“ज्योतिको सन्तानझैं हिंडडुल गर”
“ज्योतिको सन्तानझैं हिंडडुल गर”
“नयाँ मानिसलाई धारण गर, जो परमेश्वरअनुसार धार्मिकता र सत्यको पवित्रतामा सृष्टि भएको छ।”—एफिसी ४:२४.
१. यहोवाका उपासकहरू केद्वारा आशिषित भएका छन्? किन?
यहोवा “ज्योतिका पिता” हुनुहुन्छ र “उहाँमा कत्ति पनि अँध्यारो छैन।” (याकूब १:१७; १ यूहन्ना १:५) उहाँको पुत्र, येशू ख्रीष्टले आफ्नो विषयमा यसो भन्नुभयो: “म संसारको ज्योति हुँ, मपछि लाग्ने अँध्यारोमा हिंडडुल गर्नेछैन, तर त्यसले जीवनको ज्योति पाउनेछ।” (यूहन्ना ८:१२) तसर्थ यहोवाका साँचो उपासकहरू अर्थात् उहाँको पुत्रका अनुयायीहरू मानसिक, नैतिक र आध्यात्मिक ज्योतिले आशिषित छन्—र तिनीहरू “संसारमा ज्योतिहरूझैं” चम्किरहेका छन्।—फिलिप्पी २:१५.
२. परमेश्वरको मानिस र संसार बीचको कुनचाहिं भिन्नताको विषयमा अगमवाणी गरिएको थियो?
२ धेरै वर्ष अघि, अगमवक्ता यशैया यो भिन्नताबारे अगमवाणी गर्न प्रेरित भएका थिए, तिनले भने: “हेर, अँध्यारोले पृथ्वीलाई, र निष्पट्ट अँध्यारोले मानिसहरूलाई ढाक्नेछ। तर तँमाथि परमप्रभु प्रकाश हुनुहुनेछ, र उहाँको महिमा तँमाथि प्रकट हुनेछ।” वास्तवमा भन्ने हो भने परमेश्वरबाट टाढा भएको सबै मानवता “अन्धकारका सांसारिक शासकहरू”-को अधीनमा परेको छ भनेर भनिएको छ।—यशैया ६०:२; एफिसी ६:१२.
३. कुन कुन कारणहरूले गर्दा पावलको सामयिक सल्लाहप्रति हाम्रो गहिरो चासो छ?
३ यस प्रकारका अन्धकारबाट आफ्ना सङ्गी मसीहीहरू मुक्त होउन् भनेर प्रेरित पावल निकै चिन्तित थिए। तिनीहरू ‘अन्यजातिहरू जस्तो नचलुन्’ तर “ज्योतिको सन्तानझैं हिंडडुल” गरुन् भनेर तिनले उनीहरूलाई सल्लाह दिए। (एफिसी ४:१७; ५:८) यसो गर्न तिनीहरू कसरी सफल हुनसक्छन् भनेर पनि तिनले वर्णन गरे। आज, राष्ट्रहरूलाई ढाकिराखेको निष्पट्ट अन्धकार र बादल झन् बाक्लो भएको छ। नैतिक र आध्यात्मिक पतनको दलदलमा संसार झन् तल धसेको छ। यहोवाका उपासकहरूले झन् झन् डरलाग्दो हुँदै गएको युद्ध लड्नु परेको छ। त्यसकारण, पावलले भन्न चाहेको कुरामा हामी गहिरो चासो राख्छौं।
ख्रीष्टको विषयमा सिक्नुहोस्
४. “तर ख्रीष्टलाई त तिमीहरूले यसरी सिकेनौं” भनेर पावलले भन्दा तिनको मनमा कुन कुरा थियो?
४ संसारको अशुद्धता र व्यर्थका लक्ष्यहरूलाई व्याख्या गरिसकेपछि प्रेरित पावलले आफ्नो ध्यान एफिससका सङ्गी मसीहीतर्फ लगे। (कृपया एफिसी ४:२०, २१ पढ्नुहोस्) त्यस शहरमा पावलले झन्डै तीन वर्ष जति प्रचार गर्न र शिक्षा दिन बिताइसकेका थिए र पक्कै पनि मण्डलीका थुप्रै व्यक्तिहरूसँग तिनी राम्रोसँग परिचित भइसकेको हुनुपर्छ। (प्रेरित २०:३१-३५) तसर्थ, “ख्रीष्टलाई ता तिमीहरूले यसरी सिकेनौ” भनेर भन्दा तिनी आफूलाई थाहा भएको व्यक्तिगत जानकारी व्यक्त गर्दै थिए। एफिससका मसीहीहरूलाई अनुमत र फितलो सत्य सिकाइएको थिएन जसले पद १७ देखि १९-मा तिनले वर्णन गरेका घोर दुराचारहरूलाई स्वीकृती दिन्थ्यो। येशू ख्रीष्टले उदाहरण बनेर देखाउनु भएको सत्य मसीही जीवन तिनीहरूलाई उचित ढङ्गमा र ठीकसँग सिकाइएको थियो भनेर तिनलाई थाहा थियो। त्यसैकारण त, तिनीहरू अन्यजातिहरूझैं अन्धकारमा हिंडेनन्, तिनीहरू ज्योतिको सन्तान थिए।
५. देखावटी रूपमा सच्चाईमा हुनु र हामी आफैमा सत्य हुनुमा के भिन्नता छ?
५ तसर्थ उचित ढङ्गमा ‘ख्रीष्टलाई सिक्नु’ कति महत्त्वपूर्ण छ! ख्रीष्टलाई गलत ढङ्गमा सिक्ने तरिका पनि छ र? अवश्य। यो भन्दा अघि एफिसी ४:१४-मा पावलले भाइहरूलाई यसो भनेर सावधान गराएको थियो: “हामी भ्रमको धूर्त कारवाईहरूअनुसार छलमा मानिसहरूको धूर्तताले सिद्धान्तको प्रत्येक बतासबाट ओल्ट्याङ्ग-पल्ट्याङ्ग पारिएर यताउता हुर्रिने बालकहरू अब नहोऔं।” स्पष्टतः त्यतिबेला त्यस्ता केही मानिसहरू थिए जसले ख्रीष्टको विषयमा सिकिसकेका थिए तर अझैसम्म पनि संसारको तौर-तरिका अनुसार चलिरहेका थिए र अरूहरूलाई पनि त्यस्तै गर्न फुसलाउने कोसिस गदै थिए। केही व्यक्तिहरू हामी सच्चाईमा छौं भन्ने अभिव्यक्ति चलाउँछन्। तर हामीभित्र सत्य हुनुको सट्टा हामी सच्चाईमा मात्र हुँदा हुने खतरालाई के माथि उल्लिखित कुराले देखाउँदैन र? पावलको समयमा, विस्तृत ज्ञान नभएका मानिसहरूमाथि सजिलैसँग अरूहरूले हैकम चलाउँथे र आज पनि हामी त्यस्तै भएको पाउँछौं। यो कुरादेखि बच्न एफिसीका मसीहीहरू ‘ख्रीष्टलाई सुनेको र येशूमा भएको सत्यअनुसार उहाँमा सिकेको’ हुनु आवश्यक थियो भनेर पावलले भने।—एफिसी ४:२१.
६. ख्रीष्टद्वारा हामी कसरी सिक्न, सुन्न र सिकाइएको हुन सक्छौं?
६ पावलले चलाएका “सिक्नु,” “सुन्नु,” र “सिकेको” जस्ता अभिव्यक्तिहरूले, मानो स्कूलमाझैं अध्ययन गर्ने र निर्देशन लिने तरिकालाई सङ्केत गर्छ। निस्सन्देह आज स्वयं येशूद्वारा हामी सुन्नु, सिक्नु वा सिकाइएको हुनु सक्दैनौं। तर आफ्नो “विश्वासी र बुद्धिमान दास”-द्वारा उहाँले विश्वव्यापी बाइबल शिक्षण अभियान सञ्चालन गरिरहनु भएको छ। (मत्ती २४:४५-४७; २८:१९, २०) दास वर्गद्वारा प्रबन्ध गरिएको आध्यात्मिक आहारलाई व्यक्तिगत ढङ्गमा होस् वा मण्डलीमा मेहनतपूर्वक अध्ययन गरेर, मनन गरेर र आफूले सिकेका कुराहरूलाई प्रयोगमा ल्याएर हामी ‘ख्रीष्टलाई सिक्न’ सक्छौं। तसर्थ “उहाँलाई सुनेको र येशूमा भएको सत्यअनुसार उहाँमा सिकेको” छौं भनेर सत्यतापूर्वक भन्न सक्न आउनुहोस् हामी सम्पूर्ण प्रबन्धहरूको पूरा फाइदा उठाउन नभुलौं।
७. “येशूमा भएको सत्य अनुसार” भन्ने पावलका शब्दहरूमा कुन सार्थकता देख्न सकिन्छ?
७ चाखलाग्दो कुरा, एफिसी ४:२१-मा सिक्ने प्रक्रियालाई जोड दिइसकेपछि पावलले यसो भनेर कुरा थपे: “येशूमा भएको सत्यअनुसार।” आफ्नो लेखहरूमा पावलले व्यक्तिगत नाउँ येशूलाई कमै चलाए भनेर बाइबलका केही टिप्पणीकारहरूले ध्यानमा ल्याएका छन्। निस्सन्देह एफिसीहरूलाई लेखेको पत्रमा पनि त्यसको प्रयोग यही एउटा ठाउँमा मात्र गरिएको छ। यसमा कुनै विशेष महत्त्व छ कि? एउटा मानवको रूपमा येशूले बसाल्नुभएको उदाहरणतर्फ शायद पावल ध्यान आकर्षित गर्दै थिए होला। याद गर्नुहोस् एकपटक येशू आफैले आफ्नो विषयमा यसो भन्नुभएको थियो: “बाटो, सत्य र जीवन मैं हुँ।” (यूहन्ना १४:६; कलस्सी २:३) “सत्य . . . मैं हुँ” येशूले भन्नुभयो किनभने उहाँले सत्य बोल्नु र सिकाउनु मात्र भएन तर त्यसअनुसार बाँच्नुभयो र त्यसलाई साकार रूप दिनुभयो। हो, साँचो मसीही धर्म एउटा विचार मात्र होइन, यो एउटा जीवन पद्धति हो। ‘ख्रीष्टलाई सिक्ने’ कुरामा सत्यअनुसार जीवन बिताउन उहाँको अनुकरण गर्न सिक्नु पनि समावेश छ। के तपाईं आफ्नो जीवनलाई येशूको जस्तै बनाउनु हुन्छ? के प्रत्येक दिन तपाईंले उहाँको पाइलालाई ध्यानपूर्वक पछ्याइरहनु भएको छ? यसो गरेमा मात्र हामी ज्योतिको सन्तानझैं हिडिरहनसक्छौं।
‘पुरानो मानिसलाई त्याग’
८. एफिसी ४:२२, २४-मा पावलले कुन उदाहरण चलाए र त्यो किन उपयुक्त छ?
८ कसरी हामीले सफलतापूर्वक ‘ख्रीष्टलाई सिक्न’ र ज्योतिको सन्तानझैं हिडडुल गर्न सक्छौं? यसकालागि तीनवटा भिन्न कदमहरू हामीले पछ्याउनु पर्छ भनेर एफिसी ४:२२-२४ मा पावलले भने। यी मध्ये पहिलो हो: “तिमीहरूले अघिअघिको आचरणअनुसारको पुरानो मानिसलाई जो छलको लालसाअनुसार भ्रष्ट भएर जानेहुन्छ, त्याग।” (एफिसी ४:२२) “त्याग” (“फुकाल” किङ्गडम इन्टरलिनियर) र “धारण गर” (पद २४) भन्ने अभिव्यक्तिले हाम्रो मनमा लुगा लगाउने र फुकाल्ने दृश्य आउनसक्छ। यो एउटा लाक्षणिक शब्द हो जसको निकै पटक पावलले प्रयोग गरे र त्यो प्रभावकारी पनि छ (रोमी १३:१२, १४; एफिसी ६:११-१७; कलस्सी ३:८-१२; १ थिस्सलोनिकी ५:८) खाना खाँदा वा अरू बेला हाम्रो लुगा मैलो हुँदा वा दाग लाग्दा, मौका पाउने बित्तिकै तुरून्त हामी त्यसलाई फेर्छौं। हाम्रो आध्यात्मिक अवस्थामा लागेका कुनै पनि मैलाबारे के हामी त्यतिकै चिन्तित हुनुपर्दैन र?
९. एकजना व्यक्तिले कसरी पुरानो मनुष्यत्वलाई त्याग्न सक्छ?
९ त्यसोभए, एकजना व्यक्तिले कसरी आफ्नो पुरानो व्यक्तित्वलाई त्याग्छ? “त्याग” भन्ने क्रिया मूल भाषामा अनिर्दिष्ट कालमा छ। यसले एकपटक वा सधैंको निम्ति एकपटक मात्र गरिने कामलाई देखाउँछ। यसले यो देखाउँछ “पुरानो मानिस”-लाई “अघि-अघिको आचरण समेत” एउटा निश्चित र निर्णायक कदमकासाथ राम्ररी र सम्पूर्ण रूपले फ्याँक्नुपर्छ। यो कुनै त्यस्तो कुरा होइन जसको विषयमा हामी सफलतापूर्वक सोचविचार गर्न वा हिचकिचाउन समेत सक्छौं। किन होइन?
१०. पुरानो मनुष्यत्वलाई त्याग्न एकजना व्यक्तिले किन दृढ निर्णय र सङ्कल्प लिनुपर्छ?
१० “भ्रष्ट भएर जाने” भन्ने अभिव्यक्तिले यो देखाउँछ कि “पुरानो मानिस” नैतिक पतनको अटुट र क्रमिक मार्गमा झन् झन् खराब हुँदै गइरहेको छ। वास्तवमा भन्ने हो भने, आध्यात्मिक ज्योतिलाई इन्कार गरेको हुनाले, पूरै मानवजाति झन् झन् तल गिर्दै गएको छ। “छलको लालसा”-को परिणामस्वरूप यस्तो भएको हो भनेर पावलले भने। शरीरका लालसाहरू छली छन् किनभने हेर्दा त तिनीहरू अहानिकारक नै देखिन्छन् तर अन्ततोगत्वा ती विनाशकारी हुन्छन्। (हिब्रू ३:१३) सजग नभएमा, अन्त अपमान र मृत्यु हुनसक्छ। (रोमी ६:२१; ८:१३) त्यसैकारण त पुरानो मानिसलाई मैला लुगालाई फुकालेझैं दृढ निश्चयका साथ पूर्णतः हटाउनुपर्छ।
“मनको” नयाँ “आत्मा”
११. आध्यात्मिक नवीकरण कहाँ देखि सुरु हुनुपर्छ?
११ हिलोमा चिप्लेर उठेको मान्छेले आफ्नो मैलो लुगा फुकाल्ने मात्र होइन तर अर्को सफा लुगा लगाउन अघि राम्रोसँग नुहाउनु पनि पर्छ। ठीक त्यही कुरालाई नै आध्यात्मिक ज्योति प्राप्त गर्ने दोस्रो कदम हो भनी पावलले वर्णन गरे, तिनले भने: “तिमीहरूको मनलाई क्रियाशील गर्ने शक्तिमा तिमीहरू नयाँ हुनुपर्छ।” (एफिसी ४:२३ न्यु व०) जस्तो तिनले अगाडि पद १७ र १८-मा बताएका थिए कि राष्ट्रहरू “मनको व्यर्थतामा” चलिरहेका छन् र तिनीहरूको “समझ अँध्यारो” भएको छ। तार्किक रूपमा भन्ने हो भने, बोध र समझको केन्द्रिय स्थल मनदेखि नै नवीकरण सुरु हुनुपर्छ। यो कसरी गर्न सकिन्छ? हाम्रो मनलाई क्रियाशील गर्ने शक्तिलाई नयाँ बनाएर हामी त्यसो गर्नसक्छौं भनेर पावलले वर्णन गरे। के हो त्यो शक्ति?
१२. मनलाई क्रियाशील गर्ने शक्ति के हो?
१२ पावलले भनेको त्यो शक्ति जसले हाम्रो मनलाई क्रियाशील गराउँछ, के त्यो पवित्र आत्मा हो? होइन। “तिमीहरूको मनलाई क्रियाशील गर्ने शक्ति” भन्ने वाक्यांशको अक्षरस अर्थ “तिमीहरूको मनको आत्मा” हुन्छ। परमेश्वरको पवित्र आत्मालाई बाइबलमा कतैपनि एउटा मानिसको वा मानिसको एउटा भाग हो भनेर भनिएको छैन। “आत्मा” भन्ने शब्दको अर्थ मूलतः “श्वास” हुन्छ तर “मानिसलाई कुनै एक निश्चित मनोवृत्ति, स्वभाव वा भावना प्रकट गराउन वा कुनै एउटा निश्चित काम गर्न वा मार्ग पछ्याउन लगाउने शक्तिलाई उल्लेख गर्न” पनि बाइबलमा त्यसको प्रयोग गरिएको छ। (इन्साइट अन द स्क्रिपचर्स, खण्ड २, पृष्ठ १०२६) अतः “मनको आत्मा” हाम्रो मन, हाम्रो आफ्नै मानसिक प्रवृति वा झुकावलाई कार्यान्वयन वा क्रियाशील गराउने शक्ति हो।
१३. हाम्रो मानसिक झुकावलाई किन नयाँ बनाउनुपर्छ?
१३ असिद्ध मनको स्वाभाविक प्रवृति वा झुकाव भौतिक, शारीरिक र सांसारिक वस्तुहरूतर्फ ढल्केको हुन्छ। (उपदेशक ७:२०; १ कोरिन्थी २:१४; कलस्सी १:२१; २:१८) एकजना व्यक्तिले आफ्नो पुरानो मनुष्यत्वलाई त्यसका खराब कामकुराहरू समेत त्यागे तापनि आफ्नो पापपूर्ण मानसिक प्रवृत्तिलाई परिवर्तन नगरेमा, ढिलो वा चाँडो त्यसले आफूले त्यागेका कुराहरूतर्फ फेरि फर्कन उसलाई बाध्य गर्नेछ। के धेरैजनाले यस्तै महसुस गरेका छैनन् र? उदाहरणका लागि चुरोट पिउन, बढ्ता रक्सी खान वा अरू खराब कामकुराहरूलाई छाड्न प्रयास गरेकाहरूले यस्तै भएको पाएका छैनन् र? आफ्नो मनलाई क्रियाशील गर्ने शक्तिलाई तिनीहरूले नयाँ बनाउने कोसिस नगरेको भए फेरि पतन हुन देखि बच्न सम्भव थिएन भने पनि हुन्थ्यो। साँचो परिवर्तन गर्नका लागि मनको पूर्ण परिवर्तन हुनैपर्छ।—रोमी १२:२.
१४. मनलाई क्रियाशील गर्ने शक्तिलाई कसरी नयाँ बनाउन सकिन्छ?
१४ त्यसोभए कुनै एक व्यक्तिले त्यो शक्तिलाई कसरी नयाँ बनाउन सक्छ ताकि त्यसले मनलाई ठीक दिशातर्फ डोऱ्याओस्? “नयाँ होओ” भन्ने क्रिया युनानी मूलपाठमा वर्तमान कालमा छ र त्यसले कुनै काम भइरहेको कुरालाई देखाउँछ। अतः परमेश्वरको सत्य वचनलाई निरन्तर अध्ययन गर्नुपर्छ। र क्रियाशील गर्ने शक्तिलाई नयाँ पार्न सकिन्छ भन्नुको अर्थ के हो भनेर मनन गर्नुपर्छ। यसप्रकार त्यो शक्तिलाई नयाँ बनाउन सकिन्छ। हाम्रो मस्तिष्कमा विद्युतीय वा रासायनिक सङ्केतको रूपमा जानकारीहरू एक न्युरोनदेखि अर्को न्युरोनसम्म थुप्रै संयोजकहरू वा सिनाप्सिजहरू पार गर्दै आवत-जावत गर्दछन् भनेर वैज्ञानिकहरू हामीलाई भन्छन्। “आ-आफ्नो विशेष छापहरू छाड्दै सङ्केतहरू पार गर्दा, स्नायु सिनाप्समा एक प्रकारको स्मृति उत्पन्न हुन्छ” भनेर द ब्रेन भन्ने पुस्तकले बताउँछ। त्यही सङ्केत अर्को पटक फेरि आउँदा स्नायु कोषहरूले त्यसलाई चिन्दछ र तुरून्त प्रतिक्रिया देखाउँछ। समय बित्दै जाँदा त्यसले त्यस व्यक्तिमा सोच्ने एउटा नयाँ पद्धति बनाउँछ। फाइदाजनक आध्यात्मिक जानकारीहरूलाई हामीले लिइराख्यौं भने सोच्ने एउटा नयाँ पद्धति बन्छ र हाम्रो मनलाई क्रियाशील गर्ने शक्ति नयाँ हुन्छ।—फिलिप्पी ४:८.
“नयाँ मानिसलाई धारण गर”
१५. कुन अर्थमा नयाँ मनुष्यत्व नयाँ हो?
१५ अन्तमा पावल यसो भन्छ: “[तिमीहरूले] नयाँ मानिसलाई धारण गर, जो परमेश्वरअनुसार धार्मिकता र सत्यको पवित्रतामा सृष्ट भएको छ।” (एफिसी ४:२४) हो, एकजना मसीहीले एउटा नयाँ मनुष्यत्वलाई धारण गर्छ। यहाँ “नयाँ” भन्ने शब्दले कुनै काल वा समयलाई नभई गुणलाई सङ्केत गर्छ। अर्थात् त्यो सबैभन्दा नयाँ रूपान्तर भएको हुँदा नयाँ हुन गएको होइन। त्यो “परमेश्वर अनुसार” “सृष्टि भएको” एउटा एकदम नयाँ र ताजा मनुष्यत्व हो। कलस्सी ३:१०-मा पनि पावलले त्यस्तै खालको शब्द चलाएका थिए र भने कि नयाँ मनुष्यत्व “आफूलाई सृष्टि गर्नेको रूप जस्तै भएर” नयाँ बनाइएको छ। यो नयाँ मनुष्यत्व कसरी आउँछ?
१६. नयाँ मनुष्यत्व “परमेश्वरअनुसार . . . सृष्टि भएको छ” भनेर कसरी भन्न सकिन्छ?
१६ प्रथम मानव दम्पत्ती, आदम र हव्वालाई यहोवा परमेश्वरले आफ्नो स्वरूप र प्रतिरूपमा बनाउनु भएको थियो। तिनीहरूलाई नैतिक र आध्यात्मिक गुणहरू प्रदान गरिएको थियो जसले तिनीहरूलाई अन्य जनावरहरू भन्दा निकै भिन्न तुल्यायो। (उत्पत्ति १:२६, २७) तथापि, तिनीहरूले गरेको विद्रोहले सबै मानवजातिलाई पाप र असिद्धताको गहिरो खाडलमा डुबाइ दिएको भए तापनि आदमको सन्तान अर्थात हामीसँग अहिले पनि नैतिक र आध्यात्मिक गुणहरू प्रदर्शन गर्ने योग्यता छ। र परमेश्वरको इच्छा पनि ज-जसले छुटकाराको बलिदानमा विश्वास गर्छन् तिनीहरूले पुरानो मनुष्यत्वलाई त्यागोस् र “परमेश्वरको सन्तानको महिमाको स्वतन्त्रता”-को आनन्द उठाओस् भन्ने नै छ।—रोमी ६:६; ८:१९-२१; गलाती ५:१, २४.
१७. धार्मिकता र वफादारी किन नयाँ मनुष्यत्वको अतुलनिय गुणहरू हुन्?
१७ साँचो धार्मिकता र वफादारी, यी दुईवटा गुणहरूलाई पावलले नयाँ मनुष्यत्वको विशेषताको रूपमा छुट्टाएका थिए। जसले सृष्टि गर्नुभयो उहाँकै स्वरूप अनुसार नयाँ मनुष्यत्वलाई नयाँ बनाइएको छ भन्ने कुरालाई यसले अझ जोड दिन्छ। भजनसंग्रह १४५:१७-ले हामीलाई यसो भन्छ: “परमप्रभु आफ्ना सब मार्गमा धार्मिक र आफ्ना सारा व्यवहारमा अनुग्रही हुनुहुन्छ।” र प्रकाश १६:५-ले यहोवाको विषयमा यसो भन्छ: “तपाईं धर्मात्मा हुनुहुन्छ। जो हुनुहुन्छ, र जो हुनुहुन्थ्यो, हे पवित्र जन।” निस्सन्देह, उहाँको महिमालाई प्रतिबिम्बित गर्दै, हामी परमेश्वरको स्वरूपमा सृष्टि भएका हौं भन्ने वाक्य अनुरूप बाँच्ने हो भने धार्मिकता र वफादारी अत्यन्त आवश्यक गुणहरू हुन्। बप्तिस्मा दिने यूहन्नाको पिता जकरिया जस्तै हामी होऔं, आफ्ना मानिसहरूलाई “वफादारी र धार्मिकताका साथ निर्भय भएर उहाँलाई पवित्र सेवा चढाउने मौका” दिनुभएका लागि परमेश्वरको प्रशंसा गर्न पवित्र आत्माद्वारा तिनी प्रेरित भएका थिए।—लूका १:७४, ७५.
“ज्योतिको सन्तानझैं हिंडडुल गर”
१८. संसारको असली रूपलाई चिन्न पावलले हामीलाई कसरी मदत गरेको छ?
१८ एफिसी ४:१७-२४ मा भएका पावलका शब्दहरूलाई विस्तारपूर्वक छलफल गरिसकेको हुँदा, हामीसँग अब विचार गर्नुपर्ने कुराहरू धेरै छन्। पद १७ देखि १९-मा पावलले हामीलाई संसारको असली रूप चिन्न मदत गर्छन्। परमेश्वर को ज्ञानलाई तिरस्कार गरेर र आफ्नो हृदयलाई उहाँप्रति कठोर बनाएर, अहिले संसारमा भएकाहरूले आफूलाई जीवनको साँचो स्रोतदेखि अलग्याएको छ। अतः साँचो उद्देश्य वा निर्देशन नभएको हुँदा तिनीहरूले गरेका प्रयासहरू मूर्खता र व्यर्थतामा गएर अन्त हुन्छन्। नैतिक र आध्यात्मिक पतनको खाडलमा तिनीहरू झन् झन् धसिंदै गइरहेको छ। कस्तो दयनीय स्थिति? ज्योतिको सन्तानझैं हिडिरहनका लागि दृढ हुन हाम्रो लागि कति बलियो कारण!
१९. ज्योतिको सन्तानझैं हिडिरहनका लागि पावलद्वारा हामी कुन अन्तिम प्रोत्साहन पाउँछौं?
१९ त्यसपछि पद २० र २१-मा सत्यलाई मेहनतकासाथ सिक्नु पर्ने आवश्यकतामाथि पावल जोड दिन्छन् ताकि हामी सत्यसँग सम्बद्ध हुने मात्र नभइ येशूलेझैं त्यसअनुसार बाँच्ने पनि हुनसकौं। पद २२-मा पुरानो मनुष्यत्वलाई त्याग्न र नयाँ मनुष्यत्वलाई—दृढ निर्णय, सङ्कल्पका साथ धारण गर्न तिनले हामीलाई सल्लाह दिएका छन्। त्यसबीच हामीले हाम्रो मानसिक प्रवृत्तिलाई फाइदाजनक रीतिमा आध्यात्मिक दिशातर्फ डोऱ्याउनुपर्छ। सबैभन्दा मुख्य कुरा, जसै हामी ज्योतिको सन्तानझैं हिडडुल गर्दैजान्छौं, हामीले मदतका लागि यहोवातर्फ हेर्नुपर्छ। “किनभने अँध्यारोबाट ज्योति चम्कनेछ भन्ने परमेश्वरनै हुनुहुन्छ, जो येशू ख्रीष्टको मोहडामा परमेश्वरको महिमाको ज्ञानको ज्योति देखाइदिनलाई हाम्रा हृदयमा चम्कनुभयो।”—२ कोरिन्थी ४:६. (w93 3/1)
के तपाईंलाई सम्झना छ?
▫ आज हामी कसरी ‘ख्रीष्टलाई सिक्न’ सक्छौं?
▫ दृढ निर्णयका साथ पुरानो मनुष्यत्वलाई किन त्याग्नुपर्छ?
▫ हाम्रो मनलाई क्रियाशील गर्ने शक्ति के हो, र त्यसलाई कसरी नयाँ बनाइन्छ?
▫ नयाँ मनुष्यत्वका गुणहरू के के हुन्?
[अध्ययनका लागि प्रश्नहरू]