सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय २२

“परमेश्‍वरको उपासना गर”

“परमेश्‍वरको उपासना गर”

प्रकाश २२:९

मुख्य कुरा: इजकिएलको किताबको मुख्य विषयहरूको पुनरावृत्ति र अहिले अनि भविष्यमा त्यसले राख्ने अर्थ

१, २. (क) हामी प्रत्येकले कस्तो छनौट गर्नुपर्ने हुन्छ? (ख) युहन्‍नाले उपासना गर्न खोज्दा एक वफादार स्वर्गदूतले कस्तो प्रतिक्रिया देखाए?

 हामी प्रत्येकले यो महत्त्वपूर्ण प्रश्‍नको जवाफ दिनुपर्छ: ‘मैले कसको उपासना गर्नुपर्छ?’ धेरैले यसो भन्लान्‌, ‘यो विषय जटिल छ र कसको उपासना गर्ने भनेर तोकेरै भन्‍न सकिँदैन।’ तर वास्तवमा यसको जवाफ सरल र स्पष्ट छ। या त हामी यहोवा परमेश्‍वरको उपासना गर्छौँ या त सैतान अर्थात्‌ दियाबलको।

सैतान हाम्रो उपासना पाउने लालच गर्छ। त्यसले येसुलाई प्रलोभनमा पार्न खोज्दा यो कुरा स्पष्ट भयो। हामीले यस प्रकाशनको अध्याय १ मा छलफल गरेझैँ सैतानले येसुको अगाडि एउटा असाध्यै लोभलाग्दो प्रस्ताव राख्यो। त्यो हो, संसारका सबै राज्यमाथि अख्तियार। यसको बदलामा सैतान के चाहन्थ्यो? त्यसले येसुलाई भन्यो: ‘मलाई एक चोटि ढोग्नुहोस्‌।’ (मत्ति ४:९) तर यसको ठीक विपरीत, एक चोटि प्रेषित युहन्‍नाले एक जना स्वर्गदूतलाई उपासना गर्न खोज्दा ती स्वर्गदूतले ठाडै इन्कार गरे। (प्रकाश २२:८, ९ पढ्‌नुहोस्‌) ती नम्र स्वर्गदूतले युहन्‍नालाई यसो भने: “त्यसो नगर!” तिनले ‘मेरो उपासना गर’ भन्‍नुको सट्टा “परमेश्‍वरको उपासना गर” भने।

३. (क) यो प्रकाशन तयार पारिनुको उद्देश्‍य के हो? (ख) अब हामी के छलफल गर्नेछौँ?

यो प्रकाशन तयार पारिनुको उद्देश्‍य ती स्वर्गदूतको निर्देशन पालन गर्दै यहोवा परमेश्‍वरको मात्र उपासना गर्ने हाम्रो सङ्‌कल्पलाई बलियो पार्नु हो। (व्यव. १०:२०; मत्ति ४:१०) इजकिएलका भविष्यवाणीहरू र दर्शनहरूबाट हामीले शुद्ध उपासनाबारे जे-जति कुराहरू सिक्यौँ, त्यसलाई छोटकरीमा पुनरावृत्ति गरौँ। त्यसपछि धर्मशास्त्र केलाउँदै हामी त्यस समयबारे बुझ्नेछौँ, जब पृथ्वीमा भएका प्रत्येक मानिसको अन्तिम जाँच हुनेछ। त्यस जाँचले यहोवा परमेश्‍वरको शुद्ध उपासना सदाको लागि पुनर्स्थापित भएको हेर्न को-को जीवितै रहनेछन्‌ भन्‍ने कुराको निधो गर्नेछ।

इजकिएलको किताबमा जोड दिइएका तीन वटा विषय

४. इजकिएलको किताबमा कुन तीन वटा विषयलाई जोड दिइएको छ?

इजकिएलको किताबले शुद्ध उपासना चढाउनु भनेको केवल औपचारिक विधि मात्र होइन भनेर सिकाउँछ। बरु यसको लागि हामीले (१) यहोवा परमेश्‍वरको मात्र भक्‍ति गर्नुपर्छ, (२) शुद्ध उपासनामा एकताबद्ध हुनुपर्छ र (३) अरूलाई प्रेम गरेको कुरा व्यवहारमा देखाउनुपर्छ। यस प्रकाशनमा चर्चा गरिएका भविष्यवाणीहरू र दर्शनहरूले यी तीन वटा विषयलाई कसरी जोड दिन्छ, विचार गरौँ।

पहिलो विषय: यहोवा परमेश्‍वरको मात्र भक्‍ति गर्नुपर्छ

५-९. यहोवा परमेश्‍वरको मात्र भक्‍ति गर्नेबारे हामीले के सिक्यौँ?

अध्याय ३: * यहोवा परमेश्‍वरको सिंहासनवरपर इन्द्रेनी देखिएको र उहाँ शक्‍तिशाली अदृश्‍य जीवहरूमाथि सवार हुनुभएको अचम्मलाग्दो दर्शनले यो महत्त्वपूर्ण तथ्य स्पष्ट पार्छ: सर्वशक्‍तिमान्‌ परमेश्‍वर मात्र हाम्रो उपासनाको लायक हुनुहुन्छ।—इज. १:४, १५-२८.

अध्याय ५: यहोवा परमेश्‍वरको मन्दिर बिटुलो पारिएको दर्शन देख्दा इजकिएल कत्ति स्तब्ध भए होलान्‌! यस दर्शनले यहोवाको नजरबाट कुनै कुरा लुक्न सक्दैन भनेर देखाउँछ। आफ्ना मानिसहरूले मूर्तिपूजाजस्ता घिनलाग्दा कामहरू गरेको उहाँको नजरबाट लुक्न सक्दैन, चाहे तिनीहरूले ती कामहरू गुप्तमा नै किन नगरून्‌। आफ्ना मानिसहरूले त्यस्ता कामहरू गरेको देख्दा यहोवा परमेश्‍वरलाई साह्रै दुःख लाग्छ र उहाँ तिनीहरूलाई सजाय पनि दिनुहुन्छ।—इज. ८:१-१८.

अध्याय ७: इस्राएललाई ‘गिज्याउने’ वरपरका राष्ट्रहरूविरुद्ध यहोवा परमेश्‍वरले न्यायदण्ड घोषणा गर्नुभयो। आफ्ना मानिसहरूलाई दुर्व्यवहार गर्नेहरूसित उहाँ लेखा लिनुहुन्छ भनेर यसले साबित गर्छ। (इज. २५:६) तर ती राष्ट्रहरूसित इस्राएलीहरूको सम्बन्धबाट पनि हामी एउटा पाठ सिक्न सक्छौँ। त्यो हो, हामीले यहोवा परमेश्‍वरप्रति वफादार हुने कुरालाई सर्वमहत्त्वपूर्ण ठान्‍नुपर्छ। यहोवा परमेश्‍वरको उपासना नगर्ने नातेदारहरूजस्तै देखिन हामी आफ्ना स्तरहरूमा सम्झौता गर्दैनौँ। साथै हामी आफ्नो धनसम्पत्तिमा भरोसा राख्दैनौँ अनि यहोवा परमेश्‍वरले मात्र पाउनुपर्ने भक्‍ति मानव सरकारहरूलाई दिएर आफ्नो तटस्थतामा सम्झौता गर्दैनौँ।

अध्याय १३ १४: अग्लो डाँडामा बसालिएको मन्दिरको दर्शनबाट यहोवा परमेश्‍वर अरू सबै देवीदेवताभन्दा सर्वोच्च हुनुहुन्छ र हामीले उहाँका उच्च स्तरहरूअनुसार जीवन बिताउनुपर्छ भनेर सिक्न सक्छौँ।—इज. ४०:१–४८:३५.

अध्याय १५: इस्राएल र यहुदालाई वेश्‍यासित तुलना गरिएको भविष्यसूचक विवरणबाट आध्यात्मिक वेश्‍यावृत्ति देखेर यहोवा परमेश्‍वरलाई असाध्यै घिन लाग्छ भनेर बुझ्न सक्छौँ।—इज., अध्या. १६, २३.

दोस्रो विषय: शुद्ध उपासनामा एकताबद्ध हुनुपर्छ

१०-१४. शुद्ध उपासनामा एकताबद्ध हुनुपर्ने आवश्‍यकतालाई इजकिएलको किताबमा कसरी जोड दिइएको छ?

१० अध्याय ८: यहोवा परमेश्‍वरले आफ्ना मानिसहरूको हेरचाह गर्न “एउटा गोठालोलाई” नियुक्‍त गर्ने सन्दर्भमा गर्नुभएका भविष्यवाणीहरूले येसुको नेतृत्वको अधीनमा रहँदै एकत्रित भएर अनि शान्तिमा रहेर काम गर्नुपर्ने आवश्‍यकतालाई जोड दिन्छ।—इज. ३४:२३, २४; ३७:२४-२८.

११ अध्याय ९: परमेश्‍वरका मानिसहरू बेबिलोनको निर्वासनबाट मुक्‍त भएर आफ्नो मातृभूमि फर्कनेबारे इजकिएलले गरेका भविष्यवाणीहरूमा यहोवा परमेश्‍वरलाई खुसी तुल्याउन चाहनेहरूको लागि एउटा सन्देश लुकेको छ। यहोवाका शुद्ध उपासकहरूले झूटो धर्मको खराब प्रभावबाट आफूलाई छुटाउनुपर्छ र त्यसबाट अलग्गै रहनुपर्छ। हामी बेग्लाबेग्लै धार्मिक, आर्थिक र जातीय पृष्ठभूमिबाट आएको भए तापनि हामी एकतामा रहनुपर्छ र यसो गर्दा हामी परमेश्‍वरका सेवकहरू भनेर चिनिन्छौँ।—इज. ११:१७, १८; १२:२४; युह. १७:२०-२३.

१२ अध्याय १०: सुकेका हाडहरू फेरि जीवित हुने दर्शनमा एकताको विषयलाई जोड दिइएको छ। पुनर्स्थापित शुद्ध उपासकहरूको एउटा ठूलो फौजमा सामेल हुन पाउनु हाम्रो लागि ठूलो सम्मानको कुरा हो!—इज. ३७:१-१४.

१३ अध्याय १२: दुइटा लौरो एउटै हुने भविष्यवाणीमा विशेषगरि एकतालाई जोड दिइएको छ। अभिषिक्‍त जनहरू र अरू भेडामा त्यो भविष्यवाणी पूरा भइरहेको देख्दा हाम्रो विश्‍वास पक्कै बलियो भएको छ। धार्मिक र राजनैतिक तवरमा विभाजित यस संसारमा हामी भने प्रेम र वफादारीले गर्दा एकताको बन्धनमा बाँधिएका छौँ।—इज. ३७:१५-२३.

१४ अध्याय १६: मसीदानी भिरेको पुरुष र फोर्ने डन्डा बोकेका पुरुषहरूको दर्शनमा एउटा गम्भीर चेतावनी पाइन्छ। शुद्ध उपासकको रूपमा महासङ्‌कष्टमा प्रवेश गर्नेहरूलाई मात्र बचाउको चिन्ह लगाइनेछ।—मत्ति २४:२१; इज. ९:१-११.

तेस्रो विषय: अरूलाई प्रेम गरेको कुरा व्यवहारमा देखाउनुपर्छ

१५-१८. हामीले अरूलाई प्रेम गरेको कुरा किन व्यवहारमा देखाइरहनुपर्छ र हामी कसरी त्यसो गर्न सक्छौँ?

१५ अध्याय ४: चार वटा जीवको दर्शनबाट हामीले यहोवा परमेश्‍वरका गुणहरूबारे सिक्यौँ, जसमध्ये सबैभन्दा प्रमुख गुण प्रेम हो। अरूसित मायालुपूर्वक बोल्दा र व्यवहार गर्दा हामीले यहोवा हाम्रा परमेश्‍वर हुनुहुन्छ भनेर देखाइरहेका हुन्छौँ।—इज. १:५-१४; १ युह. ४:८.

१६ अध्याय ६ ११: प्रेमले परमेश्‍वरलाई इजकिएलजस्ता पहरेदारहरू नियुक्‍त गर्न उत्प्रेरित गऱ्‍यो। परमेश्‍वर प्रेम हुनुहुन्छ। त्यसैले सैतानको अधीनमा रहेको यस संसारमाथि उहाँले विनाश ल्याउनुहुँदा कोही पनि नाश नहोस्‌ भन्‍ने उहाँ चाहनुहुन्छ। (२ पत्रु. ३:९) हामीले आधुनिक समयका पहरेदारलाई समर्थन गर्ने जिम्मेवारी पाएका छौँ र यो जिम्मेवारी पूरा गरेर हामी परमेश्‍वरको जस्तै प्रेम झल्काउन सक्छौँ।—इज. ३३:१-९.

१७ अध्याय १७ १८: थुप्रैले उहाँको कृपालाई तिरस्कार गर्नेछन्‌ र उहाँका वफादार उपासकहरूको नामोनिसान मेटाउन खोज्नेछन्‌ भनेर यहोवा परमेश्‍वरलाई थाह छ। “मागोग देशको गोग”-ले परमेश्‍वरका वफादार मानिसहरूमाथि आक्रमण गर्दा आफ्ना सेवकहरूको रक्षा गर्न यहोवालाई प्रेमले उत्प्रेरित गर्नेछ। आफ्ना सेवकहरूलाई दमन गर्नेहरूलाई यहोवाले नाश गर्नुहुनेछ भनेर सकेसम्म धेरै मानिसलाई चेतावनी दिन हामीलाई अरूप्रतिको प्रेमले उत्प्रेरित गर्छ।—इज. ३८:१–३९:२०; २ थिस्स. १:६, ७.

१८ अध्याय १९, २० २१: जीवन दिने पानीको नदीबारे र जमिन भागबन्डा गर्नेबारे इजकिएलले देखेका दर्शनहरूमा मानिसहरूप्रति यहोवा परमेश्‍वरको प्रेम प्रस्टै झल्किन्छ। हामीले आफ्ना पापहरूको क्षमा पाउन सकौँ र परमेश्‍वरको परिवारको भाग भएर त्रुटिरहित जीवनको आनन्द उठाउन सकौँ भनेर यहोवाले आफ्नो छोरा दिनुभयो। उहाँले हामीलाई देखाउनुभएको यो महान्‌ प्रेमले गर्दा के-कस्ता कुरा सम्भव भएको छ भनेर यी दर्शनहरूमा व्याख्या गरिएको छ। अरूलाई प्रेम गरेको देखाउने सबैभन्दा राम्रो तरिका उहाँको छोरामा विश्‍वास गर्नेहरूको लागि यहोवा परमेश्‍वरले साँचेर राख्नुभएको सुन्दर भविष्यबारे मानिसहरूलाई बताउनु हो।—इज. ४५:१-७; ४७:१–४८:३५; प्रका. २१:१-४; २२:१७.

हजार वर्षीय शासनपछि नम्रताको उल्लेखनीय प्रदर्शन

१९. हजार वर्षीय शासनको दौडान येसुले के गर्नुहुनेछ? (“अन्तिम जाँच” भन्‍ने पेटी हेर्नुहोस्‌)

१९ हजार वर्षीय शासनको दौडान येसुले लाखौँ मानिसलाई जीवित पार्नुहुनेछ र हाम्रो “शत्रु मृत्यु”-ले गर्दा हामीले भोग्नुपरेको पीडा निको पार्नुहुनेछ। (१ कोरि. १५:२६; मर्कु. ५:३८-४२; प्रेषि. २४:१५) मानव इतिहास निराशा र वियोगले भरिएको एउटा हृदयविदारक कथाजस्तै भएको छ। तर भविष्यमा येसुले मानिसहरूलाई एकपछि अर्को गर्दै जीवित पार्दा उहाँले तिनीहरूलाई दुःखलाग्दो कथा मेटाएर एउटा नयाँ कथा लेख्ने मौका दिइरहनुभएको हुनेछ। फिरौतीको बलिदानको आधारमा उहाँले युद्ध, रोगबिमार र अनिकालले गर्दा भएका हानिहरूलाई पूर्ण रूपमा हटाउनुहुनेछ। त्योभन्दा पनि महत्त्वपूर्ण कुरा, हामीले भोग्नुपरेको पीडाको मुख्य जड पापलाई जरैसमेत उखेलेर फ्याँक्न उहाँले हामीलाई मदत गर्नुहुनेछ। (रोमी ५:१८, १९) येसुले “दियाबलका कामहरू नष्ट” गर्नुहुनेछ। (१ युह. ३:८) त्यसपछि के हुनेछ?

जीवित पारिएकाहरूले नयाँ कथा लेख्ने मौका पाउनेछन्‌

२०. येसु र उहाँका १ लाख ४४ हजार सह-शासकले कसरी उल्लेखनीय नम्रता देखाउनुहुनेछ? व्याख्या गर्नुहोस्‌। (शीर्षकमाथिको चित्र हेर्नुहोस्‌)

२० पहिलो कोरिन्थी १५:२४-२८ पढ्‌नुहोस्‌। सबै मानिसले त्रुटिरहित जीवन पाएपछि र यहोवा परमेश्‍वरको सुरुको उद्देश्‍यअनुसार यो पृथ्वी प्रमोदवनमा परिणत भएपछि येसु र उहाँका १ लाख ४४ हजार सह-शासकले उल्लेखनीय नम्रता देखाउनुहुनेछ; उहाँहरूले यहोवा परमेश्‍वरलाई राज्य फिर्ता गर्नुहुनेछ। हजार वर्षदेखि आफूले चलाइरहेको राज्य उहाँहरूले राजीखुसीले र विना कुनै किचलो फिर्ता गर्नुहुनेछ। त्यस राज्यले हासिल गरेका सबै कुरा सदासर्वदा रहिरहनेछ।

अन्तिम जाँच

२१, २२. (क) हजार वर्षको अन्तमा यो संसार कस्तो हुनेछ? (ख) यहोवा परमेश्‍वरले सैतान र त्यसका प्रेतहरूलाई किन मुक्‍त गर्नुहुनेछ?

२१ यहोवा परमेश्‍वरले त्यसपछि एउटा अचम्मको काम गर्नुहुनेछ। उहाँले गर्नुहुने त्यस काममा आफ्ना पार्थिव प्रजामाथि उहाँको ठूलो भरोसा झल्किनेछ। उहाँले अगाध खाडलबाट सैतान र त्यसका प्रेतहरूलाई मुक्‍त गर्ने आदेश दिनुहुनेछ, जहाँ तिनीहरूलाई हजार वर्षदेखि बाँधेर राखिएको थियो। (प्रकाश २०:१-३ पढ्‌नुहोस्‌) अगाध खाडलबाट मुक्‍त भएपछि तिनीहरूले देख्ने संसार पहिलाको संसारभन्दा बिलकुलै फरक हुनेछ। आरमागेडोनअगाडि प्रायजसो मानिसहरू सैतानको बहकाउमा परेका थिए अनि घृणा र पूर्वाग्रहले गर्दा मानव समाज विभाजित भएको थियो। (प्रका. १२:९) तर हजार वर्षीय शासनको अन्तमा सम्पूर्ण मानिसले एकताबद्ध भएर एउटै परिवारको रूपमा यहोवा परमेश्‍वरको उपासना गरिरहेका हुनेछन्‌। पूरै पृथ्वी प्रमोदवन भइसकेको हुनेछ।

२२ यहोवा परमेश्‍वरले अपराधीहरू—सैतान र त्यसका प्रेतहरूलाई त्यो स्वच्छ वातावरणमा किन मुक्‍त गर्नुहुनेछ? किनकि हजार वर्षीय शासनको अन्तमा बाँचिरहेका धेरैजसो मानिसले यहोवाका वफादार उपासकको रूपमा आफ्नो वफादारीको जाँच कहिल्यै सामना गरेका हुनेछैनन्‌। उनीहरूमध्ये थुप्रै मानिस यहोवा परमेश्‍वरलाई चिन्दै नचिनी मरेका थिए र उनीहरूलाई प्रमोदवनमा जीवित पारिएको थियो। यहोवा परमेश्‍वरले उनीहरूलाई जीवन मात्र दिनुभएन, बरु उनीहरूको शारीरिक र आध्यात्मिक आवश्‍यकता पनि पूरा गरिदिनुभयो। उनीहरूले कुनै खराब प्रभाव सामना गरेका हुनेछैनन्‌। उनीहरूको वरपर यहोवालाई प्रेम गर्ने र उहाँको सेवा गर्ने मानिसहरू मात्र हुनेछन्‌। सैतानले यी मानिसहरूलाई पनि अय्युबलाई जस्तै आरोप लगाउन सक्छ—यहोवा परमेश्‍वरले सुरक्षा र आशिष्‌ दिनुभएकोले मात्र उनीहरूले उहाँको सेवा गरेका हुन्‌ भन्‍ने आरोप। (अय्यु. १:९, १०) त्यसैले यहोवा परमेश्‍वरले हाम्रो नाम सदाको लागि जीवनको पुस्तकमा लेख्नुअघि उहाँले हामीलाई एउटा मौका दिनुहुनेछ। त्यो हो, उहाँलाई बुबा र ब्रह्‍माण्डका मालिक स्विकार्दै उहाँप्रति शतप्रतिशत वफादार रहेको देखाउने।—प्रका. २०:१२, १५.

२३. प्रत्येक मानिसले कस्तो छनौट गर्नुपर्नेछ?

२३ सैतानले मानिसहरूलाई यहोवाको सेवा छोड्‌न उक्साउने मौका पाउनेछ। तर त्यो मौका त्यसले छोटो समयको लागि मात्र पाउनेछ। आदम र हव्वाले यहोवाका स्तरहरू स्विकार्दै र उहाँको शासनलाई समर्थन गर्दै उहाँको उपासना गर्ने कि सैतानलाई समर्थन गर्दै यहोवाको विद्रोह गर्ने भन्‍ने छनौट गर्नुपरेको थियो। प्रत्येक मानिसले पनि त्यस्तै छनौट गर्नुपर्नेछ।

२४. विद्रोह गर्नेहरूलाई किन गोग र मागोग भनिएको छ?

२४ प्रकाश २०:७-१० पढ्‌नुहोस्‌। हजार वर्षीय शासनको अन्तमा विद्रोह गर्नेहरूलाई गोग र मागोग भन्‍ने नाम दिइनु उल्लेखनीय छ। महासङ्‌कष्टको दौडान परमेश्‍वरका मानिसहरूलाई आक्रमण गर्ने विद्रोहीहरूको जस्तै मनोभाव तिनीहरूले देखाउँछन्‌, जसबारे इजकिएलले भविष्यवाणी गरेका थिए। “मागोग देशको गोग” भनिएको त्यो पहिलाको समूह विभिन्‍न राष्ट्रका थिए, जसले यहोवाको शासनको विरोध गर्थ्यो। (इज. ३८:२) त्यसैगरि ख्रिष्टको हजार वर्षीय शासनको अन्तमा विद्रोह गर्नेहरूलाई बाइबलमा “राष्ट्रहरू” भनिएको छ। यहाँ “राष्ट्रहरू” भन्‍ने शब्द चलाइनु रोचक छ। किन? किनकि हजार वर्षीय शासनको दौडान फरक-फरक राष्ट्रहरू हुनेछैन; सबै मानिस एउटै सरकारको अर्थात्‌ परमेश्‍वरको राज्यको प्रजा हुनेछन्‌। हामी एउटै आध्यात्मिक राष्ट्रको भाग हुनेछौँ। भविष्यवाणीमा ती विद्रोहीहरूलाई गोग र मागोग भनिनु अनि तिनीहरूको समूहलाई “राष्ट्रहरू” भनिनुले सैतान परमेश्‍वरका केही सेवकहरूबीच विभाजन ल्याउन सफल हुनेछ भनेर सङ्‌केत गर्छ। सैतानको पक्ष लिन कसैलाई पनि जबरजस्ती गरिनेछैन। प्रत्येक त्रुटिरहित मानिसले आफै छनौट गर्नेछन्‌।

विद्रोहीहरूलाई गोग र मागोग भन्‍ने नाम दिइएको छ (अनुच्छेद २४ हेर्नुहोस्‌)

२५, २६. कति जना सैतानको पछि लाग्नेछन्‌ र तिनीहरूलाई के हुनेछ?

२५ कति जना सैतानको पछि लाग्नेछन्‌? विद्रोहीहरूको सङ्‌ख्या “समुद्रको बालुवाजत्तिकै हुनेछ।” तर यसको अर्थ धेरैजसो मानिसले विद्रोह गर्नेछन्‌ भन्‍ने पनि होइन। हामी किन त्यसो भन्‍न सक्छौँ? यहोवा परमेश्‍वरले अब्राहामसित गर्नुभएको प्रतिज्ञा विचार गर्नुहोस्‌। उहाँले अब्राहामको सन्तान “समुद्र किनारका बालुवासरी” हुनेछन्‌ भन्‍नुभएको थियो। (उत्प. २२:१७, १८) तर अन्ततः तिनको सन्तानको सङ्‌ख्या १ लाख ४४ हजार १ जनामै सीमित भयो। (गला. ३:१६, २९) यो सङ्‌ख्या ठूलै देखिन्छ तर कुल जनसङ्‌ख्याको तुलनामा यो एकदमै थोरै हो। त्यसैगरि अन्तिम जाँच हुँदा सैतानको पछि लाग्नेहरूको सङ्‌ख्या धेरै हुन सक्छ तर असाध्यै धेरै भने होइन। ती विद्रोहीहरू यहोवा परमेश्‍वरका वफादार सेवकहरूको लागि खासै ठूलो खतरा हुनेछैनन्‌।

२६ सैतानको पछि लाग्नेहरूलाई तुरुन्तै नाश गरिनेछ। सैतान र त्यसका प्रेतहरूसितै तिनीहरू पनि नामेट हुनेछन्‌ र तिनीहरूले फेरि कहिल्यै जीवन पाउनेछैनन्‌। तिनीहरूले गरेका गलत निर्णयहरू र ती निर्णयहरूले पुऱ्‍याएको हानि मात्र सधैँ सम्झनामा रहनेछ।—प्रका. २०:१०.

२७-२९. अन्तिम जाँचमा पास हुनेहरूको भविष्य कस्तो हुनेछ?

२७ अर्कोतर्फ अन्तिम जाँचमा पास हुनेहरूको नाम “जीवनको पुस्तकमा” सदाको लागि लेखिनेछ। (प्रका. २०:१५) अनि एकताबद्ध परिवारको रूपमा यहोवा परमेश्‍वरका सबै वफादार छोराछोरीले उहाँको उपासना गर्नेछन्‌, जुन उपासना पाउन उहाँ लायक हुनुहुन्छ।

२८ त्यस्तो भविष्यबारे कल्पना गर्नुहोस्‌! तपाईँले सन्तोषजनक काम र गहिरो मित्रताको आनन्द उठाउन सक्नुहुनेछ। तपाईँ वा तपाईँले माया गर्ने व्यक्‍तिले कहिल्यै दुःख भोग्नुपर्ने छैन। तपाईँ त्रुटिरहित हुनुहुनेछ र यहोवा परमेश्‍वरसामु असल ठहरिन तपाईँलाई येसु ख्रिष्टको बलिदानको आवश्‍यकता पर्नेछैन। हरेक मानिसले यहोवा परमेश्‍वरसित निर्बाध रूपमा मित्रता गाँस्न सक्नेछ। अनि सबैभन्दा महत्त्वपूर्ण कुरा, स्वर्ग र पृथ्वीमा चढाइने शुद्ध उपासना निष्खोट हुनेछ। यसप्रकार शुद्ध उपासना सदाको लागि पुनर्स्थापित हुनेछ!

तपाईँ त्रुटिरहित हुनुभएपछि यहोवा परमेश्‍वरसामु असल ठहरिन तपाईँलाई येसु ख्रिष्टको बलिदानको आवश्‍यकता पर्नेछैन (अनुच्छेद २८ हेर्नुहोस्‌)

२९ त्यो महान्‌ दिन हेर्न के तपाईँ पनि त्यहाँ हुनुहुनेछ? पक्कै हुनुहुनेछ तर त्यसको लागि तपाईँले इजकिएलको किताबबाट सिक्न सकिने यी तीन वटा महत्त्वपूर्ण पाठ निरन्तर लागू गर्नुपर्छ—तपाईँले यहोवाको मात्र भक्‍ति गर्नुपर्छ, शुद्ध उपासनामा एकताबद्ध हुनुपर्छ र अरूलाई प्रेम गरेको कुरा व्यवहारमा देखाउनुपर्छ। तर इजकिएलका भविष्यवाणीहरूबाट अझै एउटा एकदमै महत्त्वपूर्ण पाठ सिक्न सक्छौँ। त्यो के हो?

आखिरमा स्वर्ग र पृथ्वीका सबै सृष्टि शुद्ध उपासनामा एकताबद्ध हुँदा कत्ति खुसीयाली छाउला, सोच्नुहोस्‌ त! (अनुच्छेद २७-२९ हेर्नुहोस्‌)

‘म नै यहोवा हुँ भनेर जान्‍नेछन्‌’

३०, ३१. (क) परमेश्‍वरका शत्रुहरूको लागि ‘म नै यहोवा हुँ भनेर जान्‍नेछन्‌’ भन्‍ने घोषणाको अर्थ के हुनेछ? (ख) परमेश्‍वरका मानिसहरूको लागि ‘म नै यहोवा हुँ भनेर जान्‍नेछन्‌’ भन्‍ने घोषणाको अर्थ के हुनेछ?

३० इजकिएलको किताबमा यहोवा परमेश्‍वरले ‘म नै यहोवा हुँ भनेर जान्‍नेछन्‌’ भनी पटक-पटक घोषणा गर्नुभएको छ। (इज. ६:१०; ३९:२८) परमेश्‍वरका शत्रुहरूको लागि त्यो घोषणाको अर्थ युद्ध र मृत्यु हुनेछ। तिनीहरू यहोवा परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ भनेर स्विकार्न बाध्य हुनेछन्‌। तर त्यसको अलावा तिनीहरूले नमीठो तरिकामा परमेश्‍वरको महान्‌ नामको अर्थ पनि बुझ्नेछन्‌, जसको अर्थ हो, “बन्‍ने र बनाउने उहाँ नै हुनुहुन्छ।” “सेनाहरूका यहोवा” “वीर योद्धा” बन्‍नुहुनेछ र उहाँ तिनीहरूविरुद्ध लड्‌नुहुनेछ। (१ समु. १७:४५; प्रस्थ. १५:३) एकदमै ढिलो भइसकेपछि मात्र तिनीहरूले यहोवा परमेश्‍वरबारे एउटा महत्त्वपूर्ण सत्य बुझ्नेछन्‌: आफ्नो उद्देश्‍य पूरा गर्नदेखि उहाँलाई कुनै कुराले रोक्न सक्दैन।

३१ परमेश्‍वरका मानिसहरूको लागि भने ‘म नै यहोवा हुँ भनेर जान्‍नेछन्‌’ भन्‍ने घोषणाको अर्थ शान्ति र जीवन हुनेछ। यहोवा परमेश्‍वरले आफ्नो सुरुको उद्देश्‍यअनुसारै हामीलाई उहाँका गुणहरू दुरुस्त झल्काउने छोराछोरी बनाउनुहुनेछ। (उत्प. १:२६) यहोवा परमेश्‍वर हाम्रो लागि मायालु बुबा र हाम्रो रक्षा गर्ने गोठालो बनिसक्नुभएको छ। अब चाँडै उहाँ हाम्रो लागि विजयी राजा बन्‍नुहुनेछ। तर त्यो दिन आउनुअघि नै इजकिएलको सन्देशमा ध्यान देऔँ। यहोवा को हुनुहुन्छ र उहाँको नामको अर्थ के हो भनेर जानेको कुरा हरेक दिन आफ्नो बोली र कामद्वारा देखाऔँ। अनि भविष्यमा महासङ्‌कष्टको विनाशकारी बतास छोडिँदा हामी डराउनुपर्ने छैन। बरु हामी आफ्नो शिर उठाएर हेर्नेछौँ किनकि हाम्रो छुटकारा नजिकै आइपुगेको हुनेछ। (लुका २१:२८) त्यतिन्जेल हाम्रो उपासना पाउन एक मात्र लायक परमेश्‍वर यहोवा, जसको नाम अरू सबै नामभन्दा उच्च छ, उहाँबारे बुझ्न र उहाँलाई प्रेम गर्न सबै मानिसलाई मदत गरौँ।—इज. २८:२६.

^ अध्यायको सङ्‌ख्याले यस प्रकाशनका अध्यायहरूलाई बुझाउँछ।