सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाको दयाले हामीलाई निराशाबाट जोगाउँछ

यहोवाको दयाले हामीलाई निराशाबाट जोगाउँछ

यहोवाको दयाले हामीलाई निराशाबाट जोगाउँछ

“तपाईंको करूणाअनुसार ममाथि अनुग्रह गर्नुहोस्‌, हे परमेश्‍वर तपाईंको कोमल कृपाअनुसार मेरा अपराधहरू मेटिदिनुहोस्‌।”—भजनसंग्रह ५१:१.

१, २. यहोवाको कुनै पनि सेवकमाथि गम्भीर पापले कसरी प्रभाव पार्न सक्छ?

 यहोवाको नियमलाई उल्लङ्‌घन गरेर दण्डबाट उम्किन सकिंदैन। हामीले परमेश्‍वरको विरुद्धमा गम्भीर पाप गर्दा यो कुरा कति प्रष्ट हुन्छ! हामीहरूले वषौदेखि यहोवाको सेवा गरिरहेको भए तापनि उहाँको नियमलाई उल्लङ्‌घन गर्नाले हामीलाई ठूलो चिन्ता र गहिरो निराशामा पार्न सक्छ। यहोवाले हामीलाई त्याग्नु भएको छ र अबदेखि हामीहरू उहाँको सेवा गर्ने योग्य छैनौं भनेर हामीहरू सोच्न सक्छौं। हाम्रो पाप परमेश्‍वरको अनुग्रहको ज्योतिलाई छेक्ने एउटा ठूलो बादल जस्तै देखिन सक्छ।

पुरातन इस्राएलका राजा दाऊदले पनि एकपटक आफूलाई यस्तै अवस्थामा पाए। यस्तो परिस्थितिको सृजना कसरी भयो?

गलत कदमहरूले गम्भीर पापतर्फ डोऱ्‍याउन सक्छ

३, ४. समृद्धताको समयमा राजा दाऊदलाई के भयो?

दाऊद परमेश्‍वरलाई प्रेम गर्थे तर तिनले गम्भीर पापमा डोऱ्‍याउने गलत कदमहरू उठाए। (गलाती ६:१ सङ्‌ग तुलना गर्नुहोस्‌।) यस्तो अवस्था जुनसुकै असिद्ध मानिसहरूलाई, विशेषगरी अरूहरूमाथि अख्तियार भएकाहरूलाई हुन सक्छ। एउटा समृद्धशाली राजाको हैसियतमा दाऊदले ख्याति र शक्‍तिको उपभोग गरे। तिनले दिएको आदेशलाई चुनौती दिने आँट कसले गर्ने? योग्य मानिसहरू तिनको इशारामा नाच्थे, र तिनले जसो भन्थे मानिसहरू इच्छुकतासाथ त्यस्तै गर्थे। तरैपनि, दाऊदले आफ्नालागि पत्नीहरू थुपारेर र मानिसहरूको गणना गरेर भूल गरे।—व्यवस्था १७:१४-२०; १ इतिहास २१:१.

भौतिक सम्पन्‍नताको यस्तो समयमा दाऊदले परमेश्‍वर र मानिस, दुवैको विरुद्धमा गम्भीर पापहरू गरे। हो, शैतानले बुनेको कपडामा एक धागो अर्को धागोमाथि जेलिए जस्तै तिनका पापहरू पनि जेलिंदै गए! अरू इस्राएलीहरू अम्मोनीहरूसङ्‌ग लडाईं गरिरहेको बेलामा दाऊदले कौसीमाथिबाट उरियाहकी सुन्दरी पत्नी बेतशेबालाई नुहाइरहेकी देखे। उरियाह लडाईंमा हुँदा, राजाले त्यस स्त्रीलाई दरबारमा बोलाई पठाए र तिनीसित व्यभिचार गरे। यसो कल्पना गर्नुहोस्‌, तिनी गर्भवती भइन्‌ भन्‍ने कुरा थाहा पाउँदा दाऊद कस्तो झसङ्‌ग भए होलान्‌! उरियाहले त्यो बच्चालाई आफ्नै हो भनी स्वीकार्ला भन्‍ने आशामा दाऊदले उरियाहलाई बेतशेबासङ्‌ग रात बिताओस्‌ भनेर पठाए। तथापि, दाऊदले तिनलाई मताए पनि उरियाहले बेतशेबासित सुत्न इन्कार गरे। हताश भएका दाऊदले उरियाहलाई सेनाको अग्रपङ्‌क्‍तिमा राखेर मार्ने गोप्य आदेश सेनाप्रमुख योआबलाई पठाए। उरियाह रणभूमिमा मारिए, उनकी स्वास्नीले रीतिथितिअनुसार शोक गरिन्‌, र मानिसहरूले तिनी गर्भवती भएको कुरा थाहा पाउन अगाडि नै दाऊदले तिनीसित विवाह गरे।—२ शमूएल ११:१-२७.

५. दाऊदले बेतशेबासङ्‌ग पाप गरिसकेपछि के भयो, र तिनका पापहरूले तिनीमाथि कस्तो असर पाऱ्‍यो?

परमेश्‍वरले नातान अगमवक्‍ताद्वारा दाऊदका पापहरू उदाङ्‌ग पार्नुभयो र भन्‍नुभयो: “म तेरो आफ्नै घरानाभित्रबाट दुःख ल्याउनेछु।” तिनले भनेझैं, बेतशेबाले जन्माएको बच्चा मऱ्‍यो। (२ शमूएल १२:१-२३) दाऊदको जेठो छोरा अम्मोनले आफ्नै सौतेली बहिनी तामारलाई बलात्कार गऱ्‍यो र बदलामा तामारकी दाजुले अम्मोनको हत्या गऱ्‍यो। (२ शमूएल १३:१-३३) राजाको आफ्नै छोरा अब्शालोमले राज्य हडप्ने कोशिश गरे र दाऊदकै रखौटेहरूसित यौन सम्बन्ध राखेर आफ्नो पिताको अपमान गरे। (२ शमूएल १५:१–१६:२२) गृह युद्धमा अब्शालोमको मृत्यु भयो र यसले गर्दा दाऊदमाथि झन्‌ दुःख थपियो। (२ शमूएल १८:१-३३) तथापि, दाऊदका पापहरूले तिनलाई नम्र बनायो र करूणामय परमेश्‍वरको नजिक बस्ने आवश्‍यकतामाथि तिनलाई सजग पाऱ्‍यो। हामीले पनि भूल गऱ्‍यौं भने नम्र भएर पश्‍चात्ताप गरौं र यहोवाको नजिक बसौं।—याकूब ४:८ सङ्‌ग तुलना गर्नुहोस्‌।

६. राजा दाऊद विशेषतः किन दोषी थिए?

यहोवाका नियमहरू राम्ररी थाहा पाएका इस्राएली शासक भएको हुनाले दाऊद विशेषगरी दोषी थिए। (व्यवस्था १७:१८-२०) यस्ता नियमहरूको ज्ञानको कमी भएका र परमेश्‍वरलाई मन नपर्ने कुराहरू बारम्बार गरिरहने मिश्रका फिरऊन अथवा बेबिलोनी राजा जस्तो तिनी थिएनन्‌। (एफिसी २:१२; ४:१८ सङ्‌ग तुलना गर्नुहोस्‌) यहोवामा समर्पित राष्ट्रको एकजना सदस्यको हैसियतमा व्यभिचार र हत्या जस्ता कुराहरू घोर पापहरू हुन्‌ भनेर दाऊदलाई थाहा थियो। (प्रस्थान २०:१३, १४) मसीहीहरूलाई पनि परमेश्‍वरका नियमहरू थाहा छ। तथापि दाऊदले जस्तै कसै कसैले वंशानुगत पाप, मानव कमजोरी, र प्रतिरोध गर्नै गाऱ्‍हो हुने दबाबहरूको कारणले गर्दा यस्ता नियमहरू तोड्‌छन्‌। यस्तै अवस्था हामीमध्ये कसैमाथि आइलाग्छ भने हाम्रो आत्मिक दृश्‍यलाई धमिल्याउने र गहिरो निराशामा पार्ने अन्धकारको स्थितिमा हामीले आफूलाई रहिरहन दिनु आवश्‍यक छैन।

पाप स्वीकार्नाले आराम मिल्छ

७, ८. (क) आफ्ना पापहरू लुकाउन खोज्दा दाऊदलाई के भयो? (ख) आफ्नो पापलाई किन स्वीकार गर्नुपर्छ?

परमेश्‍वरको नियमको विरुद्ध घोर पापको दोषी भएका छौं भने यहोवाकै सामने समेत पनि हाम्रा पापहरू स्वीकार्न हामीलाई गाऱ्‍हो लाग्न सक्छ। यस्ता परिस्थितिहरूमा के हुन सक्छ? भजनसंग्रह ३२ मा दाऊदले यसरी मानि लिए: “जब म चूप [पाप स्वीकार गर्नुको सट्टा] लागे, तब मेरा हड्डीहरू दिनभरिको मेरो कङ्‌कलाशब्दले गर्दा मक्किए। किनकि दिन-रात तपाईंको [यहोवाको] बाहुलीको भार ममाथि रह्‍यो। मेरो शरीरको पानी ग्रीष्मको खडेरीमा परिवर्त्तन भयो।” (३, ४ पदहरू) आफ्नो पापलाई लुकाउन र दोषी अन्तस्करणलाई दबाउन खोज्दा स्वेच्छाचारी दाऊद पीडित भए। यस्तो वेदनाले गर्दा तिनको ताकत यति कम भयो कि तिनी खडेरीले खाएको रूख जस्तै भए। वास्तवमा तिनले अवश्‍य पनि मानसिक र शारीरिक रूपमा समेत बिरामी भएको अनुभव गर्नु पऱ्‍यो होला। तर जे होस्‌ तिनले आफ्नो आनन्द गुमाए। यदि हामीमध्ये पनि कोही यस्तै स्थितिमा पऱ्‍यौं भने, हामीले के गर्नु पर्छ?

परमेश्‍वरको अगाडि पाप स्वीकार गर्नाले क्षमा र आराम पाउन सकिन्छ। दाऊदले यसरी गाए “मैले आफ्नो पाप तपाईंमा प्रकट गरें, र मेरो अधर्म मैले लुकाएको छैनँ। मैले भनें, ‘म आफ्ना अपराध परमप्रभुको सामने स्वीकार गर्नेछु। र तपाईंले मेरो पापको अधर्म क्षमा गर्नुभयो।’” (भजनसंग्रह ३२:५) के तपाईं पनि आफूले लुकाइराखेको पापको कारण चिन्तित हुनु हुन्छ? त्यसोभए के यसलाई स्वीकारेर परमेश्‍वरको कृपादृष्टि खोज्नु उचित हुने छैन र? आत्मिक उपचार गर्न मण्डलीका प्राचीनहरूलाई किन भन्‍नु हुन्‍न? (हितोपदेश २८:१३; याकूब ५:१३-२०) तपाईंले देखाउनु भएको पश्‍चात्तापी प्रवृत्तिलाई स्वीकार गरिनेछ, र समयमा तपाईंले आफ्नो मसीही आनन्द पनि पुनःप्राप्त गर्न सक्नु हुनेछ। यस विषयमा दाऊदले भने: “त्यो धन्यको हो, जसको अपराध क्षमा भएको छ, र जसको पाप ढाकिएको छ। त्यो मानिस धन्यको हो, जसको अधर्मको लेखा परमप्रभुले राख्नुहुन्‍न, र जसको आत्मामा छल छँदैछैन।”—भजनसंग्रह ३२:१, २.

९. भजनसंग्रह ५१ को रचना कहिले गरियो, र किन?

यहोवा परमेश्‍वरको अगाडि दाऊद र बेतशेबा गलत कार्यका लागि जिम्मेवार थिए। हुनतः तिनीहरूको पापको कारण उहाँले तिनीहरूलाई नाश गर्न सक्नु हुन्थ्यो तर तिनीहरूमाथि परमेश्‍वरले दया गर्नु भयो। विशेषतः राज्य सम्बन्धी वाचाको कारण दाऊदप्रति परमेश्‍वर दयावन्त हुनुभयो। (२ शमूएल ७:११-१६) बेतशेबासङ्‌ग सम्बन्धित आफ्नो पापप्रति दाऊदले पश्‍चात्तापी मनोवृत्ति प्रकट गरे। यो कुरा हामीहरू भजनसंग्रह ५१ मा पाउँदछौं। तिनले गरेको ईश्‍वरीय नियमको उल्लङ्‌घन कत्तिको भयानक थियो भनेर नातान अगमवक्‍ताले दाऊदको अन्तस्करणलाई जगाए। त्यसपश्‍चात्‌ ती पश्‍चात्तापी राजाले यो हृदयस्पर्शी भजनको रचना गरे। दाऊदले गरेका पापहरूप्रति तिनलाई सचेत गराउन नातान अगमवक्‍तालाई साहसी हुनु खाँचो पऱ्‍यो। त्यसरी नै आज पनि यस्ता कामहरू गर्न नियुक्‍त मसीही प्राचीनहरू साहसी हुनु आवश्‍यक छ। नातानले तिनलाई लगाएको आरोपलाई इन्कार गर्नु र मृत्यु दण्डको आदेश दिनुको सट्टा राजाले नम्रताकासाथ आफ्नो पाप स्वीकारे। (२ शमूएल १२:१-१४) तिनले आफूले गरेको नीच कामबारे परमेश्‍वरलाई प्रार्थनामा भनेको कुरा भजनसंग्रह ५१ ले देखाउँछ। खासगरेर हामीले पनि भूल गरेका छौं र यहोवाको दया चाहन्छौं भने त्यसरी नै प्रार्थनापूर्वक मनन गर्नु निकै उपयुक्‍त हुनेछ।

हामीहरू परमेश्‍वरप्रति जिम्मेवार छौं

१०. दाऊदले आध्यात्मिक आरोग्यलाभ कसरी अनुभव गर्न सके?

१० दाऊद आफ्नो पापबाट दोषमुक्‍त हुन खोजेनन्‌ तर तिनले यसरी बिन्ती गरे: “तपाईंको करूणाअनुसार ममाथि अनुग्रह गर्नुहोस्‌, हे परमेश्‍वर। तपाईंको कोमल कृपाअनुसार मेरा अपराधहरू मेटिदिनुहोस्‌।” (भजनसंग्रह ५१:१) दाऊदले पाप गरेर परमेश्‍वरको नियमको सीमा नाघेका थिए। तथापि परमेश्‍वरको अनुग्रहअनुसार उहाँले तिनीमाथि करूणा अथवा दयालु प्रेम देखाउनु भएमा आध्यात्मिक उपचारको आशा थियो। बितेका समयमा परमेश्‍वरले देखाउनु भएका अनगिन्ती दयाहरूले पश्‍चात्तापी राजालाई आफ्ना अपराधहरू पनि तिनको सृजनहारले मेटाइदिनुहुनेछ भनेर विश्‍वास गर्ने आधार दियो।

११. प्रायश्‍चित दिनको अर्थ के हो, र मुक्‍ति पाउन आज के गर्नुपर्छ?

११ प्रायश्‍चित दिनको भविष्यसूचक सङ्‌केतद्वारा यहोवाले पश्‍चात्तापीहरूलाई तिनीहरूको पापबाट शुद्ध पार्ने उहाँको एउटा तरिका थियो भन्‍ने कुराको जानकारी सबैलाई दिनुभयो। तर येशू ख्रीष्टको छुडौतीको बलिदानमा विश्‍वास गरेको आधारमा हामीप्रति उहाँको दया र क्षमा अझ बढेको छ भनेर अहिले हामीले थाहा पाएका छौं। यो बलिदानको प्रकार र पूर्व-सङ्‌केतको विषयमा थाहा पाएर मात्र पनि दाऊदले यहोवाको करूणा र दयामा विश्‍वास गर्न सके भने आफ्नो छुटकाराको लागि प्रबन्ध गरिएको छुडौतीमा वर्तमान समयका परमेश्‍वरका सेवकहरूले झन्‌ कति विश्‍वास राख्नु पर्ने हो!—रोमी ५:८; हिब्रू १०:१.

१२. पाप गर्नुको अर्थ के हो, आफूले गरेको गलत-कार्यमा दाऊदले कस्तो महसुस गरे?

१२ परमेश्‍वरलाई बिन्ती गर्दै दाऊदले फेरि यो थपे: “मेरो अधर्मबाट मलाई सफासँग धुनुहोस्‌, र मेरो पापबाट मलाई शुद्ध गर्नुहोस्‌। किनकि म आफ्ना अपराधहरू स्वीकार गर्छु। मेरो पाप सदा मेरै सामनेमा छ।” (भजनसंग्रह ५१:२, ३) पाप गर्नु भनेको यहोवाको स्तरबमोजिम गर्न असमर्थ हुनु अथवा चुक्नु हो। निश्‍चय नै दाऊद यसमा चुके। तथापि, आफ्नो दोषको चिन्ता नगर्ने तर आफूले पाउन सक्ने सजाय वा आफूलाई सर्न सक्ने रोगको चिन्ता मात्र गर्ने एकजना हत्यारा वा व्यभिचारी जस्तो तिनी थिएनन्‌। यहोवालाई प्रेम गर्ने भएकोले दाऊद खराब कुराको घृणा गर्थे। (भजनसंग्रह ९७:१०) तिनी आफ्नो पापको कारण व्याकूल थिए र परमेश्‍वरले पूर्णरूपमा चोख्याइ दिनु भएको तिनी चाहन्थे। आफूले गरेका पापहरूको विषयमा दाऊदलाई राम्ररी थाहा थियो र पापी इच्छालाई आफूमाथि राज गर्न दिएकोमा तिनी साह्रै दुःखी थिए। तिनका पापहरू सदा तिनकै सामने रही रहन्थ्यो। किनभने पश्‍चात्ताप गरेर पाप स्वीकार नगरेसम्म अनि यहोवाको क्षमा नपाएसम्म एकजना ईश्‍वरभीरू व्यक्‍तिको दोषी अन्तस्करणले शान्ति पाउँदैन।

१३. केवल परमेश्‍वरको विरुद्धमा मात्रै आफूले पाप गरेका थिए भनेर दाऊदले किन भन्‍न सके?

१३ यहोवाप्रति तिनी दोषी भएका छन्‌ भन्‍ने कुरा स्वीकार गर्दै दाऊदले भने: “तपाईंको विरूद्धमा, केवल तपाईंकै विरूद्धमा मैले पाप गरेको छु, र तपाईंको दृष्टिमा जो खराबी छ, त्यही गरेको छु। तपाईं बोल्नुहुँदा ठीक, र इन्साफ गर्नुहुँदा मुनासिब ठहरिनुहुन्छ।” (भजनसंग्रह ५१:४) दाऊदले परमेश्‍वरका नियमहरू तोडेका थिए, राजकीय सेवालाई अनादर गरेका थिए र निःसन्देह ‘परमेश्‍वरलाई तिरस्कार गरेका थिए।’ (२ शमूएल १२:१४; प्रस्थान २०:१३, १४, १७) जसरी आज एकजना बप्तिस्माप्राप्त व्यक्‍ति गलत कामको दोषी हुँदा मसीही मण्डली र अरू प्रिय जनहरूका लागि दुःख र उदासीनताको कारण हुन पुग्छ त्यसरी नै इस्राएली समाज र तिनका परिवारका सदस्यहरूका लागि दाऊदको पापपूर्ण कार्य दुर्व्यवहारपूर्ण थियो। तथापि, पश्‍चात्तापी राजालाई उरियाह जस्ता सङ्‌गी मानिसको विरुद्धमा आफूले पाप गरेको थियो भन्‍ने कुरा थाहा थियो तैपनि तिनले परमेश्‍वरको अगाडि आफूलाई ठूलो जिम्मेवार ठाने। (उत्पत्ति ३९:७-९ सङ्‌ग तुलना गर्नुहोस्‌।) यहोवाको न्याय धार्मिक नै ठहरिनेछ भनेर दाऊदले मानि लिए। (रोमी ३:४) पाप गर्ने मसीहीहरूले पनि त्यस्तै दृष्टिकोण राख्नु आवश्‍यक छ।

चेपुवामा पार्ने परिस्थितिहरू

१४. दाऊदले कस्ता चेपुवामा पार्ने परिस्थितिहरूको उल्लेख गरे?

१४ दाऊदले आफ्नो सफाई दिने कोशिश गरेनन्‌ तथापि तिनले यसो भने: “हेर्नुहोस्‌, म अधर्ममा उत्पन्‍न भएँ। र पापैमा मेरी आमाले मलाई गर्भधारण गरिन्‌।” (भजनसंग्रह ५१:५) अधर्ममा नै दाऊद उत्पन्‍न भएका थिए, र तिनको आमाले पनि वंशानुगत पापको कारण प्रसव वेदनाको अनुभव गरिन्‌। (उत्पत्ति ३:१६; रोमी ५:१२) तर उचित वैवाहिक सम्बन्ध राख्नु, गर्भधारण गर्नु, जन्म दिनु, पापपूर्ण हुन्‌ भनेर तिनका शब्दहरूले भन्‍न खोजेको होइन किनभने विवाह गर्ने र बच्चा जन्माउने प्रबन्ध परमेश्‍वरले नै गर्नु भएको थियो न त तिनकी आमाको कुनै विशेष पापको नै तिनले सङ्‌केत गरेका हुन्‌। तिनका आमा-बाबुहरू पनि सबै असिद्ध मानवहरूझैं पापपूर्ण नै थिए। त्यसकारण तिनकी आमाले तिनलाई पापैमा गर्भधारण गरिन्‌।—अय्यूब १४:४.

१५. चेपुवामा पार्ने परिस्थितिहरूबारे परमेश्‍वरले विचार गर्नु हुन्छ तैपनि हामीले के गर्नु हुँदैन?

१५ हामीले पाप गरेका छौं र त्यसरी गलत कार्य गर्न हामीलाई कुनै चेपुवामा पार्ने परिस्थितिहरूले योगदान पुऱ्‍याएको छ भने परमेश्‍वरसङ्‌गको प्रार्थनामा हामीले त्यस्ता परिस्थितिहरू उल्लेख गर्न सक्छौं। तर परमेश्‍वरको अपार दयालाई दुराचारको निहुँ नबनाऔं अथवा वंशानुगत पापलाई आफूले गरेको पाप ढाक्ने पर्दा नबनाऔं। (यहूदा ३, ४) आफ्नो मनमा अशुद्ध विचारहरू आउन दिएको र प्रलोभनमा फँसेको जिम्मेवारी दाऊदले स्वीकारे। हामी पनि परीक्षाहरूमा फस्न नपरोस्‌ भनी प्रार्थना गरौं र सोही प्रार्थना अनुरूप हामीले आफ्नो कदम पनि चालौं।—मत्ती ६:१३.

सफाईको लागि निवेदन

१६. कस्तो गुणमा परमेश्‍वर प्रसन्‍न हुनुहुन्छ, र त्यसले हाम्रो चालचलनमा कसरी असर पार्नु पर्छ?

१६ मानिसहरू परमेश्‍वरमा समर्पित असल व्यक्‍तिहरू जस्तो देखिएलान्‌ तर उहाँले भित्री रूप पनि हेर्नुहुन्छ र भित्रपट्टि तिनीहरू कस्ता छन्‌ त्यो पनि देख्नुहुन्छ। दाऊदले यसो भने: “हेर्नुहोस्‌, अन्तस्करणमा तपाईं [यहोवा] सत्य खोज्नुहुन्छ। र भित्र मनमा तपाईंले मलाई ज्ञान जान्‍ने तुल्याउनुहुनेछ।” (भजनसंग्रह ५१:६) तिनले उरियाहलाई मार्ने चलाकी गरेर छल गरे। तिनले बेतशेबा गर्भवती भएको वास्तविक कारणहरू लुकाउन खोजे। यी गलत कामहरूकालागि दाऊद दोषी थिए। यद्यपि, सत्यता र पवित्रतामा परमेश्‍वर प्रसन्‍न हुनुहुन्छ भनेर तिनलाई थाहा थियो। यो कुराले हामीलाई आफ्नो चालचलन सही मार्गमा डोऱ्‍याउन असर पार्नु पर्ने हो। किनभने हामीहरू छली भयौं भने परमेश्‍वरले हामीलाई तिरस्कार गर्नु हुनेछ। (हितोपदेश ३:३२) साथै परमेश्‍वरले दाऊदलाई ‘ज्ञान जान्‍ने’ तुल्याउनु भयो भने पश्‍चात्तापी राजाको हैसियतमा तिनले आफ्नो बाँकी जीवन ईश्‍वरीय स्तर बमोजिम बिताउन सक्ने थिए भनेर पनि महसुस गरे।

१७. हिसपले शुद्ध पार्नुहोस्‌ भनेर प्रार्थना गर्नुको अर्थ के थियो?

१७ पापपूर्ण झुकावहरूलाई जित्न परमेश्‍वरको मद्दत आवश्‍यक देखेको हुनाले भजनहारले फेरि यसरी निवेदन गरे: “हिसपले मलाई मस्काउनुहोस्‌, र म सफा हुनेछु। मलाई धुनुहोस्‌, र म हिउँभन्दा सेतो हुनेछु।” (भजनसंग्रह ५१:७) कोरीलाई शुद्ध पार्ने काममा अरू चीजहरूको अलावा हिसप (शायद मारजोरम, अथवा ओरिगेनम मरू) बिरूवालाई पनि चलाइन्थ्यो। (लेवी १४:२-७) त्यसकारण हिसपले पापलाई शुद्ध पार्नुहोस्‌ भनेर दाऊदले प्रार्थना गर्नु उचित नै थियो। तिनलाई कुनै दाग नभएको हिउँ भन्दा पनि सेतो अर्थात्‌ पूर्णतया शुद्ध पार्नु होस्‌ भन्‍ने निवेदनमा पनि शुद्धताको भाव प्रकट भएको छ। (यशैया १:१८) कुनै गलत कार्यको कारण हाम्रो अन्तस्करण दुःखी छ भने परमेश्‍वरबाट प्राप्त हुने क्षमालाई पश्‍चात्तापी भएर खोजिरहेमा उहाँले शुद्ध पार्न सक्नु हुन्छ र येशूको छुडौतीको बलिदानको आधारमा हामीलाई सफा पार्न सक्नु हुन्छ भनेर विश्‍वास गरौं।

पुन:स्थापनाको लागि अनुरोध

१८. पश्‍चात्ताप गरेर पाप स्वीकार गर्न अघि दाऊदको अवस्था कस्तो थियो, त्यस कुराको जानकारीबाट हामीलाई के मद्दत हुन सक्छ?

१८ दोषी अन्तस्करणले गर्दा दु:खी भएका कुनै पनि मसीहीले दाऊदका यी शब्दहरूलाई बुझ्न सक्छन्‌: “हर्ष उल्लासको कुरा मलाई सुनाउनुहोस्‌। र तपाईंले भाँचिदिनुभएका हड्डीहरू आनन्दित होऊन्‌।” (भजनसंग्रह ५१:८) दाऊदले पश्‍चात्ताप गर्नु र आफ्ना पापहरू स्वीकार गर्नु अगाडि तिनको पीडित अन्तस्करणले तिनलाई दुःखी बनाएको थियो। राम्रा गायकहरू र निपुण संगीतकारहरूद्वारा प्रस्तुत गरिएका खुशीयाली र हर्षोल्लासका गीतहरूमा समेत तिनले आनन्द पाउन सकेनन्‌। परमेश्‍वरको अनुमोदन नहुँदा पापी दाऊदको वेदना यति गहिरो थियो कि तिनी हड्डीहरू भाँचिएका व्यक्‍ति जस्तै थिए। तिनले परमेश्‍वरबाट क्षमा पाउने, आध्यात्मिक उपचार पाउने र पहिला अनुभव गरेको जस्तो आनन्दको पुनःस्थापना हुने लालसा गरे। त्यसरी नै आज पनि परमेश्‍वरसङ्‌गको सम्बन्ध बिग्रनु अघि जस्तो आनन्द प्राप्त गरेको थियो त्यस्तै आनन्द पुनःप्राप्त गर्न चाहन्छ भने गलत काम गर्ने पश्‍चात्तापीले यहोवाबाट क्षमा पाउनु आवश्‍यक छ। यहोवाले पश्‍चात्तापी व्यक्‍तिलाई क्षमा गर्नु भएको छ र प्रेम गर्नु हुन्छ भन्‍ने कुरा उसमा “पवित्र आत्माको आनन्द” पुनःस्थापना भएकोबाट देख्न सक्‍तछौं। (१ थिस्सलोनिकी १:६) यो कुराले कस्तो सान्त्वना प्रदान गर्दछ!

१९. परमेश्‍वरले दाऊदका सबै गलतीहरूलाई मेटाइदिनु भएमा तिनले कस्तो महसुस गर्ने थिए?

१९ दाऊदले फेरि यसरी प्रार्थना गरे: “मेरा पापबाट तपाईंको मुख लुकाउनुहोस्‌। र मेरा सारा अधर्महरू मेटिदिनुहोस्‌।” (भजनसंग्रह ५१:९) यहोवाले पापलाई स्वीकारयोग्य दृष्टिबाट हेर्नु हुन्छ भनेर आशा गर्न सकिन्दैन। त्यसकारण तिनका पापहरूलाई नहेरून्‌ भनेर दाऊदले उहाँलाई अनुरोध गरे। आफ्ना सबै गल्तीहरू मेटाइ दिन र सारा अधर्महरू पनि निष्कलंक पारिदिन राजाले निवेदन गरे। यहोवाले यस्तो गरि दिनु भएमा त्यसले दाऊदको जोश बढाउने थियो, तिनको पीडित अन्तस्करणको बोझ हट्‌ने थियो, र मायालु परमेश्‍वरद्वारा क्षमा पाएका छन्‌ भन्‍ने कुरा पश्‍चात्तापी राजाले थाहा पाउने थिए।

तपाईंले पाप गर्नु भएको छ भने नि?

२०. गम्भीर पाप गर्ने कुनै पनि मसीहीलाई के गर्न सिफारिश गरिएको छ?

२० यहोवाको कुनै पनि समर्पित सेवकले गभ्मीर पाप गरेको छ तर पश्‍चात्ताप गर्छ भने उसमाथि दया देखाउन र उसका पापहरूलाई शुद्ध पार्नको निम्ति उसले प्रार्थना गर्न सक्छन्‌ भन्‍ने कुरा भजनसंग्रह ५१ ले देखाउँछ। तपाईं पनि यसरी नै गल्ती गर्ने एकजना मसीही हुनुहुन्छ भने हाम्रा स्वर्गीय पिताबाट क्षमा प्राप्त गर्न विनम्र प्रार्थना किन नगर्ने? परमेश्‍वरको अगाडि ग्रहणयोग्य हुन तपाईंलाई उहाँको मद्दत आवश्‍यक छ भनेर मानि लिनुहोस्‌। र पहिलाको आनन्द पुनःस्थापित गर्न प्रार्थना गर्नुहोस्‌। पश्‍चात्तापी मसीहीहरूले यस्ता बिन्ती गर्दै निर्धक्कसङ्‌ग परमेश्‍वरलाई प्रार्थना गर्न सक्छन्‌। किनभने उहाँले “प्रशस्त गरी क्षमा गर्नु हुनेछ।” (यशैया ५५:७, भजनसंग्रह १०३:१०-१४) आवश्‍यक आध्यात्मिक मद्दतका लागि मण्डलीका प्राचीनहरूको सहायता लिन सकिन्छ।—याकूब ५:१३-१५.

२१. अर्को पटक हामी के कुराको छलफल गर्नेछौं?

२१ हो, यहोवाको दयाले उहाँका जनहरूलाई निराशाबाट जोगाउँछ। तर आउनुहोस्‌, भजनसंग्रह ५१ मा पश्‍चात्तापी दाऊदका अरू हृदयस्पर्शी निवेदनहरूको पनि जाँच गरौं। यहोवाले वेदनायुक्‍त हृदयलाई तिरस्कार गर्नु हुन्‍न भनेर हाम्रो अर्को अध्ययनले देखाउने छ। (w93 3/15)

तपाईं कसरी जवाफ दिनुहुन्छ?

▫ गम्भीर पापले यहोवाको कुनै पनि सेवकमाथि कस्तो असर पार्न सक्छ?

▫ आफ्नो पाप लुकाउन खोज्दा दाऊदमाथि कस्तो असर पाऱ्‍यो?

▫ केवल परमेश्‍वरको विरुद्धमा मात्रै पाप गरेका थिए भनेर दाऊदले किन भने?

▫ परमेश्‍वरले चेपुवामा पार्ने परिस्थितिहरूबारे विचार गर्नु हुन्छ, तैपनि हामीले के गर्नु हुँदैन?

▫ एकजना मसीहीले गम्भीर पाप गरेका छन्‌ भने तिनले के गर्नु पर्छ?

[अध्ययनका लागि प्रश्‍नहरू]