सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय ३

“मैले परमेश्‍वरबाट दर्शन पाएँ”

“मैले परमेश्‍वरबाट दर्शन पाएँ”

इजकिएल १:१

मुख्य कुरा: इजकिएलले देखेको स्वर्गीय रथको दर्शन

१-३. (क) इजकिएल के देख्छन्‌ र सुन्छन्‌, व्याख्या गर्नुहोस्‌। (शीर्षकमाथिको चित्र हेर्नुहोस्‌) (ख) केले गर्दा इजकिएलले त्यस्ता कुराहरू अनुभव गर्न सके? आफूले अनुभव गरेको कुराले तिनमा कस्तो प्रभाव पाऱ्‍यो?

 इजकिएल आफ्नो नजर उठाउँछन्‌ र बलौटे जमिनतिर एकटक लगाएर हेर्न थाल्छन्‌। आफूले देखिरहेको कुरा तिनी पत्याउनै सक्दैनन्‌। त्यसैले आँखा च्यातेर हेर्न थाल्छन्‌। क्षितिजमा ठूलो आँधीहुरी चल्न लागेको जस्तो देखिन्छ। तर त्यो चानचुने आँधी थिएन। उत्तरबाट वेगसित चलिरहेको बतासले गर्दा तिनको कपाल र लुगा बेसरी फरफराउँछ। अचानक तिनी ठूलो र बाक्लो बादल देख्छन्‌। त्यस बादलबाट आगोको लप्को निस्किरहेको छ र त्यसको चमक तिनलाई कुनै बहुमूल्य धातुको जस्तो लाग्छ। * त्यो बादल इजकिएल भएतिर वेगले आउँदै गर्दा एउटा आवाज सुनिन्छ, जुन आवाज झन्‌झनै ठूलो हुँदै जान्छ। त्यो आवाज सेनाको ठूलो डफ्फा यताउता गर्दा आएको आवाजजस्तै सुनिन्छ।—इज. १:४, २४.

लगभग तीस वर्ष पुगेका यी युवकले जिन्दगीमा कहिल्यै बिर्सन नसक्ने अनुभवहरू गर्न लागेका छन्‌, जसमध्ये यो पहिलो हो। तिनले “यहोवा परमेश्‍वरको हात” अर्थात्‌ उहाँको पवित्र शक्‍ति आफूमाथि भएको महसुस गर्छन्‌। पवित्र शक्‍तिको मदत पाएर अब तिनले देख्न र सुन्‍न लागेको कुरा साँच्चै अचम्मलाग्दो हुनेछ, ती दृश्‍यहरू आजकाल स्पेसल-इफेक्ट राखेर बनाइने चलचित्रहरूभन्दा पनि कता हो कता सानदार हुनेछन्‌! अब आफूले देख्न लागेको दर्शनले गर्दा इजकिएल आश्‍चर्यचकित भएर भुइँसम्मै घोप्टो पर्नेछन्‌।—इज. १:३, २८.

तर यहोवा परमेश्‍वरले इजकिएललाई ती दृश्‍यहरू देखाउनुको कारण तिनलाई आश्‍चर्यचकित पार्नु मात्र त थिएन। इजकिएलको किताबमा रेकर्ड गरिएका अरू रोमाञ्चकारी दर्शनहरूजस्तै इजकिएलले देखेको यो पहिलो दर्शन पनि तिनको लागि र आजका वफादार सेवकहरूका लागि अत्यन्तै अर्थपूर्ण छ। त्यसैले आउनुहोस्‌, हामी पनि इजकिएलले दर्शनमा देखेका र सुनेका कुराहरूलाई नजिकबाट नियालौँ।

अवस्था

४, ५. इजकिएलले कस्तो अवस्थामा दर्शन देखेका थिए?

इजकिएल १:१-३ पढ्‌नुहोस्‌। सबैभन्दा पहिला इजकिएल कस्तो अवस्थामा थिए, विचार गरौँ। कुरा हो, ईसापूर्व ६१३ को। हामीले अघिल्लो अध्यायमा सिकेझैँ इजकिएल बेबिलोनमा थिए र तिनी निर्वासनमा रहेका मानिसहरूसँगै केबार नदीको किनारमा बसोबास गर्थे। केबार नदी सम्भवतः गहिरो र चौडा मानवनिर्मित नहर थियो, जुन युफ्रेटिस नदीबाट छुट्टिएको थियो र पछि युफ्रेटिस नदीमै मिसिन्थ्यो।

इजकिएल केबार नदीनजिकै निर्वासित मानिसहरूसँगै बसोबास गर्थे (अनुच्छेद ४ हेर्नुहोस्‌)

निर्वासित यहुदीहरूको घर यरुसलेम त्यहाँबाट लगभग ८०० किलोमिटर टाढा थियो। * इजकिएलको बुबाले पुजारीको रूपमा सेवा गरेको त्यहाँको मन्दिर झूटो उपासना र मूर्तिपूजाको दलदलमा फसेको थियो। कुनै समय दाउद र सुलेमानले शानका साथ शासन गरेको यरुसलेमको सिंहासन अहिले अपमानको स्रोत बनेको थियो। विश्‍वासघाती राजा यहोयाकिन पनि निर्वासनमा परेका यहुदीहरूसँगै बेबिलोनमै थिए। तिनको ठाउँमा राजा भएका सिदकियाह पनि दुष्ट थिए र तिनी बेबिलोनको कठपुतली मात्र थिए।—२ राजा २४:८-१२, १७, १९.

६, ७. इजकिएललाई आफू बाँचिरहेको समय किन आफ्नो जीवनकै सबैभन्दा अन्धकारमय समय लागेको हुन सक्छ?

इजकिएलजस्तो वफादार पुरुषलाई त्यो समय आफ्नो जीवनकै सबैभन्दा अन्धकारमय समय लागेको हुन सक्छ। तिनीसँगै निर्वासनमा रहेका कोही-कोही यहुदीहरूले यस्तो सोचेका हुन सक्छन्‌: ‘के यहोवा परमेश्‍वरले हामीलाई सधैँको लागि त्याग्नुभएको हो? तीनथुप्रो झूटा देवहरूले भरिएको दुष्ट र शक्‍तिशाली बेबिलोनले के यहोवा परमेश्‍वरको शुद्ध उपासनालाई र उहाँको शासनलाई साँच्चै नामेट पार्नेछ?’

यस अवस्थालाई मनमा राख्दै आफ्नो व्यक्‍तिगत अध्ययनमा इजकिएलले देखेको पहिलो दर्शनको जीवन्त विवरण पढ्‌नुभए कसो होला? (इज. १:४-२८) पढ्‌दै जाँदा आफूलाई इजकिएलको ठाउँमा राख्नुहोस्‌ अनि तिनले देखेको कुरा हेर्नुहोस्‌ र तिनले सुनेको कुरा सुन्‍नुहोस्‌।

कार्कमिस नजिकै भएको युफ्रेटिस नदी (अनुच्छेद ५-७ हेर्नुहोस्‌)

बिलकुलै फरक सवारी-यान

८. इजकिएलले दर्शनमा के देखे र त्यसले केलाई बुझाउँछ?

इजकिएलले दर्शनमा के देखे? तिनले आङै सिरिङ्‌ङ हुने अत्यन्तै ठूलो सवारी-यान देखे, जसलाई रथको रूपमा वर्णन गरिएको छ। त्यस रथमा चार वटा बडेमाका पाङ्‌ग्रा थिए र ती पाङ्‌ग्राहरूको छेउमा चार अचम्मलाग्दा अदृश्‍य जीवहरू थिए, जसलाई पछि करूबहरू भनी चिनाइएको छ। (इज. १०:१) तिनीहरूमाथि बरफजस्तै देखिने एउटा विशाल पाता थियो र त्यसमाथि यहोवा परमेश्‍वर स्वयम्‌ विराजमान हुनुभएको महिमित सिंहासन थियो। तर त्यस रथले केलाई बुझाउँछ? इजकिएलको दर्शनले एउटै मात्र कुरालाई चित्रण गरेको हुन सक्छ। त्यो हो: यहोवा परमेश्‍वरको महिमित सङ्‌गठनको स्वर्गीय भाग। हामी किन यसो भन्‍न सक्छौँ? तीन वटा कारण विचार गरौँ।

९. स्वर्गदूतहरू र यहोवा परमेश्‍वरबीचको सम्बन्ध सवारी-यानको वर्णनसित कसरी मिल्छ?

स्वर्गदूतहरू र यहोवा परमेश्‍वरबीचको सम्बन्ध। यस दर्शनमा यहोवा परमेश्‍वरको सिंहासन करूबहरूको माथि छ। बाइबलको अरू पुस्तकमा पनि यहोवा परमेश्‍वर करूबहरूभन्दा माथि विराजमान हुनुहुन्छ भनी वर्णन गरिएको छ वा उहाँ करूबहरूको बीचमा हुनुहुन्छ भनी चित्रण गरिएको छ। (२ राजा १९:१५ पढ्‌नुहोस्‌; प्रस्थ. २५:२२; भज. ८०:१) उहाँ पक्कै पनि शाब्दिक अर्थमै करूबहरूमाथि बस्नुहुन्‍न। उहाँलाई न यी शक्‍तिशाली अदृश्‍य जीवहरूले बोक्नुपर्छ न त उहाँलाई साँच्चैको रथ नै चाहिन्छ। तर करूबहरू उहाँको सार्वभौमिकतालाई समर्थन गर्छन्‌ र उहाँ तिनीहरूलाई आफ्नो सार्वभौम उद्देश्‍य पूरा गर्न ब्रह्‍माण्डको जुनसुकै ठाउँमा पठाउन सक्नुहुन्छ। परमेश्‍वरका सबै पवित्र स्वर्गदूतले जस्तै तिनीहरूले यहोवा परमेश्‍वरको सेवक वा माध्यमको रूपमा उहाँका निर्णयहरू कार्यान्वयन गर्छन्‌। (भज. १०४:४) यस अर्थमा यहोवा परमेश्‍वर तिनीहरूमाथि “सवार हुनुहुन्छ,” मानौँ तिनीहरू एकताबद्ध भएको एउटा विशाल सवारी-यान हुन्‌ र सार्वभौम शासकको रूपमा उहाँले नै तिनीहरूलाई डोऱ्‍याउनुहुन्छ।

१०. स्वर्गीय रथले चार जना करूबलाई मात्र बुझाउँदैन भनेर केले देखाउँछ?

१० यो सवारी-यानले चार जना करूबलाई मात्र बुझाउँदैन। इजकिएलले दर्शनमा चार जना करूब देखे। बाइबलमा “चार” सङ्‌ख्या अक्सर पूर्णतालाई अर्थात्‌ कोही पनि नछुटी सबै जना समावेश भएको कुरालाई बुझाउन प्रयोग गरिएको छ। त्यसैले चार जना करूबले यहोवा परमेश्‍वरका सबै वफादार अदृश्‍य छोराहरूलाई बुझाउँछ। यो कुरा पनि याद गर्नुहोस्‌, सवारी-यानका पाङ्‌ग्राहरू र करूबहरू समेत आँखैआँखाले भरिएका थिए। आँखैआँखा हुनुले सचेत रहनुलाई सङ्‌केत गर्छ। यसले ती चार अदृश्‍य जीव मात्र होइन, सबै अदृश्‍य जीव नै सचेत छन्‌ भन्‍ने कुरालाई बुझाउँछ। अनि त्यस सवारी-यानबारे इजकिएलको वर्णनबाट त्यो असाध्यै विशाल थियो भनी देखिन्छ, जसको तुलनामा ती करूबहरूसमेत साना देखिन्थे। (इज. १:१८, २२; १०:१२) त्यसैगरि यहोवा परमेश्‍वरको सङ्‌गठनको स्वर्गीय भाग विशाल छ, यस भागमा ती चार जना करूब मात्र सम्मिलित छैनन्‌।

यहोवा परमेश्‍वरको स्वर्गीय रथको दर्शन देखेर इजकिएल उहाँप्रतिको श्रद्धा र भयले भरिए (अनुच्छेद ८-१० हेर्नुहोस्‌)

११. दानिएलले पनि कस्तो दर्शन पाए र यसबाट हामी कस्तो निष्कर्षमा पुग्न सक्छौँ?

११ दानिएलले पनि स्वर्गबारे यस्तै खालको दर्शन पाए। भविष्यवक्‍ता दानिएलले बेबिलोनमा लामो समय निर्वासित जीवन बिताए र त्यहाँ तिनले पनि स्वर्गको दर्शन पाए। रोचक कुरा, त्यस दर्शनमा पनि यहोवा परमेश्‍वरको सिंहासनमा पाङ्‌ग्राहरू थिए। दानिएलको दर्शनले स्वर्गमा यहोवा परमेश्‍वरको अदृश्‍य परिवार कति ठूलो छ भन्‍ने कुरामा जोड दियो। दानिएलले यहोवा परमेश्‍वरका “हजारौँ-हजार . . . र लाखौँ-लाख” अदृश्‍य छोराहरू उहाँको अगाडि उभिरहेका देखे। तिनीहरू प्रत्येक नै स्वर्गीय चोकमा आ-आफूलाई खटाइएको ठाउँमा थिए जस्तो देखिन्छ। (दानि. ७:९, १०, १३-१८) इजकिएलले देखेको दर्शनले पनि अदृश्‍य जीवहरूको यही महिमित भेलालाई सङ्‌केत गरेको हो भन्‍ने निष्कर्षमा पुग्नु उचित छैन र?

१२. इजकिएलले दर्शनमा देखेका स्वर्गीय रथको विवरण र यस्तै अन्य विवरण अध्ययन गर्नु हाम्रो लागि किन सुरक्षा हो?

१२ स्वर्गका कुराहरूमा अर्थात्‌ प्रेषित पावलले भनेझैँ “नदेखिने कुराहरूमा” मन लगाउनु हाम्रो लागि सुरक्षा हो भनेर यहोवा परमेश्‍वरलाई थाह छ। किन? हामी रगत र मासुले बनिएकोले हामीमा “देखिने कुराहरूमा” मन लगाउने झुकाव प्रबल हुन्छ। तर यस्ता शारीरिक कुराहरू अस्थायी मात्र हुन्‌। (२ कोरिन्थी ४:१८ पढ्‌नुहोस्‌) सैतानले अक्सर हाम्रो यही झुकावको फाइदा उठाउँछ र हामीलाई शारीरिक झुकाव राख्ने मानिस बनाउन खोज्छ। हामीले यस्तो दबाबको प्रतिरोध गर्न सकौँ भनेर यहोवा परमेश्‍वरले बाइबलमा इजकिएलको भविष्यवाणीको यो तथा अन्य विवरण समावेश गर्नुभएको छ। यस्ता विवरणबाट हामी यहोवा परमेश्‍वरको स्वर्गमा भएको परिवारको वैभवबारे थाह पाउन सक्छौँ।

“घुम्ने पाङ्‌ग्रा!”

१३, १४. (क) इजकिएलले आफूले देखेका पाङ्‌ग्राहरूको वर्णन कसरी गरे? (ख) यहोवा परमेश्‍वरको रथमा पाङ्‌ग्राहरू हुनु किन उपयुक्‍त छ?

१३ सबैभन्दा पहिला इजकिएल चार जना करूबमा आफ्नो ध्यान लगाउँछन्‌। यी जीवहरू र यिनीहरूका उल्लेखनीय स्वरूपले यहोवा परमेश्‍वरबारे के सिकाउँछ भनेर हामी यस किताबको अध्याय ४ मा बुझ्नेछौँ। यी करूबहरूकै छेउमा इजकिएलले चार वटा पाङ्‌ग्रा देख्छन्‌। ती पाङ्‌ग्राहरू सायद चारै कुनामा भएकोले एउटा ठूलो वर्गाकार बनेको छ। (इजकिएल १:१६-१८ पढ्‌नुहोस्‌) ती पाङ्‌ग्राहरूमा क्रिसोलाइट भनिने बहुमूल्य पत्थर पनि थियो जस्तो देखिन्छ, जुन पत्थर पहेँलो या पहेँलो र हरियो रङ्‌ग मिसिएको जस्तो देखिन्छ र पारदर्शी हुन्छ। यो सुन्दर पत्थर चम्किरहेको छ।

१४ इजकिएलको दर्शनमा रथका पाङ्‌ग्राहरूमा विशेष जोड दिइएको छ। पाङ्‌ग्राहरू भएको सिंहासन, सुन्दा पनि कत्ति अनौठो लाग्छ नि, होइन र? सिंहासन भन्‍नेबित्तिकै हाम्रो दिमागमा कुनै एक ठाउँमा राखिएको सिंहासनको चित्र आउँछ होला। हुन पनि पृथ्वीका शासकहरूको प्रभाव सीमित इलाकामा मात्र हुन्छ। तर यहोवा परमेश्‍वरको सार्वभौमिकता मानव शासनभन्दा बिलकुलै फरक छ। यहोवा परमेश्‍वरको सार्वभौम शक्‍तिको कुनै सीमा छैन, जुन कुरा अब इजकिएलले पनि थाह पाउनेछन्‌। (नहे. ९:६) शाब्दिक अर्थमै पनि उहाँले आफ्नो अख्तियार जहाँसुकै प्रयोग गर्न सक्नुहुन्छ!

१५. इजकिएलले पाङ्‌ग्राहरूबारे के याद गरे?

१५ बडेमाका पाङ्‌ग्राहरू देखेर इजकिएल भयभीत हुन्छन्‌। तिनले यस्तो लेखे: “ती पाङ्‌ग्राहरू यत्ति अग्ला थिए कि ती देख्दा आङै सिरिङ्‌ङ हुन्थ्यो।” इजकिएलले आकाशै छोलाजस्तो देखिने ती चम्किरहेका बडेमाका पाङ्‌ग्राहरू हेर्न आफ्नो टाउको माथितिर उठाएको हामी कल्पना गर्न सक्छौँ। तिनले अर्को एउटा अचम्मलाग्दो कुरा पनि भने: “मैले पाङ्‌ग्राका घेराभरि आँखैआँखा देखेँ।” सायद सबैभन्दा छक्कलाग्दो कुरा त, ती पाङ्‌ग्राहरूको अनौठो बनावट नै थियो। तिनले यसो भने: “तिनीहरूको बनावट हेर्दा प्रत्येक पाङ्‌ग्राभित्र अर्को पाङ्‌ग्रा भएजस्तै देखिन्थ्यो।” त्यसको अर्थ के थियो?

१६, १७. (क) कुन अर्थमा रथका पाङ्‌ग्राहरूभित्र पाङ्‌ग्राहरू थिए? (ख) पाङ्‌ग्राहरूले यहोवा परमेश्‍वरको सवारी-यानको चालबारे के प्रकट गर्छ?

१६ सम्भवतः इजकिएलले देखेको प्रत्येक पाङ्‌ग्रा वास्तवमा दुई वटा पाङ्‌ग्रा मिलेर बनेको थियो र दुवै पाङ्‌ग्रा समकोणमा एउटै अक्षमा जोडिएको थियो। त्यसैले इजकिएलले “ती पाङ्‌ग्राहरू अघि बढ्‌दा कतै नमोडी चारै दिशातिर जान सक्थे” भने। यी पाङ्‌ग्राहरूबाट इजकिएलले देखेको स्वर्गीय रथबारे के बुझ्न सक्छौँ?

१७ पाङ्‌ग्राहरू असाध्यै अग्ला भएकाले त्यसले एक फन्को लगाउँदा नै प्रशस्त जमिन ढाक्थ्यो। वास्तवमा दर्शनमा बताइएअनुसार त्यो सवारी-यान बिजुली चम्केको गतिमा गुड्‌थ्यो! (इज. १:१४) चारैतिर गुड्‌न सक्ने यस्ता पाङ्‌ग्राहरू बनाउनु मानव इन्जिनियरहरूका लागि अहिले सपना मात्र हो। यस सवारी-यानले गति नघटाई र कतै पनि नमोडी दिशा परिवर्तन गर्न सक्छ! तर यसले अन्धाधुन्ध यसो गर्दैन। पाङ्‌ग्राहरूका घेरामा भएका आँखाहरूले यो सवारी-यान चारै दिशामा भएका सबै कुराप्रति पूर्णतया सचेत छ भनेर देखाउँछ।

पाङ्‌ग्राहरू अत्यन्तै ठूला थिए र ती तीव्र गतिमा कुद्‌न सक्थे (अनुच्छेद १७ हेर्नुहोस्‌)

१८. पाङ्‌ग्राहरूको साइज र त्यसमा भएको आँखैआँखाले कुन कुरा बुझाउँछ?

१८ यहोवा परमेश्‍वरले आफ्नो सङ्‌गठनको स्वर्गीय भागबारे इजकिएल र उहाँका सबै वफादार मानिसलाई के सिकाउँदै हुनुहुन्थ्यो? अहिलेसम्म हामीले के सिक्यौँ, विचार गर्नुहोस्‌। पाङ्‌ग्राहरूमा भएको चम्किलो पत्थर र यसको साइजले देखाएझैँ यो महिमित र श्रद्धा जगाउने खालको छ। पाङ्‌ग्राहरूमा भएका आँखैआँखाले देखाएझैँ यो सबै कुराप्रति सचेत छ। यसबाहेक यहोवा परमेश्‍वरको आफ्नै आँखाले पनि सबै कुरा देख्छ। (हितो. १५:३; यर्मि. २३:२४) साथै उहाँसित लाखौँ स्वर्गदूत छन्‌, जसलाई उहाँ ब्रह्‍माण्डको जहाँसुकै पठाउन सक्नुहुन्छ र ती स्वर्गदूतहरूले सबै कुरा राम्रोसँग नियालेर आफ्नो सार्वभौमलाई त्यसबारे रिपोर्ट दिन सक्छन्‌।हिब्रू १:१३, १४ पढ्‌नुहोस्‌।

पाङ्‌ग्राहरूको बनावटले गर्दा रथले चाहेअनुसार दिशा परिवर्तन गर्न सक्थ्यो (अनुच्छेद १७, १९ हेर्नुहोस्‌)

१९. यहोवा परमेश्‍वरको रथको गति र आफूले चाहेअनुसार दिशा परिवर्तन गर्न सक्ने यसको क्षमताबाट हामी यहोवा परमेश्‍वर र उहाँको सङ्‌गठनको स्वर्गीय भागबारे के सिक्न सक्छौँ?

१९ हामीले यो पनि बुझ्यौँ कि यस रथको गति असाध्यै तेज छ र यसले आफूले चाहेअनुसार दिशा परिवर्तन गर्न सक्छ। यहोवाको सङ्‌गठनको स्वर्गीय भाग अनि मानव सरकार, संस्था र सङ्‌गठनबीचको भिन्‍नताबारे विचार गर्नुहोस्‌ त! तिनीहरूलाई कसरी समस्या सुल्झाउने भनेर थाह छैन र तिनीहरू बदलिँदो अवस्थाअनुसार छाँटकाँट गर्न सक्दैनन्‌। त्यसकारण तिनीहरू सफल हुँदैनन्‌ र तिनीहरूको अन्त हुन्छ। तर यहोवा परमेश्‍वरले हाँकिरहनुभएको रथले उहाँ व्यावहारिक र अवस्थाअनुसार छाँटकाँट गर्नुहुने परमेश्‍वर हुनुहुन्छ भनेर देखाउँछ। उहाँको नामले सङ्‌केत गरेझैँ उहाँ आफ्नो उद्देश्‍य पूरा गर्न आवश्‍यकताअनुसार जे पनि बन्‍न सक्नुहुन्छ। (प्रस्थ. ३:१३, १४) उदाहरणको लागि, एकातिर उहाँ आफ्ना जनहरूका खातिर युद्ध गर्ने वीर योद्धा बन्‍न सक्नुहुन्छ भने अर्कोतिर आफूले गरेको पापको कारण मन भाँचिएका पश्‍चात्तापी पापीहरूलाई क्षमा दिने र हौसला दिने कृपालु व्यक्‍ति बन्‍न सक्नुहुन्छ।—भज. ३०:५; यसै. ६६:१३.

२०. यहोवा परमेश्‍वरको रथप्रति हामी किन भय र श्रद्धाले भरिनुपर्छ?

२० इजकिएलले देखेको दर्शनबारे यहाँसम्म बुझिसकेपछि हामी पनि यस्तो प्रश्‍न सोध्न उत्प्रेरित हुन्छौँ, ‘यहोवा परमेश्‍वरको रथप्रति के म भय र श्रद्धाले भरिन्छु?’ हामीले यो कुरा बिर्सनु हुँदैन कि त्यो रथ कुदिरहेको छ। हामीलाई निराश तुल्याउने समस्याहरूप्रति यहोवा परमेश्‍वर, उहाँको छोरा र स्वर्गदूतहरूले आँखा चिम्लनुभएको छ भनेर हामीले कहिल्यै सोच्नु हुँदैन। अथवा परमेश्‍वरले हाम्रो आवश्‍यकता पूरा गर्न ढिला गर्नुहोला वा उहाँको सङ्‌गठन यस अस्थिर संसारमा आइपर्ने नयाँ-नयाँ कठिनाइअनुसार छाँटकाँट गर्न असफल होला भनेर चिन्ता गर्नु पर्दैन। यो कुरा मनमा राख्नुहोस्‌, यहोवा परमेश्‍वरको सङ्‌गठन सक्रियतासाथ अघि बढ्‌दै छ। इजकिएलले पनि स्वर्गबाट कसैले ठूलो आवाजमा यसो भनेको सुने: “घुम्ने पाङ्‌ग्रा!” सम्भवतः यो ती पाङ्‌ग्राहरूलाई गति लिन दिइएको आदेश थियो। (इज. १०:१३) यहोवा परमेश्‍वरले उहाँको सङ्‌गठनलाई कसरी अघि बढाइरहनुभएको छ भनेर सोच्दा के हाम्रो मन पनि श्रद्धाले भरिँदैन र? तर हामीले सबैभन्दा धेरै श्रद्धा गर्नुपर्ने त पक्कै पनि यहोवा परमेश्‍वरलाई नै हो।

रथ हाँक्ने व्यक्‍ति

२१, २२. रथको विभिन्‍न भागलाई केले नियन्त्रणमा राखेको छ, व्याख्या गर्नुहोस्‌।

२१ इजकिएल अब आफ्नो ध्यान पाङ्‌ग्राबाट अझ माथितिर लगाउँछन्‌, जहाँ तिनले “बरफजस्तै चमचम चम्किरहेको पाता” देख्छन्‌। (इज. १:२२) करूबहरूको शिरमास्तिर फैलिएको त्यो पारदर्शी पाता चमचम चम्किरहेको थियो। तर कुनै यन्त्रले कसरी काम गर्छ भन्‍ने कुरा बुझेको पाठकको मनमा त्यस सवारी-यानबारे थुप्रै प्रश्‍न आउन सक्छ। उदाहरणको लागि, कसै-कसैलाई लाग्न सक्छ: ‘पाङ्‌ग्राहरूभन्दा माथितिर भएको त्यो पातालाई केले अड्याइरहेको छ? अनि पाङ्‌ग्राहरूलाई जोड्‌ने धुराहरूविना नै पाङ्‌गाहरू कसरी गुड्‌न सक्छन्‌?’ यो कुरा मनमा राख्नुहोस्‌, यो सवारी-यान भौतिक नियमहरूको अधीनमा छैन किनभने यो स्वर्गको वास्तविकतालाई झल्काउने प्रतीकात्मक सवारी-यान हो। यी महत्त्वपूर्ण शब्दहरूलाई पनि ध्यान दिनुहोस्‌: “ती जीवहरूलाई जस्तै पाङ्‌ग्राहरूलाई पनि पवित्र शक्‍तिले डोऱ्‍याउँथ्यो।”—इज. १:२०, २१.

२२ हो, ती जीवहरूलाई र पाङ्‌ग्राहरूलाई ब्रह्‍माण्डकै सबैभन्दा शक्‍तिशाली शक्‍ति यहोवा परमेश्‍वरको पवित्र शक्‍तिले डोऱ्‍याएको थियो। त्यही सक्रिय शक्‍तिले यस सवारी-यानको सबै भागलाई नियन्त्रणमा राख्छ, शक्‍ति दिन्छ र तालमेल मिलाएर गुड्‌न मदत गर्छ। यो कुरा मनमा राख्दै अब हामी पनि इजकिएलजस्तै त्यस रथलाई हाँक्ने व्यक्‍तितर्फ आफ्नो ध्यान लगाऔँ।

इजकिएलले देखेको दर्शन अचम्मलाग्दो भएकोले तिनलाई त्यसबारे शब्दमा वर्णन गर्नै गाह्रो भयो

२३. यहोवा परमेश्‍वरलाई चिनाउन इजकिएलले कस्ता अभिव्यक्‍तिहरू प्रयोग गरे र किन?

२३ इजकिएल १:२६-२८ पढ्‌नुहोस्‌। यस दर्शनभरि नै इजकिएलले “. . . जस्तै केही देखिन्थ्यो,” “. . . जस्तै केही देखेँ,” “. . . जस्तै थियो” जस्ता अभिव्यक्‍तिहरू बारम्बार प्रयोग गरेका छन्‌। तर यी पदहरूमा तिनले यस्ता अभिव्यक्‍तिहरू अझ धेरै प्रयोग गरेका छन्‌। इजकिएलले देखेको दर्शन अचम्मलाग्दो भएकोले तिनलाई त्यसबारे शब्दमा वर्णन गर्नै गाह्रो भयो जस्तो देखिन्छ। तिनले ‘पाताको माथि नीलमजस्तै केही देखे, जुन सिंहासनजस्तो देखिन्थ्यो।’ गाढा निलो रङ्‌गको ठूलो नीलम पत्थर खोपेर बनाइएको त्यो सिंहासन कस्तो थियो होला? त्यस सिंहासनमा कोही विराजमान हुनुहुन्थ्यो। उहाँको “रूप मानिसको जस्तै थियो।”

२४, २५. (क) यहोवा परमेश्‍वरको सिंहासन वरिपरि देखिएको इन्द्रेनीले हामीलाई कुन कुराको सम्झना गराउँछ? (ख) भविष्यवक्‍ताहरूलाई यस्ता दर्शनहरूले कस्तो प्रभाव पाऱ्‍यो?

२४ यहोवा परमेश्‍वरको वैभवशाली रूप प्रस्ट देखिएको थिएन किनकि उहाँको कम्मरमुनि र कम्मरमाथिबाट महिमाको ज्वाला चम्किरहेको थियो। उहाँको महिमित रूप हेर्न भविष्यवक्‍ता इजकिएलले आफ्नो आँखा चिम्सो पार्नुपरेको र हत्केलाले आँखा छेक्नुपरेको हुन सक्छ। दर्शनको अन्तमा तिनी यस्तो भव्य कुरा देख्छन्‌: “तिनको चारैतिर चहकिलो ज्योति थियो। त्यो ज्योति पानी परेको बेला बादलमा देखिने इन्द्रेनीजस्तै थियो।” हाम्रो सृष्टिकर्ताको महिमा झल्काउने इन्द्रेनी देख्दा के तपाईँलाई खुसी लाग्दैन र? मनै हर्ने रङ्‌गीबिरङ्‌गी इन्द्रेनी आकाशमा देख्दा हामी यहोवा परमेश्‍वरले जलप्रलयपछि गर्नुभएको शान्तिको करारलाई पनि सम्झन सक्छौँ। (उत्प. ९:११-१६) उहाँ शक्‍तिशाली परमेश्‍वर मात्र होइन, शान्तिका परमेश्‍वर पनि हुनुहुन्छ। (हिब्रू १३:२०) उहाँको हृदय शान्तिले भरिएको छ र वफादार भएर उहाँको उपासना गर्ने सबैलाई उहाँ त्यस्तो शान्ति दिनुहुन्छ।

यहोवा परमेश्‍वरको सिंहासनवरपर भएको इन्द्रेनीले हामी शान्तिका परमेश्‍वरको सेवा गर्छौँ भनेर सम्झाउँछ (अनुच्छेद २४ हेर्नुहोस्‌)

२५ यहोवा परमेश्‍वरको महिमा प्रकट गर्ने दृश्‍य देखेपछि त्यसले इजकिएललाई कस्तो प्रभाव पाऱ्‍यो? त्यसपछि भएको घटनाबारे इजकिएलले यसो भने: “जब मैले त्यो देखेँ, तब म भुइँसम्मै घोप्टो परेँ।” परमेश्‍वरप्रतिको श्रद्धा र भयले भरिएर इजकिएल भुइँमा घोप्टो परे। यहोवा परमेश्‍वरबाट दर्शन पाएपछि अन्य भविष्यवक्‍ताहरूले पनि यस्तै प्रतिक्रिया देखाएका थिए; यस्तो अनुभवले तिनीहरूलाई पक्कै नम्र र भावविह्वल तुल्याएको हुनुपर्छ। (यसै. ६:१-५; दानि. १०:८, ९; प्रका. १:१२-१७) तर पछि, यहोवा परमेश्‍वरले तिनीहरूलाई प्रकट गर्नुभएको कुराबाट ती भविष्यवक्‍ताहरूले धेरै बल पाए। इजकिएलले पनि पक्कै बल पाए। यी र यस्तै अन्य विवरणहरूले हामीलाई पनि कस्तो प्रभाव पार्नुपर्छ?

२६. इजकिएलले देखेको दर्शनबाट तिनले कस्तो बल पाएको हुनुपर्छ?

२६ इजकिएललाई बेबिलोनमा निर्वासित जीवन बिताइरहेका मानिसहरूको चिन्ता लागेको थियो भने त्यस दर्शनबाट तिनले पक्कै पनि बल पाएको हुनुपर्छ। हो, परमेश्‍वरका वफादार सेवकहरू यरुसलेम, बेबिलोन वा जहाँसुकै भए पनि त्यसले कुनै फरक पार्ने थिएन। तिनीहरू यहोवा परमेश्‍वरको भव्य रथको पहुँचबाहिर कहिल्यै हुने थिएनन्‌! परमेश्‍वरको महिमित सङ्‌गठनको स्वर्गीय भाग उहाँकै नियन्त्रणमा भएकोले उहाँविरुद्ध सैतानको कुनचाहिँ शक्‍ति खडा हुन सक्छ र? (भजन ११८:६ पढ्‌नुहोस्‌) त्यो स्वर्गीय रथ मानिसजातिबाट टाढा नभएको कुरा पनि इजकिएलले दर्शनमा देखे। किनकि त्यसका पाङ्‌ग्राहरूले जमिनलाई छोएको थियो। (इज. १:१५) त्यसकारण बेबिलोनमा निर्वासित जीवन बिताइरहेका आफ्ना वफादार मानिसहरूको यहोवा परमेश्‍वर गहिरो चासो राख्नुहुन्थ्यो भनेर स्पष्ट हुन्छ। तिनीहरू सधैँ आफ्नो मायालु बुबाको निगरानीमा हुने थिए!

रथ र तपाईँ

२७. इजकिएलको दर्शनबाट आज हामी पनि कस्तो बल पाउन सक्छौँ?

२७ के इजकिएलले देखेको दर्शनबाट आज हामी पनि बल पाउन सक्छौँ? निश्‍चय पनि! यो कुरा नबिर्सनुहोस्‌, सैतानले यहोवा परमेश्‍वरको शुद्ध उपासनामा एकपछि अर्को आक्रमण गरिरहेको छ। हामी एक्लो छौँ, हामी स्वर्गमा हुनुहुने बुबा र उहाँको सङ्‌गठनको मायालु पहुँचभन्दा बाहिर छौँ भनेर हामीले सोचेको सैतान चाहन्छ। यस्तो झूटलाई आफ्नो मन र दिमागमा कहिल्यै ठाउँ नदिनुहोस्‌! (भज. १३९:७-१२) इजकिएलसित जस्तै हामीसित पनि परमेश्‍वरप्रतिको श्रद्धा र भयले भरिनुपर्ने हर कारण छ। हामी तिनीजस्तो भुइँसम्मै घोप्टो त पर्दैनौँ होला। तैपनि यहोवा परमेश्‍वरको सङ्‌गठनको स्वर्गीय भागको शक्‍ति, गति, चाल, छाँटकाँट गर्ने क्षमता र महिमा देखेर के हामी पनि मन्त्रमुग्ध हुनुपर्ने होइन र?

२८, २९. गत सय वर्षको दौडान यहोवा परमेश्‍वरको रथ अघि बढिरहेको छ भनेर केले देखाउँछ?

२८ यो कुरा पनि नबिर्सनुहोस्‌, यहोवा परमेश्‍वरको सङ्‌गठनको पार्थिव भाग पनि छ। हुनत पार्थिव भाग त्रुटिपूर्ण मानिसहरू मिलेर बनेको छ। तैपनि यहोवा परमेश्‍वरले ती नै मानिसहरूलाई चलाएर पृथ्वीमा के-कस्ता उपलब्धिहरू हासिल गर्नुभएको छ, सोच्नुहोस्‌! विश्‍वभरि नै उहाँले सामान्य मानिसहरूलाई उनीहरूको क्षमताबाहिरको ठूलठूला कामहरू गर्न मदत गर्नुभएको छ। (युह. १४:१२) गत सय वर्षभित्र प्रचारकार्यमा के-कस्तो अचम्मलाग्दो उन्‍नति भयो, त्यसबारे थाह पाउन परमेश्‍वरको राज्यले शासन गर्दै छ! किताबका पानाहरू सरसरती पल्टाए मात्र पनि पुग्छ। यहोवा परमेश्‍वरको सङ्‌गठनले साँचो ख्रिष्टियनहरूलाई शिक्षा दिन, कानुनी जित हासिल गर्न र अत्याधुनिक प्रविधिको प्रयोग गरेर उहाँको इच्छा पूरा गर्न कस्तो फड्‌को मारेको छ, त्यसबारे पनि विचार गर्न सक्छौँ।

२९ यस भ्रष्ट युगको आखिरी दिनहरूमा शुद्ध उपासना पुनर्स्थापना गर्न जे-जति गरिएको छ, ती सबै कुरालाई विचार गऱ्‍यौँ भने यहोवा परमेश्‍वरको रथ अघि बढिरहेको छ भन्‍ने कुरा अझ राम्ररी बुझ्न सक्छौँ। यो सङ्‌गठनको भाग हुन पाउनु र यस्तो सार्वभौम परमेश्‍वरको सेवा गर्न पाउनु हाम्रो लागि कत्ति ठूलो सम्मान!—भज. ८४:१०.

यहोवा परमेश्‍वरको सङ्‌गठनको पार्थिव भाग द्रुत गतिमा अघि बढिरहेको छ (अनुच्छेद २८, २९ हेर्नुहोस्‌)

३०. अर्को अध्यायमा हामी के सिक्नेछौँ?

३० इजकिएलले देखेको दर्शनबाट हामी अझ धेरै कुरा सिक्न सक्छौँ। यसपछिको अध्यायमा हामी चार अचम्मलाग्दा “जीवहरू” अर्थात्‌ करूबहरूलाई अझ राम्ररी नियाल्नेछौँ। हामी तिनीहरूबाट महिमित र सार्वभौम परमेश्‍वर यहोवाबारे के सिक्न सक्छौँ?

^ यहाँ इजकिएलले बताएको धातु सुन र चाँदी मिसिएर बनेको चम्किलो धातु हो।

^ यो यरुसलेमसम्मको सीधा दूरी हो। तर यहुदीहरूलाई त्योभन्दा दुई गुणा लामो बाटोबाट निर्वासनमा लगिएको हुन सक्छ।