सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

संसारको ज्योतिलाई पछ्याउनुहोस्‌

संसारको ज्योतिलाई पछ्याउनुहोस्‌

संसारको ज्योतिलाई पछ्याउनुहोस्‌

“म पछि लाग्नेले . . . जीवनको ज्योति पाउनेछ।”—यूहन्‍ना ८:१२.

१. प्रकाश कत्तिको महत्वपूर्ण छ?

 प्रकाश नभइदिएको भए हामी के गर्थ्यौं? वर्षभरि प्रत्येक दिन २४-सै घण्टा अँध्यारोमा बस्नुपरेको कल्पना गर्नुहोस्‌ त। रङ्‌ग बिनाको संसार कल्पना गर्नुहोस्‌ किनभने प्रकाशबिना कुनै रङ्‌ग हुँदैन। यदि प्रकाश नभइदिएको भए निश्‍चय नै हामी पनि हुने थिएनौं! किन हुने थिएनौं? किनभने प्रकाश संश्‍लेषण प्रक्रियामा हरियो बोटहरूले हामीले खाने अन्‍नहरू, तरकारीहरू र फलफूलहरू जस्ता आहारहरू बनाउन प्रकाशको मद्दत लिन्छ। साँचो हो हामी कहिलेकाहीं जनावरहरूको मासु खान्छौं। तर हामीले नखाए पनि ती जनावरहरूले बिरूवाहरू अथवा बिरूवाहरूमा निर्भर गर्ने जनावरहरू खाएका हुन्छन्‌। तसर्थ, हाम्रो शारीरिक जीवन पूर्णतया प्रकाशमा निर्भर छ।

२. प्रकाशको शक्‍तिशाली स्रोतहरू के के हुन्‌ र यसले यहोवाबारे के बताउँछ?

हामीलाई चाहिने प्रकाश सूर्यबाट आउँछ जुन एउटा तारा हो। सूर्यले प्रचुर मात्रामा प्रकाश दिए तापनि यो एउटा मझौला तारा मात्र हो। थुप्रै ताराहरू निकै ठूला छन्‌। हामीहरू बसिरहेको ताराहरूको झुण्डलाई आकाशगङ्‌गा भनिन्छ। यसमा एक खरबभन्दा बढी ताराहरू छन्‌। यो बाहेक ब्रह्‍माण्डमा आकाशगङ्‌गा जस्ता अरबौं अनगिन्ती तारापुञ्जहरू छन्‌। ताराहरूको कस्तो महान रचना! तिनीहरूबाट कत्ति धेरै प्रकाश निस्किन्छ! यहोवा ज्योतिको कस्तो महान स्रोत हुनुहुन्छ जसले ती सबैलाई बनाउनुभयो! यशैया ४०:२६-ले घोषणा गर्दछ: “तिमीहरूका आँखा माथि उठाएर हेर, यी कसले बनाएका हुन्‌? उहाँलेनै होइन र? जसले तिनीहरूका दललाई गन्ती गरेर नाउँ बोलाउँदै ल्याउनुहुन्छ। उहाँको शक्‍तिको बड़प्पनले गर्दा, उहाँ सामर्थ्यमा बलियो भएको हुनाले, तिनीहरूमध्ये एउटै पनि हराउनेछैन।”

अर्कै प्रकारको ज्योति

३. यहोवाबाट आउने आध्यात्मिक ज्योति कत्तिको महत्वपूर्ण छ?

यहोवा अर्को एक प्रकारको ज्योतिको पनि स्रोत हुनुहुन्छ जसले गर्दा हामीले आध्यात्मिक दृष्टि अर्थात्‌ आध्यात्मिक ज्ञान पाउन सक्छौं। एउटा शब्दकोषले यसप्रकार “ज्ञान”-को परिभाषा दिन्छ: “ज्ञान प्राप्त गर्नु; सिकाउनु; आध्यात्मिक अन्तर्दृष्टि दिनु।” यसले “ज्ञान प्राप्त गर्नु”-को परिभाषा यसप्रकार दिन्छ: “अज्ञानता र गलत जानकारीबाट छुटकारा।” यहोवा परमेश्‍वरबाट आउने आध्यात्मिक ज्ञान उहाँले बाइबल अर्थात्‌ त्यसमा भएको सही ज्ञानद्वारा प्रदान गर्नुहुन्छ। त्यसले हामीलाई परमेश्‍वर को हो र उहाँका उद्देश्‍यहरू के के हुन्‌ भनेर थाहा पाउन मद्दत दिन्छ। “किनभने अँध्यारोबाट ज्योति चम्कनेछ भन्‍ने परमेश्‍वरनै हुनुहुन्छ, जो येशू ख्रीष्टको महिमाको मोहड़ामा परमेश्‍वरको महिमाको ज्ञानको ज्योति देखाइदिनलाई हाम्रा हृदयमा चम्कनुभयो।” (२ कोरिन्थी ४:६) तसर्थ, परमेश्‍वरको वचनमा भएको सत्यले हामीलाई अज्ञानता र गलत जानकारीबाट मुक्‍त गर्दछ। येशूले भन्‍नुभयो: “औ तिमीहरूले सत्य के हो, सो जान्‍नेछौ, र सत्यले तिमीहरूलाई स्वतन्त्र तुल्याउनेछ।”—यूहन्‍ना ८:३२.

४, ५. हाम्रो जीवनमा यहोवाबाट आउने ज्ञानले ज्योतिको रूपमा कसरी काम गर्छ?

साँचो आध्यात्मिक ज्ञानको स्रोत यहोवा “ज्ञानमा सिद्ध” हुनुहुन्छ। (अय्यूब ३७:१६) भजनसंग्रह ११९:१०५-ले पनि परमेश्‍वरको बारेमा घोषणा गर्दछ: “तपाईंको वचन मेरो खुट्टाको निम्ति बत्ती र मेरो बाटोको निम्ति उज्यालो छ।” त्यसकारण उहाँले हाम्रो अगाडिको एक कदमलाई मात्रै हैन तर अगाडि रहेको सम्पूर्ण बाटोलाई नै आध्यात्मिक रूपमा उज्यालो पारिदिन सक्नुहुन्छ। यो ज्योति नभएको जीवन पहाडको घुमाउरो अँध्यारो बाटोमा मोटरको बत्ती अथवा कुनै बत्ती बिना नै मोटर हाँक्नु जस्तै हुनेछ। परमेश्‍वरबाट आउने आध्यात्मिक ज्योतिलाई मोटरको हेडलाइटले दिने प्रकाशसँग तुलना गर्न सकिन्छ। ज्योतिले बाटोलाई उज्यालो पार्दछ जसले गर्दा वास्तवमा हामी कहाँ गइरहेका छौं भनेर थाहा हुन्छ।

साँचो उपासना गर्न र यसबारे सिक्न आध्यात्मिक ज्ञान चाहने व्यक्‍तिहरूलाई परमेश्‍वरले सारा राष्ट्रबाट जम्मा गरिरहनु भएको छ भन्‍ने कुरा यशैया २:२-५ मा लेखिएको भविष्यवाणीले देखाउँछ। पद ३-ले भन्छ: “उहाँले हामीलाई आफ्नो मार्ग देखाउनुहुनेछ, र हामी उहाँको बाटोमा हिंड्‌नेछौं।” पद ५-ले सत्यता खोज्नेहरूलाई निमन्त्रणा दिन्छ: “आऊ, हामी परमप्रभुको ज्योतिमा हिंडौं।”

६. यहोवाबाट आएको ज्योतिले अन्ततोगत्वा हामीलाई कहाँ डोऱ्‍याउँछ?

यसर्थ हाम्रो जीवनलाई नभई नहुने दुई प्रकारको ज्योतिको स्रोत यहोवा हुनुहुन्छ: शारीरिक र आध्यात्मिक। भौतिक प्रकाशले शायद ७० या ८० अथवा त्यस्तै केही वर्षसम्म जीवित रहन हाम्रो शारीरिक शरीरलाई मद्दत पुऱ्‍याउँछ। तर आध्यात्मिक ज्योतिले पार्थिव प्रमोदवनमा अनन्त जीवनसम्म डोऱ्‍याउँछ। यो येशूले परमेश्‍वरलाई प्रार्थनामा भन्‍नुभए जस्तै हो: “औ अनन्त जीवन यही हो, कि तिमीहरूले तपाईं, एकमात्र सत्य परमेश्‍वरलाई, र जसलाई तपाईंले पठाउनुभयो, अर्थात्‌ येशू ख्रीष्टलाई चिनून्‌।”—यूहन्‍ना १७:३.

संसार आध्यात्मिक अन्धकारमा

७. आध्यात्मिक ज्ञान पाउनु पहिला भन्दा अहिले किन निकै आवश्‍यक छ?

आज हामीलाई पहिला भन्दा झन्‌ बढी आध्यात्मिक ज्योति चाहिन्छ। मत्ती अध्याय २४ र २ तिमोथी अध्याय ३-मा दिइएका भविष्यवाणीहरूले हामी यस रीतिरिवाजको अन्तको नजिकै छौं भनेर देखाउँछ। यिनीहरू र अरू भविष्यवाणीहरूले भयानक घटनाहरूको अगमवाणी गरे जुन आज हाम्रो समयमा भइरहेका छन्‌। यसले हामीलाई थाहा दिन्छ कि हामी “अन्तिम दिनमा” बाँचिरहेका छौं। ती भविष्यवाणीहरूले भनेझैं यस शताब्दिमा विपत्ति माथि विपत्ति थपिएको छ। हिंसा र अपराधहरू डरलाग्दो मात्रामा बढेका छन्‌। युद्धहरूले दश करोड भन्दा बढी ज्यान लिइसकेको छ। एड्‌स जस्ता भयानक रोगहरूले लाखौं मानिसलाई आफ्नो शिकार बनाएको छ। संयुक्‍त राष्ट्र अमेरिकामा मात्रै एड्‌सले १,६०,००० मानिसहरू मरिसकेका छन्‌। पारिवारिक जीवन टुक्रिएका छन्‌ र लैंगिक नैतिकतालाई पुरानो फेसनको भनेर हेरिन्छ।

८. मानवजातिले अहिले कुन परिस्थितिको सामना गर्नुपरिरहेको छ र किन?

संयुक्‍त राष्ट्रका भूतपूर्व महा-सचिव हाभियर पेरेज द क्वायरले भने: “विश्‍व परिस्थितिले प्रशस्त प्रमाण दिन्छ कि समाजहरू बीचको एकतालाई गरीबीले [कमजोर] तुल्याइदिएको छ।” उनले याद दिलाए कि “अहिले एक अरब भन्दा बढी मानिसहरू पूर्णतया गरीबीमा बाँचिरहेका छन्‌” र यो “हिंसात्मक द्वन्दहरूलाई प्रोत्साहन गर्ने कारण हुन गएको छ।” उनले भने, “यस्ता गम्भीर उत्पीडनहरूले गर्दा सरकारले प्रदान गर्न सक्ने समाधानहरूलाई चुनौती दिन्छ।” एउटा प्रभावकारी सङ्‌गठनको प्रमुखले भने: “यी कुराहरू सह्‍माल्नै नसकिने हुनु नै समाजहरूले सामना गर्नु परिरहेको प्रमुख समस्या हो।” भजनसंग्रह १४६:३-का शब्दहरू कति सत्य छन्‌: “राजाहरूमाथि तँ भरोसा नगर्‌, मानिसमाथि पनि नगर्‌, तिनीहरूबाट केही सहायता हुँदैन।”

९. मानवजातिलाई ढाक्ने अन्धकारको निम्ति सबैभन्दा बढी को जिम्मेवार छ र यसको प्रभावबाट हामीलाई कसले बचाउन सक्छ?

आजको परिस्थिति यशैया ६०:२-मा भविष्यवाणी गरे जस्तै छ: “किनभने हेर, अँध्यारोले पृथ्वीलाई र निष्पट्ट अँध्यारोले मानिसहरूलाई ढाक्नेछ।” पृथ्वीको अधिकांश बासिन्दाहरू निष्पट्ट अँध्यारोले ढाकिनुको कारण तिनीहरूले यहोवाबाट आउने आध्यात्मिक ज्योति नलिनाले हो। आध्यात्मिक अन्धकारको मूल कारण शैतान र दियाबल तथा उनका दूतहरू हुन्‌ जो परमेश्‍वरको ज्योतिको प्रमुख शत्रुहरू हुन्‌। तिनीहरू “अन्धकारका सांसारिक शासकहरू” हुन्‌। (एफिसी ६:१२) दियाबल, २ कोरिन्थी ४:४-ले भने अनुसार “यस संसारको देव” हुन्‌ जसले “उहाँको महिमाको सुसमाचार नचम्कोस्‌ भनेर अविश्‍वासीहरूको समझशक्‍तिलाई अन्धा तुल्याइदिएको छ।” कुनै पनि मानव शासकले शैतानको प्रभावबाट संसारलाई मुक्‍त पार्न सक्दैन। केवल परमेश्‍वरले मात्र गर्न सक्नुहुन्छ।

“एउटा ठूलो ज्योति”

१०. हाम्रो दिनमा ज्योति फैलाइनेछ भनेर यशैयाले कसरी भविष्यवाणी गरे?

१० प्रायजसो मानिसहरूलाई निष्पट्ट अँध्यारोले ढाके तापनि परमेश्‍वरको वचनले यशैया ६०:२, ३-मा यो भविष्यवाणी गऱ्‍यो: “तँमाथि परमप्रभु प्रकाश हुनुहुनेछ, र उहाँको महिमा तँमाथि प्रकट हुनेछ। जाति जातिहरू तेरो ज्योतिमा आउनेछन्‌।” यो यशैया अध्याय २ अनुरूप छ। त्यहाँ प्रतिज्ञा गरिएको थियो कि अन्तिम दिनमा ज्ञान प्राप्त, यहोवाको साँचो उपासना स्थापित हुनेछ। पदहरू २ र ३-मा भन्छ: “सबै जातिहरू त्यही तर्फ ओइरिएर आउनेछन्‌। जाति जातिका धेरै मानिसहरू त्यहाँ गएर भन्‍नेछन्‌, आऊ हामी परमप्रभुको पर्वतमा उक्लेर जाऔं।” त्यो हो उहाँको उच्च पारिएको साँचो उपासना। संसार शैतानद्वारा नियन्त्रित भए तापनि परमेश्‍वरले ज्योति दिइ नै रहनुभएको छ र थुप्रै मानिसहरू अन्धकारबाट मुक्‍त गरिएका छन्‌।

११. यहोवाको ज्योति प्रतिबिम्ब गर्नमा सबैभन्दा श्रेष्ठ को हुनेछ र शिमियोनले उनलाई कसरी परिचित गराए?

११ परमेश्‍वरले आफ्नो ज्योति प्रतिबिम्ब गर्न कसैलाई पठाउनु हुनेछ भनेर यशैया ९:२-मा भविष्यवाणी गरिएको थियो। यसले भन्दछ: “अन्धकारमा हिंड्‌ने मानिसहरूले एउटा ठूलो ज्योति देखे, मृत्युको छायाको देशमा बसोबासो गर्नेहरूमाथि ज्योतिको प्रकाश भयो।” यो “ठूलो ज्योति” यहोवाको प्रवक्‍ता, येशू ख्रीष्ट हुनुहुन्छ। येशूले भन्‍नुभयो: “म संसारको ज्योति हुँ, मपछि लाग्ने अँध्यारोमा हिंडडुल गर्नेछैन, तर त्यसले जीवनको ज्योति पाउनेछ।” (यूहन्‍ना ८:१२) येशू सानै छँदा नै यो कुरा कसै कसैलाई थाहा थियो। लूका २:२५-ले भन्दछ कि शिमियोन नाउँ भएका एकजना मानिस थिए। उनी “धर्मी र भक्‍त” थिए र उनीमाथि “पवित्र आत्मा” थियो। जब शिमियोनले बालक येशूलाई देख्यो, तब तिनले परमेश्‍वरलाई प्रार्थनामा यसो भने: “किनकि मेरो आँखाले तपाईंको उद्धार देखेको छ, जे तपाईंले सबै मानिसहरूका सामने तयार पार्नुभएको छ, अन्यजातिहरूलाई प्रकाशको निम्ति र तपाईंको जाति इस्राएलको महिमाको निम्ति ज्योति।”—लूका २:३०-३२.

१२. मानिसजातिलाई ढाकिराखेको पर्दा हटाउन येशूले कहिले र कसरी सुरु गर्नुभयो?

१२ आफ्नो बप्तिस्माको केही समय पश्‍चात्‌ येशूले मानवजातिलाई ढाकिराखेको अन्धकारको पर्दा हटाउने काम गर्न थाल्नु भयो। मत्ती ४:१२-१६-ले हामीलाई भन्छ कि यसले यशैया ९:१, २-मा भनिएको भविष्यवाणी पूरा गऱ्‍यो। त्यो भविष्यवाणीमा एउटा “ठूलो ज्योति”-को विषयमा भनिएको छ जो आध्यात्मिक अन्धकारमा भएका मानिसहरूमाथि चम्कनेछ। मत्ती ४:१७-ले भन्दछ: “त्यस बेलादेखि येशूले प्रचार गर्दै भन्‍नलाग्नुभयो, ‘पश्‍चाताप गर। किनभने स्वर्गको राज्य नजीक आइपुगेको छ।’” परमेश्‍वरको राज्यबारे प्रचार गरेर येशूले मानिसहरूलाई परमेश्‍वरको उद्देश्‍यहरूबारे ज्ञान दिए। उहाँले “जीवन र अविनाशलाई सुसमाचारद्वारा ज्योतिमा ल्याउनुभयो।”—२ तिमोथी १:१०.

१३. येशूले आफ्नो वर्णन कसरी गर्नुभयो र त्यस्तो निश्‍चयताका साथ उहाँले कसरी गर्न सक्नुभयो?

१३ येशूले विश्‍वासी भएर परमेश्‍वरको ज्योति प्रतिबिम्ब गर्नुभयो। उहाँले भन्‍नुभयो: “म संसारमा ज्योति भएर आएको छु, कि मलाई विश्‍वास गर्ने जोसुकैले अँध्यारोमा रहन नपरोस्‌। . . . मैले आफ्नै तर्फबाट बोलिनँ, तर मैले के भन्‍नुपर्ने हो, र के बोल्नुपर्ने हो, मलाई पठाउने पिता आफैले मलाई आज्ञा दिनुभएको छ। औ म जान्दछु, कि उहाँको आज्ञा अनन्त जीवन हो।”—यूहन्‍ना १२:४४-५०.

“उहाँमा जीवन थियो”

१४. यूहन्‍ना १:१, २-मा येशूको चिनारी कसरी दिइएको छ?

१४ हो, मानिसहरूलाई अनन्त जीवनको बाटो देखाउने ज्योति हुन यहोवाले आफ्नो पुत्रलाई पृथ्वीमा पठाउनुभयो। यो कुरा यूहन्‍ना १:१-१६ मा कसरी भनिएको छ ध्यान दिनुहोस्‌। पद १ र २-ले भन्छ: “आदिमा वचन थियो, औ वचन परमेश्‍वरसँग थियो, औ वचन परमेश्‍वरनै थियो। उहाँ आदिमा परमेश्‍वरसँग हुनुहुन्थ्यो।” यहाँ यूहन्‍नाले मानिस भएर जन्मनु भन्दा पहिलेको येशूलाई “वचन” भनेर सम्बोधन गर्छ। यसले यहोवाको प्रमुख प्रवक्‍ताको रूपमा उहाँले निभाउनुभएको भूमिकालाई चिन्हित गर्दछ। यूहन्‍नाले “आदिमा वचन थियो,” भन्दा त्यसको अर्थ वचन यहोवाको सृजनात्मक कामको सुरुवात अर्थात्‌ “परमेश्‍वरको सृष्टिको सुरुवात” हो। (प्रकाश ३:१४ न्यु व) परमेश्‍वरको सृष्टिमध्ये उहाँको सर्वश्रेष्ठ पदले गर्दा उहाँलाई “एउटा परमेश्‍वर” अर्थात्‌ पराक्रमी परमेश्‍वर भन्‍नु सुहाउँदो छ। यशैया ९:६-ले उहाँलाई “पराक्रमी परमेश्‍वर” भन्छ तर सर्वशक्‍तिमान परमेश्‍वर भन्दैन।

१५. यूहन्‍ना १:३-५-मा येशूबारे अरू के थप जानकारी दिइएको छ?

१५ यूहन्‍ना १:३-ले भन्दछ: “सबै थोक उहाँबाट हुन आए, औ हुनआएको कुनै एक थोक पनि उहाँ बिना हुन आएन।” कलस्सी १:१६-ले भन्छ कि “उहाँमानै सबै थोक सृष्टि भएका थिए स्वर्गमा र पृथ्वीमाथि।” यूहन्‍ना १:४-ले भन्छ, “उहाँमा जीवन थियो, र त्यो जीवन मानिसहरूको ज्योतिमा थियो।” अतः वचन मार्फत्‌ अरू प्रकारका जीवनहरू सृष्टि गरियो। उहाँको पुत्रद्वारा नै परमेश्‍वरले पापी, मर्णान्त मानिसहरूलाई अनन्त जीवन सम्भव गर्नुहुनेछ। यशैया ९:२-मा भनिएको “ठूलो ज्योति” अवश्‍य पनि पराक्रमी येशू नै हुनुहुन्छ। यूहन्‍ना १:५ भन्दछ: “त्यो ज्योति अँध्यारोमा चमकन्छ, औ अँध्यारो उहाँमाथि विजयी भएन।” ज्योतिले सत्यता र धार्मिकताको प्रतिनिधित्व गर्दछ। यसको विपरितार्थमा अन्धकारले त्रुटिहरू र अधार्मिकतालाई देखाउँदछ। तसर्थ यूहन्‍ना भन्छन्‌, अन्धकारले ज्योतिमाथि विजय प्राप्त गर्नेछैन।

१६. येशूले गर्ने कामको बारेमा बप्तिस्मा दिने यूहन्‍नाले कसरी औंल्याए?

१६ यूहन्‍ना अब पदहरू ६ देखि ९-मा बहस गर्छन्‌: “परमेश्‍वरबाट पठाइएका यूहन्‍ना [बप्तिस्मा दिने] नाउँका एकजना मानिस आए। सबैले उनीबाट विश्‍वास गरून्‌ भनी ज्योतिका विषयमा गवाही दिनालाई उनीनै गवाहीका लागि आए। उनी [यूहन्‍ना] आफै ता ज्योति थिएनन्‌, तर ज्योतिको [येशू] विषयमा गवाही दिनलाई आए। प्रत्येक मानिसलाई प्रकाश दिने, उहाँ संसारमा आउने साँचो ज्योति हुनुहुन्थ्यो।” यूहन्‍नाले आउँदै गरेको मसीहतर्फ सङ्‌केत गरे र आफ्ना अनुयायीहरूको ध्यान उहाँतर्फ फर्काए। समय बित्दै जाँदा सबै प्रकारका मानिसहरूलाई ज्योति स्वीकार गर्ने मौका दिइयो। अतः येशू केवल यहूदीहरूको फाइदाको लागि मात्र आउनु भएन तर जुनसुकै जातिको धनी या गरीब सारा मानवजातिको निम्ति आउनुभयो।

१७. यूहन्‍ना १:१०, ११-ले येशूको दिनमा भएको यहूदीहरूको आध्यात्मिक अवस्था बारे के भन्छ?

१७ पद १० र ११-ले अझै भन्दछ: “औ संसार उहाँबाटै हुनआयो, तर संसारले उहाँलाई चिनेन। उहाँ आफ्नैकहाँ आउनुभयो, औ आफ्नैहरूले उहाँलाई ग्रहण गरेनन्‌।” पूर्वमानवीय अस्तित्वमा हुनुहुँदा येशूद्वारा नै मानवजातिको सारा संसार सृष्टि गरिएको थियो। तथापि, उहाँ पृथ्वीमा हुनुहुँदा उहाँका आफ्नै मानिसहरू अर्थात्‌ यहूदीहरूले इन्कार गरे। तिनीहरूको खराबी र कपटीपना उदाङ्‌ग भएको तिनीहरूले चाहेनन्‌। तिनीहरूले ज्योति भन्दा अन्धकार रूचाए।

१८. कसै कसैले विशेष अधिकार पाएर परमेश्‍वरका पुत्रहरू हुन सक्छन्‌ भनेर यूहन्‍ना १:१२, १३-ले कसरी देखाउँछ?

१८ यूहन्‍नाले पद १२ र १३-मा भन्छ: “तर जत्तिले उहाँलाई ग्रहण गरे, उहाँले तिनीहरूलाई परमेश्‍वरका सन्तान हुने हक दिनुभयो, अर्थात्‌ उहाँको नाउँमाथि विश्‍वास गर्नेहरूलाई। जो प्राकृतिक नियमबमोजिम मानवीय पिताबाट जन्मेका होइनन्‌, परमेश्‍वर नै तिनीहरूका बाबु हुन्‌।” यी पदहरूले देखाउँछ कि सुरुमा नै येशूका अनुयायीहरू परमेश्‍वरका पुत्रहरू थिएनन्‌। ख्रीष्ट पृथ्वीमा आउनुभन्दा पहिले मानवजातिको निम्ति नता त्यस्तो पुत्रत्व नता स्वर्गीय आशा नै खुला थियो। तर तिनीहरूले ख्रीष्टको छुटकाराको बलिदानमा विश्‍वास गरेको आधारमा कोही कोही मानिसहरू पुत्रत्वमा स्वीकार गरियो र परमेश्‍वरको स्वर्गीय राज्यमा ख्रीष्टसँगै राजाहरू हुन सक्ने जीवनको आशा पाए।

१९. यूहन्‍ना १:१४-मा देखाएझैं परमेश्‍वरको ज्योति प्रतिविम्बि गर्न येशू किन सर्वोत्तम स्थानमा हुनुहुन्छ?

१९ पद १४-ले तर्क गर्छ: “अनि वचन देह हुनआयो, र हाम्रा बीचमा अनुग्रह र सत्यले पूर्ण भई बास गर्‌यो, (औ हामी उहाँको महिमा, पिताबाट आउनुभएको एकलो पुत्रको जस्तो महिमा देख्यौं)।” पृथ्वीमा हुँदा, परमेश्‍वरको एकलौटो पुत्रले मात्र गर्न सक्ने परमेश्‍वरको महिमा येशूले प्रतिबिम्बित गर्नुभयो। यसर्थ, अद्वितीय ढङ्‌गमा परमेश्‍वर र उहाँको उद्देश्‍यहरूबारे प्रकट गर्न उहाँ सक्षम हुनुहुन्थ्यो।

२०. यूहन्‍ना १:१५-मा रेकर्ड गरिए अनुसार येशूको विषयमा बप्तिस्मा दिने यूहन्‍नाले के भन्छ?

२० त्यसपछि, प्रेरित यूहन्‍नाले पद १५-मा लेख्छन्‌: “यूहन्‍नाले [बप्तिस्मा दिने] उहाँका विषयमा साक्षी दिए, औ यसो भन्दै कराए, ‘यहाँ उहाँनै हुनुहुन्छ, जसका विषयमा मैले भनें, मपछि आउने मभन्दा अगाड़ि हुनुभएको छ, किनभने उहाँ मभन्दा पहिला हुनुहुन्थ्यो।’” येशू मानव भएर जन्मिनु भन्दा छ महिना जति अघि नै बप्तिस्मा दिने यूहन्‍ना जन्मिएका थिए। तर येशूले यूहन्‍नाले भन्दा महान कार्यहरू गरे। यसले गर्दा उहाँ हरेक क्षेत्रमा यूहन्‍ना भन्दा अघि हुनुभयो। र यूहन्‍नाले मानि लिए कि येशूको अस्तित्व उहाँ भन्दा अघि नै थियो किनभने येशूको पूर्वमानवीय अस्तित्व थियो।

यहोवाबाट आएका वरदानहरू

२१. हामीले “अनुग्रहमाथि अनुग्रह” पाइरहेका छौं भनेर यूहन्‍ना १:१६-ले किन भन्छ?

२१ यूहन्‍ना १:१६-ले तर्क गर्छ: “किनभने उहाँको पूर्णताबाट हामी सबैले पायौं, अनुग्रहमाथि अनुग्रह।” आदमबाट आएको पापको कारण मानिसहरू पापमा जन्मिए तापनि यहोवाले यस दुष्ट रीतिरिवाजको नाश गर्ने, लाखौं मानिसलाई नयाँ संसारमा प्रवेश गराउने, मरेकाहरूको पुनरूत्थान गर्ने, पाप र मृत्यु हटाउने उद्देश्‍य राख्नुभएको छ जसको परिणाम प्रमोदवनमा अनन्त जीवन हुनेछ। हामी पापी मानिसहरू यी सबै आशिषहरू पाउन योग्य छैनौं र कमाएर पनि कमाउनै सक्दैनौं। यिनीहरू ख्रीष्टद्वारा यहोवाले दिनुहुने वरदानहरू हुन्‌।

२२. (क) परमेश्‍वरको सबैभन्दा ठूलो वरदानले कुन कुरालाई सम्भव गर्छ? (ख) बाइबलको सबैभन्दा अन्तिम पुस्तकमा हामीलाई कुन निमन्त्रणा दिइएको छ?

२२ यी सबै कुरालाई सम्भव तुल्याउने सबैभन्दा महान वरदान के हो? “परमेश्‍वरले [मानवजातिको] संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनुभयो, उहाँमाथि विश्‍वास गर्ने प्रत्येक नाश नहोस्‌, तर त्यसले अनन्त जीवन पाओस्‌।” (यूहन्‍ना ३:१६) तसर्थ, आध्यात्मिक ज्योति र अनन्त जीवन चाहनेहरूले परमेश्‍वर र उहाँको पुत्र अर्थात्‌ “जीवनको कर्त्ता”-को सही ज्ञान लिनु अत्यावश्‍यक छ। (प्रेरित ३:१५) त्यसैकारण बाइबलको अन्तिम पुस्तकले सत्यका प्रेमीहरू र जीवन चाहनेहरूलाई यसप्रकार निमन्त्रणा दिन्छ: “‘आउनुहोस्‌।’ औ जसले सुन्छ, त्यसले ‘आउनुहोस्‌’ भनोस्‌। जो तिर्खाउँछ, त्यो आओस्‌, जसले मन गर्छ, त्यसले जीवनको पानी सित्तैमा लेओस्‌।’”—प्रकाश २२:१७.

२३. भेडा खालका मानिसहरू ज्योतिमा आउँदा तिनीहरूले के गर्नेछन्‌?

२३ नम्र, भेडा खालका मानिसहरू केवल परमेश्‍वरको ज्योतितर्फ आउने मात्र होइन तर उनीहरूले त्यस ज्योतिलाई पछ्याउने पनि छन्‌: “भेडाहरूले उसलाई पछ्याउँछ, किनभने तिनीहरूले उसको सोर [सत्यको आवाज] चिन्छ।” (यूहन्‍ना १०:४) अवश्‍य नै, तिनीहरू “उहाँको पाइलामा टेकेर हिंड्‌न” आनन्दित हुन्छन्‌ किनभने यसो गर्नाले अनन्त जीवन पाइन्छ भनेर तिनीहरूलाई थाहा छ।—१ पत्रुस २:२१. (w93 4/1)

तपाईंले कसरी जवाफ दिनु हुनेछ?

▫ यहोवाबाट कस्तो प्रकारको दुईवटा ज्योति आउँछ?

▫ आज आध्यात्मिक ज्ञान पाउनु किन महत्त्वपूर्ण छ?

▫ येशू कुन तरिकामा “एउटा ठूलो ज्योति” हुनुहुन्थ्यो?

▫ यूहन्‍नाको १ अध्यायले येशूको विषयमा हामीलाई के भन्छ?

▫ संसारको ज्योति पछ्याउनेहरूले कस्ता महान आशिषहरू पाउँछन्‌?

[अध्ययनका लागि प्रश्‍नहरू]