मनमा परिवर्तन होऊ र हृदयमा ज्ञानले भरिऊ
मनमा परिवर्तन होऊ र हृदयमा ज्ञानले भरिऊ
“यसकारण म यो भन्छु, र प्रभुमा साक्षी दिन्छु, कि तिमीहरू फेरि यस्तो चाल नचल जस्तो अन्यजातिहरू आफ्ना आफ्ना मनको व्यर्थतामा चल्दछन्।”—एफिसी ४:१७.
१. हाम्रो मन र हृदयले हाम्रोलागि के गर्छ?
मानिसहरूसँग भएका दुईवटा सबैभन्दा अद्भुत क्षमताहरू मन र हृदय हुन्। तथापि, मन र हृदयको कामहरू अनगिन्ती भए तापनि प्रत्येक व्यक्ति-व्यक्ति अनुसार त्यसको काम फरक-फरक हुन्छ। हाम्रो मन र हृदयले कुन ढङ्गमा काम गर्दछ त्यसले नै हाम्रो व्यक्तित्व, बोली, चाल-चलन, संवेदनाहरू र हाम्रा स्तरहरूलाई गहिरो असर पारिराखेको हुन्छ।
२, ३. (क) “हृदय” र “मन” भन्ने शब्दलाई बाइबलले कसरी चलाएको छ? (ख) हृदय र मन दुवैको विषयमा हामी किन चिन्तित हुनुपर्छ?
२ बाइबलमा साधारणतया “हृदय”-ले प्रेरणा, संवेदना र भित्री भावनाहरूलाई सङ्केत गर्छ र “मन”-ले बुद्धि र सोच्न सक्ने क्षमतालाई सङ्केत गर्छ। तर यसो भए तापनि मन र हृदय एक-आपसमा विसङ्गत छैनन्। उदाहरणका लागि, इस्राएलीहरूलाई मोशाले यसो भनेर सल्लाह दिएका थिए: “यहोवा नै साँचो परमेश्वर हुनुहुन्छ भनेर तिमीहरूको हृदयमा [फूटनोट, “आफ्नो मनमा याद गर”] गडोस्।” (व्यवस्था ४:३९, न्यु व०) आफ्नो विरुद्धमा षडयन्त्र रच्ने शास्त्रीहरूलाई पनि येशूले यसो भन्नुभयो: “तिमीहरू किन आफ्ना हृदयमा दुष्ट विचार गर्दछौ?”—मत्ती ९:४; मर्कूस २:६, ७.
३ यसले देखाउँछ, मन र हृदयको एक-आपसमा निकट सम्बन्ध छ। तिनीहरू परस्पर एक-अर्कासँग काम गर्छन् र कहिलेकाहीं एक जुट भएर काम गर्नाका लागि एक-अर्कालाई बल प्रदान समेत गर्छन्। तथापि, एक-आपसमा आधिपत्य जमाउनका लागि प्रायः तिनीहरू एक-आपसमा सङ्घर्ष गरिरहेका हुन्छन्। (मत्ती २२:३७; तुलना गर्नुहोस् रोमी ७:२३) यही कारणले गर्दा यदि हामी यहोवा परमेश्वरको अनुमोदन प्राप्त गर्न चाहन्छौं भने हामी आफ्नो मन र हृदय कुन अवस्थामा छ भनेर थाहा लगाउने मात्र नभइ ती दुवै चिजलाई एकसाथ मिलेर काम गर्न र एकै दिशामा लैजान हामीले प्रशिक्षण दिनुपर्छ। हामी मनमा परिवर्तन हुनुपर्छ र हृदयमा ज्ञानले भरिनुपर्छ।—भजनसंग्रह ११९:३४; हितोपदेश ३:१.
‘अन्यजातिहरूको चालचलन’
४. मानिसहरूको मन र हृदयलाई शैतानले कसरी प्रभाव पारेको छ र त्यसको नतिजा के भएको छ?
४ छल गर्न र कपट्याइँद्वारा अरूहरूलाई आफ्नो हात पार्नमा शैतान खप्पिस छ। मानिसहरूलाई नियन्त्रण गर्ने हो भने तिनीहरूको मन र हृदयलाई ताक्नु पर्छ भनेर त्यसलाई राम्रोसँग थाहा छ। त्यही गर्नाका लागि मानवजातिको इतिहासको सुरुआत देखि नै त्यसले अनेकौं उपायहरू रच्दै आएको छ। फलस्वरूप “सारा संसार त्यस दुष्टको अधीनमा परेको छ।” (१ यूहन्ना ५:१९) वास्तवमा भन्ने हो भने, शैतानले यस संसारका मानिसहरूका हृदय र मनलाई यति कुशलताकासाथ प्रभावमा पारेको छ कि बाइबलले ती मानिसहरूलाई “टेढा र बरालिएको पुस्ता” भनेर वर्णन गर्दछ। (फिलिप्पी २:१५) त्यो टेढा र बरालिएको पुस्ताका हृदय र मनको अवस्थालाई प्रेरित पावलले सजीवतासाथ वर्णन गर्दछ र तिनका शब्दहरूले आज हामी सबैलाई एउटा चेताउनी दिन्छ। उदाहरणका लागि कृपया एफिसी ४:१७-१९ पढ्नुहोस् र त्यसलाई रोमी १:२१-२४ मा उल्लिखित पावलका शब्दहरूसँग तुलना गर्नुहोस्।
५. पावलले किन एफिसीहरूलाई कडा सल्लाह दिए?
५ एफिसस शहर नैतिक पतन र विधर्मी मूर्तिपूजाका लागि कुख्यात थियो। हामीले यो कुरा सम्झ्यौं भने पावलले एफिससका मसीहीहरूलाई त्यस्तो कडा-कडा शब्दहरू किन चलाए भनेर हामी बुझ्न सक्छौं। त्यतिबेलाका युनानीहरूसँग प्रख्यात विचारीहरू र दार्शनिकहरू भए तापनि, युनानी शिक्षाले धेरैजसो मानिसहरूलाई झन् बढ्ता दुष्ट कामहरू गर्ने योग्यता प्रदान गरेको र तिनीहरूको संस्कृतिले तिनीहरूलाई आफ्नो दुष्टतामा अझ कुशल बनाएको जस्तो देखिन्छ। यस्तो वातावरणमा बसिरहेका आफ्ना सङ्गी विश्वासीहरूको विषयमा पावल निकै चिन्तित थिए। तिनीहरूमध्ये धेरैजना पहिला अन्यजातिका मानिसहरू थिए र ‘यस संसारको रीतिअनुसार चल्दथे’ भनेर पावललाई थाहा थियो। तर तिनीहरूले अहिले भने सत्यलाई स्वीकारी सकेका थिए। तिनीहरूको मन परिवर्तन भइसकेका थिए र तिनीहरूको हृदय ज्ञानले भरिसकेका थिए। तर सबैभन्दा मुख्य कुरा तिनीहरू ‘बोलावटको योग्य चालमा’ चलेको पावल चाहन्थे।—एफिसी २:२; ४:१.
६. पावलका शब्दहरूमा हाम्रो चासो किन हुनुपर्छ?
६ वर्तमान स्थिति पनि त्यस्तै छ। हामी पनि भ्रष्ट स्तरहरू, पतित नैतिकता र झुटा धर्म प्रचलनहरूले भरिएको संसारमा बाँचिरहेका छौं। हामी मध्ये धेरैजना एकपल्ट यसै संसारको रीतिरिवाज अनुसार जीवन बिताउँथ्यौं। हामीहरूबीच कतिजनालाई हर दिन हर समय संसारका मानिसहरूसँग उठ्बस गर्नु परेको छ। कोही चाहिं सांसारिक विचारधाराहरू प्रबल भएका परिवारहरूमा बस्छन्। त्यसकारण पावलले भनेका शब्दहरूलाई बुझ्न र तिनको सल्लाहबाट फाइदा उठाउन जरुरी छ।
व्यर्थ र अन्धकार मन
७. “आफ्ना आफ्ना मनको व्यर्थतामा” भन्दा पावल के भन्न खोज्दैथिए?
७ “यस्तो चाल नचल जस्तो अन्यजातिहरू चल्दछन्” भनेर मसीहीहरूलाई आफूले दिएको सल्लाहलाई अझ बलियो आधार दिन पावलले पहिला तिनीहरूको “मनको व्यर्थता”-को उल्लेख गरे। (एफिसी ४:१७) दि एङ्कर बाइबल अनुसार यहाँ “व्यर्थता” भनेर अनुवाद गरेको शब्दले “शून्यता, सुस्तीपन, निरर्थकता, मूर्खता, निरुद्देश्यता र हतोत्साहलाई सङ्केत गर्छ।” तसर्थ, युनानी र रोमी साम्राज्यको ख्याति र महिमा हेर्दाखेरि प्रभावशाली देखिएला तर त्यसको पछि लाग्नु वास्तवमा शून्यता, मूर्खता र निरुद्देश्यता थियो। यही कुरालाई पावलले औंल्याउदैं थिए। ख्याति र महिमाको प्रबल इच्छा राख्नेहरूले अन्तमा विचलित तथा निराशीत हुनु सिवाय अरु केही पाउँदैनन्। यही सिद्धान्त आजको वर्तमान संसारमा पनि लागू हुन्छ।
८. यस संसारमा भएका प्रयत्नहरू कुन तरिकामा व्यर्थ छन्?
८ संसारको आफ्नै बुद्धिजीवीहरू र तिनीहरूका वर्ग छन्। जीवनको सुरुआत, उद्देश्य र मानवजातिको भविष्य जस्ता गहिरा-गहिरा प्रश्नका उत्तरहरूका लागि मानिसहरू तिनीहरूको मुख ताक्छन्। तर अरूहरूलाई दिन तिनीहरूसँग कस्ता अन्तर्दृष्टि र निर्देशनहरू छन् त? नास्तिकता, अज्ञेयवाद, विकासवाद र तीन थुप्रो भ्रमात्मक र विरोधाभासपूर्ण विचारहरू र सिद्धान्तहरू, जुन कुराहरू वास्तवमा भन्ने हो भने बितेका समयका रीतिरिवाज र अन्धविश्वास भन्दा कम अन्धकार छैनन्। संसारका थुप्रै पेशाहरू र लक्ष्यहरूले पनि केही हदसम्म सन्तुष्टि र उपलब्धि दिएको जस्तो देखिन्छ। विज्ञान, कला, सङ्गीत, खेलकुद, राजनीति आदि कुराहरूमा प्राप्त गरिएको सफलता र कार्यसिद्धिको विषयमा मानिसहरू चर्चा गर्छन्। तिनीहरूले प्राप्त गरेको सफलतामा तिनीहरू खुसियाली मनाउँछन्। तथापि, वार्षिक इतिहास र रेकर्ड किताबहरूलाई जाँच्ने हो भने, पूराका पूरा ती नायकहरूको विवरण पाउँछौं जसलाई मानिसहरूले भुलिसकेका छन्। यी सब कुरा वास्तवमा शून्यता, सुस्तीपन, निरर्थकता, मूर्खत्ता, निरुद्देश्यता र हतोत्साह बाहेक केही होइनन्।
९. धेरै मानिसहरू कुन व्यर्थका लक्ष्यहरू पछि लागेका छन्?
९ यस्ता प्रयत्नहरूको व्यर्थता देखेर केही मानिसहरू भौतिक कुराहरूको पछि लाग्छन्—थुप्रो पैसा जम्मा गरेर र पैसाले किन्न सक्ने चीज जति सबै किनेर—त्यस्ता कुराहरूलाई प्राप्त गर्नु नै आफ्नो जीवनको लक्ष्य बनाउँछन्। आनन्द भन्ने कुरा धन, सम्पत्ति र मोजमज्जा जस्ता कुराहरूबाट आउँछ भनेर तिनीहरू विश्वस्त भएका छन्। यस्ता कुराहरूमा तिनीहरू आफ्नो मन लगाउँछन् र चाहेको खण्डमा स्वास्थ्य, परिवार र आफ्नो अन्तस्करण समेत—सबै कुराहरूलाई त्याग्न तयार हुन्छन्। तर त्यसको नतिजा? सन्तुष्ट हुनुको सट्टा “दुःखले तिनीहरूका हृदय छेडेंको हुन्छ।” (१ तिमोथी ६:१०) त्यसैकारण त पावलले त्यस्तो विचारधारालाई ध्यानमा राख्दै आफ्नो सङ्गी विश्वासीहरूलाई अन्यजातिहरू झैं चल्न बन्द गर्न सल्लाह दिए।
१०. संसारका मानिसहरूको कसरी “समझ अँध्यारो” भएको छ?
१० संसारसँग डाह गर्नुपर्ने वा नक्कल गर्नुपर्ने त्यस्तो कुनै कुरा छैन भन्ने कुरा देखाउन पावलले त्यसपछि तिनीहरूको “समझ अँध्यारो” छ भने। (एफिसी ४:१८) निस्सन्देह यत्नका लगभग हरेक क्षेत्रमा यस संसारसित बुद्धिमान र ज्ञानी व्यक्तिहरू छन्। तर पनि तिनीहरू मानसिक अन्धकारमा छन् भनेर पावलले भने। किन? तिनले यहाँ मानसिक निपुणता वा क्षमताको विषयमा भनिरहेको थिएन। “मन” भन्ने शब्दले मानव बोधको केन्द्रिय स्थल, समझ स्थल र भित्री मानिसलाई सङ्केत गर्नसक्छ। तिनीहरू अन्धकारमा छन् किनभने तिनीहरूका यत्नहरूमा कुनै मार्गदर्शक ज्योति वा निर्देशनको ज्ञान छैन। तिनीहरूसँग भएको सही र गलत कुराको अर्धज्ञानबाट नै यो कुरा देख्न सकिन्छ। आज, ठीक गलत जाँच्न नचाहने वा जे गरे पनि हुन्छ भन्ने मानसिक प्रवृति प्रबुद्ध छ भनेर मानिसले सोच्न सक्छ तर पावल अनुसार वास्तवमा त्यो अन्धकारले ढाकेको मानसिक प्रवृति हो। आध्यात्मिक तवरमा तिनीहरू घोर अन्धकारमा छाम्छाम् छुमछुम गर्दैछन्।—अय्यूब १२:२५; १७:१२; यशैया ५:२०; ५९:६-१०; ६०:२; तुलना गर्नुहोस् एफिसी १:१७, १८.
११. संसारमा मानसिक अन्धकार हुनुको कारण के हो?
११ धेरैजसो कुराहरूमा मानिसहरू बुद्धिमान र प्रतिभाशाली भए तापनि कसरी तिनीहरू आध्यात्मिक अन्धकारमा हुनसक्छन्? २ कोरिन्थी ४:४-मा पावलले यस प्रश्नको उत्तर हामीलाई यसो भनेर दिए: “जसमा ख्रीष्ट, जो परमेश्वरको रूप हुनुहुन्छ, उहाँको महिमाको सुसमाचार तिनीहरूमाथि नचम्कोस् भनेर यस संसारको देवले अविश्वासीहरूको समझशक्तिलाई अन्धा तुल्याइदिएको छ।” महिमित सुसमाचारलाई अगाँल्नेहरू जति आफ्नो मनमा परिवर्त्तन हुन पाउनु र हृदय ज्ञानले भरिनु कति बहुमूल्य आशिष हो!
अज्ञानी र अचेतनशील हृदय
१२. कुन तरिकाले संसार “परमेश्वरको जीवनबाट बिराना भए”?
१२ हामीहरू मनमा परिवर्तित हुनु र आफ्नो हृदय ज्ञानले भरिएको हुनु किन आवश्यक छ भन्ने कुरालाई अझ राम्रोसँग हेर्न मदत गर्न, पावलले हाम्रो ध्यान यस तथ्यप्रति खिच्यो कि संसारको तौर-तरिका “परमेश्वरको जीवनबाट बिराना” भएको छ। (एफिसी ४:१८) तर यसो भन्नुको अर्थ मानिसहरूले परमेश्वरमा विश्वास गर्नै छाडे वा तिनीहरू पूर्णतया ईश्वरविहिन भएका छन् भनेको होइन। समाचारपत्रका एकजना स्तम्भ लेखकले यसो भने: “ईश्वरविहिनको सट्टा आउनुहोस् हामी एउटा नयाँ शब्दलाई चलाऔं, कम-ईश्वर [ईश्वरलाई कम महत्त्व दिने]। कम-ईश्वर मानिसहरू देव-देवतामा विश्वास गरेकोमा प्रशंसा र मान्यता त चाहन्छन् तर तिनलाई अरू दिन सधैं बाकसमा हालेर थुनेर राख्छन् र आइतवार बिहान मात्र बाहिर निकाल्छन् र हप्ताका बाँकि दिनहरूमा तिनीहरूको व्यक्तिगत जीवन र सांसारिक राजनैतिक दृष्टिमाथि तिनलाई हात हाल्न दिदैंनन्। तिनीहरू धेर-थोर परमेश्वरमा विश्वास त गर्छन् तर आजको आधुनिक समाजमा परमेश्वरको त्यति महत्त्व छैन भनी ठान्छन्।” यस कुरालाई पावलले रोमीहरूलाई लेखेको पत्रमा यसरी व्यक्त गरे: “परमेश्वरलाई चिनेर पनि तिनीहरूले नता परमेश्वरलाई गर्नुपर्ने महिमा गरे, न धन्यवादनै चढाए।” (रोमी १:२१) मानिसहरूले परमेश्वरको रत्तीभर परवाह नगरिकन जीवन बिताएको हामी हरेक दिन देख्छौं। निश्चय नै तिनीहरू उहाँलाई आदर र कृतज्ञता देखाउँदैनन्।
१३. “परमेश्वरको जीवन” के हो?
१३ “परमेश्वरको जीवन” भन्ने अभिव्यक्ति एउटा उल्लेखनीय अभिव्यक्ति हो। मानिसहरूको सही-गलतको ज्ञानलाई मानसिक र आध्यात्मिक अन्धकारले कतिसम्म अलमल पारेको छ भन्ने कुरालाई यसले अझ राम्रोसँग देखाउँछ। तर भाइन्स एक्सोपोजिटरी डिक्सनरी अफ वोल्ड एण्ड न्यु टेस्टामेन्ट अनुसार यहाँ “जीवन” भनेर अनुवाद गरिएको युनानी शब्द बायोस होइन (जसबाट अङ्ग्रेजी शब्द “बायोलोजी” अर्थात् वनस्पती विज्ञान र “बायोग्रेफी” अर्थात् जीवनी जस्ता शब्दहरू आउँछन्) जसको अर्थ जीवन बिताउने तरिका वा जीवन-शैली हुन्छ। तर त्यो शब्द जुइ हो (जसबाट अङ्ग्रेजी शब्द “जु” अर्थात् चिडियाखाना र “जुलोजी” अर्थात् जीवविज्ञान जस्ता शब्दहरू आउँछन्) जसको अर्थ “सिद्धान्त अनुरूप जीवन, सम्पूर्ण अर्थमा जीवन, परमेश्वरको जस्तो जीवन हुन्छ। . . . पापको नतिजा स्वरूप मानिस यसप्रकारको जीवनबाट अलग्गिए।” तसर्थ, मानसिक र आध्यात्मिक अन्धकारले संसारका मानिसहरूलाई शरीरका लागि कटनी गराउने मात्र होइन तर परमेश्वरले प्रदान गर्नुहुने अनन्त जीवनको आशाबाट समेत टाढा लगेको छ भनेर पावल भन्दै थिए। (गलाती ६:८) यस्तो किन? पावलले हामीलाई यसका कारणहरू बताए।
१४. परमेश्वरको जीवनबाट संसार बिराना हुनाको एउटा कारण के हो?
१४ प्रथमतः, यसको कारण “तिनीहरूमा भएको अज्ञानता” हो भनेर तिनले भने। (एफिसी ४:१८) “तिनीहरूमा भएको” भन्ने वाक्यांशले यस कुरालाई स्पष्ट पार्छ कि तिनीहरू मौका नपाएकोले अज्ञानतामा भएको होइनन् तर तिनीहरूले जानाजानी परमेश्वरले दिनुहुने ज्ञानलाई इन्कार गरेको हुनाले भएको हो। त्यही वाक्यांशको अन्य अनुवादहरू यस प्रकार छन्: “परमेश्वरले चिन्न तिनीहरूले देखाएको अर्न्तनिहित इन्कार” (दि एङ्कर बाइबल); “तिनीहरू ज्ञान शून्य भएकोले किनभने तिनीहरूले आफ्नो हृदय त्यसदेखि फर्काएका छन्” (जेरुशलेम बाइबल) तिनीहरूले परमेश्वरको सही ज्ञानलाई इन्कार वा जाना-जानी तिरस्कार गरेको हुनाले उहाँले प्रदान गर्नुहुने जीवन प्राप्त गर्ने कुनै आधार तिनीहरूसँग हुँदैन। यसप्रकारको जीवन यहोवाले आफ्नो पुत्रमाथि विश्वास गर्ने जतिलाई दिनुहुन्छ र यस विषयमा उहाँले यसो भन्नुभयो: “औ अनन्त जीवन यही हो, कि तिनीहरूले तपाईं, एकमात्र सत्य परमेश्वरलाई, र जसलाई तपाईंले पठाउनुभयो, अर्थात् येशू ख्रीष्टलाई चिनून्।”—यूहन्ना १७:३; १ तिमोथी ६:१९.
१५. परमेश्वरको जीवनबाट यो संसार बिराना हुनुमा केले सहयोग गर्छ?
१५ साधारण अर्थमा, परमेश्वरको जीवनबाट संसार बिराना हुनाको अर्को कारण, पावलको अनुसार “तिनीहरूको हृदय कठोर भएको” हुनाले पनि हो। (एफिसी ४:१८) मूलरूपमा “कठोर” भन्ने शब्दको अर्थ ठेलो परेर मासु कडा भएझैं कडा हुनु हो। ठेलो कसरी उठ्छ भनेर हामी सबैलाई थाहा छ। सुरु-सुरुमा छाला नरम र स्पर्शेन्द्रिय नै हुन्छ तर बारम्बार छालामा कुनै किसिमको दबाव पर्नाले वा घस्रनाले त्यो कडा र बाक्लो हुँदैजान्छ र ठेलो बन्छ। त्यसपछि त्यसले कुनै प्रकारको स्पर्श महसुस गर्न सक्दैन। त्यस्तैगरी परमेश्वरप्रति स्वतः कुनै भावना नै नहुनका लागि मानिसहरू पनि कडा वा ठेलो जस्तो कडा हृदय लिएर जन्मेको हुँदैन। तर हामी संसारमा बसेको हुँदा र संसारका विचारधाराको प्रभावमा पर्ने हुँदा यदि हामीले आफ्नो हृदयलाई सुरक्षित राखेनौं भने हाम्रो हृदय पनि ठेलो जस्तो वा कडा हुन धेरै बेर लाग्दैन। त्यसैकारण त पावलले यसो भनेर चेतावनी दिए: “होशियार . . . नत्रता तिमीहरू मध्ये कोही पापको छलले कठोर हुनेछ।” (हिब्रू ३:७-१३; भजनसंग्रह ९५:८-१०) तसर्थ मनमा परिवर्तन भएर र हृदयमा ज्ञानले भरिएर त्यसै अवस्थामा रहिरहन कति जरुरी छ!
“नैतिक चेतना हराएको हुँदा”
१६. संसार मानसिक अन्धकार र परमेश्वरको जीवनबाट बिराना हुनाको नतिजा के भएको छ?
१६ त्यसप्रकारको अन्धकार र परमेश्वरबाट टाढा रहँदा हुने नतिजालाई पावलले सारांशमा यसरी बताए: “नैतिक चेतना हराएको हुँदा [न्यु व०] लालचसाथ सारा अशुद्ध काम गर्नाको निम्ति आफैलाई कामोद्दिपनामा सुम्पिदिए।” (एफिसी ४:१९) “नैतिक चेतना हराएको हुँदा” भन्ने अभिव्यक्तिको अक्षरस अर्थ हो, “कुनै किसिमको पीडा महसुस नगर्ने” अर्थात् नैतिक पीडा महसुस नगर्ने। यसरी नै ठेलो जस्तो कडा हृदय बन्दछ। एकपटक अन्तस्करणको पीडा र यहोवालाई लेखा दिनुपर्ने कुरालाई महसुस नगरेपछि कुनै किसिमको प्रतिबन्ध भन्ने कुरा नै हुँदैन। तसर्थ, तिनीहरूले “आफैलाई” कामोद्दिपना र अशुद्ध काममा सुम्पिदिए भनेर पावलले भने। त्यो जाना-जानी, आफ्नै इच्छाले लिएको कदम हो। बाइबलमा प्रयोग गरिएको “कामोद्दिपना” शब्दले कानुन र अधिकारलाई तिरस्कार गर्ने धृष्ट, निर्लज्ज मनोवृत्तिलाई सङ्केत गर्छ। त्यस्तैगरि “सारा अशुद्ध काम”-मा विकृत यौनिक कुराहरू मात्र होइनन् तर एफिससको मन्दिरमा गरिने प्रजनन शक्ति सम्बन्धी संस्कार र रीतिथिति जस्तो धर्मको नाउँमा गरिने भ्रष्ट कुराहरू पनि सम्मिलित छन्। यस्ता कुराहरूसित पावलका पाठकहरू राम्रोसँग परिचित थिए।—प्रेरित १९:२७, ३५.
१७. नैतिक चेतना हराएकाहरूले “लालचसाथ” पाप गर्छन् भनेर पावलले किन भने?
१७ बिना कुनै बन्देज, कामोद्दिपना र अशुद्ध कामहरूमा लाग्नु मानो खराब मात्र नभइ पावलले थपे कि त्यस्ता मानिसहरू “लालचसाथ” चल्छन्। केही हदसम्म नैतिक ज्ञान भएका मानिसहरूले पाप गर्दा, तिनीहरूले कमसे कम आत्मग्लानि भएपनि महसुस गर्नसक्छ र त्यस्ता गल्तीहरूलाई फेरि नदोहोऱ्याउने ठूलो कोसिस गर्नसक्छ। तर “नैतिक चेतना हराएका”-हरूले “लालचकासाथ” (“अझ धेरै माग गर्छन्” दि एङ्कर बाइबल) पाप गर्दछन्। तिनीहरू राजीखुशीका साथ झन् झ्न तल धँस्दै भ्रष्टताको तल्लो गहिराईसम्म जान्छन्—र त्यसलाई साधारण कुराझैं महसुस गर्छन्। “मानिसको अभिलाषा”-को कस्तो यथार्थ चित्रण!—१ पत्रुस ४:३, ४.
१८. सारांशमा भन्न, संसारको मानसिक र आध्यात्मिक स्थितिको कस्तो चित्र पावलले प्रस्तुत गरे?
१८ एफिसी ४:१७-१९ का मात्र तीन वटा पदहरूबाट, पावलले यसप्रकार संसारको वास्तविक नैतिक र आध्यात्मिक अवस्थालाई पर्दाफास गर्छन्। सांसारिक विचारीहरूले बढावा दिएका युक्तिहरू र सिद्धान्तहरू अनि धन र मोजमज्जाको निरन्तर पछि लाग्नु सबै पूर्णतः व्यर्थका छन् भनी तिनी औंल्याउँछन्। नैतिक र आध्यात्मिक अन्धकारको कारण संसार नैतिकताको दलदलमा झन् झन् तल धँस्दै जाँदैछ भनेर तिनी स्पष्ट पार्छन्। आफैले गर्दा भएको अज्ञानता र मूर्खताले गर्दा परमेश्वरको जीवनबाट संसार एकदम निराशाजनक रूपमा बिराना भएको छ। अन्यजातिहरू जस्तो नहिंड्नका लागि निश्चय नै हामीसँग राम्रा कारणहरू छन्!
१९. कुन अत्यावश्यक प्रश्नहरूलाई विचार गर्नु बाँकि नै छ?
१९ मन र हृदयको अन्धकारको कारण, यहोवा परमेश्वरबाट संसार बिराना भएको हुँदा, हामी कसरी हाम्रो मन र हृदयको सबै अन्धकारलाई हटाउन सक्छौं त? हो, ज्योतिको सन्तानझैं हिंड्न र परमेश्वरको अनुमोदन पाइरहनका लागि हामीले के गर्नुपर्छ? अर्को लेखमा यी कुराहरूलाई विचार गरिनेछ। (w93 3/1)
के तपाईं वर्णन गर्न सक्नुहुन्छ?
▫ एफिसी ४:१७-१९ मा त्यस्तो कठोर सल्लाह दिन पावललाई कुन कुराले उस्कायो?
▫ संसारका तौर-तरिकाहरू किन व्यर्थ र अन्धकारमा छन्?
▫ “परमेश्वरको जीवनबाट बिराना भए” भन्ने अभिव्यक्तिको अर्थ के हो?
▫ अन्धकार मन र अचेतनशील हृदयका नतिजाहरू के के हुन्?
[अध्ययनका लागि प्रश्नहरू]