सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख्रीष्टको उपस्थितिको दौडान विस्तृत गतिविधिहरू

ख्रीष्टको उपस्थितिको दौडान विस्तृत गतिविधिहरू

ख्रीष्टको उपस्थितिको दौडान विस्तृत गतिविधिहरू

“तब राजाले आफ्ना दाहिने हातपट्टिकाहरूलाई भन्‍नेछन्‌, ‘आओ ए मेरा पिताका धन्यका हो, जो राज्य जगतको उत्पत्तिदेखि तिमीहरूका निम्ति तयार गरिएको छ, त्यो अधिकार गर।’”—मत्ती २५:३४.

१. कुन तरिकामा येशूको पारूसिया “नूहको दिन” जस्तै भएको छ?

 ख्रीष्टको उपस्थिति—लामो समयदेखि प्रतिक्षा गरिएको घटना! “जगत्‌को अन्त”-बारे येशूले भन्‍नु भएको “नूहको दिन” जस्तै समय १९१४-मा आयो। (मत्ती २४:३, ३७) तर “विश्‍वासी र बुद्धिमान दास”-का शेष अभिषिक्‍त जनका लागि ख्रीष्टको उपस्थिति, वा पारुसिया-को अर्थ के हुनेछ? (मत्ती २४:४५) तिनीहरू ज्योति वाहकको हैसियतमा बढ्‌दै अझ सक्रिय हुनु पर्ने हो! अद्‌भुत कार्यहरू हुनै लागेका थिए! जम्मा गर्ने काम सुरु हुनै लागेको थियो जुन पहिला कहिल्यै पनि भएको थिएन।

२. मलाकी ३:१-५ को परिपूर्ति कुन चाँहि शुद्ध पार्ने काममा पूरा भयो?

यद्यपि, सर्वप्रथम यी अभिषिक्‍त मसीहीहरूलाई शुद्ध हुनु जरूरी थियो। मलाकी ३:१-५ ले भविष्यवाणी गरे जस्तै, यहोवा परमेश्‍वर र उहाँको “करारका दूत” येशू ख्रीष्ट, १९१८-को बसन्तमा आत्मिक मन्दिर जाँच गर्न आउनु भयो। “परमेश्‍वरकै परिवारबाट” न्याय सुरु हुनु पर्ने थियो। (१ पत्रुस ४:१७) मलाकी ३:३-ले भविष्यवाणी गऱ्‍यो: “चाँदी खार्ने र सफा गर्ने जस्तो गरी उनी [यहोवा] बस्नेछन्‌, र लेवीका सन्तानलाई उनले शुद्ध पार्नेछन्‌, र सुन र चाँदीझैं निर्मल पार्नेछन्‌।” यो खार्ने र शुद्ध पार्ने समय थियो।

३. आत्मिक शुद्धिकरण हुनु किन अत्यावश्‍यक थियो?

सन्‌ १९१८-मा चरमसीमामा पुगेको यस न्यायबाट पार हुँदै दास वर्गका शेष अभिषिक्‍तहरू सांसारिक र धार्मिक अशुद्धपनाबाट शुद्ध भए। यहोवाले तिनीहरूलाई किन शुद्ध पार्नु भयो? किनभने यसमा उहाँको आत्मिक मन्दिर बिथोलित थियो। येशू ख्रीष्टको प्रायश्‍चितकारी बलिदानको आधारमा यहोवालाई उपासना गर्ने यो मन्दिरजस्तो प्रबन्ध हो। आफ्नो मन्दिर शुद्ध स्थितिमा रहेको यहोवा चाहनु हुन्छ। ताकि पार्थिव आशा भएका उपासकहरूको ठूलो सङ्‌ख्‌या त्यहाँ ल्याइँदा, तिनीहरूले एउटा स्थान भेट्टाउन्‌ जहाँ परमेश्‍वरको सार्वभौमसत्ताको आदर गरिन्छ, उहाँको ईश्‍वरीय नाम पवित्रिकरण गरिन्छ, र उहाँको धार्मिक नियमहरू मानिन्छ। यसरी, तिनीहरूले यहोवाको मूल्याङ्‌कन गर्नेछन्‌ र उहाँको महान्‌ उद्देश्‍यको जानकारी दिने काममा सम्मिलित हुन्छन्‌।

थपिएका विशेषाधिकारहरू

४, ५. (क) येशू ख्रीष्टले सोध्नु भएको एउटा प्रश्‍नले दास वर्गका प्रत्येकलाई कसरी चुनौती दिन्छ? (ख) “विश्‍वासी र बुद्धिमान दास” तथा “उहाँका परिवारहरू” यी अभिव्यक्‍तिहरूलाई कुन तरिकामा बुझ्न सकिन्छ? (ग) येशूले दासलाई के काम दिनु भयो?

शुद्ध पारिएका दास वर्गले १९१९-मा बढ्‌दै जाने गतिविधिहरूको आशा गर्न सक्थे। तिनीहरूका मालिक, येशू मसीहले १९१४-मा स्वर्गीय राज्य प्राप्त गर्नु भएको थियो। जब उहाँ आफ्नो परिवारका दासहरूमा आफ्नो “परिवार”-लाई जाँच्न फर्केर आउनु हुँदा, उहाँ शाही महिमामा विभूषित हुनु हुन्थ्यो। जुन कुरा उहाँले यस पृथ्वीमा हुनु हुँदा प्राप्त गर्नु भएको थिएन। उहाँले के पाउनु भयो? के दास वर्ग आफ्नो मालिकको राज्य सम्बन्धी कामको हेरचाह गर्न व्यस्त थिए? मत्ती २४:४५-४७-मा रेकर्ड गरेअनुसार, हरेक अभिषिक्‍त चेलाले परमेश्‍वरको मसीह प्रति आफ्नो भक्‍तिलाई जाँच्न आवश्‍यक पर्ने एउटा प्रश्‍न येशूले सोध्नु भयो: “तब विश्‍वासी र बुद्धिमान दास को हो? उही हो, जसलाई उसको मालिकले ठीक ठीक समयमा खान देओस्‌ भनेर आफ्नो परिवारमाथि खटाएको हुन्छ? धन्य हो त्यो नोकर, जसलाई त्यसको मालिकले आएर त्यसै गरिरहेको भेटाउनेछ। म तिनीहरूलाई साँच्चै भन्दछु, उसले त्यसलाई आफ्ना सारा सम्पत्तिमाथि नियुक्‍त गर्नेछ।”

निस्सन्देह, यस विश्‍वासी दासबारे येशूले दिनुभएको विवरण कुनै व्यक्‍ति विशेषसङ्‌ग मिल्दैन। बरू, यसले येशूका सम्पूर्ण विश्‍वासी अभिषिक्‍त मण्डलीलाई, एउटा समूहको रूपमा वर्णन गर्दछ। परिवार चाँहि व्यक्‍तिगत तवरमा येशूका हरेक अभिषिक्‍त अनुयायीहरू हुन्‌। यी अभिषिक्‍त भएकाहरूलाई आफ्नै रगतद्वारा किन्‍न लाग्नु भएको कुरा येशूलाई थाह थियो, यसकारण उहाँले तिनीहरूलाई सामूहिक रूपमा दास भनी सुहाउँदो तरिकाले उल्लेख गर्नु भयो। तिनीहरूको विषयमा १ कोरिन्थी ७:२३ भन्छ: “दाम तिरेर तिमीहरू किनिएका हौ। मानिसहरूका दास नबन।” दास वर्गकाले आफ्नो ज्योति चम्काएर अरूलाई आकर्षित पार्ने र अरू चेलाहरू बनाउने तथा येशूका परिवारहरूलाई क्रमिक रूपले ठीक ठीक समयमा आत्मिक खाना खुवाउने आज्ञा येशूले दिनुभयो।

६. येशूको निरीक्षणको नतिजा स्वरूप दासहरू पुरस्कृत कसरी भए?

ख्रीष्टको उपस्थिति सुरु भए देखि १९१८ सम्ममा, दास वर्गले अलोकप्रियता र सतावट तथा अन्य केही गोलमालको बावजूद, परिवारलाई समय अनुरूप खाना दिन खोजी नै रहेका थिए। मालिकले आफ्नो निरीक्षण सुरु गर्नु हुँदा यसो भईरहेको भेटाउनु भयो। प्रभु येशू खुशी हुनु भयो, र १९१९-मा योग्य विश्‍वासी दास वर्ग धन्यका हुन्‌ भनी घोषणा गर्नु भयो। मालिकले जुन काम गर्न खटाउनु भएको थियो, त्यो गरेकोले दास वर्गकाहरूले सुखद पुरस्कार के पाए? एक पदोन्‍नति! हो, मालिकको राज्य सम्बन्धी कामहरू पूरा गर्न थप जिम्मेदारीहरू दिइयो। मालिक अहिले एक स्वर्गीय राजा हुनु भइसकेको हुँदा, फेरि उहाँका पार्थिव सम्पत्ति झन धेरै बहुमूल्य भएको छ।

७, ८. (क) मालिकको “सारा सम्पत्ति” के हुन्‌? (ख) यी सम्पत्तिहरूका हेर विचार गर्ने कुरामा दास वर्गबाट के कुराको माग गरिन्छ?

अतः उहाँका “सारा सम्पत्ति” के हुन्‌? यी जम्मै यस पृथ्वीमा भएका आत्मिक सम्पत्ति हुन्‌। जुन स्वर्गीय राजाको हैसियतमा ख्रीष्टको अख्तियारसित सम्बन्धित उहाँका सम्पत्ति हुन आए। यस संसारको हरेक राष्ट्रमा परमेश्‍वरको स्थापित राज्यको प्रतिनिधिहरूका रूपमा काम गर्ने महान्‌ विशेषाधिकारको साथ चेला बनाउने आज्ञा निश्‍चय नै यसमा समावेश छ।

मालिकको सम्पत्ति हेरविचार गर्ने यस प्रकारको बढौतीले दास वर्गबाट अझ धेरै समय र राज्यको काम पूरा गर्नको लागि अझ बढी ध्यान तथा यस कामको लागि बढी सुविधाहरूको वृद्धिको माग गर्छ। यो कामको अहिले अझ ठूलो कार्यक्षेत्र छ—अर्थात सम्पूर्ण आबादी पृथ्वी।

भेडाहरू जम्मा गरिंदै

९. दास वर्गका विस्तृत गतिविधिहरूको नतिजा के भएको छ?

आज्ञाकारीपूर्वक, ख्रीष्टका विश्‍वासी र बुद्धिमान दास वर्गले आफ्ना गतिविधिहरू विस्तृत पारे। यसको परिणाम? अभिषिक्‍त १,४४,०००-मा बाँकी रहेकाहरू जम्मा गरिए। त्यसपछि, प्रकाश ७:९-१७ मा रेकर्ड गरिएको यूहन्‍नाको दर्शन एक उत्साहवर्धक, हर्षदायक पार्ने वास्तविकता हुन पुग्यो। विशेषतः १९३५-देखि यस दर्शन विस्तारपूर्वक स्पष्ट हुँदै गएको देख्न पाउँदा दास वर्गले आनन्द उठाए। पृथ्वीका जम्मै ठाउँहरूबाट यहोवाको आत्मिक मन्दिर वरिपरि उहाँका लाखौं उपासकहरूको रूपमा “एक ठूलो भीड़” अहिले भेला हुन्छन्‌। यहोवाको स्वर्गदूतले यूहन्‍नालाई बताए कि यस ठूलो भीडलाई कसैले पनि गन्‍न सक्दैनन्‌। त्यसको अर्थ दास वर्गले यहोवाको आत्मिक मन्दिरमा ल्याउने व्यक्‍तिहरूको कुनै निश्‍चित सङ्‌ख्‌या छैन। मौका भएसम्म, यो जम्मा पार्ने काम भइ नै रहने छ।

१०. कुन प्रकारको मायालु गतिविधिमा आज दास बिथोलित छन्‌?

१० निरन्तर बढ्‌दै गरेका “अरू भेडाहरू”-को हेरविचार गर्ने गहन दायित्त्व दास वर्गको छ। सबै राष्ट्रबाट आएका यी भेडा खालकाहरू मालिक येशूका लागि ज्यादै प्रिय भएको कुरा तिनीहरूलाई थाहा छ। तिनीहरू वास्तवमा उहाँका बगाल हुन्‌। (यूहन्‍ना १०:१६; प्रेरित २०:२८; १ पत्रुस ५:२-४) यसकारण मालिक र भेडाहरू प्रतिको प्रेम सहित, दास वर्गले ठूलो भीडका आत्मिक आवश्‍यकता खुशीसाथ पूरा गरिरहेका छन्‌।

११-१३. दासको गतिविधि बारे त्यति बेलाका वाच टावर सोसाइटीका अध्यक्षले कस्तो प्रकारको सुहाउँदो टिप्पणी दिए?

११ हो, ज्योति फैलाउने आज्ञाको सबैभन्दा ठूलो भागमा दास वर्गले परमेश्‍वरको राज्यका यी पार्थिव प्रजाहरू जम्मा गर्ने कुरा बिथोलित छ। विस्तृत रूपमा बढ्‌दै गरेको विश्‍वासी दासहरूको यस गतिविधिहरू बारे, त्यति बेला वाच टावर सोसाइटीका अध्यक्ष, एफ डब्लू फ्रान्जले डिसेम्बर १९९२-मा आफ्नो देहान्त हुन केही अगाडि यसो भने:

१२ “मेरो जीवनका ९९ बर्षहरूको अनुभव अनुसार, यस सङ्‌गठनलाई येशू ख्रीष्टले सधैं झन-झन आश्‍चर्य लाग्दो तरिकामा प्रयोग गर्नु भएको छ। यस सङ्‌गठनलाई निर्देश दिने मानिस होइन, तर प्रभु येशू ख्रीष्ट नै हुनु पर्छ किनकि हामीले सोचेको भन्दा धेरै नै भव्य तथा उदेक लाग्दो ढङ्‌गमा यो चलेको छ। आज हामीसङ्‌ग विश्‍वभरि फैलिएको एक सङ्‌गठन छ। यसले उत्तरी गोलार्ध र दक्षिणी गोलार्ध, पूर्व र पश्‍चिममा काम गरिरहेको छ। यस असाधारण वृद्धिको लागि खाली एकजना व्यक्‍ति—परमेश्‍वरको पुत्र मात्र उत्तरदायी हुन सक्छ, जसको नियन्त्रणमा विश्‍वासी र बुद्धिमान दास वर्ग छन्‌। उहाँले आफ्नो दायित्त्वहरूलाई पूरा गरिरहनु भएको छ र हामीले देखेको यस बृहत वृद्धिको कारण पनि यही नै हो।

१३ “यो काम एकजना व्यक्‍तिले गर्दा मात्र पूरा भएको होइन। हाम्रो संगठन ईश्‍वरतान्त्रिक हो, र यो ईश्‍वरतान्त्रिक तरिकामा, ईश्‍वर-निर्देशित पद्दति अनुसार सञ्चालन हुन्छ। विश्‍वव्यापी रूपमा जे कुरा सम्पन्‍न भइरहेको छ, त्यसको लागि कुनै पनि व्यक्‍ति, वाच टावर बाइबल एण्ड ट्राक्ट सोसाइटीका संस्थापकले समेत न दावा गर्न सक्छ, न तिनलाई उत्तरदायित्व नै सुम्पन सकिन्छ। साँचै नै यो अचम्म लाग्दो छ।” दिवङ्‌गत भाई फ्रान्जको भनाइहरूलाई ठूलो भीडमा भएका सबैले सम्पूर्ण हृदयकासाथ समर्थन गर्दैनन्‌ र? अवश्‍य गर्छन्‌, विश्‍वासी दासका यी विस्तृत गतिविधिहरूका लागि यिनीहरू अति नै आभारी छन्‌।

राज्यका प्रजाहरू

१४, १५. (क) तोडाको उखानमा येशूले के उदाहरण दिनु भयो (मत्ती २५:१४-३०)? (ख) सुहाउँदो गरी, यस पछि मत्ती २५ अध्यायमा के छ?

१४ मत्ती २५ अध्यायमा, येशूले दिनु भएको भेडा र बाख्राको उदाहरणले, परमेश्‍वरको राज्यका प्रजाहरू जम्मा गर्ने यस ठूलो कार्यको वर्णन गर्छ। यस भन्दा अगाडिको तोडाको उदाहरणमा येशूसङ्‌ग उहाँको स्वर्गीय राज्यमा राज्य गर्ने आशा लिएका अभिषिक्‍त चेलाहरूले उहाँको पार्थिव सम्पत्ति बढाउने काम गरेको हुनै पर्छ भन्‍ने उदाहरण उहाँले दिनु भयो। सुहाँउदो प्रकारले, यस पछिको अर्को दृष्टान्तमा, येशूले उहाँको स्वर्गीय राज्यको प्रजा हुन चाहनेहरूले के आवश्‍यकता पूरा गरेको हुनु पर्छ, सो वर्णन गर्नु हुन्छ।

१५ मत्ती २५:३१-३३ मा उहाँको वचनलाई ध्यान दिनुहोस्‌: “तर जब मानिसको पुत्र स्वर्गदूतहरूसमेत आफ्नो महिमामा आउला, तब आफ्नो महिमाको सिंहासनमा बस्नेछ। औ उसको सामु सबै देशका मानिसहरू जम्मा हुनेछन्‌, र जसरी गोठालोले भेडालाई बाख्राबाट छुट्याउँछ, उसरीनै उसले तिनीहरू एकलाई अर्कोबाट छुट्याउनेछ। औ उसले भेड़ाहरूलाई आफ्नो दाहिने हातपट्टि, तर बाख्राहरूलाई देब्रेपट्टि राख्नेछ।”

१६. राष्ट्रहरू कसरी जम्मा गरिए र मानिसहरू कसरी छुट्याइए?

१६ येशू आफ्नो महिमामा १९१४-मा आउनु भयो। उहाँले आफ्ना दूतहरूसङ्‌ग उहाँका प्रेत शत्रुहरूमाथि हमला गर्नु भयो र तिनीहरूलाई स्वर्गबाट निकाल्नु भयो। येशू एक महिमित सिंहासनमा बसिरहनु भएकोले उहाँको उपस्थितिमा हुने न्यायदण्डको चित्रण गर्दछ, र हामीलाई यस कुराको मूल्याङ्‌कन गर्न येशूको अर्को दृष्टान्तले मदत गर्दछ। उहाँको सामू सबै राष्ट्रका मानिसहरूलाई जम्मा गराइरहनुको अर्थ लाक्षणिक ढङ्‌गमा यी राष्ट्रहरूसङ्‌ग येशूले आफ्नो सम्भाव्य बगालझैं व्यवहार गर्नु हुन्छ। यो भेडाहरू र बाख्राहरू मिलेर बनेको बगाल हो। एउटा वास्तविक बगालमा भेडालाई बाख्राहरूबाट छुट्याउन केही क्षण मात्र लाग्ला, तर पृथ्वीभरि असल र खराबबीच छान्‍न स्वतन्त्र मानिसहरूलाई छुट्याउन धेरै समय लाग्छ। किनकि यो छुट्याउने कार्य, हरेक मानिसको व्यक्‍तिगत काममा आधारित हुन्छ।

१७. आजको परिस्थिति सबै मानिसहरूको लागि गम्भीर किन छ?

१७ दृष्टान्तमा, गोठालो-राजाले भेडा खालकालाई आफ्नो दाहिने हातपट्टि र बाख्रा खालकालाई आफ्नो देब्रे हातपट्टि राख्नु हुन्छ। दाहिने हात तर्फ भएकाहरूका नतिजा अनुकूल न्याय—अर्थात अनन्त जीवन प्राप्त गर्ने हुन्छ। देब्रे हात तर्फ हुनेहरूको नतिजा चाँहि प्रतिकूल न्याय—अनन्त विनाश हुन्छ। यस परिप्रेक्षमा राजाको निर्णयका गम्भीर परिणामहरू छन्‌।

१८. राजाको अदृष्यतालाई किन कसैले बहाना बनाउन पाउँदैन?

१८ राज्य गरिरहेका मानिसको पुत्रको उपस्थिति, वा पारुसिया-मा हुने अदृश्‍यतालाई कसैले पनि बहाना बनाउन पाउँदैन। आफ्नो ज्योति चम्काउँदै धेरैभन्दा धेरै भेडा खालकाहरूले आज दास वर्गलाई साथ दिंदै संसारभरि परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्दै छन्‌। साँच्चैनै, तिनीहरूको प्रचार कार्य पृथ्वीका कुना काप्चासम्म पुगेको छ।—मत्ती २४:१४.

१९. भेडाहरू र बाखाहरूको दृष्टान्तमा भेडा वर्गको कुन चाँहि गुणहरूको चित्रण गरिएको छ?

१९ गोठालो-राजाले दास वर्गकालाई पुरस्कार स्वरूप एक आशिषित भविष्य किन दिनु हुन्छ? किनभने तिनीहरूले राज्यको सु-समाचार सुनाउने काममा सम्पूर्ण हृदयले समर्थन गरेका र उहाँका भाइहरू प्रति दया देखाएका छन्‌ जुन दयालाई येशू, आफैलाई देखाएको जस्तै महसुस गर्नु हुन्छ। यसकारण मानिसको शाही पुत्रले तिनीहरूलाई भन्‍नु हुन्छ: “आओ, ए मेरा पिताका धन्यका हो, जो राज्य जगत्‌को उत्पत्तिदेखि तिमीहरूका निम्ति तयार गरिएको छ, त्यो अधिकार गर।”—मत्ती २५:३४; २८:१९, २०.

राजालाई मदत गर्दै

२०, २१. परमेश्‍वरको राज्यको पक्षमा आफूहरू छन्‌ भन्‍ने के प्रमाण भेडाहरूले दिन्छन्‌?

२० जब राजाले यी भेडाहरूलाई परमेश्‍वरको राज्यको पार्थिव राज्य अधिकार गर भनी निमन्त्रणा दिंदा, तिनीहरूले आश्‍चर्य व्यक्‍त गर्छन्‌। तिनीहरूले उहाँलाई सोध्छन्‌: ‘हे प्रभु, कहिले हामीले तपाईंलाई यी सब थोक गऱ्‍यौं?’ उहाँ जवाफ दिनु हुन्छ: “म तिमीहरूलाई साँच्चै भन्दछु, तिमीहरूले यी मेरा भाईहरू मध्ये सबै भन्दा सानोलाई जे जति गर्‌यौ, त्यो तिमीहरूले मलाईनै गर्‌यौ।” (मत्ती २५:४०) येशू आफू पुनरुत्थान हुनु भएको दिन मरियम मग्दलिनी सामू देखा पर्नु भएको बेला, “मेरा भाइहरू कहाँ” जाऊ भनी उनीलाई भन्‍नु हुँदा उहाँले आफ्ना आत्मिक भाइहरूको विषयमा कुरा गर्नु भएको थियो। (यूहन्‍ना २०:१७) उहाँको अदृश्‍य उपस्थिति भएको बखत, यस पृथ्वीमा येशूका १,४४,००० शेष आत्मिक भाइहरू मध्ये थोरै मात्र जीवित छन्‌।

२१ येशू र्स्वगमा अदृश्‍य हुनु हुन्छ, यसकारण भेडा खालका व्यक्‍तिहरूले येशूको लागि यी प्रिय कामहरू अप्रत्यक्ष रूपमा गर्छन्‌। तिनीहरूले आफ्नो विश्‍वासको आँखाहरूले मात्र उहाँलाई उहाँको सिंहासनमा विराजमान भएको देख्छन्‌। तिनीहरूले उहाँसित स्वर्गमा राज्य गर्ने उहाँका आत्मिक भाइहरूलाई गरेका मदतको येशू मूल्याङ्‌कन गर्नु हुन्छ। उहाँका भाइहरूलाई जे जति गरे त्यो उहाँ आफैलाई नै व्यक्‍तिगत तवरमा गरेको जस्तै उहाँ ठान्‍नु हुन्छ। यी भेडा खालकाहरूले येशूका भाइहरू प्रति असल कार्य राजीखुशीका साथ गर्छन्‌ किनकि उनीहरू यसका योग्य छन्‌ भन्‍ने कुरा तिनीहरूलाई थाह छ। येशूका आत्मिक भाइहरू परमेश्‍वरको राज्यका राजदूतहरू हुन्‌ र यसको मूल्याङ्‌कन तिनीहरूले गर्छन्‌। र तिनीहरू त्यस राज्यको पक्षमा उनिहरूसङ्‌गसङ्‌गै छन्‌ भन्‍ने ठोस प्रमाण दिन चाहन्छन्‌।

२२. भेडा वर्गहरू कसरी पुरस्कृत भए? (प्रकाश ७:१४-१७ तुलना गर्नु होस्‌।

२२ यी भेडा खालका वर्ग उहाँको पुत्रको उपस्थितिमा देखा पर्छन्‌ भन्‍ने कुरा यहोवाले पहिला नै देखि सक्नु भएको थियो। र तिनीहरूको लागि पनि एक उदेकलाग्दो पुरस्कार उहाँले साँचेर राख्नु भएको छ! परमेश्‍वरको राजा, येशू ख्रीष्टको हजार बर्षे राज्यको बेला यसै पृथ्वीमा ठूलो भीडले शान्तिको आशिष प्राप्त गर्ने छन्‌।

२३. कुन कुन तरिकाहरूमा भेडाहरूले जानाजानी राजाको भाइहरूलाई मदत गरिरहेका छन्‌?

२३ येशूको भेडा र बाख्राहरूका उखान सहित ख्रीष्टको उपस्थितिको समयमा प्रयोग हुने बाइबलका भविष्यवाणीहरूलाई जब हामी ध्यान दिन्छौं, तब हामी के थाह पाउँछौं? यहीः राजाको एकजना भाइलाई थाहै नपाइ वा अकस्मात्‌ असल गर्दैमा एक जना व्यक्‍ति परमेश्‍वर र उहाँको राजाको सामू धार्मिक स्तर भएको एउटा भेडा हुन सक्दैन। राज्य गरिरहनु भएका राजालाई आफ्नो वास्तविक आँखाले देख्न नसके तापनि यी भेडा वर्गकाहरू आफूले के गर्दैछन्‌, सो तिनीहरूलाई थाह छ। राजाका भाइलाई भौतिक तरिकामा मात्र नभइ आत्मिक तरिकामा पनि मदत गर्न यिनीहरू प्रयत्न गर्छन्‌। कसरी? परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्छन्‌ तथा ख्रीष्टको चेलाहरू बनाउनका लागि बाइबल अध्यनहरू सञ्चालन गरेर तिनीहरूलाई मदत गर्छन्‌। यसरी, आज परमेश्‍वरको राज्यका ४० लाखभन्दा बढी ज्योति वाहक उद्‌घोषकहरू छन्‌।

विस्तृत गतिविधिहरू

२४. कुन चाँहि मायालु श्रमहरूले आज दास वर्गकालाई पृथ्वीका सबै भन्दा आनन्दित व्यक्‍तिहरू बनाएका छन्‌?

२४ विश्‍वासी दासहरूका असल कार्यहरू मध्ये केहीलाई एक एक गरेर विचार गरौं। पहिलो, मालिकका सम्पूर्ण सम्पत्तिमाथि—अर्थात पृथ्वीमा भएका उहाँका राज्य सम्बन्धी कामहरूमाथि दास वर्ग नियुक्‍त भएको छ—र यी सम्पत्तिहरू लगातार बढ्‌दै गइरहेका छन्‌। दोश्रो, यस वर्गले अभिषिक्‍त परिवारलाई मात्र नभइ बढी रहेका अरू भेडाहरूका ठूलो भीडलाई पनि आत्मिक खाना खुवाइ रहेका छन्‌। तेश्रो, दास वर्गले राज्य ज्योति फैलाउनमा अगुवाइ लिंदै छन्‌। चौथो, यिनीहरूको बढ्‌दो बृहत्‌ गतिविधि ठूलो भीडका अरू भेडाहरू जम्मा गर्दै तिनीहरूलाई यहोवाको आत्मिक मन्दिरमा ल्याउँदै गर्नु हो। पाँचौ, भेडा खालकाहरूका सम्पूर्ण हृदयको समर्थनका साथ, यस दास वर्गले संसार भरिका शाखा सङ्‌गठनहरूका साथै संयुक्‍त राज्यमा भएको मुख्य कार्यालयमा विस्तृत सुविधाहरू उपलब्ध गरिएका छन्‌। यस्ता मायालु श्रमहरूले आज दास वर्गकालाई पृथ्वीमा सबै भन्दा आनन्दित मानिसहरूले बनाएका छन्‌, र उनीहरूले अरू लाखौं व्यक्‍तिहरूलाई आनन्दित बनाएका छन्‌। यी सबैले यहोवा परमेश्‍वर र येशू ख्रीष्टलाई धन्यवाद दिन्छन्‌, जसले विश्‍वासी दासको बढ्‌दो गतिविधिहरूमा निर्देश दिनु भएको थियो!

२५. दास वर्गकालाई भेडाहरूले कसरी र कुन प्रत्याशा सहित निरन्तर समर्थन गर्न सक्छन्‌?

२५ परमेश्‍वरले नियुक्‍त गर्नु भएको कार्यहरूमा दास वर्गले झन बढी मिहेनतपूर्वक काम गरिरहेका छन्‌। “महा संकष्ट” आरम्भ हुन अघिको समय करिब बितिनै सक्यो! ​(मत्ती २४:२१) परमेश्‍वरका यी भेडाहरूले उहाँको ​गोठालो-राजाको कृपादृष्टिपूर्ण दाहिने हात तर्फ रहनु अतिनै जरूरी छ! यसकारण, हामीहरू सबैले जोसिलो भइ निरन्तर विश्‍वासी र बुद्धिमान दासलाई समर्थन गरौं। यसो गरेर मात्रै कुनै दिन चाँडै नै सबै भेडा खालकाहरूले यी आनन्दमयी शब्दहरू सुन्‍न सक्नेछन्‌: “आओ, ए मेरा पिताका धन्यका हो, जो राज्य जगत्‌को उत्पत्तिदेखि तिमीहरूका निम्ति तयार गरिएको छ, त्यो अधिकार गर।” (w93 5/1)

के तपाईं जवाफ दिन सक्नु हुन्छ?

राजाको राज्यारोहण पछि कुन चाँहि प्रारम्भिक न्याय सुरु भयो?

मत्ती २४:४५-४७ आधुनिक दिनमा कसरी पूरा भएको छ?

विस्तृत गतिविधिहरूको सर्न्दभमा दास वर्ग र ठूलो भीड कुन गतिविधिहरूका लागि अति नै कृतज्ञ छन्‌?

पारूसिया-को समयमा मत्ती २५:३४-४० कसरी पूरा हुन्छ?

[अध्ययनका लागि प्रश्‍नहरू]