ख्रीष्टको उपस्थितिमा प्रकाश पार्नु
ख्रीष्टको उपस्थितिमा प्रकाश पार्नु
“तर जब मानिसको पुत्र . . . आफ्नो महिमामा आउला, तब . . . उसले तिनीहरू एकलाई अर्कोबाट छुट्याउनेछ।”—मत्ती २५:३१, ३२.
१. मसीहीजगतका पादरीले मत्ती २४:३-का शब्दहरूलाई कसरी व्याख्या गरेका छन्?
येशूको मृत्यु हुनु भन्दा तीन दिन अगाडि, उहाँका चेलाहरू मध्ये चार जनाले उहाँ नजिकै आएर गम्भीरतापूर्वक सोधे: “हामीलाई भन्नुहोस्, यी कुराहरू कहिले हुनेछन्, र तपाईंको आगमन [युनानीमा, पारुसिया], र जगत्को अन्तको चिन्ह के हुनेछन्?” मत्ती २४:३-मा (किङ्ग जेम्स् भर्सन) येशूलाई सोधिएका यी शब्दहरूको अर्थ उहाँ सबै मानिसजातिले देख्ने गरी फेरि शरीरमा आउनु हुनेछ भनी मसीही जगत्का पादरी तथा लेखकहरूले शताब्दीऔं सम्म व्याख्या गरे। यसर्थ, तिनीहरूले येशूको पुनरागमन ठूलो प्रदर्शन र दृष्य रौनक साथ हुनेछ भनेर सिकाएका छन्। तिनीहरूले यसलाई ख्रीष्टको दोश्रो आगमनको रूपमा देखाउँछन्। तर के तिनीहरूका अड्कलहरू सही छन् त?
२, ३. (क) स्टडिज इन द स्क्रिप्चर्स, भाग २-ले “पुनरागमन” तथा “उपस्थिति” बीच के भिन्नता देखाएको छ? (ख) ख्रीष्टको पारुसिया-को अर्थ सम्बन्धमा यहोवाका जनहरूले के बुझे?
२ उन्नाइसौं शताब्दीका ज्योति वाहकहरूको रूपमा यहोवाका अभिषिक्त जनहरूले १८८९ सम्ममा ख्रीष्टको पुनरागमनको सम्बन्धमा सही कुराहरू थाह पाइ सकेका थिए। स्टडिज इन द स्क्रिप्चर्स, भाग २-का १५८ देखि १६१ पन्नाहरूमा वाच टावर बाइबल एण्ड ट्राक्ट सोसाइटीका पहिलो अध्यक्ष चार्ल्स टी० रसलले लेखे: “पारुसिया-को . . . अर्थ उपस्थिति हो र त्यसलाई साधारण अंग्रेजी बाइबलहरूमा जस्तै आगमन भनी कहिल्यै अनुवाद गर्नु हुँदैन। . . . ‘इम्फाटिक डाइग्लोट,’ नयाँ नियमको अति नै बहुमूल्य अनुवादले पारुसिया-लाई ठीकसँग उपस्थिति भनेर अनुवाद गरेको छ . . . , यहाँ यसलाई पुनरागमन, मानो आउँदै गरेको नभई, उपस्थिति भनेर अनुवाद गरिएको छ। किनभने आइपुग्नु भइसकेपछि येशू भन्नु हुन्छ, ‘जस्तो नूहको दिनमा भएथियो त्यस्तैगरी मानिसको पुत्रको पारुसिया [उपस्थिति] पनि हुनेछ।’ ध्यान दिनु होस्, यहाँ नूहको आगमन र हाम्रा प्रभुको आगमन बीच तुलना गरेको होइन। . . . अतः यहाँ तुलना ‘जलप्रलय अगाडि’-का मानिसहरू बीच नूहको उपस्थितिको समय र आफ्नो दोस्रो आगमनको दौडान, संसारमा ख्रीष्टको उपस्थितिको समय बीच हो। यो आगमन प्रभुको [यहोवा] दिनको भयंकर विपत्ति अर्थात् ‘आगोको अगाडि’ हुनेछ”।—मत्ती २४:३७.
३ यसकारण १९-औं शताब्दीका यहोवाका मानिसहरूले ख्रीष्टको पारुसिया एक अदृश्य रूपमा हुनेछ भन्ने कुरा सही ढंगमा बुझे। यसको साथै अन्य जातिहरूको समय १९१४-को वसन्त ऋतुमा समाप्त हुनेछ भन्ने कुरा पनि बुझ्न सके। आध्यात्मिक ज्योति बढ्दै जाँदा, त्यही साल १९१४-मा येशू ख्रीष्ट स्वर्गमा राजाको हैसियतले सिंहासनमा बस्नु भयो भनेर पनि तिनीहरूले पछि गएर बुझ्न सके।—हितोपदेश ४:१८; दानिएल ७:१३, १४; लूका २१:२४; प्रकाश ११:१५.
“हाम्रा प्रभुको उपस्थिति”
४. “हाम्रा प्रभु येशू ख्रीष्टको उपस्थिति”-ले के लाई देखाउँछ?
४ त्यसो भए हाम्रो समयमा, “हाम्रा प्रभु येशू ख्रीष्टको [उपस्थिति न्यु व०]” भन्ने बाइबलको वाक्यांशको अर्थ के हो? (१ थिस्सलोनिकी ५:२३) एकजना अख्तियारवालाले यसरी टिप्पणी दिए कि यो शब्द “उपस्थिति,” पारुसिया “एक उच्च ओहोदाको व्यक्तिले गर्ने भ्रमण विशेष गरी राजाहरू र सम्राटहरूले एउटा प्रान्तमा भ्रमण गरिरहेको बेलामा चलाइने औपचारीक शब्द हुन पुग्यो।” यसकारण यो अभिव्यक्तिले स्वर्गमा उहाँको राज्यारोहण पछि राजाको हैसियतमा येशू ख्रीष्टको शाही उपस्थिति अर्थात १९१४ देखि र त्यसपछिको समयलाई देखाउँछ। ‘आफ्ना शत्रुहरूको बीचमा शासन’ गर्न उहाँ अदृश्य रूपमा उपस्थित हुनुहुन्छ र यो भविष्यसूचक आज्ञालाई पूरा गर्न उहाँ सक्रियताको साथ राजालेझैं शासन गर्दै हुनु हुन्छ। (भजनसंग्रह ११०:२) लगभग ७९ बर्षहरू देखि पृथ्वीका मानिसहरूले ख्रीष्टको अदृष्य शाही उपस्थितिको असरहरू अनुभव गरिरहेका छन्।
५. यस पत्रिकाका तीन वटा लेखहरूमा पारुसिया-को समयावधिमा भएका कुन कुराहरूको विषयमा छलफल गरिनेछ?
५ यस समयावधिमा ख्रीष्टको राज्य उपलब्धीहरूको जोडदार प्रमाणहरूलाई हामी तीन भागहरू भएका यी लेखहरूमा पुनरावलोकन गर्नेछौं। सर्वप्रथम, अहिले घटिसकेका वा अझै पनि घट्दै गरेका घटनाहरूका विषयमा बाइबलले गरेका भविष्यवाणीहरू हामी प्रस्तुत गर्नेछौं। दोश्रो येशूले आफ्नो शाही उपस्थितिको समयभरि प्रयोग गरिरहनु भएको विश्वासी र बुद्धिमान दास वर्गले पूरा गरिरहेका महान् कार्यहरूको हामी वर्णन गर्नेछौं। (मत्ती २४:४५-४७) तेश्रो लेखले ठूलो अन्त, “महा संकष्ट”-को समयावधिबारे वर्णन गर्नेछ। त्यस समयमा येशू, यहोवाले नियुक्त गर्नु भएको न्यायकर्ताको रूपमा अधर्मी मानिसहरूलाई नाश गर्न र धर्मीहरूलाई छुटाउन आउनु हुन्छ। (मत्ती २४:२१, २९-३१) यस विनाशको समयलाई प्रेरित पावलले यसरी वर्णन गरे: “तिमी कष्ट पाउनेहरूलाई र हामीलाई पनि आरामी दिनलाई उहाँको शक्तिशाली स्वर्गदूतहरूसँग प्रभु येशू स्वर्गबाट बल्दो आगोमा प्रकाश हुँदा, परमेश्वरलाई नचिन्नेहरूलाई, हाम्रा प्रभु येशूको सुसमाचार नमान्नेहरूलाई बदला दिंदा।”—२ थिस्सलोनिकी १:७, ८.
चिन्ह
६. मत्ती २४ र २५ अध्यायमा कुन संयुक्त चिन्हको वर्णन गरिएको छ?
६ उन्नाइस सय वर्ष अगाडि, येशूका ज्योति वाहक चेलाहरूले राज्य शक्तिमा उहाँको भावी उपस्थितिको चिन्ह वा प्रमाण मागे। मत्ती २४ र २५ अध्यायहरूमा रेकर्ड गरिएको उहाँको जवाफले अहिले अन्तरराष्ट्रिय तवरमा पूरा भइरहेको घटनाहरूका एउटा संयुक्त चिन्ह दियो। अहिले पूरा भइरहेको यस चिन्हले क्लेश र महान् जाँचको समयलाई संकेत गर्छ। येशूले चेतावनी दिनु भयो: “होशियार रहो, कसैले तिमीहरूलाई भ्रममा नपारोस्। किनभने धेरै जना मेरो नाउँमा ‘म ख्रीष्ट हुँ’ भन्दै आउनेछन्, र धेरैलाई भ्रममा पार्नेछन्। औ तिमीहरूले लड़ाइँ, र लड़ाइँका हल्ला सुन्नेछौ। हेर, न घबराओ, किनकि यी हुनु आवश्यकनै छन्, तर अन्त ता त्यतिनैखेरि हुँदैन।”—मत्ती २४:४-६.
७. सन् १९१४ देखि कुन कुन चिन्हहरू पूरा भइ रहेको हामीले देखेका छौं?
७ अभूतपूर्व परिमाणमा युद्धहरू हुनेछन् भनी येशूले अझै भविष्यवाणी गर्नु भयो। यसको पूर्तिमा एउटा युद्ध १९१४ देखि १९१८ सम्म र दोश्रो चाँहि १९३९ देखि १९४५ सम्म भएका थिए जसलाई विश्व युद्धहरू भनी छुट्याइएको छ। यसको अलावा, उहाँले एक पछि अर्को ठाउँमा अनिकाल तथा भैंचालो हुनेछ भन्नु भयो। साँचो मसीहीहरूलाई नराम्रोसँग सताइनेछ। यस भविष्यवाणी अनुरूप, परमेश्वरको राज्यको सु-समाचार “सारा संसारमा सब जातिहरूलाई साक्षीको निम्ति” प्रचार गर्दा बितेका आठ दशकहरू देखि आधुनिक ज्योति वाहकहरू अर्थात यहोवाका साक्षीहरूले सतावट भोगिरहेका छन्। (मत्ती २४:७-१४) यी चिन्हहरू पूरा भइरहेका छन् भनेर प्रत्येक सालको यरबुक अफ जेहोवाज् विट्नसेस-ले थप प्रमाणहरू दिन्छ।
८, ९. (क) येशूको राजकीय उपस्थितिमा के कुरा विथोलित छ? (ख) झूठा ख्रीष्टको सन्दर्भमा येशूले गर्नु भएको भविष्यवाणीले उहाँको उपस्थितिको तरिका र ठाउँको विषयमा के सङ्केत गर्छ?
८ येशूको राज्यसत्ता, सम्पूर्ण पृथ्वीमा आउने हुँदा, साँचो उपासना सबै महादेशहरूमा फैलिंदैछ। उहाँको राजकीय उपस्थिति (पारुसिया) विश्व निरिक्षणको समय हो। (१ पत्रुस २:१२) तर येशूलाई सम्पर्क गर्न त्यस्तो कुनै मुख्य शहर वा केन्द्र छ? यसको जवाफमा येशूले उहाँको उपस्थितिको प्रतिक्षामा झूठा ख्रीष्टहरू निस्कने छन् भनी भविष्यवाणी गर्नुभयो। उहाँले चेताउनु भयो: “तिनीहरूले तिमीहरूलाई ‘हेर उनी वनमा छन्,’ भनी भन्छन् भने निस्केर नजाओ ‘हेर उनी भित्रका कोठाहरूमा छन्,’ भने पनि नपत्याओ। किनकि जसरी बिजुली पूर्वबाट चम्कँदा पश्चिममा देखिन्छ, उसरीनै मानिसको पुत्रको आगमन पनि हुनेछ।”—मत्ती २४:२४, २६, २७.
९ आफ्नो उपस्थिति साँच्चै नै सुरु भएपछि “मानिसको पुत्र” येशू कहाँ हुनु हुनेछ भन्ने कुरा पृथ्वी भएका अरु कसैलाई भन्दा उहाँ आफैलाई राम्ररी थाहा थियो। उहाँले आफूलाई यता उता वा पृथ्वीको कुनै खास ठाउँमा अवस्थित गर्नु हुन्न। मसीहलाई खोज्नेहरूले सरकारी अधिकारीहरूको आँखा छलेर उहाँसँग सल्लाह लिन सक्न उहाँ कुनै दुर्गम क्षेत्रमा वा “उजाड़स्थान”-मा देखा पर्नु हुने छैन, उहाँ त्यस्तो स्थानमा देखा पर्नु हुने छैन जहाँ उहाँको नेतृत्वमा, राजनैतिक उथल पुथल गर्न र उहाँलाई संसारको मसीही शासकको रूपमा थापना गर्न अनुयायीहरूलाई प्रशिक्षण दिन सकिन्छ। यसको अलावा, आफैलाई एकजना प्रतिज्ञात मसीह अभिषिक्त गर्दै यस संसारका सरकारहरूलाई पल्टाउन, कसैले नदेख्ने र थाहा नपाउने गरी आफ्नो चम्चाहरूसित गुप्त योजना बनाउन र षडयन्त्र रच्न केही विशेष व्यक्तिहरूलाई मात्र थाहा हुने गरी उहाँ आफै कुनै “भित्रका कोठाहरूमा” लुक्नु हुनेछैन। उहाँले त्यस्तो कदापि गर्नु हुनेछैन।
१०. विश्वव्यापी तवरमा बाइबलका सत्यहरू कसरी चम्किरहेका छन्?
१० यसको विपरीत, आफ्नो शाही उपस्थितिको सुरुमा येशू राजा भएर आउनु भएकोमा लुकाउनु पर्ने कुनै कुरा हुने छैन। येशूले बताउनु भए जस्तै, विश्वव्यापी ढंगमा बाइबलका सत्यका विजुलीहरू पूर्व देखि पश्चिम सम्म चम्किरहेको छ। साँचै नै, आधुनिक ज्योति वाहकको हैसियतमा यहोवाका साक्षीहरू “पृथ्वीको पल्लो छेउसम्म [यहोवाको] उद्धार पुगोस् भनी अन्यजातिहरूकहाँ एउटा ज्योति” साबित भएका छन्।—यशैया ४९:६.
स्वर्गदूतीय गतिविधि
११. (क) राज्य ज्योतिलाई फैलाउन स्वर्गदूतीय फौज कुन तरिकामा प्रयोग भएका छन्? (ख) गहूँ वर्गका सदस्यहरू कहाँ र कुन समुहमा जम्मा गरिएका छन्?
११ येशूको उपस्थितिसँग सम्बन्धित अरू पदहरूले उहाँ स्वर्गदूतहरूको साथमा, वा तिनीहरूको फौजसित ‘आउँदै गरेको’ हुनु हुन्छ भनी वर्णन गर्छ। (मत्ती १६:२७; २४:३१) गहूँ र सामाको उखानमा येशूले “खेत संसार हो” र “फसलको समय चाहिं जगत्को अन्त हो। औ खेतालाहरू स्वर्गदूतहरू हुन्” भन्नु भयो। यसो भए तापनि, यसको अर्थ उहाँ राज्य शक्तिमा र महिमामा आफ्नो उपस्थितिको दौडान पार्थिव कार्यमा उहाँले स्वर्गदूतीय समाचार वाहकहरूलाई मात्र प्रयोग गर्नु हुने होइन। पहिलो विश्व युद्धले गर्दा अलपत्र परेका, आत्माले अभिशिक्त जनहरूको गहुँ वर्गकालाई येशूको निर्देशमा स्वर्गदूतहरूले १९१९ देखि जम्मा गर्न सुरु गर्न थाले। यिनीहरू राजाको नाममा अरू थप गतिविधिका लागि तयार गरिए। (मत्ती १३:३८-४३) अरू हजारौ मानिसहरूले १९२० ताका परमेश्वरको स्थापित राज्यको पक्षमा खडा भए र परमेश्वरको आत्माले अभिषिक्त भए। यी अभिषिक्त जनहरू मूल शेष जनहरूमा प्रभावशाली ढगंले थपिए। सामूहिक ढंगले आज हाम्रो दिनमा यिनीहरू मिलेर विश्वासी र बुद्धिमान दास वर्ग बनेको छ।
१२. शुद्ध पार्ने कुन काममा स्वर्गदूतहरूले भाग लिएका छन्, र पृथ्वीमा यसको नतिजा के भयो?
१२ येशूको १९१४-मा राज्यारोहण भए पछि उहाँको उपस्थितिको दौडान स्वर्गदूतीय सहभगिताको अर्को उदाहरण प्रकाश १२:७-९-मा यसरी रेकर्ड गरेको छ: “माइकल र तिनका दूतहरू त्यस अजिङ्गरजस्तै पशुसगँ लड़ाइँ गर्न गए, र अजिङ्गरजस्तै पशु र त्यसका दूतहरूले युद्ध गरे। औ तिनीहरूले जित्नसकेनन्, नता तिनीहरूका निम्ति स्वर्गमा फेरि कुनै ठाउँ रह्यो। अनि त्यो अजिङ्गरजस्तै पशु तल फ्याँकियो त्यो वृद्ध साँप, दियाबल र शैतान भनिने सारा संसारलाई ठग्ने, पृथ्वीतलमा फ्याँकियो र त्यसका दूतहरू त्यसका साथसाथै फ्याँकिए।” यसर्थ, माथि स्वर्ग सफा पारिसकिएको छ। खालि यहोवाको नाउँको पवित्रिकरणका लागि राज्यका पार्थिव क्षेत्र सम्पूर्ण तवरले शुद्ध पार्न बाँकि छ। यो बर्ष, १९९३-मा पनि यो ईश्वरीय चेतावनी प्रयोग भइरहेछ: “पृथ्वीलाई धिक्कार छ . . . किनभने आफ्नो अल्प समय थाह पाएर शैतान ठूलो क्रोधसँग तिमीहरूकहाँ तल गएको छ।”—प्रकाश १२:१२.
स्वर्गीय पुनरूत्थान
१३, १४. (क) सन् १९१८ देखि यता शास्त्रले देखाएको कुन कुरा पूरा हुँदै आइ रहेको छ? (ख) आज शेष अभिषिक्त जनहरूको विषयमा पावल र यूहन्नाले के कुरा स्पष्ट पारे?
१३ ख्रीष्टको उपस्थितिमा हुने अर्को उदेकलाग्दो कुरा स्वर्गीय पुनरूत्थानको सुरुआत हो। आफ्नो चिहानहरूमा चिर निन्द्रामा परेका ती अभिषिक्त मसीहीहरू पहिला जिउँदो पारिनेछन् र ख्रीष्ट येशूसङ्गै आत्मिक राज्यमा बाँच्ने छन् भन्ने कुरालाई प्रेरित पावलले औंल्याए। यसको सुरुआत १९१८ देखि हुन थालिएको छ भनेर देखाउन बर्षौं देखि प्रमाण प्रस्तुत गरिएको छ। पावल लेख्छ: “ख्रीष्टमा पनि सबै जीवित हुनेछन्। तर हरेक आफ्नो आफ्नै फल अनुसार—ख्रीष्ट पहिलो फल, त्यसपछि उहाँका [उपस्थितिमा न्यु व०] [पारुसिया] ख्रीष्टकाहरू जति।” (१ कोरिन्थी १५:२२, २३) ख्रीष्टको उपस्थितिमा अभिषिक्तहरूको पुनरुत्थानलाई १ थिस्सलोनिकी ४:१५-१७-मा यसरी पक्का गरिएको छ: “किनकि प्रभुको वचनद्वारा तिमीहरूलाई हामी यो भन्दछौं, कि हामी जो जीवित छौं र प्रभुको [उपस्थितिसम्म न्यु व०] बाँचिरहन्छौं, कुनै किसिमले पनि मरेकाहरूलाई उछिन्नेछैनौं। . . . ख्रीष्टमा मर्नेहरूचाँहि पहिले बिउँतनेछन्। तब हामी जिउँदा र बाँचिरहेकाहरू पनि प्रभुलाई आकाशमा भेट्नलाई तिनीहरूका साथसाथै बादलमा भेट्न जानेछौं, र यसरी हामी सधैं प्रभुकै साथमा रहनेछौं।” त्यस्ता १,४४,००० जना अभिषिक्तहरू छन् जो ख्रीष्टका हुन् र जसले अन्तोतगत्वा यो अद्भुत इनाम प्राप्त गर्छन्।—प्रकाश १४:१.
१४ पावलले देखाए जस्तै, आज जीवितै रहेका शेष अभिषिक्त जनहरू प्राचीन विश्वासी अभिषिक्त मसीही शहिदहरू तथा चेलाहरू भन्दा पहिला त्यस राज्यमा जान पाउँदैनन्। अहिले मर्ने अभिषिक्तहरूको विषयमा प्रेरित यूहन्ना यसरी बयान गर्छ: “अब उप्रान्त प्रभुमा मर्नेहरू धन्यका हुन्। आत्मा भन्नुहुन्छ, तिनीहरूले आफ्ना आफ्ना परिश्रमबाट आराम पाउनेछन्, किनकि तिनीहरूका काम तिनीहरूका पछि लाग्नेछन्।” यो तिनीहरूको पुनरूत्थान पछिको अस्तित्वमा हुनेछ। (प्रकाश १४:१३) र पावल भन्छ: “हेर, म तिमीहरूलाई एउटा रहस्य भन्दछु, ‘हामी सबै मरिजाँदैनौ, तर हामी सबैको परिवर्तन हुनेछ। एकै क्षणमा, आँखाको एक निमेषमा, तुरहीको आखिरी आवाजमा, किनभने तुरही बज्नेछ, र मरेकाहरू अविनाशी रूपमा बिउँताइनेछन्, औ हाम्रो चाँहि परिवर्त्तन हुनेछ। (१ कोरिन्थी १५:५१, ५२) कस्तो उदेकलाग्दो चमत्कार!
१५, १६. (क) लूका १९:११-१५-मा येशूले कुन दृष्तान्त दिनुभयो र किन? (ख) यो भविष्यवाणी कसरी पूरा हुँदैछ?
१५ एक पटक येशूले आफ्ना अनुयायीहरूको एउटा जमातलाई परमेश्वरको राज्यको प्रचार गरिरहनु भएको बेला, तिनीहरूलाई आफ्नो गलत विचारधारालाई सुधार गर्न मदत दिनलाई उहाँले एउटा उदाहरण प्रयोग गर्नुभयो। त्यो विवरण यस प्रकार छ: “तिनीहरूले परमेश्वरको राज्य तुरुन्तै प्रकट हुनलागेको छ भन्ने सम्झेका थिए। यसकारण उहाँले भन्नुभयो, ‘एउटा सम्पन्न मानिस आफ्नो निम्ति राजपद पाएर फर्कनलाई टाढा देशमा गए। औ तिनले आफ्ना दासहरूमध्ये दश जनालाई बोलाएर तिनीहरूलाई दश अशर्फी दिएर भने, “जब सम्म म आउन्नँ यसबाट व्यापार गर।” . . . तब राजपद पाई तिनी फर्केर आएपछि तिनीहरूले व्यापारमा कति लाभ गरे भनी बुझ्नलाई दाम पाउने ती दासहरूलाई बोलाउनलाई तिनले आज्ञा गरे।’”—लूका १९:११-१५.
१६ “टाढा देश” स्वर्ग जाने “मानिस” येशू हुनु हुन्थ्यो, त्यहाँ गएर उहाँले एउटा राज्य प्राप्त गर्नु पर्ने थियो। यो राज्य उहाँले १९१४-मा पाउनु भयो। त्यसपछि चाँडै नै, राजाको रूपमा ख्रीष्टले आफ्ना अनुयायी कहलिएकाहरूलाई सुम्पनु भएको राज्य सम्बन्धी कामहरूको हेरविचार गर्न तिनीहरूले के गरे त्यो हिसाब लिनु भयो। केही विश्वासीहरू मात्र मालिकको यो प्रशंसा प्राप्त गर्न छानिए: “स्याबास असल दास, तँ अति थोरैमा विश्वासी भइस्, तैंले दश शहरहरूमाथि अख्तियार पाउनेछस्।” (लूका १९:१७) ख्रीष्टको उपस्थितिको यो अवधिमा लगातार बढ्दै गरेको राज्य-प्रचार क्रियाकलापको साथसाथमा दुष्टको विरूद्ध परमेश्वरको न्यायको घोषणा सम्मिलित भयो। र यो कामको देख-रेख “असल दास”-लाई सुम्पिएको अधिकारमा समावेश गरियो।
विश्वव्यापी प्रचार
१७. पारुसिया-ले कुन आनन्दलाई चिन्हित गर्छ?
१७ यस पारुसिया-को दौडान अरू के हुनेछ? प्रचार कार्यमा र आउँदै गरेको महासंकष्टबाट नयाँ व्यक्तिलाई जीवितै पार हुन तयारी पार्ने यो ठूलो आनन्द मनाउने अवसर हुनेछ। शेष जनलाई मदत गर्ने यी “ठूलो भीड”-काहरू “शिफारिश-पत्र” हुन्छन्। (प्रकाश ७:९; २ कोरिन्थी ३:१-३) यस कटनीको कार्यमा हुने आनन्दलाई पावलले यसरी उल्लेख गर्छन्: “हाम्रो आशा वा आनन्द, अथवा घमण्डको मुकुट के हो? हाम्रा प्रभु येशू ख्रीष्टको [उपस्थितिमा न्यु व०] [पारुसिया] तिमीहरूनै होइनौ र?”—१ थिस्सलोनिकी २:१९.
शुद्ध र निर्दोष हुनु होस्
१८. (क) पावलको कुन चाँहि प्रार्थनाले पारुसिया-लाई संकेत गर्छ? (ख) यो समयमा हामी सबैले कस्तो प्रवृति देखाउनु पर्छ र कुन तरिकाहरूमा?
१८ ख्रीष्टको उपस्थितिमा जीवितै रहेकाहरूको निम्ति पनि पावलले प्रार्थना गरे: “औ शान्तिका परमेश्वर आफैले तिमीहरूलाई पूरा तवरले चोखो तुल्याउनुहुन्छ, र तिमीहरूका आत्मा, प्राण र शरीर हाम्रा प्रभु येशूको [उपस्थितिमा न्यु व०] अखण्डसँग निर्दोष भइ सुरक्षित रहनेछन्।” (१ थिस्सलोनिकी ५:२३) हो, हामीहरू शेष अभिषिक्त जनको वा ठूलो संख्याको अरू भेडाहरूको होस्, सहयोगी भावनाले हामीलाई वफादारीकासाथ एक आपसमा बाँध्छ ताकि यस अनुपम समयमा हामीहरू निरन्तर शुद्ध र निर्दोष हुन सकौं। त्यस्तै गरी, हामी धीरजी हुनु आवश्यक छ। याकूबले लेखे: “यसकारण हे भाइ हो, प्रभुको [उपस्थितिमा न्यु व०] [पारुसिया] धैर्य घारण गर। . . . आफ्नो हृदयलाई स्थिर गराओ, किनभने प्रभुको [उपस्थिति न्यु व०] [पारुसिया] नजिकै छ।”—याकूब ५:७, ८.
१९. पारुसिया-को सन्दर्भमा पत्रुसले के चेतावनी दिए र हामीले कस्तो जवाफ दिनु पर्छ?
१९ हामी, वर्तमान समयमा जीवित भएकाहरूका लागि पनि पत्रुस केही भन्न चाहन्थे। उहाँले हामीलाई गिल्ला गर्नेहरूबाट सतर्क रहनको लागि चेतावनी दिनु भयो। यस्ता व्यक्तिहरू आज सारा पृथ्वीमा प्रशस्त पाइन्छन्। पत्रुस भन्छ: “पहिलेनै यो जान, कि पछि-पछिका दिनहरूमा गिल्ला गर्नेहरू गिल्ला गर्दै, तिनीहरूका आफ्नै अभिलाषामा यसो भन्दै आउनेछन्, ‘उहाँको [उपस्थितिको न्यु व०] [पारुसिया] प्रतिज्ञा कहाँ गयो? किनभने पिता-पुर्खाहरू मरेका दिनदेखिनै सृष्टीको सुरुदेखि जस्तैगरी सबै कुरा चलिआएका छन्।’” (२ पत्रुस ३:३, ४) खीष्टको उपस्थितिमा गिल्ला गर्नेहरूको बिगबिगी भए तापनि, यहोवाका मानिसहरू धेरैका उद्धारका लागि निरन्तर ज्योतिझैं चम्किरहेका छन्। (w93 5/1)
पुनरावलोकनका लागि प्रश्नहरू
▫ पारुसिया-को सन्दर्भमा यहोवाका मानिसहरूले क्रमिक रूपमा कसरी ज्ञान प्राप्त गर्दै गए?
▫ मत्ती २४:४-८ कसरी पूरा हुँदैछ?
▫ सिंहासनमा विराजमान भएका ख्रीष्टलाई स्वर्गदूतहरूले कसरी सहयोग पुऱ्याइ रहेका छन्?
▫ पारुसिया-को साथसाथमा कस्ता प्रकारका उदेकलाग्दा चमत्कारहरू देखिन्छन्?
▫ यो समयावधिमा कस्तो आनन्द अनुभव गरिन्छ र यसमा कसले भाग लिन्छन्?
[अध्ययनका लागि प्रश्नहरू]