सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय २१

“त्यस सहरको नाम हुनेछ, ‘यहोवा त्यहाँ हुनुहुन्छ’”

“त्यस सहरको नाम हुनेछ, ‘यहोवा त्यहाँ हुनुहुन्छ’”

इजकिएल ४८:३५

मुख्य कुरा: सहरको अर्थ र पवित्र जमिनको लागि छुट्ट्याइएको इलाकाको अर्थ

१, २. (क) एक टुक्रा जमिन कुन विशेष उद्देश्‍यको लागि छुट्ट्याउनुपर्थ्यो? (आवरणको चित्र हेर्नुहोस्‌) (ख) यस दर्शनले निर्वासित मानिसहरूलाई कस्तो आश्‍वासन दिन्छ?

 यस अन्तिम दर्शनमा इजकिएल विशेष उद्देश्‍यको लागि छुट्ट्याउनुपर्ने एक टुक्रा जमिनबारे थाह पाउँछन्‌। त्यो जमिन इस्राएलीहरूको कुनै कुललाई पैतृक सम्पत्तिको रूपमा नदिई यहोवा परमेश्‍वरलाई अर्पण गरिएको छ। तिनी एउटा उल्लेखनीय सहरबारे पनि थाह पाउँछन्‌, जसको नाम रोचक छ। दर्शनको यस भागले निर्वासित मानिसहरूलाई एउटा असाध्यै महत्त्वपूर्ण आश्‍वासन दिन्छ। त्यो हो: तिनीहरू आफ्नो प्यारो मातृभूमि फर्कँदा यहोवा परमेश्‍वर तिनीहरूसित रहनुहुनेछ।

यहोवा परमेश्‍वरलाई अर्पण गर्नुपर्ने त्यस जमिनबारे इजकिएल हामीलाई विस्तृत रूपमा बताउँछन्‌। आउनुहोस्‌, हामी यहोवा परमेश्‍वरका साँचो उपासकहरूको लागि अर्थपूर्ण यस विवरणलाई जाँचौँ।

“सहर र पवित्र भूमि”

३. यहोवा परमेश्‍वरले छुट्ट्याउनुभएको जमिन कुन पाँच वटा भाग मिलेर बनेको थियो र जमिनका ती भागहरू कुन उद्देश्‍यका लागि छुट्ट्याइएका थिए? (“पवित्र जमिनको लागि छुट्ट्याइएको इलाका” भन्‍ने पेटी हेर्नुहोस्‌)

यहोवा परमेश्‍वरलाई अर्पण गर्नुपर्ने जमिनको भागको नाप उत्तरदेखि दक्षिणसम्म २५ हजार हात (१३ किलोमिटर) र पूर्वदेखि पश्‍चिमसम्म २५ हजार हात थियो। यस वर्गाकार जमिनलाई “सम्पूर्ण पवित्र जमिन” भनिन्थ्यो। यसलाई तेर्सो गरेर तीन वटा भागमा विभाजन गरिएको थियो। “सम्पूर्ण पवित्र जमिन”-को माथिल्लो भाग लेवीहरूको लागि थियो भने बीचको भाग मन्दिर र पुजारीहरूको लागि छुट्ट्याइएको थियो। यी दुई भाग मिलेर “पवित्र भूमि” बनेको थियो। “सम्पूर्ण पवित्र जमिन”-मा “बाँकी रहेको” तल्लो सानो भागचाहिँ “साधारण ठाउँ” थियो। त्यो भाग सहरको लागि थियो।—इज. ४८:१५, २०.

४. यहोवा परमेश्‍वरलाई अर्पण गरिएको जमिनको विवरणबाट हामी कस्तो पाठ सिक्न सक्छौँ?

यहोवा परमेश्‍वरलाई अर्पण गरिएको जमिनको यो विवरणबाट हामी कस्तो पाठ सिक्न सक्छौँ? सबैभन्दा पहिला यहोवा परमेश्‍वरले आफ्नो निम्ति एक टुक्रा जमिन छुट्ट्याउनुभयो। त्यसपछि कुल-कुलको निम्ति जमिन भागबन्डा गर्नुभयो। यसरी उहाँले उक्‍त जमिनको आध्यात्मिक केन्द्रलाई महत्त्व दिनुपर्छ भनेर औँल्याउनुभयो। यसबाट ती निर्वासित मानिसहरूले यहोवा परमेश्‍वरको उपासनालाई जीवनमा पहिलो स्थान दिनुपर्छ भन्‍ने कुरा पक्कै सिके। आज हामी पनि परमेश्‍वरको वचनको अध्ययन गर्ने, ख्रिष्टियन सभाहरूमा उपस्थित हुने र प्रचारकार्यमा भाग लिनेजस्ता आध्यात्मिक गतिविधिलाई सबैभन्दा महत्त्वपूर्ण ठान्छौँ। महत्त्वपूर्ण कुरालाई प्राथमिकता दिने सम्बन्धमा यहोवा परमेश्‍वरको उदाहरण अनुकरण गर्दा हामीले उहाँको उपासना गर्नु नै जीवनको सबैभन्दा महत्त्वपूर्ण कुरा हो भनेर देखाइरहेका हुन्छौँ।

“यसको बीचमा सहर हुनेछ”

५, ६. (क) सहर कसको लागि थियो? (ख) सहरले केलाई सङ्‌केत गरेको हुन सक्दैन र किन?

इजकिएल ४८:१५ पढ्‌नुहोस्‌। “सहर” र त्यस वरपरको इलाकाको महत्त्व के थियो? (इज. ४८:१६-१८) दर्शनमा यहोवा परमेश्‍वरले इजकिएललाई यसो भन्‍नुभएको थियो: “सहरको लागि तिमीहरूले . . . एक टुक्रा जमिन छुट्ट्याउनू। त्यो जमिन इस्राएलका सम्पूर्ण घरानाको लागि हुनेछ।” (इज. ४५:६, ७) त्यसकारण सहर र त्यस वरपरको इलाका ‘यहोवाको लागि छुट्ट्याइएको’ “पवित्र भूमि” थिएन। (इज. ४८:९) यो कुरा मनमा राख्दै सहरको यस्तो प्रबन्धबाट आज हामी कस्तो पाठ सिक्न सक्छौँ भनी विचार गरौँ।

सहरबाट हामी कस्तो पाठ सिक्न सक्छौँ भनेर थाह पाउन सबैभन्दा पहिला, त्यस सहरले केलाई सङ्‌केत गरेको हुन सक्दैन भनेर बुझ्नुपर्छ। त्यसले पुनर्निर्माण गरिएको यरुसलेम सहर र त्यहाँको मन्दिरलाई सङ्‌केत गरेको हुन सक्दैन। किन? किनकि इजकिएलले दर्शनमा देखेको सहरभित्र मन्दिर थिएन। साथै त्यस सहरले पुनर्स्थापित इस्राएलमा भएको अरू कुनै सहरलाई पनि सङ्‌केत गरेको हुन सक्दैन। किन? किनकि निर्वासनबाट फर्केकाहरू अथवा तिनीहरूका सन्तानले यस दर्शनमा वर्णन गरिएको जस्तो सहर कहिल्यै बनाएनन्‌। अनि त्यस सहरले स्वर्गीय सहरलाई सङ्‌केत गरेको पनि हुन सक्दैन। किन? किनकि त्यो सहर “साधारण [पवित्र भनेर नछुट्ट्याइएको] ठाउँ”-मा बनाइएको थियो, जुन ठाउँ परमेश्‍वरलाई पवित्र उपासना चढाउनकै लागि भनेर छुट्ट्याइएको ठाउँबाट अलग्गै थियो।—इज. ४२:२०.

७. इजकिएलले देखेको सहर के हो र त्यसले केलाई सङ्‌केत गरेको हुन सक्छ? (शीर्षकमाथिको चित्र हेर्नुहोस्‌)

त्यसोभए इजकिएलले देखेको सहर के हो? याद गर्नुहोस्‌, तिनले देश देखेकै दर्शनमा सहर पनि देखे। (इज. ४०:२; ४५:१, ६) बाइबलअनुसार त्यस देशले आध्यात्मिक देशलाई सङ्‌केत गर्छ। त्यसैले त्यो सहर पनि आध्यात्मिक सहर हो। साधारणतया “सहर” भन्‍ने शब्दले केलाई बुझाउँछ? यसले व्यवस्थित भएर सँगै बसेका मानिसहरूको समूहलाई बुझाउँछ, जहाँ नियम-कानुन हुन्छ। त्यसैले इजकिएलले देखेको व्यवस्थित सहर, जुन वर्गाकार थियो, त्यसले व्यवस्थित प्रशासनलाई सङ्‌केत गरेको हुन सक्छ।

८. यस प्रशासनको दायरा कहाँसम्म छ र किन?

यस प्रशासनको दायरा कहाँसम्म छ? इजकिएलको दर्शनले देखाएअनुसार त्यस सहरले आध्यात्मिक देशभित्र काम गर्छ। त्यसैले आज यस प्रशासनले आध्यात्मिक प्रमोदवनभित्र काम गर्छ। अनि त्यो सहर साधारण ठाउँमा अर्थात्‌ पवित्र भनेर नछुट्ट्याइएको ठाउँमा हुनुले केलाई सङ्‌केत गर्छ? त्यो सहर स्वर्गीय प्रशासन नभई पार्थिव प्रशासन हो भनेर यसले सङ्‌केत गर्छ। यस पार्थिव प्रशासनले आध्यात्मिक प्रमोदवनका सबै बासिन्दाको फाइदा हुने काम गरिरहेको छ।

९. (क) पार्थिव प्रशासन आज कसले चलाइरहेको छ? (ख) हजार वर्षीय शासनको दौडान येसुले के गर्नुहुनेछ?

यो पार्थिव प्रशासन कसले चलाइरहेको छ? इजकिएलको दर्शनमा सहरमा नेतृत्व लिइरहेको व्यक्‍तिलाई “कुलनायक” भनिएको थियो। (इज. ४५:७) तिनले मानिसहरूमाझ निरीक्षकको काम गर्थे तर तिनी पुजारी वा लेवी थिएनन्‌। कुलनायकले आज हामीलाई विशेषगरि मण्डलीका ती निरीक्षकहरूको सम्झना गराउँछ, जो अभिषिक्‍त जनहरू होइनन्‌। “अरू भेडा”-का यी मायालु आध्यात्मिक गोठालाहरू ख्रिष्टको स्वर्गीय सरकारको नम्र सेवकहरू हुन्‌। (युहन्‍ना १०:१६) आउँदै गरेको हजार वर्षीय शासनमा येसुले “सारा पृथ्वी”-मा योग्य एल्डरहरू अर्थात्‌ ‘शासकहरू’ नियुक्‍त गर्नुहुनेछ। (भज. ४५:१६) तिनीहरूले हजार वर्षीय शासनको दौडान स्वर्गीय राज्यको निर्देशनमा परमेश्‍वरका मानिसहरूको हेरविचार गर्नेछन्‌।

“यहोवा त्यहाँ हुनुहुन्छ”

१०. सहरको नाम के हो र यो नामले कस्तो आश्‍वासन दिन्छ?

१० इजकिएल ४८:३५ पढ्‌नुहोस्‌। त्यस सहरको नाम “यहोवा त्यहाँ हुनुहुन्छ” हो। यो नामले त्यस सहरमा यहोवाको उपस्थितिको महसुस हुन्छ भन्‍ने कुराको आश्‍वासन दिन्छ। सबैलाई पायक पर्ने ठाउँमा भएको यो सहर इजकिएललाई देखाउँदै यहोवा परमेश्‍वरले निर्वासित मानिसहरूलाई मानौँ यसो भनिरहनुभएको थियो: ‘म फेरि तिमीहरूसित हुनेछु!’ कत्ति उत्साहजनक आश्‍वासन!

११. इजकिएलले सहरबारे देखेको दर्शन र त्यस सहरको अर्थपूर्ण नामबाट हामी कस्तो पाठ सिक्न सक्छौँ?

११ इजकिएलको भविष्यवाणीको यो भागबाट हामी कस्तो पाठ सिक्न सक्छौँ? यस सहररूपी प्रशासनको नामले हामीलाई यहोवा परमेश्‍वर पृथ्वीका आफ्ना वफादार सेवकहरूमाझ अहिले पनि रहनुहुन्छ र सधैँभरि रहनुहुनेछ भन्‍ने कुरामा आश्‍वस्त पार्छ। यस अर्थपूर्ण नामले अर्को महत्त्वपूर्ण सत्यलाई पनि जोड दिन्छ: यो सहर अस्तित्वमा हुनुको कारण कुनै मानिसलाई अख्तियार दिन होइन तर यहोवा परमेश्‍वरका मायालु र व्यावहारिक तौरतरिकाहरू लागू गर्नको लागि हो। उदाहरणको लागि, यहोवा परमेश्‍वरले त्यस प्रशासनलाई मानव दृष्टिकोणबाट हेर्दा मनासिबजस्तो देखिने तरिकामा देश भाग लगाउने अख्तियार दिनुभएको छैन। बरु स्वयम्‌ यहोवा परमेश्‍वरले “गरिब”-लगायत आफ्ना सबै सेवकलाई छुट्ट्याइदिनुभएको भाग अर्थात्‌ सुअवसरहरूलाई ती प्रशासकहरूले स्विकारेको उहाँ आशा गर्नुहुन्छ।—हितो. १९:१७; इज. ४६:१८; ४८:२९.

१२. (क) यस सहरको एउटा उल्लेखनीय पक्ष के हो र यसले के सङ्‌केत गर्छ? (ख) दर्शनको यो पक्ष ख्रिष्टियन निरीक्षकहरूका लागि कस्तो महत्त्वपूर्ण सम्झौटा हो?

१२ “यहोवा त्यहाँ हुनुहुन्छ” नाम भएको सहरको अर्को उल्लेखनीय पक्ष के हो? पुरातन समयका सहरहरूमा सुरक्षाका लागि पर्खालहरू बनाइएका हुन्थे तर त्यसमा ढोकाहरू भने सकेसम्म थोरै हुन्थे। तर यस सहरमा भने १२ वटा ढोका छन्‌! (इज. ४८:३०-३४) धेरै सङ्‌ख्यामा (यस वर्गाकार सहरको हरेक दिशामा तीन वटा) ढोका हुनुले यस सहरका प्रशासकहरूसित कुरा गर्न सजिलो छ र उनीहरू परमेश्‍वरका सबै सेवकलाई मदत गर्न सधैँ तयार हुन्छन्‌ भन्‍ने कुरालाई सङ्‌केत गर्छ। साथै सहरमा १२ वटा ढोका हुनुले यो सबैको लागि, “इस्राएलका सम्पूर्ण घरानाको लागि” खुला छ भन्‍ने कुरालाई जोड दिन्छ। (इज. ४५:६) सहरको यस्तो विशेषता ख्रिष्टियन निरीक्षकहरूका लागि एउटा महत्त्वपूर्ण सम्झौटा हो। ख्रिष्टियन निरीक्षकहरू आध्यात्मिक प्रमोदवनमा बस्ने सबैको लागि कुरा गर्न सजिलो व्यक्‍ति भएको र अरूलाई मदत गर्न सधैँ तयार भएको यहोवा परमेश्‍वर आशा गर्नुहुन्छ।

ख्रिष्टियन निरीक्षकहरूसित कुरा गर्न सजिलो हुन्छ र तिनीहरू हामीलाई मदत गर्न सधैँ तयार हुन्छन्‌ (अनुच्छेद १२ हेर्नुहोस्‌)

परमेश्‍वरका सेवकहरू ‘उपासना गर्न आउँछन्‌’ र ‘सहरमा सेवा गर्दै छन्‌’

१३. मानिसहरूले चढाउने विभिन्‍न सेवाबारे यहोवा परमेश्‍वर के बताउनुहुन्छ?

१३ फेरि इजकिएलको समयमा फर्कौँ र जमिनको भागबन्डासम्बन्धी यो विस्तृत दर्शनमा तिनले अरू के-के देखे, विचार गरौँ। यस दर्शनमा यहोवा परमेश्‍वर मानिसहरूले सेवाका विभिन्‍न पक्षमा भाग लिइरहेको कुरा बताउनुहुन्छ। “मन्दिरका सेवकहरू” अर्थात्‌ पुजारीहरूले बलिदान चढाउनुपर्थ्यो र यहोवा परमेश्‍वरको सेवा गर्न उहाँसामु उपस्थित हुनुपर्थ्यो। अनि ‘मन्दिरमा सेवा गर्नेहरू’ अर्थात्‌ लेवीहरूले ‘मन्दिरमा आफूले गर्नुपर्ने सबै काम पूरा गर्नुपर्थ्यो।’ (इज. ४४:१४-१६; ४५:४, ५) साथै कामदारहरूले सहरनजिकै सक्रिय भई काम गर्नुपर्थ्यो। ती कामदारहरू को हुन्‌?

१४. सहरलाई मदत गर्ने कामदारहरूले हामीलाई केको सम्झना गराउँछ?

१४ सहरलाई मदत गर्ने कामदारहरू “इस्राएलको हरेक कुलबाट” आएका छन्‌। तिनीहरूको काम “सहरमा सेवा गर्नेहरूका लागि” खेतीपाती गर्नु हो। (इज. ४८:१८, १९) के यो प्रबन्धले आज हामीले पाएको मौकाको सम्झना गराउँदैन र? पक्कै गराउँछ। आज आध्यात्मिक प्रमोदवनमा बस्ने सबैले ख्रिष्टका अभिषिक्‍त भाइहरूले गर्ने सेवाको कामलाई र “ठूलो भीड”-मध्येका नेतृत्व लिइरहेका भाइहरूले गर्ने सेवाको कामलाई टेवा पुऱ्‍याउने मौका पाएका छन्‌। (प्रका. ७:९, १०) यसो गर्ने एउटा मुख्य तरिका भनेको विश्‍वासी दासबाट आएको निर्देशनलाई राजीखुसीले स्विकार्नु हो।

१५, १६. (क) इजकिएलले देखेको दर्शनबाट हामी अरू के कुरा थाह पाउन सक्छौँ? (ख) हामीले पनि यस्तै किसिमका कस्ता कामहरूमा भाग लिने मौका पाएका छौँ?

१५ सेवाको कामबारे पाठ सिक्न सक्ने अर्को एउटा विवरण इजकिएलको दर्शनमा पाउँछौँ। कस्तो विवरण? यहोवा परमेश्‍वर १२ वटा गैर-लेवी कुलका सदस्यहरूले यी दुइटा ठाउँमा सक्रिय भई सेवा गर्ने कुरा बताउनुहुन्छ: मन्दिरको चोकमा र सहरको चरनमा। यी दुई ठाउँमा तिनीहरू कस्ता कामहरू गर्छन्‌? मन्दिरको चोकमा सबै कुल यहोवा परमेश्‍वरको निम्ति भेटी चढाएर उहाँको “उपासना गर्न” आउँछन्‌। (इज. ४६:९, २४) सहरको जमिनमा खेतीपाती गरेर सबै कुलका सदस्यहरू त्यस सहरलाई सहयोग गर्न आउँछन्‌। यी कामदारहरूको उदाहरणबाट हामी के सिक्न सक्छौँ?

१६ आज ठूलो भीडले इजकिएलले दर्शनमा देखेको जस्तै काममा भाग लिने मौका पाएको छ। तिनीहरू प्रशंसाको भेटी चढाएर यहोवा परमेश्‍वरलाई “उहाँको मन्दिरमा” उपासना गर्छन्‌। (प्रका. ७:९-१५) तिनीहरू प्रचारकार्यमा भाग लिएर अनि ख्रिष्टियन सभाहरूमा टिप्पणी र प्रशंसाको गीतद्वारा आफ्नो विश्‍वास व्यक्‍त गरेर यसो गर्छन्‌। यसरी यहोवा परमेश्‍वरको उपासना गर्नुलाई तिनीहरू आफ्नो मुख्य जिम्मेवारी ठान्छन्‌। (१ इति. १६:२९) साथै परमेश्‍वरका सेवकहरूमध्ये थुप्रैले अन्य विभिन्‍न व्यावहारिक तरिकामा परमेश्‍वरको सङ्‌गठनलाई सहयोग गरेका छन्‌। जस्तै: तिनीहरू राज्यभवन र शाखा कार्यालयका भवनहरूको निर्माण र स्याहारसम्भारमा अनि यहोवाको सङ्‌गठनमा भइरहेको अरू थुप्रै काममा मदत गर्छन्‌। अरू कतिपयले चाहिँ आर्थिक अनुदान दिएर यी कामहरूमा सहयोग गर्छन्‌। तिनीहरूले यी सबै कामद्वारा एक अर्थमा जमिनमा खेतीपाती गरेर “परमेश्‍वरकै महिमा” गरिरहेका छन्‌। (१ कोरि. १०:३१) तिनीहरू जोसिलो भई र आनन्द मान्दै यी कामहरू गर्छन्‌ किनकि “यस्तै बलिदानहरूसित परमेश्‍वर असाध्यै खुसी हुनुहुन्छ” भनेर तिनीहरूलाई थाह छ। (हिब्रू १३:१६) के तपाईँ यी मौकाहरूको सदुपयोग गर्दै हुनुहुन्छ?

सहरको प्रवेशद्वार र त्यसको वरपर भइरहेका विभिन्‍न गतिविधिबारे इजकिएलले गरेको वर्णनबाट हामी के-कस्तो पाठ सिक्न सक्छौँ? (अनुच्छेद १४-१६ हेर्नुहोस्‌)

“नयाँ आकाश र नयाँ पृथ्वीको प्रतीक्षा गर्दै छौँ”

१७. (क) भविष्यमा हामीले इजकिएलले देखेको दर्शनको कस्तो व्यापक पूर्ति देख्नेछौँ? (ख) हजार वर्षीय शासनको दौडान सहररूपी प्रशासनबाट कसले लाभ उठाउनेछ?

१७ यहोवा परमेश्‍वरलाई अर्पण गरिएको जमिनबारे इजकिएलले देखेको दर्शनको व्यापक पूर्ति के हामीले भविष्यमा देख्नेछौँ? यो कुरा विचार गर्नुहोस्‌: “पवित्र जमिन” भन्‍ने नाम दिइएको जमिनको भाग त्यस देशको केन्द्र भएको इजकिएलले देखे। (इज. ४८:१०) त्यसैगरि आरमागेडोनपछि हामी पृथ्वीको जुनसुकै भागमा बसे तापनि यहोवा परमेश्‍वर हामीमाझ रहनुहुनेछ। (प्रका. २१:३) हजार वर्षीय शासनको दौडान सहररूपी प्रशासनले अर्थात्‌ परमेश्‍वरका मानिसहरूको हेरविचार गर्नको लागि पृथ्वीमा नियुक्‍त हुनेहरूले “नयाँ पृथ्वी” अर्थात्‌ नयाँ मानव समाजलाई मायालु डोऱ्‍याइ र निर्देशन दिएर आफ्नो दायरा पृथ्वीभरि फैलाउनेछ।—२ पत्रु. ३:१३.

१८. (क) सहररूपी प्रशासन र परमेश्‍वरको शासनबीच पूर्णतया तालमेल हुनेछ भन्‍ने कुरामा हामी किन पक्का हुन सक्छौँ? (ख) सहरको नामले हामीलाई कुन कुरामा आश्‍वस्त पार्छ?

१८ सहररूपी प्रशासन र परमेश्‍वरको शासनबीच पूर्णतया तालमेल हुनेछ भन्‍ने कुरामा हामी किन पक्का हुन सक्छौँ? किनकि १२ वटा ढोका भएको पार्थिव सहरले १२ वटै ढोका भएको स्वर्गीय सहर अर्थात्‌ ख्रिष्टका १ लाख ४४ हजार सह-शासक मिलेर बनेको नयाँ यरुसलेमलाई प्रतिबिम्बित गर्छ भनी परमेश्‍वरको वचनले स्पष्ट पार्छ। (प्रका. २१:२, १२, २१-२७) पार्थिव प्रशासनले परमेश्‍वरको राज्यले स्वर्गमा गरेको एक-एक निर्णयलाई प्रतिबिम्बित गर्नेछ र ती निर्णयहरू कार्यान्वयन गर्नेछ भनेर यसले सङ्‌केत गर्छ। हो, “यहोवा त्यहाँ हुनुहुन्छ” भन्‍ने यस सहरको नामले हामी प्रत्येकलाई प्रमोदवनमा पनि शुद्ध उपासना रहनेछ र सधैँभरि फस्टाइरहनेछ भन्‍ने कुरामा आश्‍वस्त पार्छ। हामीलाई यस्तो अद्‌भुत भविष्यले पर्खिरहेको छ!