सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय ५

“तिनीहरूले कस्तो घोर दुष्ट र घिनलाग्दा काम गरिरहेका छन्‌, हेर”

“तिनीहरूले कस्तो घोर दुष्ट र घिनलाग्दा काम गरिरहेका छन्‌, हेर”

इजकिएल ८:९

मुख्य कुरा: धर्मत्यागी यहुदा आध्यात्मिक र नैतिक तवरमा खस्कन्छ

१-३. यरुसलेमको मन्दिरमा भइरहेको कस्तो कुरा इजकिएलले देखेको यहोवा परमेश्‍वर चाहनुहुन्थ्यो र किन? (भाग २ को परिचय र चित्र हेर्नुहोस्‌)

 भविष्यवक्‍ता इजकिएल पुजारीको छोरा भएकोले तिनलाई मोसाको व्यवस्था राम्ररी थाह थियो। त्यसैले यरुसलेमको मन्दिर र त्यहाँ यहोवा परमेश्‍वरलाई चढाउनुपर्ने शुद्ध उपासनाबारे पनि तिनलाई थाह थियो। (इज. १:३; मला. २:७) तर अहिले ईसापूर्व ६१२ मा यहोवा परमेश्‍वरको मन्दिरमा भइरहेको गतिविधिले इजकिएललगायत अरू जोसुकै वफादार यहुदीलाई स्तब्ध पार्ने थियो।

मन्दिरमा भइरहेका घृणित कुराहरू इजकिएलले देखेको अनि आफूले देखेको कुरा आफ्नो घरमा भेला भएका “यहुदाका नाइकेहरू”-लाई अर्थात्‌ तिनीसँगै निर्वासनमा रहेका सङ्‌गी यहुदीहरूलाई पनि बताएको यहोवा परमेश्‍वर चाहनुहुन्थ्यो। (इजकिएल ८:१-४ पढ्‌नुहोस्‌; इज. ११:२४, २५; २०:१-३) पवित्र शक्‍तिमार्फत यहोवा परमेश्‍वरले इजकिएललाई (दर्शनमा) बेबिलोनको केबार नदीनजिकै तेल-आबिबमा रहेको तिनको घरबाट सयौँ किलोमिटर टाढा पश्‍चिमतिर पर्ने यरुसलेम लैजानुहुन्छ। उहाँले भविष्यवक्‍ता इजकिएललाई मन्दिरको उत्तरतिर फर्केको भित्री चोकको ढोकामा पुऱ्‍याउनुहुन्छ। यस ठाउँबाट यहोवा परमेश्‍वरले इजकिएललाई दर्शनमार्फत मन्दिर घुमाउन सुरु गर्नुहुन्छ।

इजकिएलले अब चार वटा यस्तो दृश्‍य देख्छन्‌, जसबाट इस्राएल राष्ट्र आध्यात्मिक तवरमा खत्तम भएको कुरा प्रस्ट हुन्छ। शुद्ध उपासना कसरी त्यस्तो हालतमा पुग्यो? यस दर्शनले आज हाम्रो लागि कस्तो अर्थ राख्छ? आउनुहोस्‌, हामी पनि इजकिएलसँगै मन्दिर घुमौँ। तर त्योभन्दा पहिला यहोवा परमेश्‍वरले आफ्ना उपासकहरूबाट कस्तो जायज माग गर्नुभएको छ, त्यो बुझौँ।

“मबाहेक अरू कसैको भक्‍ति गरिएको सहँदिनँ”

४. यहोवा परमेश्‍वर आफ्ना उपासकहरूबाट के चाहनुहुन्छ?

इजकिएलको समयभन्दा झन्डै नौ सय वर्षअघि यहोवा परमेश्‍वरले उहाँ आफ्ना उपासकहरूबाट के चाहनुहुन्छ भनेर प्रस्टैसित बताउनुभएको थियो। उहाँले इस्राएलीहरूलाई दिनुभएको दस आज्ञामध्ये दोस्रो आज्ञा यस्तो थियो: * “म यहोवा तिमीहरूका परमेश्‍वर मबाहेक अरू कसैको भक्‍ति गरिएको सहँदिनँ।” (प्रस्थ. २०:५) हो, यहोवा परमेश्‍वर आफ्ना उपासकहरूले अरू कुनै देवीदेवताको उपासना गरेको सहनुहुन्‍न। हामीले यस प्रकाशनको अध्याय २ मा छलफल गरेझैँ शुद्ध उपासनाको पहिलो आवश्‍यकता भनेको हाम्रो उपासना पाउने व्यक्‍ति यहोवा परमेश्‍वर मात्र हुनुपर्छ। उहाँका उपासकहरूले आफ्नो जीवनमा उहाँलाई पहिलो स्थान दिनुपर्छ। (प्रस्थ. २०:३) सरल शब्दमा भन्‍ने हो भने, यहोवा परमेश्‍वर आफ्ना उपासकहरूले साँचो उपासनामा झूटा कुराहरू छ्यासमिस नगरेको र आध्यात्मिक तवरमा स्वच्छ रहेको चाहनुहुन्छ। ईसापूर्व १५१३ मा इस्राएलीहरू राजीखुसीले व्यवस्थाको करारमा बाँधिए। यसरी तिनीहरू यहोवा परमेश्‍वरको मात्र भक्‍ति गर्न सहमत भए। (प्रस्थ. २४:३-८) यहोवा परमेश्‍वर आफ्ना करारहरू पूरा गर्ने सन्दर्भमा वफादार हुनुहुन्छ। त्यसैले उहाँसित करारमा बाँधिएका मानिसहरूबाट पनि उहाँले त्यस्तै आशा गर्नुभयो।—व्यव. ७:९, १०; २ समु. २२:२६.

५, ६. किन यहोवा परमेश्‍वर मात्र इस्राएलीहरूको भक्‍ति पाउन लायकको हुनुहुन्थ्यो?

यहोवा परमेश्‍वर इस्राएलीहरूले उहाँको मात्र उपासना गरेको चाहनुहुन्थ्यो। तर त्यस्तो माग गर्नु के व्यावहारिक थियो? निश्‍चय पनि! उहाँ सर्वशक्‍तिमान्‌ परमेश्‍वर, ब्रह्‍माण्डको मालिक, जीवनको मूल र हाम्रो जीवन धान्‍ने व्यक्‍ति हुनुहुन्छ। (भज. ३६:९; प्रेषि. १७:२८) यहोवा परमेश्‍वर इस्राएलीहरूको उद्धारक पनि हुनुहुन्थ्यो। दस आज्ञा दिनुहुँदा उहाँले तिनीहरूलाई यो कुरा सम्झाउनुभयो: “तिमीहरूलाई दासत्वको घर—मिश्रबाट छुटाएर ल्याउने म यहोवा तिमीहरूका परमेश्‍वर हुँ।” (प्रस्थ. २०:२) पक्कै पनि यहोवा परमेश्‍वर मात्र इस्राएलीहरूको भक्‍ति पाउन लायकको हुनुहुन्थ्यो।

यहोवा परमेश्‍वर कहिल्यै परिवर्तन हुनुहुन्‍न। (मला. ३:६) यहोवा सधैँ उहाँको मात्र भक्‍ति गरिएको चाहनुहुन्छ। त्यसैले सोच्नुहोस्‌ त, अब उहाँले इजकिएललाई देखाउन लाग्नुभएको चार घिनलाग्दा दृश्‍यहरू उहाँलाई कस्तो लाग्यो होला!

पहिलो दृश्‍य: परमेश्‍वरलाई रिस उठाउने मूर्ति

७. (क) धर्मत्यागी यहुदीहरू मन्दिरको उत्तर ढोकामा के गरिरहेका थिए र त्यो देख्दा यहोवा परमेश्‍वरलाई कस्तो लाग्यो? (शीर्षकमाथिको चित्र हेर्नुहोस्‌) (ख) कुन अर्थमा यहोवा परमेश्‍वर रिसाउनुभयो अर्थात्‌ डाही हुनुभयो? (फुटनोट हेर्नुहोस्‌)

इजकिएल ८:५, ६ पढ्‌नुहोस्‌। त्यो दृश्‍य देखेर इजकिएल कत्ति स्तब्ध भए होलान्‌! मन्दिरको उत्तर ढोकामा धर्मत्यागी यहुदीहरू मूर्तिपूजा गरिरहेका थिए। सायद त्यो मूर्ति असेरा देवीलाई सङ्‌केत गर्ने पवित्र खामो थियो, जसलाई कनानीहरूले बाआलको पत्नीको रूपमा पुज्थे। तर त्यो खामो जोसुकैको भए पनि ती मूर्तिपूजक इस्राएलीहरूले यहोवा परमेश्‍वरसित बाँधेको करार तोडे। यहोवा परमेश्‍वरले मात्र पाउनुपर्ने भक्‍ति त्यो मूर्तिलाई दिएकोले उहाँ रिसाउनुभयो अर्थात्‌ डाही हुनुभयो। उहाँ त्यसरी रिसाउनु उचित थियो। * (व्यव. ३२:१६; इज. ५:१३) विचार गर्नुहोस्‌ त: चार सय वर्षभन्दा धेरै समयदेखि त्यो मन्दिर यहोवा परमेश्‍वरको वासस्थान थियो। (१ राजा ८:१०-१३) तर अहिले सोही मन्दिर परिसरमा मूर्तिपूजा गर्न थालेर ती मूर्तिपूजकहरूले यहोवा परमेश्‍वरलाई “आफ्नो पवित्र स्थानबाट टाढा जान बाध्य” बनाए।

८. परमेश्‍वरलाई रिस उठाउने मूर्तिले आज हाम्रो समयमा कस्तो अर्थ राख्छ?

परमेश्‍वरलाई रिस उठाउने मूर्तिले आज हाम्रो समयमा कस्तो अर्थ राख्छ? धर्मत्यागी यहुदाको चालढालले पक्कै पनि हामीलाई चर्चजगत्‌को सम्झना दिलाउँछ। चर्चजगत्‌मा मूर्तिपूजा व्याप्त छ, जसको कारण तिनीहरूले परमेश्‍वरको उपासना गरेको दाबी गरे तापनि त्यो व्यर्थ हुन्छ। परमेश्‍वर परिवर्तन हुनुहुन्‍न, त्यसैले धर्मत्यागी यहुदाले जस्तै चर्चजगत्‌ले पनि उहाँलाई रिस उठाएको छ र उहाँ त्यसरी रिसाउनु उचित हो। (याकु. १:१७) पक्कै पनि यहोवा परमेश्‍वर चर्चजगत्‌देखि टाढा हुनुहुन्छ!

९, १०. मन्दिरमा मूर्तिपूजा गरिरहेका मानिसहरूबाट हामी कस्तो चेतावनीमूलक पाठ सिक्न सक्छौँ?

मन्दिरमा मूर्तिपूजा गरिरहेका ती मानिसहरूबाट हामी कस्तो चेतावनीमूलक पाठ सिक्न सक्छौँ? यहोवा परमेश्‍वरलाई मात्र भक्‍ति चढाउन हामी ‘मूर्तिपूजाबाट भाग्नै पर्छ।’ (१ कोरि. १०:१४) तर हामी यस्तो सोचौँला, ‘म यहोवा परमेश्‍वरको उपासनामा कहिल्यै मूर्ति वा कुनै प्रकारको आकृति चलाउँदिनँ।’ तर मूर्तिपूजाको विभिन्‍न रूप हुन्छ, जसमध्ये कतिपय मूर्तिपूजा नै हो भनेर झट्टै नदेखिन सक्छ। बाइबलसम्बन्धी एउटा पुस्तकमा यसबारे यसो भनिएको छ: “परमेश्‍वरको उपासनालाई भन्दा बहुमूल्य चिजबिज, शक्‍तिजस्ता कुराहरूलाई महत्त्वपूर्ण ठान्छौँ भने त्यसलाई पनि मूर्तिपूजा भन्‍न सकिन्छ।” त्यसकारण मूर्तिपूजामा भौतिक चिजबिज, पैसा, यौनसम्बन्ध, मनोरञ्जनजस्ता कुराहरू समावेश हुन सक्छ। अर्को शब्दमा भन्‍नुपर्दा, मूर्तिपूजामा हाम्रो जीवनमा सबैभन्दा धेरै महत्त्व पाउने जुनसुकै कुरा पर्न सक्छ, जसले यहोवा परमेश्‍वरले मात्र पाउनुपर्ने भक्‍तिको ठाउँ लिन्छ। (मत्ति ६:१९-२१, २४; एफि. ५:५; कल. ३:५) हामी सबै प्रकारको मूर्तिपूजादेखि अलग रहनुपर्छ किनभने यहोवा परमेश्‍वर हामीले उहाँको मात्र भक्‍ति गरेको अर्थात्‌ उहाँको मात्र उपासना गरेको चाहनुहुन्छ।—१ युह. ५:२१.

१० यहोवा परमेश्‍वरले इजकिएललाई देखाउनुभएको पहिलो दृश्‍य “घिनलाग्दा कुराहरू”-ले भरिएको थियो। तर उहाँले वफादार भविष्यवक्‍ता इजकिएललाई यसो भन्‍नुभयो: “तर तिमीले यीभन्दा अझ घिनलाग्दा कुराहरू देख्नेछौ।” मन्दिर परिसरमा परमेश्‍वरलाई रिस उठाउने मूर्तिलाई पुज्नुभन्दा घिनलाग्दो कुरा अरू केही थियो होला र?

दोस्रो दृश्‍य: ७० जना नाइके झूटा देवताहरूलाई धूप चढाउँदै

११. मन्दिरको वेदीनजिकै भित्री चोकमा पस्दा इजकिएलले कस्तो घिनलाग्दो दृश्‍य देखे?

११ इजकिएल ८:७-१२ पढ्‌नुहोस्‌। भित्तामा प्वाल पारेर वेदीनजिकै भित्री चोकमा पस्दा इजकिएलले भित्तामा “घस्रने जन्तु र घिनलाग्दा पशुका आकृतिहरू अनि . . . सबै खालका घिनलाग्दा मूर्तिहरूको आकृति” कुँदिएको देखे। * भित्तामा कुँदिएका ती आकृतिहरू झूटा देवीदेवताका प्रतीक थिए। इजकिएलले यसपछि देखेको कुरा अझै घिनलाग्दो थियो, “इस्राएलको घरानाका ७० जना नाइके” “अँध्यारोमा” उभिएर झूटा देवताहरूलाई धूप चढाइरहेका थिए। मोसाको व्यवस्थाअन्तर्गत सुगन्धित धूपले वफादार उपासकहरूले चढाएको ग्रहणयोग्य प्रार्थनालाई बुझाउँथ्यो। (भज. १४१:२) तर ती ७० जना नाइकेले झूटा देवताहरूलाई चढाएको धूप यहोवा परमेश्‍वरको निम्ति अशुद्ध थियो। तिनीहरूको प्रार्थना उहाँको लागि दुर्गन्धित थियो। (हितो. १५:८) ती नाइकेहरूले “यहोवाले हामीलाई देख्नुहुन्‍न” भनी सोच्दै आफैलाई झुक्क्याउन खोजे। तर यहोवा परमेश्‍वरले तिनीहरूलाई देखिरहनुभएको थियो र तिनीहरूले उहाँको मन्दिरमा गरिरहेको एक-एक कुरा उहाँले इजकिएललाई देखाउनुभयो।

“अँध्यारोमा” गरिएको सबै घिनलाग्दो काम यहोवा परमेश्‍वर देख्नुहुन्छ (अनुच्छेद ११ हेर्नुहोस्‌)

१२. हामी “अँध्यारोमा” पनि किन वफादार रहनुपर्छ? यस सन्दर्भमा विशेषगरि कसले असल उदाहरण बसाल्नुपर्छ?

१२ झूटा देवताहरूलाई धूप चढाउने इस्राएलका ती ७० जना नाइकेबारे इजकिएलको विवरणबाट हामी के सिक्न सक्छौँ? परमेश्‍वरले हाम्रो प्रार्थना सुन्‍नुभएको र उहाँको नजरमा हाम्रो उपासना शुद्ध ठहरिएको चाहन्छौँ भने हामी “अँध्यारोमा” समेत उहाँप्रति वफादार रहनुपर्छ। (हितो. १५:२९) यहोवा परमेश्‍वरले हामीले गर्ने सबै कुरा देख्नुहुन्छ भनेर नबिर्सौँ। यहोवा परमेश्‍वर हाम्रो लागि वास्तविक हुनुहुन्छ भने एक्लै हुँदा पनि उहाँलाई अप्रसन्‍न तुल्याउने कुनै कुरा गर्दैनौँ। (हिब्रू ४:१३) विशेषगरि मण्डलीका एल्डरहरूले बाइबल सिद्धान्तहरूअनुसार जीवन बिताउने सन्दर्भमा असल उदाहरण बसाल्नुपर्छ। (१ पत्रु. ५:२, ३) मञ्चबाट सिकाउने र उपासनामा नेतृत्व लिने एल्डरहरूबाट मण्डलीका सबैले एल्डरहरू “अँध्यारोमा” समेत अर्थात्‌ अरूले नदेख्ने बेलामा समेत बाइबल सिद्धान्तहरूअनुसार चलेको आशा गर्नु उचित हो।—भज. १०१:२, ३.

तेस्रो दृश्‍य: “स्त्रीहरू . . . तम्मुज देवताको लागि रोइरहेका”

१३. धर्मत्यागी स्त्रीहरूले मन्दिरको एउटा ढोकामा के गरिरहेको इजकिएलले देखे?

१३ इजकिएल ८:१३, १४ पढ्‌नुहोस्‌। घिनलाग्दा कुराहरूबारे पहिलो दुइटा दृश्‍य इजकिएललाई देखाएपछि यहोवा परमेश्‍वरले तिनलाई यसो भन्‍नुभयो: “तिनीहरूले यीभन्दा पनि घिनलाग्दा कुराहरू गरिरहेको तिमीले देख्नेछौ।” त्यसोभए इजकिएलले त्यसपछि के देखे? तिनले “यहोवाको मन्दिरको उत्तर ढोकामा . . . स्त्रीहरू बसेर तम्मुज देवताको लागि रोइरहेका” देखे। तम्मुज मेसोपोटामियाको एउटा देवता थियो, जसलाई पुरातन सुमेरी लेखोटमा दुमुजी भनिएको छ र तिनी प्रजनन देवी इश्‍तारका प्रेमी हुन्‌ भन्‍ने धारणा छ। * ती इस्राएली स्त्रीहरू तम्मुजको मृत्युसित सम्बन्धित कुनै धार्मिक परम्परा पछ्याउँदै रोइरहेको हुनुपर्छ। यसरी यहोवा परमेश्‍वरको मन्दिरमा तम्मुजको लागि रोएर ती स्त्रीहरूले शुद्ध उपासनाको केन्द्रमै मूर्तिपूजासित सम्बन्धित कुराहरू गरिरहेका थिए। तर झूटो उपासना परमेश्‍वरको मन्दिरमा गर्दैमा त्यो ग्रहणयोग्य हुने थिएन। वास्तवमा ती धर्मत्यागी स्त्रीहरूले यहोवा परमेश्‍वरको नजरमा “घिनलाग्दा कुराहरू” गरिरहेका थिए!

१४. धर्मत्यागी स्त्रीहरूले गरिरहेको कामप्रति यहोवा परमेश्‍वरको दृष्टिकोणबाट हामी कस्तो पाठ सिक्न सक्छौँ?

१४ ती स्त्रीहरूले गरिरहेको कामप्रति यहोवा परमेश्‍वरको दृष्टिकोणबाट हामी कस्तो पाठ सिक्न सक्छौँ? हाम्रो उपासना शुद्ध बनाइराख्न हामीले त्यसमा कहिल्यै झूटा रीतिथितिहरू छ्यासमिस गर्नु हुँदैन। त्यसैले झूटो धर्मबाट सुरु भएका चाडपर्वहरूबाट हामी पूरै अलग रहनुपर्छ। त्यस्ता चाडपर्वहरू कहाँबाट सुरु भयो भन्‍ने कुराले के कुनै फरक पार्छ? हो, पार्छ! आज क्रिसमस, इस्टर, जन्मदिनलगायत अन्य चाडपर्वहरू मनाउँदा केही फरक पर्दैन जस्तो लाग्न सक्छ। तर यो कुरा नबिर्सौँ, झूटा धार्मिक प्रचलनहरू सुरु भएको यहोवा परमेश्‍वर आफैले देख्नुभएको थियो र यी नै प्रचलनहरू आज पनि मानिसहरू मनाउने गर्छन्‌। मानिसहरूले त्यस्ता प्रचलनहरू मनाउन थालेको धेरै समय हुँदैमा अथवा तिनीहरूले त्यसलाई शुद्ध उपासनासित छ्यासमिस गर्न खोज्दैमा यहोवा परमेश्‍वरको नजरमा ती प्रचलनहरू कम घिनलाग्दो हुँदैनन्‌।—२ कोरि. ६:१७; प्रका. १८:२, ४.

चौथो दृश्‍य: २५ जना पुरुष “सूर्यलाई ढोगिरहेका”

१५, १६. मन्दिरको भित्री चोकमा २५ जना पुरुष के गरिरहेका थिए र तिनीहरूको कामले कसरी यहोवा परमेश्‍वरको घोर अपमान गऱ्‍यो?

१५ इजकिएल ८:१५-१८ पढ्‌नुहोस्‌। अब यहोवा परमेश्‍वरले चौथो र अन्तिम दृश्‍य फेरि यी शब्दहरू भन्दै सुरु गर्नुहुन्छ: “तिमीले यीभन्दा अझ घिनलाग्दा कुरा देख्नेछौ।” इजकिएलले यस्तो सोचेको हुनुपर्छ, ‘मैले अहिलेसम्म देखेका कुराहरूभन्दा घिनलाग्दो कुरा अर्को कुन हुन सक्छ र?’ इजकिएल मन्दिरको भित्री चोकमा थिए। त्यहाँ मन्दिरको ढोकामा तिनले २५ जना पुरुषले “पूर्वतिर सूर्यलाई ढोगिरहेका” देखे। ती पुरुषहरूले यहोवा परमेश्‍वरको अपमान गर्ने योभन्दा नराम्रो तरिका अरू के नै हुन सक्थ्यो र?

१६ यो दृश्‍य कल्पना गर्नुहोस्‌: परमेश्‍वरको मन्दिरको ढोका पूर्वतिर फर्केको थियो। मन्दिरमा पस्ने उपासकहरूको अनुहार पश्‍चिमतिर र ढाडचाहिँ सूर्य उदाउने दिशा पूर्वतिर फर्केको हुन्थ्यो। तर दर्शनका ती २५ जना पुरुषले “आफ्नो ढाड यहोवाको मन्दिरतिर” फर्काए र पूर्वतिर हेरेर सूर्यको उपासना गरे। त्यो “यहोवा परमेश्‍वरको भवन” भएकोले त्यसतिर ढाड फर्काउनु भनेको यहोवा परमेश्‍वरलाई नै ढाड फर्काउनुसरह थियो। (१ राजा ८:१०-१३) ती २५ जना पुरुष धर्मत्यागी थिए। तिनीहरूले यहोवा परमेश्‍वरको बेवास्ता गरे र व्यवस्था ४:१५-१९ मा उल्लिखित आज्ञा उल्लङ्‌घन गरे। भक्‍ति पाउन एक मात्र लायक परमेश्‍वरको कत्रो अपमान!

यहोवा हाम्रो भक्‍ति पाउन एक मात्र लायक परमेश्‍वर हुनुहुन्छ

१७, १८. (क) मन्दिरमा सूर्यलाई ढोग्नेहरूको विवरणबाट हामी कस्तो पाठ सिक्न सक्छौँ? (ख) धर्मत्यागी इस्राएलीहरूले को-कोसितको सम्बन्ध बिगारे र कसरी?

१७ सूर्यलाई ढोग्ने ती पुरुषहरूको विवरणबाट हामी कस्तो पाठ सिक्न सक्छौँ? आफ्नो उपासना शुद्ध बनाइराख्न आध्यात्मिक ज्योतिको लागि हामी यहोवा परमेश्‍वरमा भर पर्नुपर्छ। “यहोवा परमेश्‍वर नै हाम्रो सूर्य . . . हुनुहुन्छ” र उहाँको वचन हाम्रो बाटोको निम्ति “ज्योति हो” भनेर नबिर्सनुहोस्‌। (भज. ८४:११; ११९:१०५) यहोवा परमेश्‍वर हामीलाई उहाँको वचन र उहाँको सङ्‌गठनले प्रबन्ध गरेका बाइबलआधारित प्रकाशनहरूमार्फत हाम्रो दिमाग अनि हृदयलाई ज्योति दिनुहुन्छ, जुन ज्योतिले हामीलाई अहिल्यै सन्तोषजनक जीवन बिताउन र भविष्यमा अनन्त जीवन पाउन मदत गर्छ। तर ज्योतिको लागि यस संसारमा भर पऱ्‍यौँ भने हामीले यहोवा परमेश्‍वरतर्फ आफ्नो ढाड फर्काइरहेका हुन्छौँ। त्यसो गऱ्‍यौँ भने हामीले उहाँको घोर अपमान गरिरहेका र उहाँको मन दुखाइरहेका हुन्छौँ। हामी आफ्नो परमेश्‍वरलाई कहिल्यै त्यसो गर्न चाहँदैनौँ! यहोवा परमेश्‍वरतर्फ आफ्नो ढाड फर्काउनेहरू अर्थात्‌ धर्मत्यागीहरूबाट टाढा बस्नको लागि पनि इजकिएलको दर्शनले हामीलाई होसियार गराउँछ।—हितो. ११:९.

१८ यहाँसम्म हामीले इजकिएलले मूर्तिपूजा र झूटो उपासनाको चार वटा घिनलाग्दो दृश्‍य देखेको विषयमा बुझ्यौँ, जसबाट धर्मत्यागी यहुदा आध्यात्मिक रूपमा कुन हदसम्म बिटुलो भएको थियो भनेर स्पष्ट हुन्छ। आध्यात्मिक तवरमा अशुद्ध भएर ती इस्राएलीहरूले परमेश्‍वर र इस्राएल राष्ट्रबीचको सम्बन्धलाई खत्तम पारे। तर जहाँ आध्यात्मिक अशुद्धता हुन्छ, त्यहाँ नैतिक अशुद्धता पनि हुन्छ। धर्मत्यागी इस्राएलीहरूले पनि हर किसिमका अनैतिक कुराहरू गरे, जसले गर्दा परमेश्‍वरसितको सम्बन्ध मात्र नभई अरूसितको सम्बन्ध पनि बिग्रियो। अब हामी धर्मत्यागी यहुदा नैतिक तवरमा कुन हदसम्म खस्किएको थियो भन्‍नेबारे भविष्यवक्‍ता इजकिएलले परमेश्‍वरको प्रेरणा पाएर के लेखे, हेरौँ।

नैतिक अशुद्धता—तिनीहरू “छाडा काम गर्न छोड्‌दैनन्‌”

१९. यहोवा परमेश्‍वरसित करारमा बाँधिएका मानिसहरूको नैतिक पतनबारे इजकिएलले के भने?

१९ इजकिएल २२:३-१२ पढ्‌नुहोस्‌। इस्राएल राष्ट्रमा शासकदेखि प्रजासम्म नैतिक रूपमा भ्रष्ट भएका थिए। “कुलनायक” अर्थात्‌ अगुवाहरू निर्दोष मानिसहरूको हत्या गर्न आफ्नो अख्तियारको दुरुपयोग गर्थे। सर्वसाधारणले पनि आफ्ना अगुवाहरूको देखासिकी गर्दै परमेश्‍वरको व्यवस्था तोडिरहेका थिए। परिवारमा छोराछोरीले आफ्ना आमाबुबाको “अपमान” गर्थे र हाडनाताकरणी व्याप्त थियो। विद्रोही इस्राएलीहरू विदेशीहरूलाई ठग्थे अनि अनाथ र विधवाहरूलाई दुर्व्यवहार गर्थे। इस्राएली पुरुषहरू छिमेकीका पत्नीहरूसित घिनलाग्दो व्यवहार गर्थे। अचाक्ली लोभी भएकोले मानिसहरू घुस खान्थे, पैसा धुत्थे अनि पैसा सापटी दिँदा चर्को ब्याज लिन्थे। आफूसित करारमा बाँधिएका मानिसहरूले व्यवस्थालाई जानाजानी बेवास्ता गरेको देख्दा यहोवा परमेश्‍वरको मन कति दुख्यो होला! तिनीहरूप्रतिको प्रेमले गर्दा उहाँले तिनीहरूलाई त्यो व्यवस्था दिनुभएको थियो भनेर तिनीहरूले बिर्से। तिनीहरूको नैतिकता त्यो हदसम्म खस्केको देख्दा यहोवा परमेश्‍वरलाई साह्रै पीडा भयो। त्यसैले उहाँले ती अनैतिक मानिसहरूलाई यसो भन्‍न इजकिएललाई निर्देशन दिनुभयो: “तिमीले मलाई चटक्कै बिर्सेकी छ्यौ।”

चर्चजगत्‌को प्रभावको कारण यो संसार हिंसा र अनैतिकताको दलदलमा झन्‌झनै फस्दै गइरहेको छ (अनुच्छेद २० हेर्नुहोस्‌)

२०. यहुदाको नैतिक अशुद्धताबारे इजकिएलले भनेका कुराहरू आज हाम्रो समयमा पनि किन अर्थपूर्ण छ?

२० यहुदाको नैतिक अशुद्धताबारे इजकिएलले भनेका कुराहरू आज हाम्रो समयमा पनि किन अर्थपूर्ण छ? धर्मत्यागी यहुदा नैतिक तवरमा भ्रष्ट भएको कुराले हामीलाई नैतिक तवरमा खत्तम यस संसारको सम्झना दिलाउँछ। राजनैतिक नेताहरूले आफ्नो अख्तियारको दुरुपयोग गरेर सर्वसाधारणमाथि अत्याचार गरेका छन्‌। धर्मगुरुहरू, खासगरि चर्चका पादरीहरूले राष्ट्रहरूबीचको युद्धमा आशिष्‌ दिएका छन्‌ र त्यस्ता युद्धहरूमा लाखौं मानिसले ज्यान गुमाएका छन्‌। साथै ती पादरीहरूले यौनसम्बन्धी बाइबलको शुद्ध र स्पष्ट स्तरलाई फितलो बनाएका छन्‌। फलस्वरूप हामी बाँचिरहेको संसारको नैतिक स्तर झन्‌झन्‌ खस्किँदै गएको छ। यहोवा परमेश्‍वरले चर्चजगत्‌लाई पनि धर्मत्यागी यहुदालाई जस्तै यसो भन्‍नुहुनेछ: “तिमीले मलाई चटक्कै बिर्सेकी छ्यौ।”

२१. पुरातन यहुदाको नैतिक अशुद्धताबाट हामी के सिक्न सक्छौँ?

२१ पुरातन यहुदाको नैतिक अशुद्धताबाट हामी के सिक्न सक्छौँ? यहोवा परमेश्‍वरलाई स्वीकार्य तरिकामा उपासना गर्न हामी आफ्नो जीवनको हरेक पक्षमा शुद्ध हुनुपर्छ। नैतिक तवरमा भ्रष्ट यस संसारमा यसो गर्न पक्कै सजिलो छैन। (२ तिमो. ३:१-५) तर हरप्रकारको नैतिक अशुद्धताप्रति यहोवा परमेश्‍वर कस्तो दृष्टिकोण राख्नुहुन्छ, हामीलाई थाह छ। (१ कोरि. ६:९, १०) हामी यहोवा परमेश्‍वरका नैतिक स्तरहरू पालन गर्छौँ किनभने हामी उहाँलाई र उहाँको व्यवस्थालाई प्रेम गर्छौँ। (भज. ११९:९७; १ युह. ५:३) नैतिक तवरमा अशुद्ध हुँदा हामीले पवित्र र शुद्ध परमेश्‍वरलाई प्रेम नगरेको कुरा देखाइरहेका हुन्छौँ। हामी यहोवा परमेश्‍वरलाई कहिल्यै यसो भन्‍ने कारण दिन चाहँदैनौँ: ‘तिमीले मलाई चटक्कै बिर्सेका छौ।’

२२. (क) पुरातन यहुदाका कर्तुतहरू यहोवा परमेश्‍वरले उदाङ्‌ग पार्नुभएको कुरालाई केलाएर हेरेपछि तपाईँले कस्तो सङ्‌कल्प गर्नुभएको छ? (ख) अर्को अध्यायमा हामी के छलफल गर्नेछौँ?

२२ पुरातन यहुदा आध्यात्मिक र नैतिक तवरमा कुन हदसम्म खस्किएको थियो भनेर यहोवा परमेश्‍वरले उदाङ्‌ग पार्नुभयो। त्यो कुरालाई केलाएर हेर्दा हामीले पनि महत्त्वपूर्ण पाठहरू सिक्यौँ। हाम्रो भक्‍ति पाउन एक मात्र लायक परमेश्‍वर यहोवाको उपासना गर्ने हाम्रो सङ्‌कल्प अझ बलियो भएको छ। त्यसो गर्न हामी हर किसिमको मूर्तिपूजाबाट अलग रहनुपर्छ र नैतिक तवरमा शुद्ध हुनुपर्छ। तर यहोवा परमेश्‍वरले यहुदाका ती विश्‍वासघाती मानिसहरूलाई के गर्नुभयो? मन्दिर घुम्न सिद्धिएपछि यहोवा परमेश्‍वरले इजकिएललाई स्पष्टसित यसो भन्‍नुभयो: “तिनीहरूमाथि मेरो क्रोध दन्कनेछ।” (इज. ८:१७, १८) यहोवा परमेश्‍वरले विश्‍वासघाती यहुदाविरुद्ध कस्तो कदम चाल्नुभयो, हामी जान्‍न चाहन्छौँ किनभने यस दुष्ट संसारले पनि त्यस्तै न्यायदण्ड पाउनेछ। अर्को अध्यायमा यहोवा परमेश्‍वरले यहुदामाथि कसरी न्यायदण्ड ल्याउनुभयो, त्यसबारे छलफल गर्नेछौँ।

^ इजकिएलको किताबमा “इस्राएल” भन्‍ने अभिव्यक्‍ति अक्सर यहुदा र यरुसलेमका बासिन्दाहरूलाई बुझाउन चलाइएको छ।—इज. १२:१९, २२; १८:२; २१:२, ३.

^ ‘रिस उठाउनु’ भन्‍ने अभिव्यक्‍तिबाट यहोवा परमेश्‍वर उहाँप्रति वफादार रहने कुरालाई कत्ति गम्भीरतासाथ लिनुहुन्छ भनेर प्रस्ट हुन्छ। उदाहरणको लागि, आफ्नी पत्नी आफूप्रति अवफादार भयो भने पतिले महसुस गर्ने रिस अर्थात्‌ डाहलाई विचार गर्न सक्छौँ। (हितो. ६:३४) ती पतिजस्तै यहोवा परमेश्‍वर पनि आफूसित करारमा बाँधिएका मानिसहरूले मूर्तिपूजा गरेर उहाँप्रति अवफादार हुँदा रिसाउनु अर्थात्‌ डाही हुनु उचित थियो। एउटा पुस्तकमा बताइएअनुसार “परमेश्‍वरको डाह उहाँको पवित्रतासित सम्बन्धित छ। उहाँ मात्र पवित्र परमेश्‍वर हुनुभएकोले उहाँ आफूबाहेक अरू कसैको भक्‍ति गरिएको सहनुहुन्‍न।”—प्रस्थ. ३४:१४.

^ “घिनलाग्दा मूर्तिहरू” भनेर यहाँ प्रयोग भएको हिब्रू शब्द “जनावरको दिसा” जनाउने शब्दसित सम्बन्धित हुन सक्छ र यसलाई घृणा व्यक्‍त गर्न प्रयोग गरिएको छ।

^ कसै-कसैको विचारमा तम्मुज निम्रोदको अर्को नाम हो। तर यसो भन्‍न सक्ने कुनै ठोस आधार छैन।