सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

संसारको ज्योतिलाई कसले पछ्याइरहेका छन्‌?

संसारको ज्योतिलाई कसले पछ्याइरहेका छन्‌?

संसारको ज्योतिलाई कसले पछ्याइरहेका छन्‌?

“तिमीहरू संसारमा ज्योतिहरूझैं देखा पर्दछौ।”—फिलिप्पी २:१५.

१. नक्कली धार्मिक ज्योतिहरूको विषयमा बाइबलले के भन्छ?

 बाइबलले येशूलाई “एउटा ठूलो ज्योति,” “संसारको ज्योति” भनेर स्पष्टसँग चिनाउँछ। (यशैया ९:२; यूहन्‍ना ८:१२) तथापि उहाँ पृथ्वीमा हुनुहुँदा थोरै मात्र उहाँको पछि लागे। धेरैजना नक्कली ज्योतिहरूका पछि लागे, जो वास्तवमा अन्धकारको वाहक थियो। तिनीहरूको विषयमा परमेश्‍वरको वचनले भन्छ: “त्यस्ता मानिसहरू झूटा प्रेरित, छल काम गर्ने, ख्रीष्टका प्रेरितहरूको भेषमा आफूलाई परिवर्त्तन गर्नेहरू हुन्‌। औ यो केही अचम्म होइन, किनकि शैतान पनि आफैलाई ज्योतिर्मय स्वर्गदूतहरूको भेषमा परिवर्त्तन गर्दछ। त्यसका सेवकहरूले पनि आफैलाई धर्मका सेवकहरूको भेषमा परिवर्त्तन गर्दछ भने, यो केही ठूलो कुरो होइन, जसको अन्त तिनीहरूका कामअनुसार हुनेछ।”—२ कोरिन्थी ११:१३-१५.

२. मानिसहरूलाई न्याय गर्ने आधार के हुनेछ भनेर येशूले भन्‍नुभयो?

तसर्थ, जति नै अद्‌भुत भए तापनि सबै मानिसहरूले ज्योति चाहँदैनन्‌। येशूले भन्‍नुभयो: “न्यायको फैसला यो हो, ज्योति संसारमा आएको छ, र मानिसहरूले ज्योतिभन्दा बरु अन्धकारलाई रूचाए, किनकि तिनीहरूका काम दुष्ट थिए। किनभने जसले तुच्छ काम गर्छ, त्यसले ज्योतिलाई घृणा गर्छ, र ज्योतितिर आउँदैन, नत्रता त्यसका कामको दोष प्रकट हुनेछ।”—यूहन्‍ना ३:१९, २०.

अन्धकारका प्रेमीहरू

३, ४. येशूको दिनका धार्मिक नेताहरूले ज्योतिको पिछा गर्न चाहेनन्‌ भन्‍ने कुरा तिनीहरूले कसरी देखाए?

येशू पृथ्वीमा हुनुहुँदा त्यो स्थिति कसरी हुन पुग्यो विचार गर्नुहोस्‌। येशू नै मसीह हुनुहुन्थ्यो भन्‍ने कुरालाई प्रमाणित गर्न परमेश्‍वरले उहाँलाई सनसनीपूर्ण चमत्कारहरू गर्ने सामर्थ दिनु भएको थियो। उदाहरणका लागि, उहाँले विश्राम दिनमा जन्मजात अन्धो मानिसको दृष्टि फर्काइ दिनुभयो। दयाको कस्तो अद्‌भुत काम! त्यो मानिस कति कृतज्ञ भएको थियो! त्यसले जीवनमा प्रथम पटक देख्न सक्ने भयो। तर धार्मिक नेताहरूको प्रतिक्रिया कस्तो थियो? यूहन्‍ना ९:१६ भन्दछ: “फरिसीहरूमध्ये कुनै कुनैले भने [येशूको विषयमा], ‘त्यो मानिस परमेश्‍वर तर्फको होइन, किनकि त्यसले विश्रामको दिन पालन गर्दैन।’” तिनीहरूको हृदय कति भ्रष्ट! यहाँ भर्खरै अचम्मको आरोग्य काम भएको थियो, तर तिनीहरू भने त्यो अन्धो मानिस निको भएकोमा आनन्दित हुनु र आरोग्य पारिदिने मानिसप्रति आभारी हुनुको सट्टा तिनीहरूले येशूलाई दोषी ठहराए! यसो गरेर तिनीहरूले निःसन्देह परमेश्‍वरको पवित्र आत्माको विरुद्धमा अक्षम्य पाप गरे।—मत्ती १२:३१, ३२.

पछि ती कपटीहरूले पहिले अन्धा भएको मानिसलाई येशूको विषयमा सोध्दा त्यो मानिसले भन्यो: “कस्तो विचित्र कुरो! उहाँ [येशू] कहाँका हुनुहुन्छ तपाईंहरू जान्‍नुहुन्‍न, औ उहाँलेनै मेरा आँखा खोलिदिनुभयो। हामी जान्दछौं कि परमेश्‍वर पापीहरूका कुरा सुन्‍नहुन्‍न, तर परमेश्‍वरलाई पूज्ने र उहाँको इच्छा पालन गर्ने कोही मानिस छ भने त्यसको कुरा उहाँ सुन्‍नुहुन्छ। संसारको सुरुदेखि यसो कसैले जन्मैको अन्धोका आँखा खोलिदिएको कहिल्यै सुनिएन। यदि यी मानिस [येशू] परमेश्‍वरतर्फका नहुनुहुँदो हो ता उहाँले केही गर्नसक्नुहुने थिएन।” धार्मिक नेताहरूले कस्तो प्रतिक्रिया देखाए? “तिनीहरूले त्यसलाई जवाफ दिई भने, ‘तँ ता बिलकुलै पापमा जन्मेको होस्‌, र के हामीलाई सिकाउँछस्‌?’ अनि तिनीहरूले त्यसलाई सभा-घरबाट निकालिदिए।” करूणाको कत्रो ठूलो अभाव! तिनीहरूका हृदय ढुङ्‌गा जस्तै थिए। अतः तिनीहरू शारीरिकरूपमा देख्न सक्ने भएपनि आत्मिकरूपमा अन्धा थिए भनेर येशूले भन्‍नुभयो।—यूहन्‍ना ९:३०-४१.

५, ६. प्रथम शताब्दीका धार्मिक नेताहरूले पनि अन्धकारलाई नै रूचाए भन्‍ने कुरा तिनीहरूले कसरी देखाए?

यी कपटीहरूले परमेश्‍वरको आत्माको विरुद्धमा पाप गरिरहेका थिए भन्‍ने कुरा अर्को अवसरमा, येशूले लाजरसलाई पुनःरूत्थान गर्नु हुँदाखेरि पनि देख्न सकिन्छ। यो चमत्कारको कारण साधारण मानिसहरूमध्ये धेरैले येशूमा विश्‍वास राखे। तथापि धार्मिक नेताहरूले के गरे त्यसलाई ध्यान दिनुहोस्‌। “तब मुख्य पूजाहारीहरू र फरिसीहरूले एउटा महासभा गरेर भने, ‘अब हामी के गरौं? किनभने यस मानिसले ता धेरै चिह्नहरू गरिरहेछ। यसलाई यसै छोडिदियौं भने सबैले यसलाई विश्‍वास गर्नेछ, र रोमीहरूले आएर हाम्रा ठाउँ र जातिलाई समेत लैजानेछ।’” (यूहन्‍ना ११:४७, ४८) तिनीहरू आफ्नो पद र श्रेष्ठताको चिन्ता गरिरहेका थिए। कुनै पनि हालतमा तिनीहरू परमेश्‍वरलाई होइन तर रोमीहरूलाई खुशी पार्न चाहन्थे। अनि त तिनीहरूले के गरे? “त्यस दिनदेखि तिनीहरूले उहाँलाई [येशूलाई] मार्ने मतो बाँधे।”—यूहन्‍ना ११:५३.

कुरा त्यत्तिमै सिद्धियो त? सिद्धिएन। तिनीहरूले त्यसपछि जे गरे त्यसले तिनीहरू अन्धकारलाई कत्तिको रूचाउँदो रहेछ भनेर देखाउँछ। “तर मुख्य पूजाहारीहरूले लाजरसलाई समेत मार्नालाई मतो गरे। किनभने तिनैले गर्दा यहूदीहरूमध्ये धेरै जना गएर येशूलाई विश्‍वास गरेको थिए।” (यूहन्‍ना १२:१०, ११) कस्तो घोर दुष्टता! तिनीहरूले आफ्नो पदलाई जोगाउन यी सब गरेका भएतापनि अन्तमा के भयो? त्यही पुस्तामा, तिनीहरूले रोमीहरू विरुद्ध विद्रोह गरे र रोमीहरूले ७० सा. यु. मा तिनीहरू विरुद्ध जाइ लागे र तिनीहरूको राष्ट्र, तिनीहरूको पद र ज्यानै समेत लिए!—यशैया ५:२०; लूका १९:४१-४४.

येशूको अनुकम्पा

७. सत्यका प्रेमीहरू येशूकहाँ किन जम्मा भए?

त्यसैगरी हाम्रो समयमा पनि सबैजना आध्यात्मिक ज्योति चाहँदैनन्‌। तर सत्यलाई प्रेम गर्नेहरू चाहिं साँच्चै नै ज्योतिमा आउन चाहन्छन्‌। तिनीहरू परमेश्‍वरलाई आफ्नो सार्वभौमसत्ताधारीको रूपमा चाहन्छन्‌। तिनीहरू उत्सुकतापूर्वक येशूतर्फ फर्किन्छन्‌, जसलाई परमेश्‍वरले ज्योति के हो भनेर वर्णन गर्न र उहाँकै पछि लाग्न पठाउनुभएको थियो। येशू पृथ्वीमा हुनुहुँदा नम्र मानिसहरूले त्यसै गरे। तिनीहरू सबैजना उहाँकहाँ जम्मा भए। फरिसीहरूले समेत यो कुरालाई स्वीकार गर्नु पऱ्‍यो। तिनीहरूले यसरी सिकायत गरे: “संसारै त्यसको पछि लागिसक्यो।” (यूहन्‍ना १२:१९) भेडाखालका मानिसहरूले येशूलाई प्रेम गर्थे किनभने उहाँ धार्मिक नेताहरू जस्तो स्वार्थी, अहङ्‌कारी, अधिकारको भोको हुनु हुन्‍न थियो। जसको विषयमा येशूले यसो भन्‍नुभयो: “तिनीहरू गह्रौं र बोक्न नसक्ने भारी बाँधेर मानिसहरूका काँधमा हालिदिन्छन्‌। तर तिनीहरू आफैले भने आफ्ना औंलाले पनि ती सारिदिने मन गर्दैनन्‌। तर तिनीहरू आफ्ना सारा काम मानिसहरूलाई देखाउनाको निम्ति गर्दछन्‌।”—मत्ती २३:४, ५.

८. धार्मिक कपटीहरूको विपरित येशूको कस्तो मनोवृत्ति थियो?

यसको विपरित येशूको अनुकम्पापूर्ण मनोवृत्तिलाई ध्यान दिनुहोस्‌: “भीड़हरूलाई देखेर उहाँको हृदय तिनीहरूका निम्ति दयाले भरियो। किनभने तिनीहरू गोठालो नभएका भेडाहरू जस्तै हैरान भई तितर-बितर भएका थिए।” (मत्ती ९:३६) यस विषयमा उहाँले के गर्नुभयो? शैतानको रीतिरिवाजबाट शोषित भएकाहरूलाई उहाँले यसो भन्‍नुभयो: “हे सबै मेहनत गर्ने, र बोझले दबिएका हो! मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु। मेरो जुवा तिमी आफैले बोक, र मसँग सिक। किनभने म विनयी, र नम्र हृदयको छु। अनि तिमीहरूले आफ्ना आफ्ना आत्मामा विश्राम पाउनेछौं। किनभने मेरो जुवा सजिलो र मेरो भारी हलका छ।” (मत्ती ११:२८-३०) आफ्नो विषयमा यशैया ६१:१, २-मा जे भविष्यवाणी गरिएको थियो त्यही अनुसार येशूले गर्नुभयो। त्यहाँ यसो भनिएको छ: “नम्रहरूलाई सुसमाचार सुनाउनलाई परमप्रभुले मलाई अभिषेक गर्नुभएको छ। मन भाँचिएकाहरूको हृदयलाई निको पार्नलाई, कैदमा परेकाहरूलाई छुटकाराको घोषणा गर्नलाई पठाउनुभएको छ। परमप्रभुको ग्रहणयोग्य वर्ष र हाम्रा परमेश्‍वरको बदला दिने दिनको घोषणा गर्नलाई, सबै विलाप गर्नेहरूलाई सान्त्वना दिनलाई।”

ज्योति वाहकहरूलाई जम्मा गर्ने

९. सन्‌ १९१४ मा कुन महत्त्वपूर्ण घटना पूरा भयो?

आफ्नो स्वर्गारोहण पश्‍चात्‌ परमेश्‍वरले राज्य-शक्‍ति दिने समय नआएसम्म येशूले पर्खिनु पर्थ्यो। त्यसपछि उहाँले “बाख्राहरू” बाट “भेडाहरू” लाई छुट्याउनु हुने थियो। (मत्ती २५:३१-३३; भजनसंग्रह ११०:१, २) सन्‌ १९१४ मा “आखिरी दिनहरू” सुरु भएपछि त्यो समय आयो। (२ तिमोथी ३:१-५) येशूले परमेश्‍वरको स्वर्गीय राज्यको राजा हुने शक्‍ति पाएर ज्योतिको पिछा गर्नेहरूलाई आफ्नो अनुग्रहपूर्ण दाहिने हाततर्फ जम्मा गर्न थाल्नु भयो। प्रथम विश्‍व युद्ध पश्‍चात्‌ त्यो जम्मा गर्ने काम उन्‍नतशील ढङ्‌गमा अघि बढ्‌दै गयो।

१०. येशूले गर्नुहुने जम्मा गर्ने काममा सामेल हुनेहरूको सन्दर्भमा कस्ता प्रश्‍नहरू सोध्न सकिन्छ?

१० येशू ख्रीष्टको नेतृत्वमा त्यो जम्मा गर्ने कामले ठूलो सफलता पाएको छ। इतिहासमा कहिल्यै पनि प्रबुद्ध साँचो उपासनामा सबै राष्ट्रका यत्ति धेरै मानिसहरू जम्मा भएका थिएनन्‌। र आज परमेश्‍वर र ख्रीष्टबाट आएको ज्योतिलाई कसले पछ्याइरहेका छन्‌? फिलिप्पी २:१५-मा भनेअनुसार “संसारको ज्योतिहरूझैं देखा पर्दै” ‘जीवनको पानी सित्तै लिने’ निमन्त्रणा कसले दिइरहेका छन्‌?—प्रकाश २२:१७.

११. आत्मिक ज्योतिको सन्दर्भमा मसीहीजगतको कस्तो स्थान छ?

११ के मसीहीजगतले यो काम गरिरहेको छ? निश्‍चय नै मसीहीजगत र यसका विभाजित धर्महरू ज्योति वाहकको रूपमा चम्किरहेका छैनन्‌। वास्तवमा आजका पादरीहरू येशूका दिनका धार्मिक नेताहरू जस्तै छन्‌। यहोवा र ख्रीष्टबाट आएको साँचो ज्योतिलाई तिनीहरूले चम्काइरहेका छैनन्‌। तेत्तिस वर्ष अघि थियोलोजि टुडे भन्‍ने पत्रिकाले यसो भन्यो: “अफसोसताकासाथ यो स्वीकार गर्नुपर्छ कि गिर्जामा यो ज्योति प्रभावशाली ढङ्‌गमा चम्किरहेको छैन। . . . गिर्जा यसको वरिपरि भएका समुदायहरू जस्तै नै भएर गइरहेको छ। त्यो संसारको ज्योति होइन। बरु, संसारमै चम्किने ज्योतिको एउटा प्रतिबिम्बक भएको छ।” र आज मसीहीजगतको अवस्था झनै बिग्रेको छ। उसले दिने संसारको तथाकथित ज्योति वास्तवमा अन्धकार हो। किनभने शैतान र त्यसको संसारले दिन सक्ने कुरा त्यो बाहेक अरू केही छैन। साँच्चै नै मसीहीजगतका विरोधाभास र पूर्णतया संसारिक धर्महरूबाट सत्यको ज्योति आइरहेको छैन।

१२. आज साँचो ज्योति दिने संगठन को को मिलेर बनेको छ?

१२ आज यहोवाका साक्षीहरूको नयाँ विश्‍व समाज साँचो, ज्योति दिने सङ्‌गठन हो भनेर निर्धक्क भएर भन्‍न सकिन्छ। यसका सबै सदस्यहरू—पुरुषहरू, स्त्रीहरू र जवानहरू एकताबद्ध भएर यहोवा र येशूबाट तिनीहरूले पाएको ज्योतिलाई सबै मानवजातिको सामुन्‍ने चम्काउँछन्‌। गत साल सारा विश्‍वभरि यहोवाका साक्षीहरूका झन्डै ७०,००० मण्डलीहरूका चालिस लाखभन्दा बढी ज्योति वाहकहरूले परमेश्‍वर र उहाँका उद्देश्‍यहरूबारे सक्रियतापूर्वक अरूहरूलाई बताइरहेका थिए। र अहिले हरेक वर्ष, आध्यात्मिक ज्योतिमा आउन चाहने मानिसहरूको ठूलो जमात निरन्तर बढ्‌दै गरेको हामी देख्तछौं। लाखौंले बाइबल अध्ययन गरेपछि बप्तिस्मा लिइ रहेका छन्‌ र सत्यको सही ज्ञानतर्फ लम्किरहेका छन्‌। साँच्चै नै परमेश्‍वर पनि “मानिसहरूले उद्धार पाऊन्‌ र तिनीहरू सत्यको ज्ञानमा आऊन्‌” भनेर इच्छा गर्नुहुन्छ।—१ तिमोथी २:४.

१३. यहोवाबाट आउने ज्योतिलाई हामीले के सँग तुलना गर्न सक्छौं?

१३ अहिले यहोवाबाट आएको ज्योतिलाई पुरातन समयमा परमेश्‍वरका जनहरू मिश्र देशबाट निस्कि आउँदा भएको घटनासित तुलना गर्न सक्छौं: “तिनीहरू रात दिन हिंड्‌नसकून्‌ भनेर तिनीहरूलाई बाटो देखाउनको निम्ति परमप्रभु दिनमा चाहिं बादलको खामो र राती चाहिं आगोका खामोमा तिनीहरूको अगिअगि जानुहुन्थ्यो।” (प्रस्थान १३:२१, २२) परमेश्‍वरले प्रबन्ध गर्नु भएको दिनमा बादल र रातमा आगो तिनीहरूका लागि भरपर्दो पथ-प्रदर्शक थियो। हामीलाई दिउँसो उज्यालोको प्रबन्ध गर्न परमेश्‍वरले सृष्टि गर्नुभएको सूर्य जत्तिकै ती भरपर्दा थिए। त्यसैगरी आज पनि यस दुष्ट अन्तिम दिनहरूमा सत्यको खोजी गर्नेहरूलाई आध्यात्मिक ढङ्‌गमा निरन्तर बाटो उज्यालो पारिदिनुहुन्छ भनेर हामी यहोवामा भर पर्न सक्छौं। हितोपदेश ४:१८ ले हामीलाई आश्‍वासन दिन्छ: “धर्मीको चाल बिहानको उज्यालोजस्तै हो, त्यो मध्य-दिन नहोउञ्जेल झन्‌ झन्‌ चहकिलो हुँदैजान्छ।”

राज्यको ज्योतिलाई चम्काउने

१४. ज्योति वाहकहरूको मुख्य उद्देश्‍य के हुनुपर्छ?

१४ यहोवा ज्योतिको श्रोत हुनु हुन्छ र ख्रीष्ट, त्यो ज्योतिलाई चम्काउने मुख्य कर्ता हुनु हुन्छ। तसर्थ येशूका अनुयायीहरूले पनि त्यसलाई चम्काउनु पर्छ। उहाँले तिनीहरूको विषयमा यसो भन्‍नुभयो: “तिमीहरू जगत्‌का ज्योति हौ। . . . तिमीहरूको ज्योति मानिसहरूका सामु चम्कोस्‌, र तिनीहरूले तिमीहरूका सुकर्म देखून्‌, र स्वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरून्‌।” (मत्ती ५:१४, १६) र उहाँका अनुयायीहरूले मानवजातिको सामु चम्काउनु पर्ने यो ज्योतिको मुख्य विषय के थियो? विश्‍व इतिहासको चरमसिमामा तिनीहरूले सिकाउनु पर्ने कुरा के थियो? उहाँका अनुयायीहरूले प्रजातन्त्र, तानाशाह, गिर्जाघर र राष्ट्र बीचको एकता, अथवा अरू कुनै सांसारिक दर्शनशास्त्रलाई प्रचार गर्नेछन्‌ भनेर येशूले भन्‍नु भएन। बरु, विश्‍वव्यापी विद्रोह बावजूद पनि तिनीहरूले “राज्यको यो सुसमाचार सारा संसारमा सब जातिहरूलाई प्रचार [गरिने छ] र त्यसपछि अन्त [आउने छ]” भनेर मत्ती २४:१४ मा उहाँले भविष्यवाणी गर्नुभयो। त्यसैले आज ज्योति वाहकहरू परमेश्‍वरको राज्यबारे अरूहरूलाई बताउँछन्‌ जुन राज्यले शैतानको संसारलाई अन्त गर्नेछ र धार्मिक नयाँ संसारमा लैजानेछ।—१ पत्रुस २:९.

१५. ज्योतिलाई प्रेम गर्नेहरू कहाँ फर्किन्छन्‌?

१५ ज्योतिलाई प्रेम गर्नेहरू संसारले गरेका दावीहरू र लक्ष्यहरूद्वारा बहकिने छैनन्‌। यी सबै दावीहरू र लक्ष्यहरू चाँडै नै बितेर जानेछन्‌ किनभने यस संसारको अन्त हुनै लागेको छ। बरु धार्मिकताका प्रेमीहरू त्यस सुसमाचारतर्फ फर्किन चाहनेछन्‌ जसलाई पृथ्वीको कुना कुनासम्म परमेश्‍वरको राज्यको ज्योतिलाई चम्काउने मानिसहरूले घोषणा गरिरहेका छन्‌। यी तिनीहरू नै हुन्‌ जसको विषयमा प्रकाश ७:९, १० मा यसरी भविष्यवाणी गरिएको थियो। त्यहाँ यसो भनिएको छ: “यी कुरापछि हेर, कसैले गन्‍न नसक्ने हरेक जातिबाटको र सबै कुलको र मानिसको, र भाषा भाषाहरूको एक ठूलो भीड़, सिंहासन र थुमाको [ख्रीष्ट] अगाडि . . . उभिरहेका मैले देखें, र ठूलो सोरले यसो भनेर ती कराउँदा रहेछन्‌: ‘सिंहासनमा विराजमान हुनुहुने हाम्रा परमेश्‍वर र थुमामा मुक्‍ति छ।’” पद १४ भन्छ: “यी तिनै हुन्‌ जो महा सङ्‌कष्टबाट आएका छन्‌।” हो, यस संसारको अन्तबाट बचेर तिनीहरू परमेश्‍वरको राज्य अन्तर्गतको कहिल्यै अन्त नहुने नयाँ संसारमा जानेछन्‌।

ज्ञानले भरिएको नयाँ संसार

१६. महा संकष्टमा शैतानको संसारलाई के हुनेछ?

१६ नयाँ संसारलाई सत्यको चम्किलो ज्योतिले ढाक्नेछ। साँच्चै, परमेश्‍वरले यस रीतिरिवाजको अन्त गरिसक्नु भएपछि परिस्थिति कस्तो हुनेछ होला एकछिन विचार गर्नुहोस्‌ त! शैतान, त्यसका प्रेतहरू, र त्यसका राजनैतिक, व्यापारिक, र धार्मिक रीतिरिवाजहरू र त्यससँग लाग्ने सबैजना बितेर जानेछन्‌! शैतानको सम्पूर्ण विस्तीर्ण प्रचार उपकरणहरू पनि बितेर जानेछन्‌। अतः महा सङ्‌कष्ट पश्‍चात्‌ यस दुष्ट संसारको समर्थन गर्ने कुनै पनि अखबारहरू, पत्रिका, पुस्तक, पुस्तिका अथवा पर्चाहरू फेरि कहिल्यै छापिने छैनन्‌। संसारिक टेलिभिजन अथवा रेडियो स्टेसनहरूबाट मानिसहरूलाई भ्रष्ट पार्ने कुराहरू प्रसार गरिने छैनन्‌। शैतानको संसारको सम्पूर्ण दूषित वातावरणलाई एउटा ठूलो झट्‌कामा खतम पारिनेछ।—मत्ती २४:२१; प्रकाश ७:१४; १६:१४-१६; १९:११-२१.

१७, १८. शैतानको संसारको अन्त पश्‍चात्‌ आत्मिक वातावरण कस्तो हुनेछ भनेर तपाईं कसरी वर्णन गर्नुहुन्छ?

१७ त्यो कुरा कति आरामदायी हुनेछ! त्यो दिन देखि यहोवा र उहाँको राज्यबाट आएको स्वस्थकर र उत्थान गर्ने आध्यात्मिक ज्योतिले मात्र मानवजातिलाई प्रभाव पार्नेछ। यशैया ५४:१३ ले यसरी अगमवाणी गर्दछ: “तेरा सबै छोरा-छोरीहरू परमप्रभुबाट सिकाइएका हुनेछन्‌, र तेरा छोरा-छोरीहरूलाई ठूलो शान्ति मिल्नेछ।” सम्पूर्ण पृथ्वी नै परमेश्‍वरको राज्यको अधीनमा भएपछि उहाँको प्रतिज्ञा यशैया २६:९ मा बताएझैं, “जब तपाईंको इन्साफ पृथ्वीमा प्रकट हुन्छ, तब संसारका बासिन्दाहरूले धार्मिकता सिक्नेछन्‌।”

१८ चाँडैं नै सम्पूर्ण मानसिक र आध्यात्मिक वातावरणहरू परिवर्तन भएर असल हुनेछन्‌। अहिले सर्वत्र फैलिरहेको उदासीनता र अनैतिक कुराहरूको बदलामा उत्साहवर्धक कुराहरू दिनचर्या हुनेछन्‌। त्यतिबेला त्यहाँ बस्ने सबैजनालाई परमेश्‍वर र उहाँको उद्देश्‍यहरूबारे सत्य कुराहरू सिकाइनेछ। यशैया ११:९ मा दिएको भविष्यवाणी पूर्ण तवरमा पूरा हुनेछ। जहाँ यसो भन्छ: “समुद्र पानीले भरिएझैं पृथ्वी परमप्रभुको ज्ञानले भरिपूर्ण हुनेछ।”

ज्योतिलाई पछ्याउनु अत्यावश्‍यक

१९, २०. ज्योति पछ्याउन चाहनेहरूलाई किन सतर्क हुनु आवश्‍यक छ?

१९ अहिले यो दुष्ट रीतिरिवाजको अन्तिम घडीहरूमा संसारको ज्योतिलाई पछ्याउनु जरूरी छ। र हामीहरू सतर्क हुनु आवश्‍यक छ। किनभने हामीहरूलाई ज्योतिमा हिंड्‌न देखि रोक्न एउटा घमासान युद्ध लडिदैंछ। यस्ता विरोधहरू अन्धकारका शक्‍तिहरू—शैतान, त्यसका दूतहरू, र त्यसको पार्थिव संगठनबाट आउँछन्‌। त्यसैकारण प्रेरित पावल चेतावनी दिन्छन्‌: “सचेत रहो, जागा रहो, तिमीहरूको विरोधी शैतान, कसलाई भेट्टाऊँ र निलिहालूँ भनेर गर्जने सिंहझैं खोजेर हिंड्‌छ।”—१ पत्रुस ५:८.

२० ज्योतिको सम्पर्कमा आउनेहरू सबैको बाटोमा शैतानले भएभरको बाधाविघ्नहरू राखिदिनेछ। किनभने तिनीहरू अन्धकारमा नै हिंडिरहोस्‌ भनेर त्यो चाहन्छ। शायद त्यो सत्यको विरोध गर्ने नातेदारहरू अथवा साथीहरूबाट आउने दबाबहरू हुन सक्छन्‌। नभए बाइबलमाथि उठेका शङ्‌काहरू हुन सक्छ जुन शङ्‌काहरू झुठा धर्म र विश्‍वासरहित नास्तिकहरू र अज्ञेयवादीहरूको प्रचार-प्रसारले अन्धो पारिएकोले आउन सक्छन्‌। शायद आफ्नै पापपूर्ण झुकावहरू पनि हुनसक्छ जसले ईश्‍वरीय आवश्‍यकता अनुरूप जीवन बिताउन गाह्रो पर्न सक्छ।

२१. परमेश्‍वरको नयाँ संसारमा जीवन बिताउन चाहनेहरूले कस्तो कदम उठाउनु पर्छ?

२१ जस्तोसुकै बाधाविघ्न आएपनि के तपाईं गरीबी, हत्या, अन्याय, र युद्ध बिनाको नयाँ संसारमा जीवनको आनन्द उठाउन चाहनुहुन्छ? के तपाईं पार्थिव प्रमोदवनमा सिद्ध स्वास्थ्य र अनन्त जीवनको आनन्द उठाउन चाहनु हुन्छ? त्यसोभए संसारको ज्योति येशू नै हुनुहुन्छ भनेर स्वीकार्नुहोस्‌ र उहाँलाई पछ्याउनु होस्‌ र “जीवनको वचन” लिइरहेका र “संसारमा ज्योतिहरूझैं देखा” परिरहेका मानिसहरूका सन्देश सुन्‍नुहोस्‌।—फिलिप्पी २:१५, १६. (w93 4/1)

तपाईं कसरी जवाफ दिनुहुन्छ?

▫ धार्मिक नेताहरू अन्धकारका प्रेमीहरू थिए भनेर तिनीहरूले कसरी देखाए?

▫ मानिसहरूप्रति येशूको मनोवृत्ति कस्तो थियो?

▫ ज्योति वाहकहरूलाई जम्मा गर्ने काम कसरी अघि बढ्‌दैछ?

▫ कुन चाहिं महत्त्वपूर्ण परिवर्त्तन चाँडै नै हुनेछ?

▫ संसारको ज्योतिलाई पछ्याउनु अहिले किन यत्ति जरूरी छ?

[अध्ययनका लागि प्रश्‍नहरू]