर पक्कै पनि बताएको हुनुपर्छ। (उत्प. १:२४-२८) यी कुराहरू थाह भएकोले कयिन परमेश्‍वरलाई भेटी चढाउनुपर्छ भन्‍ने निष्कर्षमा पुगेका हुन सक्छन्‌।

अरू के कारणले कयिन भेटी चढाउन अघि सरेको हुनुपर्छ? एक जना “सन्तान” आउनेछन्‌ र हव्वालाई गलत छनौट गर्न उक्साउने “सर्प”-को शिरलाई उनले कुच्याउनेछन्‌ भनेर यहोवा परमेश्‍वरले भविष्यवाणी गर्नुभएको थियो। (उत्प. ३:४-६, १४, १५) कयिन जेठो सन्तान भएकोले तिनले आफू नै त्यो “सन्तान” हो भन्ठानेका हुन सक्छन्‌। (उत्प. ४:१) यसबाहेक यहोवा परमेश्‍वरले अझै पनि मानिसहरूसित कुराकानी गर्न छोड्‌नुभएको थिएन; आदमले पाप गरिसकेपछि पनि परमेश्‍वरले सम्भवतः स्वर्गदूतमार्फत तिनीसित कुरा गर्नुभयो। (उत्प. ३:८-१०) अनि कयिनले भेटी चढाइसकेपछि यहोवा परमेश्‍वरले तिनीसित पनि कुरा गर्नुभयो। (उत्प. ४:६) यहोवा परमेश्‍वर उपासनाको योग्य हुनुहुन्छ भनेर कयिनलाई अवश्‍य थाह थियो।

६, ७. कयिनले चढाएको भेटीको गुणस्तर वा तरिकामा के कुनै खोट थियो? व्याख्या गर्नुहोस्‌।

त्यसोभए कयिनले चढाएको भेटी यहोवा परमेश्‍वरले किन स्विकार्नुभएन? के तिनले चढाएको भेटीको गुणस्तरमा कुनै खोट थियो? बाइबलमा यसबारे केही बताइएको छैन। बाइबलमा यति मात्र बताइएको छ, तिनले “आफ्नो उब्जनीबाट केही लगे।” यहोवा परमेश्‍वरले पछि मोसामार्फत दिनुभएको व्यवस्थामा यस्तो किसिमको भेटी पनि स्वीकार्य छ भनेर बताउनुभयो। (गन्ती १५:८, ९) अवस्था पनि विचार गर्नुहोस्‌। त्यतिबेलाका मानिसहरू सागपात मात्र खान्थे। (उत्प. १:२९) अनि अदनको बगैँचाबाहिरको भूमिलाई परमेश्‍वरले सराप दिनुभएकोले भेटीस्वरूप चढाइएको उब्जनीको लागि कयिनले मेहनत गरेका थिए। (उत्प. ३:१७-१९) तिनले पसिना बगाएर उब्जाएको अन्‍नपात चढाए! तैपनि यहोवा परमेश्‍वरले तिनको भेटी स्विकार्नुभएन।

तिनले भेटी चढाएको तरिका नै नमिलेको पो हो कि? के कयिनले स्वीकार्य तरिकामा भेटी चढाएनन्‌? त्यसो त हुन सक्दैन। किन? किनभने यहोवा परमेश्‍वरले कयिनको भेटी अस्वीकार गर्नुहुँदा तिनले भेटी चढाएको तरिका नै गलत थियो भन्‍नुभएन। वास्तवमा हाबिल र कयिनले भेटी चढाएको तरिकाबारे केही भनिएको छैन। त्यसोभए परमेश्‍वरले कयिनको भेटी अस्वीकार गर्नुको कारण के थियो त?

कयिनको मनसाय शुद्ध थिएन (अनुच्छेद ८, ९ हेर्नुहोस्‌)

८, ९. (क) यहोवा परमेश्‍वरले कयिन र तिनले चढाएको भेटी किन स्विकार्नुभएन? (ख) कयिन र हाबिलबारे बाइबलमा पाइने कुनचाहिँ जानकारी तपाईँलाई रोचक लाग्यो?

हिब्रूको किताबमा पावलले लेखेको कुराबाट भेटी चढाउँदा कयिनको मनसाय शुद्ध थिएन भनेर स्पष्ट हुन्छ। कयिनमा विश्‍वास थिएन। (हिब्रू ११:४; १ युह. ३:११, १२) त्यसैले यहोवा परमेश्‍वरले कयिनले चढाएको भेटीलाई मात्र होइन, कयिनलाई नै अस्वीकार गर्नुभयो। (उत्प. ४:५-८) यहोवा परमेश्‍वर मायालु बुबा हुनुहुन्छ। त्यसैले उहाँले दयालु हुँदै आफ्नो छोरालाई सच्याउन खोज्नुभयो। तर यहोवा परमेश्‍वरले मदत गर्न अघि सार्नुभएको हातलाई कयिनले झट्‌कारिदिए। कयिनको हृदय “दुस्मनी, कलह, डाह”-जस्ता शरीरका कामहरूले भरिएको थियो। (गला. ५:१९, २०) कयिनको हृदय खराब भएको कारण तिनको उपासनाको अरू सकारात्मक पक्ष पनि व्यर्थको भयो। तिनको उदाहरणबाट बाहिरबाट मात्र यहोवा परमेश्‍वरको भक्‍ति गरेर पुग्दैन भनेर सिक्न सक्छौँ।

बाइबलमा कयिनबारे धेरै कुरा बताइएको छ। यहोवा तिनीसित बोल्नुभएको हामी सुन्‍न सक्छौँ, कयिनको जवाफ पढ्‌न सक्छौँ अनि तिनका छोराहरूको नाम र तिनीहरूले के गरे, त्यो पनि थाह पाउन सक्छौँ। (उत्प. ४:१७-२४) तर हाबिलको सन्दर्भमा भने तिनका छोराछोरी थिए कि थिएनन्‌, त्यसबारे बाइबलले केही बताएको छैन र तिनले भनेको कुनै पनि कुरा बाइबलमा रेकर्ड गरिएको छैन। हाबिलले के भने, त्यो हामीलाई थाह नभए तापनि तिनको कामले भने आजसम्म पनि हामीसित बोलिरहेको छ। कसरी?

हाबिल शुद्ध उपासनाको उदाहरण बसाल्छन्‌

१०. हाबिलले शुद्ध उपासनाको कस्तो उदाहरण बसाले?

१० यहोवा परमेश्‍वर मात्र उपासना पाउन योग्य हुनुहुन्छ भनेर बुझेकोले हाबिलले उहाँलाई भेटी चढाए। तिनले चढाएको भेटीको गुणस्तर सर्वोत्तम थियो। तिनले “आफ्नो बगालबाट पहिले जन्मेका केही पाठा” छाने। बाइबलमा तिनले आफ्नो भेटी वेदीमा चढाए कि चढाएनन्‌ भनेर केही बताइएको छैन। तर जेहोस्‌, तिनले चढाएको तरिका स्वीकार्य थियो। तिनले चढाएको भेटीको राम्रो पक्ष तिनको मनसाय थियो। तिनको उदाहरणबाट आज छ हजार वर्षपछि पनि हामी पाठ सिक्न सक्छौँ। परमेश्‍वरमाथिको विश्‍वास र उहाँका धार्मिक स्तरहरूप्रतिको प्रेमले तिनी उत्प्रेरित भएका थिए। हामी कसरी यसो भन्‍न सक्छौँ?

हाबिलले शुद्ध उपासनाका चार वटा आवश्‍यकता पूरा गरे (अनुच्छेद १० हेर्नुहोस्‌)

११. येसुले हाबिललाई धर्मी मानिस भन्‍नुको कारण के थियो?

११ सबैभन्दा पहिला, येसुले हाबिलबारे के भन्‍नुभयो, विचार गरौँ। उहाँ हाबिललाई राम्ररी चिन्‍नुहुन्थ्यो। हाबिल जीवित छँदा येसु स्वर्गमा हुनुहुन्थ्यो। आदमका यी छोरामा उहाँले गहिरो चासो लिनुभयो। (हितो. ८:२२, ३०, ३१; युह. ८:५८; कल. १:१५, १६) त्यसैले येसुले आफैले देखेको कुराको आधारमा हाबिललाई धर्मी मानिस भन्‍नुभयो। (मत्ति २३:३५) धर्मी मानिस भनेको सही र गलतको स्तर यहोवा परमेश्‍वरले नै तोक्नुपर्छ भनेर मानिलिने मानिस हो। अनि उसले आफ्नो बोली र व्यवहार दुवैबाट त्यो देखाउँछ। (लुका १:५, ६ तुलना गर्नुहोस्‌) धर्मी भनेर नाम कमाउन समय लाग्छ। त्यसैले परमेश्‍वरलाई भेटी चढाउनुअघि नै हाबिलले परमेश्‍वरको स्तरअनुसार जीवन बिताउने मानिसको रूपमा नाम कमाइसकेको हुनुपर्छ। तर त्यो मार्गमा हिँड्‌न सजिलो त पक्कै थिएन होला। तिनका दाइ कयिन राम्रो उदाहरण थिएनन्‌। कयिनको हृदय खराब भएको थियो। (१ युह. ३:१२) हाबिलकी आमाले परमेश्‍वरको आज्ञा ठाडै उल्लङ्‌घन गरेकी थिइन्‌ र तिनको बुबाले पनि आफ्नो लागि के असल र के खराब, आफै निर्णय गर्न रोजेर यहोवा परमेश्‍वरविरुद्ध विद्रोह गरेका थिए। (उत्प. २:१६, १७; ३:६) आफ्नो परिवार हिँडेको भन्दा बिलकुलै फरक मार्गमा हिँड्‌न हाबिललाई कत्ति धेरै साहस चाहिएको थियो होला!

१२. कयिन र हाबिलबीचको मुख्य भिन्‍नता के थियो?

१२ प्रेषित पावलले विश्‍वास र धार्मिकताबीचको सम्बन्ध कसरी देखाए, अब विचार गरौँ। पावलले यसो भने: “विश्‍वासैले गर्दा हाबिलले कयिनले भन्दा उत्तम बलिदान परमेश्‍वरलाई चढाए। यसै विश्‍वासले गर्दा तिनले आफू धर्मी छु भन्‍ने साक्षी पाए।” (हिब्रू ११:४) पावलका शब्दहरूले देखाएअनुसार हाबिल कयिनजस्तो नभई यहोवा परमेश्‍वरमाथिको मनैदेखिको विश्‍वास अनि उहाँको काम र उहाँले तोक्नुभएका स्तरहरूमाथिको भरोसाले गर्दा जीवनभर सही कदम चाल्न उत्प्रेरित भएका थिए।

१३. हाबिलको उदाहरणबाट हामी के सिक्न सक्छौँ?

१३ हाबिलको उदाहरणबाट शुद्ध मनसाय भएको हृदयबाट मात्र शुद्ध उपासना चढाउन सकिन्छ भनेर सिक्न सक्छौँ। यसको मतलब यहोवामाथि पूरा हृदयले विश्‍वास गर्नुपर्छ र उहाँका धार्मिक स्तरहरूसित पूरै सहमत हुनुपर्छ। यसबाहेक हामीले जीवनमा एक पटक भक्‍ति गर्दैमा शुद्ध उपासना चढाइरहेका छौँ भन्‍न मिल्दैन भनेर सिक्न सक्छौँ। यसमा हाम्रो पूरै जिन्दगी, जीवनको हरेक पक्ष मुछिएको हुनुपर्छ।

कुलपिताहरू उदाहरण पछ्याउँछन्‌

१४. यहोवा परमेश्‍वरले नुह, अब्राहाम र याकुबले चढाएको बलिदान किन स्विकार्नुभयो?

१४ यहोवा परमेश्‍वरलाई शुद्ध उपासना चढाउने पहिलो त्रुटिपूर्ण व्यक्‍ति हाबिल थिए। तर तिनी नै अन्तिम त थिएनन्‌। यहोवा परमेश्‍वरलाई स्वीकार्य हुने तरिकामा उपासना चढाएका अरू व्यक्‍तिबारे पनि पावलले बताए। जस्तै: नुह, अब्राहाम र याकुब। (हिब्रू ११:७, ८, १७-२१ पढ्‌नुहोस्‌) ती कुलपिताहरू प्रत्येकले आफ्नो जिन्दगीको कुनै न कुनै क्षणमा यहोवा परमेश्‍वरलाई बलिदान चढाए र परमेश्‍वरले ती स्विकार्नुभयो। किन? किनभने ती पुरुषहरूले औपचारिकता पूरा गर्न मात्र उपासना चढाएनन्‌, तिनीहरू प्रत्येकले शुद्ध उपासनाको मुख्य आवश्‍यकताहरू पूरा गरे। आउनुहोस्‌, तिनीहरूको उदाहरण विचार गरौँ।

नुहको बलिदानले एउटा सुस्पष्ट सन्देश दियो (अनुच्छेद १५, १६ हेर्नुहोस्‌)

१५, १६. नुहले शुद्ध उपासनाका चार वटा आवश्‍यकता कसरी पूरा गरे?

१५ नुहको जन्म आदमको मृत्यु भएको १२६ वर्षपछि नै भएको थियो। तर त्यति छोटो समयमै पृथ्वीमा झूटो उपासना फैलिसकेको थियो र नुह पनि त्यस्तै संसारमा हुर्के। * (उत्प. ६:११) जलप्रलय आउनै लागेको समयमा नुह र तिनको परिवारले मात्र यहोवा परमेश्‍वरलाई स्वीकार्य हुने तरिकामा उपासना चढाइरहेका थिए। (२ पत्रु. २:५) जलप्रलयबाट बचेपछि नुह एउटा वेदी बनाएर यहोवा परमेश्‍वरलाई बलि चढाउन उत्प्रेरित भए। यो नै बाइबलमा वेदीबारे तोकेरै बताइएको पहिलो विवरण हो। हृदयदेखि नै गरेको यस कामबाट नुहले आफ्नो परिवार र तिनीपछि आउने मानिसहरू सबैलाई एउटा सुस्पष्ट सन्देश दिए। त्यो थियो, यहोवा परमेश्‍वर मात्र उपासना पाउन योग्य हुनुहुन्छ। नुहले बलिदान चढाउनको लागि आफूसँग भएका जनावरहरूमध्ये “शुद्ध जनावर र शुद्ध चराचुरुङ्‌गी” छाने। (उत्प. ८:२०) ती भेटीहरूको गुणस्तर सर्वोत्तम थियो किनभने यहोवा परमेश्‍वर आफैले ती जनावरहरूलाई शुद्ध ठहऱ्‍याउनुभएको थियो।—उत्प. ७:२.

१६ नुहले ती जनावरहरूलाई आफूले बनाएको वेदीमा चढाए। के भेटी चढाइएको तरिका स्वीकार्य थियो? थियो। किनभने यहोवा परमेश्‍वरले नुहले चढाएको भेटीको मीठो बास्ना लिनुभयो र नुह अनि तिनका छोराहरूलाई आशिष्‌ दिनुभयो भनी बाइबलमा बताइएको छ। (उत्प. ८:२१; ९:१) तर यहोवा परमेश्‍वरले बलिदान स्विकार्नुको मुख्य कारणचाहिँ नुहको मनसाय थियो। ती बलिदानहरू यहोवा परमेश्‍वरमाथि नुहको विश्‍वास अनि उहाँको काम र उहाँले तोक्नुभएका स्तरहरूमाथि तिनको भरोसाको अभिव्यक्‍ति थियो। नुहले निरन्तर यहोवा परमेश्‍वरको आज्ञा पालन गरेकोले र उहाँका स्तरहरूलाई समर्थन गरेकोले “तिनी साँचो परमेश्‍वरले देखाउनुभएको बाटोमा हिँड्‌थे” भनी बाइबलमा बताइएको छ। त्यसकारण नुह सधैँ धर्मी पुरुष भनेर चिनिए।—उत्प. ६:९; इज. १४:१४; हिब्रू ११:७.

१७, १८. अब्राहामले शुद्ध उपासनाका चार वटा आवश्‍यकता कसरी पूरा गरे?

१७ अब्राहाम झूटो उपासनाले घेरिएका थिए। अब्राहामको घर भएको सहर उरमा चन्द्र-देव नान्‍नाको सम्मानमा बनाइएको मन्दिर थियो। * अब्राहामका बुबासमेत कुनै समय झूटा देवताहरूलाई पुज्थे। (यहो. २४:२) तर अब्राहामले भने यहोवा परमेश्‍वरको उपासना गर्ने छनौट गरे। तिनले आफ्नो पुर्खा सेम, जो नुहका छोरा थिए, उनीबाट साँचो परमेश्‍वरबारे सिकेको हुनुपर्छ। अब्राहाम र सेमले आफ्नो जीवनको १५० वर्ष सँगसँगै बिताए।

१८ आफ्नो लामो जीवनकालमा अब्राहामले धेरै भेटी चढाए। तर औपचारिक उपासनाको रूपमा चढाइएका ती भेटीहरू उपासना पाउन योग्य एक मात्र व्यक्‍ति यहोवा परमेश्‍वरलाई नै चढाइएका थिए। (उत्प. १२:८; १३:१८; १५:८-१०) के अब्राहाम यहोवालाई गुणस्तरीय भेटी चढाउन तयार थिए? अब्राहाम आफ्नो एक मात्र छोरा इसहाकलाई समेत बलि चढाउन तयार हुँदा यस प्रश्‍नको जवाफ स्पष्ट भयो। त्यतिबेला यहोवा परमेश्‍वरले अब्राहामलाई बलि चढाउने तरिकाबारे एक-एक कुरा तोकेरै बताउनुभयो। (उत्प. २२:१, २) अनि अब्राहाम पनि एक-एक निर्देशन पालन गर्न तयार भए। ती निर्देशन पालन गर्दै आफ्नो छोरालाई मार्नसमेत तयार भएका अब्राहामलाई यहोवा परमेश्‍वरले नै रोक्नुभयो। (उत्प. २२:९-१२) यहोवा परमेश्‍वरले अब्राहामको उपासना स्विकार्नुभयो किनभने शुद्ध मनसाय भएका मानिसले त्यो चढाएका थिए। “अब्राहामले यहोवा परमेश्‍वरमाथि विश्‍वास गरे र यसले गर्दा तिनी उहाँको नजरमा धर्मी ठहरिए” भनी पावलले लेखे।—रोमी ४:३.

याकुबले आफ्नो परिवारको लागि उदाहरण बसाले (अनुच्छेद १९, २० हेर्नुहोस्‌)

१९, २०. याकुबले शुद्ध उपासनाका चार वटा आवश्‍यकता कसरी पूरा गरे?

१९ याकुबले आफ्नो जीवनको धेरै समय कनानमा बिताए। कनान यहोवा परमेश्‍वरले अब्राहाम र तिनका सन्तानलाई दिन्छु भनेर प्रतिज्ञा गर्नुभएको देश थियो। (उत्प. १७:१, ८) त्यस देशका मानिसहरू छाडा उपासनामा चुर्लुम्मै डुबेका थिए, त्यसैले “तिनीहरू त्यहाँबाट धपाइनेछन्‌” भनेर यहोवा परमेश्‍वरले भन्‍नुभयो। (लेवी १८:२४, २५) याकुब ७७ वर्षको हुँदा तिनले कनान छोडे, विवाह गरे अनि पछि फेरि आफ्नो ठूलो परिवार लिएर कनानमै फर्किए। (उत्प. २८:१, २; ३३:१८) तिनको परिवारका कोही-कोही सदस्य झूटो उपासना गर्थे। तर परमेश्‍वरले याकुबलाई बेथेलमा गएर एउटा वेदी बनाउन अह्राउनुहुँदा तिनले आनाकानी नगरी आवश्‍यक कदम चाले। सुरुमा तिनले आफ्नो परिवारलाई यसो भने: “तिमीहरूसँग भएका देवीदेवताका मूर्तिहरू हटाओ, आफूलाई चोखो पार।” त्यसपछि तिनले आफूले पाएका निर्देशनहरू वफादार भई पालन गरे।—उत्प. ३५:१-७.

२० याकुबले प्रतिज्ञा गरिएको देशमा धेरै वटा वेदी बनाए तर तिनको उपासना पाउने व्यक्‍ति सधैँ यहोवा परमेश्‍वर नै हुनुहुन्थ्यो। (उत्प. ३५:१४; ४६:१) तिनको भेटीको गुणस्तर, उपासना गर्ने तरिका र उपासना चढाउनुको मनसाय असल थियो। त्यसैले बाइबलमा याकुब “शान्त स्वभावका थिए” भनिएको छ। तिनले परमेश्‍वरको अनुमोदन पाएका थिए। (उत्प. २५:२७) आफ्नो पूरै जीवनशैलीबाट याकुबले आफ्ना शाखासन्तान अर्थात्‌ इस्राएली जातिको लागि राम्रो उदाहरण बसाले।—उत्प. ३५:९-१२.

२१. कुलपिताहरूले बसालेको उदाहरण­बाट शुद्ध उपासनाबारे हामी के सिक्न सक्छौँ?

२१ कुलपिताहरूले बसालेको उदाहरणबाट शुद्ध उपासनाबारे हामी के सिक्न सक्छौँ? तिनीहरूजस्तै हामी पनि यस्ता मानिसहरूले घेरिएका छौँ, जसले हामीलाई यहोवा परमेश्‍वरको मात्र भक्‍ति गर्नदेखि अलमल्याउन सक्छन्‌। ती मानिसहरू हाम्रो आफ्नै परिवारका सदस्यहरू पनि हुन सक्छन्‌। त्यस्तो दबाबको प्रतिरोध गर्न हामीले यहोवा परमेश्‍वरमाथि बलियो विश्‍वास विकास गर्नुपर्छ र उहाँका धार्मिक स्तरहरू सबैभन्दा उत्तम छन्‌ भनेर विश्‍वस्त हुनुपर्छ। यहोवा परमेश्‍वरको आज्ञा पालन गरेर अनि आफ्नो समय, शक्‍ति र स्रोतसाधन उहाँको सेवामा अर्पण गरेर हामी त्यस्तो विश्‍वास व्यक्‍त गर्छौँ। (मत्ति २२:३७-४०; १ कोरि. १०:३१) यहोवा परमेश्‍वरको उपासना आफ्नो क्षमताले भ्याएसम्म, उहाँले भन्‍नुभएको तरिकामा र शुद्ध मनसायका साथ गर्दा उहाँले हामीलाई धर्मी व्यक्‍तिको रूपमा हेर्नुहुन्छ। के यो साँच्चै प्रोत्साहनजनक कुरा होइन र?याकुब २:१८-२४ पढ्‌नुहोस्‌।

शुद्ध उपासनामा समर्पित जाति

२२-२४. इस्राएलीहरूको बलिदान पाउने व्यक्‍ति, बलिदानको गुणस्तर र त्यो चढाउने तरिकाको महत्त्वबारे व्यवस्थामा कसरी जोड दिइएको थियो?

२२ यहोवा परमेश्‍वरले याकुबका सन्तानलाई व्यवस्था दिनुभएको थियो। उहाँ तिनीहरूबाट के चाहनुहुन्छ भनेर व्यवस्थामा स्पष्टै बताइएको थियो। तिनीहरूले यहोवा परमेश्‍वरको आज्ञा पालन गरेको भए तिनीहरू उहाँको “विशेष सम्पत्ति” र “पवित्र जाति” हुनेथिए। (प्रस्थ. १९:५, ६) व्यवस्थामा शुद्ध उपासनाको चार वटा तत्त्वलाई कसरी जोड दिइएको थियो, आउनुहोस्‌ विचार गरौँ।

२३ इस्राएलीहरूको उपासना कसले पाउनुपर्छ भनेर यहोवा परमेश्‍वरले स्पष्ट पार्नुभयो। उहाँले यसो भन्‍नुभयो: “तिमीहरूले मबाहेक अरू कुनै देवीदेवतालाई नमान्‍नू।” (प्रस्थ. २०:३-५) तिनीहरूले चढाउने भेटी गुणस्तरीय हुनुपर्थ्यो। उदाहरणका लागि, तिनीहरूले बलिदान चढाउने जनावर निष्खोट हुनुपर्थ्यो। (लेवी १:३; व्यव. १५:२१; मलाकि १:६-८ तुलना गर्नुहोस्‌) लेवीहरूले यहोवा परमेश्‍वरलाई चढाइएका भेटीहरूबाट केही भाग पाउँथे तर तिनीहरू आफैले पनि भेटी चढाउनुपर्थ्यो। तिनीहरूले चढाउने भेटी तिनीहरूले “पाएको उपहारमध्ये सर्वोत्तमचाहिँ” हुनुपर्थ्यो। (गन्ती १८:२९) उपासना गर्ने तरिकाबारे पनि इस्राएलीहरूलाई तोकेरै निर्देशन दिइएको थियो। यहोवा परमेश्‍वरलाई के बलिदान चढाउने, कहाँ चढाउने र कसरी चढाउने भनेर तिनीहरूलाई तोकेरै बताइएको थियो। के गर्नुहुन्छ र के गर्नु हुँदैन भन्‍ने विषयमा व्यवस्थामा ६०० भन्दा धेरै नियम दिइएको थियो। तिनीहरूलाई यसो भनिएको थियो: “यहोवा तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई जे-जे आज्ञा दिनुभएको छ, ती तिमीहरूले होसियारीसाथ पालन गर्नू। तिमीहरू त्यसबाट दायाँबायाँ नलाग्नू।”—व्यव. ५:३२.

२४ इस्राएलीहरूले जहाँ भेटी चढाए पनि के त्यसले कुनै फरक पार्थ्यो? पार्थ्यो। यहोवा परमेश्‍वरले आफ्ना मानिसहरूलाई वासस्थान बनाउन निर्देशन दिनुभयो र त्यो नै शुद्ध उपासनाको केन्द्र बन्यो। (प्रस्थ. ४०:१-३, २९, ३४) इस्राएलीहरूले चढाउने भेटी परमेश्‍वरको लागि स्वीकार्य हुन तिनीहरूले त्यसलाई वासस्थानमै ल्याउनुपर्थ्यो। *व्यव. १२:१७, १८.

२५. बलिदान चढाउने सम्बन्धमा सबैभन्दा महत्त्वपूर्ण कुरा के थियो? व्याख्या गर्नुहोस्‌।

२५ तर सबैभन्दा महत्त्वपूर्ण कुरा, भेटी चढाउने इस्राएलीको मनसाय थियो। भेटी चढाउने व्यक्‍ति यहोवा परमेश्‍वर र उहाँका स्तरहरूप्रतिको प्रेमले ओतप्रोत भएको हुनुपर्थ्यो। (व्यवस्था ६:४-६ पढ्‌नुहोस्‌) इस्राएलीहरूले कर्तव्यबोधले मात्र उपासना चढाउँदा यहोवा परमेश्‍वरले तिनीहरूको बलिदान स्विकार्नुभएन। (यसै. १:१०-१३) देखावटी भक्‍तिदेखि आफू नझुक्किने कुरा उहाँले भविष्यवक्‍ता यसैयामार्फत स्पष्ट पार्नुभयो। उहाँले यसो भन्‍नुभयो: “यी मानिसहरू . . . ओठले त मलाई आदर गर्छन्‌ तर तिनीहरूको हृदय भने मदेखि धेरै टाढा छ।”—यसै. २९:१३.

मन्दिरमा उपासना

२६. सुलेमानले बनाएको मन्दिरले सुरुमा शुद्ध उपासनामा कस्तो भूमिका खेल्यो?

२६ इस्राएलीहरू प्रतिज्ञा गरेको देशमा बसोबास गर्न थालेको सयौँ वर्षपछि राजा सुलेमानले वासस्थानभन्दा कता हो कता भव्य मन्दिर बनाए, जुन उपासनाको केन्द्र थियो। (१ राजा ७:५१; २ इति. ३:१, ६, ७) सुरुमा त त्यो मन्दिरमा चढाइएका बलिदानहरू पाउने व्यक्‍ति यहोवा परमेश्‍वर मात्र हुनुहुन्थ्यो। सुलेमान र तिनको प्रजाले परमेश्‍वरको व्यवस्थामा उल्लेख गरिएकै तरिकामा अनि ठूलो सङ्‌ख्यामा गुणस्तरीय बलिदान चढाए। (१ राजा ८:६३) तर त्यो मन्दिर बनाउन कति खर्च लाग्यो, त्यहाँ कति बलिदानहरू चढाइए, त्यसको आधारमा यहोवा परमेश्‍वरले त्यहाँ चढाइएको उपासना स्विकार्नुभएको थिएन। मुख्य कुरा भेटी चढाउनेहरूको मनसाय थियो। मन्दिरको समर्पणको बेला सुलेमानले यस कुरालाई जोड दिए। तिनले यसो भने: “आजजस्तै सधैँभरि यहोवा हाम्रा परमेश्‍वरको विधिविधान र आज्ञाहरू पालन गरेर आफ्नो सारा हृदयले उहाँप्रति वफादार होओ!”—१ राजा ८:५७-६१.

२७. इस्राएलका राजाहरू र उनीहरूका प्रजाले के गरे अनि यहोवा परमेश्‍वरले कस्तो कदम चाल्नुभयो?

२७ दुःखको कुरा, इस्राएलीहरूले सुलेमानको बुद्धिमानी सल्लाह पालन गरिरहन सकेनन्‌। तिनीहरू शुद्ध उपासनाको एउटा वा त्योभन्दा धेरै आवश्‍यकता पूरा गर्नदेखि चुके। इस्राएलका राजाहरू र उनीहरूका प्रजाले आफ्नो हृदय भ्रष्ट बनाए, तिनीहरूले यहोवा परमेश्‍वरमाथिको विश्‍वास गुमाए अनि उहाँका धार्मिक स्तरहरू त्यागे। तिनीहरूलाई सच्याउन र तिनीहरूको व्यवहारले कस्तो नतिजा ल्याउँछ भनेर चेतावनी दिन यहोवा परमेश्‍वरले बारम्बार भविष्यवक्‍ताहरू पठाउनुभयो। (यर्मि. ७:१३-१५, २३-२६) तिनीहरूमध्ये एक जना वफादार पुरुष इजकिएल थिए। तिनी शुद्ध उपासनाको इतिहासको महत्त्वपूर्ण समयमा थिए।

इजकिएल शुद्ध उपासना भ्रष्ट भएको देख्छन्‌

२८, २९. इजकिएलबारे हामीलाई के थाह छ? (“इजकिएल​—तिनको जीवन र तिनी बाँचेको समय” भन्‍ने पेटी हेर्नुहोस्‌)

२८ सुलेमानले बनाएको मन्दिरमा गरिने उपासनासित इजकिएल राम्ररी परिचित थिए। तिनका बुबा पुजारी थिए र आफ्नो पालोमा मन्दिरमा सेवा गर्न जान्थे। (इज. १:३) इजकिएलको बाल्यकाल रमाइलोसँग बितेको हुनुपर्छ। तिनका बुबाले तिनलाई यहोवा परमेश्‍वरबारे र व्यवस्थाबारे पक्कै पनि सिकाए होलान्‌। वास्तवमा इजकिएल जन्मेकै समयतिर मन्दिरमा “व्यवस्थाको पुस्तक” भेट्टाइएको थियो। * त्यतिबेला शासन गरिरहेका असल राजा योसियाह आफूले सुनेको कुराबाट यति प्रभावित भए कि तिनले शुद्ध उपासनालाई विस्तार गर्न अझ धेरै प्रयास गरे।—२ राजा २२:८-१३.

इजकिएलका बुबाले तिनलाई यहोवा परमेश्‍वरबारे र व्यवस्थाबारे पक्कै पनि सिकाए होलान्‌ (अनुच्छेद २८ हेर्नुहोस्‌)

२९ आफूभन्दा अघिका वफादार पुरुषहरूले जस्तै इजकिएलले पनि शुद्ध उपासनाका चार वटा आवश्‍यकता पूरा गरे। इजकिएलको किताबले देखाएजस्तै तिनले यहोवा परमेश्‍वरको मात्र भक्‍ति गरे, उहाँलाई निरन्तर सर्वोत्तम सेवा चढाए र उहाँप्रति आज्ञाकारी भए, त्यो पनि उहाँले चाहनुभएकै तरिकामा। इजकिएलले पूर्ण विश्‍वासले उत्प्रेरित भएर यी सब गरे। तिनकै समयका अरू थुप्रै मानिस भने फरक थिए। इजकिएल यर्मियाका भविष्यवाणीहरू सुन्दै हुर्केका थिए। यर्मियाले ईसापूर्व ६४७ मा भविष्यवाणी गर्न सुरु गरेका थिए र उनले यहोवा परमेश्‍वरले ल्याउन लाग्नुभएको न्यायबारे जोसिलो भई चेतावनी दिएका थिए।

३०. (क) इजकिएलले रेकर्ड गरेका भविष्यवाणीहरूले के देखाउँछ? (ख) भविष्यवाणी भनेको के हो र इज­किएलका भविष्यवाणीहरूलाई कसरी बुझ्नुपर्छ? (“इजकिएलका भविष्यवाणीहरू बुझ्नुहोस्‌” भन्‍ने पेटी हेर्नुहोस्‌)

३० यहोवा परमेश्‍वरको प्रेरणा पाएर इजकिएलले लेखेको किताबले परमेश्‍वरका जनहरू उहाँबाट कतिसम्म टाढा भएका थिए भनी देखाउँछ। (इजकिएल ८:६ पढ्‌नुहोस्‌) यहोवा परमेश्‍वरले यहुदालाई सजाय दिन सुरु गर्नुहुँदा कतिपयलाई बन्दी बनाएर बेबिलोन लगियो। तिनीहरूमध्ये इजकिएल पनि एक थिए। (२ राजा २४:११-१७) कैदीको रूपमा लगिए तापनि इजकिएललाई सजाय दिइएन। निर्वासनमा परेका आफ्ना मानिसहरूको खातिर यहोवा परमेश्‍वरले तिनलाई केही काम अह्राउनुभयो। इजकिएलले देखेका रोमाञ्चकारी दर्शनहरू र तिनले रेकर्ड गरेका भविष्यवाणीहरूले यरुसलेममा शुद्ध उपासना कसरी पुनर्स्थापित हुने थियो भनेर देखाउँछ। तर ती दर्शनहरू र भविष्यवाणीहरूले यहोवा परमेश्‍वरलाई प्रेम गर्नेहरूले आखिरमा शुद्ध उपासना पूर्णतया पुनर्स्थापित भएको कसरी देख्नेछन्‌ भन्‍ने विषयमा पनि अन्तर्दृष्टि दिन्छ।

३१. यस प्रकाशनले हामीलाई कस्तो मदत दिनेछ?

३१ अब हामी यहोवा परमेश्‍वर बस्नुहुने ठाउँको झलक हेर्नेछौँ, शुद्ध उपासना कसरी पूर्ण रूपमा बिटुलो पारियो भनेर बुझ्नेछौँ, यहोवा परमेश्‍वर आफ्ना जनहरूलाई कसरी पुनर्स्थापना गर्नुहुन्छ र उनीहरूलाई रक्षा गर्नुहुन्छ भनेर सिक्नेछौँ अनि भविष्यमा सबै मानिसजातिले यहोवा परमेश्‍वरको उपासना गर्ने दिनबारे थाह पाउनेछौँ। यसपछिको अध्यायमा इजकिएलले रेकर्ड गरेको पहिलो दर्शनबारे बुझ्नेछौँ। यसले हामीलाई यहोवा परमेश्‍वर र उहाँको सङ्‌गठनको स्वर्गीय भागको चित्र मनमा उतार्न अनि उहाँ मात्र हाम्रो भक्‍ति र शुद्ध उपासना पाउन किन योग्य हुनुहुन्छ भनी बुझ्न मदत गर्नेछ।

^ आदम र हव्वा अदनको बगैँचाबाट निकालिएको केही समयपछि हाबिल गर्भमा आएको हुनुपर्छ। (उत्प. ४:१, २) उत्पत्ति ४:२५ मा परमेश्‍वरले “हाबिलको सट्टा” सेत दिनुभयो भनेर बताइएको छ। हाबिलको निर्मम हत्यापछि सेत जन्मँदा आदम १३० वर्षका थिए। (उत्प. ५:३) त्यसैले कयिनले हाबिलको हत्या गर्दा हाबिल लगभग १०० वर्षको हुनुपर्छ।

^ उत्पत्ति ४:२६ मा आदमका नाति एनोस­को समयमा “मानिसहरूले यहोवा परमेश्‍वर­को नाम पुकार्न थाले” भनी बताइएको छ। तर तिनीहरूले परमेश्‍वरको अनादर हुने तरिकामा उहाँको नाम पुकारिरहेका थिए। तिनीहरूले सम्भवतः यहोवाको नामलाई मूर्तिहरूसित जोडिरहेका थिए।

^ नान्‍ना देवतालाई सिन पनि भनिन्थ्यो। उरका मानिसहरू अन्य थुप्रै देवीदेवताको उपासना गर्थे। तर त्यस सहरका मन्दिरहरू र वेदीहरू मुख्यगरि नान्‍नालाई नै समर्पण गरिएको थियो।

^ वासस्थानबाट पवित्र सन्दुक हटाइएपछि अरू ठाउँमा चढाइएका भेटीहरू पनि यहोवा परमेश्‍वरले स्विकार्नुभयो जस्तो देखिन्छ।—१ समु. ४:​३, ११; ७:​७-९; १०:८; ११:​१४, १५; १६:​४, ५; १ इति. २१:​२६-३०.

^ इजकिएलले ईसापूर्व ६१३ मा भविष्यवाणी गर्न थाल्दा तिनी ३० वर्षका थिए जस्तो देखिन्छ। त्यसैले तिनी ईसापूर्व ६४३ तिर जन्मेको हुनुपर्छ। (इज. १:१) योसियाहले ईसापूर्व ६५९ मा शासन गर्न सुरु गरे अनि व्यवस्थाको पुस्तक, सायद त्यसको मूल प्रति, उनको शासनको १८ औँ वर्षतिर अर्थात्‌ ईसापूर्व ६४२-६४१ तिर भेट्टाइएको हुन सक्छ।