सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय १४

“मन्दिरको व्यवस्था यही हो”

“मन्दिरको व्यवस्था यही हो”

इजकिएल ४३:१२

मुख्य कुरा: मन्दिरको दर्शन—इजकिएलको समयको लागि र आज हाम्रो समयको लागि पाठ

१, २. (क) यसअघिको अध्यायमा हामीले इजकिएलले देखेको मन्दिरको दर्शनबारे के सिक्यौँ? (ख) यस अध्यायमा हामी कुन दुइटा प्रश्‍नको जवाफ पाउनेछौँ?

 इजकिएलले दर्शनमा देखेको मन्दिर प्रेषित पावलले सयौँ वर्षपछि वर्णन गरेको महान्‌ आध्यात्मिक मन्दिर थिएन। यो कुरा हामीले यसअघिको अध्यायमा बुझेका थियौँ। साथै परमेश्‍वरले आफ्ना मानिसहरूलाई शुद्ध उपासनाको लागि आफूले तोकेका स्तरहरूको महत्त्व सिकाउन त्यो दर्शन देखाउनुभएको थियो भनेर पनि सिक्यौँ। ती स्तरहरू पालन गरेको खण्डमा मात्र ती मानिसहरूले यहोवा परमेश्‍वरसित फेरि सुमधुर सम्बन्ध गाँस्न सक्थे। त्यसैले यहोवा परमेश्‍वरले एउटै पदमा उस्तै अभिव्यक्‍ति दुई चोटि प्रयोग गर्नुको कारण हामी बुझ्न सक्छौँ: “मन्दिरको व्यवस्था यही हो।”—इजकिएल ४३:१२ पढ्‌नुहोस्‌।

अब हामी थप दुइटा प्रश्‍नबारे छलफल गर्नेछौँ। पहिलो: मन्दिरको दर्शनबाट इजकिएलको समयका यहुदीहरूले शुद्ध उपासनाको लागि यहोवा परमेश्‍वरले तोक्नुभएका स्तरहरूबारे के-कस्ता पाठहरू सिकेको हुनुपर्छ? यस प्रश्‍नको जवाफले हामीलाई दोस्रो प्रश्‍नको जवाफ पाउन मदत गर्नेछ: उक्‍त दर्शनबाट यस अन्तको दिनमा हामी कस्तो पाठ सिक्न सक्छौँ?

यस दर्शनले पुरातन समयमा कस्तो पाठ सिकायो?

३. दर्शनमा मन्दिर अग्लो डाँडामा बसालिएको देख्दा असल हृदय भएका मानिसहरू किन लाजमा पर्न सक्थे?

पहिलो प्रश्‍नको जवाफ पाउन मन्दिरको दर्शनका केही उल्लेखनीय पक्ष विचार गरौँ। अग्लो डाँडा। मन्दिरबारे इजकिएलको वर्णन सुनेपछि त्यतिबेलाका मानिसहरूले पक्कै पनि पुनर्स्थापनासम्बन्धी यसैयाको भविष्यवाणी सम्झेको हुनुपर्छ। (यसै. २:२) यहोवा परमेश्‍वरको मन्दिर त्यस्तो अग्लो ठाउँमा बसालिएको देख्दा तिनीहरूले कुन कुरा सिके? तिनीहरूले शुद्ध उपासना अरू सबै उपासनाभन्दा माथि उचालिनुपर्छ, उच्च पारिनुपर्छ भनेर सिके। “अरू सबै देवताभन्दा अति उच्च” परमेश्‍वर यहोवा स्वयम्‌ले शुद्ध उपासनाको प्रबन्ध गर्नुभएकोले यो उपासना उच्च छ। (भज. ९७:९) तर मानिसहरूले भने आफ्नो जिम्मेवारी पूरा गरिरहेका थिएनन्‌। सयौँ वर्षदेखि तिनीहरूले शुद्ध उपासनालाई बारम्बार विकृत बनाएका थिए, त्यागेका थिए र दूषित पारेका थिए। परमेश्‍वरको पवित्र मन्दिर उच्च पारिएको अर्थात्‌ यसले जुन महिमित स्थान पाउनुपर्ने हो, त्यही स्थान पाएको देख्दा असल हृदय भएका मानिसहरू आफूले गरेको कामको लागि पक्कै पनि लाजमा परे।

४, ५. मन्दिरको अग्ला प्रवेशद्वारहरूबाट इजकिएलका श्रोताहरूले कस्तो पाठ सिकेको हुनुपर्छ?

अग्ला प्रवेशद्वारहरू। इजकिएलले आफूलाई मन्दिर देखाउने स्वर्गदूतले मन्दिरका प्रवेशद्वारहरू नापिरहेको देखेका थिए। ती प्रवेशद्वारहरू झन्डै ३० मिटर अग्ला थिए। (इज. ४०:१४) अनि ती प्रवेशद्वारहरूमा पहरेदार बस्ने चौकीहरू पनि थिए। मन्दिरको यो नक्सा अध्ययन गर्नेहरूले यसबाट के कुरा बुझ्न सक्थे? यहोवा परमेश्‍वरले इजकिएललाई यसो भन्‍नुभयो: “मन्दिरमा प्रवेश गर्ने ठाउँ . . . राम्ररी नियालेर हेर।” परमेश्‍वरले किन त्यसो भन्‍नुभयो? किनभने मानिसहरूले परमेश्‍वरको पवित्र मन्दिरमा यस्ता मानिसहरूलाई ल्याइरहेका थिए, जसको ‘न हृदयको खतना भएको थियो न त शरीरको नै।’ नतिजा कस्तो भयो? यहोवा परमेश्‍वरले भन्‍नुभएझैँ उहाँको ‘मन्दिर अपवित्र भयो।’—इज. ४४:५, ७.

‘शरीरको खतना नगरेका’ ती मानिसहरूले अब्राहामको समयमा परमेश्‍वरले दिनुभएको स्पष्ट आज्ञा मानेनन्‌। (उत्प. १७:९, १०; लेवी १२:१-३) तर ‘हृदयको खतना नगरेका’ मानिसहरूको अवस्था अझ जटिल थियो। तिनीहरूले हाकाहाकी यहोवा परमेश्‍वरको विद्रोह गरे, उहाँको निर्देशन र डोऱ्‍याइ स्विकारेनन्‌। त्यस्ता मानिसहरूलाई परमेश्‍वरको पवित्र मन्दिरमा प्रवेश गर्ने अनुमति दिनु हुँदैनथ्यो! यहोवा परमेश्‍वर कपटलाई घृणा गर्नुहुन्छ तर उहाँका मानिसहरूले उहाँको मन्दिरमा कपटलाई मौलाउन दिएका थिए। स्पष्ट छ, दर्शनको मन्दिरका प्रवेशद्वारहरू र पहरेदार बस्ने चौकीहरूले यो पाठ सिकायो: अबउसो त्यस्ता व्यवहारहरू हुन दिइने थिएन! परमेश्‍वरको मन्दिरमा प्रवेश गर्न जुन उच्च स्तरहरू तोकिएका थिए, ती पालन गर्नुपर्ने थियो। तब मात्र मानिसहरूले चढाउने उपासनामा यहोवा परमेश्‍वरले आशिष्‌ दिनुहुने थियो।

६, ७. (क) मन्दिर परिसरलाई घेरेको बाहिरी पर्खालद्वारा यहोवा परमेश्‍वरले आफ्ना मानिसहरूलाई कुन कुरा बुझाउनुभयो? (ख) यहोवा परमेश्‍वरका मानिसहरूले उहाँको पवित्र मन्दिरप्रति पहिला कस्तो व्यवहार गरेका थिए? (फुटनोट हेर्नुहोस्‌)

बाहिरी पर्खाल। इजकिएलले दर्शनमा देखेको मन्दिरको अर्को उल्लेखनीय पक्ष भनेको मन्दिर परिसरलाई घेरेको पर्खाल हो। इजकिएलअनुसार पर्खालको नाप प्रत्येक दिशामा ५०० टाँगो अर्थात्‌ १,५५५ मिटर, झन्डै १.६ किलोमिटर लामो थियो! (इज. ४२:१५-२०) तर मन्दिरको मुख्य भाग र त्यसको चोक वर्गाकार थियो र त्यसको एकापट्टिको नाप ५०० हात अर्थात्‌ २५९ मिटर मात्र थियो। यसरी मन्दिर र बाहिरी पर्खालको बीचमा विशाल इलाका थियो। * यसको उद्देश्‍य के थियो?

यहोवा परमेश्‍वरले यसो भन्‍नुभयो: “अब तिनीहरूले वेश्‍यावृत्ति गर्न छोडून्‌ र आफ्ना राजाहरूका लास मेरो सामुन्‍नेबाट हटाऊन्‌। त्यसपछि म सधैँ तिनीहरूमाझ रहनेछु।” (इज. ४३:९) “आफ्ना राजाहरूका लास” भन्‍ने अभिव्यक्‍तिले सम्भवतः मूर्तिहरूलाई बुझाउँछ। त्यसैले मन्दिर र बाहिरी पर्खालको बीचमा भएको विशाल इलाका देखाउँदै यहोवा परमेश्‍वरले मानौँ, यसो भनिरहनुभएको थियो, “सबै दुर्गन्धित कुराहरूलाई टाढै राख। छेउमा पनि पर्न नदेऊ।” यसरी तिनीहरूले उपासनालाई शुद्धै राखेको भए यहोवा परमेश्‍वरले आफ्नो उपस्थितिद्वारा तिनीहरूलाई आशिष्‌ दिनुहुने थियो।

८, ९. यहोवा परमेश्‍वरले जिम्मेवार पुरुषहरूलाई दिनुभएको कडा सल्लाहबाट मानिसहरूले कस्तो पाठ सिकेको हुनुपर्छ?

जिम्मेवार पुरुषहरूका लागि कडा सल्लाह। यहोवा परमेश्‍वरले आफ्ना मानिसहरूमाझ महत्त्वपूर्ण जिम्मेवारी बहन गरिरहेका पुरुषहरूलाई पनि कडा तर मायालु सल्लाह दिनुभयो। मानिसहरू मूर्तिपूजामा लाग्न थाल्दा उहाँले तर्केर गएका लेवीहरूलाई कडा रूपमा सुधार्नुभयो तर उहाँले सादोकका छोराहरूको भने प्रशंसा गर्नुभयो किनभने ‘इस्राएलीहरू तर्केर गएको बेला तिनीहरूले मन्दिरमा आफूले गर्नुपर्ने काम पूरा गरे।’ यसरी उहाँले तिनीहरूको कामअनुसार तिनीहरूसित न्यायी र कृपालु व्यवहार गर्नुभयो। (इज. ४४:१०, १२-१६) त्यसैगरि इस्राएलका कुलनायकहरूले पनि कडा सुधार पाए।—इज. ४५:९.

यसरी यहोवा परमेश्‍वरले यो कुरा स्पष्ट पार्नुभयो: अख्तियार पाएका र निरीक्षण गर्ने जिम्मेवारी पाएका पुरुषहरूले आफ्नो जिम्मेवारी जुन तरिकाले पूरा गर्थे, त्यसको लागि तिनीहरू परमेश्‍वरप्रति जबाफदेही हुने थिए। तिनीहरूलाई पनि सल्लाह, सुधार र अनुशासन चाहिन्थ्यो। यहोवा परमेश्‍वरका स्तरहरू पालन गर्ने सम्बन्धमा तिनीहरूले अगुवाइ लिनुपर्ने थियो!

१०, ११. निर्वासनबाट फर्केका कोही-कोहीले इजकिएलको दर्शनबाट पाठ सिके भनेर हामी किन भन्‍न सक्छौँ?

१० के निर्वासनबाट फर्केका मानिसहरूले इजकिएलको दर्शनबाट सिकेको पाठ लागू गरे? यस अद्‌भुत दर्शनबारे त्यतिबेलाका विश्‍वासी पुरुष तथा स्त्रीहरूले के सोचिरहेका थिए भनेर हामी ठोकुवा गरेर त भन्‍न सक्दैनौँ। तर निर्वासनबाट फर्केकाहरूले के गरे र तिनीहरूले यहोवा परमेश्‍वरको शुद्ध उपासनालाई कसरी हेरे भन्‍नेबारे परमेश्‍वरको वचनमा थुप्रै कुरा बताइएको छ। के तिनीहरूले इजकिएलको दर्शनमा पाइने सिद्धान्तहरू लागू गरे? आफ्ना विद्रोही पुर्खाहरूको तुलनामा तिनीहरूले केही हदसम्म लागू गरे भन्‍न सकिन्छ।

११ भविष्यवक्‍ता हाग्गै र जकरिया, पुजारी तथा प्रतिलिपिक एज्रा अनि राज्यपाल नहेम्याहजस्ता विश्‍वासी पुरुषहरूले इजकिएलले देखेको मन्दिरको दर्शनमा उल्लेख गरिएका जस्तै सिद्धान्तहरू मानिसहरूलाई सिकाउन निकै मेहनत गरे। (एज्रा ५:१, २) शुद्ध उपासनालाई उच्च पार्नुपर्छ र भौतिक कुराहरू अनि स्वार्थी इच्छाहरूले भन्दा यसले धेरै महत्त्व पाउनुपर्छ भनेर तिनीहरूले मानिसहरूलाई सिकाए। (हाग्गै १:३, ४) शुद्ध उपासनामा भाग लिन पूरा गर्नुपर्ने स्तरहरू पालन गर्नुपर्छ भनेर तिनीहरूले जोड दिए। उदाहरणको लागि, एज्रा र नहेम्याहले मानिसहरूलाई आफ्ना विदेशी पत्नीहरूलाई त्याग्न कडा सल्लाह दिए किनभने ती पत्नीहरूले गर्दा मानिसहरूको आध्यात्मिकता कमजोर भइरहेको थियो। (एज्रा १०:१०, ११ पढ्‌नुहोस्‌; नहे. १३:२३-२७, ३०) मूर्तिपूजाबारे के भन्‍न सकिन्छ? निर्वासनपछि मानिसहरूले बल्ल मूर्तिपूजालाई घृणा गर्न थालेजस्तो देखिन्छ। इतिहास हेर्ने हो भने त्यस पापले तिनीहरूलाई पटक-पटक पासोमा पारेको थियो। पुजारीहरू, कुलनायकहरू वा शासकहरूबारे चाहिँ के भन्‍न सकिन्छ नि? इजकिएलको दर्शनले देखाएअनुसार तिनीहरूले पनि यहोवा परमेश्‍वरबाट सल्लाह र सुधार पाए। (नहे. १३:२२, २८) तिनीहरूमध्ये थुप्रैले नम्र भई उक्‍त सल्लाह स्विकारे।—एज्रा १०:७-९, १२-१४; नहे. ९:१-३, ३८.

नहेम्याहले मानिसहरू सँगसँगै काम गर्दै तिनीहरूलाई शुद्ध उपासनाबारे सिकाए (अनुच्छेद ११ हेर्नुहोस्‌)

१२. निर्वासनबाट फर्केकाहरूलाई यहोवा परमेश्‍वरले कुन-कुन तरिकामा आशिष्‌ दिनुभयो?

१२ परिणामस्वरूप यहोवा परमेश्‍वरले आफ्ना मानिसहरूलाई आशिष्‌ दिनुभयो। त्यस देशका मानिसहरूले केही हदसम्म आध्यात्मिक फलिफाप, सुस्वास्थ्य र सुव्यवस्थाको आनन्द उठाए, जुन तिनीहरूले लामो समयदेखि अनुभव गर्न पाएका थिएनन्‌। (एज्रा ६:१९-२२; नहे. ८:९-१२; १२:२७-३०, ४३) तर तिनीहरूले किन ती आशिष्‌हरू पाए? शुद्ध उपासनाको लागि यहोवा परमेश्‍वरले तोक्नुभएका धार्मिक स्तरहरू पालन गर्न थालेकोले। असल हृदय भएका मानिसहरूले मन्दिरको दर्शनबाट सिकेका पाठहरू लागू गर्न थाले। सारांशमा भन्‍ने हो भने निर्वासनबाट फर्केकाहरूले इजकिएलको मन्दिरको दर्शनबाट दुई महत्त्वपूर्ण तरिकामा लाभ उठाए। (१) शुद्ध उपासनाका लागि परमेश्‍वरले तोक्नुभएका स्तरहरूबारे र ती स्तरहरू कसरी पालन गर्नुपर्छ भन्‍नेबारे तिनीहरूले व्यावहारिक पाठ सिक्न सके। (२) त्यो दर्शन भविष्यसूचक थियो र त्यसले आश्‍वासन प्रदान गऱ्‍यो। उक्‍त दर्शनमा शुद्ध उपासना पुनर्स्थापित हुनेछ भनेर भविष्यवाणी गरिएको थियो अनि आफ्ना मानिसहरूले शुद्ध उपासना चढाएसम्म यहोवा परमेश्‍वरले तिनीहरूलाई आशिष्‌ दिइरहनुहुनेछ भन्‍ने भविष्यवाणी पनि गरिएको थियो। तर हामी यो कुरा जान्‍न चाहन्छौँ: के यो दर्शन आज पनि पूरा भइरहेको छ?

इजकिएलको दर्शनले आज हामीलाई के सिकाउँछ?

१३, १४. (क) इजकिएलले देखेको मन्दिरको दर्शन आज हाम्रो समयमा पनि पूरा भइरहेको छ भनेर कसरी थाह पाउन सक्छौँ? (ख) यस दर्शनबाट आज हामी पनि कुन दुई तरिकामा लाभ उठाउन सक्छौँ? (“फरक मन्दिर, फरक पाठ” भन्‍ने पेटी १३क पनि हेर्नुहोस्‌)

१३ इजकिएलले देखेको मन्दिरको दर्शन आज हाम्रो समयमा पनि लागू हुन्छ भनेर हामी किन भन्‍न सक्छौँ? इजकिएलले दर्शनमा परमेश्‍वरको पवित्र मन्दिर “एउटा असाध्यै अग्लो डाँडामा” बसालिएको देखेका थिए। यसैयाले पनि ‘यहोवा परमेश्‍वरको भवनको डाँडा टाकुरामाथि नहल्लिनेगरि बसालिनेछ’ भनेर भविष्यवाणी गरेका थिए। यी दुई भविष्यवाणीबीचको समानतालाई सम्झनुहोस्‌ त! यसैयाले तिनको भविष्यवाणी “आखिरी समयमा” पूरा हुनेछ भनेर तोकेरै बताएका छन्‌। (इज. ४०:२; यसै. २:२-४; मिका ४:१-४ पनि हेर्नुहोस्‌) यी भविष्यवाणीहरू आखिरी समयमा, विशेषगरि इस्वी संवत्‌ १९१९ देखि पूरा भइरहेका छन्‌। त्यतिबेलादेखि शुद्ध उपासना माथि उचालिएको छ, पुनर्स्थापित भएको छ; भन्‍ने हो भने अग्लो डाँडामा बसालिएको छ। *

१४ त्यसैले इजकिएलको दर्शन आज चढाइने शुद्ध उपासनामा पनि लागू हुन्छ। पुरातन समयमा निर्वासनबाट फर्केका यहुदीहरूले यस दर्शनबाट लाभ उठाएजस्तै आज हामी पनि यसबाट दुई तरिकामा लाभ उठाउन सक्छौँ। (१) यसबाट शुद्ध उपासनाको लागि यहोवा परमेश्‍वरले तोक्नुभएका स्तरहरू कसरी पालन गर्नुपर्छ भन्‍नेबारे व्यावहारिक पाठ सिक्न सक्छौँ। (२) यसले शुद्ध उपासना पुनर्स्थापित हुने र यहोवा परमेश्‍वरको आशिष्‌ पाइने आश्‍वासन दिन्छ।

आज शुद्ध उपासनाको लागि परमेश्‍वरले तोक्नुभएका स्तरहरू

१५. इजकिएलले दर्शनमा देखेको मन्दिरबाट सिक्न सकिने पाठहरू विचार गर्दा हामीले कुन कुरा मनमा राख्नुपर्छ?

१५ अब इजकिएलको दर्शनका केही खास पक्ष विचार गरौँ। कल्पना गर्नुहोस्‌, हामी इजकिएलसँगै दर्शनको यो अद्‌भुत मन्दिर घुम्दै छौँ। तर यो कुरा मनमा राख्नुहोस्‌, हामीले महान्‌ आध्यात्मिक मन्दिर देखिरहेका छैनौँ; बरु आज हामीले चढाउने उपासनामा लागू हुने पाठहरू मात्र सिक्दै छौँ। हामीले सिक्न सक्ने केही पाठ के हुन्‌?

१६. नाप लिइएको कुराबाट हामी कस्तो पाठ सिक्न सक्छौँ? (शीर्षकमाथिको चित्र हेर्नुहोस्‌)

१६ किन सबै कुराको नाप लिइएको? दर्शनमा इजकिएलले तामाजस्तै चम्किरहेका एक जना स्वर्गदूतले मन्दिरलगायत यसका पर्खालहरू, प्रवेशद्वारहरू, पहरेदार बस्ने चौकीहरू, चोकहरू र वेदीको विस्तृत रूपमा नाप लिइरहेको देखे। ती सबै नापको एक-एक विवरण हाम्रो दिमागले नभ्याउन सक्छ। (इज. ४०:१–४२:२०; ४३:१३, १४) तर त्यस्तो विस्तृत विवरणबाट हामीले सिक्न सक्ने महत्त्वपूर्ण कुराहरू सोच्नुहोस्‌। यसमार्फत यहोवा परमेश्‍वर आफूले तोकेका स्तरहरूको महत्त्वलाई सशक्‍त तरिकामा जोड दिनुहुन्छ। स्तरहरू तोक्ने यहोवा स्वयम्‌ हुनुहुन्छ, मानिसहरू होइन। परमेश्‍वरलाई जसरी उपासना गरे पनि केही फरक पर्दैन भन्‍ने मानिसहरू गलत छन्‌। यसबाहेक त्यस्तो विस्तृत तरिकामा मन्दिरको नाप लिएर यहोवा परमेश्‍वरले शुद्ध उपासना पुनर्स्थापित हुने कुरा शत प्रतिशत पक्का हो भनेर आश्‍वासन दिनुभयो। उहाँले तोकेरै दिनुभएका नापहरूमा तलमाथि नपरेको जस्तै परमेश्‍वरका प्रतिज्ञाहरू पूरा हुने विषयमा पनि तलमाथि हुनेछैन। यसरी आखिरी समयमा शुद्ध उपासना पुनर्स्थापित हुने कुरा पक्का हो भनेर इजकिएल पुष्टि गर्छन्‌।

मन्दिरका नापहरू तोकेरै दिइएको थियो, त्यसबाट तपाईँ कस्तो पाठ सिक्न सक्नुहुन्छ? (अनुच्छेद १६ हेर्नुहोस्‌)

१७. मन्दिरको बाहिरी पर्खालले आज हामीलाई कुन कुरा सम्झाउँछ?

१७ बाहिरी पर्खाल। हामीले यस अध्यायको सुरुतिर छलफल गरेझैँ इजकिएलले मन्दिर परिसर पर्खालले घेरिएको देखे। यो परमेश्‍वरका मानिसहरूका लागि उहाँको मन्दिरलाई कहिल्यै दूषित बनाउनु हुँदैन; सबै किसिमका अशुद्ध कुरालाई शुद्ध उपासनाबाट टाढै राख्नुपर्छ भन्‍ने सशक्‍त सम्झौटा थियो। (इजकिएल ४३:७-९ पढ्‌नुहोस्‌) यो सल्लाह आज हाम्रो समयमा पनि उत्तिकै महत्त्वपूर्ण छ! परमेश्‍वरका मानिसहरू शताब्दीयौँसम्म महान्‌ बेबिलोनको आध्यात्मिक कैदमा परेका थिए। तर तिनीहरू त्यसबाट मुक्‍त भएपछि ख्रिष्टले इस्वी संवत्‌ १९१९ मा विश्‍वासी र बुद्धिमान्‌ दास नियुक्‍त गर्नुभयो। विशेषगरि त्यतिबेलादेखि परमेश्‍वरका सेवकहरूले मूर्तिपूजा र झूटा शिक्षाले भरिएका शिक्षा र प्रचलनहरूलाई चटक्कै छोड्‌न निकै प्रयास गरेका छन्‌। यस्ता अशुद्ध कुराहरूले शुद्ध उपासनालाई बिटुलो पार्न नदिन हामी होसियार छौँ। यसबाहेक हामी राज्यभवनमा कुनै व्यापारिक कारोबार गर्दैनौँ; त्यस्ता कुराहरूलाई हामी आफ्नो उपासनादेखि अलग राख्छौँ।—मर्कु. ११:१५, १६.

१८, १९. (क) मन्दिरका अग्ला प्रवेशद्वारहरूबाट हामी कस्तो पाठ सिक्न सक्छौँ? (ख) परमेश्‍वरका उच्च स्तरहरूलाई तल झार्न खोज्नेहरूप्रति हाम्रो प्रतिक्रिया कस्तो हुनुपर्छ? एउटा उदाहरण दिनुहोस्‌।

१८ अग्ला प्रवेशद्वारहरू। इजकिएलले देखेका बडेमाका प्रवेशद्वारहरूबारे विचार गर्दा हामी के पाठ सिक्न सक्छौँ? निर्वासनबाट फर्केकाहरूले मन्दिरको यस पक्षबाट यहोवा परमेश्‍वरका नैतिक स्तरहरू उच्च छन्‌ भनेर पक्कै सिके। आज हामीचाहिँ कस्तो पाठ सिक्न सक्छौँ? हामी यहोवा परमेश्‍वरको महान्‌ आध्यात्मिक मन्दिरमा उपासना चढाउँछौँ। त्यसैले कुनै पनि किसिमको कपट नभएको उपासना चढाउनु झनै महत्त्वपूर्ण छैन र? (रोमी १२:९; १ पत्रु. १:१४, १५) यस अन्तको दिनमा यहोवा परमेश्‍वरले आफ्ना मानिसहरूलाई उहाँका नैतिक स्तरहरू राम्ररी पछ्याउन क्रमिक रूपमा डोऱ्‍याइरहनुभएको छ। * उदाहरणको लागि, गल्ती गरेर पनि पश्‍चात्ताप नगर्नेहरूलाई मण्डलीबाट हटाइन्छ। (१ कोरि. ५:११-१३) साथै प्रवेशद्वारहरूमा भएका पहरेदार बस्ने चौकीहरूले यहोवा परमेश्‍वरको अनुमोदन नपाएको कसैले पनि उहाँलाई उपासना चढाउने अनुमति पाउँदैन भनेर सम्झाउँछ। उदाहरणको लागि, दोहोरो जीवन बिताइरहेको व्यक्‍ति राज्यभवनमा त प्रवेश गर्ला तर उसले आफ्नो जीवनशैली नसच्याएसम्म उसलाई यहोवा परमेश्‍वरले ग्रहण गर्नुहुन्‍न। (याकु. ४:८) यस अनैतिक र बिटुलो संसारमा शुद्ध उपासना कत्ति सुरक्षित!

१९ अन्त आउनुअघि यो संसार एकदमै खराब हुनेछ भनेर बाइबलमा भविष्यवाणी गरिएको थियो। बाइबलमा यसो भनिएको थियो: “दुष्ट र जाली मानिसहरू झन्‌झन्‌ खराब हुँदै जानेछन्‌। तिनीहरूले अरूलाई बहकाउनुका साथै आफै पनि बहकिनेछन्‌।” (२ तिमो. ३:१३) यहोवा परमेश्‍वरका उच्च स्तरहरू साह्रै कडा, पुरानो वा सरासर गलत छन्‌ भन्‍ने सोचाइ राख्न लगाएर आज झन्‌झनै धेरै मानिसलाई बहकाइँदै छ। के तपाईँ पनि बहकिनुहुनेछ? उदाहरणको लागि, तपाईँलाई कसैले समलिङ्‌गी सम्बन्धबारे परमेश्‍वरको स्तर गलत छ भनेर विश्‍वस्त पार्न खोज्छ भने के तपाईँ तिनीसित सहमत हुनुहुनेछ अथवा यहोवा परमेश्‍वरसित सहमत हुनुहुनेछ? उहाँले आफ्नो वचनमा त्यस्ता कुराहरू “निर्लज्ज” हुन्‌ भनेर स्पष्टैसित बताउनुभएको छ। अनैतिक आचरणलाई मन्जुरी नदिन परमेश्‍वरले चेतावनी दिनुभएको छ। (रोमी १:२४-२७, ३२) यस्ता कुराहरूको सामना गर्नुपर्दा इजकिएलले दर्शनमा देखेको मन्दिरका अग्ला प्रवेशद्वारहरूलाई सम्झौँ र यो कुरा कहिल्यै नबिर्सौँ: हामीले यस दुष्ट संसारबाट जतिसुकै दबाब सामना गर्नुपरे तापनि यहोवा परमेश्‍वर आफ्ना स्तरहरूमा सम्झौता गर्नुहुन्‍न। के हामी हाम्रो स्वर्गमा हुनुहुने बुबासित सहमत हुँदै सही कुराको पक्षमा खडा हुन्छौँ?

शुद्ध उपासनामा भाग लिँदा हामी “प्रशंसाको बलिदान” चढाउँछौँ

२०. इजकिएलको दर्शनबाट “ठूलो भीड”-ले कस्तो प्रोत्साहन पाउन सक्छ?

२० चोकहरू। मन्दिरको ठूलो बाहिरी चोक देख्दा त्यहाँ यहोवा परमेश्‍वरका कत्ति धेरै उपासकहरू भेला हुन सक्नेछन्‌ भन्‍ने सोच्दै इजकिएल रोमाञ्चित भएका हुन सक्छन्‌। आज ख्रिष्टियनहरू अझै पवित्र ठाउँमा उपासना चढाउँछन्‌। यहोवा परमेश्‍वरको आध्यात्मिक मन्दिरको बाहिरी चोकमा उहाँको उपासना गर्ने “ठूलो भीड”-ले इजकिएलको दर्शनबाट प्रोत्साहनजनक सम्झौटाहरू पाउन सक्छ। (प्रका. ७:९, १०, १४, १५) इजकिएलले बाहिरी चोकमा भोजनकक्षहरू पनि देखे, जहाँ उपासकहरूले आफूले ल्याएको मेलबलिको केही भाग खान्थे। (इज. ४०:१७) यो तिनीहरूले यहोवा परमेश्‍वरसितै भोजनको आनन्द उठाएसरह थियो। यो घनिष्ठ मित्रताको चिन्ह थियो। आज हामी मोसाको व्यवस्थाको अधीनमा भएका यहुदीहरूले चढाएको जस्तो बलिहरू त चढाउँदैनौँ। तर शुद्ध उपासनामा भाग लिँदा हामी “प्रशंसाको बलिदान” भने चढाउँछौँ; जस्तै, सभाहरूमा टिप्पणीहरू दिएर वा क्षेत्र सेवामा आफ्नो विश्‍वासबारे बताएर। (हिब्रू १३:१५) यहोवा परमेश्‍वरले प्रबन्ध गर्नुभएका आध्यात्मिक भोजनबाट पनि हामी पोषण पाउँछौँ। त्यसैले हामी पनि कोरहवंशीहरूले जस्तै महसुस गर्छौँ, जसले यहोवा परमेश्‍वरको यसरी स्तुति गाए: “तपाईँको मन्दिरको चोकमा बिताएको १ दिन अरू ठाउँमा बिताएको १,००० दिनभन्दा उत्तम हुन्छ!”—भज. ८४:१०.

२१. इजकिएलको दर्शनका पुजारीहरूबाट अभिषिक्‍त ख्रिष्टियनहरूले के सिक्न सक्छन्‌?

२१ पुजारीहरू। मन्दिरको भित्री चोकमा प्रवेश गर्न पुजारीहरू र लेवीहरूले प्रयोग गर्ने प्रवेशद्वार र मन्दिरको बाहिरी चोकमा प्रवेश गर्न गैर-पुजारी कुलका मानिसहरूले प्रयोग गर्ने प्रवेशद्वार उस्तै भएको इजकिएलले दर्शनमा देखे। पुजारीहरूले पनि शुद्ध उपासनाको लागि परमेश्‍वरले तोक्नुभएका उच्च स्तरहरू पालन गर्नुपर्छ भन्‍ने कुराको यो एउटा सम्झौटा थियो। आज नि? आज परमेश्‍वरका सेवकहरूमाझ जन्मजातै पुजारी त छैनन्‌ तर अभिषिक्‍त ख्रिष्टियनहरूको विषयमा बाइबलमा यसो भनिएको छ: “तिमीहरू त ‘चुनिएको जाति, शाही पुजारीको दल . . . हौ।’” (१ पत्रु. २:९) पुरातन समयमा इस्राएलका पुजारीहरूले छुट्टै चोकमा उपासना चढाउँथे। आज अभिषिक्‍त ख्रिष्टियनहरू अन्य सङ्‌गी उपासकहरूबाट साँच्चै नै अलग त बस्दैनन्‌ तर यहोवा परमेश्‍वरको धर्मपुत्रको रूपमा तिनीहरूले उहाँसित विशेष सम्बन्धको आनन्द भने उठाउँछन्‌। (गला. ४:४-६) तर अभिषिक्‍त ख्रिष्टियनहरूले पनि इजकिएलको दर्शनबाट मदतकारी सम्झौटाहरू पाउन सक्छन्‌। उदाहरणको लागि, पुजारीहरूलाई पनि सल्लाह र अनुशासन चाहिन्थ्यो भन्‍ने कुरा तिनीहरू बिर्सिँदैनन्‌। सबै ख्रिष्टियनले हामी “एकै जना गोठालोका” अधीनमा रहेर सेवा गर्ने “एउटै बगालको” भाग हौँ भनेर बिर्सिनु हुँदैन।—युहन्‍ना १०:१६ पढ्‌नुहोस्‌।

२२, २३. (क) इजकिएलको दर्शनमा वर्णन गरिएको कुलनायकबाट आज ख्रिष्टियन एल्डरहरूले कस्तो पाठ सिक्न सक्छन्‌? (ख) भविष्यमा के हुन सक्छ?

२२ कुलनायक। इजकिएलको दर्शनमा वर्णन गरिएको कुलनायकको पनि केही हदसम्म अख्तियार छ। पुजारी कुलको नभएकोले मन्दिरमा तिनी पुजारीहरूको अधीनमा छन्‌। तर मानिसहरूमाझ तिनले निरीक्षकको काम गर्छन्‌ र भेटीहरू चढाउनको लागि आवश्‍यक प्रबन्ध मिलाउँछन्‌। (इज. ४४:२, ३; ४५:१६, १७; ४६:२) त्यसैले तिनी आज मण्डलीमा केही हदसम्म जिम्मेवारी पाएका ख्रिष्टियन पुरुषहरूको लागि राम्रो उदाहरण हुन्‌। किनकि परिभ्रमण निरीक्षकहरूलगायत ख्रिष्टियन एल्डरहरू अभिषिक्‍त विश्‍वासी दासको अधीनमा बस्नुपर्छ। (हिब्रू १३:१७) ख्रिष्टियन सभाहरू र प्रचारकार्यमा प्रशंसाको बलिदान चढाउन एल्डरहरू परमेश्‍वरका सेवकहरूलाई सक्दो मदत गर्छन्‌। (एफि. ४:११, १२) अनि इस्राएलका कुलनायकहरूले आफ्नो शक्‍तिको दुरुपयोग गर्दा यहोवा परमेश्‍वरले तिनीहरूलाई हप्काउनुभएको कुरा पनि एल्डरहरू मनमा राख्छन्‌। (इज. ४५:९) त्यसैगरि एल्डरहरू आफूलाई सल्लाह र सुधार चाहिँदैन भन्‍ने सोचाइ राख्दैनन्‌। त्यसको विपरीत यहोवा परमेश्‍वरबाट खारिने मौका पाउँदा तिनीहरू त्यसको मोल गर्छन्‌ र यसले तिनीहरूलाई अझ राम्रो गोठालो र निरीक्षक बन्‍न मदत गर्छ।—१ पत्रुस ५:१-३ पढ्‌नुहोस्‌।

२३ प्रमोदवनमा पनि यहोवा परमेश्‍वरले योग्य र मायालु निरीक्षकहरूको प्रबन्ध गरिरहनुहुनेछ। भन्‍ने हो भने अहिले थुप्रै एल्डरले प्रमोदवनमा अझ मदतकारी र योग्य गोठालो हुने तालिम पाइरहेका छन्‌। (भज. ४५:१६) सोच्नुहोस्‌ त, ती पुरुषहरू नयाँ संसारमा पनि आशिष्‌ साबित हुनेछन्‌! पुनर्स्थापनासम्बन्धी अन्य भविष्यवाणीजस्तै इजकिएलको दर्शनको हाम्रो बुझाइ पनि यहोवा परमेश्‍वरले तोक्नुभएको समयमा अझ स्पष्ट हुन सक्छ। सायद भविष्यमा यसका केही पक्षको रोमाञ्चकारी पूर्ति हुनेछ, जसबारे अहिले हामी कल्पना पनि गर्न सक्दैनौँ। यो कुरा समयले नै बताउनेछ।

अग्ला प्रवेशद्वारहरू र चोकहरूबाट हामीले चढाउने उपासनाबारे कस्तो पाठ सिक्न सक्छौँ? (अनुच्छेद १८-२१ हेर्नुहोस्‌)

शुद्ध उपासनामा यहोवा परमेश्‍वरको आशिष्‌

२४, २५. शुद्ध उपासना चढाउँदा यहोवाका मानिसहरूले पाउने आशिष्‌लाई इजकिएलको दर्शनमा कसरी चित्रण गरिएको छ?

२४ अन्तमा, मन्दिरको दर्शनमा वर्णन गरिएको एउटा उल्लेखनीय दृश्‍य विचार गरौँ। यहोवा स्वयम्‌ उक्‍त मन्दिरमा आउनुहुन्छ र शुद्ध उपासनाको लागि उहाँले तोक्नुभएका स्तरहरू आफ्ना मानिसहरूले पालन गरेसम्म त्यहाँ रहने प्रतिज्ञा गर्नुहुन्छ। (इज. ४३:४-९) उहाँको उपस्थितिले उहाँका सेवकहरू र तिनीहरूको भूमिमा कस्तो असर पार्ने थियो?

२५ यस दर्शनमा परमेश्‍वरबाट पाइने आशिष्‌ वर्णन गर्न दुइटा आश्‍वासनदायी भविष्यसूचक दृश्‍य प्रयोग गरिएको छ: (१) पवित्र स्थानबाट एउटा नदी बग्छ, जसले भूमिलाई जीवन दिन्छ र उर्वर बनाउँछ; (२) मन्दिर र यसको परिसर ठ्याक्क बीचमा पर्नेगरि जमिन व्यवस्थित तरिकामा भाग लगाइएको छ। आज हामी रोमाञ्चकारी समयमा बाँचिरहेका छौँ; यहोवा परमेश्‍वरले उहाँको उपासना गर्ने अझ पवित्र प्रबन्ध अर्थात्‌ महान्‌ आध्यात्मिक मन्दिरमा प्रवेश गरेर यसलाई परिष्कृत पार्नुभएको छ र अनुमोदन दिनुभएको छ। (मला. ३:१-४) त्यसैले यी दुई भविष्यसूचक दृश्‍यलाई आज हामीले कसरी बुझ्नुपर्छ, त्यसबारे हामी यस प्रकाशनको अध्याय १९ देखि २१ मा छलफल गर्नेछौँ।

^ यसप्रकार यहोवा परमेश्‍वरले विगतमा आफ्ना मानिसहरूले पवित्र मन्दिरप्रति कत्ति घृणित व्यवहार गरेका थिए भनेर देखाउनुभयो। उहाँले यसो भन्‍नुभयो: “तिनीहरूले मेरो मन्दिरको सँघारसँगै आफ्नो सँघार अनि मेरो मन्दिरको चौकोससँगै आफ्नो चौकोस राखे। मेरो मन्दिर र तिनीहरूको मन्दिरलाई एउटा पर्खालले मात्र छुट्ट्याएको थियो। अनि घिनलाग्दा काम गरेर तिनीहरूले मेरो पवित्र नामलाई बिटुलो पारे।” (इज. ४३:८) पुरातन यरुसलेममा यहोवा परमेश्‍वरको मन्दिरलाई सर्वसाधारणको घरबाट एउटा पर्खालले मात्र छुट्ट्याएको थियो। मानिसहरू यहोवा परमेश्‍वरको धार्मिक स्तरहरूबाट तर्किन थालेपछि तिनीहरूले मूर्तिपूजा गरेर अशुद्ध कुराहरू यहोवा परमेश्‍वरको मन्दिरको छेउमै ल्याए। त्यो असह्‍य थियो!

^ इजकिएलले देखेको मन्दिरको दर्शन र आखिरी समयमा पूरा भइरहेको पुनर्स्थापनासम्बन्धी अन्य भविष्यवाणीहरू आपसमा सम्बन्धित छ। उदाहरणको लागि, इजकिएल ४३:१-९ र मलाकि ३:१-५; इजकिएल ४७:१-१२ र योएल ३:१८ बीचको समानता याद गर्नुहोस्‌।

^ इस्वी संवत्‌ २९ मा येसुले बप्तिस्मा गरेर प्रधानपुजारीको रूपमा काम थाल्नुभएपछि आध्यात्मिक मन्दिर अस्तित्वमा आयो। तर येसुका प्रेषितहरूको मृत्युपछि शताब्दीयौँसम्म शुद्ध उपासनालाई पृथ्वीमा बेवास्ता गरियो। विशेषगरि इस्वी संवत्‌ १९१९ देखि मात्र साँचो उपासनालाई उच्च पार्न थालियो।