सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परमेश्‍वरको बगालको खुशीसाथ हेरचाह गर्नुहोस्‌

परमेश्‍वरको बगालको खुशीसाथ हेरचाह गर्नुहोस्‌

परमेश्‍वरको बगालको खुशीसाथ हेरचाह गर्नुहोस्‌

“तिमीहरूका जिम्मामा रहेको परमेश्‍वरको बगालको गोठालो होओ। करले होइन, तर खुशीसाथ।—१ पत्रुस ५:२.

१. मसीही प्राचीनहरूले ‘परमेश्‍वरको बगाललाई खुशीसाथ हेरचाह गर्छन्‌’ भनेर हामीले किन आशा गर्नुपर्छ?

 आफ्ना जनहरूको यहोवाले खुशीसाथ हेरचाह गर्नुहुन्छ। (भजनसंग्रह २३:१-४) “असल गोठाला,” येशू ख्रीष्टले खुशीसाथ भेडाखालका मानिसहरूका निम्ति आफ्नो सिद्ध मानव जीवन दिनुभयो। (यूहन्‍ना १०:११-१५) त्यसैकारण प्रेरित पत्रुसले मसीही प्राचीनहरूलाई ‘खुशीसाथ परमेश्‍वरको बगालको हेरचाह’ गर्न अर्ती दिए।—१ पत्रुस ५:२.

२. मसीही प्राचीनहरूले गर्ने हेरचाहको कामको सन्दर्भमा कस्ता प्रश्‍नहरूमा ध्यान दिनु उपयुक्‍त हुनेछ?

परमेश्‍वरका सेवकहरूको एउटा चिह्न इच्छुकताको भावना हो। (भजनसंग्रह ११०:३) तर अध्यक्ष अथवा उप-गोठालोमा नियुक्‍त हुनकालागि मसीही पुरुषमा इच्छुकताको भावना मात्रै भएर पुग्दैन। यस्ता गोठालाहरू हुन को योग्य हुन्छन्‌? तिनीहरूले गर्ने गोठालो काममा के के समावेश छ? यसलाई सफलतापूर्वक कसरी पूरा गर्न सकिन्छ?

घरानामाथि रेखदेख गर्ने

३. मसीही पुरुषले आफ्नो घरलाई हेरचाह गर्ने तरिकाले मण्डलीको गोठालो गर्ने काममा पनि प्रभाव पार्छ भनेर हामी किन भन्‍न सक्छौं?

विशपको काम”-मा कुनै पुरुषलाई नियुक्‍त गर्न अगाडि तिनले शास्त्रीय आवश्‍यकताहरू पूरा गरेको हुनु पर्दछ। (१ तिमोथी ३:१-७; तितस १:५-९) प्राचीनले “आफ्नो घर राम्ररी चलाउनसक्ने, आफ्ना छोरा-छोरीहरूलाई अधीनमा ल्याउन” सक्ने हुनु पर्छ भनेर प्रेरित पावलले भने। यसको एउटा राम्रो कारण पावलले भने: “यदि कुनै पुरुषले आफ्ना घरकाहरूलाई तहमा ल्याउन जान्दैनन्‌ भने तिनले परमेश्‍वरको मण्डलीको कसरी देखरेख गर्नसक्छन्‌ र?” (१ तिमोथी ३:४, ५) क्रेट टापूको मण्डलीमा पाको मानिसहरूलाई नियुक्‍त गर्दा तितसलाई “निर्दोष, एउटै स्त्रीको पति, वशमा नआउने दङ्‌गा फसादको दोष नलागेको, विश्‍वासी छोरा-छोरीहरूका बाबु” भएका व्यक्‍तिहरूलाई खोज्नु भनी भनिएको थियो। (तितस १:६) हो, मण्डलीको हेरचाह गर्ने गम्भीर जिम्मेवारीहरू बहन गर्न योग्य छ कि छैन भनेर निश्‍चित गर्न एकजना मसीहीले आफ्नो परिवारको हेरचाह कसरी गरेको छ भनेर विचार गर्न सकिन्छ।

४. नियमित बाइबल अध्ययन र प्रार्थनाको अलावा, मसीही आमा-बाबुहरूले आफ्नो परिवारप्रति कसरी प्रेम देखाउन सक्छन्‌?

आफ्ना घरानाहरूलाई सुव्यवस्थित ढङ्‌गमा हेरचाह गर्ने पुरुषहरूले परिवारसङ्‌गै बसेर नियमितरूपमा प्रार्थना र अध्ययन गर्ने मात्रै गदैनन्‌। आफ्ना प्रिय जनहरूलाई मद्दत दिन तिनीहरू सधैं तत्पर हुन्छन्‌। आमा-बाबु भएकाहरूका लागि यो काम बच्चा जन्मेको दिनदेखि सुरु हुन्छ। जति ध्यानपूर्वक तिनीहरू ईश्‍वरीय तालिकाअनुसार चल्छन्‌, त्यत्ति नै चाँडो आफ्ना बच्चाहरूले दैनिक जीवनको मसीही क्रियाकलापमा भाग लिन सक्छन्‌ भन्‍ने कुरा मसीही आमा-बाबुहरूलाई थाहा छ। यस्ता परिस्थितिहरूमा मसीही पिताले रेखदेख गर्दा तिनमा हुनुपर्ने प्राचीनको योग्यतालाई पनि प्रतिबिम्बित गर्दछ।—एफिसी ५:१५, १६; फिलिप्पी ३:१६.

५. मसीही पिताले आफ्ना छोरा-छोरीलाई “प्रभुको शिक्षा र चेतावनीमा” कसरी पालन पोषण गर्न सक्छ?

एकजना विवेकशील मसीही पिताले आफ्नो घरानालाई रेखदेख गर्दा पावलको यो सल्लाहलाई ध्यान दिने गर्छ: “तिमीहरूका बालकहरूलाई रीस नउठाओ, तर तिनीहरूलाई प्रभुको शिक्षा र चेताउनीमा पालन-पोषण गर।” (एफिसी ६:४) पत्नी र छोरा-छोरीहरू दुवैसित मिलेर परिवारमा गरिने नियमित बाइबल अध्ययनले मायालु निर्देशनहरू दिने राम्रो मौका प्रदान गर्दछ। यसरी छोरा-छोरीहरूले “अनुशासन” अथवा सुधारात्मक निर्देशन प्राप्त गर्दछन्‌। तिनीहरूले पाउने “चेतावनी”-ले तिनीहरूलाई यहोवाको दृष्टिकोण बुझ्ने मद्दत दिन्छ। (व्यवस्था ४:९; ६:६, ७; हितोपदेश ३:११; २२:६) यस्तो आत्मिक जमघटको तनावमुक्‍त वातावरणमा आफ्ना छोरा-छोरीहरू बोल्दाखेरि हेरचाह गर्ने पिताले ध्यान दिएर सुन्‍ने गर्छन्‌। छोरा-छोरीहरूको चाहनाहरू र विचारहरूबारे तिनीहरूको इमान्दार अभिव्यक्‍तिहरू बुझ्न तिनले निर्देशन दिने खालका प्रश्‍नहरू चलाउँछ। आफ्ना छोरा-छोरीहरूका कलिलो मनमा भएका सबै कुराहरू थाहा छ भनेर पिताले अनुमान गर्दैन। निःसन्देह “राम्ररी सुन्‍न अघिनै प्रश्‍नको जवाफ दिनु मूर्खता र अशिष्टता हो,” हितोपदेश १८:१३-ले भन्दछ। आज धेरै आमा-बाबुहरूले तिनीहरूका छोरा-छोरीहरूले सामना गर्नु पर्ने परिस्थितिहरू र तिनीहरू आफू जवान छँदा अनुभव गरेका कुराहरूमा धेरै भिन्‍नता पाएका छन्‌। फलस्वरूप, पिताले कुनै समस्याको समाधान कसरी गर्ने भन्‍ने कुरा बताउन अगाडि त्यसको पृष्ठभूमि र पूर्ण विवरण थाहा पाउन प्रयास गर्नेछ।—याकूब १:१९ सङ्‌ग तुलना गर्नुहोस।

६. आफ्नो परिवारलाई मद्दत दिंदा मसीही पिताले परमेश्‍वरको वचनबाट सल्लाह किन लिनु पर्छ?

आफ्नो बच्चाको समस्याहरू, चिन्ताहरू र विचारहरू थाहा पाएपछि तिनले के गर्छ? राम्रो ढङ्‌गमा रेखदेख गर्ने पिताले “सिकाउनलाई, अर्ती दिनालाई, सच्याउनलाई, उचित जीवन यापन गर्नालाई उपयोगी हुने” शास्त्रबाट परामर्श लिन्छ। बाइबलका प्रेरित निर्देशहरूलाई कसरी लागू गर्ने भनेर तिनले आफ्ना छोरा-छोरीहरूलाई सिकाउँछ। यसरी ती छोरा-छोरीहरू समयमा “हरेक सुकर्ममा पूर्णरूपले सुसज्जित भई सिद्ध” हुन्छन्‌।—२ तिमोथी ३:१६, १७; भजनसंग्रह ७८:१-४.

७. प्रार्थनाको सम्बन्धमा मसीही पिताहरूले कस्ता उदाहरण छोड्‌नु पर्छ?

ईश्‍वरीय जवानहरूले स्कूलका संसारिक साथीहरूबाट कठिन परिस्थितिको सामना गर्छन्‌। त्यसोभए मसीही पिताहरूले आफ्ना छोरा-छोरीहरूको डरलाई कसरी हटाउन सक्छ त? यी कलिला बच्चाहरूले कठिन परिस्थितिहरूको सामना गर्दा सम्भवतः तिनीहरूका आमा-बाबुहरूले परमेश्‍वरमा राखेको भरोसालाई नै अनुकरण गर्छन्‌। परमेश्‍वरलाई आफ्नो जीवन समर्पण गरेको कुरा प्रदर्शित गर्न बप्तिस्मा लिन लागेकी एकजना १३ वर्षीया केटीलाई अन्तर्वार्ता लिंदा तिनले स्कूलका साथीहरूबाट गिल्ला र दुर्व्यवहार अनुभव गर्नु परेको कुरा उल्लेख गरी। तिनले रगतको पवित्रता सम्बन्धी बाइबल-आधारित विश्‍वासको वचाव गर्न खोज्दा अरू केटीहरूले पिटे र तिनलाई थुके। (प्रेरित १५:२८, २९) के तिनले बदला लिईन्‌? लिईनन्‌। तिनले भनिन्‌: “आफूलाई शान्त राख्न सकुँ भनेर मैले यहोवालाई प्रार्थना गरिरहें। खराब कुराहरूबाट अलग्गै रहनु आवश्‍यक छ भनेर पारिवारिक अध्ययनमा मेरा आमा-बाबुले सिकाउनु भएको कुरा पनि मैले सम्झें।”—२ तिमोथी २:२४.

८. छोरा-छोरी नभएका प्राचीनले सुव्यवस्थित ढङ्‌गमा आफ्नो घरानाको रेखदेख कसरी गर्न सक्छन्‌?

छोरा-छोरी नभएका प्राचीनले पनि आफ्नो घरानालाई प्रशस्त मात्रामा आध्यात्मिक र भौतिक प्रबन्धहरू गरिदिन सक्छ। यसमा तिनकी पत्नी र तिनमा आश्रित त्यही घरमा बस्ने कोही मसीही नातेदार पनि समावेश छ। (१ तिमोथी ५:८) तसर्थ प्राचीनको हैसियतमा मण्डलीका जिम्मेवारीहरू बहन गर्न नियुक्‍त भएको मानिसले पूरा गर्नु पर्ने आवश्‍यकताहरूमध्ये सुव्यवस्थित ढङ्‌गमा घरानाको रेखदेख गर्नु पनि एउटा हो। त्यसो भए नियुक्‍त भएका पाको मानिसहरूले मण्डलीमा पाएको जिम्मेवारीहरू जस्तो विशेषाधिकारलाई कस्तो दृष्टिकोणले हेर्नुपर्छ?

“उत्साही भएर” रेखदेख गर्नू

९. आफ्नो सेवाको प्रदत्त कार्यप्रति प्राचीनहरूले कस्तो धारणा राख्नु पर्छ?

हाम्रो सामान्य युगको प्रथम शताब्दीमा प्रेरित पावलले ख्रीष्टको अगुवामा रहेको मसीही मण्डली, परमेश्‍वरको घरानामा भण्डारे भएर सेवा गरे। (एफिसी ३:२, ७; ४:१५) यसपश्‍चात्‌ पावलले रोममा रहेका आफ्ना सङ्‌गी विश्‍वासीलाई यसरी अर्ती दिए: “हामीलाई दिइएको अनुग्रहअनुसारका वरदानहरू विभिन्‍न भएका हुनाले हामी ती प्रयोग गरौं। अगमवाणीको हो भनेता विश्‍वासको परिमाणअनुसार हामी अगमवाणी बोलौं। अथवा सेवाको हो भने, हाम्रो सेवाको काममा हामी आफैलाई दिहालौं, वा शिक्षा दिनेले, शिक्षामा, वा अर्ती दिनेले अर्ती दिने काममा, दिनेले उदारचित्तले देओस्‌, शासन गर्नेले बुद्धिसित गरोस्‌, कृपा देखाउनेले खुशीसित देखाओस्‌।”—रोमी १२:६-८.

१०. परमेश्‍वरको बगालको हेरचाह गर्ने सन्दर्भमा पावलले प्राचीनहरूकालागि के उदाहरण छाडे?

१० पावलले थिस्सलोनिकीहरूलाई यसरी सम्झाए: “बाबुले आफ्ना छोरा-छोरीहरूलाई जस्तोगरी हामीले तिमीहरूलाई कसरी अर्ती, साहस र साक्षी दिंदै तिमीहरू हरेकसँग व्यवहार गऱ्‍यौं। यस हेतुले कि तिमीहरूको चालचलन परमेश्‍वरको योग्य होस्‌, जसले तिमीहरूलाई उहाँको आफ्नै राज्यमा र महिमामा बोलाउनुहुन्छ।” (१ थिस्सलोनिकी १:१; २:११, १२) पावलले यति कोमल र मायालु ढङ्‌गमा त्यो अर्ती दिएका थिए कि तिनले फेरि यसरी लेख्न सके: “जसरी धाई-आमाले आफ्ना बालकहरूलाई पोषण गर्दछे, त्यसरी तिमीहरूका बीचमा हामी नम्र भएर बस्यौं। त्यसरीनै तिमीहरूको स्नेहपूर्वक चाह गरेर, परमेश्‍वरको सुसमाचार मात्र होइन तर हाम्रो प्राणसमेत तिमीहरूलाई दिन हामी बढ़तै खुशी थियौं, किनभने तिमीहरू हामीमा प्रिय भएका थियौ।” (१ थिस्सलोनिकी २:७, ८) पावलले छाडेको पिता जस्तै उदाहरण अनुरूप मण्डलीमा भएका सबैजनाप्रति पाको मानिसहरू गहिरो चासो राख्तछन्‌।

११. नियुक्‍त प्राचीनहरूले कसरी उत्सुकता देखाउन सक्छन्‌?

११ हाम्रा विश्‍वासी मसीही गोठालाहरूले मायालु निरीक्षण गर्दा कोमलताको साथसाथै उत्सुकता जस्ता गुणहरू पनि व्यवहारमा ल्याउनु पर्छ। तिनीहरूका चालचलनहरूले पनि यी कुराहरूलाई अझ बढी प्रकट गर्छ। परमेश्‍वरको बगाललाई करमा वा पैसाको लोभमा रेखदेख नगर्न प्राचीनहरूलाई पावलले सल्लाह दिन्छन्‌। (१ पत्रुस ५:२) यस सन्दर्भमा, विद्वान विलियम बार्कलेले एउटा सतर्क पार्ने टिपोटको उल्लेख गरे जसमा यसो लेखिएको थियो: “अधिकारलाई स्वीकार गर्ने र सेवा पूरा गर्ने एउटा तरिका छ। मानो त्यो एउटा कठोर र नमिठो कर्तव्य, थकाईलाग्दो काम, पछुताउनु पर्ने एउटा बोझ हो। एकजना पुरुषलाई कुनै काम गराउनु सजिलो छ। उसलाई पूरा गर्न पनि सजिलो होला तर अप्रिय ढङ्‌गमा जसले गर्दा सम्पूर्ण काम नै बिग्रिन्छ . . . तर [पत्रुस] भन्छन्‌ कि यो काम सम्पादन गर्न आफू योग्य छैन भनेर पूर्ण रूपमा थाहा होला तैपनि प्रत्येक मसीहीले उत्सुक हुँदै र डराउँदै आफूले सके जति यो सेवा गर्नुपर्छ।”

इच्छुक गोठालाहरू

१२. मसीही प्राचीनहरूले इच्छुकता कसरी देखाउन सक्छन्‌?

१२ “तिमीहरूका जिम्मामा रहेको परमेश्‍वरको बगालको गोठालो होओ . . . खुशीसाथ,” भनेर पत्रुसले अर्ती दिन्छन्‌। भेडाहरूको हेरचाह गर्ने एक जना मसीही अध्यक्षले इच्छुकतासाथ असल गोठालो येशू ख्रीष्टको अधीनमा बसेर आफ्नै स्वेच्छाले भेडाहरूको हेरचाह गर्ने गर्छन्‌। इच्छुकतासाथ सेवा गर्नुको अर्थ मसीही गोठालाहरूले यहोवा, ‘हाम्रा प्राणका गोठाला र धर्माधिकार’-को अख्तियारको अधीनमा बस्नु पनि हो। (१ पत्रुस २:२५) मसीही उपगोठालाले ईश्‍वरीय प्रबन्धहरूलाई इच्छुकतासाथ आदर देखाउँछन्‌। सल्लाह लिन चाहनेहरूलाई परमेश्‍वरको वचन, बाइबलमा ध्यान केन्द्रित गराएर तिनले यसो गर्छन्‌। यद्यपि अनुभवले नै बाइबलमा आधारित सल्लाहको भण्डार बनाउन मद्दत दिन्छ, तर प्रत्येक समस्याको तात्कालिक शास्त्रीय समाधान तिनीसित हुन्छ भन्‍नु मिल्दैन। तिनलाई कुनै प्रश्‍नको उत्तर थाहा भए तापनि सोधपुछ गर्ने मानिससङ्‌ग बसेर वाच टावर पब्लिकेशन्स इन्डेक्स अथवा त्यस्तै इन्डेक्सहरू छलफल गर्न तिनले फाइदाजनक ठान्‍नेछ। अतः तिनले दुईवटा तरिकाहरूमा सिकाउँछ: मद्दतकारी जानकारीहरू कसरी पत्ता लगाउने भनेर देखाउँछ र परमेश्‍वरको सङ्‌गठनले प्रकाशित गरेका कुराहरूमा ध्यान आकर्षित गरेर नम्रतापूर्वक यहोवाको आदर देखाउँछ।

१३. अरूहरूलाई असल सल्लाह दिएर मद्दत दिन प्राचीनहरूले कस्ता कदमहरू चाल्न सक्छन्‌?

१३ तर तत्कालै समाधान गर्नुपर्ने खास समस्याको विषयमा सोसाइटीका साहित्यहरूमा केही प्रकाशितै गरिएको छैन भने प्राचीनले के गर्न सक्छ? निःसन्देह तिनले अन्तदृष्टिको लागि प्रार्थना गर्नेछ र सम्बन्धित विषयमा लागू हुने केही बाइबलका सिद्धान्तहरूलाई अनुसन्धान गर्नेछ। साथै मद्दत खोज्ने व्यक्‍तिलाई येशूको उदाहरणमा ध्यान दिने सल्लाह दिनु पनि तिनले फाइदाजनक पाउनेछ। प्राचीनले यसो पनि सोध्न सक्छ: “तपाईंको ठाँउमा महान शिक्षक, येशू हुनुभएको भए तपाईंको विचारमा उहाँले के गर्नु हुन्थ्यो होला?” (१ कोरिन्थी २:१६) यस्ता तर्कहरूले सोधपुछ गर्ने व्यक्‍तिलाई बुद्धिमानी निर्णय गर्ने मद्दत पुऱ्‍याउन सक्छ। तर आफ्नो विचारधारालाई शास्त्रीय सल्लाहझैं ठानेर प्रस्तुत गर्नु कति मूर्खता हुनेछ! बरु प्राचीनहरूले कठिन समस्याहरू एक आपसमा छलफल गर्न सक्छन्‌। तिनीहरूले महत्त्वपूर्ण विषयहरूलाई प्राचीन मण्डलको सभा बस्दा छलफल गर्न सिफारिश पनि गर्न सक्छन्‌। (हितोपदेश ११:१४) त्यसबाट निस्केको निर्णयहरूले ती सबैजनालाई एउटै कुरा बोल्न लगाउनेछ।—१ कोरिन्थी १:१०.

नम्रता अत्यावश्‍यक

१४, १५. ‘गलत कदम उठाउने मसीहीलाई’ सुधार गर्दा प्राचीनहरूले के गर्नु आवश्‍यक छ?

१४ अरूहरूलाई सिकाउँदा, विशेषगरी तिनीहरूलाई सल्लाह दिंदा मसीही प्राचीनले नम्रता पनि प्रदर्शन गर्नु आवश्‍यक छ। पावल सल्लाह दिन्छन्‌, “हे भाइ हो, यदि मानिस कुनै अपराधमा पक्राउ पऱ्‍यो भने पनि तिमी आत्मिकीहरूले चाहिं नम्रताको आत्माले आफै परीक्षामा नपरौं भनी आफ्नो पनि विचार राख्तै यस्ताको सुधार गर।” (गलाती ६:१) चाखलाग्दो कुरा के हो भने, यहाँ अनुवाद गरिएको “सुधार” भन्‍ने शब्द र जिन्दगीभर अपाङ्‌ग हुनबाट रोक्न हड्डीहरू मिलाउने कामलाई शल्यशास्त्रमा प्रयोग गर्ने शब्द उस्तै छ। शब्द कोषकार डब्लु० ई० भाइनअनुसार यो “आत्मिक व्यक्‍तिहरूले पाप गरेका व्यक्‍तिहरूलाई पुनःस्थापन गर्नु हो, त्यस्ता व्यक्‍तिहरू आत्मिक शरीरबाट अलग भइसकेका सदस्य जस्तै हुन्‌।” अरु अनुवादहरूले त्यही शब्दलाई “सही ठाउँमा पुनःस्थापना गर्नु र ठीकसित मिलाउनु हो” भनेर उल्लेख गरेको पाइन्छ।

१५ आफ्नै विचारधारामा सुधार ल्याउनु त सजिलो हुँदैन भने गलती गर्ने व्यक्‍तिको विचारहरूलाई सही मार्गमा ल्याउनु झन्‌ कठिन हुन सक्छ। तर नम्रताको आत्माले दिएको मद्दतलाई कृतज्ञतासाथ स्वीकार गरिन्छ। तसर्थ मसीही प्राचीनहरूले पावलको यो सल्लाहलाई ध्यान दिनुपर्छ: “यसकारण पवित्र र प्रिय, सहानुभूतिको हृदय, दया, नम्रता, विनय, सहनशीलता धारण गर।” (कलस्सी ३:१२) सुधार गर्नुपर्ने मानिसमा खराब मनोवृत्ति छ भने प्राचीनहरूले के गर्नु पर्छ? तिनीहरू “नम्रताको पछि” लाग्नु पर्छ।—१ तिमोथी ६:११.

सतर्कतासाथ गोठालो गर्ने

१६, १७. अरूहरूलाई सल्लाह दिंदा प्राचीनहरू कस्ता खतराहरूदेखि जोगिनु पर्छ?

१६ गलाती ६:१-मा पावलले दिएको सल्लाहमा अझ बढी कुराहरू पाइन्छ। तिनले आध्यात्मिक तवरमा योग्य पुरुषहरूलाई यसरी आग्रह गर्छन्‌: “तिमी आत्मिकीहरूले चाहिं नम्रताको आत्माले आफै परीक्षामा नपरौं भनी आफ्नो पनि विचार राख्तै यस्ताको [गलती गर्ने मानिसको] सुधार गर।” यो सल्लाहलाई ध्यान नदिंदा कस्तो गम्भीर परिणाम हुन सक्छ! एग्लीकन पादरीहरूलाई दुईजना धर्मावलम्बीहरूसङ्‌ग व्यभिचार गरेको दोष पाएको रिपोर्ट पाएर लण्डनको द टाइम्स ले यसो भन्यो: “प्रत्यक्षतः पिताजस्तो अथवा दाजु-भाइ जस्तो सल्लाहकारहरू उसमाथि नै भरोसा गर्ने मानिसहरूसित परीक्षाको सिकार हुन्छन्‌। यो एउटा निरन्तर चल्ने परिस्थिति हो।” त्यसपछि ती समाचारको स्तम्भकारले “लैङ्‌गिक छुट भएको हाम्रो समाजमा बिरामी र पुरुष सल्लाहकारहरू—डाक्टरहरू, वकिलहरू, पूजाहारीहरू र मालिकहरूबीचको नाजायज सम्बन्ध एउटा अस्वीकृत, हानीकारक र अपमानजनक महामारी भएको छ” भन्‍ने डा पिटर रटरको दावीलाई उल्लेख गरिन्‌।

१७ यहोवाका मानिसहरू यस्ता परीक्षाहरूबाट मुक्‍त छन्‌ भनेर हामीले सोच्नु हुँदैन। धेरै वर्षदेखि विश्‍वासी भएर सेवा गरेका एकजना आदरणीय प्राचीन पनि अनैतिकतामा फसे। किनभने तिनले एकजना विवाहित बहिनी एक्लै हुँदा गोठालो काम गरेको थियो। हुनत त्यो भाइले पश्‍चाताप गरे, तैपनि तिनले आफ्नो सेवाको सबै विशेषाधिकारहरू गुमाउनु पऱ्‍यो। (१ कोरिन्थी १०:१२) त्यसो भए नियुक्‍त भएका पाको व्यक्‍तिहरूले यस्ता परीक्षाहरूमा नफसीकन गोठालोको काम कसरी गर्न सक्छन्‌? तिनीहरूले केही हदसम्म अलग्गै बस्न, प्रार्थना गर्न, तथा परमेश्‍वरको वचन र मसीही प्रकाशनहरू छलफल गर्न कसरी प्रबन्ध गर्न सक्छन्‌?

१८. (क) अगुवाको सिद्धान्तलाई लागू गर्दा प्राचीनहरू कसरी अप्ठ्यारो परिस्थितिहरूबाट जोगिन सक्छन्‌? (ख) एकजना बहिनीलाई गोठालो गर्दा कस्तो प्रबन्ध मिलाउन सकिन्छ?

१८ प्राचीनहरूले ध्यान दिनु पर्ने एउटा तत्त्व अगुवाको सिद्धान्त हो। (१ कोरिन्थी ११:३) जवान व्यक्‍तिले निर्देश खोज्दछ भने उपयुक्‍त भएमा तिनीसित छलफल गर्दा तिनका आमा-बाबुहरूलाई पनि समावेश गर्न प्रयत्न गर्नुहोस्‌। विवाहित बहिनीले आत्मिक मद्दत माग्छ भने तिनीसितको भेटमा तिनको पतिलाई पनि सामेल गराउने बन्दोबस्त के तपाईं गर्न सक्नु हुन्छ? तर यस्तो गर्न सम्भव छैन अथवा तिनको पति तिनीमाथि दुर्व्यवहार गर्ने अविश्‍वासी हो भने के गर्ने? यस्तो स्थितिमा एकजना अविवाहित बहिनीलाई हेरचाह गर्दा जुन प्रबन्ध गरिन्छ त्यही प्रबन्ध गर्नुहोस्‌। त्यो बहिनीलाई दुई जना आध्यात्मिक योग्यता भएका भाइहरूले भेट गर्नु बुद्धिमानी हुनेछ। यदि यसो गर्न सुहाँउदो छैन भने तिनीसित राज्य भवनको कुनै कोठामा छलफल गर्न दुई जना भाइहरूलाई एउटा उपयुक्‍त समय मिलाइ दिन सक्छन्‌। अरु भाइ बहिनीहरू त्यहाँ उपस्थित हुन्छन्‌ तापनि त्यो छलफललाई हेर्न र सुन्‍न सक्ने स्थितिमा भने हुँदैनन्‌। यसले गर्दा कुनै ठेसको कारण हुन सक्ने संभाव्य कुराहरूलाई हटाउन सकिन्छ।—फिलिप्पी १:९, १०.

१९. परमेश्‍वरको बगाललाई इच्छुकतासाथ हेरचाह गर्दा कस्ता राम्रा नतिजाहरू हुन्छन्‌, र इच्छुक गोठालोको निम्ति हामीले कसलाई कृतज्ञता ज्ञापन गर्नु पर्छ?

१९ परमेश्‍वरको भेडालाई इच्छुकतासाथ हेरचाह गर्दा नतिजाहरू राम्रो—आत्मिकरूपमा बलियो, राम्ररी-दोहोऱ्‍याइएको बगाल हुनेछ। आधुनिक समयका मसीही प्राचीनहरूसङ्‌ग पनि प्रेरित पावलको जस्तै आफ्ना सङ्‌गी विश्‍वासीहरूप्रति ठूलो चासो छ। (२ कोरिन्थी ११:२८) यो कठिन समयमा परमेश्‍वरका मानिसहरूको हेरचाह गर्ने जिम्मेवारी बोझिल नै छ। तसर्थ प्राचीनहरूको हैसियतमा सेवा गर्ने हाम्रा भाइहरूले सम्पन्‍न गरेका असल कामहरूप्रति हामीहरू साँच्चै नै कृतज्ञ छौं। (१ तिमोथी ५:१७) इच्छुकताकासाथ हेरचाह गर्ने ‘मानिसहरूको वरदान’ पाएकोले “हरेक असल दान र हरेक उत्तम वरदान” दिनुहुने हाम्रा स्वर्गमा हुनु हुने मायालु गोठाला, यहोवालाई प्रशंसा चढाऔं।—एफिसी ४:८, याकूब १:१७. (w93 5/15)

तपाईं कसरी जवाफ दिनु हुन्छ?

▫ एकजना पुरुषले आफ्नो घरानालाई सुव्यवस्थित ढङ्‌गमा कसरी रेखदेख गर्न सक्छ?

▫ निरीक्षणको काम गर्दा मसीही प्राचीनहरूमा कस्ता कस्ता गुणहरू हुनु पर्छ?

▫ सल्लाह दिंदा प्राचीनहरूले विनय र नम्रता कसरी देखाउन सक्छन्‌?

▫ प्रभावकारी ढङ्‌गमा आत्मिक सुधार ल्याउन के ले मद्दत पुऱ्‍याउँछ?

▫ प्राचीनहरूले गोठालोको काम गर्दा अप्ठ्यारो परिस्थितिहरूबाट कसरी जोगिन सक्छन्‌?

[अध्ययनका लागि प्रश्‍नहरू]