सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय २०

‘आ-आफ्ना कुलको निम्ति देशको जमिन भागबन्डा गर’

‘आ-आफ्ना कुलको निम्ति देशको जमिन भागबन्डा गर’

इजकिएल ४५:१

मुख्य कुरा: देशको जमिन भागबन्डा गर्नुको अर्थ

१, २. (क) इजकिएलले यहोवा परमेश्‍वरबाट कस्तो निर्देशन पाउँछन्‌? (ख) हामी कुन प्रश्‍नहरू छलफल गर्नेछौँ?

 इजकिएलले भर्खरै देखेको दर्शनले गर्दा तिनले झन्डै ९०० वर्षअघि मोसा र यहोसुको समयमा भएको घटना सम्झेको हुनुपर्छ। त्यतिबेला यहोवा परमेश्‍वरले मोसालाई प्रतिज्ञा गरिएको देशको सिमानाबारे र पछि यहोसुलाई इस्राएलको कुलअनुसार कसरी त्यस देशको जमिन भागबन्डा गर्ने भन्‍नेबारे बताउनुभएको थियो। (गन्ती ३४:१-१५; यहो. १३:७; २२:४, ९) तर अहिले ईसापूर्व ५९३ मा यहोवा परमेश्‍वरले इजकिएल र तिनीसँगै निर्वासित जीवन बिताइरहेकाहरूलाई प्रतिज्ञा गरिएको देश इस्राएलका कुलहरूमाझ फेरि भागबन्डा गर्नको लागि निर्देशन दिनुहुन्छ।—इज. ४५:१; ४७:१४; ४८:२९.

इजकिएल र तिनीसँगै निर्वासनमा रहेकाहरूका लागि यस दर्शनमा कस्तो सन्देश थियो? यो दर्शन आज परमेश्‍वरका सेवकहरूको लागि किन प्रोत्साहनको स्रोत हो? भविष्यमा के हामीले यस दर्शनको व्यापक पूर्ति देख्नेछौँ?

चार वटा आश्‍वासन पाइने दर्शन

३, ४. (क) इजकिएलले पाएको अन्तिम दर्शनबाट निर्वासनमा रहेकाहरूले कुन चार वटा आश्‍वासन पाए? (ख) यस अध्यायमा हामी कुन ग्यारेन्टीबारे छलफल गर्नेछौँ?

इजकिएलको किताबको अन्तिम नौ वटा अध्यायमा तिनले पाएको अन्तिम दर्शनबारे वर्णन गरिएको छ। (इज. ४०:१–४८:३५) यसबाट निर्वासनमा रहेकाहरूले पुनर्स्थापित इस्राएल राष्ट्रबारे चार वटा मनै छुने आश्‍वासन पाए। ती आश्‍वासनहरू के थिए? पहिलो, परमेश्‍वरको मन्दिरमा शुद्ध उपासना पुनर्स्थापित हुने थियो। दोस्रो, धर्मी पुजारीहरू र गोठालाहरूले पुनर्स्थापित राष्ट्रको नेतृत्व लिने थिए। तेस्रो, इस्राएलमा फर्कने सबैलाई भाग पुग्नेगरि त्यस देशको जमिन भागबन्डा गरिने थियो। चौथो, यहोवा परमेश्‍वर फेरि तिनीहरूमाझ रहनुहुने थियो।

यस प्रकाशनको अध्याय १३१४ मा हामीले साँचो उपासना कसरी पुनर्स्थापित हुने थियो र धर्मी गोठालाहरूले कसरी नेतृत्व लिने थिए भन्‍ने पहिलो दुइटा ग्यारेन्टीबारे चर्चा गऱ्‍यौँ। यस अध्यायमा हामी तेस्रो ग्यारेन्टी, जमिनको भागबन्डा गरिने प्रतिज्ञाबारे छलफल गर्नेछौँ। अनि यसपछिको अध्यायमा यहोवा परमेश्‍वरको उपस्थितिको प्रतिज्ञाबारे छलफल गर्नेछौँ।—इज. ४७:१३-२१; ४८:१-७, २३-२९.

“यो देश तिमीहरूले पैतृक सम्पत्तिको रूपमा पाउनेछौ”

५, ६. (क) इजकिएलको दर्शनमा कुन जमिन भागबन्डा गर्नुपर्ने थियो? (शीर्षकमाथिको चित्र हेर्नुहोस्‌) (ख) जमिनको भागबन्डासम्बन्धी दर्शनको उद्देश्‍य के थियो?

इजकिएल ४७:१४ पढ्‌नुहोस्‌। दर्शनमा यहोवा परमेश्‍वरले इजकिएलको ध्यान एक टुक्रा जमिनतर्फ खिच्नुहुन्छ, जुन चाँडै “अदनको बगैँचाजस्तै” देखिने थियो। (इज. ३६:३५) त्यसपछि उहाँले यसो भन्‍नुभयो: “इस्राएलका १२ कुलका लागि भागबन्डा गर्नुपर्ने जमिन यही हो।” (इज. ४७:१३) भागबन्डा गर्नुपर्ने “जमिन” इस्राएलको पुनर्स्थापित जमिन थियो, जहाँ निर्वासित मानिसहरू फर्कने थिए। त्यसपछि इजकिएल ४७:१५-२१ मा बताइएझैँ यहोवा परमेश्‍वरले पूरै जमिनको सिमानाको निश्‍चित नापबारे विस्तृत रूपमा बताउनुभयो।

जमिनको भागबन्डासम्बन्धी दर्शनको उद्देश्‍य के थियो? सिमानाको निश्‍चित नापबारे गरिएको वर्णनबाट इजकिएल र तिनीसँगै निर्वासित जीवन बिताइरहेकाहरू आफ्नो प्यारो भूमि साँच्चै पुनर्स्थापित हुने कुरामा आश्‍वस्त हुन सके। यहोवा परमेश्‍वरले त्यसरी विस्तृत तवरमा व्याख्या गर्नुभएकोले निर्वासनमा रहेकाहरू कत्ति आश्‍वस्त भए होलान्‌! पैतृक सम्पत्तिको रूपमा भागबन्डा गरिएको जमिन परमेश्‍वरका पुरातन समयका मानिसहरूले साँच्चै पाए त? हो, पाए।

. (क) ईसापूर्व ५३७ देखि के हुन थाल्यो र यसले हामीलाई कुन कुराको सम्झना गराउँछ? (ख) सबैभन्दा पहिला हामी कुन प्रश्‍नबारे विचार गर्नेछौँ?

ईसापूर्व ५३७ मा अर्थात्‌ इजकिएलले दर्शन पाएको झन्डै ५६ वर्षपछि निर्वासनमा रहेका हजारौँ यहुदीहरू इस्राएलमा फर्कन थाले र त्यस देशमा बसोबास गर्न थाले। धेरै समयअघि भएका ती उल्लेखनीय घटनाहरूले अहिले आधुनिक समयमा परमेश्‍वरका सेवकहरूमाझ भइरहेको कुराको सम्झना गराउँछ। एक अर्थमा भन्‍ने हो भने तिनीहरूले पनि जमिनको भाग पाए। कसरी? यहोवा परमेश्‍वरले आफ्ना सेवकहरूलाई आध्यात्मिक देशमा प्रवेश गरेर त्यसमाथि अधिकार गर्न दिनुभयो। पुरातन समयको प्रतिज्ञा गरिएको देश पुनर्स्थापित भएको कुराबाट आज परमेश्‍वरका सेवकहरूको आध्यात्मिक देशको पुनर्स्थापनाबारे धेरै कुरा सिक्न सक्छौँ। तर सिक्न सक्ने पाठहरूबारे विचार गर्नुभन्दा पहिला यस प्रश्‍नको जवाफ थाह पाऔँ, “आज आध्यात्मिक देश साँच्चै अस्तित्वमा छ भन्‍ने निष्कर्षमा हामी किन पुग्न सक्छौँ?”

८. (क) यहोवा परमेश्‍वरले इस्राएल राष्ट्रको ठाउँमा कुन राष्ट्रलाई छान्‍नुभयो? (ख) आध्यात्मिक देश अर्थात्‌ आध्यात्मिक प्रमोदवन भनेको के हो? (ग) यो कहिलेदेखि अस्तित्वमा आयो र यसमा को-को बसोबास गर्छन्‌?

इजकिएलले पहिला पाएको एउटा दर्शनमा यहोवा परमेश्‍वरले इस्राएलको पुनर्स्थापनाबारे गरिएका भविष्यवाणीहरू उहाँको “सेवक दाउद” अर्थात्‌ येसु ख्रिष्टले शासन गर्न थाल्नुभएपछि व्यापक रूपमा पूरा हुनेछ भनेर सङ्‌केत गर्नुभयो। (इज. ३७:२४) येसुले इस्वी संवत्‌ १९१४ मा राजाको रूपमा शासन गर्न थाल्नुभयो। त्यतिबेलासम्म अभिषिक्‍त ख्रिष्टियनहरू मिलेर बनेको आध्यात्मिक इस्राएलले इस्राएल राष्ट्रको ठाउँ ओगटेको धेरै समय भइसकेको थियो। (मत्ति २१:४३; १ पत्रुस २:९ पढ्‌नुहोस्‌) तर यहोवा परमेश्‍वरले इस्राएल राष्ट्रको ठाउँमा आध्यात्मिक राष्ट्रलाई छान्‍नुको अलावा त्यो साँच्चैको देशको ठाउँमा आध्यात्मिक देश अर्थात्‌ आध्यात्मिक प्रमोदवन पनि बसाल्नुभयो। (यसै. ६६:८) यस प्रकाशनको अध्याय १७ मा छलफल गरेझैँ आध्यात्मिक देश भनेको सुरक्षित आध्यात्मिक अवस्था हो, जहाँ बाँकी रहेका अभिषिक्‍त जनहरूले इस्वी संवत्‌ १९१९ देखि यहोवा परमेश्‍वरलाई उपासना चढाउँदै छन्‌। (“इस्वी संवत्‌ १९१९ नै किन?” भन्‍ने पेटी ९ख हेर्नुहोस्‌) समय बित्दै जाँदा पार्थिव आशा भएका “अरू भेडा” पनि त्यस आध्यात्मिक देशमा बसोबास गर्न थाले। (युह. १०:१६) अहिले पनि आध्यात्मिक प्रमोदवन फैलिँदै र वृद्धि हुँदै छ अनि आरमागेडोनपछि मात्र हामीले यसबाट पूरापूर आशिष्‌ अनुभव गर्नेछौँ।

जमिन बराबर हुनेगरि भाग लगाइन्छ

९. यहोवा परमेश्‍वरले जमिनको भागबन्डाबारे कस्तो विस्तृत निर्देशन दिनुभयो?

इजकिएल ४८:१, २८ पढ्‌नुहोस्‌। पूरै जमिनको सिमानाबारे बताइसकेपछि यहोवा परमेश्‍वरले त्यो जमिनलाई कसरी भागबन्डा लगाउने भनेर बताउनुभयो। उहाँले उत्तरदेखि दक्षिण गर्दै १२ कुलको लागि बराबर हुनेगरि जमिन भाग लगाउन निर्देशन दिनुभयो। उत्तरमा दानको कुलदेखि सुरु गरेर दक्षिणमा गादको कुलसम्म भाग लगाउनुपर्थ्यो। बाह्रै वटा कुलको लागि तेर्सो गरेर जमिन भाग लगाउनुपर्ने थियो र प्रत्येक कुलले पाउने जमिनको भाग पूर्वतिरको सिमानाबाट सुरु भएर पश्‍चिमतिर महासागर अर्थात्‌ भूमध्यसागरसम्म फैलिने थियो।—इज. ४७:२०.

१०. दर्शनको यस भागबाट निर्वासनमा रहेकाहरूले कस्तो आश्‍वासन पाएको हुनुपर्छ?

१० दर्शनको यस भागबाट निर्वासनमा रहेकाहरूले कस्तो आश्‍वासन पाएको हुनुपर्छ? जमिनको भागबन्डाबारे इजकिएलले दिएको विस्तृत विवरणबाट निर्वासनमा रहेकाहरूले जमिनको भागबन्डा लगाउने काम व्यवस्थित रूपमा हुनेछ भनेर बुझेको हुनुपर्छ। यसबाहेक १२ कुलमाझ बराबर जमिन भाग लगाउनुले निर्वासनबाट फर्कने सबैले पुनर्स्थापित देशमा ठाउँ पाउने कुरालाई जोड दियो। फर्कनेहरू कोही पनि जमिनविहीन अथवा घरबारविहीन हुने थिएनन्‌।

११. जमिनको भागबन्डाबारे भविष्यसूचक दर्शनबाट हामी कस्ता पाठहरू सिक्न सक्छौँ? (“जमिनको भागबन्डा” भन्‍ने पेटी हेर्नुहोस्‌)

११ यस दर्शनबाट आज हामी कस्ता आश्‍वासनदायी पाठहरू सिक्न सक्छौँ? प्रतिज्ञा गरिएको पुनर्स्थापित देशमा पुजारीहरू, लेवीहरू र कुलनायकहरूले मात्र नभई १२ कुलका बाँकी सबै मानिसले ठाउँ पाए। (इज. ४५:४, ५, ७, ८) आज आध्यात्मिक प्रमोदवनमा पनि बाँकी रहेका अभिषिक्‍त जनहरू र “ठूलो भीड”-मध्येका नेतृत्व लिनेहरूले मात्र होइन, ठूलो भीडका बाँकी सबैले ठाउँ पाउँछन्‌। * (प्रका. ७:९) सङ्‌गठनमा हाम्रो भूमिका जतिसुकै सानो भए तापनि आध्यात्मिक देशमा हामीले सुरक्षित ठाउँ र अनमोल जिम्मेवारी पाएका छौँ। कस्तो मनै छुने आश्‍वासन!

यहोवा परमेश्‍वरको सङ्‌गठनमा हामीले जस्तोसुकै जिम्मेवारी सँभालिरहेको भए तापनि उहाँ हाम्रो कामको कदर गर्नुहुन्छ (अनुच्छेद ११ हेर्नुहोस्‌)

दुइटा उल्लेखनीय भिन्‍नता—त्यसले हाम्रो लागि कस्तो अर्थ राख्छ?

१२, १३. यहोवा परमेश्‍वरले जमिनको भागबन्डासम्बन्धी तोकेरै कस्तो निर्देशन दिनुभयो?

१२ यहोवा परमेश्‍वरले इजकिएललाई जमिनको भागबन्डासम्बन्धी निर्देशन दिनुहुँदा इजकिएल अलमल्लमा परेका हुन सक्छन्‌। किनभने तिनले पाएको केही निर्देशन मोसालाई दिइएको निर्देशनभन्दा भिन्‍नै थिए। दुइटा भिन्‍नता विचार गरौँ। एउटा भिन्‍नता जमिनसम्बन्धी थियो भने अर्को यसका बासिन्दाहरूसम्बन्धी थियो।

१३ पहिलो, जमिन। मोसालाई ठूला कुलहरूलाई जमिनको ठूलै भाग दिन निर्देशन दिइएको थियो। (गन्ती २६:५२-५४) तर इजकिएलको दर्शनमा भने यहोवा परमेश्‍वरले प्रत्येक कुललाई “बराबर जमिन” दिन तोकेरै निर्देशन दिनुभयो। (इज. ४७:१४) त्यसैले १२ वटै कुलले पाउने जमिनको उत्तरको सिमानादेखि दक्षिणको सिमानासम्मको दूरी बराबर हुनुपर्थ्यो। जुनसुकै कुलको भए तापनि सबै इस्राएलीले प्रतिज्ञा गरिएको त्यस उर्वर देशमा भएका प्राकृतिक स्रोतसाधन बराबर उपभोग गर्न पाउने थिए।

१४. यहोवा परमेश्‍वरले विदेशीहरूको सन्दर्भमा दिनुभएको निर्देशन मोसाको व्यवस्थामा उहाँले भन्‍नुभएको कुराभन्दा कसरी श्रेष्ठ थियो?

१४ दोस्रो, यसका बासिन्दाहरू। मोसाको व्यवस्थाले विदेशीहरूको हक-अधिकारको सुरक्षा गरेको थियो। साथै तिनीहरूले यहोवा परमेश्‍वरलाई उपासना चढाउने मौका पनि पाउँथे। तर तिनीहरूले जमिन भने पाउँदैनथे। (लेवी १९:३३, ३४) तर यहोवा परमेश्‍वरले अब इजकिएललाई भन्‍न लाग्नुभएको कुरा मोसाको व्यवस्थामा उहाँले भन्‍नुभएको कुराभन्दा श्रेष्ठ थियो। यहोवा परमेश्‍वरले इजकिएललाई यस्तो निर्देशन दिनुभयो: “ती विदेशीहरू जुन कुलको इलाकामा बसिरहेका छन्‌, तिनीहरूलाई त्यहीँ नै उत्तराधिकारको रूपमा जमिन दिनू।” यस्तो निर्देशन दिनुभएर यहोवा परमेश्‍वरले “जन्मजात इस्राएली” र त्यस देशमा बसोबास गरिरहेका विदेशीहरूबीचको एउटा ठूलो भिन्‍नतालाई हटाइदिनुभयो। (इज. ४७:२२, २३) आफूले दर्शनमा देखेको पुनर्स्थापित देशका बासिन्दाहरूबीच समानता र उपासनामा एकता भएको कुरा इजकिएलले याद गरे।—लेवी २५:२३.

१५. जमिन र यसका बासिन्दाहरूबारे परमेश्‍वरले दिनुभएको निर्देशनले उहाँबारे कुन ध्रुव सत्यलाई पुष्टि गऱ्‍यो?

१५ जमिन र यसका बासिन्दाहरूबारे इजकिएलले पाएको दुइटा उल्लेखनीय निर्देशनले निर्वासनमा रहेकाहरूलाई पक्कै ढुक्क बनाएको हुन सक्छ। चाहे तिनीहरू जन्मजात इस्राएली होऊन्‌ वा यहोवा परमेश्‍वरको उपासना गर्ने विदेशीहरू, उहाँले तिनीहरूलाई बराबर जमिन दिनुहुनेछ भनेर तिनीहरूलाई थाह थियो। (एज्रा ८:२०; नहे. ३:२६; ७:६, २५; यसै. ५६:३, ८) यी निर्देशनहरूले एउटा प्रोत्साहनजनक ध्रुव सत्यलाई पनि पुष्टि गऱ्‍यो। त्यो हो, यहोवा परमेश्‍वरको लागि आफ्ना सबै सेवक मूल्यवान्‌ छन्‌। (हाग्गै २:७ पढ्‌नुहोस्‌) हाम्रो आशा स्वर्गमा जाने होस्‌ वा यसै पृथ्वीमा बस्ने, हामी सबै यो सत्यको कदर गर्छौँ।

१६, १७. (क) जमिन र यसका बासिन्दाहरूबारे बताइएका विवरणहरू विचार गर्दा हामीलाई कस्तो फाइदा हुन्छ? (ख) अर्को अध्यायमा कुन कुरा छलफल गर्नेछौँ?

१६ जमिन र यसका बासिन्दाहरूबारे यी विवरणहरू विचार गर्दा हामीलाई कस्तो फाइदा हुन्छ? हाम्रो विश्‍वव्यापी भाइचाराको उल्लेखनीय पक्ष समानता र एकता हुनुपर्छ भनेर यसले हामीलाई सम्झना गराउँछ। यहोवा परमेश्‍वर पक्षपाती हुनुहुन्‍न। हामीले आफैलाई यस्तो प्रश्‍न गर्नुपर्छ: ‘के मेरो व्यवहार यहोवा परमेश्‍वरको जस्तै निष्पक्ष छ? भाइबहिनीहरूको जात वा परिस्थिति जस्तोसुकै भए तापनि के म उनीहरूलाई मनैदेखि आदर गर्छु?’ (रोमी १२:१०) यहोवा परमेश्‍वरले आध्यात्मिक प्रमोदवनमा हामी सबैलाई बराबर भाग दिनुभएकोमा हामी खुसी छौँ। यस आध्यात्मिक प्रमोदवनमा हामी स्वर्गमा बस्नुहुने बुबालाई तनमनले पवित्र सेवा चढाउँछौँ र उहाँले दिनुहुने आशिष्‌हरूको आनन्द उठाउँछौँ।—गला. ३:२६-२९; प्रका. ७:९.

के हाम्रो व्यवहार यहोवा परमेश्‍वरको जस्तै निष्पक्ष छ अनि के हामी भाइबहिनीहरूलाई मनैदेखि आदर गर्छौँ? (अनुच्छेद १५, १६ हेर्नुहोस्‌)

१७ अब हामी इजकिएलले पाएको अन्तिम दर्शनको अन्तमा दिइएको चौथो आश्‍वासन विचार गरौँ। त्यो हो, यहोवा परमेश्‍वर निर्वासित मानिसहरूमाझ रहनुहुने प्रतिज्ञा। यस प्रतिज्ञाबाट हामी कस्तो पाठ सिक्न सक्छौँ? अर्को अध्यायमा यस प्रश्‍नको जवाफ पाउनेछौँ।

^ यहोवा परमेश्‍वरले यस आध्यात्मिक देशमा पुजारी र कुलनायकको लागि छुट्ट्याउनुभएको विशेष ठाउँ र भूमिकाबारे थप जानकारीको लागि यस प्रकाशनको अध्याय १४ हेर्नुहोस्‌।