सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय १२

“म तिनीहरूलाई एउटै जाति बनाउनेछु”

“म तिनीहरूलाई एउटै जाति बनाउनेछु”

इजकिएल ३७:२२

मुख्य कुरा: आफ्ना मानिसहरूलाई जम्मा गर्ने यहोवा परमेश्‍वरको प्रतिज्ञा; दुइटा लौरोको भविष्यवाणी

१, २. (क) निर्वासित यहुदीहरू किन डराएको हुनुपर्छ? (ख) उनीहरू आफूले सुन्‍न लागेको सन्देशको कारण किन अचम्ममा पर्ने थिए? (ग) हामी कुन प्रश्‍नहरू छलफल गर्नेछौँ?

 इजकिएलले यहोवा परमेश्‍वरको प्रेरणा पाएर बेबिलोनको निर्वासनमा रहेकाहरूलाई थुप्रै भविष्यवाणी अभिनय गरेर देखाएका थिए। तिनले अभिनय गरेर देखाएको पहिलो भविष्यवाणीमा न्यायदण्डको सन्देश थियो, त्यसैगरि दोस्रो, तेस्रो र त्यसपछिका अरू भविष्यवाणीमा पनि त्यस्तै सन्देश पाइन्थ्यो। (इज. ३:२४-२६; ४:१-७; ५:१; १२:३-६) वास्तवमा तिनले अभिनय गरेर देखाएको सबै भविष्यवाणीमा यहुदीहरूमाथि आइपर्ने कठोर न्यायदण्डको सन्देश थियो।

त्यसैले अर्को भविष्यवाणी अभिनय गरेर देखाउन इजकिएल फेरि ती यहुदीहरूसामु उभिँदा उनीहरू कत्ति डराए होलान्‌, कल्पना गर्नुहोस्‌ त! सायद उनीहरूले यस्तो सोचे: ‘अब फेरि कस्तो डरलाग्दो सन्देश सुन्‍नुपर्ने होला!’ तर अब उनीहरू आफूले सुन्‍न लागेको सन्देशको कारण अचम्ममा पर्ने थिए। इजकिएलले अब अभिनय गरेर देखाउन लागेको भविष्यवाणी बिलकुलै फरक थियो। त्यस भविष्यवाणीमा डरलाग्दो न्यायदण्डको सन्देश होइन, बरु एउटा उज्ज्वल प्रतिज्ञा पाइन्थ्यो। (इज. ३७:२३) त्यसोभए इजकिएलले ती निर्वासित यहुदीहरूलाई कस्तो सन्देश सुनाए? त्यसको अर्थ के हो? त्यसले आज परमेश्‍वरका सेवकहरूलाई कस्तो असर गर्छ? आउनुहोस्‌, यी प्रश्‍नहरू छलफल गरौँ।

“त्यो मेरो हातमा एउटै लौरो हुनेछ”

३. (क) ‘यहुदाको लागि’ भनेर लेखिएको लौरोले केलाई चित्रण गर्थ्यो? (ख) “एप्रैमको लौरो”-ले दस-गोत्रे राज्यलाई चित्रण गर्थ्यो भनेर किन भन्‍न सक्छौँ?

यहोवा परमेश्‍वरले इजकिएललाई दुइटा लौरो लिन र एउटामा ‘यहुदाको लागि’ अनि अर्कोमा चाहिँ ‘एप्रैमको लौरो, युसुफको लागि’ भनेर लेख्न लगाउनुभयो। (इजकिएल ३७:१५, १६ पढ्‌नुहोस्‌) यी दुइटा लौरोले केलाई चित्रण गर्थ्यो? ‘यहुदाको लागि’ भनेर लेखिएको लौरोले यहुदा र बिन्यामिनको कुलको दुई-गोत्रे राज्यलाई चित्रण गर्थ्यो। त्यो दुई-गोत्रे राज्यमाथि यहुदाको वंशका राजाहरूले शासन गर्थे र पुजारीहरू पनि त्यही इलाकामा बस्थे किनकि तिनीहरू यरुसलेमको मन्दिरमा सेवा गर्थे। (२ इति. ११:१३, १४; ३४:३०) त्यसैले यहुदाको राज्यमा दाउदको घरानाका राजाहरू र लेवी कुलका पुजारीहरू दुवै थिए। “एप्रैमको लौरो”-ले चाहिँ इस्राएलको दस-गोत्रे राज्यलाई चित्रण गर्थ्यो। त्यो लौरो कसरी एप्रैमको भयो? दस-गोत्रे राज्यको पहिलो राजा यरोबाम थिए र तिनी एप्रैमको कुलका थिए। पछि गएर एप्रैम इस्राएलको एउटा शक्‍तिशाली कुल बन्यो। (व्यव. ३३:१७; १ राजा ११:२६) यो कुरा याद गर्नुहोस्‌, दाउदको घरानाका राजाहरू र लेवी कुलका पुजारीहरू इस्राएलको दस-गोत्रे राज्यका थिएनन्‌।

४. इजकिएलले दुइटा लौरो लिएर गरेको अभिनयले कुन कुरालाई सङ्‌केत गर्छ? (शीर्षकमाथिको चित्र हेर्नुहोस्‌)

त्यसपछि ती दुवै लौरो ‘एउटै हुनेगरि जोडिऊन्‌’ भनेर यहोवा परमेश्‍वरले इजकिएललाई दुइटा लौरोलाई एकअर्काको नजिक ल्याउन निर्देशन दिनुभयो। इजकिएलले अब के गर्ने होलान्‌ भनेर हेर्दै ती निर्वासित यहुदीहरूले यस्तो प्रश्‍न सोधे: “यी कुराहरूको अर्थ के हो?” यस अभिनयले स्वयम्‌ यहोवा परमेश्‍वरले गर्नुहुने कुरालाई सङ्‌केत गर्छ भनेर तिनले जवाफ दिए। ती दुइटा लौरोबारे यहोवा परमेश्‍वरले यसो भन्‍नुभयो: “त्यसलाई . . . एउटै लौरो बनाउनेछु। अनि त्यो मेरो हातमा एउटै लौरो हुनेछ।”—इज. ३७:१७-१९.

५. इजकिएलले भर्खरै गरेको अभिनयको अर्थ के थियो? (“दुइटा लौरोलाई सँगै जोड्‌ने” भन्‍ने पेटी हेर्नुहोस्‌)

त्यसपछि यहोवा परमेश्‍वरले दुइटा लौरो एउटै हुनेगरि जोड्‌नुको अर्थ बताउनुभयो। (इजकिएल ३७:२१, २२ पढ्‌नुहोस्‌) यहुदाको दुई-गोत्रे राज्यका निर्वासित यहुदीहरू र इस्राएलको (एप्रैम) दस-गोत्रे राज्यका निर्वासित यहुदीहरूलाई इस्राएलमा फर्काएर ल्याइने थियो र त्यहाँ तिनीहरू “एउटै जाति” हुने थिए।—यर्मि. ३०:१-३; ३१:२-९; ३३:७.

६. इजकिएल अध्याय ३७ मा पुनर्स्थापनासित सम्बन्धित कस्ता भविष्यवाणीहरू गरिएका छन्‌?

इजकिएल अध्याय ३७ मा गरिएका पुनर्स्थापनासम्बन्धी थप दुइटा भविष्यवाणी साँच्चै अद्‌भुत छन्‌! यसबाट यहोवा जीवन मात्र होइन, (पद १-१४) बरु एकता पनि पुनर्स्थापना गर्न सक्ने परमेश्‍वर हुनुहुन्छ भनेर प्रस्ट हुने थियो। (पद १५-२८) यी दुइटा भविष्यवाणीले दिने मन छुने सन्देश यही हो: मृत्युलाई उल्टाउन सकिएझैँ विभाजनलाई पनि उल्टाउन सकिन्छ।

यहोवा परमेश्‍वरले कसरी ‘इस्राएलीहरूलाई जम्मा गर्नुभयो?’

७. पहिलो इतिहास ९:२, ३ को विवरणबाट ‘परमेश्‍वरको लागि सबै कुरा सम्भव छ’ भन्‍ने कुरा कसरी पुष्टि हुन्छ?

मानिसको नजरबाट हेर्दा निर्वासनमा रहेकाहरूको छुटकारा र एकता बिलकुलै असम्भव देखिन्थ्यो। * तर “परमेश्‍वरको लागि भने सबै कुरा सम्भव छ।” (मत्ति १९:२६) हुन पनि उहाँले आफ्नो भविष्यवाणी पूरा गर्नुभयो। ईसापूर्व ५३७ मा यहुदीहरू बेबिलोनको निर्वासनबाट छुटे र त्यसपछि दुइटै राज्यका मानिसहरू साँचो उपासना पुनर्स्थापना गर्ने काममा मदत गर्न यरुसलेम फर्के। परमेश्‍वरको प्रेरणाद्वारा लेखिएको वचनले यस कुराको यसरी पुष्टि दिन्छ: “यहुदा, बिन्यामिन, एप्रैम र मनस्सेका केही सन्तान यरुसलेममा बसोबास गर्न थाले।” (१ इति. ९:२, ३; एज्रा ६:१७) हो, यहोवा परमेश्‍वरले भविष्यवाणी गर्नुभएअनुसारै इस्राएलको दस-गोत्रे राज्यका मानिसहरू यहुदाको दुई-गोत्रे राज्यका मानिसहरूसित जोडिए अर्थात्‌ एकतामा बाँधिए।

८. (क) यसैयाले के भविष्यवाणी गरेका थिए? (ख) इजकिएल ३७:२१ मा कुन दुइटा उल्लेखनीय पक्षबारे बताइएको छ?

लगभग २०० वर्षअघि भविष्यवक्‍ता यसैयाले निर्वासनपछि इस्राएल र यहुदा के हुनेछ भनेर भविष्यवाणी गरेका थिए। यहोवा परमेश्‍वरले “इस्राएल र यहुदाबाट पृथ्वीको चारै कुनामा छरिएकाहरूलाई” जम्मा गर्न थाल्नुहुनेछ भनेर उनले भविष्यवाणी गरे। भविष्यवाणीअनुसार उहाँले आफ्ना मानिसहरूलाई “अस्सेरियाबाट” समेत जम्मा गर्नुहुने थियो। (यसै. ११:१२, १३, १६) यहोवा परमेश्‍वरले आफ्नो भविष्यवाणीअनुसारै “इस्राएलीहरूलाई चारैतिरबाट” जम्मा गर्नुभयो। (इज. ३७:२१) दुइटा उल्लेखनीय पक्ष विचार गर्नुहोस्‌: यतिबेला यहोवा परमेश्‍वरले ती निर्वासित मानिसहरूलाई “यहुदा” र “एप्रैम” भन्‍नुभएन बरु “इस्राएलीहरू” भनेर एउटै समूहको रूपमा सम्बोधन गर्नुभयो। साथै ती इस्राएलीहरू बेबिलोनबाट मात्र होइन बरु थुप्रै राष्ट्रबाट, अझ भन्‍नुपर्दा “चारैतिरबाट” आए भनिएको छ।

९. निर्वासनबाट फर्केर आएका मानिसहरूलाई एकतामा बाँधिन यहोवाले कसरी मदत गर्नुभयो?

निर्वासित मानिसहरू इस्राएल फर्केपछि तिनीहरूलाई एकतामा बाँधिन यहोवा परमेश्‍वरले कसरी मदत गर्नुभयो? उहाँले इस्राएलमा यरुबाबेल, प्रधानपुजारी यहोसु, एज्रा र नहेम्याहजस्ता आध्यात्मिक गोठालाहरूको प्रबन्ध गर्नुभयो। उहाँले हाग्गै, जकरिया र मलाकिजस्ता भविष्यवक्‍ताहरू पनि नियुक्‍त गर्नुभयो। यी सबै वफादार पुरुषले इस्राएलीहरूलाई परमेश्‍वरको निर्देशन पालन गर्न प्रोत्साहन दिन कडा मेहनत गरे। (नहे. ८:२, ३) साथै इस्राएल राष्ट्रविरुद्ध शत्रुहरूले रचेका षड्यन्त्रहरू विफल तुल्याएर यहोवा परमेश्‍वरले आफ्ना मानिसहरूलाई जोगाउनुभयो।—एस्त. ९:२४, २५; जक. ४:६.

आफ्ना मानिसहरूलाई एकतामा बाँध्न यहोवाले आध्यात्मिक गोठालाहरूको प्रबन्ध गर्नुभयो (अनुच्छेद ९ हेर्नुहोस्‌)

१०. अन्ततः सैतान के गर्न सफल भयो?

१० तर यहोवा परमेश्‍वरले यी सबै मायालु प्रबन्ध गर्नुभए तापनि प्रायजसो इस्राएलीहरू शुद्ध उपासना चढाउनदेखि चुके। निर्वासनबाट फर्केर आएपछि लेखिएका बाइबलका किताबहरूमा इस्राएलीहरूका खराब कामहरूबारे रेकर्ड गरिएको छ। (एज्रा ९:१-३; नहे. १३:१, २, १५) वास्तवमा निर्वासनबाट फर्केको सय वर्ष पनि बित्न नपाउँदै यहोवा परमेश्‍वरले तिनीहरूलाई “मकहाँ फर्क” भनेर आग्रह गर्नुपऱ्‍यो। यसबाट इस्राएलीहरू शुद्ध उपासनाबाट कुन हदसम्म टाढिएका थिए भनेर हामी बुझ्न सक्छौँ। (मला. ३:७) येसु यस पृथ्वीमा आउनुहुँदासम्म त यहुदी धर्म थुप्रै गुटमा विभाजित भइसकेको थियो र ती गुटहरूको नेतृत्व विश्‍वासघाती गोठालाहरूले लिइरहेका थिए। (मत्ति १६:६; मर्कु. ७:५-८) यसरी सैतान परमेश्‍वरका मानिसहरूलाई पूर्ण एकतामा बाँधिनदेखि रोक्न सफल भयो। तैपनि आफ्ना मानिसहरूलाई एकतामा बाँध्ने यहोवाको भविष्यवाणी पूरा भएरै छाड्‌ने थियो। तर कसरी?

“मेरो सेवक दाउद तिनीहरूका राजा हुनेछन्‌”

११. (क) एकतासम्बन्धी आफूले गरेको भविष्यवाणीबारे यहोवा परमेश्‍वरले के प्रकट गर्नुभयो? (ख) स्वर्गबाट फ्याँकिएपछि सैतानले फेरि के गर्ने प्रयास गऱ्‍यो?

११ इजकिएल ३७:२४ पढ्‌नुहोस्‌। आफ्नो “सेवक दाउद” अर्थात्‌ येसुले इस्वी संवत्‌ १९१४ मा शासन गर्न थाल्नुभएपछि मात्र यहोवा परमेश्‍वरले एकतासम्बन्धी आफूले गरेको भविष्यवाणी आफ्ना मानिसहरूमाझ पूर्ण रूपमा पूरा हुनेछ भनेर प्रकट गर्नुभयो। * (२ समु. ७:१६; लुका १:३२) त्यतिबेलासम्म आध्यात्मिक इस्राएल अर्थात्‌ अभिषिक्‍त जनहरूले जन्मजात इस्राएल राष्ट्रको ठाउँ लिएको धेरै समय भइसकेको थियो। (यर्मि. ३१:३३; गला. ३:२९) विशेषगरि स्वर्गबाट तल फ्याँकिएपछि सैतानले परमेश्‍वरका मानिसहरूमाझ भएको एकता भाँड्‌न फेरि प्रयास गऱ्‍यो। (प्रका. १२:७-१०) उदाहरणको लागि, इस्वी संवत्‌ १९१६ मा भाइ रसलको मृत्यु भएपछि सैतानले धर्मत्यागीहरूलाई चलाएर अभिषिक्‍त जनहरूबीच फाटो ल्याउन खोज्यो। तर केही समय नबित्दै ती धर्मत्यागीहरू सङ्‌गठन छोडेर गए। त्यतिबेला सङ्‌गठनमा नेतृत्व लिइरहेका भाइहरूलाई झ्यालखानामा हाल्न पनि सैतान सफल भयो तर त्यसो हुँदासमेत यहोवाका मानिसहरू नामेट भएनन्‌। यहोवा परमेश्‍वरप्रति वफादार रहिरहेका अभिषिक्‍त भाइहरूले आफूहरूबीचको एकता कायम राखे।

१२. आध्यात्मिक इस्राएलमा फाटो ल्याउने सैतानको प्रयास किन विफल भयो?

१२ जन्मजात इस्राएल राष्ट्रमा फाटो ल्याउन सफल भए तापनि सैतानले आध्यात्मिक इस्राएलमा फाटो ल्याउन सकेन। त्यसको प्रयास किन विफल भयो? किनकि अभिषिक्‍त जनहरूले यहोवाको स्तरअनुसार चल्न भरमग्दुर प्रयास गरेका छन्‌। फलस्वरूप तिनीहरूले आफ्ना राजा येसु ख्रिष्टको सुरक्षा पाएका छन्‌, जो सैतानविरुद्ध आफ्नो विजययात्रा पूरा गर्न अघि बढिरहनुभएको छ।—प्रका. ६:२.

यहोवाले आफ्ना उपासकहरूलाई “एउटै” बनाउनुहुनेछ

१३. दुइटा लौरोलाई आपसमा जोड्‌ने भविष्यवाणीले हामीलाई कुन महत्त्वपूर्ण तथ्य बुझ्न मदत गर्छ?

१३ दुइटा लौरो एउटै हुनेबारे गरिएको भविष्यवाणीलाई आज हामीले कसरी बुझ्नुपर्छ? यो कुरा मनमा राख्नुहोस्‌, यस भविष्यवाणीको मुख्य उद्देश्‍य दुइटा समूह कसरी एकतामा बाँधिने थियो भनेर बुझाउनु हो। सबैभन्दा महत्त्वपूर्ण कुरा, यहोवा परमेश्‍वरले नै यस्तो एकतामा बाँध्नुहुनेछ भन्‍ने कुरालाई यस भविष्यवाणीले जोड दिन्छ। त्यसोभए दुइटा लौरोलाई आपसमा जोड्‌ने यस भविष्यवाणीले शुद्ध उपासनाको कुन महत्त्वपूर्ण तथ्यलाई जोड दिन्छ? सरल शब्दमा भन्‍ने हो भने यहोवा परमेश्‍वर स्वयम्‌ले आफ्ना उपासकहरूलाई “एउटै” बनाउनुहुनेछ।—इज. ३७:१९.

१४. इस्वी संवत्‌ १९१९ देखि दुइटा लौरोबारे गरिएको भविष्यवाणीको कसरी व्यापक पूर्ति हुन थाल्यो?

१४ इस्वी संवत्‌ १९१९ देखि जब परमेश्‍वरका मानिसहरूलाई आध्यात्मिक रूपमा स्वच्छ पारियो र उनीहरू आध्यात्मिक प्रमोदवनमा प्रवेश गर्न थाले, त्यसबेलादेखि दुइटा लौरोलाई आपसमा जोड्‌नेबारे गरिएको भविष्यवाणीको व्यापक पूर्ति हुन थाल्यो। त्यतिबेला एकतामा बाँधिएका अधिकांश मानिसहरूको आशा स्वर्गमा राजा र पुजारी हुने थियो। (प्रका. २०:६) ती अभिषिक्‍त जनहरू प्रतीकात्मक अर्थमा “यहुदाको लागि” भनेर लेखिएको लौरोजस्तै थिए, जुन राष्ट्रमा दाउदको घरानाका राजाहरू र लेवी कुलका पुजारीहरू थिए। तर समय बित्दै जाँदा यी आध्यात्मिक यहुदीहरूसँग पृथ्वीमै जीवन बिताउने आशा भएका मानिसहरू पनि सामेल हुन थाले। उनीहरू “एप्रैमको लौरो”-जस्तै थिए, जुन राष्ट्रमा दाउदको घरानाका राजाहरू र लेवी कुलका पुजारीहरू थिएनन्‌। यी दुवै समूह एउटै राजा येसु ख्रिष्टको अधीनमा बस्छन्‌ र एकताबद्ध भएर यहोवा परमेश्‍वरको सेवा गर्छन्‌।—इज. ३७:२४.

“तिनीहरू मेरा मानिस हुनेछन्‌”

१५. इजकिएल ३७:२६, २७ मा गरिएको भविष्यवाणी आज कसरी पूरा भइरहेको छ?

१५ इजकिएलको भविष्यवाणीले अभिषिक्‍त जनहरूसितै शुद्ध उपासना चढाउन अरू थुप्रै मानिस उत्प्रेरित हुनेछन्‌ भनेर स्पष्ट पार्छ। यहोवा परमेश्‍वरले आफ्ना मानिसहरूबारे यसो भन्‍नुभयो: “म . . . तिनीहरूको वृद्धि गराउनेछु” र “मेरो निवासस्थान तिनीहरूसित हुनेछ।” (इज. ३७:२६, २७) यी अभिव्यक्‍तिहरूले इजकिएलको समयभन्दा लगभग ७०० वर्षपछि प्रेषित युहन्‍नाले दर्शनमा देखेको भविष्यवाणीको सम्झना गराउँछ। उक्‍त भविष्यवाणीअनुसार “ठूलो भीड”-लाई ‘सिंहासनमा बस्नुहुनेले सुरक्षित राख्नुहुने थियो।’ (प्रका. ७:९, १५) आज अभिषिक्‍त जनहरू र ठूलो भीडले एउटै जातिको रूपमा यहोवा परमेश्‍वरको सुरक्षा पाएका छन्‌।

१६. आध्यात्मिक यहुदीहरू र पृथ्वीमै जीवन बिताउने आशा भएकाहरू एकतामा बाँधिनेबारे जकरियाले कस्तो भविष्यवाणी गरे?

१६ निर्वासनबाट फर्केका जकरियाले पनि आध्यात्मिक यहुदीहरू र पृथ्वीमै जीवन बिताउने आशा भएकाहरू एकतामा बाँधिनेबारे भविष्यवाणी गरेका थिए। उनले यसो भने: “जातिजातिका दस जना मानिसले एक जना यहुदीको लुगा च्याप्प समात्नेछन्‌ र यसो भन्‍नेछन्‌: ‘हामी तपाईँहरूसितै जान्छौँ किनभने हामीले सुनेका छौँ, परमेश्‍वर तपाईँहरूसित हुनुहुन्छ।’” (जक. ८:२३) यहाँ बताइएको “एक जना यहुदी”-ले कुनै एक जना मानिसलाई होइन तर मानिसहरूको समूहलाई बुझाउँछ र आज त्यो समूह भनेको बाँकी रहेका अभिषिक्‍त जनहरू अर्थात्‌ आध्यात्मिक यहुदीहरू हुन्‌। (रोमी २:२८, २९) “दस जना मानिसले” चाहिँ पृथ्वीमै जीवन बिताउने आशा भएकाहरूलाई बुझाउँछ। उनीहरू अभिषिक्‍त जनहरूलाई ‘च्याप्प समात्छन्‌’ र तिनीहरूसितै ‘जान्छन्‌।’ (यसै. २:२, ३; मत्ति २५:४०) “च्याप्प समात्नेछन्‌” र “तपाईँहरूसितै जान्छौँ” भन्‍ने अभिव्यक्‍तिहरूले यी दुई समूह पूर्ण रूपमा एकतामा बाँधिने कुरालाई जोड दिन्छ।

१७. आज हामीमाझ भएको एकतालाई येसुले कसरी वर्णन गर्नुभयो?

१७ आफूलाई गोठालोसित तुलना गर्नुहुँदा येसुले एकताबारे इजकिएलले गरेको भविष्यवाणी सम्झनुभएको हुनुपर्छ; उहाँको नेतृत्वमा उहाँका भेडाहरू (अभिषिक्‍त जनहरू) र “अरू भेडा” (पृथ्वीमै जीवन बिताउने आशा भएकाहरू) “एउटै बगाल”-का हुने थिए। (युह. १०:१६; इज. ३४:२३; ३७:२४, २५) हाम्रो आशा जुनसुकै किन नहोस्‌, येसुले भन्‍नुभएको यो कुरा र पुरातन समयका भविष्यवक्‍ताहरूले भनेका कुराहरूले हामीमाझ भएको अद्‌भुत आध्यात्मिक एकतालाई राम्ररी वर्णन गर्छ! झूटा धर्महरू अनगिन्ती समूहमा विभाजित भएको यस समयमा हामीले भने एकता अनुभव गरिरहेका छौँ र यो साँच्चै चमत्कार हो!

आज अभिषिक्‍त जनहरू र “अरू भेडा” “एउटै बगाल”-को रूपमा एकताबद्ध भएर यहोवाको उपासना गर्छन्‌ (अनुच्छेद १७ हेर्नुहोस्‌)

‘मेरो मन्दिर सदाको लागि तिनीहरूमाझ हुनेछ’

१८. इजकिएल ३७:२८ ले सङ्‌केत गरेअनुसार परमेश्‍वरका मानिसहरू किन ‘यस संसारको हुनु’ हुँदैन?

१८ इजकिएलले एकताबारे गरेको भविष्यवाणीका अन्तिम शब्दहरूले हाम्रो एकता कहिल्यै नटुट्‌नुको कारणबारे बताउँछ। (इजकिएल ३७:२८ पढ्‌नुहोस्‌) यहोवा परमेश्‍वरका मानिसहरू एकतामा बाँधिएका छन्‌ किनकि उहाँको मन्दिर अर्थात्‌ उहाँको शुद्ध उपासना ‘तिनीहरूमाझ छ।’ अनि जबसम्म तिनीहरूले आफूलाई सैतानको यस संसारबाट शुद्ध वा अलग राख्छन्‌, तबसम्म उहाँको मन्दिर तिनीहरूमाझ रहनेछ। (१ कोरि. ६:११; प्रका. ७:१४) येसुले उहाँका चेलाहरू यस संसारको हुनु हुँदैन भनेर जोड दिनुभयो। आफ्ना चेलाहरूको निम्ति मनैदेखि गर्नुभएको एउटा प्रार्थनामा उहाँले यसो भन्‍नुभयो: “हे पवित्र बुबा, . . . तिनीहरूको हेरचाह गर्नुहोस्‌ ताकि . . . तिनीहरू पनि एक होऊन्‌। तिनीहरू यस संसारका होइनन्‌, . . . सत्यद्वारा तिनीहरूलाई पवित्र पार्नुहोस्‌।” (युह. १७:११, १६, १७) येसुले “एक” हुने कुरालाई ‘यस संसारको नहुनुसित’ कसरी जोड्‌नुभयो, याद गर्नुहोस्‌।

१९. (क) हामी ‘परमेश्‍वरको देखासिकी गर्नेहरू’ हौँ भनेर कसरी साबित गर्छौँ? (ख) आफ्नो मृत्यु हुनुभन्दा अघिल्लो साँझ येसुले एकताबारे कुन महत्त्वपूर्ण तथ्यलाई जोड दिनुभयो?

१९ उल्लेखनीय कुरा, येसुले परमेश्‍वरलाई “हे पवित्र बुबा” भनेर सम्बोधन गर्नुभएको एक मात्र पद यही हो। यहोवा पवित्र र असल हुनुहुन्छ; उहाँमा खोट लगाउने कुनै ठाउँ छैन। उहाँले पुरातन इस्राएललाई यस्तो आज्ञा दिनुभएको थियो: “म पवित्र छु, त्यसैले तिमीहरू पनि पवित्र होओ।” (लेवी ११:४५) हामी ‘परमेश्‍वरको देखासिकी गर्नेहरू’ भएकोले आफ्नो जीवनको हरेक पक्षमा यो आज्ञा पालन गर्न चाहन्छौँ। (एफि. ५:१; १ पत्रु. १:१४, १५) मानिसहरूको सन्दर्भमा “पवित्र” भन्‍ने शब्दले “अलग्गै छुट्ट्याइएको” भन्‍ने अर्थ दिन्छ। त्यसकारण आफ्ना चेलाहरूले आफूलाई यो संसार र यहाँ भएको विभाजनबाट अलग राखुन्जेल उनीहरू एकतामा रहन सक्नेछन्‌ भनेर येसुले आफ्नो मृत्यु हुनुभन्दा अघिल्लो साँझ जोड दिनुभयो।

“त्यस दुष्टको कारण तिनीहरूको हेरचाह गरिदिनुहोस्‌”

२०, २१. (क) यहोवाले दिनुहुने सुरक्षामाथि हाम्रो भरोसा कसरी अझ बढ्‌छ? (ख) तपाईँले के सङ्‌कल्प गर्नुभएको छ?

२० आज विश्‍वभरि नै यहोवाका साक्षीहरूमाझ छर्लङ्‌गै देखिने उल्लेखनीय एकतालाई विचार गर्दा यहोवा परमेश्‍वरले येसुको यो बिन्ती सुन्‍नुभयो भन्‍ने कुरा प्रस्ट हुन्छ: “त्यस दुष्टको कारण तिनीहरूको हेरचाह गरिदिनुहोस्‌।” (युहन्‍ना १७:१४, १५ पढ्‌नुहोस्‌) सैतान परमेश्‍वरका मानिसहरूबीचको एकता तोड्‌न विफल भएको छ भन्‍ने कुरा देख्दा परमेश्‍वरले दिनुहुने सुरक्षामाथि हाम्रो भरोसा अझ बढ्‌छ। इजकिएलको भविष्यवाणीमा यहोवा परमेश्‍वरले ती दुइटा लौरो उहाँको हातमा एउटै भएको कुरा बताउनुभयो। त्यसैले यहोवा परमेश्‍वर स्वयम्‌ले नै चमत्कारपूर्ण ढङ्‌गमा आफ्ना मानिसहरूलाई उहाँको सुरक्षित हातमा एकताबद्ध पार्नुभएको छ, जहाँ सैतानले हाम्रो केही बिगार गर्न सक्दैन।

२१ त्यसोभए हामीले के सङ्‌कल्प गर्नुपर्छ? अहिले हामीमाझ भएको अनमोल एकतामा योगदान पुऱ्‍याउन हामीले पनि कडा मेहनत गरिरहने सङ्‌कल्प गर्नुपर्छ। हामी प्रत्येकले कसरी त्यसो गर्न सक्छौँ? यहोवाको आध्यात्मिक मन्दिरमा उहाँलाई शुद्ध उपासना चढाउने काममा निरन्तर भाग लिएर। त्यस्तो उपासना चढाउनुमा के समावेश छ भन्‍नेबारे यसपछिको अध्यायमा चर्चा गरिनेछ।

^ इजकिएलले यो भविष्यवाणी गर्नुभन्दा लगभग २०० वर्षअघि दस-गोत्रे राज्यका (“एप्रैमको लौरो”) बासिन्दाहरूलाई अस्सेरियालीहरूले निर्वासनमा लगेका थिए।—२ राजा १७:२३.

^ यस भविष्यवाणीबारे यस किताबको अध्याय ८ मा विस्तृत रूपमा छलफल गरिएको छ।