सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाले चूर्ण भएको हृदयलाई तिरस्कार गर्नुहुन्‍न

यहोवाले चूर्ण भएको हृदयलाई तिरस्कार गर्नुहुन्‍न

यहोवाले चूर्ण भएको हृदयलाई तिरस्कार गर्नुहुन्‍न

“चूर्ण आत्मानै परमेश्‍वरको निम्ति बलिदान हो। हे परमेश्‍वर, चूर्ण र पूरा पश्‍चतापी हृदयलाई तपाईंले तुच्छ ठान्‍नुहुन्‍न।”—भजनसंग्रह ५१:१७.

१. गम्भीर पाप गरे तापनि पश्‍चात्ताप गर्ने उपासकहरूलाई यहोवाले कुन दृष्टिकोणले हेर्नुहुन्छ?

 ‘आफूकहाँ कुनै पनि प्रार्थना नपुगोस्‌ भनेर बादलले ढाके झैं यहोवाले आफूलाई ढाक्न सक्नुहुन्छ।’ (विलाप ३:४४) तर आफ्ना मानिसहरूको प्रार्थना आफूसम्म पुगेको उहाँ चाहनुहुन्छ। एकजना उपासकले गम्भीर गल्ती नै गरे तापनि ऊ पश्‍चात्तापी छ भने, हाम्रो स्वर्गीय पिताले उसले गरेको असल कामलाई सम्झनुहुन्छ। तसर्थ, प्रेरित पावलले सङ्‌गी मसीहीहरूलाई भन्‍न सके: “तिमीहरूको काम र त्यो प्रेम, जो उहाँको नाउँतर्फ देखाएका छौ, सो बिर्सनालाई परमेश्‍वर अधर्मी हुनुहुन्‍न।”—हिब्रू ६:१०.

२, ३. गल्ती गर्ने सङ्‌गी विश्‍वासीहरूसँग व्यवहार गर्दा मसीही प्राचीनहरूले कुन कुरा ध्यानमा राख्नुपर्छ?

सङ्‌गी विश्‍वासीहरूले परमेश्‍वरको सेवामा बिताएको लामो समयलाई पनि मसीही प्राचीनहरूले ध्यान दिनुपर्छ। गलत कदम लिएका तर पश्‍चात्ताप गरेकाहरूले देखाएको पवित्र सेवाको साथ-साथै गम्भीर पाप गर्नेहरू पनि यसमा समावेश छन्‌। मसीही गोठालाहरूले परमेश्‍वरको बगालमा भएका सबैको आध्यात्मिक समृद्धि चाहन्छन्‌।—गलाती ६:१, २.

एकजना पश्‍चात्तापी पापीलाई यहोवाको दया चाहिन्छ। तर, यति मात्रै पर्याप्त हुँदैन। दाऊदले भजनसंग्रह ५१:१०-१९-मा लेखेका कुराहरुबाट यो स्पष्ट हुन्छ।

एउटा स्वच्छ हृदयको आवश्‍यकता

४. दाऊदले एउटा शुद्ध हृदय र नयाँ आत्माको निम्ति किन प्रार्थना गरे?

एकजना समर्पित मसीही आफ्नो पापको कारण नराम्रो आध्यात्मिक अवस्थामा छ भने यहोवाको दया र क्षमा बाहेक उसलाई अरू के को खाँचो पर्दछ? तसर्थ, दाऊदले बिन्ती गरे: “हे परमेश्‍वर, ममा शुद्ध हृदय सृजनुहोस्‌। र मभित्र स्थिर आत्मा पुनर्जीवित पार्नुहोस्‌।” (भजनसंग्रह ५१:१०) जरूरपनि, दाऊदले यो बिन्ती गरे किनभने गम्भीर पाप गर्ने झुकाव उनको हृदयमा अझै पनि भएको उनले महसुस गरे। बेतशेबा र उरियाहको सन्दर्भमा दाऊद फसेको जस्तो पापमा हामी नफसेको होला तर कुनै पनि गम्भीर पाप गर्ने परीक्षाको शिकार नहुन यहोवाको मद्दतको खाँचो पर्दछ। यसको अलावा, हाम्रो हृदयमा हुने लालच र घृणा जस्ता पापपूर्ण झुकावहरू हटाउन व्यक्‍तिगत तवरमा ईश्‍वरीय मद्दत माग्न खाँचो पर्न सक्छ किनभने लालच र घृणा—चोरी र हत्या जस्ता अपराधसँग सम्बन्धित छन्‌।—कलस्सी ३:५, ६; १ यूहन्‍ना ३:१५.

५. (क) एउटा शुद्ध हृदय हुनुको अर्थ के हो? (ख) दाऊदले नयाँ आत्माको माग गर्दा कुन कुराको इच्छा गरे?

आफ्ना जनहरूको “एउटा शुद्ध हृदय” भएको यहोवा चाहनुहुन्छ। यसको अर्थ आफ्नो मनोभाव र प्रवृत्तिमा शुद्ध हुनु हो। परमेश्‍वरले तिनको हृदयलाई शुद्ध पारिदिऊन्‌ र ईश्‍वरीय स्तर अनुरूप बनाइदिऊन्‌ भनेर दाऊदले प्रार्थना गरे किनभने त्यस्तो शुद्धता आफूले नदेखाएको उनले महसुस गरे। भजनहारले एउटा नयाँ, असल आत्मा अथवा मानसिक झुकावको चाह गरे। प्रलोभनहरूको प्रतिरोध गर्न र यहोवाका व्यवस्था र सिद्धान्तहरूमा अडिरहने मद्दत पाउनको लागि उनलाई त्यस्तो आत्माको आवश्‍यकता पऱ्‍यो।

पवित्र आत्मा अत्यावश्‍यक

६. उनीबाट यहोवाले पवित्र आत्मा नलैजाऊन्‌ भनेर दाऊदले किन बिन्ती गरे?

आफूले गरेको भूलहरू र गलतकार्यहरूको कारण निराश हुँदा परमेश्‍वरले अब वास्ता गर्नुहुनेछैन र उहाँको पवित्र आत्मा अथवा सक्रिय शक्‍ति पनि हटाइदिनु हुनेछ जस्तो हामीलाई लाग्न सक्छ। दाऊदले पनि त्यस्तै अनुभव गरे, त्यसकारण त उनले यहोवासँग बिन्ती गरे: “मलाई तपाईंको सामनेबाट ननिकाल्नुहोस्‌ र मबाट तपाईंको पवित्र आत्मा नलैजानुहोस्‌।” (भजनसंग्रह ५१:११) आफ्नो पापको कारण पश्‍चात्तापी र नम्र भएका दाऊदले यहोवाको सेवा गर्न आफू अयोग्य भएजस्तै अनुभव गरे। परमेश्‍वरबाट अलग्ग पारिनुको अर्थ उहाँको अनुग्रह, शान्ति र आशिष गुमाउनु हो। आध्यात्मिकतामा पुनःस्थापित हुन दाऊदलाई यहोवाको पवित्र आत्माको खाँचो थियो। पवित्र आत्मा आफूमाथि भएको कारणले गर्दा राजाले यहोवालाई खुशी तुल्याउन प्रार्थनापूर्वक ईश्‍वरीय निर्देशन माग्न सके, पाप गर्नबाट अलग्ग हुन सके र बुद्धिमानीपूर्वक शासन गर्न सके। पवित्र आत्माको दाताको विरुद्धमा नै उनले पाप गरेको कारण उनीबाट पवित्र आत्मा नहटाइयोस्‌ भनेर दाऊदले यहोवासँग गरेको बिन्ती सुहाउँदो थियो।

७. हामीले किन पवित्र आत्माको लागि प्रार्थना गर्नुपर्छ र यसलाई दुःखी तुल्याउन देखि किन सतर्क हुनुपर्छ?

हाम्रो बारेमा के भन्‍न सकिन्छ? हामीले पनि पवित्र आत्माको लागि प्रार्थना गर्नुपर्छ। पवित्र आत्माको निर्देशनहरू पालन गर्न चुकेर यसलाई दुखित तुल्याउनुबाट जोगिनु पर्दछ। (लूका ११:१३; एफिसी ४:३०) नत्रभने, हामीले पवित्र आत्मा गुमाउने छौं र यसका इश्‍वर-प्रदत्त फलहरू—प्रेम, आनन्द, शान्ति, धीरज, दया, भलाइ, विश्‍वस्तता, नम्रता, संयम जस्ता गुणहरू प्रदर्शन गर्न असमर्थ हुनेछौं। खासगरि हामीले अपश्‍चात्तापी भएर निरन्तर पाप गरि नै रह्‍यौं भने यहोवा परमेश्‍वरले हामीलाई पवित्र आत्माबाट वञ्चित गर्नुहुनेछ।

मुक्‍तिले गर्दा हर्ष

८. यदि हामी पाप गर्छौं तर मुक्‍तिबाट प्राप्त हुने आनन्द उठाउन चाहन्छौं भने हामीले के गर्नुपर्छ?

आध्यात्मिक पुनःस्थापना अनुभव गर्ने एकजना पश्‍चात्तापी पापीले मुक्‍तिको लागि यहोवाले गर्नुभएको प्रबन्धबाट लाभ उठाउन सक्छ। यसैको चाह गर्दै, दाऊदले बिन्ती गरे: “तपाईंको मुक्‍तिको उमंग मलाई फेरि दिनुहोस्‌। र राजी-खुशीको आत्माले मलाई सह्‍माल्नुहोस्‌।” (भजनसंग्रह ५१:१२) यहोवा परमेश्‍वरले प्रदान गर्नुहुने मुक्‍तिको आशामा हर्षित हुन पाउनु कस्तो आनन्ददायक कुरा हो! (भजनसंग्रह ३:८) परमेश्‍वरको विरूद्धमा पाप गरेपछि, दाऊदले उहाँद्वारा प्राप्त हुने मुक्‍तिको आनन्दको पुनःस्थापना खोजे। पछि गएर, यहोवाले उहाँको पुत्र, येशू ख्रीष्टको छुटकाराको बलिदानद्वारा मुक्‍तिको प्रबन्ध गर्नुभयो। यहोवाका समर्पित दासहरू हुँदा हुँदै पनि यदि हामी गम्भीर पाप गर्छौं तर मुक्‍तिबाट प्राप्त हुने आनन्दको पुनःस्थापना भएको चाहन्छौं भने हामीमा पश्‍चात्तापी मनोवृत्ति हुनुपर्छ। यसो गरेमा हामी पवित्र आत्माको विरूद्धमा पाप गर्नबाट जोगिन सक्छौं।—मत्ती १२:३१, ३२; हिब्रू ६:४-६.

९. दाऊदले परमेश्‍वरलाई “राजी खुशीको आत्मा” राखेर समर्थन गर्नुहोस्‌ भन्दा उनले केको माग गरिरहेका थिए?

“राजी खुशीको आत्माले सह्‍माल्नुहोस्‌” भन्दै दाऊदले यहोवासँग बिन्ती गरे। स्पष्टतया, यसले परमेश्‍वरको मद्दत गर्ने इच्छुकता अथवा उहाँको पवित्र आत्मालाई देखाउँदैन। तर दाऊदको उत्प्रेरित मानसिक झुकावलाई देखाउँदछ। उचित काम गर्न र फेरि पापको पासोमा नफस्नको लागि परमेश्‍वरले तिनलाई इच्छुकताको आत्मा प्रदान गरी दिएको दाऊद चाहन्थे। परमेश्‍वरले सदा नै आफ्ना जनहरूलाई सहारा दिनुहुन्छ र विभिन्‍न परीक्षाहरूको कारण दबिएकाहरूलाई सह्‍माल्नुहुन्छ। (भजनसंग्रह १४५:१४) हामीले पाप गरे तापनि यदि हामी पश्‍चात्तापी छौं र विश्‍वासी भएर यहोवाको सेवा गरि नै रहन चाहन्छौं भने यो थाहा पाउनु कस्तो सान्त्वनादायक छ!

पाप गर्नेहरूलाई के सिकाउनु?

१०, ११. (क) दाऊदले पापी इस्राएलीहरूलाई के सिकाउन सक्थे? (ख) दाऊद आफैले के गरिसकेपछि मात्र अरू पापीहरूलाई सिकाउन सक्थे?

१० परमेश्‍वरले अनुमति दिनुभएमा निःस्वार्थ भावले यहोवाको दयाप्रति मूल्याङ्‌कन देखाउन र अरूहरूलाई मद्दत हुने केही गर्न दाऊद इच्छुक थिए। यहोवातर्फ केन्द्रित प्रार्थनापूर्ण भावहरूमा पश्‍चात्तापी राजाले त्यसपछि घोषणा गरे: “तब अपराधीहरूलाई म तपाईंको मार्ग सिकाउनेछु। र पापीहरू तपाईंतर्फ फर्कनेछन्‌।” (भजनसंग्रह ५१:१३) पापी दाऊदले परमेश्‍वरको व्यवस्था उल्लङ्‌घन गर्नेहरूलाई कसरी सिकाउन सक्थे? उनीहरूलाई के भन्‍न सक्थे? यसबाट के उपलब्धि हुन सक्थ्यो?

११ पापी इस्राएलीहरू दुष्ट मार्गबाट फर्कोस्‌ भन्‍ने आशामा यहोवाको मार्ग देखाउन खोज्दा दाऊदले पाप भनेको कस्तो खराब कुरा हो, पश्‍चात्तापको अर्थ के हो र परमेश्‍वरको दया पाउन के गर्नुपर्छ भनेर अङ्‌कित गर्न सके। यहोवाको अनुग्रह नपाउनाले पीडा र एउटा दोषी अन्तस्करण महसुस गर्ने दाऊद अवश्‍य नै पश्‍चात्तापी, हृदय भाँचेका पापीहरूको निम्ति एकजना मायालु प्रशिक्षक हुन सक्थे। तर दाऊदले आफ्नो उदाहरण प्रयोग गरेर अरूहरूलाई त्यति बेला मात्र सिकाउन सक्थे जब उ आफैले यहोवाका स्तरहरू मानिलिन्थे र क्षमा प्राप्त गर्थे। किनभने ईश्‍वरीय आवश्‍यकताहरूको अधीनमा हुन नचाहनेहरूले ‘परमेश्‍वरका नियमहरू अरूहरूलाई सुनाउने’ कुनै अधिकार छैन।—भजनसंग्रह ५०:१६, १७.

१२. रक्‍तपातको दोषबाट परमेश्‍वरले उनलाई मुक्‍त गरिसक्नुभयो भन्‍ने कुरा थाहा पाउँदा दाऊदलाई कसरी फाइदा भयो?

१२ उनका अभिप्रायहरूलाई अर्को ढङ्‌गमा व्यक्‍त गर्दै दाऊदले भने: “हे परमेश्‍वर, हे मेरा उद्धारकर्त्ता परमेश्‍वर, मलाई रक्‍तपातको पापबाट छुटकारा दिनुहोस्‌। र मेरो जिब्रोले तपाईंको धार्मिकताको भजन चर्को गरी गाउनेछ।” (भजनसंग्रह ५१:१४) रक्‍तपातको दोषले मृत्युदण्ड पनि ल्यायो। (उत्पत्ति ९:५, ६) उरियाहको सम्बन्धमा भएको रक्‍तपातको दोषबाट परमेश्‍वरले मुक्‍ति प्रदान गर्नुभयो भन्‍ने कुरा थाहा पाएपछि दाऊदले मनमा र हृदयमा शान्ति पाए। त्यसपछि उनको जिब्रोले आफ्नो होइन तर परमेश्‍वरको धार्मिकताबारे आनन्दले स्तुति गाउन सक्यो। (उपदेशक ७:२०; रोमी ३:१०) दाऊदले आफूले गरेको अनैतिकतालाई हटाउन सकेनन्‌ नता उरियाहलाई नै चिहानबाट फिर्ता ल्याउन सके। त्यसरी नै आज पनि आफूले कलङ्‌क लगाइदिएको व्यक्‍तिको इज्जत फर्काउन सकिंदैन नता आफूले मारेको व्यक्‍तिलाई पुनः बिउँताउनु नै सकिन्छ। परीक्षामा पर्दा के हामीले त्यस्ता कुराहरू सोच्नु पर्दैन र? धार्मिकतामा यहोवाले हामीलाई देखाउनु भएको दयालाई हामीले कत्तिको मूल्याङ्‌कन गर्नुपर्छ! वास्तवमा भन्‍ने हो भने, यस मूल्याङ्‌कनले अरूहरूलाई पनि त्यस धार्मिकता र क्षमाको स्रोततर्फ केन्द्रित गर्न हामीलाई उत्प्रेरित गर्नुपर्छ।

१३. कस्ता अवस्थाहरूमा मात्र एकजना पापीले खुला मन राखेर यहोवाको प्रशंसा गर्न सक्छ?

१३ परमेश्‍वरले नै दयापूर्वक मुख खोलिदिनु नभएसम्म कुनै पनि पापीले आफ्नो पूरा मन खोलेर यहोवाको स्तुति गर्न सक्दैन। तसर्थ दाऊदले गाए: “हे परमप्रभु, मेरा ओंठ खोलिदिनुहोस्‌। र मेरो मुखले तपाईंको प्रशंसा गर्नेछ।” (भजनसंग्रह ५१:१५) परमेश्‍वरले क्षमा गर्नुभएको कारण उनको अन्तस्करण हल्का भयो। यसकारण अरू पापीहरूलाई यहोवाको मार्ग सिकाउन दाऊद उत्प्रेरित भए र खुला भएर उहाँको प्रशंसा पनि गर्न सके। दाऊदको जस्तै पापहरू क्षमा भएका सबैजनाले यहोवाले तिनीहरूतर्फ देखाउनुभएको अतुलनीय दयाको मूल्याङ्‌कन गर्नुपर्छ। तिनीहरूले परमेश्‍वरको सत्यको घोषणा गर्ने र ‘उहाँको प्रशंसा गर्ने” हरेक मौकाको फाइदा उठाउनुपर्छ।—भजनसंग्रह ४३:३.

परमेश्‍वरलाई ग्रहण हुने बलिदानहरू

१४. (क) व्यवस्थाको वाचाअनुसार कस्ता बलिदानहरू आवश्‍यक थिए? (ख) लगातार गलत कामहरू गरेपनि असल काम गरेर त्यसलाई ढाकछोप गर्न सकिन्छ भनेर सोच्नु किन गलत हो?

१४ दाऊदले गहिरो अर्न्तदृष्टि प्राप्त गरिसकेका थिए यसकारण उनले भन्‍न सके: “किनकि तपाईं बलिदानमा प्रसन्‍न हुनुहुन्‍न, नत्रता म त्यो चढाउने थिएँ। होमबलि तपाईंलाई मन पर्दैन।” (भजनसंग्रह ५१:१६) व्यवस्थाको वाचा अनुसार परमेश्‍वरलाई जनावरको बलिहरू चढाउन आवश्‍यक थियो। तर दाऊदले गरेको व्यभिचार र हत्या जस्तो पाप मृत्युदण्डको योग्य थियो। यसलाई त्यस्ता बलिहरूले मेटाउन सक्दैनथ्यो। यस्तो हुँदो हो त, यहोवालाई बलि चढाउन दाऊदले कुनै खर्च बाँकि राख्दैनथे होला। हृदयदेखि आएको पश्‍चात्तापबिना बलिदानहरू मूल्यहीन हुन्छन्‌। यसकारण असल कुराहरू गऱ्‍यौं भने हामीले लगातार गल्तीहरू गरी नै रहेर पनि त्यसलाई ढाकछोप गर्न सक्छौं भनेर सोच्नु गलत हो।

१५. एउटा चूर्ण हृदय भएको समर्पित व्यक्‍तिको मनोवृत्ति कस्तो हुन्छ?

१५ दाऊदले अझ थप्दै भने: “चूर्ण आत्मानै परमेश्‍वरको निम्ति बलिदान हो। हे परमेश्‍वर, चूर्ण र पूरा पश्‍चातापी हृदयलाई तपाईंले तुच्छ ठान्‍नुहुन्‍न।” (भजनसंग्रह ५१:१७) पश्‍चात्तापी पापीको सन्दर्भमा “चूर्ण आत्मानै परमेश्‍वरको निम्ति” ग्रहणयोग्य बलिदान हो। त्यस्तो व्यक्‍तिको मनोभाव हठी हुँदैन। चूर्ण आत्मा भएको समर्पित व्यक्‍तिको हृदय आफ्नो पापको कारण निकै नै दुःखी हुन्छ। परमेश्‍वरको अनुग्रह नपाउनाको कारण नम्र हुन्छ र ईश्‍वरीय अनुग्रह पुनः प्राप्त गर्नका लागि जे गर्न पनि इच्छुक हुन्छ। हामीले पश्‍चात्ताप नगरेसम्म नता कुनै मूल्यवान चीज नै परमेश्‍वरलाई दिन सक्छौं नता ऐकान्तिक भक्‍ति चढाउन हाम्रो हृदय नै अर्पण गर्न सक्छौं।—नहूम १:२.

१६. पापको कारण हृदय चूर्ण भएको एकजना व्यक्‍तिलाई परमेश्‍वरले कुन दृष्टिकोणले हेर्नुहुन्छ?

१६ परमेश्‍वरले एउटा टुक्रिएको अथवा चूर्ण भएको हृदयको बलिदान इन्कार गर्नुहुन्‍न। हामी उहाँका जन भएर जति सुकै कठिनाइहरू सामना गर्नु परे तापनि हामी कहिल्यै निराशाको शिकार नहोऔं। ईश्‍वरीय दया नै आवश्‍यक हुने गरी हामीले जीवनको बाटोमा कुनै भूल गरेकै भए तापनि परिस्थिति पूर्णतया निराशाजनक छैन। हामीले गम्भीर पाप गरेकै छौं भने पनि पश्‍चात्ताप गऱ्‍यौं भने यहोवाले हाम्रो चूर्ण हदयलाई तिरस्कार गर्नु हुनेछैन। ख्रीष्टको छुटकाराको बलिदानको आधारमा उहाँले हामीलाई क्षमा गर्नुहुनेछ र हामीलाई उहाँको अनुग्रहमा पुनःस्थापित गर्नुहुनेछ। (यशैया ५७:१५; हिब्रू ४:१६; १ यूहन्‍ना २:१) तथापि, दाऊदको जस्तै हाम्रा प्रार्थनाहरू पनि ईश्‍वरीय अनुग्रह पुनःस्थापना गर्नको निम्ति हुनुपर्छ तर ती प्रार्थनाहरू आवश्‍यक सुधार अथवा ताडनाबाट उम्किनका लागि हुनुहुँदैन। परमेश्‍वरले दाऊदलाई क्षमा गर्नुभयो तर उहाँले तिनलाई सजाय पनि दिनुभयो।—२ शमूएल १२:११-१४.

शुद्ध उपासनाको लागि चासो

१७. परमेश्‍वरसँग माफी माग्नुको साथसाथै पापीहरूले अरू के पनि गर्नुपर्छ?

१७ यदि हामीले कुनै गम्भीर पाप गरेका छौं भने, निःसन्देह नै हाम्रो हृदयमा यो एउटा ठूलो बोझ हुन्छ। एउटा पश्‍चात्तापी हृदय छ भने त्यसले हामीलाई परमेश्‍वरसँग क्षमा माग्ने उत्प्रेरणा दिन्छ। यद्यपि, हामी अरूहरूको लागि पनि प्रार्थना गरौं। दाऊदले पुनः एकपटक परमेश्‍वरलाई ग्रहणयोग्य उपासना चढाउन इच्छा गरे तर उनले आफ्नो भजनमा स्वार्थी भएर अरू व्यक्‍तिहरूको बेवास्ता गरेनन्‌। यसमा यहोवालाई चढाइएको यो बिन्ती पनि समावेश छ: “तपाईंको खुशीमा सियोनको भलाइ गर्नुहोस्‌, यरूसलेमका पर्खालहरू बनाइदिनुहोस्‌।”—भजनसंग्रह ५१:१८.

१८. पश्‍चात्तापी दाऊदले सियोनको निम्ति किन प्रार्थना गरे?

१८ हो, दाऊद आफूमाथि ईश्‍वरीय अनुग्रह पुनःस्थापित भएको हेर्न उत्सुक थिए। तथापि, नम्र भजनहारले ‘परमेश्‍वरको खुशीमा सियोनको भलाइ होस्‌’ भनरे प्रार्थना गरे। यहाँ यरूसलेम अर्थात्‌ इस्राएलको प्रमुख शहरमा दाऊदले परमेश्‍वरको मन्दिर बनाउने आशा गरेका थिए। दाऊदको गम्भीर पापको कारण सारा राष्ट्र खतरामा परेको थियो। राजाको गलत कार्यले गर्दा सारा मानिसहरूले दुःख भोग्न सक्थे। (२ शमूएल, २४ अध्यायसँग तुलना गर्नुहोस्‌।) यथार्थमा, उनको पापको कारण “यरूसलेमका पर्खालहरू” कमजोर भएका थिए र तिनीहरूलाई पुनः निर्माण गर्ने आवश्‍यकता थियो।

१९. यदि हामीले पाप गरेका थियौं तर माफी पाइसक्यौं भने हामीले केको लागि प्रार्थना गर्न उपयुक्‍त हुनेछ?

१९ यदि हामीले गम्भीर पाप गरेका छौं तर परमेश्‍वरको क्षमा प्राप्त गरिसकेका छौं भने हाम्रो आचरणले ल्याएको कुनै पनि हानि नोक्सानी कसै गरी ठीक पारीदिन हामीले प्रार्थना गर्न उपयुक्‍त हुनेछ। हामीले उहाँको पवित्र नाममा कलङ्‌क लगाएको हुन सक्छ, मण्डलीलाई तुच्छ तुल्याएको र आफ्नै परिवारमाथि पीडा ल्याएको हुन सक्छ। हाम्रो मायालु स्वर्गीय पिताले उहाँको नाममा आएको कुनै पनि कलङ्‌कलाई हटाउन सक्नु हुन्छ, आफ्नो पवित्र आत्माद्वारा मसीही मण्डलीलाई बलियो पार्न सक्नुहुन्छ र उहाँलाई प्रेम र सेवा गर्ने प्रियजनहरूलाई सान्त्वना प्रदान गर्न सक्नुहुन्छ। पाप सम्बन्धित भएपनि, नभएपनि यहोवाको नामको पवित्रीकरण र उहाँका जनहरूको समृद्धि नै सदा हाम्रो प्रमुख चासोको विषय हुनुपर्छ।—मत्ती ६:९.

२०. कस्ता परिस्थितिहरूमा इस्राएलको बलिदानहरू र भेटीहरूद्वारा यहोवा प्रसन्‍न हुनुहुनेथियो?

२० यदि यहोवाले सियोनको पर्खाल पुनः निर्माण गर्नुभएको भए, अरू के पनि हुने थियो? दाऊदले यसप्रकार गाए: “तब धार्मिकताको बलिदान, होमबलि र पशुको सर्वाङ्‌ग-बलिमा तपाईं मग्न हुनुहुनेछ। तब तिनीहरूले तपाईंको वेदीमा साँढेहरू चढ़ाउनेछन्‌।” (भजनसंग्रह ५१:१९) यहोवालाई स्वीकारयोग्य उपासना गर्न आफू र आफ्नो राष्ट्रलाई यहोवाको अनुग्रह प्राप्त होस्‌ भन्‍ने इच्छा दाऊदले हृदयदेखि गरे। अनि परमेश्‍वर तिनीहरूको होमबलि र पशुबलिद्वारा खुशी हुनुहुनेथियो। यो यसकारणले हुनेछ किनभने त्यो समर्पित, इमान्दार र परमेश्‍वरको अनुग्रहमा आनन्द उठाउने व्यक्‍तिहरूले दिएको धार्मिकताको बलिदान हुने थियो। यहोवाले देखाउनु भएको दयाप्रति आफ्नो कृतज्ञता ज्ञापन गर्न तिनीहरूले उहाँको वेदीमा साँढेहरू अर्थात्‌ सबैभन्दा उत्तम र महँगो बलिदानहरू चढाउनेथिए। आज हामीसँग भएको सर्वोत्तम कुरा दिएर हामी यहोवाको आदर गर्छौं। हाम्रा भेटीहरूमा “बाछाहरू चढाएझैं आफ्ना ओठका” बलिदानहरू समावेश छन्‌ जसले हाम्रो दयालु परमेश्‍वर, यहोवाको प्रशंसा गर्दछ।—होशे १४:२; हिब्रू १३:१५.

यहोवाले हाम्रो चित्कारहरू सुन्‍नुहुन्छ

२१, २२. भजनसंग्रह ५१-मा हाम्रो फाइदाको लागि कस्ता शिक्षाहरू पाउँछौं?

२१ हामीले आफ्नो पापप्रति साँचो पश्‍चात्तापी आत्मा देखाउनुपर्छ भन्‍ने कुरा भजनसंग्रह ५१ मा उद्धरित गरिएको दाऊदको हृदयदेखि आएको प्रार्थनाले देखाउँछ। यस भजनमा हाम्रो भलाइको लागि दिइएका निर्दिष्ट शिक्षाहरू पनि समावेश छन्‌। उदाहरणको लागि, हामीले पाप गऱ्‍यौं तर पश्‍चात्तापी छौं भने हामी परमेश्‍वरको दयामा भर पर्न सक्छौं। तथापि, प्रथमतः हामीले यहोवाको नाममा सम्भवतः ल्याएको कुनै पनि बदनामबारे चिन्तित होऔं। (पदहरू १-४) दाऊदले गरे जस्तै हाम्रो वंशानुगत पापको आधारमा हामीले हाम्रो स्वर्गीय पितासँग दयाको निम्ति अपील गर्न सक्छौं। (पद ५) हामी सत्यवादी हुनुपर्छ र परमेश्‍वरसित बुद्धि माग्नु पर्छ। (पद ६) यदि पाप गरेका छौं भने हामीलाई सफा पार्न, एउटा शुद्ध हृदय र स्थिर आत्मा दिनको निम्ति यहोवासँग बिन्ती गर्नुपर्छ।—पदहरू ७-१०.

२२ हामीले आफूलाई पापमा थेत्तरिन मौका दिनु हुँदैन भनेर भजनसंग्रह ५१ अध्यायले देखाउँछ। हामीले त्यस्तो गऱ्‍यौं भने यहोवाले हामीबाट उहाँको पवित्र आत्मा अर्थात्‌ सक्रिय शक्‍तिलाई हटाउनु हुनेछ। तर परमेश्‍वरको आत्मा हामीमा छ भने हामीले सफलतापूर्वक अरूहरूलाई परमेश्‍वरका नियमहरू सिकाउन सक्छौं। (पदहरू ११-१३) यदि हामीले गल्ती गरेर पश्‍चात्ताप गऱ्‍यौं भने यहोवाले हामीलाई उहाँको प्रशंसा गरिरहन दिनु हुनेछ किनभने उहाँले टुक्रिएको र चूर्ण हृदयलाई कहिल्यै तिरस्कार गर्नुहुन्‍न। (पदहरू १४-१७) यस भजनले अझ स्पष्टसित देखाउँछ कि हाम्रा प्रार्थनाहरू केवल हाम्रै लागि मात्र हुनुहुँदैन। बरु, यहोवाको शुद्ध उपासनामा लागिरहेका सबैका लागि आशिष र आध्यात्मिक समृद्धि होस्‌ भनी हामीले प्रार्थना गर्नुपर्छ।—पदहरू १८, १९.

२३. भजनसंग्रह ५१-ले हामीलाई साहसी र आशावादी हुन किन उत्प्रेरित गराउनु पर्छ?

२३ दाऊदको यस हृदयस्पर्शी भजनले हामीलाई साहसी र आशावादी हुन उत्प्रेरित गराउनु पर्छ। हामीले पाप गरे तापनि अवस्था सम्पूर्णतया नै निराशाजनक छैन भनेर बुझ्न यसले हामीलाई मद्दत दिन्छ। किन? किनभने यदि हामी पश्‍चात्तापी छौं भने यहोवाको दयाले हामीलाई निराशाबाट जोगाउन सक्छ। यदि हामी साँच्चै नै पश्‍चात्तापी छौं र हाम्रो दयालु स्वर्गीय पिताप्रति समर्पित छौं भने हामीले गरेको दयाको पुकारा उहाँले सुन्‍नुहुनेछ। यहोवाले टुक्रिएको हृदयलाई तिरस्कार गर्नु हुन्‍न भनेर थाहा पाउनु कस्तो सान्त्वनादायक! (w93 3/15)

तपाईंले कसरी जवाफ दिनु हुनेछ?

▫ मसीहीहरूलाई एउटा शुद्ध हृदय र परमेश्‍वरको पवित्र आत्माको किन खाँचो छ?

▫ एकजना पश्‍चात्तापी व्यक्‍तिले यहोवाको व्यवस्था भङ्‌ग गर्नेहरूलाई के सिकाउन सक्छ?

▫ एउटा टुक्रिएको र चूर्ण भएको हृदयलाई यहोवाले कुन दृष्टिकोणले हेर्नुहुन्छ?

भजनसंग्रह ५१-मा कस्ता शिक्षाहरू पाइन्छन्‌?

[अध्ययनका लागि प्रश्‍नहरू]