सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय ९

“म तिनीहरू सबैलाई एकजुट पार्नेछु”

“म तिनीहरू सबैलाई एकजुट पार्नेछु”

इजकिएल ११:१९

मुख्य कुरा: पुनर्स्थापनाको विषय र इजकिएलको किताबमा त्यसको वर्णन

१-३. बेबिलोनीहरू यहोवा परमेश्‍वरका उपासकहरूको कसरी उपहास गर्छन्‌ र किन?

 कल्पना गर्नुहोस्‌, तपाईँ बेबिलोनमा बसोबास गरिरहनुभएको एक वफादार यहुदी हुनुहुन्छ। तपाईँका मानिसहरू लगभग ५० वर्षदेखि त्यहाँ निर्वासित जीवन बिताइरहेका छन्‌। विश्रामदिनमा तपाईँ यहोवा परमेश्‍वरको उपासना गर्न सदाझैँ आफ्ना दाजुभाइ दिदीबहिनीसँगै भेला हुन लाग्नुभएको छ। व्यस्त सडक हुँदै जाँदा तपाईँले भव्य मन्दिरहरू र अनगिन्ती पीठहरू देख्नुहुन्छ। यी ठाउँहरूमा मानिसहरू मार्डुकजस्ता देवीदेवताको लागि भेटी चढाउँछन्‌ र भजन गाउँछन्‌।

त्यस भीडबाट अलि टाढा गएपछि तपाईँ आफ्ना सङ्‌गी उपासकहरूको सानो समूहलाई भेट्‌नुहुन्छ। * त्यस सहरको एउटा नहरनजिकै तपाईँले सँगै मिलेर प्रार्थना गर्न, भजनहरू गाउन र परमेश्‍वरको वचनमाथि मनन गर्न एउटा शान्त ठाउँ भेट्टाउनुहुन्छ। प्रार्थना गरिरहेको बेला तपाईँले नहरको छेउमा बाँधेर राखिएका काठका डुङ्‌गाहरूको कुइँकुइँ आवाज सुन्‍नुहुन्छ। त्यहाँको वातावरण केही हदसम्म शान्त भएकोले तपाईँ ढुक्क महसुस गर्नुहुन्छ। स्थानीय मानिसहरूले पटक-पटक सभामा भाँजो हालिसकेकोले तिनीहरूले तपाईँहरूलाई नभेट्टाऊन्‌ भन्‍ने आशा गर्नुहुन्छ। तिनीहरूले त्यसो गर्नुको कारण के हो?

बेबिलोनले थुप्रै युद्ध जितिसकेको छ र मानिसहरू आफ्नो सहर त्यस्तो शक्‍तिशाली हुनुको श्रेय त्यहाँका झूटा देवीदेवतालाई दिन्छन्‌। यरुसलेम तहसनहस भएको कुरालाई बेबिलोनीहरू यहोवा परमेश्‍वरभन्दा तिनीहरूको देवता मार्डुक शक्‍तिशाली भएको प्रमाणको रूपमा लिन्छन्‌। त्यसैले तिनीहरू तपाईँको परमेश्‍वर र उहाँका मानिसहरूको उपहास गर्छन्‌। कहिलेकाहीँ त तिनीहरू गिल्ला गर्दै यसो भन्छन्‌: “हाम्रो लागि सियोनको एउटा गीत गाओ।” (भज. १३७:३) सियोनले यहोवा परमेश्‍वरका शत्रुहरूमाथि जित हासिल गरेकोमा थुप्रै भजनमा खुसीयाली व्यक्‍त गरिएको छ। सायद बेबिलोनीहरू ती नै भजनहरूलाई हाँसोमा उडाउन रमाउँछन्‌। तर अन्य भजनहरूमा चाहिँ ती बेबिलोनीहरूबारे नै बताइएको छ। जस्तै, एउटा भजनमा यसो भनिएको छ: “यरुसलेमलाई तिनीहरूले भग्नावशेषको थुप्रो बनाइदिएका छन्‌। . . . वरपर रहेकाहरू हाम्रो ठट्टा गर्छन्‌ र हामीलाई हाँसोमा उडाउँछन्‌।”—भज. ७९:१, ३, ४.

४, ५. इजकिएलको भविष्यवाणीले कस्तो आशा दियो र यस अध्यायमा हामी के छलफल गर्नेछौँ? (शीर्षकमाथिको चित्र हेर्नुहोस्‌)

त्यहाँ धर्मत्यागी यहुदीहरू पनि छन्‌, जो यहोवा परमेश्‍वर र उहाँका भविष्यवक्‍ताहरूमाथि तपाईँले राख्नुभएको विश्‍वासको उपहास गर्न पछि पर्दैनन्‌। यस्तो गिल्ला सहनुपरे तापनि शुद्ध उपासनाले तपाईँ र तपाईँको परिवारलाई सान्त्वना दिन्छ। सँगै प्रार्थना गर्दा र भजन गाउँदा तपाईँलाई आनन्द लाग्छ। परमेश्‍वरको वचन पढ्‌दा तपाईँ दिलासा पाउनुहुन्छ। (भज. ९४:१९; रोमी १५:४) कल्पना गर्नुहोस्‌, तपाईँको एक सङ्‌गी उपासकले त्यस जमघटमा एउटा विशेष कुरा ल्याएका छन्‌—इजकिएलको भविष्यवाणी भएको मुठा। यहोवा परमेश्‍वरले आफ्ना मानिसहरूलाई मातृभूमिमा पुनर्स्थापना गर्ने प्रतिज्ञा सुन्दा तपाईँलाई आनन्द लाग्छ। यस्तो भविष्यवाणी ठूलो स्वरले पढिँदा तपाईँको मन खुसीले ढक्क फुल्छ। तपाईँ र तपाईँको परिवार कुनै दिन आफ्नो मातृभूमि फर्केर पुनर्स्थापनाको रोमाञ्चकारी काममा भाग लिने आशाबारे तपाईँ मनन गर्नुहुन्छ!

इजकिएलको भविष्यवाणी पुनर्स्थापनासम्बन्धी प्रतिज्ञाहरूले भरिएको छ। अब हामी आशा दिने ती प्रतिज्ञाहरूलाई राम्ररी जाँचौँ। निर्वासित मानिसहरूको सम्बन्धमा ती प्रतिज्ञाहरू कसरी पूरा भए? ती भविष्यवाणीहरूले आज हाम्रो समयमा कस्तो अर्थ राख्छ? कुनै-कुनै भविष्यवाणीको अन्तिम पूर्तिबारे पनि हामी बुझ्नेछौँ।

“तिनीहरू निर्वासनमा लगिनेछन्‌”

६. आफ्ना विद्रोही मानिसहरूलाई परमेश्‍वरले कसरी पटक-पटक चेतावनी दिनुभयो?

आफ्ना मानिसहरू विद्रोही भएकोले तिनीहरूलाई सजाय दिने कुरा यहोवा परमेश्‍वरले इजकिएलमार्फत स्पष्टसित बताउनुभयो। “तिनीहरू निर्वासनमा लगिनेछन्‌” भनेर उहाँले भन्‍नुभयो। (इज. १२:११) यस प्रकाशनको अध्याय ६ मा सिकेझैँ इजकिएलले त्यस सजायको अभिनयसमेत गरेर देखाए। तर त्यो नै पहिलो चेतावनी त थिएन। लगभग एक हजार वर्षअघि मोसाको समयमा नै यहोवा परमेश्‍वरले आफ्ना मानिसहरूलाई तिनीहरूले विद्रोह गरिरहेमा तिनीहरू निर्वासित हुनुपर्ने चेतावनी दिनुभएको थियो। (व्यव. २८:३६, ३७) यसैया र यर्मियाजस्ता भविष्यवक्‍ताहरूले पनि त्यस्तै चेतावनी दिएका थिए।—यसै. ३९:५-७; यर्मि. २०:३-६.

७. यहोवा परमेश्‍वरले आफ्ना मानिसहरूलाई के-कस्ता तरिकामा सजाय दिनुभयो?

तर दुःखको कुरा, तिनीहरूमध्ये धेरैले ती चेतावनीहरू सुन्‍नै चाहेनन्‌। आफ्ना मानिसहरू विद्रोही भएको, मूर्तिपूजामा लागेको, विश्‍वासघाती भएको र खराब गोठालाहरूको प्रभावमा परेर भ्रष्ट भएको देख्दा यहोवा परमेश्‍वरलाई असाध्यै दुःख लाग्यो। त्यसैले उहाँले तिनीहरूलाई अनिकाल भोग्न दिनुभयो। “दूध र मह बग्ने देश” भनेर चिनिएको त्यो देशमा त्यस्तो अनिकाल पर्नु विपत्ति र बेइज्जतीको कुरा थियो। (इज. २०:६, ७) अनि आफूले धेरै वर्षअघि भविष्यवाणी गरेझैँ यहोवा परमेश्‍वरले बरालिएका आफ्ना मानिसहरूलाई निर्वासनमा पर्न दिनुभयो। ईसापूर्व ६०७ मा बेबिलोनका नबुकद्‌नेजरले यरुसलेममाथि अन्तिम आक्रमण गर्दा त्यो सहर र त्यहाँको मन्दिर तहसनहस भयो। विनाशबाट बचेका हजारौँ यहुदीलाई बेबिलोनको निर्वासनमा लगियो। त्यहाँ तिनीहरूले यस अध्यायको सुरुमा वर्णन गरिएको गिल्ला र विरोध सहनुपऱ्‍यो।

८, ९. परमेश्‍वरले ख्रिष्टियन मण्डलीलाई धर्मत्यागविरुद्ध कस्तो चेतावनी दिनुभयो?

के ख्रिष्टियन मण्डलीले पनि बेबिलोनको निर्वासनमा परेकाहरूले जस्तै नतिजा भोग्नुपऱ्‍यो? हो, पऱ्‍यो! पुरातन समयका यहुदीहरूलाई जस्तै ख्रिष्टका अनुयायीहरूलाई पनि पहिल्यै चेतावनी दिइएको थियो। येसुले आफ्नो प्रचारकार्यको सुरुतिर यसो भन्‍नुभएको थियो: “भेडाको भेषमा तिमीहरूकहाँ आउने झूटा भविष्यवक्‍ताहरूदेखि होसियार रहो किनकि वास्तवमा तिनीहरू भोका ब्वाँसाहरू हुन्‌।” (मत्ति ७:१५) वर्षौँपछि प्रेषित पावलले पनि प्रेरणा पाएर त्यस्तै खालको चेतावनी दिए: “मलाई थाह छ, म गएपछि अत्याचारी ब्वाँसाहरू तपाईँहरूबीच घुस्नेछन्‌ र बगालसित कठोर व्यवहार गर्नेछन्‌ अनि टेढोमेढो कुरा गरेर चेलाहरूलाई आफूतिर तान्‍ने मानिसहरू पनि तपाईँहरूकै बीचबाट उठ्‌नेछन्‌।”—प्रेषि. २०:२९, ३०.

त्यस्ता मानिसहरूलाई कसरी चिन्‍ने र तिनीहरूबाट कसरी अलग हुने भनेर ख्रिष्टियनहरूलाई सिकाइएको थियो। ख्रिष्टियन एल्डरहरूलाई मण्डलीबाट धर्मत्यागीहरूलाई हटाउने निर्देशन दिइएको थियो। (१ तिमो. १:१९; २ तिमो. २:१६-१९; २ पत्रु. २:१-३; २ युह. १०) तर पुरातन इस्राएल र यहुदाका मानिसहरूले जस्तै थुप्रै ख्रिष्टियनले मायालु चेतावनीहरूलाई बेवास्ता गर्न थाले। प्रथम शताब्दीको अन्तसम्ममा त मण्डलीमा धर्मत्यागले जरा गाडिसकेको थियो। त्यतिबेला प्रेषितहरूमध्ये युहन्‍ना मात्र जीवित थिए र तिनले मण्डलीमा त्यस्ता भ्रष्ट कुराहरू र विद्रोही मनोभाव व्याप्त भएको याद गरे। त्यस्तो दुष्ट प्रभाव रोक्ने व्यक्‍ति तिनी मात्र बाँकी थिए। (२ थिस्स. २:६-८; १ युह. २:१८) युहन्‍नाको मृत्युपछि के भयो?

१०, ११. येसुले भन्‍नुभएको गहुँ र सामाको उदाहरण इस्वी संवत्‌ दोस्रो शताब्दीदेखि कसरी पूरा हुन थाल्यो?

१० येसुले भन्‍नुभएको गहुँ र सामाको उदाहरण युहन्‍नाको मृत्युपछि पूरा हुन थाल्यो। (मत्ति १३:२४-३० पढ्‌नुहोस्‌) येसुले भविष्यवाणी गर्नुभएझैँ सैतानले मण्डलीमा “सामा” अर्थात्‌ नक्कली ख्रिष्टियनहरू प्रशस्त मात्रामा छऱ्‍यो अनि मण्डली तीव्र गतिमा भ्रष्ट हुन थाल्यो। आफ्नो छोराले जग बसालेको मण्डली मूर्तिपूजा, गैर-ख्रिष्टियन चाडपर्व तथा प्रचलन अनि ईश्‍वर नमान्‍ने दार्शनिकहरू र झूटा धर्महरूका शिक्षाहरूको कारण दूषित भएको देख्दा यहोवा परमेश्‍वरलाई कत्ति दुःख लाग्यो होला! यहोवा परमेश्‍वरले के गर्नुभयो? उहाँले विश्‍वासघाती इस्राएललाई झैँ आफ्ना मानिसहरूलाई निर्वासनमा पर्न दिनुभयो। नक्कली ख्रिष्टियनहरू छ्यासछ्यासती भएकोले इस्वी संवत्‌ दोस्रो शताब्दीको कुनै समयदेखि गहुँरूपी ख्रिष्टियनहरू ओझेलमा परे। यसरी साँचो ख्रिष्टियन मण्डली एक अर्थमा महान्‌ बेबिलोन अर्थात्‌ झूटो धर्मको विश्‍व साम्राज्यको निर्वासनमा पऱ्‍यो र नक्कली ख्रिष्टियनहरू भने त्यो भ्रष्ट साम्राज्यको भाग भए। नक्कली ख्रिष्टियनहरू मौलाउँदै जाँदा चर्चजगत्‌ देखा पऱ्‍यो।

११ चर्चजगत्‌ले आधिपत्य जमाइरहेको त्यो अन्धकारमय समयावधिभरि केही साँचो ख्रिष्टियनहरू पनि थिए। तिनीहरू येसुको उदाहरणका “गहुँ” थिए। इजकिएल ६:९ मा बताइएको निर्वासित यहुदीहरूले झैँ तिनीहरूले पनि साँचो परमेश्‍वरलाई सम्झे। कसै-कसैले चर्चजगत्‌को झूटो शिक्षाको साहसी भई विरोध गरे। त्यसले गर्दा तिनीहरूले गिल्ला र खेदो भोग्नुपऱ्‍यो। के यहोवा परमेश्‍वरले आफ्ना मानिसहरूलाई सधैँभरि आध्यात्मिक अन्धकारमा रहिरहन दिनुभयो? अहँ, दिनुभएन! पुरातन समयका इस्राएलीहरूमाथि जस्तै यहोवा परमेश्‍वरले तिनीहरूमाथि पनि ठीक मात्रामा र निश्‍चित समयसम्म मात्र आफ्नो रिस पोख्नुभयो। (यर्मि. ४६:२८) यसबाहेक यहोवा परमेश्‍वरले आफ्ना मानिसहरूलाई आशाविहीन छोड्‌नुभएन। अब हामी फेरि पुरातन बेबिलोनको निर्वासनमा परेका यहुदीहरूकहाँ फर्कौँ र यहोवा परमेश्‍वरले तिनीहरूलाई कस्तो आशा दिनुभयो, हेरौँ।

महान्‌ बेबिलोनले साँचो ख्रिष्टियनहरूलाई शताब्दीयौँसम्म सतायो (अनुच्छेद १०, ११ हेर्नुहोस्‌)

“मेरो रिस थामिनेछ”

१२, १३. इजकिएलको समयका निर्वासित मानिसहरूप्रतिको यहोवा परमेश्‍वरको रिस अन्ततः किन थामिने थियो?

१२ यहोवा परमेश्‍वरले आफ्ना मानिसहरूसित रिसाउनुको कारण स्पष्टै बताउनुभयो तर उहाँले आफ्नो जायज रिस सधैँभरि रहने छैन भनेर पनि तिनीहरूलाई आश्‍वस्त पार्नुभयो। जस्तै, यी शब्दहरूलाई ध्यान दिनुहोस्‌: “मेरो रिस थामिनेछ। तिनीहरूलाई सजाय दिएपछि म शान्त र सन्तुष्ट हुनेछु। जब तिनीहरूमाथि म आफ्नो रिस खन्याउनेछु, तब तिनीहरूले थाह पाउनेछन्‌ कि मैले यो सब यसकारण भनेको हुँ किनकि म यहोवा मेरो बाहेक अरू कसैको भक्‍ति गरिएको पटक्कै सहँदिनँ।” (इज. ५:१३) यहोवा परमेश्‍वरको रिस अन्ततः किन थामिने थियो?

१३ निर्वासनमा पर्नेहरूमा विश्‍वासघाती यहुदीहरूका साथै वफादार यहुदीहरू पनि थिए। साथै आफ्ना केही मानिसले निर्वासनमा हुँदा पश्‍चात्ताप गर्नेछन्‌ भनेर परमेश्‍वरले इजकिएलमार्फत भविष्यवाणी गर्नुभएको थियो। ती पश्‍चात्तापी यहुदीहरूले परमेश्‍वरको विद्रोह गर्दै आफूले गरेका लाजमर्दो कामहरू सम्झने थिए अनि उहाँको क्षमा र अनुमोदन पाउन उहाँसित बिन्ती गर्ने थिए। (इज. ६:८-१०; १२:१६) इजकिएल, भविष्यवक्‍ता दानिएल र तिनका तीन जना मित्रहरू पनि ती वफादार मानिसहरूमध्ये थिए। वास्तवमा दानिएल लामो समयसम्म बाँचेकोले तिनले निर्वासित जीवनको सुरु र अन्त दुवै देखे। इस्राएलको पापको निम्ति तिनले हृदयदेखि नै गरेको प्रार्थना दानिएल अध्याय ९ मा रेकर्ड गरिएको छ। तिनले व्यक्‍त गरेको भावनामा निर्वासनमा रहेका अन्य हजारौँ मानिसको भावना झल्किन्थ्यो भन्‍ने कुरामा कुनै शङ्‌का छैन। तिनीहरू पनि यहोवा परमेश्‍वरबाट क्षमा र आशिष्‌ पाउन तिर्सना गर्दै थिए। त्यसकारण छुटकारा र पुनर्स्थापनाबारे इजकिएलले गरेका भविष्यवाणीहरू तिनीहरूका लागि वास्तवमै रोमाञ्चकारी थिए!

१४. यहोवा परमेश्‍वरले आफ्ना मानिसहरूलाई किन तिनीहरूको मातृभूमिमा पुनर्स्थापना गर्नुहुने थियो?

१४ यहोवा परमेश्‍वरले आफ्ना मानिसहरूलाई दिन लाग्नुभएको छुटकारा र पुनर्स्थापनामा एउटा अझ महत्त्वपूर्ण कुरा मुछिएको थियो। उहाँले तिनीहरू त्यसको लायक भएकोले त होइन तर जाति-जातिका मानिसहरूबीच आफ्नो नाम फेरि पवित्र पार्ने बेला भएकोले तिनीहरूलाई लामो निर्वासित जीवनबाट छुटकारा दिन लाग्नुभएको थियो। (इज. ३६:२२) ती बेबिलोनीहरूले ब्रह्‍माण्डका मालिक यहोवाको बराबरीमा मार्डुकजस्ता तिनीहरूका पैशाचिक देवताहरू आउन सक्दैनन्‌ भनेर सदाको लागि थाह पाउने थिए! आउनुहोस्‌, यहोवा परमेश्‍वरले इजकिएललाई तिनीसँगै निर्वासित जीवन बिताइरहेका मानिसहरूलाई बताउन प्रेरणा दिनुभएको पाँच वटा प्रतिज्ञा विचार गरौँ। ती वफादार मानिसहरूको लागि हरेक प्रतिज्ञा किन अर्थपूर्ण हुने थियो, पहिला विचार गरौँ। त्यसपछि ती प्रतिज्ञाहरूको व्यापक पूर्ति कसरी भयो, त्यो बुझौँ।

१५. मातृभूमि फर्कनेहरूको धार्मिक गतिविधिमा कस्तो परिवर्तन हुने थियो?

१५ पहिलो प्रतिज्ञा: मूर्तिपूजा र अन्य घिनलाग्दा प्रचलनहरू हटाइने। (इजकिएल ११:१८; १२:२४ पढ्‌नुहोस्‌) यस किताबको अध्याय ५ मा छलफल गरेझैँ यरुसलेम अनि त्यहाँको मन्दिर मूर्तिपूजा र अन्य झूटा धार्मिक प्रचलनहरूले गर्दा दूषित भएको थियो। त्यसैले मानिसहरू भ्रष्ट भएका थिए, तिनीहरू यहोवा परमेश्‍वरबाट तर्केका थिए। तर ती निर्वासित मानिसहरूले फेरि एक चोटि शुद्ध उपासनामा भाग लिने सुअवसर पाउनेछन्‌ भनेर यहोवा परमेश्‍वरले इजकिएलमार्फत भविष्यवाणी गर्नुभयो। यहोवा परमेश्‍वरले सबैभन्दा पहिला शुद्ध उपासना पुनर्स्थापना गर्नुहुने थियो किनकि तिनीहरूले पुनर्स्थापनापछि पाउने अरू सबै आशिष्‌ यसमै निर्भर हुने थियो।

१६. यहोवा परमेश्‍वरले आफ्ना मानिसहरूको मातृभूमिबारे कस्तो प्रतिज्ञा गर्नुभयो?

१६ दोस्रो प्रतिज्ञा: आफ्नो मातृभूमिमा फर्कने। यहोवा परमेश्‍वरले निर्वासित मानिसहरूलाई यसो भन्‍नुभयो: ‘म तिमीहरूलाई इस्राएल देश दिनेछु।’ (इज. ११:१७) यो साँच्चै उल्लेखनीय प्रतिज्ञा थियो किनकि बेबिलोनीहरू तिनीहरूको गिल्ला गर्थे र तिनीहरूलाई आफ्नो प्यारो मातृभूमि फर्कने झिनो आशासमेत दिएका थिएनन्‌। (यसै. १४:४, १७) साथै, तिनीहरू वफादार भइरहेमा मातृभूमि फर्केपछि तिनीहरूको जमिनले प्रशस्त उब्जनी दिने थियो, तिनीहरूको लागि खानेकुरा र कामको अभाव हुने थिएन। अनिकालले गर्दा भोग्नुपरेको बेइज्जती र दुःख विगतको कुरा हुने थियो।इजकिएल ३६:३० पढ्‌नुहोस्‌।

१७. यहोवा परमेश्‍वरले बलिदानहरूबारे कस्तो प्रतिज्ञा गर्नुभयो?

१७ तेस्रो प्रतिज्ञा: यहोवा परमेश्‍वरको वेदीमा फेरि भेटीहरू चढाइने। यस किताबको अध्याय २ मा सिकेझैँ बलिदान र भेटीहरू चढाउनु व्यवस्थाअन्तर्गत शुद्ध उपासनाको अभिन्‍न भाग थियो। स्वदेश फर्कने निर्वासित मानिसहरू आज्ञाकारी भइरहेमा र तिनीहरूले यहोवा परमेश्‍वरको मात्र उपासना गरिरहेमा उहाँले तिनीहरूको भेटी स्विकार्नुहुने थियो। यसरी मानिसहरूले आफ्नो पापको प्रायश्‍चित गर्न सक्थे र परमेश्‍वरसित घनिष्ठ हुन सक्थे। यहोवा परमेश्‍वरले यस्तो प्रतिज्ञा गर्नुभयो: “इस्राएलको सम्पूर्ण घरानाले मेरो सेवा गर्नेछ। म तिमीहरूलाई ग्रहण गर्नेछु र तिमीहरूले चढाएका सबै पवित्र कुरा—भेटीहरू र उब्जनीको पहिलो फल स्विकार्नेछु।” (इज. २०:४०) हो, शुद्ध उपासना पुनर्स्थापित हुने थियो र परमेश्‍वरका मानिसहरूले आशिष्‌ पाउने थिए।

१८. यहोवा परमेश्‍वरले आफ्ना मानिसहरूलाई कसरी हेरचाह गर्नुहुने थियो?

१८ चौथो प्रतिज्ञा: खराब गोठालाहरू हटाइने। परमेश्‍वरका मानिसहरूले गम्भीर गल्तीहरू गर्नुको एउटा मुख्य कारण नेतृत्व लिइरहेका भ्रष्ट मानिसहरूको प्रभावले गर्दा थियो। यहोवा परमेश्‍वरले यस्तो अवस्था रहिरहन नदिने प्रतिज्ञा गर्नुभयो। ती खराब गोठालाहरूबारे उहाँले यस्तो प्रतिज्ञा गर्नुभयो: “अबदेखि तिमीहरूले मेरा भेडाहरूलाई चराउन पाउनेछैनौ। . . . म मेरा भेडाहरूलाई तिमीहरूको मुखबाट छुटाएर ल्याउनेछु।” अनि उहाँले आफ्ना वफादार मानिसहरूलाई चाहिँ यस्तो आश्‍वासन दिनुभयो: “म तिनीहरूको हेरचाह गर्नेछु।” (इज. ३४:१०, १२) उहाँले तिनीहरूको हेरचाह गर्न विश्‍वासी र वफादार पुरुषहरूलाई गोठालोको रूपमा प्रयोग गर्नुहुने थियो।

१९. एकताको विषयमा यहोवा परमेश्‍वरले कस्तो प्रतिज्ञा गर्नुभयो?

१९ पाँचौँ प्रतिज्ञा: यहोवा परमेश्‍वरका उपासकहरूबीच एकता। निर्वासनअघि परमेश्‍वरका मानिसहरूबीच फुट भएको देख्दा वफादार उपासकहरूलाई असाध्यै दुःख लागेको हुनुपर्छ! झूटा भविष्यवक्‍ताहरू र भ्रष्ट गोठालाहरूको प्रभावमा परेर मानिसहरूले यहोवा परमेश्‍वरको प्रतिनिधि—वफादार भविष्यवक्‍ताहरूको विरोध गरे; मानिसहरू विभिन्‍न गुटमा समेत बाँडिए। त्यसैले पुनर्स्थापनाको एउटा आकर्षक पक्ष इजकिएलमार्फत गरिएको यो भविष्यवाणी थियो: “म तिनीहरू सबैलाई एकजुट पार्नेछु र तिनीहरूमा नयाँ सोचाइ हालिदिनेछु।” (इज. ११:१९) मातृभूमि फर्कने यहुदीहरू यहोवा परमेश्‍वरसित एकतामा रहनुका साथै आपसमा मिलेर बस्दा कुनै पनि विरोधीले तिनीहरूलाई परास्त गर्न सक्ने थिएन। तिनीहरूले यहोवा परमेश्‍वरको नाममा कलङ्‌क लगाउनु र उहाँको नामको अनादर गर्नुको सट्टा एउटा राष्ट्रको रूपमा फेरि एक चोटि उहाँको महिमा गर्न सक्ने थिए।

२०, २१. निर्वासनबाट फर्केका मानिसहरूले कसरी परमेश्‍वरका प्रतिज्ञाहरू पूरा भएको देखे?

२० निर्वासनबाट फर्केका यहुदीहरूले के यी पाँच वटा प्रतिज्ञा पूरा भएको देख्न पाए? पुरातन समयका वफादार व्यक्‍ति यहोसुले यसो भनेका थिए: “यहोवा तिमीहरूका परमेश्‍वरले तिमीहरूसित गर्नुभएका सबै असल प्रतिज्ञामा एउटा पनि अधुरो रहेको छैन . . . ती सबै पूरा भएका छन्‌; त्यसमध्ये एउटा कुरा पनि फरक परेको छैन।” (यहो. २३:१४) मातृभूमि फर्केका यहुदीहरूले पनि यहोसुको समयमा जस्तै उहाँको प्रतिज्ञा पूरा भएको देख्ने थिए।

२१ ती यहुदीहरूले मूर्तिपूजा र झूटो धर्मसित सम्बन्धित अन्य घिनलाग्दा प्रचलनहरू त्यागे, जसले तिनीहरूलाई यहोवा परमेश्‍वरदेखि टाढा बनाएको थियो। असम्भव देखिए तापनि तिनीहरू आफ्नो मातृभूमि फर्के र खेतीपाती गरेर अर्थपूर्ण जीवन बिताउन थाले। तिनीहरूले सबैभन्दा पहिला यहोवा परमेश्‍वरको वेदी यरुसलेममा पुनर्स्थापना गरे र त्यहाँ ग्रहणयोग्य भेटीहरू चढाउन थाले। (एज्रा ३:२-६) यहोवा परमेश्‍वरले तिनीहरूलाई आध्यात्मिक गोठालाहरू दिनुभयो। जस्तै: वफादार पुजारी तथा प्रतिलिपिक एज्रा; राज्यपाल नहेम्याह र यरुबाबेल; प्रधानपुजारी यहोसु अनि साहसी भविष्यवक्‍ता हाग्गै, जकरिया र मलाकि। यहोवा परमेश्‍वरबाट आएको निर्देशन र डोऱ्‍याइअनुसार चलुन्जेल तिनीहरूले लामो समयसम्म अनुभव गर्न नपाएको एकता अनुभव गर्न सके।—यसै. ६१:१-४; यर्मिया ३:१५ पढ्‌नुहोस्‌।

२२. पुनर्स्थापनासम्बन्धी भविष्यवाणीहरूको पहिलो पूर्ति पछि हुने व्यापक पूर्तिको झलक मात्र थियो भनेर हामी कसरी भन्‍न सक्छौँ?

२२ यहोवा परमेश्‍वरले पुनर्स्थापनासम्बन्धी गर्नुभएका प्रतिज्ञाहरूको पहिलो पूर्ति पक्कै पनि प्रोत्साहनदायी थियो! तर त्यो पछि हुने अझ व्यापक पूर्तिको झलक मात्र थियो। हामी कसरी त्यसो भन्‍न सक्छौँ? ती प्रतिज्ञाहरूमा सर्त राखिएका थिए; मानिसहरू यहोवा परमेश्‍वरप्रति आज्ञाकारी भएसम्म उहाँले ती प्रतिज्ञाहरू पूरा गर्नुहुने थियो। पछि गएर ती यहुदीहरू फेरि अनाज्ञाकारी र विद्रोही भए। तर यहोसुले बताएझैँ यहोवा परमेश्‍वरको वचन सधैँ पूरा हुन्छ। त्यसैले ती प्रतिज्ञाहरूको अझ व्यापक र दिगो पूर्ति हुने थियो। त्यो कसरी भयो, आउनुहोस्‌ बुझौँ।

“म तिमीहरूदेखि खुसी हुनेछु”

२३, २४. “सबै कुरा पुनर्स्थापित हुने समय” कहिलेदेखि र कसरी सुरु भयो?

२३ बाइबलका विद्यार्थीहरू भएकोले हामीलाई इस्वी संवत्‌ १९१४ देखि यो दुष्ट युगको आखिरी समय सुरु भयो भनेर थाह छ। तर यहोवा परमेश्‍वरका सेवकहरूका लागि यो दुःखी हुनुपर्ने समय होइन। वास्तवमा इस्वी संवत्‌ १९१४ देखि एउटा रोमाञ्चकारी समय—“सबै कुरा पुनर्स्थापित हुने समय” सुरु भयो भनेर बाइबलले सङ्‌केत गर्छ। (प्रेषि. ३:२१) इस्वी संवत्‌ १९१४ मा स्वर्गमा के भयो, विचार गर्नुहोस्‌ त! येसु ख्रिष्ट मसीही राजाको रूपमा नियुक्‍त हुनुभयो! त्यो घटनालाई किन पुनर्स्थापना भन्‍न सकिन्छ? नबिर्सनुहोस्‌, यहोवा परमेश्‍वरले राजा दाउदलाई तिनको वंशको शासन सदासर्वदा रहनेछ भनेर प्रतिज्ञा गर्नुभएको थियो। (१ इति. १७:११-१४) ईसापूर्व ६०७ मा बेबिलोनीहरूले यरुसलेमको विनाश गरेर दाउदको वंशको शासन अन्त गर्दा त्यो शासन केही समयको लागि रोकियो।

२४ “मानिसको छोरा” येसु दाउदको सन्तान हुनुहुन्थ्यो। त्यसैले उहाँ कानुनी रूपमै दाउदको सिंहासनको हकवाला हुनुभयो। (मत्ति १:१; १६:१३-१६; लुका १:३२, ३३) इस्वी संवत्‌ १९१४ मा यहोवा परमेश्‍वरले येसुलाई स्वर्गको सिंहासनमा बसाल्नुहुँदा “सबै कुरा पुनर्स्थापित हुने समय” सुरु भयो! त्यसबेलादेखि यहोवा परमेश्‍वरले यी त्रुटिरहित राजालाई पुनर्स्थापनाको काममा प्रयोग गर्न थाल्नुभयो।

२५, २६. (क) लामो समयसम्म महान्‌ बेबिलोनको निर्वासनमा परेकाहरू कहिले मुक्‍त भए र हामी कसरी यसो भन्‍न सक्छौँ? (“इस्वी संवत्‌ १९१९ नै किन?” भन्‍ने पेटी पनि हेर्नुहोस्‌) (ख) इस्वी संवत्‌ १९१९ देखि भविष्यवाणी कसरी पूरा हुन थाल्यो?

२५ राजा भइसकेपछि ख्रिष्टले सबैभन्दा पहिला गर्नुभएको काममध्ये एउटा यो थियो: उहाँले पृथ्वीमा शुद्ध उपासनाको निरीक्षणमा आफ्नो बुबालाई साथ दिनुभयो। (मला. ३:१-५) गहुँ र सामाको उदाहरणमा येसुले भविष्यवाणी गर्नुभएझैँ सामा अर्थात्‌ नक्कली ख्रिष्टियनहरू को हुन्‌ र गहुँ अर्थात्‌ साँचो अभिषिक्‍त ख्रिष्टियनहरू को हुन्‌ भनेर लामो समयसम्म छुट्ट्याउन सकिएको थिएन। * तर इस्वी संवत्‌ १९१४ मा बाली काट्‌ने बेला आयो र तिनीहरूबीचको भिन्‍नता स्पष्ट भयो। वफादार बाइबल विद्यार्थीहरूले इस्वी संवत्‌ १९१४ भन्दा दशकौँअघिदेखि चर्चजगत्‌को गम्भीर त्रुटिहरूलाई उदाङ्‌ग पार्दै आएका थिए र त्यो भ्रष्ट सङ्‌गठनबाट अलग हुन थालिसकेका थिए। यहोवा परमेश्‍वरले तिनीहरूलाई पूर्ण रूपमा पुनर्स्थापना गर्ने समय आएको थियो। त्यसैले “बाली काट्‌ने बेला” सुरु भएको केही वर्षभित्रै, इस्वी संवत्‌ १९१९ को सुरुतिर परमेश्‍वरका मानिसहरूलाई महान्‌ बेबिलोनको कैदबाट पूरै मुक्‍त गरियो। (मत्ति १३:३०) निर्वासनको समय सिद्धियो!

२६ इजकिएलले पुनर्स्थापनासम्बन्धी गरेका भविष्यवाणीहरू पुरातन समयमा पनि पूरा भएका थिए तर अब भने त्यसको व्यापक पूर्ति हुन थाल्यो। हामीले अगाडिका अनुच्छेदहरूमा छलफल गरेका पाँच वटा प्रतिज्ञाको व्यापक पूर्ति कसरी भयो, आउनुहोस्‌ हेरौँ।

२७. परमेश्‍वरले आफ्ना मानिसहरूलाई मूर्तिपूजाबाट कसरी शुद्ध पार्नुभयो?

२७ पहिलो प्रतिज्ञा: मूर्तिपूजा र अन्य घिनलाग्दा प्रचलनहरूको अन्त। उन्‍नाइसौँ शताब्दीको अन्ततिर र बीसौँ शताब्दीको सुरुतिर वफादार ख्रिष्टियनहरू सानो-सानो समूहमा जम्मा हुँदै थिए। तिनीहरूले झूटा धार्मिक प्रचलनहरूलाई पनि त्याग्न थालेका थिए। त्रिएक, अमर आत्मा र नरकको शिक्षा झूटो धर्मबाट सुरु भएको शिक्षा हो भनेर तिनीहरूले बुझे। परमेश्‍वरको उपासना गर्दा प्रतिमाहरूको प्रयोग गर्नु मूर्तिपूजा हो भनेर तिनीहरूले थाह पाए। क्रस प्रयोग गर्नु पनि मूर्तिपूजा नै हो भनेर परमेश्‍वरका मानिसहरूले बुझ्न थाले।—इज. १४:६.

२८. यहोवा परमेश्‍वरका मानिसहरू कुन अर्थमा आफ्नो भूमिमा पुनर्स्थापित भए?

२८ दोस्रो प्रतिज्ञा: परमेश्‍वरका मानिसहरू आफ्नो आध्यात्मिक भूमिमा पुनर्स्थापित। झूटो धर्मको मुठीबाट बिस्तारै मुक्‍त हुँदै गएपछि वफादार ख्रिष्टियनहरूले आफूलाई आध्यात्मिक भूमिमा अर्थात्‌ परमेश्‍वरबाट आशिष्‌ पाएको अवस्था वा वातावरणमा पाउन थाले। त्यहाँ तिनीहरू कहिल्यै आध्यात्मिक अनिकालमा पर्ने थिएनन्‌। (इजकिएल ३४:१३, १४ पढ्‌नुहोस्‌) यहोवा परमेश्‍वरले यो आध्यात्मिक भूमिलाई प्रशस्त मात्रामा पोषण दिनुभएको छ भनेर हामी अध्याय १९ मा सिक्नेछौँ।—इज. ११:१७.

२९. इस्वी संवत्‌ १९१९ मा प्रचारकार्यको क्षेत्रमा कस्तो प्रगति भयो?

२९ तेस्रो प्रतिज्ञा: यहोवा परमेश्‍वरको वेदीमा फेरि भेटीहरू चढाइने। प्रथम शताब्दीमा ख्रिष्टियनहरूले परमेश्‍वरलाई जनावरको बलिदान होइन तर उहाँको प्रशंसा गरेर र उहाँबारे अरूलाई प्रचार गरेर त्योभन्दा बहुमूल्य भेटी चढाउनुपर्छ भनेर सिके। (हिब्रू १३:१५) सयौँ वर्ष लामो निर्वासनको बेलामा व्यवस्थित रूपमा यस्तो भेटी चढाउने प्रबन्ध थिएन। तर निर्वासनको अन्त हुनै लाग्दा परमेश्‍वरका मानिसहरूले यस्तो प्रशंसाको बलिदान चढाउन थालिसकेका थिए। तिनीहरू प्रचारकार्यमा व्यस्त थिए र नियमित रूपमा सभाहरूमा भेला हुन्थे। इस्वी संवत्‌ १९१९ देखि “विश्‍वासी र बुद्धिमान्‌ दास”-ले प्रचारकार्यलाई अझ जोड दियो र यसलाई अझ व्यवस्थित बनायो। (मत्ति २४:४५-४७) यसप्रकार दिनप्रतिदिन बढ्‌दै गएको यहोवाका प्रशंसकहरूले चढाएको बलिदानले उहाँको वेदी भरिन थाल्यो।

३०. आफ्ना मानिसहरूले असल गोठालाहरूको हेरचाह पाऊन्‌ भनेर येसुले के गर्नुभयो?

३० चौथो प्रतिज्ञा: खराब गोठालाहरू हटाइने। येसु ख्रिष्टले परमेश्‍वरका मानिसहरूलाई चर्चजगत्‌को धूर्त र स्वार्थी गोठालाहरूको चङ्‌गुलबाट मुक्‍त गर्नुभयो। उहाँले आफ्नै बगालका फटाहा गोठालाहरूको अख्तियार पनि खोस्नुभयो। (इज. २०:३८) असल गोठालो येसुले आफ्ना भेडाहरूको राम्रो हेरचाह भइरहेको छ कि छैन भनेर पनि पक्का गर्नुभयो। इस्वी संवत्‌ १९१९ मा उहाँले विश्‍वासी र बुद्धिमान्‌ दास नियुक्‍त गर्नुभयो। वफादार अभिषिक्‍त ख्रिष्टियनहरू मिलेर बनेको त्यो सानो समूहले आध्यात्मिक भोजन बाँड्‌न थाल्यो, जसले गर्दा परमेश्‍वरका मानिसहरूले प्रशस्त मात्रामा खान पाए। समय बित्दै जाँदा, एल्डरहरूले “परमेश्‍वरको बगाललाई” हेरचाह गर्न सकून्‌ भनेर तिनीहरूलाई पनि तालिम दिइयो। (१ पत्रु. ५:१, २) यी ख्रिष्टियन गोठालाहरूलाई यहोवा परमेश्‍वर र येसु ख्रिष्टले बसाल्नुभएको स्तर सम्झाउन अक्सर इजकिएल ३४:१५, १६ मा परमेश्‍वरको प्रेरणाद्वारा लेखिएका कुराहरू चलाइन्छ।

३१. यहोवा परमेश्‍वरले इजकिएल ११:१९ को भविष्यवाणी कसरी पूरा गर्नुभएको छ?

३१ पाँचौँ प्रतिज्ञा: यहोवा परमेश्‍वरका उपासकहरूबीच एकता। शताब्दीयौँको दौडान चर्चजगत्‌ हजारौँ गुट र अनगिन्ती उपगुटमा टुक्रिएको छ। तिनीहरूबीच पटक्कै एकता छैन बरु तिनीहरू एकअर्काको विरोध गर्छन्‌। तर यहोवा परमेश्‍वरले आफ्ना पुनर्स्थापित मानिसहरूमाझ गर्नुभएको कुरालाई साँच्चै चमत्कार भन्‍न सकिन्छ। उहाँले इजकिएलमार्फत गर्नुभएको यो भविष्यवाणीको महिमित पूर्ति भएको छ: “म तिनीहरू सबैलाई एकजुट पार्नेछु।” (इज. ११:१९) संसारभरि येसु ख्रिष्टका लाखौँ अनुयायीहरू छन्‌ र तिनीहरू विभिन्‍न जात, धर्म अनि फरक-फरक आर्थिक र सामाजिक पृष्ठभूमिबाट आएका छन्‌। तर सबै जनालाई एउटै कुरा सिकाइन्छ र सबै जना मिलेर एउटै काम गर्छन्‌। आफ्नो मृत्युभन्दा अघिल्लो रात येसुले आफ्ना अनुयायीहरू एकतामा होऊन्‌ भनेर व्यग्र प्रार्थना गर्नुभएको थियो। (युहन्‍ना १७:११, २०-२३ पढ्‌नुहोस्‌) आज हाम्रो समयमा यहोवा परमेश्‍वरले उहाँको त्यो बिन्तीलाई अझ व्यापक रूपमा पूरा गर्नुभएको छ।

३२. पुनर्स्थापनासम्बन्धी भविष्यवाणीहरू पूरा भएको देख्दा तपाईँलाई कस्तो लाग्छ? (“कैद र पुनर्स्थापनासम्बन्धी भविष्यवाणीहरू” भन्‍ने पेटी पनि हेर्नुहोस्‌)

३२ पुनर्स्थापनाको यस रोमाञ्चकारी भविष्यवाणी आफ्नै अगाडि पूरा भइरहेको देख्न पाउँदा के तपाईँ खुसी हुनुहुन्‍न? हाम्रो उपासनाको हरेक पक्षमा इजकिएलका भविष्यवाणीहरू पूरा भइरहेको अहिले हामीले देखिरहेका छौँ। यहोवा परमेश्‍वर आफ्ना मानिसहरूसित प्रसन्‍न हुनुहुन्छ भनेर हामी ढुक्क हुन सक्छौँ। उहाँले इजकिएलमार्फत यसो भन्‍नुभएको थियो: “म तिमीहरूदेखि खुसी हुनेछु।” (इज. २०:४१) अहिले संसारभरि यहोवा परमेश्‍वरका मानिसहरूले प्रशस्त मात्रामा आध्यात्मिक भोजन खान पाइरहेका छन्‌। तिनीहरू एकतामा बसेर उहाँको प्रशंसा गर्दै छन्‌। तिनीहरू शताब्दीयौँसम्म चलेको आध्यात्मिक निर्वासनबाट मुक्‍त भएका छन्‌। के तपाईँ तिनीहरूबीच हुन पाएकोमा खुसी हुनुहुन्‍न? तर इजकिएलले पुनर्स्थापनासम्बन्धी गरेका अरू भविष्यवाणीको व्यापक पूर्ति हुन अझै बाँकी छ।

“अदनको बगैँचाजस्तै”

३३-३५. (क) इजकिएल ३६:३५ को भविष्यवाणी निर्वासित यहुदीहरूका लागि किन अर्थपूर्ण थियो? (ख) यो भविष्यवाणी आज यहोवा परमेश्‍वरका सेवकहरूका लागि किन अर्थपूर्ण छ? (“सबै कुरा पुनर्स्थापित हुने समय” भन्‍ने पेटी पनि हेर्नुहोस्‌)

३३ हामीले सिकेझैँ “सबै कुरा पुनर्स्थापित हुने समय” येसु इस्वी संवत्‌ १९१४ मा राजा हुनुभएर दाउदको वंशको शासन पुनर्स्थापित भएको समयदेखि सुरु भयो। (इज. ३७:२४) शताब्दीयौँसम्मको आध्यात्मिक निर्वासनपछि यहोवा परमेश्‍वरले आफ्ना मानिसहरूमाझ शुद्ध उपासना पुनर्स्थापना गर्ने अख्तियार ख्रिष्टलाई दिनुभयो। तर ख्रिष्टले गर्ने पुनर्स्थापना के त्यतिकैमा टुङ्‌गिन्छ? टुङ्‌गिँदैन। यो काम भविष्यमा अझ भव्य तरिकामा चलिरहनेछ। यसबारे इजकिएलका भविष्यवाणीहरूमा विस्तृत रूपमा बताइएको छ।

३४ उदाहरणको लागि, तिनले परमेश्‍वरको प्रेरणा पाएर लेखेका यी शब्दहरूलाई विचार गर्नुहोस्‌: “मानिसहरूले भन्‍नेछन्‌: ‘त्यो उजाड जमिन अदनको बगैँचाजस्तै भएको छ।’” (इज. ३६:३५) त्यो प्रतिज्ञा इजकिएल र तिनीसँगै निर्वासित जीवन बिताइरहेका यहुदीहरूको लागि किन अर्थपूर्ण थियो? तिनीहरूले पक्कै पनि पुनर्स्थापित भूमि यहोवा परमेश्‍वर आफैले लगाउनुभएको अदनको बगैँचाजस्तो हुनेछ भनेर आशा गरेका थिएनन्‌। (उत्प. २:८) बरु त्यो भूमि सुन्दर र उर्वर हुनेछ भनेर यहोवा परमेश्‍वरले आश्‍वासन दिन खोज्दै हुनुहुन्छ भन्‍ने कुराचाहिँ तिनीहरूले पक्कै बुझेको हुनुपर्छ।

३५ त्यो प्रतिज्ञा आज हाम्रो लागि किन अर्थपूर्ण छ? सैतानले शासन गरिरहेको यस दुष्ट युगमा त्यो भविष्यवाणी शाब्दिक रूपमै पूरा भएको हामी आशा गर्दैनौँ। तर हाम्रो समयमा त्यो भविष्यवाणी आध्यात्मिक अर्थमा पूरा भइरहेको छ भनेर हामीले बुझेका छौँ। यहोवा परमेश्‍वरका सेवकहरू अहिले पुनर्स्थापित आध्यात्मिक भूमिमा छन्‌। तिनीहरूमाझ यस्तो अवस्था वा वातावरण छ, जहाँ तिनीहरू फलदायी तरिकामा उहाँको सेवा गर्छन्‌ अनि उहाँको पवित्र सेवालाई आफ्नो जीवनमा प्राथमिकता दिन्छन्‌। यो आध्यात्मिक भूमि झन्‌झनै सुन्दर हुँदै गइरहेको छ। भविष्यबारे चाहिँ के भन्‍न सकिन्छ?

३६, ३७. प्रमोदवनमा कस्ता प्रतिज्ञाहरू पूरा हुनेछन्‌?

३६ आरमागेडोनको युद्धपछि येसुले यस पृथ्वीलाई पनि पुनर्स्थापना गर्नुहुनेछ। आफ्नो हजार वर्षीय शासनको दौडान उहाँले आफ्नो प्रजालाई चलाएर यहोवा परमेश्‍वरको सुरुको उद्देश्‍यअनुरूपै यस पृथ्वीलाई अदनको बगैँचाजस्तै सुन्दर प्रमोदवन बनाउनुहुनेछ। (लुका २३:४३) त्यसपछि सबै मानिसजाति आपसमा मिलेर बस्नेछन्‌ र तिनीहरूले पृथ्वी बिगार्ने कुनै काम गर्नेछैनन्‌। कतै पनि कुनै किसिमको खतरा वा डर हुनेछैन। त्यतिबेला यो प्रतिज्ञा पनि पूरा हुनेछ: “म तिनीहरूसित शान्तिको करार गर्नेछु। तिनीहरूको देशबाट हिंस्रक जङ्‌गली जनावरहरूलाई धपाउनेछु ताकि तिनीहरू निर्जनभूमिमा ढुक्कसित बसून्‌, वनमा मस्त निदाऊन्‌।”—इज. ३४:२५.

३७ के तपाईँ यो कुरा कल्पना गर्न सक्नुहुन्छ? तपाईँ यो विशाल पृथ्वीको जुनसुकै ठाउँमा कुनै डरविना जान सक्नुहुनेछ। कुनै पनि जङ्‌गली जनावरदेखि तपाईँ डराउनुपर्ने छैन। तपाईँलाई कुनै कुराको खतरा हुनेछैन। घना जङ्‌गलमा समेत तपाईँ त्यसको सौन्दर्यको आनन्द उठाउँदै एक्लै हिँड्डुल गर्न सक्नुहुनेछ। कुनै जनावरले कतैबाट झम्टेला कि भनेर चिन्ता नगरी तपाईँ मस्त निदाउन सक्नुहुनेछ।

घना जङ्‌गलमा समेत निश्‍चिन्त भएर ‘मस्त निदाउन’ सकिने समय कस्तो होला, कल्पना गर्नुहोस्‌ (अनुच्छेद ३६, ३७ हेर्नुहोस्‌)

३८. इजकिएल २८:२६ मा रेकर्ड गरिएको प्रतिज्ञा पूरा भएको देख्दा तपाईँलाई कस्तो लाग्नेछ?

३८ हामीले यो प्रतिज्ञा पूरा भएको पनि देख्नेछौँ: “तिनीहरू त्यहाँ ढुक्कले बस्नेछन्‌। तिनीहरूले घर बनाउनेछन्‌ र अङ्‌गुर बगान लगाउनेछन्‌। तिनीहरूसित तुच्छ व्यवहार गर्ने सबै जातिलाई मैले सजाय दिएपछि तिनीहरू निर्धक्क भएर बस्नेछन्‌। तब म नै तिनीहरूका परमेश्‍वर यहोवा हुँ भनेर तिनीहरूले जान्‍नेछन्‌।” (इज. २८:२६) यहोवा परमेश्‍वरका सबै शत्रु नाश भएपछि हामीले पृथ्वीभरि शान्ति र सुरक्षाको आनन्द उठाउनेछौँ। हामीले यस पृथ्वीको मात्र होइन, आफ्नो र आफूले माया गरेका मानिसहरूको पनि ख्याल राख्न सक्नेछौँ। हामीले आरामदायी घर बनाउनेछौँ र आफ्नै बगान लगाउनेछौँ।

३९. इजकिएलले प्रमोदवनबारे गरेका भविष्यवाणीहरू पूरा हुनेछन्‌ भन्‍ने कुरामा तपाईँ किन ढुक्क हुन सक्नुहुन्छ?

३९ के तपाईँलाई यी प्रतिज्ञाहरू काल्पनिक लाग्छ? यदि त्यसो हो भने अहिले “सबै कुरा पुनर्स्थापित” भइरहेको बेला तपाईँले के-कस्ता कुराहरू पूरा भएको देखिसक्नुभएको छ, सम्झनुहोस्‌ त। सैतानको घोर विरोधको बाबजुद येसुले परमेश्‍वरको अख्तियार पाएर यो अन्धकारमय समयमा शुद्ध उपासना पुनर्स्थापना गर्नुभएको छ। परमेश्‍वरले इजकिएलमार्फत गर्नुभएका सबै प्रतिज्ञा पूरा हुनेछन्‌ भन्‍ने कुराको कत्ति सशक्‍त प्रमाण!

^ प्रायजसो निर्वासित यहुदीहरू बेबिलोन सहरभन्दा अलि टाढा बसोबास गर्थे। जस्तै, इजकिएल अन्य यहुदीहरूसँगै केबार नदीको किनारमा बसोबास गर्थे। (इज. ३:१५) तर निर्वासित यहुदीहरूमध्ये केहीचाहिँ बेबिलोन सहरमै बसोबास गर्थे। त्यसमा “शाही घरानाका र कुलीन घरानाका” यहुदीहरू पनि पर्थे।—दानि. १:३, ६; २ राजा २४:१५.

^ उदाहरणको लागि, १६औँ शताब्दीका को-को सुधारवादीहरू अभिषिक्‍त ख्रिष्टियनहरू थिए भनेर हामी यकिनका साथ भन्‍न सक्दैनौँ।