नोट
-
१. महान् बेबिलोनलाई चिन्ने तरिका
-
२. मसीह कहिले देखा पर्ने थिए?
-
३. रगत प्रयोग हुने उपचारविधि
-
४. पति र पत्नी छुट्टिएर बस्ने
-
५. चाडपर्व र उत्सव
-
६. सरुवा रोगहरू
-
७. व्यापारिक र कानुनी मामिलाहरू
१. महान् बेबिलोनलाई चिन्ने तरिका
“महान् बेबिलोन”-ले सबै झूटो धर्मलाई चित्रण गर्छ भनेर हामी किन भन्न सक्छौँ? (प्रकाश १७:५) यी कारणहरू विचार गर्नुहोस्:
-
त्यसको प्रभाव विश्वभरि छ। महान् बेबिलोन ‘भीड र राष्ट्रहरूमाथि’ बसिरहेकी छे भनेर बाइबलमा बताइएको छ। त्यसले “पृथ्वीका राजाहरूमाथि राज” गर्छे।—प्रकाश १७:१५, १८.
-
त्यो कुनै राजनैतिक वा व्यापारिक शक्ति हुन सक्दिन। किनभने त्यो विनाश हुँदा “पृथ्वीका राजाहरू” र “व्यापारीहरू” बच्नेछन्।—प्रकाश १८:९, १५.
-
त्यसले परमेश्वरको बदनाम गर्छे। त्यसलाई वेश्या भनिन्छ किनभने त्यसले रुपैयाँ-पैसा वा अन्य कुराको लागि सरकारहरूसित साठगाँठ गर्छे। (प्रकाश १७:१, २) त्यसले सबै राष्ट्रका मानिसहरूलाई बहकाउँछे। साथै त्यो धेरै मानिसको मृत्युको लागि दोषी छे।—प्रकाश १८:२३, २४.
पाठ १३ को बुँदा ६ मा फर्कनुहोस्
२. मसीह कहिले देखा पर्ने थिए?
बाइबलले भविष्यवाणी गरेअनुसार ६९ हप्ता बितेपछि मसीह देखा पर्ने थिए।—दानिएल ९:२५ पढ्नुहोस्।
-
त्यो ६९ हप्ता कहिले सुरु भयो? ईसापूर्व ४५५ मा। त्यतिबेला राज्यपाल नहेम्याह “यरुसलेमको पुनर्स्थापना र पुनर्निर्माण” गर्न यरुसलेम आए।—दानिएल ९:२५; नहेम्याह २:१, ५-८.
-
त्यो ६९ हप्ता कति लामो थियो? बाइबलको कुनै-कुनै भविष्यवाणीमा एक दिनले एक वर्षलाई सङ्केत गर्छ। (गन्ती १४:३४; इजकिएल ४:६) त्यसैले एक हप्ताले सात वर्षलाई सङ्केत गर्छ। यस भविष्यवाणीमा ६९ हप्ताले ४८३ वर्षलाई जनाउँछ (६९ हप्ता x ७ दिन)।
-
त्यस ६९ हप्ताको अन्त कहिले भयो? हामीले ईसापूर्व ४५५ देखि ४८३ वर्ष गन्यौँ भने इस्वी संवत् २९ मा पुग्छौँ। a त्यही वर्ष येसुले बप्तिस्मा गर्नुभयो र मसीह हुनुभयो!—लुका ३:१, २, २१, २२.
पाठ १५ को बुँदा ५ मा फर्कनुहोस्
३. रगत प्रयोग हुने उपचारविधि
कुनै-कुनै उपचारविधिमा बिरामीको आफ्नै रगत प्रयोग गरिन्छ। यीमध्ये कतिपयचाहिँ ख्रिष्टियनहरूको लागि अस्वीकार्य छन्। उदाहरणको लागि, कसै-कसैले रक्तदान गर्छन् अथवा शल्यक्रियाको दौडान प्रयोग गर्न आफ्नै रगत सञ्चय गरेर राख्छन्। तर ख्रिष्टियनहरू त्यसो गर्दैनन्।—व्यवस्था १५:२३.
हामीले अपनाउन सक्ने उपचारविधि पनि छन्। जस्तै: रक्त परीक्षण, हेमोडाइलसिस, हेमोडाइल्युसन वा सेल साल्भेज अथवा हार्ट-लङ बाइपास मेसिनको (मुटु/फोक्सोको काम गर्ने यन्त्र) प्रयोग। प्रत्येक ख्रिष्टियनले कुनै उपचारविधि, स्वास्थ्य परीक्षण अथवा थेरापीविधिमा आफ्नो रगत कसरी प्रयोग गर्न दिने भनेर निर्णय गर्नुपर्छ। प्रत्येक डाक्टरले यी विधिहरू अलि फरक तरिकामा प्रयोग गर्न सक्छन्। त्यसैले कुनै ख्रिष्टियनले कुनै शल्यक्रिया, स्वास्थ्य परीक्षण वा थेरापी गर्ने निर्णय गर्नुअघि तिनको रगत कसरी प्रयोग गरिनेछ भनेर बुझ्नुपर्छ। यी प्रश्नहरू विचार गर्नुहोस्:
-
मेरो शरीरबाट रगत बाहिर निकालिँदा रगतको बहाब केही समयको लागि रोकियो भने नि? त्यस्तो अवस्थामा के मेरो अन्तस्करणले यस्तो रगतलाई मेरै शरीरको भाग मान्छ अनि “त्यसलाई भुईँमा पानीझैँ” बगाउन आवश्यक छैन भनी मानिलिन्छ?—व्यवस्था १२:२३, २४.
-
उपचारको दौडान मेरो रगत निकालेर त्यसमा औषधी मिसाएर फेरि शरीरभित्र पठाइयो भने नि? के मेरो बाइबल-प्रशिक्षित अन्तस्करणले मलाई घोच्छ अथवा के मेरो लागि यो विधि स्वीकार्य छ?
पाठ ३९ को बुँदा ३ मा फर्कनुहोस्
४. पति र पत्नी छुट्टिएर बस्ने
परमेश्वरको वचनले पति र पत्नीलाई छुट्टिएर बस्न प्रोत्साहन दिँदैन अनि छुट्टिएर बसेको पति वा पत्नीले अर्को व्यक्तिसित विवाह गर्नु हुँदैन भनेर स्पष्टसित बताउँछ। (१ कोरिन्थी ७:१०, ११) तर कुनै-कुनै अवस्थामा ख्रिष्टियनहरू छुट्टिएर बस्ने निर्णय गर्न सक्छन्।
-
जानाजानी परिवारको पालनपोषण नगरेमा: पतिले जानाजानी आफ्नो परिवारको भौतिक आवश्यकता पूरा गर्दैनन्, जसले गर्दा परिवारलाई हातमुख जोर्न धौधौ पर्छ।—१ तिमोथि ५:८.
- ज्यादै कुटपिट गरेमा: ज्यादै कुटपिट गरेकोले पति वा पत्नीको स्वास्थ्यमा हानि पुग्छ वा जीवन नै खतरामा पर्छ।—
-
यहोवासितको सम्बन्धलाई पूर्णतया खतरामा पारेमा: पति वा पत्नीले आफ्नो जीवनसाथीलाई यहोवाको उपासना गर्नै दिँदैनन्।—प्रेषित ५:२९.
५. चाडपर्व र उत्सव
ख्रिष्टियनहरू यहोवालाई अप्रसन्न तुल्याउने चाडपर्व र उत्सवमा भाग लिँदैनन्। तर प्रत्येक ख्रिष्टियनले आफ्नो बाइबल-प्रशिक्षित अन्तस्करण चलाएर त्यस्ता अवसरहरूमा के गर्ने भनेर निर्णय गर्न सक्छन्। केही उदाहरण विचार गर्नुहोस्।
-
कसैले तपाईँलाई चाडपर्व वा उत्सवको लागि शुभकामना दिँदा। तपाईँ तिनलाई “धन्यवाद” भन्न सक्नुहुन्छ। यदि तिनी तपाईँले त्यस्तो चाडपर्व वा उत्सव नमनाउनुको कारणबारे जान्न चाहन्छन् भने त्यसबारे बताउन सक्नुहुन्छ।
-
तपाईँको जीवनसाथी, जो यहोवाको साक्षी होइनन्, तिनले कुनै चाडपर्व वा उत्सवमा आफन्तहरूसँगै खाना खान आग्रह गर्दा। तपाईँको अन्तस्करणले त्यसो गर्नु उचित ठान्छ भने तिनलाई तपाईँ झूटो धर्म मुछिएको कुनै रीतिथितिमा भाग लिनुहुनेछैन भनेर पहिल्यै बताउन सक्नुहुन्छ।
-
तपाईँको हाकिमले चाडपर्व वा उत्सवको बेला बोनस दिँदा। त्यो बोनस लिनु हुन्छ कि हुँदैन? लिनै हुँदैन भन्ने छैन। बोनस दिनुलाई तिनी चाडपर्वको भाग ठान्छन् कि? अथवा तपाईँले राम्ररी काम गर्नुभएकोमा कदरस्वरूप त्यो दिँदै छन् कि?
-
कसैले तपाईँलाई चाडपर्व वा उत्सवको बेला उपहार दिँदा। तिनले तपाईँलाई यसो भन्न सक्छन्: “तपाईँ चाडपर्व मनाउनुहुन्न भनेर मलाई थाह छ। तैपनि तपाईँलाई यो उपहार दिन चाहन्छु।” तिनले तपाईँलाई माया गरेर त्यो उपहार दिएका हुन सक्छन्। अथवा तिनले तपाईँको विश्वास जाँच्ने वा तपाईँलाई चाडपर्वमा भाग लिन लगाउने मनसायले दिएका पो हुन् कि? यी कुराहरू विचार गरेर तपाईँ त्यो उपहार स्विकार्ने कि नस्विकार्ने भनेर निर्णय गर्न सक्नुहुन्छ। हामी आफ्नो अन्तस्करण सफा राख्न र यहोवाप्रति वफादार रहन चाहन्छौँ। त्यसैले हामीले विचार पुऱ्याएर निर्णय गर्नुपर्छ।—प्रेषित २३:१.
पाठ ४४ को बुँदा १ मा फर्कनुहोस्
६. सरुवा रोगहरू
हामी मानिसहरूलाई माया गर्छौँ। त्यसैले तिनीहरूलाई रोगहरू सर्न नदिन सावधानी अपनाउँछौँ। हामीलाई सरुवा रोग लागेको छ अथवा हामीले गर्दा अरू सङ्क्रमित हुन सक्छन् जस्तो लाग्छ भने हामी झनै होसियार हुन्छौँ। किनभने बाइबलले यस्तो आज्ञा दिन्छ: “तिमीहरूले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू।”—रोमी १३:८-१०.
यो आज्ञा हामी कसरी आफ्नो व्यवहारमा लागू गर्न सक्छौँ? सङ्क्रमित व्यक्तिले माया देखाउन अरूलाई अँगालो हाल्ने वा चुम्बन गर्ने जस्ता क्रियाकलाप गर्दैनन्। आफ्नो परिवारलाई सुरक्षित राख्न कसैले तिनलाई घरमा बोलाएनन् भने तिनले चित्त दुखाउनु हुँदैन। सरुवा रोग लागेको व्यक्तिले बप्तिस्मा गर्नुअघि एल्डरहरूको निकायको संयोजकलाई आफ्नो रोगबारे बताउनुपर्छ। यसो गर्दा बप्तिस्मा गर्न लागेका अरूलाई असर नपर्ने गरी तिनको बप्तिस्माको प्रबन्ध मिलाउन सकिन्छ। आफूलाई सरुवा रोग लागेको शङ्का लागेमा विवाहपूर्व भेटघाट गर्नुअघि रक्त परीक्षण गर्नुपर्छ। यसो गर्दा तपाईँ अरूको ख्याल राख्नुहुन्छ अनि “आफ्नै कुरामा मात्र होइन तर अरूको कुरामा पनि ध्यान” दिनुहुन्छ भनेर देखिन्छ।—फिलिप्पी २:४.
पाठ ५६ को बुँदा २ मा फर्कनुहोस्
७. व्यापारिक र कानुनी मामिलाहरू
हामीले रुपैयाँ-पैसा र व्यापारसम्बन्धी सम्झौताहरू लिखित रूपमा राख्दा धेरै समस्याबाट जोगिन सक्छौँ। कुनै ख्रिष्टियनसित कारोबार गर्नुपऱ्यो भने पनि त्यसो गर्नु राम्रो हो। (यर्मिया ३२:९-१२) तैपनि कहिलेकाहीँ ख्रिष्टियनहरूमाझ पैसा वा अन्य मामिलामा सानोतिनो मतभिन्नता हुन सक्छ। तिनीहरूले त्यस्ता मतभिन्नताहरू आपसी समझदारीमा तुरुन्तै सुल्झाउनुपर्छ। यसमा अरू कसैलाई मुछ्नु हुँदैन।
तर हामी जालसाजी वा निन्दाजस्ता गम्भीर मामिलाहरू कसरी सुल्झाउन सक्छौँ? (मत्ति १८:१५-१७ पढ्नुहोस्।) हामीले चाल्नुपर्ने यी तीन कदमबारे येसुले बताउनुभयो:
-
१. सम्बन्धित व्यक्तिहरू मात्र बसेर समस्या सुल्झाउन प्रयास गर्नुहोस्।—पद १५ हेर्नुहोस्।
-
२. त्यसो गर्दा समस्या सुल्झिएन भने एक वा दुई जना साक्षीलाई सँगै लगेर कुराकानी गर्नुहोस्।—पद १६ हेर्नुहोस्।
-
३. समस्या अझै सुल्झाउन सकिएन भने मात्र एल्डरहरूकहाँ जानुपर्छ।—पद १७ हेर्नुहोस्।
प्रायजसो अवस्थामा हामीले आफ्नो भाइविरुद्ध मुद्दा हाल्नु हुँदैन किनभने यसो गर्दा यहोवा र मण्डलीको नाममा कलङ्क लाग्छ। (१ कोरिन्थी ६:१-८) तर कतिपय मामिलाचाहिँ कानुनको मदत लिएर सुल्झाउनुपर्ने हुन सक्छ। जस्तै: सम्बन्धविच्छेदको प्रकिया पूरा गर्न, छोराछोरीको हकदाबी गर्न, मानापाथी भराउन, बिमाबाट क्षतिपूर्ति पाउन, टाट पल्टेको घोषणा गर्न, इच्छापत्रलाई सदर गराउन। कुनै ख्रिष्टियनले यस्ता मामिलाहरू सकेसम्म शिष्टतापूर्वक सुल्झाउन अदालतको मदत लिन्छन् भने तिनी बाइबलको सल्लाह विपरीत चलिरहेका हुँदैनन्।
यदि कुनै ख्रिष्टियन बलात्कार, बाल दुर्व्यवहार, मारपिट, ठूलो चोरी वा हत्याजस्ता गम्भीर अपराधको उजुरी गर्न सरकारी अख्तियारवालाहरूकहाँ जान्छन् भने तिनी बाइबलको सल्लाह विपरीत चलिरहेका हुँदैनन्।
a ईसापूर्व ४५५ देखि ईसापूर्व १ सम्म ४५४ वर्ष हुन्छ। ईसापूर्व १ देखि इस्वी संवत् १ सम्म एक वर्ष हुन्छ (शून्य वर्ष थिएन)। इस्वी संवत् १ देखि इस्वी संवत् २९ सम्म २८ वर्ष हुन्छ। यी वर्षहरूलाई जोड्यौँ भने जम्मा ४८३ वर्ष हुन्छ।