सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय १

“तिमीहरूले यहोवा तिमीहरूका परमेश्‍वरको उपासना गर्नुपर्छ”

“तिमीहरूले यहोवा तिमीहरूका परमेश्‍वरको उपासना गर्नुपर्छ”

मत्ति ४:१०

मुख्य कुरा: शुद्ध उपासना किन पुनर्स्थापित हुनुपर्छ?

१, २. इस्वी संवत्‌ २९ को शरद्‌ ऋतुमा येसु यहुदियाको निर्जनभूमिमा कसरी पुग्नुभयो र त्यहाँ के भयो? (शीर्षकमाथिको चित्र हेर्नुहोस्‌)

 इस्वी संवत्‌ २९ को कुरा हो। भर्खरै शरद्‌ ऋतु सुरु भएको छ। येसु मृत सागरको उत्तरमा पर्ने यहुदियाको निर्जनभूमिमा हुनुहुन्छ। बप्तिस्मा गरेर अभिषेक हुनुभएपछि पवित्र शक्‍तिले उहाँलाई त्यस निर्जनभूमितिर डोऱ्‍यायो। चट्टानै-चट्टान र खोचहरू भएको यस उजाड ठाउँमा येसुले उपवास बसेर अनि प्रार्थना र मनन गरेर ४० दिन बिताउनुभयो। सम्भवतः यही समयमा यहोवा परमेश्‍वरले आफ्नो छोरासित कुराकानी गर्नुभयो र उहाँलाई अब हुनै लागेका कुराहरूको लागि तयार पार्नुभयो।

त्यतिबेला येसु भोकले गर्दा कमजोर हुनुभएको थियो र सैतान उहाँकहाँ आयो। यसपछि भएको घटनाबाट एउटा महत्त्वपूर्ण विषय छर्लङ्‌ग भयो, जसमा तपाईँ र शुद्ध उपासनालाई प्रेम गर्ने सबै जना मुछिएका छन्‌।

“तपाईँ परमेश्‍वरको छोरा हुनुहुन्छ भने . . . ”

३, ४. (क) सैतानले येसुलाई पहिलो र दोस्रो पटक प्रलोभनमा पार्न खोज्दा सुरुमा के भन्यो र त्यसले येसुलाई कुन कुरामा शङ्‌का गर्न लगाउन खोज्दै थियो? (ख) आज पनि सैतानले कसरी त्यस्तै चाल चल्छ?

मत्ति ४:१-७ पढ्‌नुहोस्‌। येसुलाई पहिलो र दोस्रो पटक प्रलोभनमा पार्न खोज्दा सैतानले धुर्त्याइँका साथ यसरी कुरा सुरु गऱ्‍यो, “तपाईँ परमेश्‍वरको छोरा हुनुहुन्छ भने।” येसु परमेश्‍वरको छोरा हुनुहुन्छ भन्‍ने कुरामा के सैतानलाई शङ्‌का थियो? थिएन। त्यो विद्रोही स्वर्गदूतलाई येसु परमेश्‍वरको पहिलो सन्तान हुनुहुन्छ भनेर राम्ररी थाह थियो। (कल. १:१५) येसुको बप्तिस्माको बेला यहोवाले स्वर्गबाट भन्‍नुभएको यो कुरा पनि सैतानलाई पक्कै थाह थियो: “यिनी मेरो प्यारो छोरा हुन्‌, जसलाई मैले स्विकारेको छु।” (मत्ति ३:१७) आफ्नो बुबा भरोसा गर्न लायक हुनुहुन्छ कि हुनुहुन्‍न अथवा उहाँले साँच्चै ख्याल राख्नुहुन्छ कि राख्नुहुन्‍न भनेर येसुले शङ्‌का गरेको सैतान चाहन्थ्यो। ढुङ्‌गालाई रोटी बनाउने पहिलो प्रलोभनमा पार्न खोज्दा सैतानले वास्तवमा यसो भन्‍न खोज्दै थियो: ‘तपाईँ त परमेश्‍वरको छोरा हो नि! यस्तो उजाड भूमिमा पनि तपाईँको बुबाले तपाईँलाई किन केही खुवाउनुभएन?’ साथै येसुलाई मन्दिरको पर्खालको बुर्जाबाट हाम फाल्नुहोस्‌ भनेर दोस्रो प्रलोभनमा पार्न खोज्दा त्यसले यसो भन्‍न खोज्दै थियो: ‘तपाईँ परमेश्‍वरको छोरा हुनुभएकोले बुबाले तपाईँलाई जोगाउनुहुन्छ भन्‍ने कुरामा के तपाईँ साँच्चै भरोसा गर्नुहुन्छ?’

आज पनि सैतानले त्यस्तै चाल चल्छ। (२ कोरि. २:११) त्यो प्रलोभक परमेश्‍वरका साँचो उपासकहरू कहिले कमजोर र निराश होलान्‌ भनी ढुकेर बस्छ अनि मौका पाउनेबित्तिकै त्यसले अक्सर धुर्त्याइँका साथ आक्रमण गर्छ। (२ कोरि. ११:१४) त्यसले यहोवा परमेश्‍वर हामीलाई माया गर्नुहुन्‍न र हामीलाई स्विकार्नु पनि हुन्‍न भनेर हामीले पत्याएको चाहन्छ। साथै त्यसले हामीलाई यहोवा परमेश्‍वर हाम्रो भरोसाको लायक हुनुहुन्‍न र उहाँले आफ्नो वचनमा प्रतिज्ञा गर्नुभएका कुराहरू पूरा गर्नुहुन्‍न भनेर विश्‍वास दिलाउन खोज्छ। तर ती सरासर झूट हुन्‌। (युह. ८:४४) हामी कसरी त्यस्ता झूटको प्रतिकार गर्न सक्छौँ?

५. सैतानले पहिलो र दोस्रो पटक प्रलोभनमा पार्न खोज्दा येसुले के गर्नुभयो?

सैतानले पहिलो र दोस्रो पटक प्रलोभनमा पार्न खोज्दा येसुले के गर्नुभयो, विचार गरौँ। बुबाले आफूलाई माया गर्नुहुन्छ भन्‍ने कुरामा येसुलाई रतीभर शङ्‌का थिएन। उहाँ आफ्नो बुबामा शतप्रतिशत भरोसा गर्नुहुन्थ्यो। त्यसैले उहाँले आफ्नो बुबाको प्रेरणाद्वारा लेखिएको वचनबाट उद्धरण गर्दै निर्धक्क भएर सैतानको प्रतिकार गर्नुभयो। त्यतिबेला उहाँले परमेश्‍वरको नाम यहोवा प्रयोग भएका पदहरू नै उद्धरण गर्नुभयो। (व्यव. ६:१६; ८:३) हो, आफ्नो बुबालाई भरोसा गरेको देखाउन उहाँले आफ्नो बुबाको विशेष नाम यहोवा प्रयोग गर्नुभयो, जुन नाम उहाँ आफ्ना सबै प्रतिज्ञा पूरा गर्नुहुन्छ भन्‍ने कुराको ग्यारेन्टी हो। * आफ्नो बुबालाई भरोसा गरेको देखाउने योभन्दा उत्तम तरिका अरू के नै हुन सक्थ्यो र?

६, ७. हामी कसरी सैतानका धूर्त आक्रमणहरूको प्रतिरोध गर्न सक्छौँ?

सैतानका धूर्त आक्रमणहरूको प्रतिरोध गर्न हामी यहोवाको वचनमा भर पर्नुपर्छ अनि उहाँको नामको अर्थबारे मनन गर्नुपर्छ। बाइबलमा यहोवा परमेश्‍वरले आफ्ना सबै उपासकहरूप्रति देखाउनुभएको माया र चासोबारे लेखिएको छ। उहाँले नैराश्‍यको शिकार भएकाहरूलाई पनि चासो देखाउनुभएको विवरणहरू बाइबलमा पाइन्छ। हामीले त्यस्ता पदहरू पढेर आफूमा पनि लागू गऱ्‍यौँ भने यहोवा हामीलाई माया गर्नुहुन्‍न र स्विकार्नुहुन्‍न भन्‍ने सैतानको झूटलाई तिरस्कार गर्न सक्छौँ। (भज. ३४:१८; १ पत्रु. ५:८) साथै यहोवा परमेश्‍वर सधैँ आफ्नो नामअनुसारै काम गर्नुहुन्छ भन्‍ने कुरा मनमा राख्यौँ भने आफ्नो प्रतिज्ञा पूरा गर्नुहुने परमेश्‍वर हाम्रो पूर्ण भरोसाको लायक हुनुहुन्छ भन्‍ने कुरामा शङ्‌का गर्नेछैनौँ।—हितो. ३:५, ६.

तर सैतानको मुख्य लक्ष्य के हो? त्यो वास्तवमा हामीबाट के चाहन्छ? सैतानले येसुलाई तेस्रो पटक प्रलोभनमा पार्न खोज्दा यी प्रश्‍नहरूको जवाफ स्पष्ट भयो।

‘घोप्टो परेर मलाई एक चोटि ढोग्नुहोस्‌’

८. सैतानले तेस्रो पटक प्रलोभन ल्याउँदा त्यसको मनसाय कसरी छर्लङ्‌ग भयो?

मत्ति ४:८-११ पढ्‌नुहोस्‌। येसुलाई तेस्रो पटक प्रलोभनमा पार्न खोज्दा सैतानले धूर्त कुरा नगरी सीधै आफ्नो मनसाय प्रकट गऱ्‍यो। त्यसले येसुलाई (सम्भवतः दर्शनमार्फत) “संसारका सबै राज्य र त्यसको महिमा देखायो” तर संसारमा व्याप्त भ्रष्ट कुराहरू भने देखाएन। त्यसपछि त्यसले येसुलाई यसो भन्यो: “यदि तपाईँले घोप्टो परेर मलाई एक चोटि ढोग्नुभयो भने यी सबै थोक म तपाईँलाई दिनेछु।” * हो, उपासना नै सैतानले चाहेको मुख्य कुरा थियो! येसुले आफ्नो बुबालाई त्यागेर त्यसलाई आफ्नो परमेश्‍वर मानेको सैतान चाहन्थ्यो। त्यसले येसुलाई सजिलो बाटो रोज्न लगायो। त्यसको कुरा मान्यो भने येसुले संसारका सबै धनसम्पत्ति र शक्‍ति पाउनुहुनेछ भनेर सैतानले सङ्‌केत गर्दै थियो। अनि उहाँले काँडाको मुकुट लगाएर, कोर्रा खाएर अनि अन्तमा खम्बामा यातना भोगेर सास्ती खानुपर्दैन भनेर पनि त्यसले सङ्‌केत गर्दै थियो। सैतानको यस्तो प्रस्ताव आधारहीन थिएन। संसारका राज्यहरूमाथि सैतानको अधिकार छ भन्‍ने कुरामा येसुले प्रश्‍न गर्नुभएन। (युह. १२:३१; १ युह. ५:१९) हो, येसुलाई शुद्ध उपासनाबाट टाढा लैजान सैतान जे दिन पनि तयार थियो।

९. (क) सैतान साँचो उपासकहरूबाट वास्तवमा के चाहन्छ र त्यसले हामीलाई कसरी प्रलोभनमा पार्न खोज्छ? (ख) हाम्रो उपासनामा के समावेश छ? (“उपासना भनेको के हो?” भन्‍ने पेटी हेर्नुहोस्‌)

सैतान हामीले पनि त्यसकै उपासना गरेको चाहन्छ, चाहे प्रत्यक्ष रूपमा होस्‌ वा अप्रत्यक्ष रूपमा। “यस युगको ईश्‍वर” भएकोले महान्‌ बेबिलोनका सम्पूर्ण धर्मले चढाइरहेको झूटो उपासना त्यसले नै पाउँछ। (२ कोरि. ४:४) तर ती अरबौँ झूटा उपासकले चढाइरहेको उपासनामा त्यो सन्तुष्ट छैन। त्यसैले त्यसले साँचो उपासकहरूलाई पनि प्रलोभनमा पार्न खोज्छ। ‘असल काम गरेर’ सत्यको बाटोमा हिँड्‌दा ख्रिष्टियनहरूले धेरै दुःख भोग्नुपर्ने हुन्छ तर सैतान हामीले त्यसो गर्नुको साटो यस संसारको धनसम्पत्ति र शक्‍तिको पछि लागेको चाहन्छ। (१ पत्रु. ३:१४) सैतानको प्रलोभनमा परेर शुद्ध उपासना त्याग्यौँ र सैतानको संसारको भाग बन्यौँ भने हामीले पनि एक अर्थमा सैतानलाई ढोगिरहेका हुन्छौँ अर्थात्‌ त्यसलाई नै आफ्नो ईश्‍वर मानिरहेका हुन्छौँ। हामी त्यस्तो प्रलोभनको कसरी प्रतिरोध गर्न सक्छौँ?

१०. सैतानले तेस्रो पटक प्रलोभनमा पार्न खोज्दा येसुले के गर्नुभयो र किन?

१० सैतानले तेस्रो पटक प्रलोभनमा पार्न खोज्दा येसुले के गर्नुभयो, विचार गरौँ। येसु यहोवा परमेश्‍वरप्रति पूर्ण रूपमा वफादार हुनुहुन्थ्यो, त्यसैले उहाँले त्यो प्रलोभकलाई सीधै यसो भन्‍नुभयो: “ए सैतान, पर गइहाल्‌!” त्यसपछि पहिलो र दोस्रो पटक गरेजस्तै यतिबेला पनि येसुले व्यवस्थाको किताबबाट परमेश्‍वरको नाम प्रयोग गरिएको एउटा शास्त्रपद उद्धरण गर्नुभयो। उहाँले भन्‍नुभयो: “यस्तो लेखिएको छ, ‘तिमीहरूले यहोवा तिमीहरूका परमेश्‍वरको उपासना गर्नुपर्छ अनि उहाँलाई मात्र पवित्र सेवा चढाउनुपर्छ।’” (मत्ति ४:१०; व्यव. ६:१३) यसरी येसुले आकर्षक जस्तो देखिने तर केही समयमै बितेर जाने सांसारिक करिअरलाई अनि दुःख भोग्नु नपर्ने सजिलो बाटोलाई तिरस्कार गर्नुभयो। आफ्नो बुबा मात्र उपासनाको योग्य हुनुहुन्छ अनि सैतानलाई “एक चोटि ढोग्नु” मात्र पनि त्यसको अधीनमा बस्नुसरह हो भनेर येसुले बुझ्नुभएको थियो। त्यसैले उहाँले दृढ भएर त्यो दुष्ट प्रलोभकलाई आफ्नो ईश्‍वर बनाउन इन्कार गर्नुभयो। अनि उहाँले त्यसको कुरा मान्‍न इन्कार गर्नुभएपछि “दियाबलले उहाँलाई छोडेर गयो।” *

“ए सैतान, पर गइहाल्‌!” (अनुच्छेद १० हेर्नुहोस्‌)

११. हामी कसरी सैतान र त्यसका प्रलोभनहरूको प्रतिरोध गर्न सक्छौँ?

११ हामी सैतान र त्यसका प्रलोभनहरूको प्रतिरोध गर्न सक्छौँ किनकि येसुसँग जस्तै हामीसँग पनि छनौट गर्न सक्ने क्षमता छ। यहोवा परमेश्‍वरले हामीलाई स्वतन्त्र इच्छाको वरदान दिनुभएको छ। त्यसकारण कसैले पनि, त्यो शक्‍तिशाली र दुष्ट प्रलोभक सैतानले समेत हामीलाई शुद्ध उपासना त्याग्न जबरजस्ती गर्न सक्दैन। यदि हामी परमेश्‍वरप्रति वफादार भयौँ र “विश्‍वासमा दह्रो भएर [सैतानविरुद्ध] खडा” भयौँ भने हामीले यसो भनिरहेका हुन्छौँ: “ए सैतान, पर गइहाल्‌!” (१ पत्रु. ५:९) याद गर्नुहोस्‌, येसुले दृढ भएर सैतानलाई तिरस्कार गर्नुभएपछि मात्र त्यसले उहाँलाई छोडेर गयो। त्यसैगरि बाइबल हामीलाई यस्तो आश्‍वासन दिन्छ: “दियाबलको विरोध गर अनि त्यो तिमीहरूबाट भाग्नेछ।”—याकु. ४:७.

हामी सैतानको संसारले ल्याउने प्रलोभनको प्रतिरोध गर्ने छनौट गर्न सक्छौँ (अनुच्छेद ११, १९ हेर्नुहोस्‌)

शुद्ध उपासनाको शत्रु

१२. सैतान शुद्ध उपासनाको शत्रु हो भनेर अदनको बगैँचामा कसरी प्रकट भयो?

१२ सैतानको तेस्रो प्रलोभनबाट शुद्ध उपासनाको मुख्य शत्रु त्यो नै हो भनेर पक्का भयो। हजारौँ वर्षअघि सैतानले अदनको बगैँचामा पहिलो पटक यहोवाको उपासनाप्रतिको घृणा प्रकट गऱ्‍यो। त्यसले हव्वालाई बहकायो। हव्वाले त्यसको कुरा सुनिन्‌ र आदमलाई पनि यहोवा परमेश्‍वरको आज्ञा उल्लङ्‌घन गर्न लगाइन्‌। यसरी सैतानले तिनीहरूलाई आफ्नो अधीनमा पाऱ्‍यो। (उत्पत्ति ३:१-५ पढ्‌नुहोस्‌; २ कोरि. ११:३; प्रका. १२:९) तिनीहरूलाई बहकाउने व्यक्‍ति वास्तवमा सैतान हो भनेर आदम र हव्वालाई थाह नभए तापनि अब तिनीहरू त्यसको उपासक भए र त्यो नै तिनीहरूको ईश्‍वर भयो। यसबाहेक अदनको बगैँचामा विद्रोहको बिउ रोपेर त्यसले यहोवाको सार्वभौमिकता—उहाँको शासन गर्ने अधिकारमाथि प्रश्‍न खडा गऱ्‍यो। साथै शुद्ध उपासनामाथि आक्रमण पनि गऱ्‍यो। कसरी?

१३. सार्वभौमिकताको विवादमा शुद्ध उपासना कसरी मुछिएको छ?

१३ सार्वभौमिकताको विवादमा शुद्ध उपासना पनि मुछिएको छ। ब्रह्‍माण्डको मालिक यहोवा परमेश्‍वर, जसले “सबै थोक सृष्टि गर्नुभयो,” उहाँ मात्र उपासनाको योग्य हुनुहुन्छ। (प्रका. ४:११) यहोवा परमेश्‍वरले त्रुटिरहित आदम र हव्वालाई सृष्टि गरेर अदनको बगैँचामा राख्नुहुँदा पछि गएर सारा पृथ्वी नै त्रुटिरहित मानिसहरूले भरियोस्‌ र ती सबै मानिसले शुद्ध हृदयसहित राजीखुसीले उहाँलाई शुद्ध उपासना चढाऊन्‌ भन्‍ने उद्देश्‍य उहाँले राख्नुभएको थियो। (उत्प. १:२८) ब्रह्‍माण्डका मालिक यहोवा परमेश्‍वरले मात्र पाउने उपासनाको सैतानले लोभ गरेकोले त्यसले शासन गर्ने यहोवा परमेश्‍वरको अधिकारलाई चुनौती दियो।—याकु. १:१४, १५.

१४. के सैतान शुद्ध उपासनामाथि आक्रमण गर्न सफल भयो? व्याख्या गर्नुहोस्‌।

१४ सैतान शुद्ध उपासनामाथि आक्रमण गर्न सफल भयो त? आदम र हव्वालाई परमेश्‍वरबाट टाढा लैजान त्यो सफल भयो। सैतानले जुन बेलादेखि साँचो उपासनाविरुद्ध युद्ध सुरु गऱ्‍यो, त्यतिबेला देखि त्यसले धेरैभन्दा धेरै मानिसलाई यहोवा परमेश्‍वरबाट टाढा लैजाने कोसिस गर्दै छ। पुरातन समयका यहोवाका उपासकहरूलाई प्रलोभनमा पार्न त्यो जोडतोडले लागिपरेको थियो। पछि इस्वी संवत्‌ प्रथम शताब्दीमा त्यसले धर्मत्यागको आगो सल्कायो, जसले गर्दा ख्रिष्टियन मण्डली भ्रष्ट भयो र शुद्ध उपासना नै नामेट भएर गएको जस्तो देखियो। (मत्ति १३:२४-३०, ३६-४३; प्रेषि. २०:२९, ३०) इस्वी संवत्‌ दोस्रो शताब्दीदेखि साँचो उपासकहरू सयौँ वर्षसम्म झूटो धर्मको विश्‍व साम्राज्य महान्‌ बेबिलोनको कैदमा परे। तर सैतानले शुद्ध उपासनासित सम्बन्धित परमेश्‍वरको उद्देश्‍यलाई विफल पार्न सकेको छैन। परमेश्‍वरलाई उहाँको उद्देश्‍य पूरा गर्नदेखि केही कुराले रोक्न सक्दैन। (यसै. ४६:१०; ५५:८-११) किनकि यसमा उहाँको नाम मुछिएको छ र उहाँ सधैँ आफ्नो नामअनुसारै काम गर्नुहुन्छ। यहोवा आफ्नो उद्देश्‍य पूरा गर्ने परमेश्‍वर हुनुहुन्छ!

शुद्ध उपासनाको रक्षक

१५. विद्रोहीहरूलाई तह लगाउन र आफ्नो उद्देश्‍य पूरा हुनेछ भनेर सुनिश्‍चित गर्न अदनको बगैँचामा यहोवा परमेश्‍वरले कस्तो कदम चाल्नुभयो?

१५ यहोवा परमेश्‍वरले ती विद्रोहीहरूलाई तह लगाउन र आफ्नो उद्देश्‍य पूरा हुनेछ भनेर सुनिश्‍चित गर्न अदनको बगैँचामा तुरुन्तै कदम चाल्नुभयो। (उत्पत्ति ३:१४-१९ पढ्‌नुहोस्‌) आदम र हव्वा बगैँचामै हुँदा यहोवा परमेश्‍वरले ती तीन जना विद्रोहीलाई सजाय सुनाउनुभयो। तिनीहरूले पाप गरेको क्रमअनुसारै उहाँले सजाय सुनाउनुभयो—सुरुमा सैतानलाई, त्यसपछि हव्वालाई अनि अन्तमा आदमलाई। पर्दापछाडि लुकेर विद्रोह सुरु गर्ने त्यो सैतानलाई सजाय सुनाउनुहुँदा यहोवा परमेश्‍वरले एक जना “सन्तान” आउनेछन्‌ भनेर भविष्यवाणी गर्नुभयो, जसले त्यो विद्रोहले जन्माएको सबै नराम्रा असरलाई सच्याउने थिए। प्रतिज्ञा गरिएका ती “सन्तान”-ले शुद्ध उपासनासित सम्बन्धित परमेश्‍वरको उद्देश्‍यमा महत्त्वपूर्ण भूमिका खेल्ने थिए।

१६. अदनको बगैँचामा विद्रोह भएदेखि यता यहोवा परमेश्‍वरले आफ्नो उद्देश्‍य पूरा गर्न के गरिरहनुभएको छ?

१६ अदनको बगैँचामा विद्रोह भएदेखि यता यहोवा परमेश्‍वरले आफ्नो उद्देश्‍य पूरा गर्न काम गरिरहनुभएको छ। त्रुटिपूर्ण मानिसहरूले उहाँलाई स्वीकार्य हुने तरिकामा उपासना गर्ने प्रबन्ध उहाँले मिलाउनुभयो। (हिब्रू ११:४–१२:१) यसबारे हामी अर्को अध्यायमा थाह पाउनेछौँ। उहाँले यसैया, यर्मिया, इजकिएललगायत अन्य केही बाइबल लेखकलाई शुद्ध उपासनाको पुनर्स्थापनाबारे रोमाञ्चक भविष्यवाणीहरू रेकर्ड गर्न लगाउनुभयो। शुद्ध उपासनाको पुनर्स्थापना बाइबलको एउटा प्रमुख विषय हो। ती भविष्यवाणीहरू प्रतिज्ञा गरिएका “सन्तान”-द्वारा पूरा हुने थिए, जुन सन्तानको प्रमुख भाग येसु ख्रिष्ट हुनुहुन्छ। (गला. ३:१६) सैतानले तेस्रो पटक प्रलोभनमा पार्न खोज्दा येसुले दिनुभएको जवाफबाट उहाँ शुद्ध उपासनाको रक्षक हुनुहुन्छ भन्‍ने कुरा स्पष्ट भयो। हो, पुनर्स्थापनासम्बन्धी भविष्यवाणीहरू पूरा गर्न यहोवा परमेश्‍वरले रोज्नुभएको व्यक्‍ति येसु नै हुनुहुन्थ्यो। (प्रका. १९:१०) उहाँले परमेश्‍वरका मानिसहरूलाई आध्यात्मिक कैदबाट मुक्‍त गर्नुहुने थियो र शुद्ध उपासनालाई त्यसकै ठाउँमा पुनर्स्थापना गर्नुहुने थियो।

तपाईँ के गर्नुहुनेछ?

१७. पुनर्स्थापनासम्बन्धी भविष्यवाणीहरूमा हामी किन गहिरो चासो राख्छौँ?

१७ बाइबलमा गरिएको पुनर्स्थापनासम्बन्धी भविष्यवाणीहरू जाँच्नु रोचक हुनुका साथै यसो गर्दा विश्‍वास पनि बलियो हुन्छ। ती भविष्यवाणीहरूमा हामी गहिरो चासो राख्छौँ किनकि स्वर्ग र पृथ्वीमा भएका सबै जना ब्रह्‍माण्डका मालिक यहोवाको शुद्ध उपासनामा एकताबद्ध हुने समयको हामी तीव्र प्रतीक्षा गर्दै छौँ। ती भविष्यवाणीहरूले हामीलाई आशा पनि दिन्छ किनकि त्यसमा मनै छुने आश्‍वासनहरू पाइन्छ। हामी सबै जना यहोवा परमेश्‍वरका प्रतिज्ञाहरू पूरा भएको हेर्ने प्रतीक्षामा छौँ; हाम्रा प्रियजनहरू फेरि जीवित भएको, पूरै पृथ्वी प्रमोदवनमा परिणत भएको र सबैले स्वस्थ भएर सधैँभरि जीवनको आनन्द उठाएको हेर्न हामी उत्सुक छौँ।—यसै. ३३:२४; ३५:५, ६; प्रका. २०:१२, १३; २१:३, ४.

१८. यस प्रकाशनमा हामी कुन कुरा छलफल गर्नेछौँ?

१८ यस प्रकाशनमा हामी इजकिएलको किताबमा भएका रोमाञ्चक भविष्यवाणीहरूबारे छलफल गर्नेछौँ। ती भविष्यवाणीहरूमध्ये धेरैजसो शुद्ध उपासनाको पुनर्स्थापनामा केन्द्रित छ। इजकिएलको किताबका भविष्यवाणीहरू अरू भविष्यवाणीसित कसरी सम्बन्धित छन्‌, ती भविष्यवाणीहरू ख्रिष्टमार्फत कसरी पूरा हुनेछन्‌ र त्यसमा हामी पनि कसरी मुछिएका छौँ, त्यसबारे छलफल गर्नेछौँ।—“इजकिएलको किताबलाई सरसरती हेर्दा” भन्‍ने पेटी हेर्नुहोस्‌।

१९. तपाईँले के गर्ने सङ्‌कल्प गर्नुभएको छ र किन?

१९ इस्वी संवत्‌ २९ मा यहुदियाको निर्जनभूमिमा येसुलाई शुद्ध उपासनाबाट टाढा लैजान सैतान सफल भएन। हामीबारे चाहिँ के भन्‍न सकिन्छ? हामीलाई साँचो उपासनाबाट टाढा लैजान त्यो पहिलाभन्दा पनि झन्‌ धेरै लागिपरेको छ। (प्रका. १२:१२, १७) यस प्रकाशनले त्यो प्रलोभकको प्रतिरोध गर्ने हाम्रो सङ्‌कल्पलाई बलियो बनाउन मदत गरोस्‌। अनि हाम्रो बोली र व्यवहार दुवैबाट हामी यी शब्दहरूमा सहमत छौँ भन्‍ने कुरा देखियोस्‌: “तिमीहरूले यहोवा तिमीहरूका परमेश्‍वरको उपासना गर्नुपर्छ।” यसो गऱ्‍यौँ भने हामीले यहोवा परमेश्‍वरको महिमित उद्देश्‍य पूरा भएको देख्न पाउनेछौँ। त्यो हो, स्वर्ग र पृथ्वीका सबैले यहोवाको हक लाग्ने कुरा उहाँलाई दिएको अर्थात्‌ एकताबद्ध भएर उहाँलाई शुद्ध हृदयसहितको शुद्ध उपासना चढाएको।

^ कसै-कसैको बुझाइमा यहोवा नामको अर्थ हो, “बन्‍ने र बनाउने उहाँ नै हुनुहुन्छ।” परमेश्‍वरको नामको यो अर्थ सृष्टिकर्ता र आफ्ना प्रतिज्ञाहरू पूरा गर्ने उहाँको भूमिकासित ठ्याक्कै मेल खान्छ।

^ सैतानले भनेको यस कुराबारे बाइबलसम्बन्धी एउटा स्रोत-सामग्री यसो भन्छ: “आदम र हव्वा चुकेको सबैभन्दा पहिलो परीक्षामा जस्तै . . . यतिबेला पनि सैतानको इच्छा गर्ने कि परमेश्‍वरको भन्‍ने प्रश्‍न खडा भयो र यस प्रश्‍नमा कसको उपासना गर्ने भन्‍ने कुरा लुकेको थियो। सैतानले एक मात्र परमेश्‍वरको ठाउँमा आफैलाई परमेश्‍वर बनाउन खोज्यो।”

^ लुकाले सैतानका प्रलोभनहरूलाई क्रमअनुसार राखेका छैनन्‌ तर मत्तिले भने क्रमअनुसारै राखेको जस्तो देखिन्छ। यसो भन्‍न सक्नुको तीन वटा कारण विचार गरौँ: (१) सैतानले ल्याएको अर्को प्रलोभन उल्लेख गर्नुअघि मत्तिले “त्यसपछि” भन्‍ने शब्द चलाएका छन्‌। यसबाट क्रमअनुसार यो दोस्रो प्रलोभन थियो भनी स्पष्ट हुन्छ। (२) सैतानले पहिलो र दोस्रो प्रलोभन धुर्त्याइँका साथ अघि साऱ्‍यो, जसको सुरुमा त्यसले “तपाईँ परमेश्‍वरको छोरा हुनुहुन्छ भने” भन्यो। त्यसपछि मात्र त्यसले सीधै यहोवाको पहिलो आज्ञा तोड्‌ने प्रलोभन ल्यायो भन्‍ने निष्कर्षमा पुग्नु तार्किक देखिन्छ। (प्रस्थ. २०:२, ३) (३) सैतानले तेस्रो र अन्तिम पटक प्रलोभनमा पार्ने कोसिस गरेपछि मात्र येसुले “ए सैतान, पर गइहाल्‌!” भन्‍नुभएको हुनुपर्छ।—मत्ति ४:५, १०, ११.