सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय १०

“तिमीहरू जिउँदो हुनेछौ”

“तिमीहरू जिउँदो हुनेछौ”

इजकिएल ३७:५

मुख्य कुरा: “सुकेका हाडहरू” फेरि जीवित हुने दर्शन र यसको व्यापक पूर्ति

१-३. बेबिलोनका यहुदीहरूमाझको माहोल किन एक्कासि परिवर्तन हुन्छ? (शीर्षकमाथिको चित्र हेर्नुहोस्‌)

 बेबिलोनका यहुदीहरूमाझको माहोल एक्कासि परिवर्तन हुन्छ! इजकिएलले लगभग पाँच वर्षसम्म यरुसलेम विनाश हुन्छ भनेर भविष्यवाणी गरे तर मानिसहरूले भने तिनको कुरामा रतीभर विश्‍वास गरेनन्‌। तिनले विनाशबारे जुनसुकै अभिनय गरेर देखाए पनि, जस्तोसुकै उदाहरण चलाए पनि वा जस्तोसुकै सन्देश सुनाए पनि निर्वासनमा रहेका ती यहुदीहरूले यहोवा परमेश्‍वरले यरुसलेमलाई विनाश हुन दिनुहुनेछ भन्‍ने कुरा पत्याउँदै पत्याएनन्‌। बेबिलोनी सेनाले सहरलाई घेराबन्दी गरिसक्यो भन्‍ने कुरा सुनेपछि पनि त्यहाँका बासिन्दाहरू सुरक्षित रहनेछन्‌ भन्‍ने कुरामा निर्वासित यहुदीहरू अझै ढुक्क थिए।

तर अहिले त्यो सहर घेराबन्दीमा परेको दुई वर्ष भइसकेको छ। एक जना शरणार्थी यरुसलेमबाट बेबिलोन आइपुग्छ र उसले यस्तो खबर सुनाउँछ: “सहरलाई कब्जामा लिइएको छ!” त्यो खबरले गर्दा यहुदीहरू एकदमै निराश हुन्छन्‌। त्यो प्रिय सहर, त्यो पवित्र मन्दिर र आफूले असाध्यै प्यारो ठानेको त्यो ठाउँ अब रहेन भन्‍ने कुरा स्विकार्न उनीहरूलाई असाध्यै गाह्रो हुन्छ। उनीहरूको लामो समयदेखिको आशा निराशामा परिणत हुन्छ!—इज. २१:७; ३३:२१.

तर त्यही दुःखद समयमा इजकिएलले परमेश्‍वरबाट आशाले भरिएको एउटा सशक्‍त दर्शन पाउँछन्‌। उदास भएका ती यहुदीहरूका लागि त्यस दर्शनमा कस्तो सन्देश लुकेको थियो? त्यस दर्शनले आज परमेश्‍वरका मानिसहरूको लागि कस्तो अर्थ राख्छ? त्यसबाट हामीले व्यक्‍तिगत रूपमा कस्तो लाभ उठाउन सक्छौँ? यी प्रश्‍नहरूको जवाफको लागि यहोवा परमेश्‍वरले इजकिएललाई दर्शनमा के देखाउनुहुन्छ, त्यो विचार गरौँ।

“यी हाडहरूबारे भविष्यवाणी गर” र “बतासलाई हुकुम गर”

४. दर्शनमा इजकिएलले विशेषगरि कुन कुरा याद गर्छन्‌?

इजकिएल ३७:१-१० पढ्‌नुहोस्‌। यस दर्शनमा इजकिएललाई हाडैहाडले भरिएको एउटा बेँसीमा लगिन्छ। यो दर्शन इजकिएलको मनमा ठप्प बसेको यहोवा परमेश्‍वर चाहनुहुन्थ्यो। त्यसैले उहाँले हाडैहाडले भरिएको त्यस बेँसीलाई “एक फन्को मार्न” तिनलाई आज्ञा दिनुहुन्छ। त्यस बेँसीलाई फन्को मार्दा तिनले विशेषगरि दुई वटा कुरा याद गर्छन्‌: हाडहरूको सङ्‌ख्या र तिनीहरूको अवस्था। “त्यहाँ जताततै हाडैहाड मात्र देखिन्थे” र “ती हाडहरू एकदमै सुकिसकेका थिए।”

५. यहोवा परमेश्‍वरले इजकिएललाई कुन दुई वटा आज्ञा दिनुभयो? इजकिएलले त्यस आज्ञाअनुसार गर्दा के भयो?

त्यसपछि यहोवा परमेश्‍वरले इजकिएललाई दुई वटा आज्ञा दिनुभयो। ती आज्ञाहरूले क्रमिक रूपमा हुने पुनर्स्थापनाको लागि बाटो तयार पार्ने थियो। पहिलो आज्ञा यो थियो: “तिमीहरू जिउँदो हुनेछौ” भनेर “यी हाडहरूबारे भविष्यवाणी गर।” (इज. ३७:४-६) इजकिएलले यो भविष्यवाणी गर्नेबित्तिकै “कट्‌याककुटुक आवाज सुनिन थाल्यो र ती हाडहरू एकअर्कासित जोडिन थाले।” त्यसपछि ती हाडहरूमा “नसा र मासु” भरियो र ‘त्यसलाई छालाले ढाक्यो।’ (इज. ३७:७, ८) दोस्रो आज्ञा यो थियो: यी लासहरूभित्र “पस्‌” भनेर “बतासलाई हुकुम गर।” जब इजकिएलले बतासलाई यस्तो हुकुम गरे, तब “तिनीहरूमा सास पस्यो र तिनीहरू जिउँदो भएर आ-आफ्नो खुट्टामा उभिए अनि तिनीहरू एउटा अत्यन्तै ठूलो फौज भए।”—इज. ३७:९, १०.

“हाम्रा हाडहरू सुकेका छन्‌ र हामीसित अब कुनै आशा छैन”

६. यहोवा परमेश्‍वरले भन्‍नुभएको कुन कुराले गर्दा इजकिएलले दर्शनको अर्थ बुझ्न सके?

त्यसपछि यहोवा परमेश्‍वरले त्यस दर्शनको अर्थ खुलाउँदै इजकिएललाई यसो भन्‍नुभयो: “यी हाडहरू इस्राएलको पूरै घराना हुन्‌।” हो, यरुसलेम विनाश भएको खबर पाएपछि ती निर्वासित यहुदीहरूले आफू जिउँदो लासजस्तै भएको महसुस गरे। त्यसैले तिनीहरूले यसरी विलाप गरे: “हाम्रा हाडहरू सुकेका छन्‌ र हामीसित अब कुनै आशा छैन। हामी पूरै त्यागिएका मानिसहरू हौँ।” (इज. ३७:११; यर्मि. ३४:२०) तिनीहरूको विलाप सुनेपछि यहोवा परमेश्‍वरले हाडहरूसम्बन्धी यो उराठलाग्दो दर्शनमा वास्तवमा इस्राएलको लागि आशाको सन्देश छ भनेर प्रकट गर्नुभयो।

७. इजकिएल ३७:१२-१४ मा बताइएअनुसार यहोवा परमेश्‍वरले इजकिएललाई के प्रकट गर्नुभयो? यसबाट निर्वासित मानिसहरूले कस्तो आश्‍वासन पाए?

इजकिएल ३७:१२-१४ पढ्‌नुहोस्‌। यस दर्शनमार्फत यहोवा परमेश्‍वरले ती निर्वासित यहुदीहरूलाई फेरि जिउँदो पार्ने, तिनीहरूलाई आफ्नो भूमिमा फर्काउने र त्यहाँ बसोबास गर्न दिने आश्‍वासन दिनुभयो। अझ महत्त्वपूर्ण कुरा त, उहाँले तिनीहरूलाई फेरि “मेरा मानिसहरू” भनेर सम्बोधन गर्नुभयो। यहोवाका यी शब्दहरू सुनेपछि ती उदास यहुदीहरूले कत्ति धेरै सान्त्वना पाए होलान्‌, सोच्नुहोस्‌ त! पुनर्स्थापनासम्बन्धी प्रतिज्ञा पूरा हुनेछ भनेर तिनीहरू किन पक्का हुन सक्थे? किनकि स्वयम्‌ यहोवा परमेश्‍वरले नै यो प्रतिज्ञा गर्नुभएको थियो। उहाँले यस्तो घोषणा गर्नुभयो: “म यहोवाले नै यसो भनेको हुँ र मैले नै यसो गरेको हुँ।”

८. (क) “इस्राएलको पूरै घराना” कसरी मरेतुल्य अवस्थामा पुग्यो? (ख) इस्राएलको प्रतीकात्मक मृत्युको कारणबारे इजकिएल ३७:९ ले के बताउँछ? (फुटनोट हेर्नुहोस्‌)

यो भविष्यसूचक दर्शनको दुःखद पक्ष पुरातन इस्राएल राष्ट्रमा कसरी पूरा भयो? ईसापूर्व ७४० मा दस-गोत्रे राज्य पतन हुँदा र त्यसलाई निर्वासनमा लगिँदा इस्राएलको आध्यात्मिक पतन सुरु भइसकेको थियो। त्यसको लगभग १३० वर्षपछि यहुदाका मानिसहरूलाई पनि देशनिकाला गरिँदा “इस्राएलको पूरै घराना” निर्वासनमा पऱ्‍यो। (इज. ३७:११) त्यसैले निर्वासनमा परेका सबै मानिस प्रतीकात्मक अर्थमा इजकिएलले दर्शनमा देखेका हाडहरूजस्तै मरेतुल्य अवस्थामा थिए। * यो कुरा पनि याद गर्नुहोस्‌, इजकिएलले दर्शनमा देखेका हाडहरू “एकदमै सुकिसकेका” थिए। यसले ती निर्वासित मानिसहरू मरेतुल्य अवस्थामा भएको धेरै समय भइसकेको थियो भनेर सङ्‌केत गर्छ। हुन पनि इस्राएल र यहुदा दुवै गरेर तिनीहरू २०० वर्षभन्दा धेरै समय अर्थात्‌ ईसापूर्व ७४० देखि ईसापूर्व ५३७ सम्म यस्तो अवस्थामा थिए।—यर्मि. ५०:३३.

९. पुरातन इस्राएल राष्ट्र र “परमेश्‍वरको इस्राएल”-ले गरेको अनुभवबीच के-कस्ता समानता छन्‌?

इजकिएललगायत अरू भविष्यवक्‍ताहरूले इस्राएलको पुनर्स्थापनाबारे गरेका भविष्यवाणीहरूको अझ व्यापक पूर्ति हुन्छ। (प्रेषि. ३:२१) जसरी पुरातन इस्राएल राष्ट्रलाई ‘मारियो’ र त्यो लामो समयसम्म मरेतुल्य अवस्थामा रह्‍यो, त्यसरी नै “परमेश्‍वरको इस्राएल”—अभिषिक्‍त ख्रिष्टियनहरूको मण्डलीलाई पनि प्रतीकात्मक अर्थमा मारियो र त्यो लामो समयसम्म मरेतुल्य अवस्थामा रह्‍यो। (गला. ६:१६) अभिषिक्‍त ख्रिष्टियनहरूको मण्डली यत्ति लामो समयसम्म कैदमा पऱ्‍यो कि तिनीहरूको आध्यात्मिक अवस्थालाई “एकदमै सुकिसकेका” हाडहरूसित तुलना गर्न सकिन्थ्यो। (इज. ३७:२) हामीले अघिल्लो अध्यायमा सिकेझैँ अभिषिक्‍त ख्रिष्टियनहरूको मण्डली इस्वी संवत्‌ दोस्रो शताब्दीदेखि कैदमा पऱ्‍यो र तिनीहरू सयौँ वर्षसम्म कैदमा रहे, जुन कुरा येसुले राज्यसम्बन्धी बताउनुभएको गहुँ र सामाको उदाहरणमा सङ्‌केत गर्नुभएको थियो।—मत्ति १३:२४-३०.

इजकिएलले दर्शनमा देखेको “एकदमै सुकिसकेका” हाडहरूले यहोवाका अभिषिक्‍त सेवकहरू लामो समयसम्म मरेतुल्य अवस्थामा रहने कुरालाई सङ्‌केत गर्थ्यो (अनुच्छेद ८, ९ हेर्नुहोस्‌)

“ती हाडहरू एकअर्कासित जोडिन थाले”

१०. (क) इजकिएल ३७:७, ८ मा परमेश्‍वरका मानिसहरूको पुनर्स्थापनाबारे कस्तो भविष्यवाणी गरिएको थियो? (ख) ती निर्वासित यहुदीहरू आफ्नो देश फर्कने कुरामा विश्‍वस्त हुँदै जान सक्नुका केही कारण के हुन्‌?

१० पुरातन समयमा यहोवा परमेश्‍वरले आफ्ना मानिसहरू क्रमिक रूपमा पुनर्स्थापित हुँदै जानेछन्‌ भनेर भविष्यवाणी गर्नुभएको थियो। (इज. ३७:७, ८) इस्राएल फर्कने आफ्नो आशा अवश्‍य पूरा हुनेछ भन्‍ने कुरामा परमेश्‍वरको डर मान्‍ने ती निर्वासित यहुदीहरू विश्‍वस्त हुँदै जान सक्नुका केही कारण के हुन्‌? एउटा कारण अघि-अघिका भविष्यवक्‍ताहरूले गरेका भविष्यवाणीहरू हुन सक्छन्‌। जस्तै: यसैयाले एउटा “पवित्र पालुवा” अर्थात्‌ बाँकी रहेकाहरू आफ्नो देश फर्कनेछन्‌ भनेर भविष्यवाणी गरेका थिए। (यसै. ६:१३; अय्यु. १४:७-९) अनि पुनर्स्थापनाबारे इजकिएलले लेखेका थुप्रै भविष्यवाणीले पनि तिनीहरूको आशालाई जीवितै राखेको हुन सक्छ। साथै बेबिलोनमा अझै पनि भविष्यवक्‍ता दानिएलजस्ता वफादार मानिसहरू भएको र ईसापूर्व ५३९ मा बेबिलोन सहर अचम्मलाग्दो तरिकामा पतन भएको कुराले पनि आफ्नो देश फर्कने तिनीहरूको आशालाई अझ बलियो बनाएको हुन सक्छ।

११, १२. (क) “परमेश्‍वरको इस्राएल” कसरी बिस्तारै पुनर्स्थापित भयो? (“शुद्ध उपासना बिस्तारै पुनर्स्थापित हुन्छ” भन्‍ने पेटी पनि हेर्नुहोस्‌) (ख) इजकिएल ३७:१० मा लेखिएको कुराले कस्तो प्रश्‍न खडा गर्छ?

११ “परमेश्‍वरको इस्राएल” अर्थात्‌ अभिषिक्‍त ख्रिष्टियनहरूको मण्डली पनि कसरी बिस्तारै पुनर्स्थापित भयो? सयौँ वर्षसम्म मरेतुल्य अवस्थामा रहेपछि जब परमेश्‍वरको डर मान्‍ने मानिसहरू शुद्ध उपासनाको पक्षमा खडा हुन थाले, तब “कट्‌याककुटुक आवाज” सुनिन थाल्यो। उदाहरणको लागि, १६ औँ शताब्दीमा विलियम टिन्डेलले अङ्‌ग्रेजी भाषामा बाइबल अनुवाद गरे। तर बाइबल सर्वसाधारणले पनि पढ्‌न पाउने भएपछि रोमन क्याथोलिक चर्चका पादरीहरू असाध्यै रिसाए। त्यसैले तिनीहरूले टिन्डेलको हत्या गरे। तैपनि अन्य साहसी मानिसहरूले अरू भाषाहरूमा पनि बाइबल अनुवाद गर्न थाले र त्यो अन्धकारमय संसारमा आध्यात्मिक ज्योति बिस्तारै फैलँदै गयो।

१२ पछि चार्ल्स टेज रसल र उहाँका सहयोगीहरू बाइबलको सत्यलाई पुनर्स्थापना गर्ने काममा जोसका साथ लाग्दा ती हाडहरूमा “नसा र मासु” भरिएझैँ भयो। सियोनको प्रहरीधरहरा (अङ्‌ग्रेजी) र अन्य प्रकाशनहरूले नम्र हृदय भएका मानिसहरूलाई आध्यात्मिक सत्य भेट्टाउन मदत गऱ्‍यो र तिनीहरू परमेश्‍वरका अभिषिक्‍त सेवकहरूको समूहमा सामेल हुन उत्प्रेरित भए। अनि २० औँ शताब्दीको सुरुतिर परमेश्‍वरका अभिषिक्‍त सेवकहरूले “सृष्टिसम्बन्धी फोटो-चलचित्र” (अङ्‌ग्रेजी) र टुङ्‌गिएको रहस्य (अङ्‌ग्रेजी) जस्ता सामग्रीहरूबाट अझ हौसला पाए। त्यसको केही समय नबित्दै परमेश्‍वरका मानिसहरू ‘आफ्नो खुट्टामा उभिने’ समय आयो। (इज. ३७:१०) तर त्यो काम परमेश्‍वरले कहिले र कसरी गर्नुभयो? पुरातन बेबिलोनमा भएका घटनाहरूले हामीलाई यस प्रश्‍नको जवाफ पाउन मदत गर्छ।

“तिनीहरू जिउँदो भएर आ-आफ्नो खुट्टामा उभिए”

१३. (क) ईसापूर्व ५३७ देखि इजकिएल ३७:१०, १४ मा बताइएको कुरा कसरी पूरा हुन थाल्यो? (ख) दस-गोत्रे राज्यका केही बासिन्दाहरू पनि इस्राएल फर्के भन्‍ने कुरा के-कस्ता शास्त्रपदहरूले सङ्‌केत गर्छ?

१३ बेबिलोनमा रहेका यहुदीहरूले ईसापूर्व ५३७ देखि त्यो भविष्यसूचक दर्शन पूरा हुन थालेको देखे। कसरी? यहोवा परमेश्‍वरले तिनीहरूलाई निर्वासनबाट छुटाएर अनि इस्राएल फर्कन दिएर जिउँदो पार्नुभयो र ‘आफ्नो खुट्टामा उभिन’ लगाउनुभयो। त्यतिबेला ४२ हजार ३ सय ६० जना इस्राएली र लगभग ७ हजार जना गैर-इस्राएली यरुसलेम र त्यसको मन्दिर पुनर्निर्माण गर्न अनि त्यहाँ बसोबास गर्न बेबिलोनबाट निस्के। (एज्रा १:१-४; २:६४, ६५; इज. ३७:१४) अनि त्यसको करिब ७० वर्षपछि निर्वासनमा रहेका लगभग १ हजार ७ सय ५० जना एज्रासँगै यरुसलेम फर्के। (एज्रा ८:१-२०) यसरी ४४ हजारभन्दा धेरै यहुदी आफ्नो देश फर्के। त्यो साँच्चै “ठूलो फौज” थियो। (इज. ३७:१०) यसको साथै परमेश्‍वरको वचनले सङ्‌केत गरेअनुसार दस-गोत्रे राज्यका केही बासिन्दाहरू, जसका पुर्खाहरूलाई ईसापूर्व आठौँ शताब्दीमा अस्सेरियालीहरूले देशनिकाला गरिदिएका थिए, तिनीहरू पनि मन्दिरको पुनर्निर्माण गर्ने काममा सघाउन इस्राएल फर्के।—१ इति. ९:३; एज्रा ६:१७; यर्मि. ३३:७; इज. ३६:१०.

१४. (क) इजकिएल ३७:२४ का शब्दहरूले पुनर्स्थापनासम्बन्धी भविष्यवाणीको मुख्य पूर्ति हुने समय थाह पाउन कसरी मदत दिन्छ? (ख) इस्वी संवत्‌ १९१९ मा के भयो? (“‘सुकेका हाडहरू’ र ‘दुई जना साक्षी’—तिनीहरू आपसमा कसरी सम्बन्धित छन्‌?” भन्‍ने पेटी पनि हेर्नुहोस्‌)

१४ इजकिएलको भविष्यवाणीको यो भागको व्यापक पूर्ति कसरी भयो? यहोवा परमेश्‍वरले इजकिएललाई यसैसित सम्बन्धित अर्को भविष्यवाणीमा भन्‍नुभएअनुसार पुनर्स्थापनासम्बन्धी यो भविष्यवाणीको मुख्य पूर्ति महान्‌ दाउद, येसु ख्रिष्टले शासन थाल्नुभएको केही समयपछि हुने थियो। * (इज. ३७:२४) साँच्चै, इस्वी संवत्‌ १९१९ मा यहोवा परमेश्‍वरले आफ्ना मानिसहरूलाई पवित्र शक्‍ति दिनुभयो। परिणामस्वरूप तिनीहरू “जीवित” भए र महान्‌ बेबिलोनको कैदबाट मुक्‍त भए। (यसै. ६६:८) त्यसपछि यहोवा परमेश्‍वरले तिनीहरूलाई आफ्नो “देश” अर्थात्‌ आध्यात्मिक प्रमोदवनमा रहन दिनुभयो। तर यहोवा परमेश्‍वरका आधुनिक समयका मानिसहरू कसरी “ठूलो फौज” भएका छन्‌?

१५, १६. (क) यहोवा परमेश्‍वरका आधुनिक समयका मानिसहरू कसरी “ठूलो फौज” भएका छन्‌? (ख) इजकिएलको यस भविष्यवाणीले जीवनमा आइपर्ने कठिनाइहरू सहन कसरी मदत दिन्छ? (“फेरि आफ्नो खुट्टामा उभिन मदत” भन्‍ने पेटी हेर्नुहोस्‌)

१५ इस्वी संवत्‌ १९१९ मा ख्रिष्टले विश्‍वासी दास नियुक्‍त गर्नुभएको केही समय नबित्दै परमेश्‍वरका सेवकहरूले जकरियाले गरेको भविष्यवाणी पूरा भएको अनुभव गर्न थाले। निर्वासनबाट फर्केर आएका मानिसहरूमाझ भविष्यवक्‍ताको रूपमा सेवा गरिरहेका जकरियाले यस्तो भविष्यवाणी गरेका थिए: “थुप्रै जाति र शक्‍तिशाली राष्ट्रहरू सेनाहरूका यहोवाको खोजी गर्न . . . आउनेछन्‌।” यी भविष्यवक्‍ताले यहोवा परमेश्‍वरको खोजी गरिरहेकाहरूलाई “विभिन्‍न भाषा बोल्ने जातिजातिका दस जना मानिस” भनेका छन्‌। ती मानिसहरूले एक जना “यहुदी” अर्थात्‌ आध्यात्मिक इस्राएललाई यसो भन्दै बलियोसित समात्ने थिए: “हामी तपाईँहरूसितै जान्छौँ किनभने हामीले सुनेका छौँ, परमेश्‍वर तपाईँहरूसित हुनुहुन्छ।”—जक. ८:२०-२३.

१६ आज आध्यात्मिक इस्राएलका सदस्यहरू (बाँकी रहेका अभिषिक्‍त जनहरू) र “दस जना मानिस” (अरू भेडा) मिलेर एउटा “अत्यन्तै ठूलो फौज” बनेको छ र तिनीहरू लाखौँको सङ्‌ख्यामा छन्‌। (इज. ३७:१०) ख्रिष्टको सेनाको सङ्‌ख्या अझै बढ्‌दै छ। हामी उहाँको सिपाहीको रूपमा हाम्रा राजा येसुलाई पछ्याउँछौँ र हाम्रो अगाडि राखिएका आशिष्‌हरूतर्फ लम्कन्छौँ।—भज. ३७:२९; इज. ३७:२४; फिलि. २:२५; १ थिस्स. ४:१६, १७.

१७. अर्को अध्यायमा हामी के छलफल गर्नेछौँ?

१७ शुद्ध उपासनाको पुनर्स्थापनापछि परमेश्‍वरका मानिसहरूले एउटा महत्त्वपूर्ण जिम्मेवारी पूरा गर्नुपर्ने थियो। त्यो जिम्मेवारी के हो? यस प्रश्‍नको जवाफ पाउन यरुसलेमको विनाश हुनुभन्दा अगाडि इजकिएलले यहोवा परमेश्‍वरबाट पाएको एउटा जिम्मेवारी केलाएर हेरौँ। यसपछिको अध्यायमा हामी त्यसबारे छलफल गर्नेछौँ।

^ इजकिएलले दर्शनमा देखेका हाडहरू स्वाभाविक कारणले मृत्यु भएका मानिसहरूको थिएन बरु “मारिएका” मानिसहरूको थियो। (इज. ३७:९) इस्राएलको दस-गोत्रे राज्य र पछि यहुदाको दुई-गोत्रे राज्यका बासिन्दाहरूलाई अस्सेरियालीहरू र बेबिलोनीहरूले हराएर बन्दी बनाउँदा र निर्वासनमा लैजाँदा “इस्राएलको पूरै घराना” प्रतीकात्मक अर्थमा मारियो।

^ मसीहसम्बन्धी यो भविष्यवाणी यस किताबको अध्याय ८ मा छलफल गरिएको थियो।