सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

हाम्रो बुझाइमा गरिएका छाँटकाँटहरूको सारांश

हाम्रो बुझाइमा गरिएका छाँटकाँटहरूको सारांश

वर्षौँको दौडान प्रहरीधरहरा पत्रिकाले इजकिएलको भविष्यवाणीका विभिन्‍न पक्षबारे हाम्रो बुझाइमा छाँटकाँट गर्दै आएको छ। अनि यहोवाको शुद्ध उपासना आखिरमा पुनर्स्थापित हुन्छ! विषयको यस प्रकाशनमा हाम्रो बुझाइमा गरिएका थप छाँटकाँटबारे चर्चा गरिएको छ। के तपाईँ यी प्रश्‍नहरूको जवाफ दिन सक्नुहुन्छ?

जीवहरूका चार वटा अनुहारले केलाई बुझाउँछ?

पहिलाको बुझाइ: चार वटा अनुहार भएका जीवहरू अर्थात्‌ करूबहरूका प्रत्येक अनुहारले यहोवा परमेश्‍वरका चार वटा प्रमुख गुणमध्ये एउटा गुणलाई बुझाउँछ।

बुझाइमा गरिएको छाँटकाँट: ती जीवहरूका प्रत्येक चार वटा अनुहारले यहोवा परमेश्‍वरको चार वटा प्रमुख गुणमध्ये एउटालाई बुझाउने भए तापनि ती चार वटा अनुहारलाई समष्टिगत रूपमा हेर्दा त्यसले यहोवा परमेश्‍वरमा भएका सम्पूर्ण गुणलाई ढाक्छ। साथै ती चार वटा अनुहारले हाम्रो मनमा यहोवा परमेश्‍वरजस्तो महिमा र पराक्रमले भरिपूर्ण व्यक्‍ति अरू कोही छैन भन्‍ने अमेट छाप पार्छ।

छाँटकाँट गरिनुको कारण: परमेश्‍वरको वचन बाइबलमा “चार” सङ्‌ख्याले अक्सर सम्पूर्ण कुरा ढाकिएको वा पूर्ण भएको अवस्थालाई बुझाउँछ। त्यसकारण ती चार वटा अनुहारलाई समष्टिगत रूपमा हेर्दा, ती अनुहारहरू चार वटा भिन्‍नाभिन्‍नै गुण मात्र नभई यहोवा परमेश्‍वरको विशिष्ट व्यक्‍तित्वको आधार हुन्‌। साथै प्रत्येक अनुहार वैभव, बल र पराक्रमको प्रतीकको रूपमा चिनिने जनावरहरूको हो। तैपनि सृष्टिका यी शक्‍तिशाली चार जीवको अनुहार भएका करूबहरू यहोवा परमेश्‍वरको सिंहासनभन्दा मुनि छन्‌। यसले यहोवा ब्रह्‍माण्डका सर्वोच्च शासक हुनुहुन्छ भनेर जोड दिन्छ।

लेखनदासको मसीदानी भिरेको पुरुषले कसलाई बुझाउँछ?

पहिलाको बुझाइ: मसीदानी भिरेको पुरुषले बाँकी रहेका अभिषिक्‍त जनहरूलाई बुझाउँछ। प्रचार गर्ने र चेला बनाउने काममार्फत आज अभिषिक्‍त जनहरूले “ठूलो भीड”-को भाग हुने मानिसहरूको निधारमा प्रतीकात्मक चिन्ह लगाइरहेका छन्‌।—प्रका. ७:९.

बुझाइमा गरिएको छाँटकाँट: लेखनदासको मसीदानी भिरेको पुरुषले येसु ख्रिष्टलाई चित्रण गर्छ। “महासङ्‌कष्ट”-को दौडान ठूलो भीडलाई भेडाको रूपमा न्याय गरिँदा उहाँले तिनीहरूलाई चिन्ह लगाउनुहुनेछ।—मत्ति २४:२१.

छाँटकाँट गरिनुको कारण: यहोवा परमेश्‍वरले न्याय गर्ने काम आफ्नो छोरालाई सुम्पनुभएको छ। (युह. ५:२२, २३) मत्ति २५:३१-३३ अनुसार को “भेडा” हो र को “बाख्रा” हो भनेर येसुले नै अन्तिम न्याय गर्नुहुनेछ।

के वेश्‍या दिदीबहिनी ओहोलाह र ओहोलिबाहले क्याथोलिक र प्रोटेस्टेन्ट गरी दुई भागमा विभाजित भएको चर्चजगत्‌लाई पूर्वचित्रण गर्छ?

पहिलाको बुझाइ: ओहोलाह (इस्राएलको राजधानी सामरिया), जो दिदी थिई, उसले क्याथोलिक चर्चलाई चित्रण गर्छ। ओहोलिबाह (यहुदाको राजधानी यरुसलेम), जो बहिनी थिई, उसले चाहिँ प्रोटेस्टेन्ट चर्चलाई चित्रण गर्छ।

बुझाइमा गरिएको छाँटकाँट: यी वेश्‍या दिदीबहिनीले चर्चजगत्‌को कुनै पनि समूहलाई पूर्वचित्रण गर्दैन। तर यी दुई दिदीबहिनीको उदाहरणले कुनै समय वफादार रहेका आफ्ना मानिसहरू आध्यात्मिक वेश्‍यावृत्तिमा लाग्दा यहोवा परमेश्‍वर कस्तो महसुस गर्नुहुन्छ भनेर बुझ्न हामीलाई मदत गर्छ। सम्पूर्ण झूटो धर्मप्रति यहोवा त्यस्तै महसुस गर्नुहुन्छ।

छाँटकाँट गरिनुको कारण: ओहोलाह र ओहोलिबाहले चर्चजगत्‌लाई पूर्वचित्रण गर्छ भन्‍ने कुराको कुनै छनक धर्मशास्त्रमा पाइँदैन। इस्राएल र यहुदा कुनै समय यहोवा परमेश्‍वरका वफादार पत्नीसरह थिए तर चर्चजगत्‌को भने यहोवा परमेश्‍वरसित कहिल्यै त्यस्तो सम्बन्ध थिएन। साथै इजकिएल अध्याय १६२३ मा परमेश्‍वरलाई विश्‍वासघात गर्ने मानिसहरूलाई वेश्‍याहरूसित तुलना गरिएको विवरणमा सुधार र पुनर्स्थापनाको आशा पाइन्छ। तर महान्‌ बेबिलोनको भाग चर्चजगत्‌सित भने त्यस्तो आशा छैन।

के पुरातन समयको धर्मत्यागी यरुसलेमले चर्चजगत्‌लाई चित्रण गर्छ?

पहिलाको बुझाइ: विश्‍वासघाती यरुसलेमले चर्चजगत्‌लाई पूर्वचित्रण गर्छ। त्यसैले यरुसलेमको विनाशले चर्चजगत्‌को विनाशलाई पूर्वचित्रण गर्छ।

बुझाइमा गरिएको छाँटकाँट: विश्‍वासघाती यरुसलेममा व्याप्त मूर्तिपूजा, भ्रष्टाचारजस्ता कुराहरूले हामीलाई आज चर्चजगत्‌मा भइरहेका कुराहरूको सम्झना गराउँछ। तर अहिले हामी यरुसलेमले चर्चजगत्‌लाई पूर्वचित्रण गर्छ भनेर बताउने गर्दैनौँ।

छाँटकाँट गरिनुको कारण: यरुसलेमले चर्चजगत्‌लाई पूर्वचित्रण गर्छ भन्‍ने कुराको कुनै धर्मशास्त्रीय आधार छैन। पुरातन यरुसलेमले कुनै समय परमेश्‍वरलाई शुद्ध उपासना चढाएको थियो तर चर्चजगत्‌ले भने कहिल्यै त्यसो गरेको छैन। यरुसलेमले केही समय यहोवा परमेश्‍वरबाट क्षमा पाएको थियो तर चर्चजगत्‌ले भने परमेश्‍वरबाट कहिल्यै क्षमा पाउनेछैन।

सुकेका हाडहरूले भरिएको बेँसीको दर्शन कसरी पूरा भयो?

पहिलाको बुझाइ: खेदोमा परेका अभिषिक्‍त जनहरू इस्वी संवत्‌ १९१८ मा महान्‌ बेबिलोनको कैदमा परे। यसले गर्दा तिनीहरू मरेतुल्य भए; तिनीहरूको काम ठप्पै भयो। तर छोटो समयको कैदपछि इस्वी संवत्‌ १९१९ मा यहोवा परमेश्‍वरले तिनीहरूलाई राज्य प्रचारकहरूको रूपमा फेरि जीवित पार्नुभयो।

बुझाइमा गरिएको छाँटकाँट: आध्यात्मिक कैदमा परेका अभिषिक्‍त जनहरू लामो समयसम्म मरेतुल्य अवस्थामा रहे। तिनीहरू इस्वी संवत्‌ १९१८ भन्दा धेरै अघि नै कैदमा परिसकेका थिए। त्यो आध्यात्मिक कैद इस्वी संवत्‌ दोस्रो शताब्दीमा सुरु भयो र इस्वी संवत्‌ १९१९ मा अन्त भयो। यो कुरा येसुले बताउनुभएको उदाहरणमा गहुँ र सामालाई सँगै बढ्‌न दिइएको लामो समयावधिसित मेल खान्छ।

छाँटकाँट गरिनुको कारण: पुरातन इस्राएल लामो समयसम्म कैदमा परेको थियो। त्यो समय ईसापूर्व ७४० मा सुरु भयो र ईसापूर्व ५३७ मा अन्त भयो। इजकिएलको भविष्यवाणीअनुसार ती हाडहरू “सुकिसकेका” वा “एकदमै सुकिसकेका” थिए। यसबाट हाडहरूले चित्रण गर्ने मानिसहरू मरेको लामो समय भइसकेको थियो भनेर बुझ्न सक्छौँ। ती हाडहरू पुनर्स्थापित हुन समय लाग्ने थियो भनेर वर्णन गरिएको छ।

दुइटा लौरोलाई सँगै जोड्‌नुको अर्थ के हो?

पहिलाको बुझाइ: बाँकी रहेका अभिषिक्‍त जनहरूबीच प्रथम विश्‍वयुद्धको दौडान छोटो समयको लागि फुट भए तापनि इस्वी संवत्‌ १९१९ मा उनीहरूबीच फेरि एकता भयो।

बुझाइमा गरिएको छाँटकाँट: यहोवा परमेश्‍वरले आफ्ना उपासकहरूलाई फेरि एक बनाउनुहुनेछ भनेर भविष्यवाणीले जोड दिन्छ। बाँकी रहेका अभिषिक्‍त जनहरूलाई पृथ्वीमै जीवन बिताउने आशा भएका मानिसहरूको बढ्‌दो सङ्‌ख्याले इस्वी संवत्‌ १९१९ पछि साथ दिन थाले। दुवै समूहले एक भएर यहोवा परमेश्‍वरलाई उपासना चढाइरहेका छन्‌।

छाँटकाँट गरिनुको कारण: भविष्यवाणीमा एउटा लौरोलाई सुरुमा दुई टुक्रा पारिने र त्यसपछि ती दुई टुक्रालाई फेरि एउटै बनाइने कुरा वर्णन गरिएको छैन। त्यसैले भविष्यवाणीमा एउटा समूह विभाजित हुने र पछि फेरि एक हुने कुरा बताउन खोजिएको होइन। बरु भविष्यवाणीमा दुइटा फरक-फरक समूह कसरी एक हुनेछ भनेर बताइएको छ।

मागोगको गोग को हो?

पहिलाको बुझाइ: मागोगको गोग भनेको सैतान स्वर्गबाट तल फ्याँकिएपछि त्यसलाई दिइएको भविष्यसूचक नाम हो।

बुझाइमा गरिएको छाँटकाँट: मागोगको गोगले पृथ्वीका राष्ट्रहरूको गठबन्धनलाई बुझाउँछ, जसले महासङ्‌कष्टको दौडान शुद्ध उपासकहरूलाई आक्रमण गर्नेछ।

छाँटकाँट गरिनुको कारण: भविष्यवाणीमा गोग सिनु खाने चराहरूको आहारा हुने र त्यसलाई गाड्‌न पृथ्वीमा एउटा चिहान दिइने कुरा उल्लेख गरिएको छ। यसले गोग अदृश्‍य जीव होइन भनेर बुझाउँछ। साथै गोगले गर्ने आक्रमण दानिएल र प्रकाशको किताबमा चर्चा गरिएको पृथ्वीका राष्ट्रहरूले परमेश्‍वरका मानिसहरूलाई गर्ने आक्रमणसित मेल खान्छ।—दानि. ११:४०, ४४, ४५; प्रका. १७:१४; १९:१९.

के इजकिएलले देखेको मन्दिर पछि प्रेषित पावलले वर्णन गरेको महान्‌ आध्यात्मिक मन्दिर हो?

पहिलाको बुझाइ: इजकिएलले दर्शनमा देखेको मन्दिर र प्रेषित पावलले वर्णन गरेको आध्यात्मिक मन्दिर एउटै हो।

बुझाइमा गरिएको छाँटकाँट: इजकिएलले दर्शनमा देखेको मन्दिर इस्वी संवत्‌ २९ मा अस्तित्वमा आएको आध्यात्मिक मन्दिर थिएन। बरु त्यो मन्दिर यहुदीहरू निर्वासनबाट फर्केपछि मोसाको व्यवस्थामा उल्लेख गरिएको शुद्ध उपासना कसरी पुनर्स्थापित हुनेछ भन्‍ने कुराको झलक थियो। आध्यात्मिक मन्दिरबारे पावलको वर्णनले इस्वी संवत्‌ २९ देखि ३३ सम्म येसुले प्रधानपुजारीको रूपमा गर्नुभएको कामतर्फ ध्यान खिच्छ। तर इजकिएलको मन्दिरको दर्शनमा प्रधानपुजारीबारे उल्लेख गरिएको छैन र यस दर्शनले इस्वी संवत्‌ १९१९ देखि सुरु भएको आध्यात्मिक पुनर्स्थापनातर्फ ध्यान खिच्छ। त्यसकारण हामी इजकिएलले दर्शनमा देखेको मन्दिरको एक-एक भाग र नापको भविष्यसूचक अर्थ खोज्दैनौँ। बरु इजकिएलको दर्शनले शुद्ध उपासनाका लागि परमेश्‍वरले तोक्नुभएका स्तरहरूबारे कस्तो पाठ सिकाउँछ, त्यसमा ध्यान दिन्छौँ।

छाँटकाँट गरिनुको कारण: इजकिएलले दर्शनमा देखेको मन्दिर र आध्यात्मिक मन्दिरबीच थुप्रै भिन्‍नता छ। जस्तै: इजकिएलले देखेको मन्दिरमा थुप्रै बलिदान चढाइएको थियो तर आध्यात्मिक मन्दिरमा भने “एकै चोटि सदाको लागि” एउटै बलिदान चढाइयो। (हिब्रू ९:११, १२) ख्रिष्ट आउनुभन्दा अघिका शताब्दीहरूमा यहोवा परमेश्‍वरले आध्यात्मिक मन्दिरबारे गहन सत्य प्रकट गर्ने समय भइसकेको थिएन।