सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“धर्म-गुरुहरूलाई बोलाओस्‌”

“धर्म-गुरुहरूलाई बोलाओस्‌”

“धर्म-गुरुहरूलाई बोलाओस्‌”

“के तिमीहरूमध्ये कोही बिरामी छ? त्यसले मण्डलीको धर्म-गुरुहरूलाई बोलाओस्‌।”—याकूब ५:१४.

१, २. (क) यहोवाका दासहरू आज कस्तो कठिन परिस्थितिमा बाँचिरहेका छन्‌ र तिनीहरूले कस्तो महसुस गर्न सक्छन्‌? (ख) कस्ता प्रश्‍नहरूको जवाफ चाहिन्छ?

 अहिले “डरलाग्दो समय” छ। आजको “अन्तिम दिनमा” मानिसहरू स्वार्थी, भौतिकवादी र घमण्डी हुनाकारण प्रायजसो हलचलहरू मच्चिन्छन्‌। (२ तिमोथी ३:१-५) वर्तमान दुष्ट रीतिरिवाजमा बाँचिरहेका हामी मसीहीहरूले तीनवटा ठूला खतराहरू सामना गर्छौं। ती हुन्‌—शैतान र दियाबल, अभक्‍त मानिसहरूको संसार र हाम्रो आफ्नै वंशानुगत पापी प्रवृत्तिहरू।—रोमी ५:१२; १ पत्रुस ५:८; १ यूहन्‍ना ५:१९.

यी खतराहरूले त्रसित भएर हामी कहिलकाहीं व्याकुल पनि हुन सक्छौं। त्यसो भए विश्‍वासी भएर सहन हामीले मद्दत कहाँ पाउन सक्छौं? हाम्रो मसीही क्रियाकलापहरू र उपासनासित सम्बन्धित परीक्षाहरू सामना गर्नुपर्दा हामीले डोऱ्‍याइको निम्ति कसलाई हेर्न सक्छौं?

मद्दत उपलब्ध छ

३. सान्त्वनादायी आश्‍वासन हामी कसबाट पाउन सक्छौं र कसरी?

हाम्रो बलको स्रोत यहोवा हुनुहुन्छ भनेर थाहा पाउनाले हामी सान्त्वनादायी आश्‍वासन प्राप्त गर्न सक्छौं। (२ कोरिन्थी १:३, ४; फिलिप्पी ४:१३) ईश्‍वरीय मद्दत अनुभव गरेका भजनहार दाऊदले यसो भनेर घोषणा गरे: “आफ्नो मार्ग परमप्रभुलाई सुम्पी। उहाँमानै भरोसा राख्‌, अनि उहाँले सो पुर्‌याइदिनुहुनेछ।” “तेरो भारी परमप्रभुमा राख, र उहाँले तँलाई सह्‍माल्नुहुनेछ र उहाँले धर्मात्मालाई कहिल्यै डग्नदिनुहुनेछैन।” (भजनसंग्रह ३७:५; ५५:२२) त्यस्तो सहाराको लागि हामी कत्ति कृतज्ञ हुन सक्छौं!

४. पत्रुस र पावल दुवैले कसरी सान्त्वना दिन्छन्‌?

हामी एक्लैले मात्र परीक्षाहरू र खतराहरू सामना गरिरहेका छैनौं भन्‍ने कुरा थाहा पाउनाले पनि हामी सान्त्वना प्राप्त गर्न सक्छौं। प्रेरित पत्रुसले सङ्‌गी मसीहीहरूलाई सल्लाह दिए: “तिमीहरू आफ्नो विश्‍वासमा दह्रो भएर यस संसारमा भएका तिमीहरूका दाज्यू भाइहरूले पनि यही कष्ट भोगिरहेका छन्‌ भन्‍ने जानेर त्यसको [शैतान र दियाबल] विरोध गर।” (१ पत्रुस ५:९) निश्‍चय नै सबै मसीहीहरू विश्‍वासमा दह्रो भएर रहन चाहन्छन्‌। हो, प्रेरित पावलले जस्तै हामी पनि प्रायजसो “सबैतिरबाट मिचिएका” अनुभव गर्न सक्छौं। तरपनि उहाँ “चूर्ण पारिएका” थिएनन्‌। उहाँ जस्तै, हामी पनि अन्योलमा पर्न सक्छौं “तापनि निराश भएका छैनौं।” हामीमाथि सतावट नै आए तापनि हामी “त्यागिएका छैनौं।” हामी “पिटिएका” हौंला तर “नष्ट भएका छैनौं।” फलस्वरूप “हामी हरेस खाँदैनौं।” हामी “देखिने कुरालाई होइन, तर नदेखिने कुरालाई हेर्दैरहन्छौं।” (२ कोरिन्थी ४:८, ९, १६, १८) यो हामी कसरी गर्न सक्छौं?

५. यहोवाले प्रदान गर्नुहुने तीन प्रकारको मद्दत के हो?

“प्रार्थना सुन्‍नुहुने” यहोवाले तीन प्रकारले मद्दत दिनुहुन्छ। (भजनसंग्रह ६५:२; १ यूहन्‍ना ५:१४) प्रथमतः उहाँले आफ्नो प्रेरित वचन, बाइबलद्वारा निर्देशन दिनुहुन्छ। (भजनसंग्रह ११९:१०५; २ तिमोथी ३:१६) दोस्रो, उहाँको इच्छा गर्न पवित्र आत्माले हामीलाई बल प्रदान गर्छ। (प्रेरित ४:२९-३१ तुलना गर्नुहोस्‌।) र तेस्रो, यहोवाको पार्थिव सङ्‌गठन हामीलाई मद्दत गर्न सदा तत्पर छ। मद्दत पाउनको लागि हामीले के गर्नुपर्छ?

“मानिसहरूमा वरदान”

६. तबेरामा यहोवाले कस्तो मद्दत दिनुभयो र कसरी?

आफ्ना दासहरूलाई मद्दत दिन यहोवाको प्रेमपूर्ण चासोलाई हामी अगमवक्‍ता मोशाको समयमा भएको घटनाबाट मूल्याङ्‌कन गर्न सक्छौं। यो घटना तबेरामा घटेको थियो जसको अर्थ “बलिरहेको; प्रज्वलन; ज्वाला” हो। सिनैको यस उजाडस्थानमा गनगन गर्ने इस्राएलीहरूलाई परमेश्‍वरले आगो बर्साएर नाश गर्नुभयो। मिश्रबाट निस्केर आउँदा इस्राएलीहरूको साथमा आएको “मिश्रित दलले” परमेश्‍वरले प्रबन्ध गरिदिनुभएको आहाराप्रति असन्तुष्टि देखाएका थिए। परमेश्‍वरको क्रोधलाई देखेर र मानिसहरू तथा तिनीहरूको आवश्‍यकताहरूको जिम्मेवारी देखि व्याकुल भएर मोशाले यहोवासँग बिन्ती गरे: “म एक्लै यी मानिसहरूको भार सहन सक्‍तिनँ किनभने यो भार मलाई साह्रै चर्को छ। तपाईं मसित यस्तै व्यवहार गर्नुहुन्छ भने, र मैले तपाईंको निगाह पाएको छु भने, बिन्ती छ, बरु मलाई मारिदिनुहोस्‌, र मैले आफ्नो दुर्दशा हेर्न नपरोस्‌।” (गन्ती ११:१-१५) यहोवाले कस्तो प्रतिक्रिया व्यक्‍त गर्नुभयो? उहाँले ‘इस्राएलका सत्तरी जना बुढा प्रधानहरू’ नियुक्‍त गर्नुभयो र तिनीहरूले मोशासित प्रशासकिय काममा भाग लिन सकोस्‌ भनेर उहाँको आत्मा तिनीहरूमाथि राखिदिनुभयो। (गन्ती ११:१६, १७, २४, २५) त्यस्ता योग्य मानिसहरूलाई जिम्मेवारी सुम्पिदिनाले इस्राएलीहरू र त्यस “मिश्रित दल”-लाई मद्दत प्राप्त गर्न सजिलो भयो।—प्रस्थान १२:३८.

७, ८. (क) प्राचीन इस्राएलमा यहोवाले “मानिसहरूमा उपहार” कसरी प्रदान गर्नुभयो? (ख) भजनसंग्रह ६८:१८-मा लेखिएको कुराको पावलले प्रथम शताब्दीमा कस्तो उपयोग बताए?

इस्राएलीहरूले प्रतिज्ञा गरेको देशमा धेरै वर्ष बिताइसकेपछि, लाक्षणिक तवरमा यहोवा सिनै पर्वतमा झर्नुभयो र एउटा विशिष्ट राज्यको राजधानी यरूशलेम बनाउनुभयो जसको राजा दाऊद थिए। “सर्वशक्‍तिमान” परमेश्‍वरको महिमा गाउँदै दाऊदले चर्को स्वरमा गाए: “तपाईं उच्चमा चढ्‌नुभएको छ, तपाईंले कैदीहरूलाई कैद पार्नुभएको छ; तपाईंले मानिसहरूका बिचमा . . . उपहार लिनुभयो।” (भजनसंग्रह ६८:१४, १८) प्रतिज्ञा गरिएको देशमाथि विजय प्राप्त गर्दा कैदी बनाएर लगिएका मानिसहरू लेवीहरूलाई मद्दत दिन उपलब्ध भयो।—एज्रा ८:२०.

प्रथम शताब्दी सा० यु०-मा मसीही प्रेरित पावलले भजनहारको शब्दको भविष्यसूचक पूर्तितर्फ ध्यान केन्द्रित गरे। पावलले लेखे: “तर हामीमध्ये हरेकलाई ख्रीष्टको वरदानको नापअनुसार अनुग्रह दिइएको छ। यसैकारण उहाँ भन्‍नुहुन्छ, ‘उहाँ उक्लेर जानुहुँदा, कैदलाई कैद गरेर लानुभयो, औ मानिसहरूमा [न्यु व] वरदान दिनुभयो।’ (अब यो ‘उक्लनुभयो’ भनेको चाहिं के हो? केवल यही, कि उहाँ पृथ्वीको अझ तल्लो भागमा ओर्लनु पनि भयो? ओर्लने उहाँ नै हुनुहुन्छ, जो सबै कुरालाई भरिपूर्ण पार्नालाई सारा स्वर्गहरूभन्दा धेरैमाथि उक्लनु पनि भयो।)” (एफिसी ४:७-१०) “केवल यही” भनेको को हो? यो अरू कोही नभएर यहोवाको प्रतिनिधि, महान दाऊद र मसीही राजा येशू ख्रीष्ट हुनुहुन्छ। परमेश्‍वरले पुनरूत्थान गरेर “अति उच्च पार्नुभएको” उहाँ नै हुनुहुन्छ।—फिलिप्पी २:५-११.

९. (क) प्रथम शताब्दीमा मानिसहरूमा वरदान को को हुन्‌? (ख) आधुनिक दिनमा मानिसहरूमा वरदान को को हुन्‌?

त्यसो भए ‘मानिसहरूमा वरदान’ (अथवा “मानिसहरू”) को हुन्‌? पावल व्याख्या गर्छन्‌ कि परमेश्‍वरको प्रमुख प्रतिनिधिले “कुनैलाई प्रेरित, कुनैलाई अगमवक्‍ता, कुनैलाई प्रचारक र कुनैलाई मण्डलीको गोठालो र शिक्षक हुनालाई, सेवाको काममा र ख्रीष्टको शरीरको स्थापन्‍नमा पवित्र जनहरूको सिद्धता हुनाको निम्ति नियुक्‍त गर्नुभयो।” (एफिसी ४:११, १२) प्रेरितहरू, अगमवक्‍ताहरू, प्रचारकहरू, गोठालाहरू र शिक्षकहरू भएर सेवा गरेका ख्रीष्टका चेलाहरू सबैले त्यसो ईश्‍वरतान्त्रिक निर्देशनमा गर्थे। (लूका ६:१२-१६; प्रेरित ८:१२; ११:२७, २८; १५:२२; १ पत्रुस ५:१-३) आज हाम्रो समयमा, विश्‍वभरि भएको यहोवाका साक्षीहरूको ७०,००० भन्दा बढी मण्डलीहरूमा पवित्र आत्माले अभिषिक्‍त, आध्यात्मिकतामा निपुण प्राचीनहरू नियुक्‍त भएका छन्‌। तिनीहरू हाम्रो लागि मानिसहरूमा वरदान हुन्‌। (प्रेरित २०:२८) विश्‍वभरि राज्यको काम एकदमै तीव्र गतिमा विस्तृत भइरहेको हुँदा धेरै भाइहरूले “बिशपको काम गर्न” “इच्छा” गरिरहेका छन्‌। (१ तिमोथी ३:१) नियुक्‍त भइसकेपछि तिनीहरू पनि मानिसहरूमा वरदान हुन्छन्‌।

१०. यशैयाले वर्णन गरेको “राजकुमारहरू”-को भूमिका आज मसीही प्राचीनहरूसँग कसरी मिल्छ?

१० अगमवक्‍ता यशैयाले भविष्यवाणी गरेअनुसार राज्य शासन अन्तर्गत प्रशासकहरू अर्थात्‌ “राजकुमारहरू”-को विवरण यी मसीही प्राचीनहरूसँग मिल्दो छ। मसीही प्राचीनहरू नै मानिसहरूमा वरदान हुन्‌। प्रत्येक व्यक्‍ति “बतासबाट लुक्ने ठाउँ, र आँधी बेह्रीबाट आड़ लिने ठाउँ, सुखा पानी भएको खोला, र बिरानो भूमिमा ठूलो चटानको छायाजस्तै” हुनैपर्छ। (यशैया ३२:१, २) यसले यी नियुक्‍त व्यक्‍तिहरूले दिने मायालु रेखदेख कत्तिको भरोसायोग्य हुनुपर्ने हो प्रष्ट पार्दछ। यसबाट पूर्णतया तपाईंले कसरी लाभ उठाउन सक्नुहुन्छ?

अग्रसर भएर

११. आध्यात्मिक तवरमा कमजोर हुँदा, हामीले कसरी मद्दत पाउन सक्छौं?

११ डुब्न लागेको मानिस स्वाभाविकतः मद्दतको निम्ति कराउँछ। त्यतिबेला कुनै हिचकिचाहट हुँदैन। जीवन खतरामा हुँदा मद्दत माग्न कसैलाई उस्काउनु पर्दैन। के दाऊदले बारम्बार मद्दतको निम्ति यहोवासँग पुकारा गरेन र? (भजनसंग्रह ३:४; ४:१; ५:१-३; १७:१, ६; ३४:६, १७-१९; ३९:१२) आध्यात्मिक तवरमा एकदमै कमजोर हुँदा हामी शायद अति नै निराश हुन सक्छौं। त्यतिबेला हामी पनि प्रार्थनामा यहोवातर्फ फर्कन्छौं र उहाँको पवित्र आत्माको निम्ति बिन्ती गर्छौं। (भजनसंग्रह ५५:२२; फिलिप्पी ४:६, ७) शास्त्रवचनमा हामी सान्त्वना खोज्छौं। (रोमी १५:४) व्यावहारिक सल्लाहको लागि हामी वाच टावर सोसाइटीले प्रकाशन गरिदिएको मसीही प्रकाशनहरूको परामर्श लिन्छौं। यसले प्रायजसो हामीलाई समस्याहरूको समाधान गर्न मद्दत दिन्छ। यदि हामी कठिनाइहरूले गर्दा व्याकुल भयौं भने हामीले मण्डलीमा नियुक्‍त भएका प्राचीनहरूसँग सल्लाह माग्न सक्छौं। वास्तवमा, कहिलेकाहीं “धर्म गुरूहरूलाई” सल्लाह माग्नै पर्ने अवस्थाहरू पनि हुनसक्छ। मसीही प्राचीनहरूसँग किन सल्लाह माग्ने? आध्यात्मिक डोऱ्‍याइको आवश्‍यकता परेकाहरूलाई तिनीहरूले कसरी मद्दत दिन सक्छन्‌?

१२-१४. (क) बिरामी हुँदा अपनाउनु पर्ने बुद्धिमत्तापूर्ण मार्ग के हो? (ख) याकूब ५:१४ अनुसार “बिरामी” मसीहीहरूलाई के गर्न सल्लाह दिइएको छ? (ग) याकूब ५:१४-मा कस्तो प्रकारको बिरामी बारे सङ्‌केत गरिएको छ र तपाईं किन यस्तो उत्तर दिनुहुन्छ?

१२ यदि हामी बिरामी भयौं भने हाम्रो शरीरको निको पार्ने शक्‍तिले काम गरोस्‌ भनेर हामी आराम लिन्छौं। यदि हाम्रो रोग रहिनै रह्‌यो भने हामी निपुण चिकित्सकको मद्दत लिन्छौं। हामी आध्यात्मिक तवरमा कमजोर भयौं भने के हामीले पनि त्यस्तै गर्नु खाँचो पर्दैन र?

१३ यस सन्दर्भमा चेला याकूबले के भन्छ याद गर्नुहोस्‌। तिनले भन्छ: “के तिमीहरूमध्ये कोही बिरामी छ? त्यसले मण्डलीका धर्म गुरूहरूलाई बोलाओस्‌, र तिनीहरूले प्रभुको नाउँमा त्यसलाई तेल घसेर त्यसको विषयमा प्रार्थना गरुन्‌।” (याकूब ५:१४) यहाँ याकूबले भनेको बिमारी कस्तो प्रकारको हो? बाइबलका केही टिकाकारहरू यो शारीरिक बिमारी हो भन्‍ने निष्कर्षमा पुगेका छन्‌ किनभने त्यतिबेला शिरमा तेल लगाउनु एउटा साधारण उपचार गर्ने तरिका थियो भनेर तिनीहरू तर्क गर्छन्‌। (लूका १०:३४) याकूबको मनमा कुनै चमत्कारपूर्ण ढङ्‌गमा निको पार्ने उपाय थियो कि भन्‍ने अनुमान पनि तिनीहरू लगाउँछन्‌। तथापि यहाँ भनिएको कुराको प्रसंगले केलाई सङ्‌केत गर्छ?

१४ ‘आनन्दित आत्माहरू’-लाई ‘दुःख पाइरहेको आत्मा’ सँग तुलना गरिएको छ। यसले देखाउँछ कि यहाँ याकूबले कुरा गरिरहेको आध्यात्मिक बिमारीको विषयमा हो। (याकूब ५:१३) डाक्टरहरू अथवा चमत्कारपूर्ण ढङ्‌गमा निको पार्ने शक्‍ति भएका व्यक्‍तिहरूलाई होइन तर “मण्डलीको धर्म गुरूहरूलाई [प्राचीनहरू, किङ्‌ग जेम्स भर्सन]” बोलाउनु पर्थ्यो। तिनीहरूले के गर्नु पर्थ्यो? याकूबले भने: “त्यसको विषयमा प्रार्थना गरून्‌ र विश्‍वासको प्रार्थनाले बिरामीलाई बचाउनेछ।” (याकूब ५:१४, १५; भजनसंग्रह ११९:९-१६ तुलना गर्नुहोस्‌।) याकूबले यहाँ भनेको आध्यात्मिक बिमारी नै हो भनेर पक्का गर्ने तथ्य यो हो कि उनले निको हुने आशामा पापहरू स्वीकार गर्नु भनेर प्रोत्साहन गरे। उनी लेख्छन्‌: “यसकारण तिमीहरू एउटाले अर्कोसँग आफ्नो आफ्नो पाप स्वीकार गर, र तिमीहरू निको होओ भनी एउटाले अर्काको निम्ति प्रार्थना गर।” आध्यात्मिक बिमारीको कारण गम्भीर पाप हो भने त्यतिबेला मात्र निको हुन सक्छ जब उसले परमेश्‍वरको वचनमा आधारित सल्लाहलाई मान्छ, पश्‍चात्ताप गर्छ र पापी मार्गलाई त्याग्छ।—याकूब ५:१६; प्रेरित ३:१९.

१५. याकूब ५:१३, १४-मा कस्तो कदम उठाउन सल्लाह दिइन्छ?

१५ याकूबले दिएको सल्लाहमा याद गर्नु पर्ने कुरा अरू पनि छ। खराब काम गर्नाले दुःख पाउँदा एकजना मसीही “प्रार्थनामा लागिरहनुपर्छ।” यदि ऊ आनन्दित छ भने उसले “भजनहरू गाओस्‌।” दुःख भोगिरहेपनि अथवा आनन्दित भएपनि, दुवै अवस्थामा केही कदमहरू उठाउनु जरूरी हुन्छ। एक तर्फ प्रार्थनाको खाँचो पर्दछ, अर्कोतर्फ आनन्दका अभिव्यक्‍तिहरू पनि चाहिन्छ। त्यसो भए याकूबले: “के तिमीहरूमध्ये कोही बिरामी छ?” भन्दा हामीले के आशा गर्नुपर्छ? तिनी फेरि सकारात्मक कदमहरू उठाउन सल्लाह दिन्छ। हो, अग्रसर हुँदै उसले त्यसो गर्नुपर्छ। “त्यसले मण्डलीको धर्म गुरूहरूलाई बोलाओस्‌।”—भजनसंग्रह ५०:१५; एफिसी ५:१९; कलस्सी ३:१६.

“धर्म गुरूहरूले” कसरी मद्दत दिन्छन्‌

१६, १७. बाइबलका सिद्धान्तहरू अपनाउन प्राचीन मानिसहरूले कसरी मद्दत दिन सक्छन्‌?

१६ हाम्रो व्यक्‍तिगत परिस्थितिहरूमा बाइबलका सिद्धान्तहरू कसरी अपनाउने भनेर बुझ्न कहिलेकाहीं गाह्रो हुन सक्छ। यतिबेला प्राचीन मसीहीहरू मद्दतको ठूलो स्रोत साबित हुन सक्छ। उदाहरणको लागि, तिनीहरूले आध्यात्मिक तवरमा बिरामी भएकाहरूको लागि प्रार्थना गरिदिन्छन्‌। परमेश्‍वरको वचनमा पाइने सल्लाहहरूलाई निपुणतापूर्वक चलाएर तिनीहरूले ‘यहोवाको नाउँमा शिरमा तेल लगाइदिन्छन्‌।’ हामी आध्यात्मिक तवरमा निको हुन प्राचीनहरूले ठूलो योगदान पुऱ्‍याउन सक्छन्‌। (भजनसंग्रह १४१:५) प्रायजसो, हामीलाई केवल हामी ठीकसँग सोचि रहेका छौं भनेर यकिन गरिदिए पुग्छ। एकजना अनुभवी मसीही प्राचीनसँग कुरा गर्नाले जे ठीक छ त्यही गर्ने हाम्रो दृढतालाई मजबुत पार्छ।—हितोपदेश २७:१७.

१७ भेट गर्न जाँदा मसीही प्राचीनहरूले “हरेस खानेलाई दिलाशा” दिन आवश्‍यक छ। तिनीहरूले “कमजोरीहरूलाई मद्दत गर्नेछन्‌ [र] सबैसँग सहनशीलता देखाउनेछन्‌।” (१ थिस्सलोनिकी ५:१४) “धर्मगुरूहरू” र “कमजोरी” बीच यस्तो नजीकको, सहानुभूतिशील सम्बन्ध भयो भने आध्यात्मिक तवरमा पूर्णतया निको हुने सम्भावना बढी हुन्छ।

व्यक्‍तिगत जिम्मेवारी र प्रार्थना

१८, १९. गलाती ६:२, ५ अनुसार मसीही प्राचीनहरूले कस्तो भूमिका निभाउँछन्‌?

१८ मसीही प्राचीनहरूले परमेश्‍वरको बगालको जिम्मेवारी बोक्नु पर्छ। तिनीहरू मद्दत दिन तैयार हुनुपर्छ। उदाहरणको लागि, पावलले भने: “हे भाइ हो, यदि मानिस कुनै अपराधमा पक्राउ पर्‌यो भने पनि तिमी आत्मिकीहरूले चाहिं नम्रताको आत्माले आफै परीक्षामा नपरौं भनी आफ्नो पनि विचार राख्तै यस्ताको सुधार गर। तिमीहरू एउटाले अर्कोको बोझ [न्यु व] उठाऊ, र यसरी ख्रीष्टको व्यवस्था पूरा गर।” प्रेरितले यो पनि लेखे: “हरेक मानिसले आफ्नै निज भार उठाउनुपर्छ।”—गलाती ६:१, २, ५.

१९ हामीले एक अर्काको बोझ बोकेर पनि आफ्नो भार आफैले कसरी बोक्न सक्छौं? यसको उत्तर “बोझ” र “भार” भनेर अनुवाद गरिएका युनानी शब्दहरूको अर्थको भिन्‍नताले दिन्छ। एकदमै बोझ हुने आध्यात्मिक कठिनाइमा कुनै मसीही फस्यो भने प्राचीनहरू र अरू सङ्‌गी विश्‍वासीहरूले मद्दत दिन सक्छन्‌। यसप्रकार आफ्नो “बोझ” आफै बोक्न मद्दत दिन सक्छन्‌। तरपनि परमेश्‍वरप्रतिको जिम्मेवारीको “भार” प्रत्येकले आफै बोक्नुपर्छ। a प्राचीनहरूले प्रोत्साहन, शास्त्रीय सल्लाह र प्रार्थनाद्वारा भाइहरूको “बोझ” आनन्दपूर्वक बोकिदिन्छन्‌। यसो गरे तापनि, प्राचीनहरूले हाम्रो आफ्नो आध्यात्मिक जिम्मेवारीको “भार” बोकिदिंदैनन्‌।—रोमी १५:१.

२०. प्रार्थनालाई किन हेलचेक्राईं गर्नुहुँदैन?

२० प्रार्थना अत्यावश्‍यक छ र यसलाई हेलचेक्राईं गर्नुहुँदैन। तर आध्यात्मिक तवरमा बिरामी भएका धेरैजना मसीहीहरू प्रार्थना गर्न गाह्रो महसुस गर्छन्‌। प्राचीनहरूले आध्यात्मिक तवरमा बिरामी भएकाहरूकालागि प्रार्थना गरिदिनुको उद्देश्‍य के हो? नैराश्‍यताबाट ‘प्रभुले उसलाई उठाउनुहुनेछ’ र सत्यता र धार्मिकताको मार्ग पछ्याउन तिनलाई बल प्रदान गर्नुहुनेछ। आध्यात्मिक तवरमा बिरामी भएको मसीहीको मनोवृत्ति गलत हुन सक्छ तर कुनै गम्भीर पाप भने नगरेको हुन सक्छ। त्यसकारण याकूबले भन्छ: “यदि उसले पाप गरेको भए पनि त्यसलाई क्षमा हुनेछ।” प्राचीनहरूले साँचो हृदयले प्रार्थना गर्नुको साथसाथै शास्त्रीय सल्लाहहरू दिएमा कहिलेकाहीं आध्यात्मिक तवरमा कमजोर भएका व्यक्‍तिले आफूले गरेका पापहरू स्वीकार गर्न सक्छन्‌। उसले पश्‍चात्तापी मनोवृत्ति पनि देखाउन सक्छ। यसले गर्दा परिणामस्वरूप परमेश्‍वरले पनि क्षमा दिनुहुनेछ।—याकूब ५:१५, १६.

२१. (क) प्राचीन व्यक्‍तिहरूसँग मद्दत माग्न कोही कोही मसीही किन हिचकिचाउँछन्‌? (ख) अर्को लेखमा कुन विषयलाई विचार गरिनेछ?

२१ मसीही मण्डलीमा आइरहेका नयाँ व्यक्‍तिहरूलाई हेरविचार गर्ने चुनौती सामना गर्न सजग प्राचीनहरूले पर्याप्त रेखदेख पुऱ्‍याउनुपर्ने जिम्मेवारी छ। साँच्चै नै आजको कठिन समय सहनको लागि मानिसहरूमा वरदान यहोवाले प्रदान गरिदिनुभएको राम्रो प्रबन्ध हो। तथापि, कोही मसीहीहरू मद्दत माग्न पनि हिचकीचाउँछन्‌। तिनीहरूले यी भाइहरू अति नै व्यस्त छन्‌ अथवा समस्याहरूले गर्दा वाक्क भएका छन्‌ भनी ठान्छन्‌। यी मानिसहरू हामीलाई मद्दत दिन खुशी छन्‌ भनेर बुझ्न मूल्याङ्‌कन गर्न अर्को लेखले मद्दत दिनेछ। किनभने तिनीहरू मसीही मण्डलीमा स्वेच्छापूर्वक उपगोठालाहरू भएर सेवा गर्छन्‌। (w93 5/15)

[फुटनोट]

a फ्रिज रिनेकरले लेखेको ए लिंग्विस्टिक की टु द ग्रीक न्यु टेस्टामेन्ट-ले फोरटिʹयोन-लाई “आफैले बोक्नु पर्ने भार” भनेर परिभाषा दिएका छन्‌। अझ थप भन्छ: “यो एकजना मानिसको भारी अथवा एकजना सिपाहीको सामग्रीलाई प्रयोग गरिने सैनिक शब्द हो।”

तपाईं कसरी जवाफ दिनुहुन्छ?

▫ हामीलाई मद्दत चाहिंदा यहोवाले तीनप्रकारका कस्ता फाइदाहरू दिनुहुन्छ?

▫ आधुनिक दिनमा मानिसहरूमा वरदान को हुन्‌?

▫ हामीले धर्म गुरुहरूलाई कतिखेर बोलाउनु पर्छ?

▫ मसीही प्राचीनहरूबाट हामीले कस्तो प्रकारको मद्दतको आशा गर्न सक्छौं?

[अध्ययनका लागि प्रश्‍नहरू]