सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय ४

‘चार वटा अनुहार भएका जीवहरू’ को हुन्‌?

‘चार वटा अनुहार भएका जीवहरू’ को हुन्‌?

इजकिएल १:१५

मुख्य कुरा: जीवहरू र तिनीहरूबाट सिक्न सकिने पाठ

१, २. पृथ्वीका आफ्ना सेवकहरूलाई सत्य कुरा बुझाउन यहोवा परमेश्‍वरले किन कहिलेकाहीँ दृश्‍य सामग्रीहरू प्रयोग गर्नुभयो?

 ससाना छोराछोरी भएको एउटा परिवार खाना खाने टेबुलवरिपरि बसेर बाइबल पढिरहेको दृश्‍य कल्पना गर्नुहोस्‌। छोराछोरीलाई बाइबलको एउटा शिक्षा बुझाउन बुबाले तिनीहरूलाई केही चित्रहरू देखाउँछन्‌। ती चित्रहरू हेरेर छोराछोरीले खुसी र उत्सुक हुँदै जवाफ दिन्छन्‌। यसले ती बुबा आफ्ना छोराछोरीलाई बाइबलको शिक्षा बुझाउन सफल भएको कुरा देखाउँछ। सिकाउँदा चित्रहरू पनि देखाएर तिनले आफ्ना छोराछोरीलाई यहोवा परमेश्‍वरका शिक्षाहरू राम्ररी बुझ्न मदत दिन्छन्‌। त्यसो नगरेको भए ती कलिला केटाकेटीले त्यस्ता गहन कुराहरू सजिलै बुझ्न सक्ने थिएनन्‌।

त्यसैगरि यहोवा परमेश्‍वरले पृथ्वीका आफ्ना छोराछोरीलाई नदेखिने तर वास्तविक कुराहरू राम्ररी बुझाउन दृश्‍य सामग्रीहरू प्रयोग गर्नुभएको छ। उहाँले त्यसो नगर्नुभएको भए हामीले त्यस्ता कुराहरू सजिलै बुझ्न सक्ने थिएनौँ। उदाहरणको लागि, आफूबारे गहन सत्य सिकाउन यहोवा परमेश्‍वरले इजकिएललाई एउटा दर्शन देखाउनुभयो, जुन दर्शन अचम्मलाग्दा दृश्‍यहरूले भरिएको थियो। यस किताबको अघिल्लो अध्यायमा हामीले त्यस्तै एउटा दृश्‍यबारे छलफल गऱ्‍यौँ। अब हामी त्यो भव्य दर्शनको एउटा खास भागमा ध्यान देऔँ र त्यसको अर्थ बुझ्दा हामी कसरी यहोवा परमेश्‍वरको नजिक हुन सक्छौँ, त्यो पनि बुझौँ।

“मैले चार वटा जीवजस्तै केही देखेँ”

३. (क) इजकिएल १:४, ५ अनुसार इजकिएलले दर्शनमा के देखे? (शीर्षकमाथिको चित्र हेर्नुहोस्‌) (ख) आफूले देखेका कुराहरू व्याख्या गर्न इजकिएलले कस्ता अभिव्यक्‍तिहरू प्रयोग गरे?

इजकिएल १:४, ५ पढ्‌नुहोस्‌। इजकिएलले दर्शनमा ‘चार वटा जीवजस्तै केही देखेको’ कुरा बताउँछन्‌; तिनीहरूको रूप स्वर्गदूत, मानिस र जनावरको जस्तो देखिन्थ्यो। इजकिएलले “जीवजस्तै केही देखेँ” भन्दै आफूले देखेका जीवहरूबारे सही वर्णन गरे। इजकिएल अध्याय एकमा पाइने पूरै दर्शन पढ्‌नुभयो भने भविष्यवक्‍ता इजकिएलले “. . . जस्तै देखिन्थे,” “. . . जस्तै सुनिन्थ्यो,” “. . . जस्तै थियो” भन्‍नेजस्ता अभिव्यक्‍तिहरू बारम्बार प्रयोग गरेको पाउनुहुनेछ। (इज. १:१३, २४, २६) स्पष्ट छ, आफूले देखेका कुराहरू स्वर्गमा भएका अदृश्‍य तर वास्तविक कुराहरूसित मिल्दोजुल्दो कुराहरू मात्र हुन्‌ भनेर इजकिएलले मानिलिए।

४. (क) दर्शनले इजकिएलमा कस्तो प्रभाव पाऱ्‍यो? (ख) इजकिएललाई करूबहरूबारे पक्कै पनि कुन कुरा थाह थियो?

आफूले दर्शनमा देखेको दृश्‍य र सुनेको आवाजले गर्दा इजकिएल पक्कै पनि आश्‍चर्यचकित भएको हुनुपर्छ। ती चार जीव “आगोको भुङ्‌ग्रोजस्तै” देखिन्थे। ती जीवहरूको गति “बिजुली चम्केझैँ देखिन्थ्यो।” तिनीहरूले पखेटा फट्‌फटाउँदा “उर्लिएको भेलको आवाजजस्तै सुनिन्थ्यो” र तिनीहरू यताउता गर्दा “सेनाको डफ्फा यताउता गरिरहेको जस्तो सुनिन्थ्यो।” (इज. १:१३, १४, २४-२८; “मैले जीवहरूलाई देखेँ” भन्‍ने पेटी हेर्नुहोस्‌) इजकिएलले देखेको अर्को एउटा दर्शनमा तिनले ती चार जीवलाई “करूबहरू” अर्थात्‌ शक्‍तिशाली स्वर्गदूतहरू भनेर चिनाएका छन्‌। (इज. १०:२) इजकिएल पुजारी परिवारमा हुर्केका थिए; त्यसैले करूबहरू परमेश्‍वरको नजिकै बसेर उहाँको सेवा गर्ने विशेष स्वर्गदूतहरू हुन्‌ भनेर तिनलाई पक्कै पनि राम्ररी थाह थियो।—१ इति. २८:१८; भज. १८:१०.

‘प्रत्येकका चार-चार वटा अनुहार थिए’

५. (क) करूबहरू र तिनीहरूको चार वटा अनुहारले यहोवाको महिमा र पराक्रम कसरी प्रकट गर्छ? (ख) दर्शनको यस भागले हामीलाई परमेश्‍वरको नामको अर्थ किन सम्झाउँछ? (फुटनोट हेर्नुहोस्‌)

इजकिएल १:६, १० पढ्‌नुहोस्‌। प्रत्येक करूबको चार-चार वटा अनुहार भएको कुरा पनि इजकिएलले याद गरे; ती थिए: मान्छेको, सिंहको, साँढेको र चीलको। ती चार वटा अनुहार देख्दा इजकिएलमा पक्कै पनि यहोवा परमेश्‍वरजस्तो महिमा र पराक्रमले भरिपूर्ण व्यक्‍ति अरू कोही छैन भन्‍ने अमेट छाप परेको हुन सक्छ। तर किन? उल्लेखनीय कुरा, करूबको प्रत्येक अनुहार वैभव, बल र पराक्रमको प्रतीकको रूपमा चिनिने जनावरहरूको थियो। सिंह वैभवशाली जङ्‌गली जनावर हो, साँढे जब्बर घरपालुवा जनावर हो, चील बलियो पक्षी हो अनि मान्छेचाहिँ पृथ्वीमा भएको परमेश्‍वरको सृष्टिमध्ये सबैभन्दा सुन्दर सृष्टि हो, जसले पृथ्वीमा भएका सम्पूर्ण जीवजन्तुमाथि अधिकार पाएको छ। (भज. ८:४-६) तर यस दर्शनमा इजकिएलले सृष्टिका यी शक्‍तिशाली चार जीवको अनुहार भएका करूबहरूलाई ब्रह्‍माण्डका सर्वोच्च र सार्वभौम परमेश्‍वर यहोवाको सिंहासनभन्दा मुनि देखे। यहोवा परमेश्‍वर आफ्नो उद्देश्‍य पूरा गर्न आफ्नो सृष्टिलाई चलाउन सक्नुहुन्छ भन्‍ने कुरा बुझाउने कत्ति राम्रो तरिका! * भजनरचयिताले पनि यहोवा परमेश्‍वरबारे यसो भने: “उहाँको वैभव पृथ्वी र आकाशभन्दा उच्च छ।”—भज. १४८:१३.

चार वटा जीव र तिनीहरूका चार वटा अनुहारले यहोवा परमेश्‍वरको महिमा, पराक्रम र अन्य गुणहरूबारे के प्रकट गर्छ? (अनुच्छेद ५, १३ हेर्नुहोस्‌)

६. चार वटा अनुहारले अर्को कुरालाई पनि सङ्‌केत गर्छ भनेर बुझ्न इजकिएललाई केले मदत गरेको हुनुपर्छ?

केही समय बितेपछि इजकिएलले आफूले देखेका कुराहरूबारे मनन गरे होलान्‌ र आफूभन्दा अघिका परमेश्‍वरका सेवकहरूले पनि जनावरहरूको स्वभाव र गुणलाई मानिसहरूको स्वभाव र गुणसित तुलना गरेका थिए भनेर सम्झे होलान्‌। जस्तै: कुलपिता याकुबले आफ्ना छोरा यहुदालाई सिंहसित र अर्को छोरा बिन्यामिनलाई ब्वाँसोसित तुलना गरेका थिए। (उत्प. ४९:९, २७) किनकि उनीहरूसित सिंह र ब्वाँसोका जस्तै स्वभाव र गुणहरू थिए। मोसाले लेखेको प्रेरित वचनमा भएका यस्ता उदाहरणहरू विचार गरेपछि ती चार करूबका अनुहारहरूले उल्लेखनीय गुणहरूलाई पनि सङ्‌केत गर्छ भन्‍ने निष्कर्षमा इजकिएल पुगेका हुन सक्छन्‌। तर कस्ता गुणहरू?

यहोवा परमेश्‍वर र उहाँको स्वर्गीय परिवारका गुणहरू

७, ८. करूबहरूका चार वटा अनुहारको तुलना के-कस्ता गुणहरूसित गरिएको छ?

इजकिएलको समयभन्दा अघिका बाइबल लेखकहरूले सिंह, चील र साँढेको तुलना के-कस्ता गुणहरूसित गरे? बाइबलका यी अभिव्यक्‍तिहरू विचार गर्नुहोस्‌: “सिंहको जस्तै मुटु भएको साहसी मानिस।” (२ समु. १७:१०; हितो. २८:१) ‘चील माथि-माथि उड्‌छ’ र “त्यसले टाढा-टाढासम्म पनि देख्छ।” (अय्यु. ३९:२७, २९) “गोरुहरूको बलले प्रशस्त उब्जनी हुन्छ।” (हितो. १४:४) यस्ता पदहरूको आधारमा सिंहको अनुहारले साहसी न्यायलाई, चीलको अनुहारले पछिसम्मका कुराहरू देख्न सक्ने बुद्धिलाई र साँढेको अनुहारले प्रबल शक्‍तिलाई सङ्‌केत गर्छ भनेर हाम्रा प्रकाशनहरूले अक्सर व्याख्या गरेको छ।

‘मान्छेको अनुहारले’ चाहिँ केलाई सङ्‌केत गर्छ? (इज. १०:१४) यसले त्यस्तो गुणलाई सङ्‌केत गरेको हुनुपर्छ, जुन गुण कुनै जनावरले नभई परमेश्‍वरको स्वरूपमा बनिएको मानिसले मात्र झल्काउन सक्छ। (उत्प. १:२७) मानिसमा हुने यो विशेष गुणलाई परमेश्‍वरका यी आज्ञाहरूमा जोड दिइएको छ: “तिमीहरूले यहोवा तिमीहरूका परमेश्‍वरलाई आफ्नो सारा हृदयले . . . प्रेम गर्नू” र “तिमीहरूले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू।” (व्यव. ६:५; लेवी १९:१८) हामीले यी आज्ञाहरू पालन गर्दै आत्मत्यागी प्रेम देखायौँ भने यहोवा परमेश्‍वरकै प्रेम झल्काइरहेका हुन्छौँ। प्रेषित युहन्‍नाले भनेझैँ “हामी प्रेम गर्छौँ किनकि पहिला उहाँले हामीलाई प्रेम गर्नुभयो।” (१ युह. ४:८, १९) त्यसकारण ‘मान्छेको अनुहारले’ प्रेमलाई सङ्‌केत गर्छ।

९. करूबहरूका अनुहारहरूले सङ्‌केत गर्ने गुणहरू कसका हुन्‌?

यी गुणहरू कसका हुन्‌? ती अनुहारहरू करूबहरूको भएकोले यी गुणहरू पनि उनीहरूकै हुन्‌ अर्थात्‌ वफादार अदृश्‍य जीवहरू मिलेर बनेको यहोवा परमेश्‍वरको स्वर्गीय परिवारको। (प्रका. ५:११) यसबाहेक ती करूबहरूको जीवनको मूल यहोवा परमेश्‍वर हुनुभएकोले तिनीहरूमा भएका यी गुणहरूको मूल पनि उहाँ नै हुनुहुन्छ। (भज. ३६:९) त्यसकारण करूबहरूका अनुहारहरूले स्वयम्‌ यहोवा परमेश्‍वरमा भएका गुणहरूलाई सङ्‌केत गर्छ। (अय्यु. ३७:२३; भज. ९९:४; हितो. २:६; मिका ७:१८) यहोवा परमेश्‍वर यस्ता उल्लेखनीय गुणहरू के-कस्ता तरिकामा देखाउनुहुन्छ?

१०, ११. यहोवा परमेश्‍वरका चार वटा प्रमुख गुणबाट हामीले के-कस्ता तरिकामा लाभ उठाइरहेका छौँ?

१० न्याय। यहोवा ‘न्याय मन पराउने’ परमेश्‍वर हुनुभएकोले उहाँ “कसैलाई पक्षपात गर्नुहुन्‍न।” (भज. ३७:२८; व्यव. १०:१७) त्यसैले उहाँको सेवक बनेर सधैँभरि उहाँको सेवा गरिरहने अनि अनन्त आशिष्‌ पाउने मौका हामी सबैले पाएका छौँ, चाहे हाम्रो सामाजिक स्तर वा पृष्ठभूमि जस्तोसुकै किन नहोस्‌। बुद्धि। परमेश्‍वर “बुद्धिमान्‌” हुनुभएकोले उहाँले हामीलाई बुद्धिले भरिएको किताब दिनुभएको छ। (अय्यु. ९:४; हितो. २:७) बाइबलका सिद्धान्तहरू लागू गर्दा हामी हरेक दिन आइपर्ने चुनौतीहरूसित डट्‌न र अर्थपूर्ण जीवन बिताउन सक्छौँ। शक्‍ति। परमेश्‍वर “अत्यन्तै शक्‍तिशाली” हुनुभएकोले उहाँ हामीलाई “असाधारण शक्‍ति” दिन आफ्नो पवित्र शक्‍ति चलाउनुहुन्छ। यसले हामीलाई जस्तोसुकै कठिन वा पीडादायी परीक्षाहरू आए पनि त्यो सहन बल दिन्छ।—नहु. १:३; २ कोरि. ४:७; भज. ४६:१.

११ प्रेम। यहोवा परमेश्‍वर “अटल प्रेमले भरिपूर्ण” हुनुभएकोले उहाँ आफ्ना वफादार उपासकहरूलाई कहिल्यै त्याग्नुहुन्‍न। (भज. १०३:८; २ समु. २२:२६) स्वास्थ्य अवस्था वा बुढ्यौलीले गर्दा यहोवा परमेश्‍वरको सेवा पहिलेजस्तो गर्न नसक्दा हामीलाई दुःख लाग्छ होला। तर विगतमा हामीले मेहनती भई उहाँको सेवा गरेर उहाँलाई देखाएको प्रेम उहाँ बिर्सनुहुन्‍न भन्‍ने कुरा सम्झँदा हामी सान्त्वना पाउन सक्छौँ। (हिब्रू ६:१०) हो, यहोवा परमेश्‍वरको न्याय, बुद्धि, शक्‍ति र प्रेमजस्ता गुणहरूबाट हामीले थुप्रै लाभ उठाइसकेका छौँ र परमेश्‍वरका यी चार वटा प्रमुख गुणबाट भविष्यमा पनि लाभ उठाउनेछौँ।

१२. यहोवा परमेश्‍वरका गुणहरू बुझ्ने हाम्रो क्षमताबारे हामीले कुन कुरा बिर्सनु हुँदैन?

१२ हामी मानिसजातिलाई यहोवा परमेश्‍वरका गुणहरूबारे जति थाह छ, त्यो त “एक छेउ मात्र हो” भन्‍ने कुरा हामीले बिर्सनु हुँदैन। (अय्यु. २६:१४) “हामी सर्वशक्‍तिमान्‌ परमेश्‍वरबारे सबै कुरा बुझ्न सक्दैनौँ” किनकि “उहाँको महानता अपार छ।” (अय्यु. ३७:२३; भज. १४५:३) त्यसैले यहोवा परमेश्‍वरका गुणहरूलाई हामी औँलामा गन्‍न वा वर्गीकरण गर्न सक्दैनौँ। (रोमी ११:३३, ३४ पढ्‌नुहोस्‌) वास्तवमा इजकिएलकै दर्शनले पनि परमेश्‍वरका गुणहरू असङ्‌ख्य छन्‌ र ती गुणहरूले ढाक्ने क्षेत्र पनि असीमित छ भनेर प्रकट गर्छ। (भज. १३९:१७, १८) यो महत्त्वपूर्ण सत्यलाई दर्शनको कुनचाहिँ पक्षले जोड दिएको छ?

‘चार वटा अनुहार . . . चार वटा पखेटा . . . चार दिशा’

१३, १४. करूबहरूका चार वटा अनुहारले केलाई बुझाउँछ? हामी किन त्यस्तो निष्कर्षमा पुग्न सक्छौँ?

१३ इजकिएलले दर्शनमा प्रत्येक करूबको अनुहार एउटा नभई चार वटा भएको देखे। यसले केलाई बुझाउँछ? याद गर्नुहोस्‌, परमेश्‍वरको वचनमा “चार” सङ्‌ख्याले अक्सर सम्पूर्ण कुरा ढाकिएको वा पूर्ण भएको अवस्थालाई बुझाउँछ। (यसै. ११:१२; मत्ति २४:३१; प्रका. ७:१) रोचक कुरा त इजकिएलले यस दर्शनमा “चार” सङ्‌ख्या आठ-आठ चोटि उल्लेख गरेका छन्‌। (इज. १:५-१८) त्यसोभए हामी कस्तो निष्कर्षमा पुग्न सक्छौँ? जसरी चार करूबले सम्पूर्ण वफादार अदृश्‍य जीवलाई सङ्‌केत गर्छ, त्यसरी नै करूबहरूका चार वटा अनुहारलाई समष्टिगत रूपमा हेर्दा त्यसले यहोवा परमेश्‍वरमा भएका सम्पूर्ण गुणलाई बुझाउँछ वा ढाक्छ। *

१४ करूबहरूका चार वटा अनुहारले चार वटाभन्दा धेरै गुणलाई बुझाउँछ भनेर बुझ्न इजकिएलले देखेको दर्शनका चार पाङ्‌ग्रालाई उदाहरणको रूपमा हेरौँ। हुनत प्रत्येक पाङ्‌ग्रा भव्य छन्‌ तर ती चार वटा पाङ्‌ग्रालाई समष्टिगत रूपमा हेर्दा, ती पाङ्‌ग्राहरू भिन्‍नाभिन्‍नै पाङ्‌ग्रा नभई त्यस रथलाई थाम्ने आधार हुन्‌। त्यसैगरि ती चार वटा अनुहारलाई पनि समष्टिगत रूपमा हेर्दा, ती अनुहारहरू चार वटा भिन्‍नाभिन्‍नै गुण मात्र नभई यहोवा परमेश्‍वरको विशिष्ट व्यक्‍तित्वको आधार हुन्‌।

यहोवा आफ्ना सबै वफादार सेवकको नजिक हुनुहुन्छ

१५. आफूले देखेको पहिलो दर्शनबाट इजकिएलले कस्तो मन छुने सत्य सिके?

१५ यो पहिलो दर्शनबाट इजकिएलले यहोवा परमेश्‍वरसितको आफ्नो सम्बन्धबारे महत्त्वपूर्ण र मन छुने सत्य सिके। त्यो सत्य के थियो? त्यो सत्य इजकिएलले लेखेको किताबको सुरुका शब्दहरूमा सङ्‌केत गरिएको छ। आफू “कल्दिया”-मा भएको कुरा उल्लेख गरेपछि तिनले आफ्नो अनुभवबारे यस्तो लेखे: “त्यहाँ यहोवा परमेश्‍वरको हात तिनीमाथि आयो।” (इज. १:३) याद गर्नुहोस्‌, इजकिएलले आफूले त्यो दर्शन यरुसलेममा नभई त्यहाँ अर्थात्‌ बेबिलोनमा पाएको कुरा उल्लेख गरेका छन्‌। * त्यसोभए त्यस तथ्यबाट इजकिएलले के थाह पाए? हो, तिनले यो कुरा थाह पाए: तिनी यरुसलेम र त्यहाँको मन्दिरबाट धेरै टाढा निर्वासनमा भए तापनि तिनी यहोवा परमेश्‍वर र उहाँको उपासनाबाट वञ्चित थिएनन्‌। यहोवा परमेश्‍वर बेबिलोनमा आफूकहाँ प्रकट हुनुभएकोले परमेश्‍वरलाई शुद्ध उपासना चढाउने कुरा कुनै ठाउँ वा ओहदामा निर्भर छैन भनेर इजकिएलले बुझे। बरु यो तिनको मनको अवस्था र यहोवा परमेश्‍वरको सेवा गर्ने तिनको इच्छामा निर्भर थियो।

१६. (क) इजकिएलको दर्शनबाट हामी कस्तो सान्त्वना पाउन सक्छौँ? (ख) सारा हृदयले परमेश्‍वरको सेवा गर्न तपाईँलाई केले उत्प्रेरित गर्छ?

१६ इजकिएलले सिकेको सत्य आज हाम्रो लागि पनि किन सान्त्वनाको कुरा हो? हामी जुनसुकै ठाउँमा भए पनि, जतिसुकै निराश भए पनि वा जीवनमा जस्तोसुकै परिस्थितिको सामना गर्नुपरे पनि सारा हृदयले यहोवा परमेश्‍वरको सेवा गऱ्‍यौँ भने उहाँ हाम्रो नजिक हुनुहुनेछ भनेर यसले हामीलाई आश्‍वासन दिन्छ। (भज. २५:१४; प्रेषि. १७:२७) यहोवा परमेश्‍वर आफ्ना प्रत्येक सेवकलाई अटल प्रेम गर्नुहुने भएकोले उहाँ हामीलाई त्याग्नुहुन्‍न। (प्रस्थ. ३४:६) त्यसैले यहोवा परमेश्‍वरको अटल प्रेमबाट हामी कहिल्यै टाढा छैनौँ। (भज. १००:५; रोमी ८:३५-३९) यसबाहेक यहोवा परमेश्‍वरको पवित्रता र महानता प्रकट गर्ने यो भव्य दर्शनले हामीलाई उहाँ हाम्रो उपासनाको योग्य हुनुहुन्छ भनेर सम्झाउँछ। (प्रका. ४:९-११) हो, यहोवा परमेश्‍वरले हामीलाई उहाँबारे र उहाँका गुणहरूबारे सत्य कुराहरू बुझाउन त्यस्ता दर्शनहरू प्रयोग गर्नुभएकोमा हामी उहाँप्रति धन्यवादी छौँ। यहोवा परमेश्‍वरका मनमोहक गुणहरूबारे अझ राम्ररी बुझ्ने कोसिस गर्दा हामी उहाँको अझ नजिक हुन्छौँ अनि उहाँलाई सारा हृदयले र सारा बलले प्रेम गर्न उत्प्रेरित हुन्छौँ।—लुका १०:२७.

यहोवा परमेश्‍वरको अटल प्रेमबाट हामी कहिल्यै टाढा छैनौँ (अनुच्छेद १६ हेर्नुहोस्‌)

१७. यसपछिका अध्यायहरूमा कस्ता प्रश्‍नहरूबारे छलफल गर्नेछौँ?

१७ तर दुःखको कुरा, इजकिएलको समयमा शुद्ध उपासना बिटुलो भएको थियो। कसरी त्यस्तो भयो? त्यो देखेर यहोवा परमेश्‍वरलाई कस्तो लाग्यो? अनि ती पुरातन घटनाहरूले आज हाम्रो लागि कस्तो महत्त्व राख्छ? यी प्रश्‍नहरूबारे यसपछिका अध्यायहरूमा छलफल गर्नेछौँ।

^ इजकिएलले यी जीवहरूबारे गरेको व्याख्याले हामीलाई परमेश्‍वरको नाम यहोवाको सम्झना दिलाउँछ, जसको अर्थ हो “बन्‍ने र बनाउने उहाँ नै हुनुहुन्छ।” त्यस नामको अर्थको एउटा पक्षले सङ्‌केत गरेझैँ यहोवा परमेश्‍वर आफ्नो उद्देश्‍य पूरा गर्न आफ्नो सृष्टिलाई जे पनि बनाउन सक्नुहुन्छ।—नयाँ संसार अनुवाद-को अतिरिक्‍त लेख क४ हेर्नुहोस्‌।

^ हाम्रा प्रकाशनहरूमा यहोवा परमेश्‍वरका ५० वटाभन्दा धेरै गुणबारे छलफल गरिएको छ।—यहोवाका साक्षीहरूको लागि अनुसन्धान सहयोगी-मा “यहोवा परमेश्‍वर” शीर्षकअन्तर्गत “यहोवाका गुणहरू” हेर्नुहोस्‌।

^ एक जना बाइबल टिप्पणीकारले बताएअनुसार “त्यहाँ” भन्‍ने शब्दले “त्यस क्षणमा महसुस गरिएको आश्‍चर्यलाई अरू कुनै पनि शब्दले भन्दा राम्ररी व्याख्या गर्छ। . . . परमेश्‍वर त्यहाँ बेबिलोनमा हुनुहुन्छ! कस्तो सान्त्वनादायी कुरा!”