येशू ख्रीष्टको प्रकाशमा छुटकारा
येशू ख्रीष्टको प्रकाशमा छुटकारा
“रमाओ, र उहाँको महिमा प्रकट हुँदाखेरि तिमीहरू पनि हर्षिंत र आनन्दित होओ।” —१ पत्रुस ४:१३.
१. यहोवाले आफ्ना दासहरूलाई कसरी सम्पन्न पार्नु भएको छ?
आफ्ना दासहरूलाई यहोवाले धेरै उपहारहरूद्वारा सम्पन्न पार्नु भएको छ। हाम्रो महान् निर्देशकको हैसियतमा, उहाँले आफ्नो इच्छा र उद्धेश्यसङ्ग सम्बन्धित पूर्ण ज्ञानले हामीलाई प्रबुद्ध बनाउनु भएको छ। आफ्नो पवित्र आत्मा मार्फत्, उहाँले हामीमा निर्भयताकासाथ ज्योति फैलाउने क्षमताको खेती गर्नु भएको छ। प्रेरित पावलले १ कोरिन्थी १:६, ७-मा प्रेरित भएर हामीलाई बताउँछन्: “ख्रीष्टको विषयको साक्षी तिमीहरूमा पुष्टि भएबमोजिम पनि, यहाँसम्म कि, हाम्रा प्रभु येशू ख्रीष्टको प्रकाश पर्खिरहँदा तिमीहरूमा कुनै वरदानको अभाव छैन।”
२. “हाम्रा प्रभु येशू ख्रीष्टको प्रकाश”-ले कुन आनन्ददायक आशा दिन्छ?
२ “हाम्रा प्रभु येशू ख्रीष्टको प्रकाश”—त्यसको अर्थ के हो? यसले त्यो समयलाई सङ्केत गर्छ, जब येशू आफ्ना विश्वासी अनुयायीहरूलाई इनाम दिन र अधर्मीहरूमाथि बदला लिन एक महिमित राजाको रूपमा प्रकट हुनु हुन्छ। पहिलो पत्रुस ४:१३-ले प्रकट गरे जस्तै, आत्माले अभिषिक्त निष्ठावान मसीहीहरू र ठूलो भीड तिनीहरूका भक्त सहयोगीहरूको लागि “हर्षित र आनन्दित” समय हुनेछ किनभने यसले शैतानको रीतिरिवाजको अन्तलाई सङ्केत गर्छ।
३. थिस्सलोनिकीका हाम्रा भाइहरू जस्तै हामीहरू पनि कसरी अटल बस्न सक्छौं?
३ जसै त्यो समय नजिक आउँछ, शैतान आफ्नो क्रोधमा हामीमाथि झन् दबाबहरू बढाउँछ। एउटा गर्जेको सिंहझैं, त्यसले हामीलाई निल्न खोज्छ। हामीहरू अटल भएर बस्नै पर्छ! (१ पत्रुस ५:८-१०) भर्खर भर्खर मात्र सत्य थाहा पाएको बेलामा पुरातन थिस्सलोनिकीका हाम्रा भाइहरूले पनि आज यहोवाका साक्षीहरूले अनुभव गरि- रहेका जस्तै सतावटहरू भोगेका थिए। यसर्थ, प्रेरित पावलले तिनीहरूलाई भनेका शब्दहरू हाम्रोलागि अति नै अर्थपूर्ण छन्। तिनले लेखे: “किनकि तिमीहरूलाई दुःख दिनेहरूलाई दुःख दिनुनै परमेश्वरको न्यायसंगत काम हो, र तिमी कष्ट पाउनेहरूलाई र हामीलाई पनि आरामी दिनलाई उहाँको शक्तिशाली स्वर्गदूतहरूसँग प्रभु येशू स्वर्गबाट बल्दो आगोमा प्रकाश हुँदा, परमेश्वरलाई नचिन्नेहरूलाई, हाम्रा प्रभु येशूको सुसमाचार नमान्नेहरूलाई बदला दिंदा।” (२ थिस्सलोनिकी १:६-८) हो, उद्धार अवश्य आउनेछ!
४. येशूको प्रकाशमा गरिने न्यायदण्डको योग्य पादरीहरू किन छन्?
४ पावलको समयमा धेरैजसो कष्टहरू यहूदी धर्मगुरुहरूले गर्दा हुन्थे। आज पनि, यहोवाका शान्तिप्रिय साक्षीहरूमाथि आउने विरोध अक्सर परमेश्वरको प्रतिनिधित्व गर्छौं भनी दावा गर्नेहरू, विशेष गरी मसीहीजगतका पादरीहरूले उस्काएर नै आउँछ। तिनीहरू परमेश्वरलाई चिन्छु भनी टोपल्छन्, तर बाइबलको “एउटै यहोवा [न्यु व०]”-लाई इन्कार गरेर उहाँको ठाउँमा रहस्यमयी त्रिएक राख्छन्। (मर्कूस १२:२९) हाम्रा प्रभु येशूबारे सुसमाचारहरू तिनीहरू सुन्दैनन्। उद्धारको लागि मानवीय शासकतर्फ हेर्दै ख्रीष्टको आउँदै गरेको धार्मिक राज्यको सुसमाचारलाई तिनीहरू तिरस्कार गर्छन्। “प्रभु येशू र्स्वगबाट . . . प्रकाश हुँदा”-खेरि यी जम्मै धार्मिक विरोधीहरू नाश हुनै पर्छ!
येशू ख्रीष्टको “पुनरागमन”
५. येशूको प्रकाशलाई मत्ती २४:२९, ३०-मा कसरी सजीव चित्रण गरिएको छ?
५ मत्ती २४:२९, ३०-मा येशूले त्यस प्रकाशलाई सजीव चित्रण गर्नु भएको छ। आफ्नो उपस्थिति र जगतको अन्तको चिन्हका विभिन्न पक्षहरूको वर्णन गर्नु हुँदा उहाँ भन्नु हुन्छ: “सूर्य अँध्यारो हुनेछ, र जूनले आफ्नो चमक दिने छैन, र ताराहरू आकाशबाट खस्नेछन्, तथा स्वर्गका शक्तिहरू डगमगाउनेछ।” त्यति बेला “मानिसको पुत्रको चिन्ह आकाशमा देखा पर्नेछ।” पृथ्वीका राष्ट्रहरूले “विलाप गर्नेछन्, र तिनीहरूले मानिसको पुत्रलाई [परमेश्वरको मसीही राजा] आकाशका बादलहरूमा शक्ति र ठूलो महिमासित आउँदै गरेको देख्नेछन्।” यो “पुनरागमन,” अर्थात् युनानीमा यरकोमेनोन-ले यहोवाको महिमा गर्ने व्यक्तिको रूपमा येशू देखा पर्नु हुने कुरालाई सङ्केत गर्छ।
६, ७. “हरेक आँखाले उहाँलाई देख्ने छन्” यो कसरी हुन्छ, र यसमा को को समावेश छन्?
६ यो “पुनरागमन”-लाई प्रेरित यूहन्नाले पनि प्रकाश १:७-मा यसरी वर्णन गरेको छ: “हेर, उहाँ बादलहरूका साथमा आउनुहुन्छ।” तर ती शत्रुहरूले येशूलाई वास्तविक आँखाले देख्ने छैनन्, किनकि “बादलहरू”-ले उहाँ न्यायदण्ड दिन अदृश्य रूपमा आउनु हुन्छ भन्ने कुरालाई सङ्केत गर्छ। यदि साधारण मानिसहरूले नाङ्गो आँखाले येशूको स्वर्गिय महिमा देख्नु परेको भए, दमीशक जाने बाटोमा महिमित येशू चम्किलो ज्योतिमा देखा पर्नु भएको बेला शावल अन्धो भए जस्तै तिनीहरू पनि अन्धो हुन्थे।—प्रेरित ९:३-८; २२:६-११.
७ प्रकाशको विवरणले बताउँछ कि “हरेक आँखाले र उहाँलाई छेंड़नेहरूले उहाँलाई देख्नेछन्, औ पृथ्वीका सबै कुलहरूले उहाँको निम्ति बिलौना गर्नेछन्।” यसको अर्थ यहोवाले नियुक्त गर्नु भएको न्यायकर्ताको हैसियतमा शक्ति र ठूलो महिमासित येशू आउनु भयो भन्ने कुरा, पृथ्वीमा भएका ती विरोधीहरूले तिनीहरूमाथि येशूले ल्याउनु हुने विनाशको समयमा थाहा पाउने छन्। यी शत्रुहरूलाई “उहाँलाई छेंड्नेहरू” भनी किन वर्णन गरिएका छन्? किनभने तिनीहरूले आज यहोवाका दासहरूप्रति देखाएका अभद्र व्यवहार येशूलाई सताउनेहरूले देखाएका जस्तै छन्। साँच्चै नै तिनीहरूले ‘उहाँको कारण बिलौना गर्नेछन्।’
८. येशू र पावल दुवैले अचानक हुने विनाशको चेतावनी कसरी दिएका छन्?
८ यहोवाको त्यस क्रोधको दिन कसरी आउनेछ? लूका २१ अध्यायको भविष्यवाणीमा येशूले विनाशकारी घटनाहरूको वर्णन गर्नु हुन्छ, जसले १९१४ देखि यता उहाँको उपस्थितिको चिन्हको रूपमा काम गरेको छ। त्यसपछि ३४ र ३५ पदहरूमा येशू यो चेतावनी दिनु हुन्छ: “तर तिमीहरू आफ्ना विषयमा होशियार रहो, नत्रता तिमीहरूका मन जीवनको फिक्रीले लट्टिएका हुनेछन्, औ त्यो दिन तिमीहरूमाथि एक्कासि पासोझैं आइपर्ला किनकि यसरीनै सारा पृथ्वीको सतहमा रहनेहरूमाथि यो आइपर्नेछ।” हो, यहोवाको त्यो क्रोधको दिन एक्कासि, उत्त्निखेरै आउँछ! यसलाई प्रेरित पावलले १ थिस्सलोनिकी ५:२, ३-मा यसो भन्दै पुष्टि दिन्छन्: “प्रभुको [यहोवाको, न्यु व०] दिन ता रातमा चोर आएझैं आउनेछ। जब मानिसहरूले शान्ति र सुरक्षा भनिरहेका हुन्छन्, तब . . . अचानकसँग तिनीहरूमाथि विनाश आइलाग्छ।” अहिले पनि राष्ट्रहरूले शान्ति र सुरक्षाको विषयमा कुराकानी गरिरहेका छन् र समस्या खडा भएका स्थानहरूलाई नियन्त्रण गर्न संयुक्त राष्ट्र संघलाई सैन्य शक्तिद्वारा बलियो पार्ने प्रस्ताव पनि गरिरहेका छन्।
९. को माथि ‘ज्योति छरिएको छ,’ र किन?
९ पद ४ र ५-मा प्रेरित हामीलाई अझ यसो भन्दै जान्छ: “तर हे भाइ हो, त्यो दिन तिमीहरूमाथि चोरजस्तै गरी आइपर्ला भन्ने अन्धकारमा तिमीहरू छैनौ, किनकि तिमीहरू सबै ज्योतिका सन्तान, र दिनका सन्तान हौ। हामी रात र अन्धकारका सन्तान होइनौ।” ज्योतिका सन्तान—परमेश्वरको नयाँ संसारमा शान्ति र सुरक्षाका निम्ति व्याकुल भएकाहरूका लागि ज्योति वाहक हुन पाएकोमा हामी आनन्दित छौं। भजनसंग्रह ९७:१०, ११-मा हामी पढ्छौं: “हे परमप्रभु [लाई] प्रेम गर्ने हो, खराबीलाई घृणा गर। उहाँले आफ्ना पवित्र जनहरूका प्राणलाई जोगाइराख्नुहुन्छ। उहाँले तिनीहरूलाई दुष्टका हातबाट छुटाउनुहुन्छ। धर्मात्माहरूको निम्ति ज्योति, र हृदयमा सोझा भएकाहरूको निम्ति आनन्द छर्नुभएको छ।”
घटनाक्रम
१०. परमेश्वरको बदलाको दिनको सन्दर्भमा कुन कुरा पहिला नै विचार गर्नु पर्छ? (प्रकाश १६:१५)
१० महा संकष्ट सुरु हुँदा घटनाक्रम के हुनेछन्? हामी सबैले प्रकाश १६ अध्याय पल्टाऔं। ध्यान दिनुहोस्, यहाँ पद १३ देखि १६-मा वर्णन गरेझैं ती अशुद्ध, प्रेतात्माहरूले पृथ्वीका सबै राष्ट्रहरूलाई आर-मागेडोनमा, सर्वशक्तिमान परमेश्वरको ठूलो दिनको लडाइँमा जम्मा गर्छन्। न्यायको दिन चोर जस्तै गरी आउनेछ भनी फेरि जोड दिएको छ, र जागै रहन—हाम्रो मुक्तिको लागि आत्मिक पोशाक पहिरिन हामीलाई चेतावनी दिइएको छ। पृथ्वीका मानिसहरू, राष्ट्रहरू, र—एकजना अर्को व्यक्तिलाई न्याय गर्ने समय आइपुग्यो। त्यो व्यक्ति को हो?
११. प्रकाश १७:५-की आइमाईले कसरी आफैलाई स्पष्ट गरी चिनाएकी छिन्?
११ त्यो एउटी लाक्षणीक आइमाई हुन् जसले आफैलाई “एकजना” महत्त्वपूर्ण व्यक्ति बनाउन अत्यन्त कोशिश गरेकी छिन्। प्रकाश १७:५-मा तिनलाई यसरी वर्णन गरिएको छ: “रहस्य, पृथ्वीका वेश्याहरू र घृणित कुराहरूकी आमा, महान् बेबिलोन!” तर यहोवाका साक्षीहरूका लागि तिनी अब रहस्य छैनन्। झूटो धर्मकी विश्व साम्राज्ञीको रूपमा तिनले आफैलाई स्पष्ट गरी चिनाएकी छिन् जसको प्रमुख भाग मसीहीजगतका सम्प्रदायहरूले बनाएको छ। राजनैतिक मामिलामा तिनको हस्तक्षेप, साँचो मसीहीहरूलाई सताएर “पवित्र जनहरूको रगत . . . पिएर मात्तिएकी” र यस २०-औं शताब्दीमा लडिएका लडाईंहरूमा मारिएका १० करोड भन्दा बढी मानिसहरू लगायत, “पृथ्वीमा मारिएका सबैका” रगतको दोष यहोवाको नजरमा ज्यादै घृणित छन्।—प्रकाश १७:२, ६; १८:२४.
१२. मसीही जगतका सम्प्रदायहरू किन दोषी छन्?
१२ सबैभन्दा खराब कुरा, परमेश्वरको प्रतिनिधित्व गर्छौ भनी कपटपूर्ण ढङ्गमा दावा गर्ने मसीहीजगतका सम्प्रदायहरूले उहाँको नाममा कलङ्क ल्याएका छन्। परमेश्वरको शुद्ध वचन बाइबलको सट्टा तिनीहरूले बेबिलोनी र युनानी दर्शनहरू सिकाइरहेका छन् र बाइबलका नियमहरूलाई अनादर गर्ने जीवन-स्तरहरूलाई मान्यता दिएर सम्पूर्ण जातिहरूको नैतिक अपराधमा योगदान दिएका छन्। तिनीहरू बीच भएका लोभी व्यापारीहरूलाई याकूब ५:१, ५-का शब्दहरूले यसरी निन्दा गरेको छ: “हे धनाढ्य हो, तिमीहरूमाथि परिआउने कष्टहरूको निम्ति विचलित भई रोओ। तिमीहरू यस पृथ्वीमा सुख-विलास र आनन्दमा मस्त भएर बसेका छौ, मारकाटको दिनमा तिमीहरूका हृदयलाई पोसेका छौ।”
हाय, महान् बेबिलोन!
१३. महा संकष्टको सुरु कसरी हुन्छ, र प्रकाश १८:४, ५-मा चाँडै नै के गर्नु पर्ने जरुरीलाई जोड दिइएको छ?
१३ महान् बेबिलोनमाथि आउने यहोवाको न्यायदण्डसङ्गै महा संकष्ट सुरु हुन्छ। महान् बेबिलोनलाई पूर्ण तवरले नाश गर्न “जङ्गली जनावर” अर्थात् धेरै राष्ट्रहरू मिलेर बनेको संयुक्त राष्ट्र संघ भित्रकै शक्तिशाली शक्ति अर्थात् “दश सीङ”-लाई उस्काउने परमेश्वरको “वचन [विचार]”-लाई प्रकाश १७:१५-१८ ले स्पष्टतया वर्णन गर्छ। “औ तिमीले देखेका ती दश सीङ र त्यस जनावरले त्यस वेश्यासँग दुश्मनी गर्नेछन्, र त्यसलाई उजाड़ र नाङ्गो पार्नेछन्। औ त्यसका मासु खानेछन्, र त्यसलाई आगोमा भस्म पारिदिनेछन्। किनकि परमेश्वरको वचन पूरा नहोउञ्जेल . . . परमेश्वरले तिनीहरूलाई यस्तो मन दिनुभएको हो।” नभन्दै प्रकाश १८:४, ५-मा एउटा स्वर्गीय आवाजले यसो भनेर अत्यन्त जरूरी चेतावनी दिन्छ: “हे मेरा मानिस हो, त्यसबाट निस्केर आओ। त्यसका पापहरूसँग तिमीहरूको केही संगत हुन नपाओस्। त्यसका विपत्तिहरू तिमीहरूले भोग्न नपरोस्, किनभने त्यसका पाप स्वर्गसम्मै चुल्लिएका छन्, र परमेश्वरले त्यसका अधर्म सम्झनु भएको छ।” आह्वान निरन्तर जारी रहन्छ: आउनु होस्, ढिलो हुन अगावै, झूटो धर्मसङ्ग सबै बन्धनहरू चुडाल्नु होस्!
१४. महान् बेबिलोनको पतनमा क-कसले बिलौना गर्ने छन्, र किन?
१४ महान् बेबिलोनको पतनमा संसारले कस्तो प्रतिक्रिया जनाउनेछ? टाढाबाटै, भ्रष्ट राजनीतिज्ञहरू—अर्थात् “पृथ्वीका राजाहरू”-ले—उनीमाथि बिलौना गर्नेछन् किनकि कयौं शताब्दीहरूसम्म तिनीहरूले आफ्नो आत्मिक व्यभिचारमा पारस्परिक आनन्द प्राप्त गरेका थिए। रूने र विलौना गर्नेहरूमा लोभी व्यापारीहरू, “त्यसबाट धनी बनेका . . . पृथ्वीका व्यापारीहरू” पनि छन्। तिनीहरू पनि यसो भन्दै आफूलाई तिनीबाट टाढा राख्छन्: “हाय, हाय, त्यो ठूलो शहर, जो मसिनो सुती कपड़ाका बैजनी र चहकिलो रातो लुगा लगाएर सुन, रत्न र मोतीहरूले सिंगारिएको छ! किनभने एकै घण्टामा यति धेरै धन उजाड़ भएको छ।” पादरीहरूले लगाउने दामी पोशाकहरू र संसारका भव्य गिर्जाहरू सदाका लागि खतम हुनेछन्। (प्रकाश १८:९-१७) तर के सबैले महान् बेबिलोनमाथि बिलौना गर्ने छन् त?
१५, १६. परमेश्वरका जनहरू हर्षित हुने कारण के छ?
१५ प्रकाश १८:२०, २१ जवाफ दिन्छ: “हे स्वर्ग, पवित्र जनहरू, प्रेरितहरू र अगमवक्ता हो, त्यसको निम्ति रमाओ। किनभने परमेश्वरले तिमीहरूको इन्साफ त्यसैमाथि गर्नुभएको छ।” एउटा ठूलो जाँतो समुद्रमा फाले जस्तै, “महान् बेबिलोन ठूलो झोक्काले फालिनेछ, र फेरि कहिल्यै पाइनेछैन।”
१६ हर्षित हुने कति राम्रो कारण! प्रकाश १९:१-८-ले यो हर्ष प्रकट गर्छ। चार पटक “हल्लेलूयाह!” भन्ने आवाज स्वर्गबाट सुनिन्छ। यी हल्लेलूयाहहरू मध्ये पहिलो तीन वटाले यहोवाको जय-जयकार गर्छ किनकि यहोवाले त्यस कुख्यात वेश्या, महान् बेबिलोनमाथि धार्मिक न्याय दण्ड ल्याउनु भएको छ। झूटो धर्मको विश्व साम्राज्य अब छैन! परमेश्वरको सिंहासनबाट यसो भन्ने आवाज निस्कन्छ: “हे परमेश्वरको डर मान्ने साना ठूला उहाँका सबै दास हो, हाम्रा परमेश्वरको प्रशंसा गर।” त्यस गीतमा भाग लिन पाउनु हाम्रो लागि कत्रो सौभाग्य हुनेछ!
थुमाको विवाह
१७. प्रकाश ११:१७ र १९:६-लाई तुलना गर्दा कुन दुई प्रसङ्गमा यहोवा परमेश्वरले राजाको हैसियतमा शासन सुरु गर्नु हुन्छ?
१७ चौथो हल्लेलूयाहले अर्कै शीर्षक प्रस्तुत गर्छ: “हल्लेलूयाह, किनकि परमप्रभु हाम्रा परमेश्वर, सर्वशक्तिमानले राज्य गर्नुहुन्छ।” तर यस्तै प्रकारको वाक्यांश प्रकाश ११:१७-मा पनि थियो होइन र? त्यहाँ यसो भनेर हामी पढ्छौं: “हे प्रभु परमेश्वर, सर्वशक्तिमान, . . . किनभने तपाईंले आफ्ना ठूलो शक्ति लिनुभयो, र राज्य गर्नुभयो।” हो, तथापि प्रकाश ११:१७-को प्रसङ्गले यहोवा परमेश्वरले “सारा जातिलाई फलामको डण्डाले शासन गर्न” मसीही राज्यलाई १९१४-मा खडा गर्नु भएको कुरालाई देखाउँछ। (प्रकाश १२:५) तर महान् बेबिलोनको पतनको सन्दर्भमा प्रकाश १९:६-को कुरा भनिएको हो। वेश्या जस्तो धर्म हटेपछि यहोवाको ईश्वरसत्ता महिमित हुन्छ। सर्वोच्च सर्वसत्ताधारी र राजाको जस्तै उहाँको उपासना अब सदा सर्वदाको लागि रहनेछ!
१८. महान् बेबिलोनलाई हटाए पछि कुन उल्लासपूर्ण घोषणाको लागि बाटो खुल्यो?
१८ तसर्थ, यसप्रकारको उल्लासपूर्ण घोषणा गर्न सकिन्छ: “हामी रमाऔं अत्यन्त खुशी हौं र [याहलाई] महिमा देऔं। किनभने थुमाको विवाहको दिन आएको छ, र उहाँकी दुलही आफै तयार हुँदैछिन्। तिनले पहिरिनलाई मसिनो सुती लुगा पवित्र जनहरूका धार्मिक कामहरू हुन्।” (प्रकाश १९:७, ८) पृथ्वीमा बाँकि रहेका शेष अभिषिक्त जनहरूको स्वर्गीय पुनरूत्थान कहिले हुनेछ, त्यो मात्रै उल्लेख गरिएको छैन। तर यहाँ हामीलाई आश्वासन दिएको छ कि थुमा, ख्रीष्ट येशूको विवाहमा तिनीहरूले भाग लिनु एउटा आनन्दको समय हुनेछ, र तिनीहरू अझ खुशी हुनेछन् किनभने कुख्यात वेश्या, महान् बेबिलोनको बेइज्जत भएको उनीहरूले सबैभन्दा पहिला देख्ने छन्।
शैतानको संसार नष्ट भयो
१९. प्रकाश १९:११-२१ मा अरू कुन घटनाहरू पूरा भएको विषयमा वर्णन गरिएको छ?
१९ प्रकाश ६:२-मा पहिलो पटक उल्लेख गरिएको सेतो घोडा फेरि देखा पर्छ। प्रकाश १९:११-मा हामी पढ्छौं: “[सेतो घोडामाथि] सवार हुने विश्वासयोग्य र सत्य कहलिनुहुँदोरहेछ, र उहाँले धार्मिकतामा इन्साफ र लड़ाइँ गर्नुहुँदो रहेछ।” तसर्थ जातिहरूलाई प्रहार गर्न र “सर्वशक्तिमान परमेश्वरको क्रोधको मद्यको कोल” कुल्चन “राजाहरूका महाराजा र प्रभुहरूका महाप्रभु” अगाडि बढ्नु हुन्छ। व्यर्थमा “पृथ्वीका राजाहरू, र तिनका फौजहरू” आरमागेडोनको युद्ध गर्न जम्मा हुन्छन्। सेतो घोडामाथि सवार हुनेले आफ्नो विजयलाई पूरा गर्छ।—प्रकाश १९:१२-२१.
२०. स्वयं दियाबलमाथि के हुन्छ?
२० तर दियावललाई चाँहि के हुन्छ नि? प्रकाश २०:१-६ मा ख्रीष्ट येशूलाई “अगाध खाँदको साँचो र एउटा ठूलो साङ्गलो हातमा लिएको एउटा दूत स्वर्गबाट ओर्लेर आएका” भनी वर्णन गरेको छ। उहाँले त्यो अजिङ्गर, पुरानो सर्प, जो दियावल र शैतान पनि हो, त्यसलाई बाँधेर, अगाध खाँदमा फाले पछि त्यसलाई थुनेर त्यसमाथि छाप लगाउनु हुन्छ। यसरी शैतानलाई पन्छाए पछि, र त्यसले राष्ट्रहरूलाई अझै भर्माउन नसक्ने भए पछि, येशू र उहाँकी दुलहीको महिमित हजार वर्षे राज्य सुरु हुन्छ। दुःखका आँसुहरू फेरि हुनेछैनन्! आदमबाट आएको मृत्यु हुने छैन! शोक, रूवाइ, पीड़ा केही पनि हुनेछैन! “पहिलेका कुराहरू बितिसकेका छन्।”—प्रकाश २१:४.
२१. येशू ख्रीष्टको प्रकाशलाई उत्सुक्तापूर्वक पर्खंदा, हाम्रो संकल्प के हुनु पर्छ?
२१ प्रभु येशू ख्रीष्टको प्रकाशलाई उत्सुक्तापूर्वक पर्खिरहँदा परमेश्वरको राज्यको मायालु प्रतिज्ञाहरूको विषयमा अरूहरूलाई बताउन हामी आफ्नो जोश देखाऔं। छुटकारा नजिकै छ! यसकारण सर्वशक्तिमान प्रभु यहोवाको ज्ञानमा पूर्ण भएका सन्तानहरूको रूपमा हामी झन् झन् अगि बढ्दै जाऔं! (w93 5/1)
[पुनरावलोकन]
▫ येशू ख्रीष्टको प्रकाश एकदम नजिकै छ भनेर के ले देखाउँछ?
▫ यहोवाको बदलाको दिन कसरी आउनेछ?
▫ “यहोवालाई प्रेम गर्नेहरू”-ले वर्तमान संसारको परिस्थितिलाई कुन दृष्टिले हेर्नु पर्छ?
▫ महा संकष्ट आउँदा घटनाक्रमहरू के हुनेछन्?
[अध्ययनका लागि प्रश्नहरू]