जवानहरू—तपाईंहरू कुन कुराको पछि लागिरहनु भएको छ?
जवानहरू—तपाईंहरू कुन कुराको पछि लागिरहनु भएको छ?
“जवानीको अभिलाषाहरूबाट भाग, र शुद्ध हृदयले प्रभुका नाउँ लिनेहरूका साथसाथै, धार्मिकता, विश्वास, प्रेम, र शान्तिका पछि लाग।”—२ तिमोथी २:२२.
१. हाम्रो माझमा भएका जवान व्यक्तिहरूको निम्ति हाम्रो आशा के हो?
स्वीडिश पेन्टिकोस्टल अखबार, डेगन (दिन)-ले घोषणा गऱ्यो, “प्रत्येक वर्ष अधिकतम सङ्खयामा नयाँ सदस्यहरू आउने झुन्ड यहोवाका साक्षीहरूको हो र यिनीहरूमा जवानहरूको पनि ठूलो भीड छ।” शायद तपाईं पनि यी स्वच्छ, परमेश्वरसँग डराउने जवानहरूको भीड मध्येको एकजना हुनुहुन्छ होला। तपाईंलाई बाल्यकाल देखि नै मसीही मार्गमा हुर्काइएको होला अथवा राज्यको सुसमाचार सुनेर तपाईं आफैले नै केही कदम उठाउनु भएको हुनुपर्छ। तर जे भए तापनि तपाईंलाई हाम्रो माझमा पाउँदा हामी आनन्दित छौं। र हाम्रो आशा छ कि प्रथम शताब्दीका मसीही जवानहरूले जस्तै तपाईंले पनि धार्मिकताको मार्गलाई पछ्याउनुहुनेछ। प्रेरित यूहन्नाका यी शब्दहरू तपाईंसँग मिल्न सक्छ: “तिमीहरू बलिया छौ, र परमेश्वरको वचन तिमीहरूमा रहन्छ, र तिमीहरूले त्यस दुष्टलाई जितेका छौ।”—१ यूहन्ना २:१४.
२. “बैंस”-मा हुँदा धार्मिकताको पछि लाग्न के के कारणहरूले गर्दा गाह्रो हुन सक्छ?
२ धेरै—हो, आज थुप्रै जवान मसीहीहरूले संसारका दबाबहरू सामना गरिरहेका छन्। तर त्यस्तो प्रकारको मार्ग पछ्याउन तपाईंलाई कठिन लाग्न सक्छ। तपाईं “बैंस”-मा हुँदा नयाँ र तीव्र भावनाहरूका कारण व्याकुल हुन सक्नुहुन्छ। (१ कोरिन्थी ७:३६) यसको साथसाथै तपाईंले स्कूलमा, घरमा र मण्डलीमा बढ्दो जिम्मेवारी महसुस गर्नु हुन्छ होला। त्यस बाहेक शैतान आफैबाट आउने दबाब पनि छ। सकेसम्म धेरैजनालाई बहकाउने प्रयासमा शैतानले कमजोरहरूमाथि आक्रमण गर्छ—जस्तो त्यसले अदनको बगैंचामा पनि गरेको थियो। त्यतिबेला त्यसले आफ्नो धूर्त चाललाई पाको, ज्ञानी आदममाथि प्रयोग नगरिकन उमेर र अनुभव दुवैमा कम भएको स्त्री हव्वामाथि प्रयोग गऱ्यो। (उत्पत्ति ३:१-५) शताब्दीयौं पछि, शैतानले यस्तै प्रकारको चालहरू कोरिन्थमा भर्खरै बढ्दै गरेको मसीही मण्डली माथि प्रयोग गऱ्यो। प्रेरित पावलले भने: “तर जसरी सर्पले आफ्नो छलले हव्वालाई छकायो, त्यसरी ख्रीष्टतर्फका तिमीहरूका सीधापना र पवित्रताबाट तिमीहरूका विचारहरू भ्रष्ट होलान् कि भन्ने मलाई डर लागेको छ।”—२ कोरिन्थी ११:३.
३, ४. जवानहरूलाई बहकाउन शैतानले प्रयोग गर्ने केही कुराहरु के के हुन् र यसको सम्भाव्य नतिजा के हो?
३ त्यस्तैगरी आज पनि तपाईंका मसीही मातापिताहरूले तपाईंको चिन्ता गर्नुहुन्छ होला। यसो गर्नुको कारण तपाईंको झुकाव दुष्ट छ भनेर होइन तर उनीहरूलाई अनुभवबाट थाहा छ कि शैतानका “युक्तिहरू”-को सामना गर्न जवान व्यक्तिहरू विशेषतः कमजोर हुन्छन्। (एफिसी ६:११) शैतानका पासोहरू एकदमै धूर्त देखिनुको सट्टा निकै लोभलाग्दो र चाखलाग्दो जस्तो देखा पर्छन्। टेलिभिजनले एकदमै चलाखीसित भौतिकवाद, लैङ्गिक अनैतिकता, विस्तृत हिंसा र प्रेतवादलाई मनोरञ्जनको रूपमा प्रस्तुत गर्दछ। कलिलो व्यक्तिहरूको मन ‘सच्चा, आदरणीय, चोखा, असल, मनपर्दा’ कुराहरू बाहेक अरू नै कुराहरूले भरिन सक्छन्। (फिलिप्पी ४:८) शैतानले चलाउने अर्को शक्तिशाली युक्ति साथीहरूबाट आउने दबाब हो। तिनीहरूले जस्तै जीवन बिताउन, लुगाहरू लगाउन र सिङ्गार पटार गर्न साथीहरूले तीव्र दबाब दिन सक्छन्। (१ पत्रुस ४:३, ४) अखबारका स्तम्भलेखक विलियम ब्राउनले भने: “एकजना जवान व्यक्तिको निम्ति कुनै भगवान हुन्छ भने त्यो हो अनुरूपताको भगवान। . . . किशोर-किशोरीहरू आफ्ना मित्रहरू भन्दा भिन्दै हुनु मर्नु भन्दा पनि नराम्रो भाग्य ठान्छन्।” इटालीका एकजना साक्षी केटीले भनिन्: “म एकजना यहोवाको साक्षी हुँ भनेर साथीहरूलाई भन्न मलाई लाज लाग्थ्यो। र यहोवा मसँग खुशी हुनुहुन्न भनेर थाहा भएको हुनाकारण म दुःखी र उदास थिएँ।”
४ भ्रममा नपर्नुहोस्—शैतान तपाईंको बर्बादी चाहन्छ। संसारका धेरै जवानहरूले महा संकष्टको दौडानमा आफ्नो जीवन गुमाउनेछन् किनभने तिनीहरूले आफूलाई बहकिन दिए। (इजकिएल ९:६) बाँच्ने एउटै मात्र तरिका सच्चाइलाई पछ्याउनु हो।
खराब सङ्गतदेखि जोगिनुहोस्
५, ६. (क) एफिससमा बस्दा जवान तिमोथीले कस्ता कस्ता चुनौतीहरू सामना गरे? (ख) पावलले तिमोथीलाई के सल्लाह दिए?
५ प्रेरित पावलले जवान मानिस तिमोथीलाई दिएको सल्लाहको सारांश यही नै थियो। प्रेरित पावलको मिसनरी यात्राहरूमा दश वर्षभन्दा बढी समयसम्म तिमोथी तिनीसङ्गै गएका थिए। तिमोथीले मूर्तिपूजक शहर एफिससमा सेवा गरिरहेको बेला पावल रोमी झ्यालखानामा आफ्नो मृत्यु कुरिरहेका थिए। उनको मृत्युको समय नजिकै आउँदा, पावल निश्चय नै तिमोथीको अवस्था अब के होला भनेर चिन्तित थिए। धन सम्पत्ति, अनैतिकता, विकृत मनोरञ्जनको निम्ति एफिसस प्रख्यात थियो। र तिमोथीले अब उप्रान्त आफ्नो भरोसायोग्य सल्लाहकारको सहारा पाउने थिएनन्।
६ तसर्थ पावलले आफ्नो “प्रिय बालक”-लाई लेखे: “अब ठूलो घरमा सुन र चाँदीका भाँडाहरू मात्र होइन, तर काठ र माटाका पनि हुन्छन्, औ कुनै आदर र कुनै अनादरको निम्ति हुन्छ। यसकारण यदि कुनै मानिसले यी कुराबाट आफूलाई शुद्ध राख्छ भने, त्यो सबै असल काममा तंतयार रहेको, मालिकको प्रयोगको निम्ति आदरको योग्य चोख्याइराखेको भाँडो हुनेछ। तर जवानीका अभिलाषाहरूबाट भाग, र शुद्ध हृदयले प्रभुका नाउँ लिनेहरूका साथसाथै, धार्मिकता, विश्वास, प्रेम, शान्तिका पछि लाग।”—२ तिमोथी १:२; २:२०-२२.
७. (क) पावलले चेतावनी दिएका ‘अनादरका भाँडाहरू’ के हुन्? (ख) पावलका शब्दहरूको उपयोग आज जवान व्यक्तिहरूले कसरी गर्न सक्छन्?
७ तसर्थ पावलले तिमोथीलाई सङ्गी मसीहीहरू मध्ये पनि आचरण ठीक नभएका अर्थात् ‘अनादरका भाँडाहरू’ हुन सक्छन् भनेर सतर्क गराए। यदि केही अभिषिक्त मसीहीहरूसँग सङ्गत गर्नु तिमोथीको निम्ति हानिकारक हुनसक्थ्यो भने आज हाम्रो समयमा सांसारिक व्यक्तिहरूसँग सङ्गति गर्नु एकजना जवान मसीहीको निम्ति झन् कति हानिकारक होला! (१ कोरिन्थी १५:३३) यसको अर्थ स्कूलमा आफ्नो साथीहरूलाई अमित्रैलो व्यवहार गर्नु भनेको होइन। तर यसो गर्दा कहिलेकाहीं तपाईं एकदमै एक्लो हुने भए तापनि तिनीहरूसँग बढ्तै घुलमिल हुनुदेखि सतर्क हुनुपर्छ। यो एकदमै गाह्रो हुन सक्छ। ब्राजिलकी एकजना केटीले भनिन्: “यो गाह्रो छ। मेरो स्कूलको साथीहरूले मलाई जहिलेपनि पार्टीहरूमा र मसीही जवानहरू जान नसुहाउने ठाउँमा जान निम्तो दिन्छन्। तिनीहरू भन्छन्: ‘के भनेको त्यस्तो! तिमी नजाने? तिमी त मूर्ख रहेछौ!’”
८, ९. (क) हेर्दा असलै देखिने सांसारिक व्यक्तिहरूसँग सङ्गत गर्नु एकजना मसीहीको निम्ति कसरी खतरा साबित हुन सक्छ? (ख) असल साथीहरू हामी कहाँ पाउन सक्छौं?
८ कोही कोही सांसारिक जवानहरू असल देखिन सक्छन् किनभने तिनीहरू चुरोट पिउँदैनन्, खराब बोली बोल्दैनन् अथवा लैङ्गिक अनैतिकतामा भाग लिंदैनन्। यद्यपि तिनीहरूले धार्मिकता पछ्याइरहेका छैनन् भने तिनीहरूको सांसारिक विचारहरू र मनोवृत्तिहरूले तपाईंलाई सजिलै असर गर्न सक्छ। यो बाहेक, अविश्वासीहरूसँग मिल्दोजुल्दो के नै कुरा हुन सक्छ र? (२ कोरिन्थी ६:१४-१६) तपाईंले मूल्यवान ठान्नुहुने आध्यात्मिक स्तरहरू तिनीहरूको निम्ति केवल “मूर्खता” हुन्! (१ कोरिन्थी २:१४) के तपाईंले आफ्नो सिद्धान्तहरूको सम्झौता नगरीकन तिनीहरूको मित्रता कायम गरीरहन सक्नुहुन्छ?
९ त्यसकारण खराब सङ्गतदेखि अलग्ग बस्नुहोस्। यहोवालाई साँच्चै नै प्रेम गर्ने र आध्यात्मिक कुराहरूमा मन लगाउने मसीहीहरूसँग आफ्नो सङ्गत सीमित राख्नुहोस्। नकारात्मक विचार राख्ने र आलोचना गर्ने मण्डलीमा भएका जवानहरूदेखि पनि होशियार रहनुहोस्। तपाईं आध्यात्मिकतामा बढ्दै जानुभएपछि, तपाईंलाई मनपर्ने खालको साथीहरूको छनौटमा पनि परिवर्तन हुन्छ। एकजना मसीही किशोरीले भनिन्: “मैले विभिन्न मण्डलीहरूमा नयाँ साथीहरू बनाउने गरेकी छु। यसो गर्नाले सांसारिक साथीहरू अनावश्यक रहेछन् भन्ने कुरा मैले महसुस गरेकी छु।”
गलत इच्छाहरूबाट भाग्नु
१०, ११. (क) “जवानीका अभिलाषाहरूबाट भाग” भन्नुको अर्थ के हो? (ख) “व्यभिचारबाट अलग” कसरी बस्न सकिन्छ?
१० पावलले तिमोथीलाई “जवानीका अभिलाषाहरूबाट भाग” भनेर आग्रह गरे। प्रख्यात हुने, रमाइलो गर्ने अथवा आफ्नो लैङ्गिक अभिलाषाहरू सन्तुष्ट पार्ने इच्छा तपाईं जवान हुँदा अति नै प्रबल हुन सक्छ। होशियार नभएमा यस्ता इच्छाहरूले पापतर्फ डोऱ्याउन सक्छ। तसर्थ पावलले त्यस्ता हानिकारक अभिलाषाहरूबाट भाग भनेर भने जसको अर्थ आफ्नो जीवन नै खतरामा परेको जस्तो गरी भाग्नु हो। a
११ उदाहरणको लागि, लैङ्गिक इच्छाले गर्दा धेरैजना मसीही जवानहरूको आध्यात्मिक पतन भएको छ। त्यसकारण हाम्रै हितका लागि बाइबलले हामीलाई “व्यभिचारदेखि अलग रहो” भन्दछ। (१ कोरिन्थी ६:१८) एउटा जोडीले विवाह गर्ने उद्देश्य राखेर चिनजान बढाउँदा, घुमफिर गर्दा आफू परीक्षामा पर्न सक्ने परिस्थितिहरूदेखि सतर्क हुनुपर्छ जस्तो कि कोठामा अथवा पार्क गरेर राखेको गाडीमा दुईजना मात्र एक्लै हुँदा। दुईजना घुम्नजाँदा एकजना पाको व्यक्ति सँगै लिएर जानु पुरानो फेसन जस्तो लाग्न सक्छ तर यो एउटा ठूलो सुरक्षा हुन सक्छ। मायाप्रीतिका केही शब्दहरू बोल्न र कार्यहरू गर्न सुहाउँदो भए तापनि अनैतिकतासम्म डोऱ्याउन सक्ने काम गर्न देखि जोगिनुपर्छ। (१ थिस्सलोनिकी ४:७) व्यभिचारबाट अलग रहन गलत इच्छाहरू जगाउने सिनेमाहरू र टिभी कार्यक्रम हेर्नदेखि अलग हुनुपर्छ। (याकूब १:१४, १५) यदि नचाहँदा नचाहँदै पनि अनैतिक विचारहरू तपाईंको मनमा प्रवेश गऱ्यो भने त्यो विचारलाई त्यागेर अर्कै कुरा सोच्नुहोस्। टहल्न जानुहोस्; केही कुरा पढ्नुहोस्; केही घरायसी कामहरू गर्नुहोस्। यस सन्दर्भमा खासगरि प्रार्थना एउटा शक्तिशाली मद्दत हो।—भजनसंग्रह ६२:८. b
१२. खराबीलाई घृणा गर्न कसरी सिक्न सकिन्छ? उदाहरणसहित बुझाउनुहोस्।
१२ सबैभन्दा महत्त्वपूर्ण त जे खराब छ त्यसलाई घृणा गर्न, हेला गर्न र निन्दा गर्न सिक्नुपर्छ। (भजनसंग्रह ९७:१०) तपाईंलाई सुरु-सुरुमा रमाइलो वा आनन्द लागेका कुराहरूलाई तपाईंले कसरी घृणा गर्न सक्नुहुन्छ? यसका नतिजाहरूलाई विचार गरेर! “धोकामा नपर, परमेश्वरको ठट्टा हुनेछैन, किनभने मानिसले जे रोप्तछ त्यसैको कटनी पनि गर्नेछ। किनकि जसले आफ्नै शरीरको लागि रोप्तछ, त्यसले शरीरैबाट विनाशको कटनी गर्नेछ। तर जसले आत्माको लागि रोप्तछ, आत्मैबाट अनन्त जीवनको कटनी गर्नेछ।” (गलाती ६:७, ८) कामवासनाको शिकार हुन प्रलोभित हुँदा यसो गर्नाले हुने भयानक परिणामबारे सोच्नुहोस्। यसले यहोवा परमेश्वरलाई कति दुःखी तुल्याउनेछ सोच्नुहोस्। (भजनसंग्रह ७८:४१ तुलना गर्नुहोस्।) यसको साथसाथै नचाहेको गर्भधारण अथवा एड्स जस्ता रोगहरू सर्न सक्ने सम्भावनालाई विचार गर्नुहोस्। तपाईंले भोग्ने भावनात्मक क्षति र आत्म-सम्मानको नोक्सानलाई पनि ध्यानमा राख्नुहोस्। लामो समयसम्म रहिरहने परिणामहरू पनि हुन सक्छन्। एकजना मसीही स्त्रीले मानी लिन्छन्: “मेरो पति र मैले एकअर्कालाई भेट्नु भन्दा अघि अरू व्यक्तिहरूसँग लैङ्गिक सम्बन्धहरू राखेका थियौं। अहिले हामी दुवैजना मसीही भए तापनि, बितेको जीवनमा भएको लैङ्गिक सम्बन्धहरू हाम्रो विवाहमा विवाद र ईर्ष्याको स्रोत हुन गएको छ।” यहाँ बिर्सनै नसकिने कुराहरूमध्ये एउटा त ईश्वरतान्त्रिक अवसरहरू गुमाउनु अथवा मसीही मण्डलीबाट नै बहिष्कार हुन सक्ने सम्भावनाहरू हो! (१ कोरिन्थी ५:९-१३) के कुनै पनि क्षणिक आनन्दहरू त्यति ठूलो मोलको योग्य छ र?
यहोवासँग नजिकको सम्बन्ध खोज्नु
१३, १४. (क) खराबीबाट भाग्नु मात्रै किन पर्याप्त छैन? (ख) “परमेश्वरलाई चिन्न प्रयत्न” कसरी गर्न सकिन्छ?
१३ तथापि खराबीबाट भाग्नु मात्रै पर्याप्त छैन। तिमोथीलाई “धार्मिकता, विश्वास, प्रेम, शान्तिका पछि लाग” भनेर पनि आग्रह गरिएको थियो। यसले कठिन प्रयत्न गर्नुपर्ने आवश्यकतालाई सङ्केत गर्दछ। होशे अगमवक्ताले पनि त्यस्तैगरी अविश्वासी इस्राएल राष्ट्रलाई बिन्ती गरे: “आऊ, हामी परमप्रभुतिर फर्कौं . . . हामी परमप्रभुलाई चिन्न प्रयत्न गरिरहौं।” (होशे ६:१-३) के तपाईंले आफ्नो लागि त्यस्तै लक्ष्य बनाउनु भएको छ? यसमा केवल मसीही सभाहरूमा उपस्थित हुनु र तपाईंको आमाबाबुसँग क्षेत्र सेवकाईमा जानु मात्र समावेश छैन। एकजना मसीही स्त्रीले मानी लिइन्: “मेरो आमाबाबुले मलाई सच्चाइमा हुर्काए र मैले एकदमै सानो उमेरमा बप्तिस्मा लिएँ . . . मैले सभाहरू कहिल्यै छुटाईंन र कुनै महिना पनि क्षेत्र सेवकाईमा नगईकन बिताईंन। तर मैले कहिले पनि यहोवासँग नजिकको व्यक्तिगत सम्बन्ध विकास गरिनँ।”
१४ अर्को एकजना जवानले पनि मानी लिन्छन् कि तिनले पनि यहोवालाई एकजना साथी र पिताको रूपमा चिन्न असफल भइन्। तिनले केवल उहाँ एकजना अस्पष्ट आत्मा ठानिन्। तिनी अनैतिकतामा फँसिन् र १८ वर्षको उमेरमा नै अविवाहित आमा बनिन्। त्यस्तै गल्ती नगर्नुहोस्! होशेले आग्रह गरे जस्तै “परमप्रभुलाई चिन्न प्रयत्न” गरिरहनुहोस्। प्रार्थनाद्वारा र दिनहुँ यहोवासँग हिंड्नाले हामीले उहाँलाई हाम्रो विश्वासी साथी बनाउन सक्छौं। (मीका ६:८ तुलना गर्नुहोस्; यर्मिया ३:४) यदि हामीले उहाँलाई खोज्यौं भने “उहाँ हामी हरेकबाट टाढा हुनुहुन्न।” (प्रेरित १७:२७) तसर्थ, व्यक्तिगत बाइबल अध्ययनको लागि नियमित तालिका अत्यावश्यक छ। त्यस्तो प्रकारको तालिका एकदमै कठिन अथवा जटिल हुनु आवश्यक छैन। मेलडी नाम गरेकी एकजना केटीले भनिन्, “प्रत्येक दिन म १५ मिनेट बाइबल पढ्छु।” द वाचटावर र अवेक!-को प्रत्येक अङ्कहरू पढ्न समय छुट्ट्यानुहोस्। मण्डलीका सभाहरूको निम्ति तयारी गर्नुहोस् जसले गर्दा तपाईंले “प्रेम र सुकर्ममा [एक अर्कालाई] उत्तेजित गराउन” सक्नुहुन्छ।—हिब्रू १०:२४, २५.
तपाईंको आमाबाबुको कुरालाई ध्यान दिएर सुन्नुहोस्
१५. (क) कहिलेकाहीं आमाबाबुप्रति आज्ञाकारी हुन किन गाह्रो हुन्छ? (ख) आज्ञाकारी हुनु जहिलेपनि एकजना जवानको फाइदाकै निम्ति कसरी हुन्छ?
१५ ईश्वरभीरू आमाबाबुहरू ठूलो मद्दत र समर्थनको स्रोत हुन सक्छन्। तर तपाईंले निभाउनु पर्ने भूमिकालाई पनि याद गर्नुहोस्: “प्रभुमा आफ्नो आमा-बाबुको आज्ञा पालन गर, किनभने यो उचित छ। आफ्ना बाबु र आमाको मान गर (जो प्रतिज्ञा सहितको पहिलो आज्ञा हो), र तिमीलाई भलो होस्, र पृथ्वीमा तिम्रो दिर्घायु होस्।” (एफिसी ६:१-३) यो सत्य हो कि तपाईं हुर्कंदै हुनुहुन्छ र बढी स्वतन्त्रता चाहनुहुन्छ। तपाईंलाई आफ्ना आमाबाबुको सीमितता पनि थाहा छ होला। प्रेरित पावलले मानी लिए, “हाम्रा शारीरिक बाबुहरूले तिनीहरूलाई असल लागेको कुरा मात्र गर्न सक्थे।” (हिब्रू १२:१०; द जेरूशलेम बाइबल) तरपनि, यी सबै फाइदाहरूलाई ध्यानमा राख्दा तिनीहरूप्रति आज्ञाकारी हुनाले हाम्रै फाइदा हुन्छ। तपाईंको आमाबाबुले तपाईंलाई प्रेम गर्नुहुन्छ र तपाईंलाई एकदमै राम्रोसँग चिन्नुहुन्छ। सधैं उहाँको कुरामा तपाईं सहमत नहुनु भए तापनि तपाईंको लागि असलै सोचिरहेका हुन्छन्। तपाईंलाई “प्रभुको शिक्षा र चेतावनीमा पालन पोषण गर्ने” तिनीहरूको प्रयासलाई किन प्रतिरोध गर्ने? (एफिसी ६:४) वास्तवमा, एकजना मूर्खले मात्र “बाबुको अर्तीलाई तुच्छ ठान्छ।” (हितोपदेश १५:५) एकजना बुद्धिमान जवानले आफ्नो आमाबाबुको अख्तियारलाई मानी लिन्छ र सही आदर देखाउँछ।—हितोपदेश १:८.
१६. (क) आमाबाबुहरूबाट समस्याहरू लुकाउनु जवानहरूको निम्ति किन मूर्खता हो? (ख) आमाबाबुसँगको कुराकानीमा सुधार गर्न जवानहरूले के गर्न सक्छन्?
१६ यसो गर्न आमाबाबुसित सत्य कुरा गर्न आवश्यक हुन्छ। तिनीहरूलाई आफ्ना समस्याहरूबारे थाहा दिनुपर्छ जस्तो कि सत्यबारे कुनै शङ्का उठ्दा अथवा शंकास्पद आचरणमा फँस्दा। (एफिसी ४:२५) त्यस्तो मन खल्बलाउने परिस्थितिहरू आमाबाबुहरूबाट लुकाउँदा अझ बढी समस्या मात्र खडा हुन्छ। (भजनसंग्रह २६:४) हो, यो कुरा मानिलिनु पर्छ कि कोही कोही आमाबाबुले कुराकानी गर्ने कुनै प्रयास नै गर्दैन। एकजना जवान केटीले गुनासो गरिन्: “मेरी आमा मसँग बसेर कहिल्यै कुरा गर्नुहुन्न। मलाई कस्तो लागिरहेछ त्यो भन्न मसँग कहिल्यै आँट हुँदैन किनभने उहाँले आलोचना गर्नुहोला कि भनेर मलाई डर लाग्छ।” यदि तपाईं पनि त्यस्तै अवस्थामा हुनुहुन्छ भने तपाईंलाई कस्तो लागिरहेछ सो आमाबाबुलाई भन्न एउटा उपयुक्त समय छान्नुहोस्। हितोपदेश २३:२६-ले आग्रह गर्दछ, “हे मेरो छोरो, मेरा कुरा ध्यानसित सुन।” समस्याहरू गम्भीर हुनु अघि नै तपाईंका समस्याहरूबारे उहाँहरूसँग नियमित तवरमा छलफल गर्ने प्रयास गर्नुहोस्।
धार्मिकताको पछि लागि नै रहनुहोस्!
१७, १८. धार्मिकता खोज्न एकजना जवानलाई केले मद्दत गर्नेछ?
१७ दोस्रो पत्रको अन्ततिर, पावलले तिमोथीलाई आग्रह गरे: “आफूले सिकेका र निश्चय भएका कुराहरूमा लागिरह।” (२ तिमोथी ३:१४) तपाईंले पनि त्यस्तै गर्नुपर्छ। धार्मिकताको खोजमा लाग्दा कसैले अथवा कुनै कुराले पनि तपाईंलाई बहकाउन नपाओस्। शैतानको संसार र यसका पासोहरू दुष्टताले भरिपूर्ण छन्। (भजनसंग्रह ९२:७) चाँडै नै यो र यसका सबै सहभागीहरू विनाश हुनेछन्। शैतानको जमात सँगसँगै नाश नहुनदेखी दृढ हुनुहोस्।
१८ त्यस लक्ष्यलाई मनमा राखेर, तपाईंले निरन्तर आफ्ना लक्ष्यहरू, अभिलाषाहरू र चासोहरूको जाँच गर्नुपर्छ। आफैलाई सोध्नुहोस्, ‘मेरा आमाबाबुहरू र मण्डलीका सदस्यहरूले नदेख्ने ठाउँमा पनि के म बोलीचाली र आचरणको उच्च नैतिक स्तर कायम गर्छु? म कस्तो प्रकारको साथीहरू छान्छु? के मेरा सांसारिक साथीहरूले मेरो पहिरन र सिङ्गार पटारमा प्रभुत्व जमाउँछ? आफ्नो लागि कस्तो प्रकारको लक्ष्यहरू राखेको छु? के मेरो हृदय पूर्ण समय सेवकाई गर्नुमा केन्द्रित छ या शैतानको नाश हुनै लागेको संसारका लक्ष्यहरूमा?
१९, २०. (क) यहोवाका आवश्कताहरूको कारण एकजना जवान किन व्याकुल हुनुहुँदैन? (ख) कुन प्रबन्धहरूको जवानहरूले फाइदा उठाउन सक्छन्?
१९ शायद तपाईंले आफ्नो सोचाइमा केही छाँटकाँट गर्नुपर्ने आवश्यकतालाई देख्नुहुन्छ होला। (२ कोरिन्थी १३:११) व्याकुल नुहुनुहोस्। याद गर्नुहोस्, तपाईंले गर्न सक्नु हुने भन्दा बढी यहोवाले आशा गर्नुहुन्न। अगमवक्ता मीकाले सोधे: “परमप्रभुले तँबाट के चाहनुहुन्छ? केवल यति, कि न्याय गर्नू, दया गर्नू, र तेरा परमेश्वरसित नम्र भएर हिंड्नू।” (मीका ६:८) यदि तपाईंले यहोवाले गरिदिनुभएको प्रबन्धहरूको फाइदा उठाउनु भयो भने यसो गर्न त्यत्ति गाह्रो हुनेछैन। आमाबाबुहरूसँग नजिक हुनुहोस्। मसीही मण्डलीसँग नियमित तवरमा सङ्गत गर्नुहोस्। विशेषगरी, मण्डलीका प्राचीनहरूलाई चिन्ने प्रयास गर्नुहोस्। तपाईंको कामकुराबारे तिनीहरू चिन्तित छन् र तपाईंको लागि मद्दत र सान्त्वनाको स्रोत हुन सक्छन्। (यशैया ३२:२) सबैभन्दा महत्वपूर्ण त, यहोवा परमेश्वरसित नजिकको, न्यानो सम्बन्ध विकास गर्नुहोस्। यसो गर्नुभयो भने असल कुराको पछि लाग्न बल र दृढता उहाँले प्रदान गर्नुहुनेछ!
२० कोही कोही जवानहरूले हानिकारक सङ्गीतलाई सुनेर आध्यात्मिक तवरमा बढ्ने प्रयासलाई तुच्छ ठान्छन्। यस पछिको लेखले यस विषयमा विशेष ध्यान दिनेछ। (w93 4/15)
[फुटनोटहरू]
a यहाँ “भाग” भन्ने अर्थ बुझाउन प्रयोग गरिएको युनानी शब्द मत्ती २:१३-मा पनि प्रयोग गरिएको छ जहाँ मरियम र यूसुफलाई हेरोदले योजना गरेको हत्याबाट उम्कन “मिश्र देशमा भागिहाल” भनेर भनिएको थियो।—मत्ती १०:२३ तुलना गर्नुहोस्.
b वाचटावर बाइबल एण्ड ट्र्याक्ट सोसाइटीले प्रकाशन गरेको पुस्तक क्वेशन्स् यङ्ग पीपल आस्क—आन्सर्स द्याट वर्क मा अध्याय २६ अन्तर्गत लैङ्गिक इच्छाहरूलाई नियन्त्रणमा राख्ने विषयमा मद्दतकारी सल्लाहहरू पाउनु हुनेछ।
के तपाईंलाई सम्झना छ?
▫ शैतानका “युक्तिहरू”-को सामने विशेषगरी जवानहरू किन कमजोर छन्?
▫ सांसारिक जवानहरूसँग सङ्गति किन खतरनाक हुन सक्छ?
▫ लैङ्गिक अनैतिकताबाट हामी कसरी अलग हुन सक्छौं?
▫ यहोवासँग एउटा नजिकको सम्बन्ध तपाईंले कसरी राख्न सक्नुहुन्छ?
▫ तपाईंको आमाबाबुसँग कुराकानी गर्नु किन महत्त्वपूर्ण छ?
[अध्ययनका लागि प्रश्नहरू]